सहकारीको प्रयासले फाकफोकथुममा दुग्ध व्यवसाय फस्टाउँदो
इलाम । बिहान ३ः०० नबज्दै फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका शेषकान्त खनाल गाईगोठमा व्यस्त छन् । गोबर व्यवस्थापन, गाईलाई नुहाइदिने, दूध दुहुने र कुँडो खुवाउने उनको दैनिकी हो । दुईवटा गाईको सेवासँगै दूध दुहेर उनी घर नजिक रहेको दूध सङ्कलन केन्द्रमा ३५ लिटर दूध लिएर जान्छन् । दुग्ध सहकारीलाई बेचर उनी घर फर्कछन् । 'दुग्ध सहकारीले मनासिव मूल्य दिन्छ । गाईपालनमा अझ उत्साह बढेको छ', उनले भने । फुएतप्पास्थित थामडाँडा पशुपालन सहकारी संस्थामा ८४ परिवार आबद्ध छन् । तीमध्ये ४५ परिवारले नियमित रूपमा दूध बिक्री गरिरहेका छन् । सहकारीका सहसचिव ढाकाबहादुर मगर सफल दुग्ध किसानमध्ये परेका छन् । केही समयअघि दैनिक ७२ लिटर दूध बिक्री गर्दै आएका उनले एउटा गाई बिक्री गरेपछि उत्पादन घटेर अहिले ४८ लिटरमा सीमित भएको बताउँछन् । 'चार माउ उन्नत जातका गाई पालेको छु । व्यावसायिक रूपमा काम गर्न सकियो भने राम्रो आम्दानी सम्भव छ', उनले भने । सहकारीमा दैनिक करिब ९५० लिटर दूध संकलन हुन्छ । किसानले प्रतिलिटर ५५ देखि ७५ रुपैयाँसम्म मूल्य पाउँछन् । सहकारीका अध्यक्ष हरिप्रसाद दङ्गालीका अनुसार दूधको मूल्य ‘ल्याक्टो’ र ‘फ्याट’को आधारमा निर्धारण गरिन्छ । घिउ र छुर्पी उत्पादनको बजार मूल्यअनुसार किसानलाई भुक्तानी गर्ने व्यवस्था गरिएको छ । थामडाँडा सहकारीले दूध बिक्रीसँगै मूल्य अभिवृद्धि गरेर पनि आम्दानी बढाएको छ । मासिक करिब १२ क्विन्टल छुर्पी र सात क्विन्टल घिउ उत्पादन हुने गरेको छ । यी उत्पादन स्वदेशमा मात्र खपत होइन विदेश पनि निर्यात हुने गरेका छन् । सहकारीका सदस्य सुजन श्रेष्ठले उत्पादन सङ्कलन तथा बजार व्यवस्थापन गर्दै आएका छन् । अध्यक्ष दङ्गालीका अनुसार सहकारीको मासिक कारोबार १२ देखि १५ लाख रुपैयाँसम्म पुग्छ । सञ्चालन खर्च कटाएर मासिक करिब डेढ लाख रुपैयाँ बचत हुने गरेको छ । सहकारीले उत्पादन बढाउन प्रोत्साहन कार्यक्रमसमेत सञ्चालन गरेको छ । मासिक ६०० लिटर दूध बिक्री गर्ने किसानलाई एक बोरा ब्रान, ९०० लिटर पुग्नेले दुई बोरा र त्यसपछि प्रत्येक ३०० लिटरमा थप एक बोरा दिने व्यवस्था गरिएको छ । यसले किसानबीच स्वस्थ प्रतिस्पर्धा बढाएको उपाध्यक्ष भोजकुमारी खनालले बताए । सह–सचिव मगरले एक समय मासिक छ बोरासम्म ब्रान निःशुल्क पाएका थिए । साथै पशु सङ्ख्या बढाउन चाहने किसानलाई सहुलियतपूर्ण ऋणको व्यवस्था गरिएको छ । सहकारीको यात्रा २८ परिवारबाट सुरु भएको थियो । २०६७ सालमा औपचारिक दर्ता भएपछि हाल ८४ परिवार आबद्ध भए पनि ४५ परिवार मात्र सक्रिय रूपमा दूध उत्पादनमा संलग्न छन् । सहकारीले एक हजार लिटर क्षमताको चिस्यान ट्याङ्की सञ्चालनमा ल्याएको छ । हाल उत्पादन करिब ९५० लिटरमै सीमित भए पनि दैनिक एक हजार लिटर पु¥याउने लक्ष्य राखिएको अध्यक्ष दङ्गालीले बताए । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन भएको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनामार्फत सहकारीलाई व्यावसायिक योजना, तालिम, प्रविधि तथा बजार पहुँचमा सहयोग मिलेको छ । यो परियोजनाबाट ‘डिपफ्रिज’, छुर्पी सुकाउने भवन, ‘चेन पुली’ तथा ‘जेनेरेटर’जस्ता अत्यावश्यक पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाले खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेको छ भने किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालका अनुसार दैनिक करिब ३१ हजार लिटर दूध उत्पादन हुने फाकफोकथुममा पशुपालन आर्थिक समृद्धिको आधार बनेको छ । 'कृषि र पशुपालनले रोजगारी सिर्जना गरेको छ र गाउँमै सम्मानजनक जीवनको आधार बनेको छ', उनले भने । रासस
