खिम्ती आयोजनाको स्वामित्व हस्तान्तरण गर्न प्राधिकरणको सक्रियता, वार्ता समिति पुनर्गठन
काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् केन्द्रको सेयर स्वामित्व हस्तान्तरण र आगामी दिनमा सञ्चालन तथा व्यवस्थापनका विषयमा छलफल अघि बढाउन बनेको वार्ता समितिको पुनर्गठन गरेको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति पुनर्गठन गरिएको हो । समितिले आयोजनाको स्वामित्व, नयाँ विद्युत् खरिद सम्झौता (पीपीए), रोयल्टी तथा कर भुक्तानीलगायत विषयमा प्रवर्द्धक कम्पनीसँग वार्ता गर्नेछ । खिम्ती जलविद्युत् आयोजना निर्माण, सञ्चालन, व्यवस्थापन तथा हस्तान्तरण (बुट) मोडल अन्तर्गत हिमाल पावर लिमिटेडले प्रवर्द्धन गरेको हो । आयोजनाले २०५७ असार २७ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो । विद्यमान सम्झौताअनुसार व्यावसायिक उत्पादन थालेको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा हस्तान्तरण हुनुपर्ने व्यवस्था छ । तर, विविध कारणले सो हुन सकेको छैन । यससँगै आयोजनाबाट उत्पादित विद्युतको नयाँ खरिद दर निर्धारण, रोयल्टी तथा कर सम्बन्धी व्यवस्थालाई पनि टुंगो लगाउनुपर्नेछ । त्यस्तै, प्राधिकरण सञ्चालक समिति सदस्य कृष्ण बसेलको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति पनि गठन गरिएको छ । उक्त समितिले विद्युत् महसुल, जरिवाना तथा प्रशासनिक निर्णयसँग सम्बन्धित विवादहरूको पुनरावलोकन र समाधानका लागि काम गर्ने जनाइएको छ । सञ्चालक समितिको बैठकले प्राधिकरणमा रिक्त रहेका विभिन्न पदमा पदपूर्तिको प्रक्रिया अघि बढाउन प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक शान्ति लक्ष्मी शाक्यलाई विज्ञ सदस्यका रूपमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
ट्रम्पजस्तै देखिने एल्बिनो भैँसी हेर्न चिडियाखानामा भीड
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी अहिले देशभरि ठूलो आकर्षण बनेको छ । सुनौलो रङको कपाल, पहेँलो सिङ र करिब ७०० किलोग्राम (१,५०० पाउन्ड) तौल भएको यो भैँसी गत साता चिडियाखानामा सारिएपछि ढाका मात्र नभई देशका विभिन्न भागबाट आगन्तुकहरूको भीड बढेको छ । सामाजिक सञ्जालमा यसको तस्बिर र भिडियो भाइरल भएपछि मानिसहरू यसलाई प्रत्यक्ष हेर्न चिडियाखानातर्फ आकर्षित भइरहेका छन् । यो भैँसी सुरुमा इस्लामिक पर्व इद अल–अधाका लागि बलिदानका रूपमा प्रयोग गरिने उद्देश्यले राखिएको थियो । तर सुरक्षा कारण देखाउँदै सरकारले यसलाई राजधानी ढाकास्थित राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गर्न आदेश दिएको थियो । त्यहाँ अहिले अत्यधिक गर्मीका बीच पनि ठूलो भीडले अवलोकन गरिरहेको छ । चिडियाखानामा मङ्गलबार आगन्तुकहरूको भीड बाक्लिएको देखिएको थियो । मानिसहरूले भैँसी रहेको खोर वरिपरि भीड लगाउँदै मोबाइल फोनबाट तस्बिर तथा भिडियो खिचिरहेका थिए । केही अभिभावकहरूले आफ्ना बालबालिकालाई राम्रो दृश्यका लागि काँधमा उचालेर देखाइरहेका दृश्य पनि देखिन्थे । चिडियाखानाका कर्मचारीहरूले जनावरको हेरचाह गर्दै कपाल कोर्ने, पानी हालेर चिसो राख्ने र गर्मीबाट जोगाउने प्रयास गरिरहेका छन् । आगन्तुकहरूका अनुसार यसले भैँसीलाई थप विशेष