१ सयमै बिक्रीमा राख्यो बुद्धभूमि नेपाल हाइड्रोले ४.७४ लाख कित्ता सेयर
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले बिक्री नभई बाँकी रहेको हकप्रद सेयर बोलकबोल (गोप्य शिलबन्दी टेन्डर) प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहका लागि निष्काशन गरिएको हकप्रद सेयरमध्ये बिक्री नभई बाँकी रहेका ४ लाख ७४ हजार ६९६ कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीको उक्त सेयर खरिदका लागि योग्य इच्छुक व्यक्ति, कम्पनी, संघसंस्था तथा अन्य निकायले जेठ २९ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले प्रति सेयर आफूले कबुल गर्ने मूल्य उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले सेयर मूल्य न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । सेयर खरिदका लागि एनआईसी एशिया बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी, सुर्खेत, नुवाकोट, चितवन र नेपालगञ्जस्थित शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।
६२ हजार महिलाको सहकारी आन्दोलन, करोडौं कारोबार
काठमाडौं । आम रूपमा मधेसमा महिलाको गणना चुलो-चौकाको काममा मात्र गनिन्छ भन्ने गुनासो सुनिन्छ । तर पछिल्ला समयमा मधेसका महिलाले सहकारीका माध्यमले कृषि क्षेत्रका कामबाटै आफूलाई सामाजिक र आर्थिक क्षेत्रमा सफल उद्यमीका रूपमा उभ्याएका छन् । महिला मात्र आबद्ध महिला सामाजिक उद्यमी सहकारी मधेसमा स्थापित मानिन्छन् । मधेसका महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र बारासहित छ जिल्लामा महिला सामाजिक उद्यमी सहकारीमा आबद्ध महिलाले पशुपालन, तरकारी खेती र कृषि उत्पादनकै बेचबिखन गरिने पसल संस्थागत रूपमा सञ्चालन गरेर सफल उद्यमीको परिचय बनाएका छन् । महिलालाई यो कार्यमा अन्तर्राष्ट्रिय सामाजिक संस्था हेफर इन्टरनेशनले सहयोग र उत्प्रेरणा गर्दै आएको छ । महोत्तरीको बर्दिबास-१० र ११ को खयरमारा सेरोफेरोलाई कार्यक्षेत्र बनाएको ज्योति महिला सामाजिक उद्यमी सहकारी बर्दिबास-११ का अध्यक्ष चनावती श्रेष्ठ भन्छिन्, ‘अहिले हामीलाई काम भ्याइनभ्याइ छन् ।’ यो सहकारीले दूधका लागि गाई/भैँसी पालन, बाख्रापालन, बङ्गुर पालन, उपभोक्ता पसल सञ्चालन गर्दै आएको छ । समूहले पशुपालनलाई प्रवर्द्धन गर्न जई, मेण्डोला, स्टाइलो, नेपियर र डाले घाँसको बीउ उत्पादन गर्दै आएको छ । ‘हामीले यो वर्ष १ हजार बढी खसी बेचिसकेका छौँ, ३ हजारभन्दा बढी खसी पालेका छौँ,’ ज्योति महिला सामाजिक उद्यमी सहकारीका सचिव सरस्वती विश्वकर्मा भन्छिन्, ‘खयरमारामा पर्ने दुवै वडाभित्र १० भन्दा बढी बस्ती छन्, सबै वस्तीका महिला अहिले सहकारीमा आबद्ध हुने क्रम बढ्दो छ ।’ सुरुमा २५ महिलाले सुरु गरेका यो सहकारीमा अहिले एक हजार ३७८ सेयर सदस्य पुगेका छन् । सहकारीको कार्यसमितिको नियमित बैठक, साधारणसभालगायत गतिविधिमा सक्रियता बढ्दै जाँदा महिलाको विभिन्न क्षेत्रका स्थानीय विकासका सरोकारमा सहभागिता बढ्दै गएको बर्दिबास नगरपालिकाका उप-प्रमुख तारादेवी महतो बताउँछिन् । यसैगरी, सर्लाहीको हरिपुर महिला सामाजिक उद्यमी सहकारी हरिपुरले दूध उत्पादनका लागि आफ्ना सदस्यलाई भैँसी पालनमा ऋण सहयोग गरेको छ । यो सहकारीले अहिले दूध सङ्कलन गर्न पाँच ठाउँ केन्द्र बनाएको छ । वि.