विकासन्युज

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षका छोरा घाइते

काठमाडौं । भक्तपुर नगरपालिका-१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले घरायसी विवादमा आफ्नी श्रीमतीको हत्या गरेका छन् । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार शङ्करापुर नगरपालिका-६ नाङ्लेभारेका विदुर विश्वकर्माले घरायसी विवादमा आफ्नी ३३ वर्षीया श्रीमती सलिनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।  आक्रमणमा उनका ८ वर्षका छोरा त्रिशल घाइते भएका छन् । उक्त घटना गएरातिको हो । हत्या अभियोगमा विश्वकर्मालाई पक्राउ गरिएको छ ।

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज जेठ २१ गते अन्तिम दिन रहेको छ । जेठ १८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका ८५ लाख ५० हजार कित्ता सेयर बिक्री जारी गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् २८ लाख ५० हजार कित्ता स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता विदेशमा रहेका नेपाली, ३ प्रतिशत अर्थात् १ लाख ७१ कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् २ लाख ८५ हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ ।  दोस्रो चरणमा कम्पनीले ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

ठेकेदारमाथि कडा कारबाही, एकैपटक अमन कन्स्ट्रक्सनका ५ ठेक्का तोडिए

काठमाडौं । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले ५ योजनाको ठेक्का सम्झौता रद्द गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार, गाउँपालिकाको विभिन्न वडामा योजना निर्माण कार्यका लागि अमन कन्स्ट्रक्सन, गुलरिया-५, बर्दियासँग गरिएका पाँच वटै ठेक्का सम्झौता रद्द गरिएको हो । खजुरा गाउँपालिका-४ एफगाउँमा करिब ५०० मिटर सडक कालोपत्र गर्न २०७७ फागुन १२ गते अमन कन्स्ट्रक्सन, गुलरिया-५, बर्दियासँग ठेक्का सम्झौता भएको थियो । कम्पनीले २०७८ जेठ ३० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरे पनि हालसम्म काम पूरा भएको छैन । दुई भागमा अलग-अलग ठेक्का आह्वान गरिएको उक्त योजनाअन्तर्गत ग्राभेल हाल्ने र गिट्टी बिछ्याउने काम भए पनि कालोपत्र हुन नसक्दा सडक पुनः जीर्ण बनेको छ । अमन कन्स्ट्रक्सनले ठेक्का पाएको एनआइसी बैङ्कदेखि मनकामना जाने सडक तथा नाली निर्माण, गोपालसिंह आलेको घरदेखि लालबहादुर रजालीको घरसम्मको बाटो स्तरोन्नति तथा बिगाउँ ९० नम्बरदेखि १०५ नम्बरसम्मको बाटो स्तरोन्नतिका योजना पनि वर्षोंदेखि अधुरै छन् । पालिकाले यी सबै पाँचवटै ठेक्का रद्द गर्ने निर्णय गरेको हो । सबै ठेक्का अमन कन्स्ट्रक्सनकै रहेका छन् । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले सम्झौता रद्द गरी कालोसूचीमा किन नराख्ने भन्दै पालिकाले गत मङ्सिर २ गते सार्वजनिक सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।  सार्वजनिक सूचना जारी भएपछिको तोकिएको अवधिमा पनि सम्झौता बमोजिम निर्माण कार्य अगाडि बढाउने विश्वसनीय आधार पेस गर्न नसकेकाले अमन कन्स्ट्रक्सन, गुलरिया-बर्दियासँगको ठेक्का सम्झौता अन्त्य गरिएको उनको भनाइ छ । 

