आन्तरिक विवादले राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्न सकेन, राष्ट्र बैंक ऐन समेत उल्लंघन
काठमाडौं, १९ कात्तिक । आन्तरिक विवादमा फसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक लामो समयदेखि बस्न सकेको छैन । सामान्य अवस्थामा सातामा दुई पटक बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठक विगत अढाई महिनादेखि नियमित बस्न सकेको छैन । राष्ट्र बैंक ऐन अनुसार सञ्चालक समितिको बैठक आवश्यकता अनुसार बस्न सक्छ, तर महिनामा कम्तिमा एक पटक बस्नै पर्नेछ । राष्ट्र बैंक सञ्चालक समितिले यतिबेला ऐनको दफा २० उल्लंघन गरिरहेको पाईएको छ । (हेनुहोस कानुनी व्यवस्था) राष्ट्र बैंक सञ्चालक समितिको बैठक नबसेको एक महिनाभन्दा बढी समय भएको र कानुनको पालना गर्न समेत नसकिएको राष्ट्र बैंकका एक डेपुटी गभर्नरले स्वीकार गरे । राष्ट्र बैंकका दुबै डेपुटी गर्भनर सञ्चालक समितिका सदस्य हुन् । ‘बैठक नियमति बस्न नसकेको त साढे दुई महिना भयो । बीचमा कार्यालय खुल्नुभन्दा अगाडि नै दुई पटक बैठक बसेका थियौ । पछिल्लो ढेड महिनामा एक पटक पनि बैठक बसेको छैन’–उनले भने । कर्मचारी संघको अवरोधका कारण बैठक नियमित बस्न नसकेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए । राष्ट्र बैंकका कर्मचारीहरुको सेवा सुविधा वृद्धिको माग गर्दै संघले विरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ । पछिल्लो समय संघले अन्य विरोधका कार्यक्रम रोकेर सञ्चालक समिति बैठक कक्ष अगाडि धर्ना दिँदै आएका छन् । तर सञ्चालक समितिको बैठक बस्नै नसक्ने गरी धर्ना तथा विरोधका कार्यक्रम नरहेको संघका अध्यक्ष बसन्त पाण्डेले बताए । ‘कि गभर्नर कि डेपुटी गभर्नरहरु पालै पालो विदेश गईरहनु भएको छ । कोरम नपुगेर गर्भनरले बैठक राख्न सक्नु भएको छैन, उहाँले चाहेको अवस्थामा सार्वजनिक विदाको दिन वा कार्यालय समय अघिपछि पनि बैठक राख्नु नै भएको थियो’ पाण्डे भन्छन्–‘उहाँहरु आफै बैठक राख्न सक्नुहुन्न, वहाना हामीलाई देखाउनुहुन्छ ।’ स्रोत अनुसार कर्मचारीसँग आन्तरिक सहमति भएपछि मात्र बैठकमा आउने भन्दै विज्ञ सञ्चालकहरु श्रीराम पौडेल, रामहरि अर्याल र बालकृष्ण मान सिंह बैठकमा आउन मानेका छैनन् । कर्मचारी व्यवस्थापनको विषयमा आफूहरु संलग्न नहुने उनीहरुले बताएका छन् । ‘दुई÷तीन पटक बैठक बस्ने भनेर आउनु भयो, कर्मचारीको विरोधका कारण बैठक कक्षमा प्रवेश गर्नै पाउनु भएन, दुई पटक कार्यालय खुल्नु अगाडि नै बैठक बस्यो । त्यसपछि उहाँहरुले कर्मचारी समस्या हल भएपछि मात्र बैठकमा आउने बताउँदै आउनु भएको छ’ स्रोतले भन्यो । सञ्चालक समितिकाे बैठक बस्न नसक्दा गम्भिर समस्या देखिन थालेकाे एक डेपुटी गभर्नरले बताए ।
तिहारमा सवा अर्बको सुनचाँदी व्यापार, अमेरिकी चुनावको प्रभाव नेपाली सुन बजारमा
