विकासन्युज

नेपालमा गैरआवासीय नेपालीहरूको एक खर्ब लगानी भित्रियो : एनआरएनए

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा करिब एक खर्ब बराबरको लगानी भित्रयाएको छ । एनआरएनएले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो तथ्यांक सार्वजनिक गरेको हो ।  आफ्नो २२ औं स्थापना दिवसको अवसर पारेर आयोजित्र पत्रकार सम्मेलनमा बोल्दै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले नेपालको अर्थतन्त्रमा ठूलो सुधार ल्याउनका लागि आफूहरुले जोड दिएको बताए । उनले गैरआवासीय नेपालीहरुले आफूले सिकेको सीपको पनि नेपालमा अधिकतम उपयोग गर्न सक्दो प्रयास गरिरहेको बताए । नेपालमा आफूहरु लगानी बढाउन प्रतिवद्ध रहेको पनि अध्यक्ष केसीको भनाई थियो । उनले भने,  ‘हामीले कमाएको केही अंश मात्रै पनि नेपालमा पठायौ भने नेपालको अर्थतन्त्रमा धेरै ठूलो सुधार हुन्छ र गर्न सकिन्छ भन्ने हाम्रो पहिलो एजेण्डा हो । अहिलेको अवस्थामा नेपालमा १ खर्ब भन्दा बढि गैरआवासीय नेपालीहरुको शिक्षा क्षेत्रमा, बैकिङ क्षेत्रमा, कृषि क्षेत्रमा, हाइड्रो क्षेत्रलगायतका विभिन्न क्षेत्रमा लगानी छ । यदि नेपालमा कुनै पनि दुर्गम ठाउँमा पनि आधुनिक, सफा क्याफे देख्नुहुन्छ भने त्यो गैरआवासीय नेपालीले खोलेको छ ।’ एनआरएनले आफूहरुले विश्वभर नेपालको पहिचान दिलाउन महत्वपूर्ण योगदान दिएको पनि दाबी गर्दै आएको छ । अध्यक्ष केसीले राजदुतावास नभएको ठाउँमा पनि नेपालीहरुले आफ्नो देशको पहिचान गराउने काम गरेको जिकीर गरे । 

जेनजी प्रतिनिधिको आह्वान : चुनावमा भाग लिऔँ

काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गरेका छन् ।  राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गरेका हुन् ।  संसदीय अभ्यासमा रहेका पूराना दलहरु निर्वाचनमा भाग नलिए चुनाव नहुने अवस्था हुने भएकाले पनि घोषित निर्वाचनलाई सदुपयोग गर्नुपर्छ भन्ने आफूहरुको मान्यता रहेको बताए ।  जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गानाले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले निर्वाचनमार्फत जनप्रतिनिधिको चयन हुने हुँदा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्ने आफूहरुको चाहना रहेको बताए ।  ‘निर्वाचनमा सबै दलहरु आइदिनुहोस्, यो लोकतान्त्रिक प्रक्रिया हो, कसैले रोक्न सक्दैन, सबैले भाग लिन पाउनुहुन्छ, अधिकार छ, जनताले छाने भने जो तपाईं नै निर्वाचित हुनुहोला, निर्वाचनमार्फत नयाँ शक्ति पनि उदाउन सक्छ, निष्पक्ष प्रतिष्पर्धा हुन्छ सबैजना आउनुहोस’, उनले भने ।  ढुंगानाले वर्तमान मन्त्रिपरिषद्मा सडक आन्दोलनलाई उचाइमा पुर्याउन योगदान दिनेलाई समावेश गर्नुपर्छ भन्ने आफूहरुको स्पष्ट धारणा रहेको बताए ।  राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु र सरकारबीच आगामी निर्वाचनका बारेमा छलफल भएको थियो ।  उक्त छलफलमा राजनीतिक दलका तर्फबाट चुनावका लागि शान्ति सुरक्षालगायत उपयुक्त वातावरण हुनुपर्ने धारणा व्यक्त भएको थियो भने सरकारकातर्फबाट राजनीतिक दलहरुलाई चुनावमा भाग लिन आग्रह गरिएको थियो । 