विदेशबाट फर्किएका विजय बने राष्ट्रिय उत्कृष्ट कृषक, माछाबाट लाखौँ आम्दानी

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका-४ का विजयकुमार चौधरी राष्ट्रियस्तरका उत्कृष्ट कृषकका रूपमा परिचित बन्न सफल भएका छन् । ७ वर्षअघि रोजगारीको खोजीमा मलेसिया गएका चौधरीले त्यहाँ तीन वर्ष मजदुरी गर्दै मासिक करिब ३५ हजार रुपैयाँ आम्दानी गरेका थिए । विदेशको कठिन श्रमपछि स्वदेश फर्किएका उनले कृषि क्षेत्रमा भविष्य खोज्ने निर्णय गर्दै माछापालन व्यवसाय सुरु गरे । उनै चौधरी हाल कृषि, वन तथा वातावरण मन्त्रालयबाट छनोट भई राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ प्राप्त गर्न सफल भएका छन् । मन्त्रालयले सातै प्रदेशबाट २/२ जना गरी १४ उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । पुरस्कार स्वरूप चौधरीले २ लाख रुपैयाँ प्राप्त गरेका छन् । राष्ट्रपतिबाट सम्मानित भएपछि कृषि पेसाप्रतिको आफ्नो उत्साह झन् बढेको चौधरी बताउँछन् । ‘राष्ट्रपतिबाट सम्मान पाउँदा थप हौसला मिलेको छ,’ उनले भने, ‘अब युवालाई पनि कृषि तथा उत्पादनमुखी क्षेत्रमा आकर्षित गर्ने गरी व्यवसाय विस्तार गर्ने योजना बनाएको छु ।’ चौधरीले विगत सात वर्षदेखि लालझाडीको सिकलपट्टी क्षेत्रमा तीन बिघा जमिनमा पोखरी निर्माण गरी व्यावसायिक माछापालन गर्दै आएका छन् । उनले निकट भविष्यमा थप पाँच बिघा जमिन भाडामा लिएर उत्पादन विस्तार गर्ने तयारीसमेत गरेका छन् । हाल वार्षिक करिब ४५ क्विन्टल माछा उत्पादन तथा बिक्री गर्दै आएका उनले वर्षमा नौ लाख रुपैयाँभन्दा बढी बचत हुने बताए । ‘हाम्रो उत्पादन झलारी, बेलौरी, वाणीलगायत स्थानीय बजारमा खपत भइरहेको छ । सरकारले आयातित माछाको प्रतिस्पर्धा व्यवस्थापन गर्दै स्वदेशी उत्पादनको बजार सुनिश्चित गरिदिनुपर्छ,’ उनले भने ।  उनका अनुसार हरेक वर्ष असोजदेखि माघसम्म माछा बिक्रीको मुख्य सिजन हुने गर्दछ । माछापालन व्यवसायबाट आफूले मात्रै नभई स्थानीयस्तरमा अन्य व्यक्तिले पनि रोजगारी पाएको उल्लेख गर्दै चौधरीले युवाहरूलाई विदेशभन्दा स्वदेशमै अवसर खोज्न आग्रह गरे । ‘माटोमा पसिना बगाउन तयार हुने हो भने युवा विदेशिनु पर्दैन । नेपालमै राम्रो आम्दानी र सम्मान दुवै कमाउन सकिन्छ,’ उनले भने । 

