विकासन्युज

जेट एयरवेजले सार्क र खाडी क्षेत्रमा थप उडमा गर्ने

काठमाडौं, ३ कार्तिक। जेट एयरवेजले सार्क तथा खाडी मुलुकहरुमा थप सेवा विस्तार गर्ने भएको छ।  आगामी अक्टोबर ३० देखि एयरलाइन्सले मुम्बई तथा नयाँ दिल्लीबाट काठमाडौंको उडान संख्यामा बृद्धि गर्ने जनाएको छ। जसअनुसार मुम्बई काठमार्डौ दैनिक दुई उडान तथा दिल्ली काठमाडौं दैनिक तीन उडान हुनेछन् । कम्पनीले खाडी तथा केरालाको उडान संख्यामापनि उल्लेख्य बृद्धि हुने जनाएको छ । अब तिरुवन्तपुरमबाट दुबई तथा दोहामा दैनिक सेवा उपलव्ध हुनेछ। यस अघि जेट एयरलाइन्सले कोजीकोदेबाट युएइको सारजाहसम्म दैनिक सेवा सुरु गरेको थियो। थप गरिएका उडानसँगै सार्क मुलुकमा जेट एयरलाइन्सको साप्ताहिक उडान संख्या एकसय ४० पुगेको छ, जसमध्ये आधा उडान नेपालमा हुने कम्पनीले जनाएको छ। नेपालमा पर्यटकको लागि धेरै उडानको माग भएका कारण काठमाडौंमा थप उडान भर्न लागेको जेट एयरवेजका चिफ कमर्सियल अफिसर  जयराज सान्मुगामले बताए। उनले गल्फ र सार्क क्षेत्रमा सवैभन्दा व्यस्त रुटमा थप सेवा दिनु चुनौतिपूर्ण रहेको र यसका लागि एयरलाइन्सको क्षमता तथा सेवाको गुणस्तरमा कुनै कसर बाँकि नराख्ने बताए। यात्रुहरुलाई दीगो तथा स्तरीय सेवाउपलव्ध गराउने रणनीति अन्तर्गत थप उडानको व्यवस्थागरिएको जेट एयरलाइन्सले उल्लेख गरेको छ। जेट एयरवेजले यो रुटमा नेक्स्ट जेनेरेसनको बोइङ ७३७-८०० एयरक्राफ्टले सेवा दिने बताएको छ।

महाअभियोग सिफारिस समिति बन्यो, बैठकद्धारा ११ सदस्यीय समिति गठन

काठमाडौं, ३ कात्तिक । संविधान जारी भएको एक वर्षपछि महाअभियोग सिफारिस समिति बनेको छ । व्यवस्थापिका संसदको बुधबारको बैठकले ११ सदस्यीय समिति गठन गरेको हो । उक्त सिफारिस समितिमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, दीपक कुँइकेल र कुमारी लक्ष्मी राई सदस्य रहेका छन् । त्यस्तै, एमालेका केशव बडाल, सुशीला नेपाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारी छन् भने माओवादीबाट अमनलाल मोदी र रामनारायण बिडारी छन् ।यस्तै राप्रपा नेपालबाट प्रमुख सचेतक दीलनाथ गिरी सिफारिस समितिमा रहेका छन् । संविधानको धारा १०१ मा महाअभियोग सम्बन्धी व्यवस्था छ । सोही धाराको उपधारा ३ र ४ मा महाअभियोग सिफारिस समिति गठन सम्बन्धी व्यवस्था छ ।

भोलिदेखि संसदको वर्षे अधिवेशन सकिँदै

काठमाडौं, ३ कात्तिक । भोलि बिहीबारदेखि व्यवस्थापिका संसदको वर्षे अघिवेशन सकिने भएको छ । प्रधानमन्त्री प्रचण्डले तिहारअघि वा छठसम्म संविधान संशोधनमा सहमति गरिने बताइरहँदा भोलिदेखि संसदको वर्षे अघिवेशन अन्त्य गर्ने तयारी संसद सचिवालयले गरेको छ । वर्षे अधिवेशन अन्त्य पछि शुक्रबार सभामुख ओनसरी घर्ती एक साताका लागि स्वीट्जरल्याण्ड जाने तयारीमा छिन् । जेनेभामा हुने १३५ औं अन्तर व्यवस्थापिका संसद सम्मेलनमा सहभागी हुन उनी स्वीट्जरल्याण्ड जाने भएकी हुन् । उक्त कार्यक्रम २२ देखि २९ तारिकसम्म हुने बताइएको छ । उक्त भ्रमण टोलीमा कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, एमालेका भानुभक्त ढकाल, माओवादी केन्द्रका टेकबहादुर बस्नेत र राप्रपा नेपालका दिलनाथ गिरी सहभागी हुनेछन् । साथै, टोलीमा व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराईसमेत रहने छन् ।