हुम्लामा ३ हजार पुस्तकसहितको पहिलो सामुदायिक पुस्तकालय सञ्चालनमा

काठमाडौं । हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर २ मा अवस्थित महादेव माध्यमिक विद्यालयमा जिल्लाको पहिलो सामुदायिक पुस्तकालय ‘हिम किरण सामुदायिक पुस्तकालय’ उद्घाटन गरिएको छ। एजुकेटिङ रिमोट एरियाज नेपालको पहलमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन समारोहमा बोल्दै संस्थाका संयोजक टेकेन्द्र उपाध्यायले विद्यार्थीलाई नियमित रूपमा पढाइमा रुचि राख्न आग्रह गरे। उनले भने, 'विद्यार्थीहरूले पढेनन् भने समाज बिग्रिन्छ, समाज बिग्रिए देश बिग्रिन्छ। त्यसैले सबै विद्यार्थी भाइबहिनीहरूलाई पुस्तक पढ्न आग्रह गर्दछु।' कार्यक्रमका प्रमुख अतिथि पूर्वशिक्षक तथा शिक्षाविद् कुलप्रसाद चौलागाईंले पुस्तकालय स्थापना हुम्लाका विद्यार्थीका लागि ठूलो अवसर भएको बताए। उनले भने, 'हामीले कथा–उपन्यास त टाढाको कुरा, पाठ्यपुस्तक पनि सजिलै पढ्न पाएका थिएनौं। अहिले सामुदायिक पुस्तकालय स्थापना भएको छ, त्यसैले सबै विद्यार्थीले मन लगाएर पढ्नुपर्छ।' उनका अनुसार पुस्तकालयमा करिब तीन हजार पुस्तकहरू रहेका छन्, जसमा साहित्यिक र राजनीतिक विषयका पुस्तकहरू समावेश छन्। कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढाले विद्यालय व्यवस्थापनमा केही कमजोरी रहेको स्वीकार गर्दै आगामी दिनमा नयाँ तरिकाले सुधार गर्दै अघि बढ्ने बताए। उनले पुस्तकालय सञ्चालनपछि विद्यार्थीको अध्ययनप्रतिको रुचि बढ्ने विश्वास व्यक्त गरे। त्यस्तै, एजुकेटिङ रिमोट एरियाज नेपालका सह–संयोजक गोविन्द गोडासैनीले कर्णालीका विद्यार्थीमा पुस्तकालय जाने र किताब पढ्ने बानी कम रहेको उल्लेख गर्दै भने, 'यो विद्यालयका विद्यार्थीहरूले भने राम्रो उदाहरण पेश गर्ने विश्वास लिएका छौं।' कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बिर्खबहादुर सिंह, वडा नम्बर ३ का सदस्य कुलप्रसाद चौलागाईं, विद्यालयका अध्यक्ष जनक बुढा, सदस्यहरू विशु बोहोरा, नर्जन बुढा, धर्मकला बुढा, सिंह नेपाली, बिर्सबहादुर सिंह, सह–प्राध्यापक खगेन्द्र बम, शिक्षक विरबहादुर रोकायासहित अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति थियो। सामुदायिक पुस्तकालय सञ्चालनमा आएपछि दुर्गम क्षेत्रका विद्यार्थीलाई अध्ययनको वातावरण सुधार गर्न र पुस्तक पढ्ने संस्कृतिको विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।  