सं २०६७ मा स्थापित यस सहकारीमा अहिले ८७४ सेयर सदस्य छन् । सहकारीको कुल कारोबार ७ करोड रुपैयाँ नाघेको छ । सेयर सदस्यको बचत नै ३ करोड ९ लाख २८ हजार रुपैयाँ रहेको अध्यक्ष मञ्जु चौधरी थारू बताउँछिन् । ‘सहकारीमा दूधका लागि भैँसीपालन गर्ने र बाख्रापालन गर्ने सदस्यले मुख्य काम पाएका छन्,’ चौधरी भन्छिन्, ‘यसपालि भर्खर बकर इद पर्वमा २ हजार ५०० खसी बेचेका छौँ ।’ सोअघि गत फागु पर्व र दसैँमा गरी तीन हजार खसी बेचिएको उनले बताइन् । यो सहकारीले आफ्ना सदस्यको घरमा हुने दूध किनेर विभिन्न परिकार बनाई बिक्री वितरण गर्ने गरेको छ । यसरी कृषि कार्यमा जुटेका महिलाको आर्जन निरन्तर बढ्दै गएको उनको भनाइ छ । यस्तै, सर्लाहीकै लालबन्दी-१६ न्यू उदय महिला सामाजिक उद्यमी सहकारीका १० भन्दा बढी सदस्यले दूध उत्पादनका लागि गाई, भैँसी पालनको कृषि फार्म नै सञ्चालन गरेका छन् । वि.सं २०७८ मा २५ जनाले सुरु गरेका यो सहकारीमा अहिले १ हजार ३० सेयर सदस्य पुगेका छन् । विदेशबाट फर्केका युवालाई कृषि कार्यमा जोड्न विशेष योजना साथ लागिएको यस सहकारीकी व्यवस्थापक शर्मिला मोक्तान बताउँछिन् । यो सहकारीका सदस्यले पछिल्लो एक महिनाभित्र १ हजार २०० खसी बेचेको मोक्तानको भनाइ छ । यसैगरी, यो सहकारीले ८०० लिटरसम्म दूध सङ्कलन गरेर दूधजन्य परिकारको उद्योग सञ्चालन गरेको छ । यस्तै रौतहटको गजुरा-३ का महिलाले आरम्भ महिला सामाजिक उद्यमी सहकारी सञ्चालन गरेका छन् । यो सहकारीले खसी पालन, मासु बिक्री वितरण र निगुरोको साग (मुन्टा) बिक्री वितरण गरेर प्रशस्त आर्जन गर्दैछन् । अहिले ३५४ महिला आबद्ध यो सहकारीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको अवधिमा २ हजार ५०० खसी बिक्री गरेको अध्यक्ष पुनम चौधरी थारुले बताइन् । महिलाको सहकारीमार्फत कृषि कार्यमा बढ्दो चासोमा घरका परिवारजनको राम्रो साथ सहयोग पाइने गरिएको उद्यमी महिलाको अनुभव छ । अवसर र सहयोग मिल्नसके महिलाले जस्तोसुकै काम पनि व्यवस्थित रूपले गर्न सक्छन् भन्ने मधेसका महिला सामाजिक उद्यमी सहकारीमा आबद्ध महिलाले चरितार्थ गरेका बर्दिबास-११ खयरमाराका सामाजिक अगुवा चन्द्रलाल गौतम बताउँछन् । हेफर इन्टरनेशनले सहकारीमा आबद्ध महिलालाई व्यवसाय विस्तार र दिगोपनाका लागि आवश्यक साझेदारी र लगानीका अवसर खोज्न सहयोग समन्वय गर्दै आएको छ । हेफरको जनकपुरस्थित क्षेत्रीय कार्यालयले पूर्वी नेपालका १२ जिल्लाका महिला सामाजिक उद्यमी सहकारीलाई सहयोग समन्वय गर्दै आएको छ । यीमध्ये मधेसका छ जिल्ला छन् । अन्य जिल्लामा बागमती प्रदेशका चार र कोशी प्रदेशका दुई जिल्ला रहेका हेफर इन्टरनेशनल जनकपुर क्षेत्रीय कार्यालयका प्रमुख दीपेश पोखरेलले जानकारी दिए । मधेसका