व्यवहार गरिएको अनुभूति दिएको छ । ढाकाका विद्यार्थी मोहम्मद नासिमले उक्त भैँसीको रूपरङ र व्यवहार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको टिप्पणी गरे । उनले यसले सामाजिक सञ्जालमा भाइरल भएपछि विशेष ध्यान र व्यवहार पाएको बताए । तर यस नामकरणबारे सबैको समान प्रतिक्रिया छैन । केही आगन्तुकहरूले जनावरलाई विश्व नेतासँग जोडेर नाम राख्नु अनुचित भएको टिप्पणी गरेका छन् । ढाकाका बासिन्दा मोहम्मद जोयनल अदेदिनले यस्तो निर्णय असम्मानजनक देखिएको बताउँदै किसानले गलत निर्णय गरेको धारणा राखे । स्थानीय मिडियाका अनुसार चिडियाखानामा सुरुमा ‘डोनाल्ड ट्रम्प’ लेखिएको सूचना बोर्ड राखिएको थियो, जसलाई पछि हटाइएको छ । यसै घटनासँग सम्बन्धित रूपमा चिडियाखानाका क्युरेटरलाई शनिबार बर्खास्त गरिएको भए पनि यसको आधिकारिक कारण सार्वजनिक गरिएको छैन । भैँसीको भविष्य पनि इद अल–अधाको सन्दर्भमा फेरिएको देखिन्छ । सुरुमा बलिदानका लागि बेचिएको उक्त भैँसीलाई पछि सरकारी हस्तक्षेपपछि फिर्ता गरिएको थियो । गृहमन्त्री सलाहुद्दीन अहमदको निर्देशनपछि प्रहरीले हस्तक्षेप गरेको बताइएको छ । यस विषयले सामाजिक सञ्जालदेखि सडकसम्म व्यापक चर्चा पाएको छ । दक्षिणपश्चिमी सहर जसोरका आगन्तुक मोहम्मद हबीबुर रहमानले सुरुमा ‘डोनाल्ड ट्रम्प’ नामक भैँसीलाई बलिदान गरिने चर्चा देखेपछि त्यसपछि चिडियाखानामा राखिएको खबर सुनेर हेर्न आएको बताए । चिडियाखानामा अहिले यो भैँसी दुर्लभ जनावरका रूपमा सामाजिक सञ्जाल र सार्वजनिक चर्चाको केन्द्रविन्दु बनेर बङ्गलादेशभरि विशेष आकर्षणको रूपमा स्थापित भएको छ । रासस
टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गर्न अदालतको आदेश
काठमाडौं । टिकटकर भनेर चिनिने तुलसा अधिकारीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । उनलाई नख्खु कारागार लगिने प्रहरीले जनाएको छ । तुलसाको बयानपछि न्यायाधीश गौतमको इजलासमा हिजोबाट थुनछेक बहस सुरु भएकोमा आज सुनुवाइ सकिएको थियो । तुलसाविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो । एक व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनीविरुद्ध गत चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । तुलसाको २१ करोडको सम्पत्ति खुलेको छैन । २०८२ भदौदेखि फरार भएकी तुलसा चीन हुँदै थाइल्यान्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी हुन् । उनलाई शनिबार बेलुका काठमाडौं ल्याइएको थियो । तुलसाले आफूमाथि लगाइएका आरोप अस्वीकार गरिरहेकी छन् ।
काठमाडौं महानगरले टिचिङ अस्पताललाई दियो १ करोड ७० लाख बढीका उपकरण
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)लाई प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ । अस्पतालको बहिरङ्ग (ओपीडी) सेवालाई थप बिरामीमैत्री र प्रविधिमैत्री बनाउन १ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको हो । अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई उपकरण हस्तान्तरण गरेकी हुन् । महानगरले उपलब्ध गराएका उपकरणमा शुल्क भुक्तानी, रिपोर्ट प्रिन्ट तथा घरबाटै उपचारका लागि रकम जम्मा गर्न सकिने सुविधासहितका १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन छन् भने रिपोर्ट, परीक्षण तथा उपचारसँग सम्बन्धित सम्पूर्ण विवरण एकै स्थानबाट हेर्न सकिने ६५ वटा ‘अल इन वन’ डेस्कटप कम्प्युटर पनि प्रदान गरिएको छ ।
