विकासन्युज

मन्त्रिपरिषद् बैठकअघि सुरक्षा निकायका प्रमुखसँग यी चार विषयमा छलफल, बैठकले के गर्ला निर्णय ?

काठमाडौं । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ । मन्त्रिपरिषद् बैठकअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए । गृहमन्त्री अर्यालले बिहीबार दिउँसो नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका प्रतिनिधिलाई बोलाएर छलफल गरेका थिए ।  मन्त्री अर्यालले सुरक्षा निकायका प्रमुखसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक लगायतविरुद्ध आएको जाहेरीको काउन्टरमा परेको निवेदनले ल्याउने चुनौतीसहितका विषयमा छलफल भएको बुझिएको छ ।  यस्तै, निर्वाचन मिति घोषणा भएको अवस्थामा सुरक्षामा आइपर्न सक्ने चुनौती, नेताहरूले दिइरहेको अभिव्यक्तिले ल्याउन सक्ने जोखिम र जेनजीका नाममा विभिन्न समूहले गर्न खोजिरहेको प्रदर्शनका विषयमा समेत छलफल भएको बुझिएको छ ।  मन्त्रिपरिषद् बैठकले सुरक्षा निकायका प्रमुखसँग भएको छलफलकै आधारमा रहेर केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने स्रोतको दाबी छ । 

जेनजीहरुले छुट्टै राजनितिक दल खोल्नुपर्छ : शहीद तथा घाइते परिवार

काठमाडौं । जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरुको छुट्टै राजनिनितक दल खोल्नुपर्ने बताएका छन् । आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार (असोज २३) काठमाडौंस्थित नवदुर्गा होटलमा आयोजित राष्ट्रिय भेलामा उनीहरुले छुट्टै राजनितिक दलको आवश्यकता औंल्याएका हुन् ।  जेन जेड, वाई, एक्सको सहभागीताका तत्कालै राजनितिक दल गठन हुनुपर्ने उनीहरुको भनाई छ । राजनीतिक दल गठन पश्चात जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय मान्यता पाउने हुनाले प्राप्त उपलब्धि रक्षा गर्न सहज हुने उनीहरुले बताए ।   उनीहरुले सरकारले तुरुन्तै शहीदहरुको सपना र घाईतहरुको माग सम्बोधन गर्नुपर्ने बताए । भदौ २३ र २४ गतेको घटनाको छानबिन गरी दोषिउपर कारबाही गर्न पनि उनीहरुले माग गरे । जेनजीको समूह फरक-फरक भएको भन्दै उनीहरुले एकजुट हुन पनि आग्रह गरे ।  जेनजी आन्दोलनका उपलब्धीहरुको रक्षा र भावी योजना तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो । गत भदौ २३ र २४ गते जेन जी आन्दोलन भएको थियो । आन्दोलनमा धेरै धनजनको क्षति भएको छ ।   

