राष्ट्रपति रामचन्द्र पौडेलले लगाए दसैँको टीका
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दसैँको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११:५३ को शुभ साइतमा टीका लगाए । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । यसअघि राष्ट्रपति पौडेलले बडा दसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउनु घोषणा गरिसकेका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी खड्काले बताइन् ।
डाँडाखेत-राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा
काठमाडौं डाँडाखेत-राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा पुगेको छ । म्याग्दी र राहुघाट ‘बेसिन’का विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गरिने यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भएको हो । आयोजना प्रमुख रोशन अग्रवालका अनुसार ४ वर्षमा उक्त प्रगति भएको हो । वन क्षेत्र व्यवस्थापन, ‘सबस्टेसन, टावर’ निर्माणलगायत काममा विना व्यवधान सम्पन्न नहुँदा आगामी कात्तिक ३० गतेसम्ममा बाँकी काम पूरा गर्न असम्भव प्रायः छ । मालिका गाउँपालिका-७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ सम्म २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै स्थानमा सबस्टेसन निर्माण गर्न ४ वर्षअघि ३ अर्ब ५७ करोड रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । हालसम्म ४५ वटा ‘डबल सर्किट टावर’ निर्माण भइसेकाका छन् भने १४ वटा निर्माणाधीन छन् । म्याग्दी नदीमा एक सय ७२.८ मेगावाट क्षमताका ४ वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला-राहुघाट-मंगले, ४८ मेगावाटको अपर राहुघाट र २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजनाले उत्पादन थालेका छन् । ४० मेगावाट क्षमताको राहुघाट र २३.५ मेगावाटको माथिल्लो ठूलो खोला आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला-राहुघाट-मङ्गले र संयुक्त ऊर्जाको ठूलो खोला आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा बिजुली प्रवाह गरेका छन् ।
प्रदेश गौरबका दुई सडक योजनाको काम अगाडि बढेन
काठमाडौं । गण्डकी प्रदेश सरकार अन्तर्गत पर्वतमा निर्माणाधीन दुई सडक आयोजना निर्माण सुरु भएको ६ वर्ष हुँदा पनि सम्पन्न भएका छैनन् । जिल्लाको जलजला गाउँपालिकामा पर्ने मिलनचोक-सल्यान-घाखेत-धारापानी ठोट्नेरी सडक र लुंखुदेउराली-मिलनचोक-बालाकोट-होश्राङदी सडक अलपत्र अवस्थामा छन् । दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का लगाइएका यी सडक ६ वर्षसम्म पनि पूरा हुन सकेका छैनन् । २८ करोड १३ लाख रुपैयाँमा काम सुरु भएको मिलनचोक-सल्यान-घाखेत-धारापानी ठोट्नेरी सडकको हालसम्म ६४ प्रतिशत मात्रै प्रगति भएको छ । यो खण्डमा मिनचोकदेखि सल्यानसम्म कालोपत्र भए पनि सल्यानदेखि घाखेत हुँदै धारापानीसम्म काम अगाडि बढेको छैन । सडक सम्पन्न गर्न पटकपटक म्याद थपे पनि विभिन्न बहाना बनाउँदै ढिलासुस्ती गरिरहेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले बताए । १० किलोमिटर सडकमा स्तरोन्नति गर्ने योजनासहित काम सुरु भए पनि हालसम्म करिब चार किमी मात्र कालोपत्र भएको छ । अन्य खण्डको काम सुस्त गतिमा भएको कार्यालयले जनाएको छ । निर्माण सामग्री अभाव, भौगोलिक कठिनाइलगायत कारण देखाउँदै निर्माण व्यवसायीले आलटाल गरेको कार्यालय प्रमुख अर्यालले बताए । सडक कालोपत्र गर्न विसं २०७६ मङ्सिर ६ गते २८ करोड १३ लाख रुपैयाँमा हिमदुङ एण्ड थोकर प्रालीसँग ठेक्का सम्झौता भएको थियो । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक विसं २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य थियो । यसैगरी, ११ करोड २२ लाख ६६ हजार रुपैयाँमा निर्माण सम्झौता भएको लुंखुदेउराली-मिलनचोक- बालाकोट-होश्राङदी सडक पनि ४ वर्षदेखि अलपत्र अवस्थामा छ । यो सडक खण्डमा हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । लामो समयदेखि निर्माण व्यवसायी सम्पर्कमा नआउँदा काम अगाडि नबढेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए । पटकपटक लिखित र मौखिक रूपमा काम थाल्न अनुरोध गरिए भए पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको उनको भनाइ छ । सडक निर्माणका लागि रु चार करोड १३ लाख भुक्तानी भइसकेको छ । पछिल्लो पटक थप गरिएको अवधि पुस मसान्तमा पूरा हुँदैछ, तर ठेकेदार काममा नफर्किएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले बताए । निर्माण व्यवसायीले नाली व्यवस्थापन नगरी भत्काएर छोडेकाले वडा नंं ५ काफल डाँडामा रहेको गाउँपालिका कार्यालय, बालाकोट र होश्राङ्दीका बासिन्दालाई दैनिक आउजाउ गर्न निकै सास्ती भइरहेको उनको भनाइ छ । पूर्वाधार विकास कार्यालय काम सुरु नगरे अब ठेक्का तोड्ने तयारी गरिएको जनाएको छ ।
सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते, बस चालकको खोजी
काठमाडौं । बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टी-स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रु वाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका-११ का ४६ वर्षीय दिनेश कुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका-२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिए । घाइेत सबैको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताए । दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी छ ।
कुमारीलाई तलेजुको दर्शन गराइयो
काठमाडौं । नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजुको दर्शनबाट जीवित देवी कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ । वसन्तपुरस्थित कुमारी घरबाट भैरव, गणेशको यात्रासहित कुमारीलाई तलेजु पुर्याइएको कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले बताए । तान्त्रिक रूपमा दीक्षित पुजारीले कुमारीलाई तलेजु भवानीको दर्शन गराएका हुन् ।
काठमाडौंका सडक सुनसान
काठमाडौं । विजयादशमीको बिहान आज काठमाडौं उपत्यकाका सडक सुनसान जस्तै छन् । काठमाडौंबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागन भएको देखिन्छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको जनाएको छ । टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ । दसैँको नवमीका दिनसम्म ६ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको कार्यालयको तथ्याङ्क छ ।
देशभित्रै आक्रमण हुने राष्ट्रपति ट्रम्पको चेतावनी, यी शहरमा असुरक्षित
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभित्रै ‘आक्रमण’ को सम्भावना रहेको चेतावनी दिएका छन् । यसलाई उनले ‘विदेशी शत्रुभन्दा फरक छैन, तर अझै गाह्रो’ भन्दै चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार यस्ता शत्रुहरूले वर्दी नलगाउने हुनाले तिनीहरूलाई शत्रुहरू पत्ता लगाउन कठिन हुन्छ । भर्जिनियाको क्वान्टिकोस्थित मरीन कप्रस बेसमा शीर्ष अमेरिकी सैन्य अधिकारीहरूको भेलालाई सम्बोधन गर्दै ट्रम्पले भित्री शहरहरूलाई सुरक्षा चुनौतीका रूपमा चित्रण गरे । उनले रक्षामन्त्री पिट हेग्सेथलाई खतरनाक अमेरिकी शहरहरूलाई सैन्य तथा नेशनल गार्ड प्रशिक्षणका लागि प्रयोग गर्न सुझाव दिए । ‘हाम्रा भित्री शहरहरू अहिले युद्धको ठूलो हिस्सा बनेका छन् । मैले पिटलाई भनेँ, यी खतरनाक शहरहरूलाई हामीले हाम्रो सेना र नेशनल गार्डको प्रशिक्षण मैदान बनाउनुपर्छ । हामी चाँडै सिकागो जाँदैछौँ,’ उनले भने । राष्ट्रपति ट्रम्पले सान फ्रान्सिस्को, शिकागो, न्युयोर्क र लस एन्जलसलाई विशेषगरी ‘असुरक्षित’ क्षेत्रका रूपमा उल्लेख गर्दै आफ्नो प्रशासनले तिनीहरूलाई एक/एक गरेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘सान फ्रान्सिस्को, शिकागो, न्युयोर्क, लस एन्जलस- यी सबै धेरै असुरक्षित ठाउँहरू हुन् । हामी तिनीहरूलाई एक–एक गरेर समाधान गर्नेछौँ । यो हाम्रो लागि एउटा प्रमुख युद्ध हो र यो भित्रैबाट हुने युद्ध हो,’ उनले भने । यसअघि, सेप्टेम्बर २१ मा राष्ट्रपति ट्रम्पले वासिङ्टन डिसीमा अपराध दर उल्लेखनीय रूपमा घटेको दाबी गरे । उनले सो क्षेत्रलाई गत वर्षको तुलनामा पूर्ण रूपमा फरक र सुरक्षित भएको बताउँदै यसलाई आफ्नो प्रशासनको ‘सुशासन र कडाइका कारण सम्भव भएको’ बताए । यसैबीच, अमेरिकी प्रशासनले अपराध नियन्त्रण र आप्रवासन दमन योजनाअन्तर्गत शिकागोमा नेसनल गार्ड तैनाथ गर्ने तयारी गरेको बताइएको छ ।
दसैँले एकापसमा भ्रातृत्व र राष्ट्र प्रेमप्रति प्रोत्साहित गर्नेछ: अध्यक्ष नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विभिन्न चाडपर्वहरूले मुलुकमा राष्ट्रिय एकताको भावनालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । बडादसैँका अवसरमा शुभकामना दिँदै उनले देशमा रहेको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच एकता कायम गर्न यस्ता पर्वले महत्त्वपूर्ण योगदान पुर्याउने बताए । ‘नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा रहेका विभिन्न समुदायका मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्न आवश्यक छ । यसले दिगो शान्ति र सामाजिक सहिष्णुता कायम गर्न सघाउ पुग्छ,’ अध्यक्ष नेपालले भने । उनका अनुसार दसैँले सबै जाति समुदायलाई एकापसमा भ्रातृत्व र आपसी मेलमिलाप तथा राष्ट्र प्रेमप्रति प्रोत्साहित गर्नेछ । दसैँले असत्यमाथि सत्यको विजय सन्देश प्रवाह गर्ने, पारिवारिक मिलनका साथै हिमाल, पहाड र तराईका जनताबीच आपसी मित्रता, सहिष्णुता अभिवृद्धि गर्दै प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनि उनले कामना गरे ।