महिला सामाजिक उद्यमी सहकारीहरूको समीक्षा र मूल्याङ्कनसहितको मङ्गलबार बर्दिबासमा सम्पन्न योजना तथा लगानी सम्मेलनमा सहकारी प्रतिनिधिले हालसम्मको कामको समीक्षा गर्नसँगै भावी योजना पनि प्रस्तुत गरेका छन् । सम्मेलनको मुख्य ध्येय यी सहकारीहरूको व्यवसाय वृद्धि योजना तयार गर्ने, नवीन सोच र उद्यमशीलता विकास गर्ने र लगानीकर्तासम्म प्रभावकारी पहुँच बढाउने रहेको महिला सामाजिक उद्यमी सञ्जाल बागमती प्रदेश उपाध्यक्ष होमकुमारी ठकुरीले स्पष्ट पारिन् । हेफरको जनकपुर क्षेत्रीय कार्यालयको समन्वयमा रहेका १२ जिल्लाका महिला सामाजिक उद्यमी सहकारीमा ६२ हजार महिला आबद्ध छन् । यो सङ्ख्याभित्र मधेसका २० हजार बढी महिला आबद्ध रहेका क्षेत्रीय कार्यालय प्रमुख पोखरेलको भनाइ छ । यी सहकारीमा महिलाले देखाएका तत्परता र गरेका कामको उपलब्धि साँच्चै हौसला बढाउने तहको भएको हेफर क्षेत्रीय कार्यालय जनकपुरको मूल्याङ्कन छ । उद्यमी महिलाले घर, परिवार, समाज र यहाँका निकायबाट सकारात्मक सहयोग र समन्वय पाउन सके सहकारीका माध्यमबाट निकै उपलब्धि हासिल हुने सामाजिक आन्दोलनकी नेत्री बर्दिबास-३ का बासिन्दा सरस्वती चौधरीको प्रतिक्रिया छ ।
३ दशकअघिको समाज र प्रेमको चित्रण गर्ने ‘काजी’
काठमाडौं । सामाजिक विषय र प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘काजी’ गत जेठ ८ देखि प्रदर्शनरत छ । वि.सं २०४५ को समयको सामाजिक संरचनाभित्र रहेर प्रेम, समर्पण र सम्बन्धको कथा प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेता विपिन कार्कीले ‘काजी’ र अभिनेत्री केकी अधिकारीले उनकी श्रीमती ‘कजिनी’ को भूमिका निर्वाह गरेकी छिन् । बाल्यकालमै टुहुरो भएका काजीले मागी विवाहमा पाउने श्रीमतीलाई नै आफ्नो संसार बनाउँछन् । एउटा दृश्यमा काजीले ‘मेरो बा, आमा सबै नै श्रीमती (कजिनी) नै हुन्’ भन्ने संवाद बोल्छन्, जसले काजीले आफ्नो कजिनीलाई गर्ने प्रेमका बारेमा ज्ञात गराउँछ । उक्त चलचित्रमा देखाइएको प्रेममा त्याग छ, सहनशीलता छ र मौन स्वीकृतिहरू छन् । श्रीमान् र श्रीमतीबीचको प्रेमलाई जति देखाइएको छ, त्यहाँ सामाजिक दबाब पनि सृजना गरिएको छ । वंश अगाडि बढाउने सन्तान नहुँदा चलचित्रमा द्वन्द्व सृजना हुन्छ । काजीलाई उनका काकाले अर्को विवाह गर्न सल्लाह दिन्छन्, तर उनले श्रीमतीबाहेक अन्य सोच्न नसक्ने बताउँछन् । यद्यपि, चलचित्रमा कजिनीको बहिनी अर्थात् काजीको साली (गरिमा शर्मा) को प्रवेश सँगै नयाँ मोड आउँछ । काजी र सालीबीचको सम्बन्ध विवाहसम्म पुग्न सक्ने हल्ला समाजमा चलेपछि कजिनीले झुट बोल्ने योजना बनाउँछिन् । उनलाई कुनै पनि सर्तमा काजी गुमाउनु छैन । चलचित्र ‘काजी’ यही वैचारिक द्वन्द्वभित्र रहेर दर्शकसँग संवाद गर्न खोजिरहेको आभाष हुन्छ । चलचित्रमा अभिनेता विपिन कार्कीले काजीलाई परम्परागत नभई प्रेमिल भावमा प्रस्तुत गरेका छन् । ‘यतिसम्म पनि प्रेम गर्न सक्छन् र ? यस्तो पनि प्रेम हुन्छ र भन्ने पात्र हामीले देखाएका छौँ । यो चलचित्रमा