विकासन्युज

भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृत्युमा औषधि कम्पनीका मालिक पक्राउ

काठमाडौं ।  भारतीय प्रहरीले २१ बालबालिकाको मृत्युमा संलग्न औषधि कम्पनीका मालिकलाई पक्राउ गरेको छ । अधिकारीहरूका अनुसार चेन्नाईस्थित आफ्नै घरमा पक्राउ परेका ७५ वर्षीय जी रंगनाथनलाई गैरकानूनी हत्या र लागुऔषधमा मिलावट गरेको आरोप लगाइएको छ । मध्य प्रदेश राज्यमा गत महिना कम उमेरका बालबालिकाहरूको घातक विषाक्त पदार्थले दूषित खोकी सिरप सेवनपछि मृत्यु भएको थियो । सो सिरप दक्षिणी भारतको तमिलनाडु राज्यस्थित स्रेसन फार्मा युनिटमा ‘कोल्ड्रिफ’ ब्रान्ड नामले उत्पादन गरिएको थियो । भारतीय स्वास्थ्य मन्त्रालयको परीक्षणले सिरपमा डाइथाइलिन ग्लाइकोल (डीईजी) भएको पुष्टि गरेको छ, जुन औद्योगिक सम्मिश्रण हो र थोरै मात्रामा सेवन गरे पनि घातक हुन सक्छ । यस प्रकरणपछि मध्य प्रदेश र अन्य राज्यहरूले उक्त सिरपमा प्रतिबन्ध लगाएका छन् । विश्व स्वास्थ्य संगठनले पनि भारतीय अधिकारीहरूलाई सो सिरप अन्य देशमा निर्यात गरिएको छ कि छैन भनेर स्पष्टीकरण मागेको छ । यो घटना भारतमामात्रै सीमित छैन । सन् २०२२ मा भारतबाट आयात गरिएको दूषित सिरप खाएपछि गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएको थियो । उज्बेकिस्तानमा पनि २०२२–२०२३ बीचमा भारतमा उत्पादित दूषित सिरप सेवन गर्दा ६८ बालबालिकाको मृत्यु भएको थियो । घटनाले भारतको औषधि उद्योगको प्रतिष्ठामा गम्भीर धक्का पुगेको छ र विश्वभरका स्वास्थ्य अधिकारीहरूलाई सतर्क बनाएको छ । रासस

त्रिविको जग्गा हिनामिना : ओली सरकारले लुकाएको प्रतिवेदन कार्की सरकारले कार्यान्वयन गर्ने

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । समितिको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।  समितिले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदन सार्वजनिक नभएपछि खोजी भएको थियो । काठमाडौंमा मात्र १ हजार रोपनी त्रिविको जग्गा हिनामिना भएको छ ।  यस्तै, सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको छ । बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता खरेलले जानकारी दिए । बिहीबार नै बसेको बैठकले इलाम जिल्लालाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ । केही दिनअघिको बाढीपहिरोबाट सबैभन्दा ठूलो क्षति इलाममा भएको थियो । बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो । एमालेका नेता सुहाङ नेवाङले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।  यस्तै, सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता खरेलले जानकारी दिए ।  बिहीबारको बैठकले नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकले अध्यागमन र भिजिट भिसाको सन्दर्भमा देखिएका समस्या समाधान गर्न गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्रालयमा पठाउने निर्णय गरेको छ ।  नागरिक उड्ययन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिले पेश गरेको प्रतिवेदन २०८२ कार्यान्वयनका लागि पर्यटन मन्त्रालयमा पठाउने निर्णय पनि भएको छ ।

भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरु खारेज

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।  

तीन महिनासम्म इलाम संकटग्रस्त जिल्ला घोषणा, सुहाङको माग पूरा

काठमाडौं । सरकारले इलाम जिल्लालाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरेको हो ।  केही दिनअघिको बाढीपहिरोबाट सबैभन्दा ठूलो क्षति इलाममा भएको थियो । बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो ।  नेकपा एमालेका नेता सुहाङ नेवाङले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । 

आइसिटी अवार्ड २०२५ को छनौट प्रक्रिया जारी : ४ विधामा छानिए उत्कृष्ट १२ र १३ सेमिफाइनलिस्ट

