विकासन्युज

लुम्बिनी सरकार : एमालेका मन्त्रीले दिए राजीनामा

घोराही । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मन्त्रीले राजीनामा दिएका छन् ।       आफूहरूले बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए ।      मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् । राजनीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु रहेका छन् ।    

सरकारले इन्जिनियर मुकेश गौतमलाई सेवाबाट हटाउँदै

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागका इन्जिनियर मुकेश गौतममाथि कडा प्रशासनिक कारबाही अघि बढाइने भएको छ ।  विभागको नेपाल इन्जिनियरिङ सेवा, इलेक्ट्रिकल समूहका राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियर गौतम बिना स्वीकृत ९० दिनभन्दा बढी समयदेखि बिदा बसेको र कार्यालयमा अनुपस्थित रहेका छन् ।  वैदेशिक अध्ययन पूरा गरेपछि ३० दिनभित्र कार्यालयमा हाजिर हुनुपर्ने व्यवस्था उल्लंघन गर्दै उनी लामो समयदेखि सम्पर्कविहीन जस्तै रहेको उल्लेख गर्दै निजामती सेवा ऐन, २०४९ बमोजिम स्पष्टिकरण माग गरेको हो । अध्ययन बिदा समाप्त भएपछि अनिवार्य सेवा अवधि पूरा नगरेको तथा स्वीकृत बिदा नलिई अनुपस्थित रहेको गम्भीर विषय उठाइएको छ । मन्त्रालयले किन सेवाबाट हटाउनु नपर्ने भन्ने प्रश्नसमेत गर्दै ३० दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न अन्तिम मौका दिएको  छ। तोकिएको समयभित्र स्पष्टिकरण नआए वा असन्तोषजनक भएमा निजामती सेवा ऐन अनुसार बर्खास्ती लगायत कडा कानूनी कारबाही अघि बढाइने जनाएको छ । 