क्यान्सरसहित अत्यावश्यक औषधी आपूर्तिको अवस्था बुझाउन विभागलाई निर्देशन
काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले अत्यावश्यक औषधीको आपूर्ति र व्यवस्थापनमा देखिएको असहजताबारे औषधि व्यवस्था विभागसँग छलफल गर्दै आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । बुधबार मन्त्रालय र औषधी व्यवस्था विभागका प्रतिनिधिबीच भएको छलफलमा औषधी आपूर्ति तथा व्यवस्थापनसम्बन्धी गुनासा, विद्यमान अवस्था र समाधानका उपायबारे समीक्षा गरिएको हो । छलफलमा विशेषगरी क्यान्सरविरुद्धका औषधिलगायत विभिन्न औषधीको आपूर्ति र व्यवस्थापनका विषयमा विभिन्न माध्यमबाट प्राप्त गुनासा तथा त्यसको वास्तविक अवस्थाबारे चर्चा भएको मन्त्रालयले जनाएको छ । साथै औषधी आपूर्तिको अनुमति प्राप्त गरेका कम्पनी वा आपूर्तिकर्ताले समयमै आपूर्ति नगरेमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत विभिन्न विकल्पमाथि छलफल गरिएको थियो । मन्त्रालयले विभागलाई जीवनरक्षक तथा अत्यावश्यक औषधी आयात गर्न अनुमति प्राप्त आयातकर्ताहरूको सूची, ती औषधीका पछिल्ला तीन वर्षको आयात परिमाण, वार्षिक खपतको विवरण तथा यस्ता औषधि आपूर्तिका लागि अनुमति माग्दै पेस भएका निवेदनहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । छलफलमा औषधी व्यवस्था विभागसँग सम्बन्धित सफ्टवेयर प्रणालीको सुधार, क्षमता विस्तार तथा विभागको वेबसाइटमा रहेका विवरण नियमित रूपमा अद्यावधिक गर्ने विषयमा पनि जोड दिइएको थियो । मन्त्रालयले औषधी आपूर्ति प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुधारका कदम अघि बढाइने जनाएको छ ।
बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट साढे १० करोड रुपैयाँ असुल
काठमाडौं । अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट सरकारले हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम असुल गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने अभियानअन्तर्गत उक्त उपलब्धि हासिल भएको बताएका हुन् । उनका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयको पहल तथा त्रिभुवन विश्वविद्यालयको सक्रियतामा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट रकम फिर्ता हुने क्रम तीव्र बनेको छ । हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको र थप प्राध्यापकहरू पनि रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेका छन् । मन्त्री पोखरेलले अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष अवसर भएको उल्लेख गरेका छन् । तर, सार्वजनिक स्रोत र राज्यको लगानीबाट प्राप्त उक्त सुविधाको दुरुपयोग गर्दै सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक मात्र नभई शैक्षिक र नैतिक क्षति समेत पुर्याएको उनको भनाइ छ । यस विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिँदै विश्वविद्यालयलाई आवश्यक पहल गर्न प्रोत्साहित गरेको र त्यसपछि गरिएको छानबिन तथा कानुनी प्रक्रियाका कारण रकम फिर्ता हुने क्रम बढेको मन्त्री पोखरेलले बताएका छन् । उनले यो उपलब्धि केवल रकम असुलीको विषय नभई सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने, संस्थागत अनुशासन कायम गर्ने तथा उच्च शिक्षा प्रणालीप्रति नागरिकको विश्वास सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदम भएको उल्लेख गरेका छन् । शिक्षा क्षेत्रमा सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ बनाउँदै सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पोखरेलले बताएका छन् ।