मेरो पात्रले आफ्नो संसार नै श्रीमतीलाई मानेपछि केसम्म गर्न सक्छ भन्ने देखाइएको छ । यो अमर रहने एउटा प्रेम कथानक हो,’ अभिनेता कार्कीले भने । उनी काजी खानदानबाट भएकै कारण काजी त भए, तर सरल छन् । गाउँलेलाई हरेक समस्यामा मद्दत गर्ने पात्र अभिनेता कार्कीले निर्वाह गरेका छन् । अभिनेत्री केकी अधिकारीले ‘काजी’ जस्तो श्रीमान् हरेक महिलाको चाहना हुने बताइन् । उनले भनिन्, ‘यो एउटा निःस्वार्थ समर्पणको प्रेमकथा हो । अहिलेको पुस्तालाई यस्तो पनि प्रेम हुन्छ र रु भन्ने आभाष चलचित्र हेरेपछि हुन्छ । यसमा श्रीमान् र श्रीमती निःस्वार्थ प्रेम सामाजभन्दा माथि हुन्छ भन्ने देखाइएको छ ।’ निर्देशक लक्ष्मण रिजालले सरल र मन छुने कथालाई पटकथामार्फत चलचित्रका रुपमा तयार गरे पनि सबैभन्दा कमजोरी पटकथामै देखिएको छ । काजी आफ्नो गाउँमा एउटा सम्मानित र निर्दोष पात्र हो । आफ्ना पिताले बसालेको बस्तीमा उसको बेग्लै सान छ । तर, चलचित्रमा देखाइएको घटनाक्रम वा पटकथा एकै लयमा बग्दा दर्शकले धैर्यता गुमाउन सक्छन् । बारम्बार उस्तै दृश्य र शैली देख्दा सुस्त भएको महसुस हुन्छ । साथै, चलचित्रमा देखिने समस्यासँग मुख्य पात्र भाग्दा दर्शकलाई खिन्न लाग्न सक्छ । अर्थात् कजिनीले झुट बोलेर टिकाउन खोजेको सम्बन्धका लागि काजी लड्छ भन्ने अपेक्षा हुनसक्छ । तर, काजीले रोज्ने सरल बाटोले त्यसमा द्वन्द्व सिर्जना हुन् पाउँदैन । हुन् त काजीले चलचित्र सुरु भएकै केही समयमा आउने दृश्यमा कजिनीलाई असहजता भएमा आफूले लिने निर्णयबारे आफ्नो काका र काकीलाई जानकारी गराइसकेका हुन्छन् । तर, पनि चलचित्रको पात्रले समस्यासँग समना गर्नुपर्नेमा सरल बाटो रोज्नु एउटा मुख्य कमजोरी हो । ‘काजी’ को अर्को बिर्सनै नसकिने पक्ष यसको सङ्गीत र पाश्र्व ध्वनि हो । यसको बलियो पक्ष छायाङ्कन हो । छायाँकार चिन्तनराज भण्डारीले आजभन्दा झन्दै तीन दशक अगाडिको समयलाई कलात्मक रुपमा प्रस्तुत गरेका छन् । बिजुली नहुँदा लालटिन वा टुकी बत्तीको समयलाई उनले दुरुस्तै उतारेका छन् । काजी (विपिन कार्की) को चरित्र एउटा ‘आदर्श प्रेमी’ को प्रतीक हो । ‘काजी’ एउटा यस्तो फिल्म हो जुन हेरिरहँदा केहीबेर आँखालाई आनन्द दिन सक्छ, कलाकारको अभिनयले मन लोभ्याउन सक्छ तर जाँदाजाँदै दिइएको सन्देश र मुख्य द्वन्द्व फितलो हुँदा दर्शकलाई खिन्न बनाउन सक्छ । समग्रमा चलचित्र ‘काजी’ प्राविधिक हिसाबले जति बलियो छ, कलाकार अभिनयको जति सुन्दर र जीवन्त छ । पटकथा त्यति नै कमजोर छ ।
कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक जेठ २१ गते बिहीबार बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ । बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।
पोखरामा अन्तर्राष्ट्रिय उडान भर्न फ्लाइ दुबई इच्छुक