काठमाडौं । आइसिटी अवार्ड २०२५ का लागि केही विधामा नोमिनेशन खुला रहेको र केही विधामा बहुपर्यायी छनोट प्रक्रिया जारी छ । क्याटेगोरी ‘ए’ अन्तर्गत दोस्रो चरणको मूल्यांकन पश्चात् चार विभिन्न विधामा उत्कृष्ट १२ र १३ सेमिफाइनलिस्टहरू सार्वजनिक गरिएको छ । स्टार्टअप र प्रडक्ट आइसिटी अवार्डमा उत्कृष्ट १२-१२ सेमिफाइनलिस्ट चयन गरिएका छन् भने राइजिङ स्टार इन्नोभेसन र सोसियल इन्नोभेसन विधामा उत्कृष्ट १३-१३ सेमिफाइनलिस्ट चयन भएका छन् । १४ जना विज्ञ जूरी सदस्यहरूले आवेदनकर्ताहरूका कागजात, वेबसाइट, प्रणाली र एप्लिकेसनहरूको अध्ययन गरी व्यवस्थित डिजिटल भोटिङ प्रणालीमार्फत मूल्यांकन गर्दै सेमिफाइनलिस्टहरूको छनोट गरेका हुन् । अब सेमिफाइनलिस्टहरूले उत्कृष्ट ५ फाइनलिस्ट छनोटका लागि विभिन्न प्री–इभेन्ट, ग्राण्ड जूरी प्रस्तुती र स्पीड डेटिङ चरणहरू पार गर्नुपर्नेछ । पहिलो चरणमा प्राप्त आवेदनहरू सर्टलिस्ट गरी १५ दिनभित्र विज्ञ जूरीले ग्राण्ड जूरीको लागि सेमिफाइनलिस्टहरू सार्वजनिक गरेका हुन् । यी चार विधामा ३०० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको थियो । यी विधाहरू बाहेक क्याटेगोरी ‘सी’ अन्तर्गतका संस्थागत अवार्डहरूको छनोट प्रक्रिया जारी छ भने क्याटेगोरी ‘बी’ अन्तर्गतका व्यक्तिगत अवार्डहरूको नोमिनेशन अझै खुला रहेको छ । यसैगरी दक्षिण एसियाली देशहरूलाई लक्षित साउथ एसिया स्टार्टअप र प्रोभिन्स स्टार्टअप रिकग्निसनको नोमिनेशन पनि अन्तिम चरणमा पुगेको छ ।  

कांग्रेस पनि मंसिरमै महाधिवेशन गर्ने तयारीमा

काठमाडौं । नेपाली कांगेसको पन्ध्रौं महाधिवेशन मंसिरमा गर्ने तयारी बिहीबार बसेको पदाधिकारी बैठकले गरेको छ ।  बहुसंख्यक नेताहरू विशेष महाधिवेशनको पक्षमा रहे पनि पदाधिकारी बैठकले नियमित महाधिवेशनको प्रस्ताव २६ गते बस्ने केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको हो । पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको थियो ।  यसभन्दा अगाडि नेकपा माओवादी केन्द्रले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ भने नेकपा एमालेले पनि मंसिरमै महाधिवेशन गर्ने तयारी गरेको बुझिएको छ ।  गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि  पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलो पटक बसेको हो । प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि उनकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो । स्वास्थ्यलाभपछि आराम गरिरहेका सभापति देउवा आजको बैठकमा उपस्थिति थिएनन् । असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । प्रदर्शनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालयलगायत पार्टीका विभिन्न जिल्ला कार्यालयलगायत विभिन्न नेताका घरमासमेतमा आगजनी र तोडफोड भएको थियो ।  उक्त प्रदर्शनपछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहस सुरु भएको छ ।

दूधपोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री व्यवस्थापनमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच कम्पनीको साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार मुक्तिनाथ क्यापिटलले दूधपोखरी चेपे हाइड्रोपावरको आईपीओ निष्काशन र बिक्री व्यवस्थापकको भूमिका निर्वाह गर्नेछ । एक औपचारिक कार्यक्रममा दूधपोखरी चेपे हाइड्रोपावरका अध्यक्ष सबिन प्रधानाङ्ग र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने चेपे खोलामा निर्माणाधीन ११ मेगावाट क्षमताको दूधपोखरी चेपे हाइड्रोपावर आयोजनाको हालसम्म ७८ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । बाँकी काम २०८२ साल चैत्र महिनासम्म सक्ने लक्ष्य लिइएको छ । कम्पनीले आयोजना निर्माण अन्तिम चरणमा पुगेकाले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर अर्थात् २० करोड २० लाख रुपैयाँको २० लाख २० हजार कित्ता साधारण सेयर (प्रति कित्ता अंकित मूल्य १०० रूपैयाँ) सर्वसाधारणका लागि बिक्री गर्न तयारी गरेको छ । सम्झौताले आयोजना र लगानीकर्ताबीचको सम्बन्ध सुदृढ गर्नका साथै पूँजी बजारमा जलविद्युत् क्षेत्रमा लगानी विस्तार गर्न सहयोग पुग्ने विश्वास कम्पनीका अध्यक्ष प्रधानाङ्गले व्यक्त गरेका छन् ।

गगनको प्रस्ताव : देउवालाई हटाएर महाधिवेशन गरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले पद छाड्नु पर्ने धारणा राखेका छन् । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले देउवालाई सभापतिबाट हटाएर नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका हुन् ।  ‘अहिलेको नेतृत्वबाट अगाडि बढ्न सकिँदैन, उहाँलाई विश्राम दिएर नियमित महाधिवेशनमा जाऔं,’ थापाले बैठकमा भने ।  देउवा अनुपस्थित रहेको बैठकमा थापाले यस्तो प्रस्ताव गरेका हुन् । आजको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले अध्यक्षता गरेका छन् ।  बैठकमा असोज २६ गतेदेखि सुरू हुने केन्द्रीय समिति बैठकको कार्यसूचीबारे पनि छलफल भइरहेको छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् ।