बजेट सकारात्मक, कार्यान्वयन भए अर्थतन्त्र चलायमान हुन्छ : उद्योग परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई सकारात्मक रुपमा लिएको छ । औद्योगिक प्रवद्र्धनलाई केन्द्रमा राखेर ल्याइएको यो बजेटको प्रभावकारी कार्यान्वयनले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिन आधार तयार गर्ने परिसंघको विश्वास छ । बजेटले आन्तरिक उत्पादनसँगै विदेशी लगानीकर्तालाई समेत आकर्षित गर्ने देखिन्छ ।  उत्पादनमुलक उद्योगका लागि तयारी वस्तु र कच्चा पदार्थको भन्सारमा एक तह फरक गर्न २७३ वस्तुको भन्सार घटाउने निर्णयले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने र औद्योगिकरणको गतिलाई तीव्रता दिन सहयोग गर्ने परिसंघको बुझाइ छ । ३६० वटा वस्तुमा अन्तःशुल्क खारेजीले उत्पादन लागत कम गर्न सहयोग गर्ने विश्वास छ ।  वन तथा प्राकृतिक स्रोतको समुचित प्रयोग, हरित औद्योगिकीकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनलाई प्राथमिकता, मोतीपुर र मयूरधाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालन गर्ने विषयले निजी क्षेत्रलाई प्रोत्साहन गर्नेछ । परिसंघले केही वर्ष अघिदेखी नै औद्योगिक क्षेत्र निर्माण तथा संचालनका लागि नेपाल सरकार समक्ष आशय दिइसकेको छ । अब यो कार्यान्वयनमा आउने विश्वास परिसंघको छ ।   उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमाण्ड शुल्क पुनरावलोकन गर्दै विद्युत महसुलमा छुट दिने, उद्योगीहरूले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा लिजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सक्ने विषयले औद्योगिकरणलाई प्रोत्साहित गर्ने परिसंघको विश्वास छ ।  स्वचालित रुपमा मूल्य अभिबृद्धि कर फिर्ताको व्यवस्था, विवादित करमा थप १ प्रतिशत तिरेमा मुद्दा फिर्ता हुने, सोमा ब्याज, जरिवाना आदि नलाग्ने व्यवस्था अत्यन्त व्यवहारिक छ । धेरै उद्योगी तथा लगानीकर्ताहरू वर्षौंदेखि मुद्दामा अलमलिएका छन् । यस व्यवस्थाले उनीहरूलाई ठूलो राहत दिनेछ र उत्पादनमूलक कार्यमा ध्यान केन्द्रित गर्न सहयोग पुग्नेछ ।  परिसंघले उठाउँदै आएको अश्वैच्छिक हक हस्तान्तरणमा आयकरको दफा ५७ नलाग्नेलगायतका प्रावधानले उद्योग–व्यवसायको उत्तराधिकार व्यवस्थापन, संस्थागत पुनर्संरचना तथा व्यवसाय विस्तारका क्रममा देखिएका जटिलताहरू हटाउनेछ ।  मुनाफा फिर्ता लैजाने, रोयल्टी फिर्तामा सहज गर्ने घोषणाले विदेशी लगानी आकर्षित गर्नेछ र लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । व्यक्तिगत आय करको सीमा १० लाख रूपैयाँ पुर्याउनु र अधिकतम दर १० प्रतिशतले कम गर्नु अर्थतन्त्रका लागि महत्वपूर्ण कदम हो । उपभोक्ताको क्रयशक्ति बढाउन सके मात्र उद्योग, व्यापार र सेवा क्षेत्रले गति लिन सक्छन् । यस सन्दर्भमा यी व्यवस्थाहरूले अर्थतन्त्रमा माग विस्तार गर्न सहयोग पुर्याउने अपेक्षा गर्न सकिन्छ । निर्यातको सम्भावना भएका कृषि प्रशोधन, पर्यटन सेवा, हलुका उत्पादन लगायतका श्रम प्रधान उद्योगको विकास तथा विस्तारका लागि नमूना स्वरूप रोजगार आबद्ध उत्पादन क्षेत्र (इम्प्लोयमेन्ट लिङ्कड प्रोडक्सन जोन) सञ्चालन गर्ने, लगानी प्रवद्र्धन, आर्थिक सुधार र सहज सेवा प्रवाहको समुचित नीतिगत तथा कानुनी प्रबन्ध गर्ने भनिएको छ । उधारो असुली सम्बन्धि कानून निर्माण गर्ने, लगानी प्रबर्द्धनका लागि दर्जनौं ऐन, नियम, कार्यविधि र निर्देशिकाको निर्माण, प्रतिस्थापन वा परिमार्जन गर्ने तथा यसअघि नै घोषणा गरिएका १५ वटा कानून तुरुन्त खारेज गर्न केही नेपाल ऐन संशोधन विधेयक संसदमा प्रस्तुत गर्ने विषयले लगानीकर्तालाई उत्साहित बनाउनेछ ।  सरकारी निकायहरूको खारेजी तथा मर्जरको निर्णयले सरकारी कार्यक्षमतामा उल्लेखनीय सुधार ल्याउने र अनावश्यक खर्चमा कटौती हुनेछ । लगानी बोर्डबाट स्वीकृत भएका परियोजनामा पुनः अन्य निकायबाट स्वीकृति लिनु नपर्ने कानुनी व्यवस्था गर्ने, विद्युत खरिद सम्झौता भएका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमतिपत्र खारेज गरी ‘टेक अर पे’ विधिमा नयाँ पीपीए गर्ने, पूर्वाधारमा निजी लगानी परिचालन गर्न वैकल्पिक विकास वित्त कोष, अफसोर बण्ड, स्वच्छ ऊर्जा बण्ड, डायस्पोरा बण्ड र जलवायु कोषको उपयोग गर्ने जस्ता विषयले परियोजनाका लागि निजी लगानीलाई समेत आकर्षित गर्न खोजेको देखिन्छ ।   साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न 'फस्ट लस रिकभरी' हुने गरी कर्जा सुरक्षण गर्ने, पुँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई 'व्यावसायिक पुनरुत्थान कर्जा' उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्ने, निजी क्षेत्रबाट ग्रीन युरिया उत्पादन प्रवद्र्धन गर्न खरिद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने, उद्योग प्रतिष्ठानको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानूनी प्रबन्ध गर्ने, स्टार्टअप, साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिष्टममा आबद्ध गर्ने प्लेटफर्मको रुपमा नेपाल इन्टरप्राइज फसिलिटी स्थापना गर्ने विषय सकारात्मक छन् ।  वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका ठाँउ पहिचान गरी ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था मिलाउने, उच्च मूल्यका पर्यटक लक्षित रिसोर्ट तथा होटललाई भौतिक र वित्तीय प्रोत्साहन, आरोग्य पर्यटन ब्राण्डिङका विषयले अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्नेछ ।  आन्तरिक उत्पादन प्रवद्र्धन तथा संरक्षण शुल्कले स्वदेशी उद्योग र नेपाली उत्पादनलाई संरक्षण गर्न सहयोग गर्ने, उद्योगले सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि गर्ने खर्च आय कर प्रयोजनका लागि कट्टी गर्न पाउने विषय स्वागतयोग्य छन् ।  यद्यपी बजेटमा केही महत्वपूर्ण विषयहरु छुटेका छन् । गुणस्तर प्रवद्र्धन तथा गुणस्तरीय वस्तु आयात गर्ने विषय बजेटमा छुटेको छ ।   उत्पादनमुलक उद्योगहरूलाई आवश्यक जग्गामा हदबन्दि नलाग्ने नीति अवलम्बन गरिनुपर्नेछ । यसका लागि उद्योग दर्ता गर्दा दर्ता गर्ने निकाय समक्ष पेश गरी स्वीकृत भएको उद्योगको आफ्नो परियोजना वा स्किममा उल्लेख गरेसम्मको जग्गामा हदबन्दी नलाग्ने उल्लेख गरी यस्तो जग्गामा हदबन्दिसंग सम्बन्धित कुनै पनि प्रावधान लागू नहुने व्यवस्था गरिनुपर्ने विषय सम्बोधन गर्न छुटेको देखिन्छ ।  उद्योग व्यवसायले सरकारको कुनै निकायमा भुक्तान गर्न बाँकी रहेको रकम र सरकारले सो उद्योगलाई भुक्तान वा फिर्ता गर्न बाँकी रहेको रकम हिसाब मिलान गर्न पाउने व्यवस्था भए उद्योगी व्यवसायी एवं सरकारलाई पनि सहज हुने थियो । बजेटले लिएको ७ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न, लगानी प्रवर्द्धन तथा अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको परिसंघको बुझाइ छ ।