भाेलि उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा हुने, उच्च अदालतद्धारा हिजाेकाे अन्तरिम आदेश खारेज

काठमाडौं, ३ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघले कात्तिक ४ गतेको लागि आह्वान गरेको विशेष साधारणसभा हुने भएको छ । पाटन उच्च अदालतले कात्तिक २ गते जारी गरेको अन्तरिम आदेश कात्तिक ३ गते (आज) खारेज गर्दै पूर्व घोषित विशेष साधारणसभा आयोजना गर्न बैधानिक बाटो खुला गरिदिएको छ । महासंघको विधान संसोधन गर्नको लागि बोलाइएको उक्त विशेष साधारणासभा विधिसम्मत नभएको भन्दै महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार र महासंघका कार्यकारिणी सदस्य गोविन्द घिमिरेले विशेषसाधारणसभा रोक्न अन्तरिम आदेशको माग गर्दै अदालत उजुरी दर्ता गराएका थिए । उक्त उजुरी माथि सुनुवाई गर्दै उच्च अदालत, पाटन ललितपुरले विशेष साधारणसभाको प्रक्रिया यथास्थितिमा राख्न कात्तिक २ गते आदेश दिएको थियो । उच्च अदालतले हिजोको अन्तरिम आदेश खारेज गर्ने निर्णय गरको महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । ‘अन्तरिम आदेश खारेज भएको छ । भोली (४गते)को विशेष साभारणसभा हुन्छ’ उच्च अदालत परिसरमा विकासन्युजसँग कुरागर्दै मुरारकाले भने । याे पनि पढ्नुहाेस् : महासंघलार्इ चुनाव लाग्याे, भवानी राणालाई अध्यक्ष बनाईदै, उपाध्यक्षमा कडा प्रतिस्प्रर्धा हुने

किन खुलाएन गोर्खाज फाइनान्सले सेयर कारोबार, तीन दिन भित्र जबाफ दिन धितोपत्र बोर्डको निर्देशन

काठमाडौं, ३ कात्तिक । काठमाडौं फाइनान्स र गोर्खा विकास बैंकसँग मर्जर पुरा गरी एकीकृत कारोबार सुरु गरेको गोर्खाज फाइनान्सले लामो समय भइसक्दा पनि शेयर कारोबार खुलाएको छैन । कारोबार शुरु गरेको ६ महिना बितिसक्दा पनि सेयर कारोबार नखुलाएको भन्दै नेपाल धितोपत्र बोर्डले बुधबार कम्पनीलाई तीन दिन भित्र जबाफ दिन निर्देशन दिएको छ । गोर्खा डेभलपमेन्ट बैंक र काठमाडौं फाइनान्स लिमिटेड मर्ज भएर बनेको गोर्खाज फाइनान्सले गत चैत २८ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । बोर्डले मर्जर पुरा गरी एकीकृत कारोबार सुरु गरेका कम्पनीहरुले लामो समयसम्म पनि शेयर कारोबार नखोल्ने कम्पनीहरुलाई कारबाही प्रक्रिया अगाडि बढाउने क्रममा गोर्खाज फाइनान्सलाई पत्र काटेको हो । बोर्डले केही समय अगाडि मात्रै मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार थालेका कम्पनीले २ साता भित्र अनिवार्य शेयर कारोबार सुचारु गराउनुपर्ने व्यवस्था समेत गरेको छ ।

प्रभु को–अपरेटिभकाे सातौ साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश प्रस्ताव पास

काठमाडौं, ३ कात्तिक । प्रभु समुहद्वारा प्रबद्र्धित प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडले आफ्ना सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बुधबार काठमाडौंमा सम्पन्न सर्भिस लिमिटेडको सातौं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । सर्भिस लिमिटेडले सेयरसदस्यहरुको हौसला बृद्धि गर्ने उद्देश्यले एस.एल.सी.माउत्कृष्ट अंकल्याउने छात्राहरुलाई पनि पुरस्कृत गरेको छ । छात्रातर्फ शेयर सदस्य दिलिप तुलाचनकी छोरी नोरीका तुलाचन र गगां चालिसेकी छोरी जिज्ञाशा पौडेललाई पुरस्कृत गरेको छ । साधारण सभा प्रभु समुहका अध्यक्ष देबीप्रकाश भट्टचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष विनोद थकालीको सभापतित्वमा सम्पन्न उक्त साधारण सभालाई सम्बोधन गर्दै सेयर सदस्यको भरोसा र साखलाई अक्षुण राख्न कुनै पनि कसरत बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । आगामी दिनमा सदस्य केन्द्रीत नयाँनयाँ योजना ल्याउने थकालीले बताए ।