काठमाडौं, १९ कात्तिक । तिहारमा सवा अर्ब रुपैयाँको सुनचाँदीबाट बनेका गहनाको व्यापार भएको छ । तिहारमा २ सय किलो सुन र ३ हजार किलो चाँदी बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । ‘तिहारको एक सातामा सुन तथा सुनबाट बनेका गहना एक अर्ब रुपैयाँ र ३० करोडको चाँदी व्यापार भयो,’ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष तेजरत्न शाक्यले भने ‘हाल विक्री भएको सुन अघिल्लो महिनाकोभन्दा ५० प्रतिशत र गत वर्षको भन्दा २५ प्रतिशतले बढी हो ।’ तिहारमा अघिल्लो महिनाको तुलनामा सुनको भाउ ३ हजारले घटेका कारणले पनि सुन व्यापार फस्टाएको हो । केही समयअघिसम्म ५९ हजारको हाराहारीमा रहेको प्रतितोला सुनको मूल्य अहिले घटेर साढे ५६ हजारमा आएकोले पनि बजार बढ्न सहयोग पु¥याएको शाक्यले बताए । अस्ति बुधबार ५६ हजार ८ सयमा कारोबार भएको सुन हिजो बिहीबार एक सय रुपैयाँले घटेको थियो । आज भने अझ घटेर ५६ हजार ५ सय सुन विक्री भइरहेको छ । गत वर्ष भूकम्पका कारण थला परेको सुन बजार दसै तिहारमा आएर उकालो लागेको थियो । पछिल्ला महिनासम्म यसले निरन्तरता पाएपनि गत साउनदेखि बजार मन्द गतिमा अघि बढेको हो । अमेरिकी राष्ट्रपतिको चुनावको प्रभाव सुन बजारमा अब अमेरिकी राष्ट्रपतिको चुनाव नसकिञ्जेलसम्म सुनको मूल्य घट्ने अनुमान व्यवसायीहरुले गरेका छन् । गत साताको तुलनामा अहिले विश्व बजारमै सुनको भाउ ओरालो लाग्दै आएको छ । अमेरिकाको चुनाव पछि मात्र बजार भाउ बढ्ने अनुमान गरिएको हो । ‘विश्व बजारले यस्तै संकेत गरेको छ,’ शाक्यले भने । साउनदेखि मन्दगतिमा अघि बढेको सुन व्यापार तिहार लागेपछि एक्कासी उक्लिएको थियो । तर, अहिले तिहार सकिएको तीन दिन वितिसक्दा पनि बजार भने सुनसान छ । आउँदो साताबाट सुन बजार फेरि बढ्न आशा व्यवसायीहरुको छ ।
पुरातात्विक सम्पदा बनाउन दातृ निकायको ओइरो, १० स्थानको पुनःनिर्माण सम्झौता
काठमाडौं १९, कात्तिक । काठमाडौं उपत्यका र वरपरका पुरातात्विक सम्पदा पुनःनिर्माणमा दातृ निकायमार्फत सहयोगको प्रतिवद्धता एक पछि अर्को गर्दै बढिरहेको छ । नेपाल सरकारले विदेशी दातृ निकायलाई २०७२ बैशाखको भूकम्पले ध्वस्त बनाएका संरचना पुनः निर्माणमा आग्रह गरेपछि विदेशी दातृ निकायको ओइरो नै लागेको छ । विभिन्न विदेशी दातृ निकायले बनाइदिने नेपालले ऐतिहासिक—पुरातात्विक सम्पदामध्ये विश्व सम्पदा सूचीमा सूचिकृत विभिन्न १० स्थानको भने नेपाल सरकारसँग सम्झौता नै भइसकेको पुरातत्व विभागका उपसचिव तथा विश्व सम्पदा संरक्षण विभाग प्रमुख सुरेस सुरस श्रेष्ठले बताए । विश्व सम्पदा सूचीमा सूचीकृति विभिन्न क्षेत्र मध्ये काठमाडौं उपत्यका पहिलो प्राथमिकतामा राखेर पुनः निर्माण हुने पनि उनले बताए । उनका अनुसार सम्वन्धित निर्माण क्षेत्रको विश्व सम्पदा संघ (युनेस्को) र पुरातत्व विभागसँग सम्झौता सम्पन्न भइसकेकोले दातृ निकायले अब भटाभट पुनर्निमाणका काम सुरु गर्ने भएको छ । सम्झौता सम्पन्न भएका उपत्यकको पुनर्निमाण तीन वर्ष भित्रै सकिने पनि पुरातत्व विभागको भनाइ छ । विभागले पाँच वर्ष भित्रमा सबै पुरातात्विक सम्पदाको पुनः निर्माण