केएमसीमा बझाङका विपन्न बिरामीलाई निःशुल्क उपचार

काठमाडौं । बझाङका विपन्न, गरिब तथा असहाय बिरामीहरूले अब काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क तथा सहुलियतपूर्ण उपचार सेवा पाउने भएका छन् । नेपाली कांग्रेसका युवा नेता अभिषेक बहादुर सिंहको विशेष पहलमा दुर्गम जिल्लाका आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गर्दै यस्तो व्यवस्था गरिएको हो ।  काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा र युवा नेता सिंहबीच उपचार गर्ने र गराउने सहमति भएको हो ।  सहमतिअनुसार बझाङका आर्थिक रूपमा विपन्न तथा उपचारका लागि सहयोग आवश्यक पर्ने बिरामीहरूलाई केएमसीमा उपचार सेवा उपलब्ध गराउन आवश्यक सहजीकरण गरिनेछ । यसबाट बझाङका सयौं बिरामी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपालका दुर्गम जिल्लामध्ये एक बझाङमा स्वास्थ्य सेवा अझै पनि चुनौतीपूर्ण अवस्थामा रहेको छ । जिल्लाका अधिकांश गाउँबस्तीबाट विशेषज्ञ चिकित्सकको सेवा प्राप्त गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । सामान्यदेखि जटिल रोगको उपचारका लागि धनगढी, नेपालगञ्ज वा काठमाडौं पुग्नुपर्ने अवस्था रहेको  छ। उपचारका लागि लामो यात्रा गर्नुपर्ने, बसोबासको व्यवस्था मिलाउनुपर्ने तथा अस्पताल खर्च व्यहोर्नुपर्ने कारण धेरै नागरिक समयमै उपचार गराउनबाट वञ्चित हुने गरेका छन् । यही समस्यालाई मध्यनजर गर्दै सिंहले केएमसी व्यवस्थापनसँग पहल गरेपछि बझाङका विपन्न बिरामीका लागि निःशुल्क तथा सहुलियतपूर्ण उपचारको व्यवस्था मिलाइएको हो । सहमतिअनुसार आवश्यक सिफारिस र पहिचानका आधारमा आर्थिक रूपमा कमजोर बिरामीलाई उपचार, परीक्षण, विशेषज्ञ चिकित्सकको परामर्श तथा अन्य स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराइने जनाइएको छ । काठमाडौं मेडिकल कलेजले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न जिल्लाका विपन्न तथा असहाय बिरामीलाई उपचारमा सहुलियत प्रदान गर्दै आएको छ । अस्पतालका सञ्चालक शर्माले दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउन संस्थाले निरन्तर काम गरिरहेको बताउँदै बझाङका बिरामीलाई समेत आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन् ।  युवा नेता अभिषेक बहादुर सिंहले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएकाले आर्थिक अभावका कारण कोही पनि उपचारबाट वञ्चित हुन नहुने धारणा व्यक्त गरेका छन् । उनले बझाङका नागरिकले उपचारका क्रममा भोग्ने समस्या आफूले नजिकबाट देखेकाले समाधानका लागि पहल गरेको बताए । उनले भने, ‘बझाङका धेरै बिरामी उपचार खर्च अभावका कारण समयमै अस्पताल पुग्न सकिरहेका छैनन् । कतिपयले ऋण गरेर उपचार गराउनुपर्ने अवस्था छ भने कतिपय उपचार नै नगराई बस्न बाध्य छन् । यस्ता नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले केएमसीसँग सहकार्यको वातावरण बनाइएको हो ।’ यस पहलबाट मुटु, मिर्गौला, क्यान्सर, स्नायु रोग, श्वासप्रश्वाससम्बन्धी समस्या तथा अन्य जटिल रोगबाट पीडित विपन्न बिरामीहरूले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास गरिएको छ । विशेषगरी आर्थिक अवस्था कमजोर भएका परिवारका बिरामीका लागि यो कार्यक्रम महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ ।  