सिएमसी बन्यो देशकै उत्कृष्ट मेडिकल कलेज, इजिप्ट र रुसमा पढ्नेको नतिजा शून्य

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वोत्कृष्ट बन्न सफल भएको छ । जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको ‘लाइसेन्स’ परीक्षामा सिएमसी कलेजबाट ‘एमबिबिएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये ५४ जना सफल भएका हुन् । काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार समग्रमा यस वर्ष एमबिबिएसतर्फ ६३.५० प्रतिशत र बिडिएसतर्फ ८१.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी, उक्त परीक्षामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशत अर्थात् ७७ मध्ये ७१ उत्तीर्ण गराई दोस्रो र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको ८९.७७ प्रतिशत अर्थात् ८८ मध्ये ७९ जना उत्तीर्ण गराई तेस्रो हुन सफल भएका छन् ।   यसैगरी, भारतमा पढेका ४२.३१ प्रतिशत, बङ्गलादेशमा पढेका ४१.१४ प्रतिशत, चीनमा अध्ययन गरेका १५.०४ प्रतिशत र फिलिपिन्समा पढेका २८.५७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुन सफल भएका छन् भने इजिप्ट र रसीयामा पढेकाहरूले पुनः परीक्षा दिनुपर्ने भएको छ । काउन्सिलको नतिजाअनुसार नेपाल बाहिर पढेका विद्यार्थीले ७/८ पटक  परीक्षा दिने गरेका तर नेपालका मेडिकल कलेजमा पढेकाले बढीमा २ पटकमै परीक्षा उत्तीर्ण गरेको यथार्थलाई विश्लेषण गर्दा चिकित्सा विधामा नेपालको पढाइ सन्तोषजनक रहेको देखिन्छ । काउन्सिलका अनुसार नेपालको समग्र नतिजा राम्रो भए पनि विदेशका मेडिकल कलेजमा पढेका नेपाली विद्यार्थीको नतिजाले सम्बद्ध सबैलाई पुनः चिन्तित बनाएको छ । यसै सन्दर्भमा चितवन मेडिकल कलेजका उपनिर्देशक अरुण कोइरालाले मेडिकल कलेजहरूको शैक्षिक गुणस्तरको मानकका रुपमा लिइने काउन्सिलको यस वर्षको परीक्षामा उत्कृष्ट स्थान हासिल गरेको सिएमसीको उत्पादन गर्व गर्न लायक रहेको बताए । कुशल व्यवस्थापनसहित सिएमसीमा कार्यरत शैक्षिक तथा प्रशासनिक जनशक्तिको खटाइ र विद्यार्थीको मेहनतका कारण सर्वोत्कृष्ट हुन सफल भएको स्पष्ट गर्दै उपनिर्देशक कोइरालाले भने, ‘आउँदा दिनमा शत्प्रतिशत नतिजा प्राप्त गर्ने लक्ष्यका साथ अघि बढ्ने छौँ । स्वदेश तथा विदेशका प्रतिभावान् विद्यार्थीहरूको पहिलो रोजाइमा ‘सिएमसी’ पर्नेगरी सम्पूर्ण टिम परिचालित हुनेछ ।’ सिएमसी कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा हरिश्चन्द्र न्यौपानेले शैक्षिक गुणस्तरका पक्षमा कुनै पनि सम्झौता नगरी अघि बढेकाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनले देशकै करिब मध्यभागमा अवस्थित चितवनको भरतपुरमा अवस्थित सुविधासम्पन्न सिएमसी शिक्षण अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको, प्रयोगात्मक कक्षालाई उच्च प्राथमिकता दिएका, अनुभवी एवम् क्षमतावान् शिक्षक तथा कर्मचारीको व्यवस्था गरिएको र पठनपाठनसहित अनुशासनलाई प्राथमिकता दिएकाले पछिल्ला वर्षहरूमा अब्बल विद्यार्थीको रोजाइमा सिमसी कलेज परेको स्पष्ट गरे । सो कलेजमा स्नातक तहको एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफरी, पब्लिक हेल्थ, फार्मेसी, बिएस्सी एमएलटी (ल्याब), बिएस्सी एमआइटी (रेडियोग्राफी) को पढाइ हुने गरेको छ । यसैगरी, स्नातकोत्तर तहमा एमडी÷एमएस, एमएन, एमपिएच, एमएस्सी माइक्रोबायोलोजी र विशिष्टीकृततर्फ एमडी÷एमसिएचको पढाइ हुने सो कलेजले जनाएको छ । सो क्याम्पसमा अहिले विभिन्न विधा र तहमा गरी १ हजार ४०० विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रशासनले जनाएको छ ।