बजार घट्दा दुई कम्पनीको सेयर मूल्य १०%ले वृद्धि, होटल बाहेक सबै परिसूचक ओर्लिए, ५६ करोडको कारोबार

काठमाडौं, ३ कात्तिक । सेयर बजार निरन्तर घटिरहेको छ । बुधबार नेप्से परिसूचक ४ दशमलब ८४ अंकले घटेर १७८७ अंकमा झरेको छ । सो दिन १२१ कम्पनीको ८ लाख ५० हजार कित्ता सेयर ५६ करोड रुपैयाँमा किनबेच भएको छ । मंगलबारको तुलनामा परिसूचकमा केही सुधार नदेखिए पनि कारोबार रकममा भने केही सुधार भएको देखिन्छ । निरन्तर घटिरहेको बजारमा पनि बुधबार दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्था र कामना विकास बैंकको सेयर मूल्य क्रमशः १० र ९.७५ प्रतिशतले बढेको हो । विजया लघुवित्त वित्तिय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले क्रमश ४.४६ र ४.२५ प्रतिशत गुमाएका छन् । सो दिन होेटल समूह बाहेक बाकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५७.१३ अंकले ओरालो लागेको छ भने अन्य बाकी समूहको परिसूचक समान्य अंकले ओरालो लागेका छन् । होेटल समूहको परिसूचक भने २.२५ अंकले उकालो लागेको छ ।

होल्याण्ड एग्रिकल्चरको ट्याक्टर शोरुम सातदोबाटोमा

काठमाडौं, ३ कात्तिक । न्यू हल्याण्ड एग्रिकल्चरले केस ब्राण्डका विभिन्न मोडलका नयाँ ट्याक्टर नेपाली बजारमा भित्र्याएको छ । बुटवललाई आधार क्षेत्र बनाएर ट्रयाक्टरको कारोबार सुरु गरेको भुसाल ग्रुपले बुधबार ललितपुर सातदोवाटोमा भुसाल ट्रयाक्टर सप्लायर्सको शोरुम सहित कर्पोरेट अफिस समेत स्थापना गरेको हो । नयाँ मोडल र नयाँ प्रविधियुक्त ३० देखि ९० हर्स पावरका ट्यांक्टर ढुवानी र जोत्नका लागि निकै उपयोगी रहेको कम्पनीको दाबी छ । नयाँ प्रविधिको डिजेल कम खपत गर्ने केस ब्राण्डका ट्याक्टर नेपाली किसानलाई लक्षित गरी निर्माण गरिएको नेपालस्थित आधिकारिक बिक्रेता भूसाल ट्याक्टर सप्लायर्सका सञ्चालक बालकृष्ण भुसालले बताए । टर्कीको प्रविधिमा निर्माण गरिएका ट्याक्टर नेपाली किसानले मन पराउने पनि उनको भनाइ छ । बुटवलबाट सुरु भएको केस ब्राण्डका विभिन्न मोडलका ट्याक्टरको बुकिङ सुरु भइसकेको र देशैभरीबाट माग आइरहेकोले न्यू हल्याण्डको नेपाली बजारलाई ३० प्रतिशत पुरयाउने लक्ष्य प्राप्तिमा कुनै कठिनाइ नहुने पनि उनले बताए । तीन वर्षे वारेन्टी र सातवर्षे नि:शुल्क सर्भिसिङको व्यवस्थाका कारण पनि यसप्रति उपभोक्ता आकर्षित हुने कम्पनीको विश्वास रहेको छ । पार्टस्को बिक्री वितरण भने रामकृष्ण टे«ड सेन्टरमार्फत हुने कम्पनीले जानकारी दिएको छ । भूसाल ट्याक्टर सप्लायर्सले २४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । न्यु होल्याण्डले विश्वभरका ५५ वटा देशमा २६ प्रतिशत बजार हिस्सा ओगटेको भन्दै उनले नेपालमा पनि सबैभन्दा धेरै हिस्सा ओगटेको दाबी गरे । कुल २२ वटा कम्पनीका करिब ५ हजार टयाक्टर खपत हुने गरेको हल्याण्डका मात्रै १ हजार संख्याको हाराहारीमा रहेको उनले बताएका छन् । हाल पूर्व मेचीदेखि पश्चिम महकालीसम्म २२ सव डिलर र ३ स्थानमा आफ्नै आउटलेटहरु खोलेर बिक्री गर्दै आएको कम्पनीले केही महिनाभित्रैमा बीरगंज, नारायणगढ, गुल्मी, पाल्पा, डडेलधुरा र सुकेबजारलगायतका क्षेत्रमा थप डिलर विस्तार गर्ने भएको छ ।