६ दिनदेखि बेपत्ता गाइड दावा शेर्पाको जीवितै उद्धार, ह्याम्स अस्पतालमा उपचार हुँदै
काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रबाट गत ६ दिनदेखि बेपत्ता भएका हिमाल आरोहण गाइड दावा शेर्पाको जीवितै उद्धार गरी काठमाडौं ल्याइएको छ । गम्भीर बिरामी अवस्थामा फेला परेका शेर्पाको हाल काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । बिहीबार सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदारहरूले उनलाई खुम्बु आइसफल क्रयाम्पन पोइन्ट छेउबाट आधार शिविर (बेस क्याम्प) तर्फ घस्रिँदै आइरहेको अवस्थामा फेला पारेका हुन् । फेला पर्नासाथ उनलाई तत्काल अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो । सगरमाथाको तेस्रो शिविर (क्याम्प ३) आसपासको क्षेत्रबाट आधार शिविर फर्किने क्रममा गाइड शेर्पा एकाएक बेपत्ता भएका थिए । उनको खोजीका लागि पर्वतारोहण टोली र हेलिकप्टर समेत परिचालन गरिए पनि लामो समयसम्म उनको स्थिति पत्ता लाग्न सकेको थिएन । ६ दिनसम्मको प्रतिकूल मौसम र कठिन भूगोलका बाबजुद बिहीबार उनी आइसफल क्षेत्रमा घस्रिँदै गरेको अवस्थामा फेला परेपछि उद्धार टोलीले उनलाई तत्काल आधार शिविर पुर्याएको थियो । लामो समय हिउँमा बिताएका कारण शेर्पाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको जनाइएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार अत्यधिक चिसोका कारण उनको हात र खुट्टा हिउँले खाएको छ । हाल ह्याम्स अस्पतालका चिकित्सकहरूको विशेष निगरानीमा उनको उपचार कार्य अगाडि बढाइएको छ ।
सेयर बजारमा ४ अर्ब ७० करोडको कारोबार
काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २७६६ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ६३ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३५३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एभरेष्ट बैंकको भएको छ । एभरेष्ट बैंकको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युतको ३२ करोड, सेन्ट्रल फाइनान्सको १८ करोड, नेपाल रिइन्योरेन्सको १७ करोड र सप्तकोशी डेभलपमेन्टको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार कालिन्चोक हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज १२ कम्पनीको उपसमूहको सूचक घटेका छन् । म्यूचल फन्डको सूचक ०.३२ प्रतिशले बढेकाे छ ।
क्वेस्टको आम्दानी २.९० अर्ब, डेढ सय करोडमा नयाँ कारखाना बन्दै
काठमाडौं । क्वेस्ट फार्मास्युटिकल्स प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा १ अर्ब ३७ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ९० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १.७१ प्रतिशत अर्थात् ४ करोड ९० लाख रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ अर्ब ८५ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यसैगरी, कम्पनीले आव २०७९/८० मा २ अर्ब ५४ करोड ३० लाख रुपैयाँ, आव २०७८/७९ मा २ अर्ब ३२ करोड ३० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब ९५ करोड रुपैयाँ, आव २०७६/७७ मा १ अर्ब ८० करोड १४ लाख रुपैयाँ, आव २०७५/७६ मा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ, आव २०७४/७५ मा १ अर्ब ३० करोड ४१ लाख रुपैयाँ, आव २०७३/७४ मा १ अर्ब १९ करोड ४५ लाख रुपैयाँ र आव २०७२/७३ मा ९४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् १९९९ मा स्थापना भएको क्वेस्ट फार्मास्युटिकल्स औषधि उत्पादन गर्ने कम्पनी हो । कम्पनीले रिभर्स इन्जिनियरिङ प्रविधिको प्रयोग गर्दै विभिन्न औषधिहरू उत्पादन गर्दै आएको छ । सन् २००१ मा कम्पनीले आफ्नो पहिलो औषधि ‘एमलोड-एमलोडिपिन बेसिलेट’ हृदयसम्बन्धी रोग उपचारका लागि बजारमा ल्याएको थियो । त्यसयता कम्पनीले हृदयरोग, मधुमेह, छाला रोग तथा कोलेस्ट्रोल नियन्त्रणसम्बन्धी औषधि उत्पादन गर्दै आएको छ । हाल कम्पनीले २५ भन्दा बढी औषधि समूहअन्तर्गत १०० भन्दा बढी प्रकारका औषधि उत्पादन गरिरहेको छ । विशेषगरी मधुमेह र हृदयरोग उपचारसम्बन्धी औषधि उत्पादनमा कम्पनी देशका प्रमुख स्वदेशी उत्पादकमध्ये एक मानिन्छ । सन् २०२६ जनवरी मध्यसम्मको विवरणअनुसार कम्पनीको सेयर १५ जना व्यक्तिबीच बाँडिएको छ । जसमध्ये उमेश लाल श्रेष्ठ, पृथ्वी राज भण्डारी, उत्तम कुमार श्रेष्ठ र शैलेन्द्र प्रसाद वर्माको ४५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी सेयर कम्पनीका निर्देशकहरूको परिवार तथा व्यावसायिक साझेदारहरूको स्वामित्वमा रहेको छ । क्वेस्टले प्रत्यक्ष रूपमा करिब ७ सय जनालाई रोजगारी दिइरहेको छ । कम्पनीसँग दुई सुपर डिस्ट्रीब्युटरमार्फत सञ्चालित सुदृढ वितरण सञ्जाल रहेको छ, जसले देशभर औषधिको सहज आपूर्ति सुनिश्चित गरेको छ । दीर्घकालीन रोगसम्बन्धी औषधि कम्पनीको प्रमुख आम्दानी स्रोत रहँदै आएको छ । कम्पनीका अनुसार पछिल्ला ४-५ वर्षमा यस्ता औषधिबाट कुल आम्दानीको औसत ५५ प्रतिशत हिस्सा प्राप्त भएको छ । कम्पनीले भक्तपुरको खारीपाटीमा डेढ सय करोड लगानीमा अनुसन्धान तथा विकास केन्द्र निर्माण गरिरहेको छ । कम्पनीका अनुसार यो विस्तार योजना नवप्रवर्तन तथा उत्पादन विविधीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो । जसबाट अरू नयाँ औषधीहरू पनि बजारमा ल्याउने योजना छ । कम्पनीका अनुसार नेपालको औषधि बजार पछिल्ला वर्षहरूमा वार्षिक १० देखि १५ प्रतिशतको दरले विस्तार भइरहेको छ । यद्यपि, स्वदेशी औषधि उद्योग अत्यन्त प्रतिस्पर्धात्मक रहेको छ । हाल नेपालमा ५० भन्दा बढी औषधि उत्पादक कम्पनी सञ्चालनमा छन् । उद्योगमा क्षमता विस्तार भइरहेका कारण आगामी दिनमा प्रतिस्पर्धा थप तीव्र हुने तथा मूल्य र नाफा मार्जिनमा दबाब पर्न सक्ने कम्पनीको भनाइ छ । त्यसैगरी, औषधि आयातमा कम अवरोध भएकाले विशेषगरी ठूलो उत्पादन क्षमता भएका भारतीय कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न स्वदेशी उत्पादकहरूलाई चुनौती रहेको कम्पनीले जनाएको छ । कम्पनी आफ्ना अधिकांश कच्चा पदार्थ, सक्रिय औषधीय तत्व तथा प्याकेजिङ सामग्रीका लागि आयातमै निर्भर छ। यसले आपूर्ति शृङ्खला अवरुद्ध हुने जोखिम बढाएको कम्पनीको भनाइ छ । यस्तै, सन् २०२६ नोभेम्बरदेखि नेपाल ‘अल्पविकसित मुलुक’को सूचीबाट स्तरोन्नति हुने