३२ अस्पताल र प्रतिष्ठानलाई जग्गाको अवस्था तत्काल जानकारी गराउन मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो स्वामित्वमा रहेका जग्गाको अवस्थाबारे ३ दिनभित्र जानकारी पठाइसक्न अस्पतालरप्रतिष्ठानलाई निर्देशन दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै देशभरका का ३२ अस्पताल तथा प्रतिष्ठानलाई निर्देशन दिएको हो । यसअघि वैशाख ३० गतेको निर्णयानुसार ३२ अस्पताल तथा प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाको अवस्था जानकारी गराउन भनिए पनि अहिलेसम्म नगराइएकाले मन्त्रालयले तीन दिनको समय दिएको हो । मन्त्रालयले ३२ अस्पताल तथा प्रतिष्ठानलाई अस्पतालको स्वामित्वमा रहेको जग्गाको साँध सिमाना स्वीकृत नक्सा अनुसार भए/नभएको यकिन गर्ने तथा त्यो जग्गामा कुनै अनाधिकृत संरचना निर्माण वा अतिक्रमण भए÷नभएको विस्तृत विवरण तयार गर्न भनेको थियो । यस्तै, अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना जारी गर्ने र सोको पालना नभएमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाई अस्पतालको भोगाधिकार पुनः कायम गर्ने व्यवस्था मिलाउन र अतिक्रमणमुक्त गरिएको वा खाली जग्गामा पुनः अतिक्रमण हुन नदिन कम्पाउण्ड वाल (घेराबार) वा अन्य आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्ने तथा जग्गासम्बन्धी लालपुर्जा र स्रेस्ता अद्यावधिक गरी मालपोत तथा नापी कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्न भनिएको थियो । मन्त्रालयले निर्देशन दिएका ३२ अस्पताल तथा प्रतिष्ठानहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई यस्तो निर्देशन दिइएको हो । यस्तै, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, वीर अस्पताल, नर्सिङ क्याम्पस, जीपी कोइराला राष्ट्रिय स्वास प्रधास केन्द्र, डडेल्धुरा अस्पताल, मानसिक अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर,कोसी अस्पताल, भेरी अस्पताल, आयुर्वेद चिकित्सालय, पशुपति होमियोप्याथिक चिकित्सालय, सिंहदरबार वैद्यखाना विकास समिति,कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, भरतपुर अस्पताल रहेका छन् । यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र गेटा अस्पताललाई निर्देशन दिएको छ ।
नेपालको पासपोर्ट र्यांकिङमा सुधार
काठमाडौं । नेपालले पासपोर्ट र्यांकिङमा ४ स्थान सुधार गरेको छ । हेन्ली पासपोर्ट इन्डेक्स- २०२६ को नयाँ प्रतिवेदनअनुसार नेपालले ४ स्थान सुधार गरेको हो । नेपाल गत वर्ष १०१ स्थानमा रहेकोमा अहिले ९७औं स्थानमा आई सुधार गरेको हो । नेपाल र उत्तर कोरिया दुवै देश ९७औं स्थानमा रहेका छन्, दुवै देशको भिसा- फ्री स्कोर ३५ रहेको छ । प्रतिवेदनअनुसार सिंगापुर शीर्ष स्थानमा रहेको छ । त्यहाँका नागरिकले विश्वका १९२ देशहरूमा पूर्वभिसाविना (भिसा-फ्री) पहुँच पाएका छन् । त्यसैगरी, दोस्रो स्थानमा जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई) र तेस्रो