आपसी समन्वयका कारण विपद्‌मा पनि यसरी सम्भव भयो दूरसञ्चार सेवा

काठमाडौं । निरन्तरको भारी वर्षा र त्यसपछिको बाढीपहिरोका कारण असोज तेस्रो साता जनजीवन प्रभावित भयो । खासगरी मुलुकका मध्यभागदेखि पूर्वोत्तर क्षेत्र वर्षाबाट बढी प्रभावित भए । बाढीपहिरोका कारण हालसम्म ५३ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । अलपत्र यात्रु गन्तव्यमा अझै पुगिसकेका छैनन् भने सबै सडकमा पूर्ण रुपमा यातायात सञ्चालन गर्न अझै केही दिन लाग्ने सरकारले बताइसकेको छ ।देशको विषम परिस्थितिमा पनि दूरसञ्चार क्षेत्रले भने निरन्तर सेवा दिन सक्यो । बाढीपहिरोका कारण दूरसञ्चारका पूर्वाधारमा धेरै क्षति हुँदा पनि निरन्तर सेवा सञ्चालन भयो । नेपाल टेलिकमका सहप्रवक्ता नवीन मिश्र जनशक्तिको निरन्तरको खटाइ र पूर्वतयारीका कारण निर्वाध सेवा प्रवाह सम्भव भएको बताउँछन् । विशेषगरी मधेस र कोशी प्रदेशमा कम्पनीको सेवा बढी प्रभावित भयो । 'भारी वर्षा, बाढीपहिरो तथा डुबानका कारण मुलुकभर नेपाल टेलिकमका एक हजार १५० वटा टावरमा क्षति भयो । मधेसमा करिब ३०० वटा टावरमा क्षति भयो', उनले भने । धेरै ठाउँमा विद्युत् आपूर्तिमा अवरोध हुँदा समस्या भएको थियो । सहप्रवक्ता मिश्रका अनुसार नेपाल टेलिकमले विपत्तिका बेला काम गर्न मुलुकभर ‘इन्टिग्रेटेड मेन्टिनेन्स युनिट’ नै राखेको छ । सोही टोली जस्तोसुकै परिस्थितिमा पनि कार्यक्षेत्रमा परिचालन हुन तयारी अवस्थामा हुन्छन् । गत असोज १८ र १९ गते कोसी र मधेस प्रदेशका करिब पाँच लाख उपभोक्ता प्रभावित भएका थिए । कोसी प्रदेशको इलाममा भने दुई दिनसम्म सेवा प्रभावित भए पनि अन्य क्षेत्रमा भने लामो समयसम्म सेवा अवरुद्ध हुन नपाएको उनको भनाइ छ । निजी क्षेत्रको टेलिकम सेवाप्रदायक एनसेलका अनुसार बाढीपहिरो तथा डुबानका कारण कम्पनीका करिब ४०० टावरमा क्षति भएको छ । समस्या भएका ठाउँ पहिचान गरेर सेवा सञ्चालन भइसकेको एनसेलको भनाइ छ । विद्युत्का कारण इलामका केही स्थानमा समस्या रहे पनि अहिले सबै स्थानमा सेवा सञ्चालन भइसकेको छ । 'समस्या हामीलाई पनि परेको थियो तर हामीले अहोरात्र खटिएर तत्कालै सेवा सञ्चालन गर्न सफल भयौँ । अहिले कतै पनि एनसेलको सेवामा समस्या भयो भनेर गुनासो आएको छैन', एनसेलले भनेको छ । दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरिरहेको चिनियाँ कम्पनी हुवावेका अनुसार सरकारले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षाको प्रक्षेपण गरेपछि यसको तयारी सुरु भइसकेको थियो । गत वर्ष पनि भारी वर्षापछि बाढी र पहिरोका कारण ठूलो क्षति भएकाले हुवावेले आफ्नो क्षेत्राधिकारभित्र पूर्वतयारी सुरु गरिसकेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि त्यसअघि नै टेलिकम कम्पनीहरुलाई उच्च सतर्कता अपनाउन र आपत्कालीन समयमा सेवा निरन्तरताको सुनिश्चित गर्नका लागि आग्रह गरिसकेको थियो । विपद्मा कस्ता समस्या आउँछन् ? प्राकृतिक विपत्तिका बेला सेवा प्रवाह गर्ने प्रमुख उपकरण टावरलगयतमा अवरोध हुन्छ । बाढीपहिरोमा फाइबर वा ‘माइक्रोवेभ लिङ्क’ काट्दा वा सडक बगाउँदा टावरको सञ्जाल विच्छेद हुन्छ । केही टावर डुबानमा पर्छन् वा बिजुलीका