सक्ने लक्ष्य अगाडि सारेको छ । पुरातत्व विभागका अनुसार भूकम्पपछिको पुनः निर्माणमा सरकारसँग सम्झौता भएका विभिन्न मुलुकको प्राथमिकता पनि विश्व सम्पदामा सूचिकृत क्षेत्रलाई पहिले बनाउने भन्ने नै रहेको छ । विभागको विश्व सम्पदा संरक्षण विभागका अनुसार चीनले हुमानढोकाको नौतले दबबार, नौतले दरबारसँगका हनुमान ढोका क्षेत्र भित्रकै चार वटा टावर बनाउने भएको छ । श्रीलंकाले रातो मछेन्द्रनाथ, बुङमति र स्वयम्भूको आनन्दकुटी महाविहार निर्माण गर्ने भएको छ । जापानले हनुमान ढोकाको अन्वेषण, बुङमति, खोकनाको पुनःनिर्माण गर्ने सम्झौता गरेको छ । बेलायतले उपत्यकाको पुरातत्व अनुसन्धान केन्द्र निर्माण गर्ने भएको छ । जापानिज संस्था मियामातोले हनुमान ढोका गद्दि बैठक बनाउने भएको छ । जर्मनीले भक्तपुर उपमहानागर पालिकाका पुरातत्विक स्मारक बनाउने विषयमा औपचारिक रूपमा नै सहमति गरिसकेको छ । औपचारिक रूपमा दुइपक्षिय सम्झौता भएका विभिन्न १० स्थानबाहेक अन्यको पनि विदेशी दातृ निकायबाट निर्माण गर्न सम्झौताको तयारीमा रहेका छन् । पुरातत्व विभागका अनुसार एउटै क्षेत्रसँग नाम मिल्दोजुल्दो भएपनि एउटा संरचाना एउटै दातृ निकायले पूरा गर्ने छन् । हनुमानढोकामा भने विभिन्न फरक फरक संरचना रहेकोले भूकम्प अगाडिको संरचना जस्तो गरेर पुनः निर्माण हुने भएको छ । भूकम्प अगाडिकै जस्तो संरचाना बनाउनुपर्ने र कुनै पनि संरचना फरक ढंगबाट निर्माण गर्न नपाईने गरी पुरातत्व विभागसँग सम्झौता भएको उल्लेख छ । नेपाल सरकारसँग सम्झौता भएका बाहेक रुची देखाउने, सम्झौताको चरणमा रहेको अन्य मठमन्दिर र पुरातात्विक सम्पदा पनि रहेका छन् । भारतले पसुपति क्षेत्रको पुनःनिर्माणको प्रस्ताव गरेको छ । यो क्षेत्रको जिम्मा भारतलाई दिने भनेपनि सम्झौता भने हुन बाँकी रहेको विभागको भनाइ छ । यी बाहेक थुप्रै मठमन्दिर र गुम्बामा पनि दातृ निकायको सहयोगको प्रतिवद्धता आएको विभागको भनाइ छ ।
छठ पर्वमा प्रयोग हुने सामग्रीको मूल्य तीनगुनाले आकासियो, उपभोक्ता मारमा
लहान, १९ कात्तिक । छठ पर्वका अवसरमा उपयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । छठ पर्वमा प्रसादको रुपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटाको भाँडाकुडालगायत समानको मूल्य झन्डै तीनगुना बढेको छ । यस्ता सामग्रीको मूल्य बढाइए पनि त्यसको नियन्त्रण गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । चाडपर्वको मौका छोपेर बजारमा व्यापारीले सामानको मूल्य मनपरी ढङ्गले बढाइए पनि अनुगमन गरी कारबाही गर्ने निकाय मुकदर्शक बनेको सिरहा नहरा रिगौलका शङ्कर यादवको आरोप छ । सूर्यको अराधना गरी मनाइने यो पर्वको तयारी सिरहामा तीव्र भएको छ । विजयदशमी र दिपावली सकिएपछि स्थानीयवासी छठ पर्वका लागि ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन व्यस्त भएका छन् ।उनीहरुले सिरहाको प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाएर सजाउने कामलाई तीव्रता दिएका छन् ।रासस
एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सोमेश्वर सेठ नियुक्त
काठमाडौं, १९ कात्तिक । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सोमेश्वर सेठ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले सेठलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । सेठले कात्तिक १६ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।
भारतीय राष्ट्रपतिको सम्मानमा १० करोड खर्च हुने अनुमान, धुर्मुस र सुन्तलीले निर्माण गरेको नमूना बस्ती भन्दा महँगो
काठमाडौं, १९ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने भ्रमणका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान नेपाल सरकारले गरेको छ । भ्रमणका क्रममा अहिलेनै सबै खर्च विवरण नआएपनि भ्रमणका क्रममा गरिएको तयारी तथा बसाइलगायतका खर्चले यति रकम पुग्न सक्ने अनुमान नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुले गरेका हुन् । अधिकारीहरुले खाना, खाजा, स्वागतद्वार, होटेल खर्च, गाडी र जहाज भाडा, तेल, सुरक्षालगायतका खर्चमा सो खर्च हुने अनुमान गरेको हो । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई विमानस्थलमा स्वागत गर्दै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणको संयोजन परराष्ट्र मन्त्रालयले गरेको हो भने भ्रमणमा भएको खर्च सबै अर्थ मन्त्रालयले बेहोर्ने छ । ‘हाल भएको खर्चको बिल, भरपाई तथा कागजातका आधारमा उक्त खर्च बेहोर्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ । जहाज तथा खानपीनमा बढी खर्च हुने अनुमान अर्थ तथा परराष्ट्र मन्त्रालयले गरेको छ । राष्ट्रपति मुखर्जीसँग आएका भारतीय पहुना तथा उनीसँगै जनकपुर तथा पोखरा जाने नेपालीका लागि आज बुद्ध एयरको दुई वटा भाडामा लिएको छ । मुखर्जीसँग ६० जना पाहुँनाआएका छन् । जहाजका लागि अतिबढी खर्च हुँदै छ भने बसोबास तथा खानपान गरी सबै खर्चलाई एकिकृत गर्दा करिब १० करोड रुपैयाँ भेट्ने अनुमान गरिएको हो । डेढ वर्षअघि गएको भूकम्पका कारण अधिकांश भुकम्प पीडित संघारमा आएको जाडो पालमुनिनै विताउन वाध्य रहको अवस्थामा अथिति सत्कारमा भएको ठूलो खर्चलाई स्वभाविक मान्न नसकिने अधिकारीहरु बताउँछन् । एकातिर भूकम्प पीडित जनता यो जाडोमा पनि कठाङ्ग्रिने अवस्थामा पुगेका छन् भने सरकार भने भीभीआईपीको सम्मान तथा स्वागतमा व्यस्त छ । तिहार यता प्राय अधिकांश सरकारी कार्यालयमा काम सुचारु हुन सकेको छैन । देशलाई नै ठप्प जस्तै पारेर सरकार एकसाताअघिदेखि राष्ट्रपति आगमन र भ्रमणको तयारीको व्यवस्थापनमा जुटेको छ । अहिले राष्ट्रपतिको भ्रमणमा गरिएको तामझाममा लागेको खर्चलाई एकत्रित गर्दा सो खर्चले धुमुस सुन्तलीले निर्माण गरेका जस्ता १ सयभन्दा बढी घर निर्माण देखिएको छ । उनीहरुले एउटा घर करिब ७ लाखमा निर्माण गरेको बताएका छन् । यदि प्रतिघर १० लाखसम्मका दरले खर्च गरेर बनाउँदा पनि एक सयभन्दा बढी घर बन्ने अनुमान सरकारी उच्च अधिकारीले नै गरेका हुन् ।