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य बुधबार स्थिर छ । चाँदीको मूल्य केही घटेको छ ।      नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार बुधबार एक तोला सुनको मोल तीन लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ । मङ्गलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।      आज एक तोला चाँदी पाँच हजार ३७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो ।       अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४८७ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।     

भायानेटको नयाँ अफर : २५० एमबिपिएस वाईफाई-६ इन्टरनेट, जडान शुल्क निःशुल्क

काठमाडौं । भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि वाईफाई–६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज आकर्षक अफरसहित सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त प्याकेज वार्षिक १३ हजार ८०० रुपैयाँ (करसहित) मा उपलब्ध छ । यस अफरअन्तर्गत सामान्यतया २ हजार ८२५ रुपैयाँ लाग्ने वाईफाई–६ ओएनयू जडान शुल्क नलाग्नेछ भने ग्राहकले केवल १ हजार रुपैयाँ डिपोजिट तिरे पुग्नेछ । छिटो, भरपर्दो र आधुनिक इन्टरनेट सेवा चाहने ग्राहकलाई लक्षित गरी यो योजना ल्याइएको कम्पनीले जनाएको छ । यससँगै ग्राहकहरूले भायाटिभी सेवा पनि मासिक २५० रुपैयाँ (करसहित) मा थप गर्न सक्नेछन् । भायाटिभीमा २०० भन्दा बढी च्यानल, लाइभ टिभी रोक्ने र पुनः चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र तथा सिरिजलगायतका मनोरञ्जन सामग्री उपलब्ध छन् । वार्षिक प्याकेज लिने ग्राहकलाई पहिलो सेट–टप–बक्सको २ हजार २६० रुपैयाँ बराबरको सक्रिय शुल्क पनि छुट दिइनेछ भने सेट–टप–बक्सका लागि १ हजार रुपैयाँ मात्र डिपोजिट लाग्नेछ । ग्राहकलाई थप सुविधा दिन भायानेटले डामी एपसँग सहकार्य गरेको छ । यसअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकले १ हजार ५०० रुपैयाँ बराबरको एक वर्षे डामी एप सदस्यता निःशुल्क प्राप्त गर्नेछन् । डामी एपमार्फत रेस्टुरेन्ट, कपडा पसल, सैलुन तथा खुद्रा पसलहरूमा विशेष छुट पाउन सकिनेछ । यो सुविधा हाल काठमाडौं, पोखरा र चितवनमा लागू हुनेछ । कम्पनीले उच्च गतिको इन्टरनेट, भायाटिभीको मनोरञ्जन र डामी एपको बचत सुविधालाई एकै ठाउँमा समेट्दै 'अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै' भन्ने सन्देश दिएको छ । यसैबीच, भायाटिभी प्रयोगकर्ताले फुटबल विश्वकप २०२६ हेर्न आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सक्नेछन् । नेपालमा उक्त प्रतियोगिताको प्रसारण अधिकार हिमालय टिभीसँग रहेको छ । कम्पनीका अनुसार ग्राहकले प्रतिटिभी ९९९ रुपैयाँ तिरेर कुपन खरिद गरी भायाटिभीमार्फत हिमालय स्पोर्ट्स च्यानलमा खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन् । कुपन ईसेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएसलगायत अनलाइन भुक्तानी माध्यममार्फत ‘भायानेट’ खोजी ग्राहक आईडी राखेर खरिद गर्न सकिनेछ । साथै, भायाटिभीमा देखिने क्युआर कोड स्क्यान गरेर पनि कुपन लिन सकिने व्यवस्था गरिएको छ । भुक्तानीपछि ग्राहकले भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोली खरिद गरिएको कुपन सक्रिय गर्नुपर्नेछ । कम्पनीले एक कुपन एक टिभीमा मात्र प्रयोग गर्न मिल्ने र एकपटक सक्रिय गरिसकेपछि अर्को टिभीमा सार्न नमिल्ने जनाएको छ । थप जानकारीका लागि ग्राहकले भायानेटको ग्राहक सेवा नम्बर ०१–५९७०६४४ मा सम्पर्क गर्न वा नजिकको कार्यालयमा जान सक्नेछन् ।  