खम्बा ढल्दा वा लाइन क्षतिग्रस्त हुँदा विद्युत् आपूर्ति बन्द भएर पनि सेवा अवरुद्ध हुन्छ । कहिलेकाहीँ हुरी, बाढीपहिरोले ठूलोमात्रामा फाइबर केबल विच्छेद गरिदिन्छ । रूख ढल्दा वा पहिरो खस्दा हावामा तन्काइएका फाइबर केबलहरू चुँडिन्छन् । सो अवस्थामा पनि सेवा अवरुद्ध हुन्छ । त्यस्तै, सडक भासिँदा वा जमिन तलमाथि हुँदा पनि भूमिगत फाइबर चुँडिने वा भाँचिने हुन्छ जसका कारण केबल ज्वाइन्ट (स्प्लाइस पोइन्ट र इन्क्लोजर) नष्ट हुन्छन् । जसले गर्दा सेवा अवरुद्ध हुन्छ । त्यसबाहेक विद्युत् आपूर्तिका समस्या भएर पनि सेवा अवरुद्ध हुन्छ । ‘ब्याकअप ब्याट्री वा डिजेल जेनेरेटर’ क्षतिग्रस्त हुन सक्छन् वा इन्धन पुनःभरण पहुँच नहुँदा प्रयोग गर्न नसकिने अवस्था आउँछ जसका कारण सेवा सञ्चालन गर्न ढिला हुन्छ । हालैको बाढीपहिरोमा सडक नै बगाएको वा अवरुद्ध भएका कारण सेवा पुनःसुरु गर्न ढिला भएको छ । फिल्ड इञ्जिनियरले अवरुद्ध वा डुबान भएका सडक, ढलेका पुल वा पहिरोका कारण क्षतिग्रस्त स्थानमा पुग्न कठिनाइ हुन्छ । कसरी हुन्छ सेवा सञ्चालन ? टेलिकम सेवाप्रदायकले देशका सबै क्षेत्रमा अहोरात्र सेवा प्रवाह भइरहेको छ कि छैन भनेर अनुगमन गरिरहेका हुन्छन् । सोअन्तर्गत पूर्वसूचना र निगरानी लिने काम पनि हुन्छ । यसपटक जल तथा मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाका आधारमा ‘नेटवर्क’ निगरानी बढाइएको थियो । यसरी उच्च जोखिम हुने क्षेत्र पहिचान गरिन्छ । यस्तो अवस्थामा टेलिकम सेवाप्रदायकले आपत्कालीन संयन्त्र परिचालन गर्छन् र कुनकुन स्थानमा फाइबर काटिएको छ, टावर भत्किएको छ वा बिजुली अवरुद्ध भएको छ त्यसको जानकारी फिल्ड इञ्जिनियर तुरुन्त दिइन्छ । त्यसपछि अवरुद्ध भएको स्थानमा ‘ब्याकअप पावर’ र उपकरणको अवस्था कस्तो छ सोको जानकारी गराइन्छ । ‘ब्याट्री, जेनेरेटर र स्पेयर पार्ट’हरू स्थानीयस्तरमै तयारी अवस्थामा राखिन्छन् । सेवा अवरुद्ध भएको स्थानमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र समुदायसँग सहकार्य गरी प्रभावित क्षेत्रमा मर्मत गरिन्छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा एनसेल र नेपाल टेलिकमजस्ता सेवाप्रदायकले एकापसमा समन्वय गरी नेटवर्क निरन्तरता सुनिश्चित गर्छन् । यी प्रयासले बाढीपहिरो र भूकम्पजस्ता विपद्का बेला पनि नेपालमा सञ्चार सेवा निरन्तर सञ्चालन राख्न मद्दत पुर्याउँछन् । दूरसञ्चार उपकरण तथा सूचना तथा सञ्चार प्रविधि सेवा प्रदायक हुवावेले नेपाल टेलिकम र एनसेललाई प्रविधि र स्थलमै जनशक्ति उपलब्ध गराई महत्वपूर्ण सहयोग गरेको जनाएको छ । सेवा प्रदायकसँग नजिकबाट सहकार्य गर्दै, हुवावेले देशभर आफ्ना प्राविधिक टोली निरन्तर खटाइ काम गरेको जनाएको छ । हुवावेका अनुसार कम्पनीले सञ्चालन गरेको नेटवर्क ‘एस्युरेन्स’ प्रणालीमार्फत लगातार निगरानी गरिएको थियो । ‘सिग्नल ड्रप’ वा ‘फाइबर कट’को सङ्केत ‘पिङ टेस्ट’, ‘अलार्म निगरानी’ र ‘अप्टिकल डायग्नोस्टिक्स’जस्ता उपकरण प्रयोगगरी तत्कालै पहिचान गरिएको थियो । फलस्वरुप ‘फाइबर कट’ विद्युत् अवरोध र सडक अवरुद्धजस्ता चुनौतीमा पनि आफूहरुले तत्काल सेवा प्रवाह गर्न सफल भएको उनीहरुको भनाइ छ । रासस