स्थानमा स्विडेन रहेको छ। चौथो नम्बरमा बेल्जियम, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली, लक्जम्बर्ग, नेदरल्यान्ड, नर्वे, स्पेन र स्विट्जरल्यान्ड रहेका छन् । त्यस्तै, पाँचौं स्थानमा अस्ट्रिया, ग्रिस, माल्टा र पोर्चुगल रहेका छन् । सन् २०२५ मा शीर्ष १० बाट बाहिरिएको अमेरिका फेरि शीर्ष १० भित्र पर्न सफल भएको छ । सूचीमा भारत ७८औं स्थानमा रहेको छ । गत वर्ष भारत ७७औं स्थानमा रहेको थियो। चीन ५६औं स्थानमा रहेको छ । गत वर्ष चीन ६४औं स्थानमा थियो । त्यस्तै, पाकिस्तान ३० स्कोरका साथ १००औं स्थानमा रहँदा अफगानिस्तान सबैभन्दा अन्तिममा रहेको छ ।
६६ करोडको आईपीओ ल्याउँदै पिपुल्स इनर्जी, ज्योति क्यापिटल प्रत्याभुतिकर्ता
काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) का लागि ज्योति क्यापिटल लिमिटेडलाई प्रत्याभुतिकर्ता नियुक्त गरेको छ । प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका दरले जारी हुने उक्त सेयरको कुल मूल्य ६६ करोड रुपैयाँ बराबर रहने कम्पनीले जनाएको छ । सो सम्बन्धी सम्झौतामा सोमबार काठमाडौंको कमलपोखरीस्थित ज्योति क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गरिएको हो । सम्झौतामा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र पिपुल्स इनर्जी लिमिटेडका महाप्रबन्धक जनार्दन अर्यालले हस्ताक्षर गरेका छन् । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति प्राप्त गरी धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, प्रत्याभूति सेवा तथा सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ ।
कास्कीका सामुदायिक विद्यालयमा मेटलाइफ नेपालको सहयोग, फुटबलमार्फत शिक्षा र नेतृत्व विकासमा टेवा
काठमाडौं । विश्वभर फुटबलले समुदायलाई एकताबद्ध गरिरहेको सन्दर्भमा मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम सुरु गरेको छ । 'शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने' लक्ष्यसहित सुरु गरिएको यस पहलअन्तर्गत कास्कीका पाँच विद्यालयमा फुटबल सामग्री वितरण गरिएको छ । यस कार्यक्रमबाट शहरी तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । कार्यक्रम कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन भइरहेको छ, जसले पहुँचबाट वञ्चित युवायुवतीहरूलाई खेलकुद र शिक्षामा अवसर विस्तार गर्दै आएको छ । कार्यक्रममार्फत करिब १६० वटा फुटबलका साथै प्रशिक्षणका लागि आवश्यक सामग्रीहरू कोन, गोलपोस्ट नेट, एयर पम्प लगायतका उपकरणहरू उपलब्ध गराइनेछ । साथै, छनोट भएका विद्यार्थीहरूलाई जर्सी पनि प्रदान गरिनेछ, जसले विद्यालयमा व्यवस्थित खेल गतिविधि सञ्चालन गर्न सहयोग पुर्याउनेछ । यो पहल मेटलाइफ नेपालको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो । यसले कक्षाकोठाको शिक्षासँगै खेलकुदमार्फत सिकिने टोली भावना, निष्पक्षता, धैर्यता र आपसी सम्मानजस्ता मूल्यहरूको विकासमा सहयोग पुर्याउने विश्वास गरिएको छ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठका अनुसार, 'अवसर सीमित भएका सामुदायिक विद्यालयहरूमा खेलकुदले बालबालिकालाई एकताबद्ध गर्ने अद्वितीय शक्ति राख्छ। फुटबलमार्फत विद्यार्थीहरूमा आत्मविश्वास, सिकाइप्रतिको रुचि र चुनौती सामना गर्ने क्षमता विकास गर्न हामी प्रतिबद्ध छौँ ।'
इजरायल र लेबनानबीच युद्धविरामको सहमति, के इरानसँग पनि सम्झौता होला ?