काठमाडौं । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मङ्गलबार भेटवार्ता गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबीच पर्यटन प्रवर्द्धनका सम्भावनाको खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्डलगायत दुई पक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा उड्डयनको क्षेत्रमा २० वर्षभन्दा बढी लामो अनुभव भएका लुकाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान भर्न इच्छुक रहेको बताएको महानगर प्रमुख आचार्यले जानकारी दिए । उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन र ‘एयरलाइन अपरेसन’को क्षेत्रमा विशेषज्ञता हासिल गरेका लुकाजले फ्लाइ दुबईले उडानबाट पोखरासँग जोडिन पाए समग्र पोखरा र यस क्षेत्रको पर्यटनका लागि सुखद हुने बताए । विमानस्थलहरूको अन्तर्राष्ट्रिय र स्थानीय उड्डयन सुरक्षा मापदण्डहरूको अनुपालन सुनिश्चित गर्न सुरक्षा रणनीतिहरूको निरीक्षणमा दखल राख्ने लुकाजले पोखराको सुन्दरताले आफू निकै प्रभावित भएको समेत बताए । सो क्रममा नगर प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निरन्तर पहल गरिरहेको उल्लेख गर्दै दुई देशबीचको पर्यटन आदानप्रदानमा सिधा उडानको भूमिका महत्वपूर्ण रहने भएकाले सो का लागि कम्पनीका तर्फबाट विशेष पहल गर्न अनुरोध गरे । नेपाल सरकारसँग आफूले पटकपटक संवाद गरेको र विशेष समयमा अन्तर्राष्ट्रिय चार्टर उडानहरू सञ्चालन भइरहेकाले विमानस्थल अन्तर्राष्ट्रिय उडान भर्न सक्षम रहेको उनले उल्लेख गरे । ‘पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने कुरा विभिन्न समयमा भएका चार्टर उडानबाट प्रमाणित भइसकेको छ । पोखरा पर्यटनको राजधानी सहर भएकाले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नका लागि समेत अन्तर्राष्ट्रिय उडानहरू आवश्यक छ । त्यसतर्फ हामीले जोड दिएका छौँ । आजको भेटले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास बढाएको छ,’ प्रमुख आचार्यले भने । भेटवार्तामा नगर प्रमुख आचार्यसहित महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईलगायत सहभागी थिए । मित्रराष्ट्र चीनको सहयोगमा २२ अर्ब रुपैयाँ बढी लगानीमा निर्माण भएर वि.सं २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । विमानस्थल आन्तरिक उडानमा मात्र सीमित हुँदै आएको छ ।
अवैध जडीबुटी बेच्दै पक्राउ परेका ५ जनालाई २ लाख जरिवाना
काठमाडौं । जिल्ला प्रहरी कार्यालय भोजपुरले अवैध जडिबुटीसहित पक्राउ परेका ५ जनालाई २ लाख रूपैयाँ जरिवाना गराएर छाडेको छ । भोजपुर नगरपालिका-९, पानीट्याङ्कीबाट अवैध जडिबुटीसहित आइतबार पक्राउ परेका उनीहरुलाई मङ्गलबार जरिवाना गराएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । पक्राउ पर्नेमा सिमरा नगरपालिका-१८ का २१ वर्षीय सन्तोषकुमार नट, सर्लाहीको इश्वरपुर नगरपालिका-५ का २० वर्षीय रबि किसन नट, सोही ठाउँका २२ वर्षीय सुरेन्द्र नट, ३३ वर्षीय अजय कुमार नट र सिरहा कर्जना नगरपालिका-५ का ३० वर्षीय जितेन्द्र कुमार राठोर रहेको प्रहरी प्रमुख लामाले बताए । स्थानीयवासीलाई अवैध जडीबुटी बेच्दै गरेको अवस्थामा संलग्नहरुलाई पक्राउ गरी कानुनी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएकामा सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम एकमुस्ट २ लाख रूपैयाँ जरिवाना हुने गरी कारबाही गरिएको छ । पक्राउ परेकाहरूले तोकिएको जरिवाना रकम जम्मा गरेकाले आज छोडिएको प्रहरी प्रमुख लामाले बताए ।