उपत्यकाका तीन जिल्लामा ९४ हजार भूकम्प पीडितलाई घर बनाउन तीन लाख, अनुदान सम्झौता सुरु
काठमाडौं, १९ कात्तिक । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लाका ९४ हजार भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि ३ लाख रुपैंयाँ दिने भएको छ । उपत्यकाको घरधुरी सर्वेक्षणबाट ९४ हजार परिवारलाई लाभग्राही सूचिमा समावेश गरिएको हो । ‘उपत्यकाका तीन जिल्लाको घरधुरी सर्वेक्षण सकिएको छ, ९४ हजार परिवारलाई लाभग्राहीको सूचिमा राखेका छौं र धमाधम सूचि प्रकाशित भैरहेको छ’, संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय केन्द्रिय आयोजना कार्यान्वयन इकाईका प्रमुख गणेश वस्तीले विकासन्युजसँग भने । आयोजनाले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा धमाधम अनुदान सम्झौताको कामलाई अघि बढाएको छ । जस अनुसार तारकेश्वर नगरपालिकामा कात्तिक ११ गतेबाटै अनुदान सम्झौता आरम्भ गरिएको छ भने कार्यबिनायक नगरपालिकामा कात्तिक १८ गतेबाट काम अघि बढेको छ । त्यस्तै, शंकरापुर नगरपालिकामा पनि अनुदान सम्भौता सुरु भैसकेको छ ।भक्तपुर जिल्लामा भने शुक्रबारबाट अनुदान सम्झौता सुरुहुने आयोजना प्रमुख वस्तीले जानकारी दिए । वस्तीले लाभग्राहीको विवरण प्रकाशित गर्न सम्बन्धीत वडा कार्यालयहरुलाई निर्देशन दिइसकिएको बताए । लाभग्राहीको विवरण प्रकाशित गरेसँगै आवश्यक कागजात जुटाएर नगरपालिकाका वडा कार्यालय र गाबिसहरुमा अनुदान सम्झौता गर्न सकिन्छ । उपत्यकाका तीनै जिल्लाका भूकम्प पीडितलाई मंसिरको पहिलो सातादेखि निजी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम उपलब्ध गराउने लक्ष्य अनुसार काम अघि बढिरहेको पनि उनले जानकारी दिए ।
अर्जेन्टिनाले विश्व कप खेल्न नपाउने सम्भावना
काठमाडौं, १९ कात्तिक । अर्जेन्टिनाले सन २०१८ मा रुसमा आयोजना हुने विश्व कप फुटबल प्रतियोगीता खेल्न नपाउने सम्भावना बढेको छ । अर्जेन्टिनाका प्रशिक्षक एड्गार्डो बाउजा स्वयंले नै अर्जेन्टिना विश्व कप छनौटका लागि चुनौतीपुर्ण अवस्थामा पुगेको खुलासा गरेका हुन् । फिफाले विश्व कप छनौट खेलिरहेको बोलिभियाले अयोग्य खेलाडी खेलाएको आरोपमा कारवाही गरेपछि अर्जेन्टिनाको विश्वकप खेल्ने सम्भावनामा कम भएको हो । बोलिभियाले चिलीलाई बराबरीमा रोकेको थियो भने पेरुलाई २ गोलले पराजित गरेको थियो । तर फिफाले बोलिभियालाई चिली र पेरुसँग ३ गोलले पराजित भएको नजिता घोषणा गरिदिएको छ । यसले चिलीलाई थप २ अंक प्राप्त भएको छ र ऊ पाँचौं नम्बरमा उक्लिएको छ । दक्षिण अमेरिकी समुहबाट चार मुलुकले आगामी विश्वकप खेल्न पाउनेछन् । तर हालसम्म अर्जेन्टिना सो समुहको ६ औं नम्बरमा रहेको छ । अब अर्जेन्टिनाले चार खेल खेल्न बाँकी रहेको छ । जसमा ब्राजिल र कोलम्बिया जस्ता बलिया प्रतिष्पर्धीसँगको खेल्नुपर्नेछ । नोभेम्र १० मा अर्जेन्टिनाले ब्राजिल र १५ तारिखका दिन कोलम्बियासँग प्रतिष्पर्धा गर्नेछ ।