राष्ट्रपति पौडेल अस्पताल भर्ना, अवस्था सामान्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि आज महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका छन् ।      हाल उनको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

साढे ४ लाख घुससहित विद्यालयका प्रधानाध्यापक पक्राउ

काठमाडौं । रौतहटस्थित जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक साढे चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्यालयका प्रधानाध्यापक संजय प्रसादलाई पर्साको वीरगन्ज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटेलबाट नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार प्रधानाध्यापक प्रसादले शिक्षक आवश्यक भनी खुलाइएको विज्ञापनमा एक जनाले मात्रै रीतपूर्वक दरखास्त दिएको अवस्थामा पनि बिचौलिया अरविन्द प्रकाश साहमार्फत साढे चार लाख रुपैयाँ घुस लिएका थिए । घुस लिइसकेको अवस्थामा दुवैजनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको छ ।

राहतदेखि पुनःनिर्माणसम्मको काम सरकारको प्राथमिकतामा छ : मन्त्री घिसिङ

इलाम । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्माण रहेको बताएका छन् । आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उनले भने, 'सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।' रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवाली आइपुग्नुभएका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका बस्तीमा पुगेर स्थानीयवासीसँग क्षति र राहत व्यवस्थाबारे जानकारी लिनेछन् । उनले राजदुवाली सडक, मिल घुम्तीलगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्था अवलोकन गरेका छन्। गत असोज १८ गते रातिको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । बाढी र पहिरोका कारण अहिलेसम्म इलाममा ३९ जनाको मृत्यु भएको छ ।

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन हुँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको छ । मन्त्रिपरिषद्को यही असोज २३ गतेको बैठकले प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न जिम्मेवारी दिएपछि मन्त्रालयले सोको तयारी गरेको हो । शिक्षामन्त्री महावीर पुनले आफूले प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको सामाजिक सञ्जालबाट जानकारी दिएका हुन् । गत पुस २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको उपस्थितिमा खोजबिन समितिका सदस्य महेन्द्र थापाले सो प्रतिवेदन हस्तान्तरण गरेका थिए। विसं २०८० जेठ १७ गते मन्त्रिपरिषद्बाट पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौं उपत्यकाका २१ वटा क्याम्पसका जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि समाधानका उपायसमेत सुझाएको थियो । समितिले जग्गाको दुरूपयोग भएका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लेखी पठाउन पनि सुझाव दिएको थियो ।