देशका अधिकांश भागमा सामान्य बदली, तराई क्षेत्रमा तातो दिन हुने
काठमाडौं । आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ । यसैगरी देशको हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ । आज राति देशको हिमाली भू-भागमा साधारणतया, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशको हिमाली र पहाडी भू-भागलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
करिब ५ अर्ब बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी
काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार रुपैयाँ बचत रकम फिर्ता गरी दिनका लागि छ हजार बढी बचतकर्ताले माग गरेका छन् । कामपा सहकारी विभागका अनुसार पछिल्लो समय कामपामा बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको छ । कामपा सहकारी विकागका प्रमुख धु्रव काफ्लेका अनुसार उल्लेखित बचत रकम फिर्ताका लागि गत वैशाख १७ गतेदेखि हालसम्म आएको उजुरीको आधारमा भनिएको हो । प्रमुख काफ्लेका अनुसार, यसरी माग दाबी गर्ने बचतकर्ताहरूमा रु एक लाख देखि पाँच लाखसम्मको रकम रहेका बढी छन् । उक्त रकम फिर्ताका लागि छ हजार ३०० बचत कर्ताले उजुरी दिएको प्रमुख काफ्लेले जानकारी दिए । निवेदनका आधारमा उनले भने, ‘यसरी उजुरी दिनेमा दैनिक ५०० देखि एक हजारसम्म गर्ने अर्थात साना रकम जम्मा गर्ने बचतकर्ताहरूको सङ्ख्या बढी रहेको छ ।’ कामपाका अनुसार उजुरी आएकामध्ये साना बचतकर्ताको सङ्ख्या ७८ प्रतिशत रहेको छ । उजुरीकै आधारमा कामपाले गत सोमबार र मङ्गलबार गरी बुद्ध दर्शन सेभङि एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । कामपा-६ मा सञ्चालित बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले उक्त दिन रु एक लाख ५० हजारसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यहरूलाई बचत रकम फिर्ता गरेको हो । सहकारीले आगामी १ महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको विभागले जानकारी दिएको छ । कामपाले ठूला बचतकर्ताका हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीहरूलाई ताकेता गर्ने र बचतकर्ताको बचत रकम फिर्ता गर्दै कार्य अघि बढाएको छ । सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको कामपा सहकारी विभागको भनाइ छ । विभागका प्रमुख काफ्लेले बचत रकम फिर्ताका लागि गरिने सहजीकरण प्रक्रियाका विषयमा भन्छन्, ‘माग दाबीसहितको निवेदन लिन्छौं। संस्थाका सञ्चालक र बचत फिर्ता माग गर्नेका बीच छलफल तथा मिलापत्र गराउने प्रयास गर्छौं ।’ वडास्तरको मेलमिलापबाट नटुङ्गिएमा विभागले मिलाउन प्रयास गर्छ । यस क्रममा संस्थाका सञ्चालक सम्पर्कमा आउन अटेर गरेमा कारबाहीका सिफारिस गरिन्छ ।