सम्भावनासँगै हाल प्राप्त केही नियामकीय सुविधाहरू घट्न सक्ने जोखिम पनि देखिएको छ । यद्यपि, उक्त स्तरोन्नतिको समयसीमा थप लम्बिन सक्ने सम्भावना रहे पनि दीर्घकालीन रूपमा कम्पनीहरूले आफ्नो सञ्चालन क्षमता थप सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको कम्पनीको भनाइ छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १ अर्ब ५३ करोड २० लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ८० करोड २० लाख रुपैयाँ दीर्घकालीन र ७३ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । यसअघि कम्पनीको कुल ऋण १ अर्ब ५७ करोड ९० लाख रुपैयाँ रहेको थियो ।
राप्रपामा ठूलो विभाजन, केन्द्रीय पदाधिकारीसहित १८३ नेताले पार्टी छाडे
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् महामन्त्री डा. धवलशमशेर राणानिकट नेता तथा कार्यकर्ताहरूले बिहीबार (आज) संयुक्त रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेहरूमा शीर्ष नेताहरू डा. राणासहित मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइरालालगायत रहेका छन् । त्यस्तै, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूले पनि पार्टी छाडेको जनाएका छन् । असन्तुष्ट समूहले बिहीबार सार्वजनिक पत्रकार सम्मेलन गर्दै यो पहिलो चरणको बहिर्गमन मात्र भएको जनाएको छ । आगामी दिनमा थप नेता–कार्यकर्ता पार्टीबाट बाहिरिन सक्ने उसले बताएको छ । राजीनामा दिने नेताहरूले राप्रपाको वर्तमान नेतृत्वमाथि पार्टीको मूल नीति, सिद्धान्त र उद्देश्यबाट विचलित भएको आरोप लगाएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व हिनताबोध, कमजोरी तथा आत्मकेन्द्रित शैलीबाट प्रभावित भएको दाबी गर्दै उनीहरूले त्यसकै कारण पार्टी जनताबाट क्रमशः टाढिँदै गएको बताएका हुन् । सम्मेलनमा जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुनुपर्ने भए पनि व्यवहारमा त्यसअनुसार पार्टी सञ्चालन हुन नसकेको उल्लेख गरिएको छ । साथै केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टी नेतृत्व तत्कालीन प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएकोप्रति असन्तुष्टि व्यक्त गरिएको छ । असन्तुष्ट पक्षले पार्टीभित्र विचार र व्यवहारबीच गम्भीर अन्तर देखिएको आरोप लगाएको छ । ‘विचलन, विरोधाभास तथा भनाइ र गराइबीचको अनमेलका कारण पार्टी जनताबाट दण्डित भएको छ,’ विज्ञप्तिमा भनिएको छ । उनीहरूले पार्टीभित्र जवाफदेहिता र स्वेच्छाचारितामाथि नियन्त्रण कायम गर्ने प्रयास गर्दा नेतृत्वले निरंकुश शैलीमा कारबाही गर्ने प्रवृत्ति अपनाएको आरोपसमेत लगाएका छन् । राजसंस्था पुन:स्थापनाका आन्दोलनलाई कमजोर बनाउन पार्टीकै मूल नेतृत्व अग्रसर भएको आरोप लगाउँदै असन्तुष्ट पक्षले संसदमा संवैधानिक राजसंस्थाको पक्षमा एउटा पनि प्रस्ताव दर्ता नगरिएको उल्लेख गरेको छ । राणाले नयाँ पार्टीमा ६० प्रतिशत महिला र युवाको उपस्थिति रहने दावीसमेत गरे । त्यसमा दुर्गा प्रसाईं पनि समावेश हुने उनले संकेत दिएका छन् । राप्रपाभित्रको असुन्तुष्टिलाई लिएर उनले राजीनामा दिएका थिए । राणा समूहको बहिर्गमनले राप्रपाको संगठनात्मक संरचना र नेतृत्वमाथि थप दबाब सिर्जना गर्ने देखिएको छ ।