टाटा समूहमा नेतृत्व संकट : रतन टाटाको निधनपछि विवाद र आन्तरिक कलह

काठमाडौं । टाटा ग्रुपका पूर्वअध्यक्ष रतन टाटालाई आज उनको पहिलो पुण्यतिथिमा व्यापारिक जगतले सम्झिरहेको छ । गत वर्ष ९ अक्टोबरमा उनको निधन भएको थियो । रतन टाटाजस्ता व्यवसायी जसको दूरदर्शिता र नैतिकताले भारतमा व्यापार र समाजसेवा दुवैलाई सही आकार दिएको थियो ।  उनको ठूलो समूह टाटा ट्रस्ट्सले आन्तरिक कलहको सामना गरिरहेको छ । टाटा ट्रस्ट्सले टाटा सन्समा ६६ प्रतिशत हिस्सेदारी राखेको छ । यो विवाद रतनको निधनको एक वर्षपछि पनि जारी रहेको हो । रतन टाटाको निधनको एक वर्षमै टाटा समूहमा धेरै विवाद देखा परेका छन् । रतन टाटाको निधनपछि उनका भाई नोएल टाटाले नेतृत्व गरेको टाटा ट्रस्ट्समा ट्रस्टीहरूबीच बोर्ड नियुक्ति र व्यवस्थापन सम्बन्धी विवाद भइरहेको छ । नोएल टाटासँग जोडिएका एक समूह र चार ट्रस्टीहरूको समूहबीच मतभेद उत्पन्न भएको हो । दोस्रो समूहको नेतृत्व मेहली मिस्त्रीले गर्दैछन् जो शापूरजी पल्लोनजी परिवारसँग सम्बन्धित छन् । यस परिवारको टाटा सन्समा १८.३७ प्रतिशत हिस्सेदारी छ ।   यो विवाद बोर्डका सदस्यहरूको नाम तय गर्ने सम्बन्धमा छ । अक्टोबर २०२४ मा रतन टाटाको निधनपछि टाटा ट्रस्ट्सले नयाँ नीति बनायो, जसअनुसार ७५ वर्षभन्दा माथि उमेर भएका नामनिर्दिष्ट निर्देशकहरूको टाटा सन्स बोर्डमा हरेक वर्ष फेरि नियुक्ति हुनेछ । यसपछि विजय सिंहले स्वयं टाटा सन्स बोर्डबाट राजीनामा दिए । सरकारसम्म पुग्यो विवाद ट्रस्ट्स र शापूरजी पल्लोनजी समूहबीच अर्को ठूलो विवाद टाटा सन्सलाई अपर लेयर कोर इनभेस्टमेन्ट कम्पनी (सीआईसी) का रूपमा सूचीबद्ध गर्ने बारेमा छ । एसपी समूहका लागि आफ्नो हिस्सेदारी बेचेर पैसा जुटाउन जरुरी छ किनभने उनीहरूको ऋण लगातार बढ्दैछ । यसै वर्षको सुरुमा उनले लगभग ३० हजार करोड भारु ऋणलाई लगभग २० प्रतिशत उच्च ब्याजदरमा पुनःवित्त पोषण (पुरानो ऋण वा कर्जालाई नयाँ सर्तमा फेरि व्यवस्थापन गर्नु) गरेका थिए । यदि समूहको हिस्सेदारी आंशिक रूपमा टाटा ट्रस्ट्स र टाटा सन्सले खरिद गर्छ भने ऋण लगभग ५० प्रतिशत घट्न सक्छ । १० अक्टोबरमा हुने अर्को टाटा ट्रस्ट्स बोर्ड बैठकलाई ध्यानमा राख्दै आशा गरिएको छ कि दुबै विरोधी समूहबीच विवाद सुल्झिनेछ । देशको सबैभन्दा प्रतिष्ठित समूहका ट्रस्टीहरूले आन्तरिक मुद्दा समाधान गर्न सरकारको सहयोग लिनुपरेको छ । गृहमन्त्री अमित शाहले मंगलबार ट्रस्टीहरूसँगको बैठकमा दुबै समूहलाई ‘टाटाको तरिका’ अनुसार काम गर्न निर्देशन दिएका छन् ताकि समूहको सञ्चालनमा कुनै नराम्रो असर नपरोस् । यस आन्तरिक कलहले १८० अर्ब डलर मूल्यको ठूलो समूहको कामकाजमा असर पार्न सक्ने भारतीय विश्लेषकहरू बताउँछन् । समूहको विरासत बचाउन सरकारको हस्तक्षेपको विकल्पमा पनि विचार भइरहेको छ।  रतन टाटाले सन् १९६२ मा टाटा ग्रुपमा काम सुरु गरेका थिए । दशकौंको मेहनतपछि उनी समूहको नेतृत्वमा उभिए र १९९१ मा टाटा सन्सका अध्यक्ष भए । उनी केवल व्यवसायिक दृष्टिले मात्र होइन, मानवीयता र समाजसेवाका लागि पनि चर्चित थिए ।  उनको नेतृत्वमा टाटा समूहले व्यापारिक सफलता मात्र नभई स्वास्थ्य, शिक्षा र ग्रामीण विकासमा पनि ठूलो योगदान दिएको छ ।  रतन टाटालाई २००८ मा पद्म विभूषणबाट सम्मान गरिएको थियो ।  रतन टाटाको स्मृति केवल व्यापारमा सफलता मात्र होइन, समाज र मानवताको सेवामा पनि उनको योगदान सम्झाउने प्रकारको छ।  