सुदूरपश्चिममा ३ हजार ७२३ एचआइभी संक्रमित, लाञ्छना र विभेद अझै हटेन

काठमाडौं । एचआइभी एडस सङ्क्रमणको उपचार र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि सङ्क्रमित व्यक्तिप्रति समाजमा कायम रहेको लाञ्छना, भेदभाव र गलत धारणा अझै ठूलो चुनौतीका रूपमा रहेको छ । एचआइभीबारे पर्याप्त जानकारी नहुँदा सङ्क्रमितहरू सामाजिक बहिष्कार, अपमान, मानसिक तनावलगायत समस्या भोग्न बाध्य छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका एचआइभी फोलक पर्सन नरेन्द्रसिंह रावलका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म सुदूरपश्चिम प्रदेशमा एचआइभी सङ्क्रमित ३ हजार ७२३ रहेका छन् । सोही क्रममा ५५ हजार २२८ गर्भवतीको जाँच गरिएकामा जसमध्ये एचआइभी सङ्क्रमित ३ जना मात्रै रहेका छन् । प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा एचआइभी पोजेटिभको सङ्ख्या १ हजार ७४५ रहेको छ । दार्चुलामा सङ्क्रमितको सङ्ख्या ४५ रहेको छ । यसैगरी, अछाममा ५८४,  डोटीमा ४९३, कञ्चनपुरमा ४६०, बैतडीमा ११८, डडेल्धुरामा ११५, बझाङमा ९१ र बाजुरामा ६२ एचआइभी सङक्रमित रहेका छन् । उनका अनुसार नेपालमा एचआइभी सङ्क्रमितको अनुमानित सङ्ख्या ३४ हजार ३३७ छ । तीमध्ये १९ हजार २७९ पुरुष, १४ हजार महिला तथा १ हजार ५८ बालबालिका रहेका छन् । सन् २०२४ को अन्त्यसम्म ३० हजार २१७ जनामा सङ्क्रमण पहिचान भइसकेको छ भने २६ हजार २८८ जना नियमित उपचारमा रहेका फोलक पर्सन रावलले बताए । एचआइभी सङ्क्रमितलाई समाजले अझै पनि नकारात्मक दृष्टिकोणले हेर्ने गरेको बताउँदै यसले सङ्क्रमितको आत्मविश्वास घटाउने, मानसिक समस्या निम्त्याउने र उपचार प्रक्रियामा समेत असर पार्ने उनको भनाइ छ ।  ‘धेरै व्यक्तिहरू एचआइभीको नाम सुन्नासाथ डराउने र सङ्क्रमितलाई अलग व्यवहार गर्ने गर्छन्,’ शुक्लाफाँटा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत पदमबहादुर महराले भने, ‘तर अहिले औषधि सेवन गरेर एचआइभी सङ्क्रमित व्यक्तिले सामान्य जीवन बिताउन सक्छन्, उहाँहरूलाई समाजबाट टाढा राख्नु वा अपमान गर्नु गलत हो ।’ एचआइभीसम्बन्धी गलत धारणाकै कारण धेरै जना परीक्षण गराउन हिच्किचाउने गरेका छन् । समयमै परीक्षण र उपचार सुरु गर्न नसक्दा सङ्क्रमण थप जटिल बन्ने जोखिम छ । एचआइभी सङ्क्रमण असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रगतको प्रयोग, लागूऔषध प्रयोग गर्दा सुई साटासाट गर्ने व्यवहार, सङ्क्रमित औजारको प्रयोग तथा आमाबाट बच्चामा सङ्क्रमण सर्न सक्ने गर्छ ।  गर्भावस्था, प्रसूति तथा स्तनपानको समयमा आमाबाट बच्चामा सङ्क्रमण सर्न सक्ने भएकाले गर्भवती महिलाको नियमित परीक्षण आवश्यक रहेको छ । स्वास्थ्यकर्मी हरि नाथले  खोक्दा, हाच्छ्युँ गर्दा, हात मिलाउँदा, अँगालो हाल्दा, सँगै बसेर खाना खाँदा, एउटै भाँडाकुँडा प्रयोग गर्दा, सार्वजनिक शौचालय प्रयोग गर्दा, लामखुट्टेले टोक्दा वा एउटै कार्यस्थलमा काम गर्दा एचआइभी नसर्ने स्पष्ट पारे । एचआइभी सङ्क्रमितसँग सामान्य सामाजिक सम्बन्ध राख्न कुनै जोखिम नरहेको बताउँदै यस्ता भ्रमले नै लाञ्छना र विभेदलाई बढावा दिएको उनको भनाइ छ । एचआइभी सङ्क्रमित व्यक्तिमाथि हुने लाञ्छना र भेदभावले सङ्क्रमित व्यक्तिमा एक्लोपनको भावना बढ्ने, आत्मविश्वास घट्ने, मानसिक तनाव, चिन्ता, निराशा तथा सामाजिक गतिविधिबाट टाढा हुने समस्या देखिने स्वास्थ्यकर्मीहरू बताउँछन् । यस्ता व्यवहारका कारण कतिपय व्यक्तिहरू उपचारबाट समेत टाढा रहने, आफ्नो स्वास्थ्य अवस्था लुकाउने तथा परीक्षण नगराउने प्रवृत्ति रहेको उनीहरुको भनाइ छ । 

हिमाली र पहाडी भेगमा वर्षा हुने, तराईमा गर्मी बढ्ने

काठमाडौं । मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।  आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । हिमाली तथा पहाडी भागका केही तथा मधेस र कोशी प्रदेशका तराईका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएको छ । आज राति देशका हिमाली भागमा साधारणतया बदली रहने, पहाडी भाग तथा मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ । कोशी र मधेस प्रदेशसहित बागमती प्रदेशका हिमाली तथा पहाडी भाग तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । त्यसैगरी, देशका हिमाली तथा पहाडी भागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाले मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने  सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैसँग आग्रह गरेको छ ।