१५० मा नकिनेपछि १ सयमा झारियो सेयर मूल्य, निफ्राबाट बाहिरिँदै आईएमई

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) मा रहेको आफ्नो सम्पूर्ण संस्थापक सेयर बिक्री गर्दै आईएमई लिमिटेड बैंकबाट बाहिरिने भएको छ । आईएमई लिमिटेडले निफ्रामा रहेको आफ्नो ०.५० प्रतिशत स्वामित्व अन्तर्गत १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि राखेको हो । उक्त सेयरको कुल मूल्य १० करोड ८० लाख रुपैयाँ बराबर रहेको छ । कम्पनीले यसअघि प्रतिकित्ता १५० रुपैयाँमा सेयर बिक्री प्रयास गरे पनि खरिदकर्ता नपाएपछि मूल्य घटाएर प्रतिकित्ता १०० रुपैयाँमा पुनः बिक्रीमा राखिएको हो । बैंकका अनुसार उक्त सेयर पहिले विद्यमान संस्थापक सेयरधनीहरूले खरिद गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । यदि तोकिएको अवधिभित्र संस्थापकहरूले सेयर खरिद नगरेमा सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिने बैंकले जनाएको छ ।

एक्सप्रेस–टीको सर्भिस सेन्टर अब बिहान ७ देखि राति १० बजेसम्म खुला

काठमाडौं । एक्सप्रेस–टी विद्युतीय ट्याक्सी प्रयोगकर्ता तथा चालकहरूका लागि खुसीको खबर छ । ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै कम्पनीले बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय रूपमा विस्तार गरेको छ । अब उक्त सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म, अर्थात् दैनिक १५ घण्टा खुला रहनेछ । यसअघि बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म मात्र सञ्चालन हुने सर्भिस सेन्टरको समय बढाइएपछि काठमाडौं उपत्यकाका अधिकांश ट्याक्सी चालकले आफ्नो व्यस्त कार्यतालिकाबीच सहज रूपमा सर्भिसिङ तथा मर्मत सेवा लिन सक्ने कम्पनीले जनाएको छ । विस्तारित समयले सवारी सञ्चालनमा न्यून अवरोध ल्याउँदै छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार बालकुमारीपछि गोंगबु र भक्तपुरस्थित डेडिकेटेड सर्भिस सेन्टरहरूमा समेत यही समय तालिका चाँडै लागू गरिनेछ । यसले एक्सप्रेस–टी प्रयोगकर्तालाई अझ व्यापक र सहज सेवा पहुँच उपलब्ध गराउने विश्वास गरिएको छ । यात्रुका लागि आरामदायी तथा चालकका लागि किफायती विकल्पका रूपमा स्थापित हुँदै गएको ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी पछिल्लो समय तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ । उत्कृष्ट ड्राइभिङ अनुभव, कम सञ्चालन खर्च तथा बलियो बिक्रीपछिको सेवा प्रणालीका कारण यो ट्याक्सी धेरै चालक र यात्रुको रोजाइमा परेको छ । हाल कम्पनीले पाटन, एकान्तकुना, सानेपा, जोरपाटी, बनस्थली, गुह्येश्वरी, गोंगबु, भक्तपुर, टिकाथली, नेपालगञ्ज, खाडीचौर, चन्द्रागिरी र स्वयम्भू गरी १३ स्थानमा डेडिकेटेड फास्ट चार्जिङ सुविधा सञ्चालन गरिरहेको छ । साथै बालकुमारी, गोंगबु र भक्तपुरस्थित सर्भिस सेन्टरमार्फत नियमित सर्भिसिङ तथा रिपेयर सेवा उपलब्ध छन् भने अत्याधुनिक भक्तपुर शोरुमबाट बिक्री सेवा समेत प्रदान भइरहेको छ । एक्सप्रेस–टीले ग्राहकलाई थप निश्चिन्त बनाउन १ वर्षको अटो प्लस गाडी बिमा, ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म निःशुल्क नियमित सर्भिसिङ तथा ५ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म ब्याट्री र मोटरमा वारेन्टी सुविधा उपलब्ध गराउँदै आएको छ  । विस्तारित सर्भिस समयसँगै एक्सप्रेस–टीले विद्युतीय ट्याक्सी प्रयोगकर्तालाई अझ छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।