२२ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक २२ अंकले बढेर २५८२ बिन्दुमा पुगेको छ । आज २०० कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बिहीबार ३१३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको २७ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनियन हाइड्रोको २७ करोड, हिमालयन रिइन्स्योरेन्सको २० करोड, नेपाल रिइन्स्योरेन्सको २० करोड र हिमालयन डिस्टीलरीको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । व्यापार बाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार १.४८ प्रतिशतले घटेको छ । बैंकिङ १.०७, विकास बैंक १.०८, फाइनान्स १.२३, होटल तथा पर्यटन ०.९२, हाइड्रोपावर ०.९५, लगानी १.६१, जीवन बीमा १.३०, उत्पादन तथा प्रशोधन १.०३, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.९३ र अन्य ०.२३ प्रतिशतले बढेका छन् ।

कांग्रेस पदाधिकारी बैठक सानेपामा जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार (आज) २ बजेबाट बैठक सुरु भएको हो। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।  साथै बैठकमा यही असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचीलगायत विषयमा छलफल हुने उनले बताए । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि  पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलो पटक बस्न लागेको हो ।  प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि उनकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो । स्वास्थ्य लाभपछि आराम गरिरहेका सभापति देउवा आजको बैठकमा उपस्थित नहुने र असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुनुहुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । प्रदर्शनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालयलगायत पार्टीका विभिन्न जिल्ला कार्यालयलगायत विभिन्न नेताका घरमासमेतमा आगजनी र तोडफोड भएको थियो ।  उक्त प्रदर्शनपछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहस सुरु भएको छ ।  

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले बैंकका नाममा ग्राहकलाई फोन गरी ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  त्यस्ता अनाधिकृत व्यक्तिले व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा जानकारी दिँदै आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचना बैंकमा प्राप्त भएको उल्लेख गरेको छ ।   बैंकद्वारा बिहीबार प्रेस विज्ञप्तिमा भनिएको छ,  'बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै कुनैपनि प्रयोजनका लागि फोन, इमेल, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटिएम् पिन, मोबाइल बैंकिङ तथा ई– बैंकिङका ओटिपि, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण मागिएको छैन ।'     बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीद्वारा जारी सो विज्ञप्तिमा अनाधिकृत रुपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न समेत अनुरोध गरिएको छ ।   

महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्टलगायतका संस्थाहरूसँग सहकार्य विस्तार गर्ने उद्देश्यसहित चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरूलाई लक्षित गर्दै र्‍याडिसन होटल लाजिम्पाटसँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले विमानस्थल लाउन्ज सेवासहित र्‍याडिसन होटलका विभिन्न सेवामा छुट पाउनेछन् । ग्राहकले विमानस्थल लाउन्ज सेवामा १५ प्रतिशत, खाद्य तथा पेय पदार्थमा २० प्रतिशत, पेस्ट्री खरिदमा १५ प्रतिशत, ट्यानक्वीलीटी स्पा सेवामा १५ प्रतिशत र र्‍याडिसन फिटनेस सेन्टर (जिम) मा २० प्रतिशत छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ । बैंकले यस सहकार्यबाट आफ्ना कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिएको छ । साथै, बैंकले हालै सुरु गरेको अर्को योजनाअनुसार ग्राहकले विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद रकम ६ देखि १२ महिनासम्म किस्ताबन्दीमा भुक्तान गर्न सक्ने सुविधा पनि पाउनेछन् ।

नक्कली आयोग एमालेलाई स्वीकार्य छैन : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बनाएको छानबिन आयोगमाथि नै प्रश्न उठाएका छन् ।  जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका हत्या, हिंसा, आगजनी लगायतका फौजदारी अपराधका घटनाको छानबिन गर्न जाँचबुझ आयोगलाई उनले नक्कली आयोग भएको बताएका हुन् ।  एमालेको भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उनले अहिलेका मन्त्रीहरूको पनि सम्पत्ति छानबिन गर्न तयार हुनुपर्ने धारणा राखे । उनले अहिलेका मन्त्रीहरूले गज्जबको नाटक गरेको बताए ।  ‘यस्तो नाटक एमालेलाई स्वीकार्य छैन, एमालेलाई नक्कली आयोग मञ्जुर छैन,’ उनले भने ।