अन्नपूर्ण आरोहण दिवसमा तीन पर्वतारोही सम्मानित

काठमाडौं । ७६औं अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा तीन जना विशिष्ट पर्वतारोही सम्मानित भएका छन् । नेपाली पर्वतारोहण, साहसिक पर्यटन र हिमाली समुदायको योगदानको कदर गर्दै गोरखाकी पूर्णिमा श्रेष्ठ, लमजुङका नरेन्द्र शाही र मन राज गुरुङलाई सम्मान गरिएको हो ।  गण्डकी प्रदेश सरकारकी यशोदा रिमालले सम्मानपत्र प्रदान गर्दै हिमाल, पर्यटन र राष्ट्रको गौरव बढाउन तीनै जनाले पु¥याएको योगदान प्रेरणादायी रहेको बताइन् । कार्यक्रम ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी को आयोजनामा तथा नेपाल पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण आयोजना, गण्डकी प्रदेश सरकार र दोर्दी गाउँपालिकाको सहकार्यमा सम्पन्न भएको हो ।  सम्मानित व्यक्तिमध्ये पूर्णिमा श्रेष्ठ नेपाली पर्वतारोहण क्षेत्रमा पछिल्लो समय सर्वाधिक चर्चित महिला आरोही हुन् । फोटो पत्रकारिताबाट करियर सुरु गरेकी उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेपछि लगातार विश्वका अग्ला हिमालहरूमा सफलता हासिल गरिन् ।  सन् २०२४ मा उनले केवल १३ दिनभित्र तीन पटक सगरमाथा आरोहण गर्दै विश्वकै पहिलो महिला बन्ने कीर्तिमान कायम गरिन् । उक्त उपलब्धि गिनिज वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ । पूर्णिमाले अन्नपूर्ण, धौलागिरि, मनास्लु, कञ्चनजङ्घा, मकालु, ल्होत्से र केटु लगायतका आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेकी छन् ।  लमजुङको राइनास नगरपालिका निवासी नरेन्द्र शाही नेपाली पर्वतारोहण क्षेत्रका अनुभवी माउन्टेन गाइड तथा उद्धारकर्ता हुन् । सन् २००५ मा पर्वतारोहण यात्रा सुरु गरेका उनले हालसम्म पाँच पटक सगरमाथा सफल आरोहण गरिसकेका छन् । नेपालका हिमाल मात्र होइन, युरोपका विभिन्न देशका कठिन शिखरहरूमा समेत सफल आरोहण गरेका शाही पर्वतारोहण प्रशिक्षण, उद्धार तथा नयाँ पुस्ताका आरोही उत्पादनमा सक्रिय छन् । उनी नेपाल राष्ट्रिय माउन्टेन गाइड एशोसिएसनका पूर्व प्राविधिक निर्देशक तथा गण्डकी अल्पाइन क्लबका संस्थापक अध्यक्षसमेत हुन् ।  मनराज गुरुङलाई नेपाली पर्वतारोहण क्षेत्रमा ‘बौद्धिक आरोही’का रूपमा चिनिन्छ । लमजुङको प्यारजुङमा जन्मिएका उनले गत मे १५ मा सफलतापूर्वक सगरमाथा आरोहण गरेका थिए । अन्तर्राष्ट्रिय माउन्टेन गाइडसमेत रहेका गुरुङले हिमलुङ, आमादब्लम, मेरा पिक र अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोसहित दर्जनौं हिमाल आरोहण गरिसकेका छन् । पर्वतारोहणसँगै शैक्षिक क्षेत्रमा समेत अब्बल रहेका उनले साहसिक पर्यटन, हिमाल र पर्वतारोहणसम्बन्धी विषयलाई विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।  अन्नपूर्ण आरोहण दिवसको अवसरमा दोर्दी क्षेत्रमा नयाँ पदमार्गको प्रवद्र्धन, ग्रामीण पर्यटन विकास तथा स्थानीय समुदायको आर्थिक सशक्तीकरणबारे समेत छलफल गरिएको थियो । आयोजकका अनुसार कार्यक्रमले लमजुङको दोर्दी क्षेत्रलाई नयाँ साहसिक पर्यटन गन्तव्यका रूपमा परिचित गराउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । ७६ वर्षअघि भएको अन्नपूर्ण हिमालको पहिलो सफल आरोहणको सम्झनामा हरेक वर्ष मनाइने अन्नपूर्ण आरोहण दिवसले यसपटक पनि नेपाली पर्वतारोहण इतिहास, साहस र पर्यटन प्रवद्र्धनलाई एकै मञ्चमा जोडेको छ ।