काठमाडौं । इजरायल र लेबनानबीच जारी दुश्मनी अन्त्य गर्न युद्धविराम लागू गर्ने सहमति भएको छ । अमेरिकाको ट्रम्प प्रशासनले बुधबार यस्तो जानकारी दिएको हो । यसले इरान विरुद्धको अमेरिकी–इजरायली युद्ध अन्त्य गर्नका लागि बृहत् सम्झौता हुने आशा देखाएको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेको तीन महिनाभन्दा बढी समय भइसक्दा पनि हर्मुज जलडमरू करिब पूर्णरूपमा बन्द अवस्थामा रहेको छ । यसैबीच अमेरिकी सेनाले हर्मुज जलडमरू नजिकै आक्रमण गरिरहँदा इरानले कुवेतमा आक्रमण गरेको थियो, जसका कारण त्यहाँको विमानस्थलमा क्षति पुग्नुका साथै दर्जनौं मानिस घाइते भएका थिए । तेहरानले अमेरिकासँगको जुनसुकै सम्झौताका लागि इजरायल र लेबनानबीचको लडाइँ अन्त्य हुनुपर्ने सर्त राखेको थियो । वासिङ्टनमा भएको वार्तापछि अमेरिकी विदेश मन्त्रालयद्वारा जारी संयुक्त विज्ञप्ति अनुसार इजरायल–लेबनान युद्धविराम इरान पक्षधर हिजबुल्लाह मिलिसियाद्वारा पूर्ण रूपमा युद्ध रोकिनु र दक्षिण लिटानी क्षेत्रबाट आफ्ना सबै लडाकुहरू फिर्ता बोलाउनु पर्ने सर्तमा आधारित छ । दुवै पक्षबीच गत महिना पनि युद्धविरामको सहमति भएको थियो, तर दुश्मनी भने जारी नै रह्यो । तेहरानको समर्थनमा सीमापार हमला गरेपछि हिजबुल्लाह लडाकु समूहको खोजीमा इजरायलले गत मार्चमा लेबनानमाथि आक्रमण गरेको थियो । कुवेत र जलडमरूमा भएका यी आक्रमणहरू अमेरिका, इजरायल र इरानबीचको कमजोर युद्धविरामको पछिल्लो परीक्षा हुन्, जसका कारण तेलको मूल्य झन्डै २ प्रतिशतले बढेको छ। कुवेती अधिकारी र सरकारी सञ्चारमाध्यमका अनुसार इरानी ड्रोन र मिसाइल आक्रमणबाट विमानस्थलका संरचना र कूटनीतिक नियोगहरूमा क्षति पुगेपछि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलका उडानहरू स्थगित गरिएका थिए । उक्त आक्रमणमा एक जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएका थिए । नागरिक उड्डयन प्राधिकरणले पछि कुवेत एयरवेज र जजिरा एयरवेजले सुरक्षा उपायहरू अपनाएर उडानहरू सुचारु गरेको जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानको कुलीन रिभोलुसनरी गाड्र्सले आफूहरूले कुवेतको विमानस्थलमा गोलीबारी नगरेको र सो विनाश अमेरिकी इन्टरसेप्टर मिसाइलहरूका कारण भएको दाबी गरेको छ । तर, अमेरिकी सेनाले यो दाबी सत्य नभएको र इरानी ड्रोनहरूले नियोजित रूपमा विमानस्थललाई निशाना बनाएको बताएको छ । यसअघि इरानी सञ्चारमाध्यमहरूले रिभोलुसनरी गाड्र्सले बहराइनमा रहेको अमेरिकी पाँचौं फ्लीटको मुख्यालय, एउटा अमेरिकी वायुसेनाको आधार शिविर र ‘पानाया’ भनिएको एउटा जहाजमा आक्रमण गरेको रिपोर्ट गरेका थिए । अमेरिकी सेन्ट्रल कमान्डले आफ्ना आधार शिविरहरूमा आक्रमण भएको कुरा अस्वीकार गर्दै इरानी ब्यालिस्टिक मिसाइलहरू यस क्षेत्रमा आफ्ना लक्ष्यहरू भेद गर्न असफल भएको बताएको छ । सेन्ट्रमले इरानी आक्रमणको प्रयासपछि दक्षिणी इरानमा ‘रक्षात्मक आक्रमण’ को नयाँ चरण सञ्चालन गरेको, मिसाइल प्रक्षेपण स्थलहरू र बारुदी सुरुङहरू बिछ्याउन खोज्ने इरानी डुङ्गाहरूलाई निशाना बनाएको र हर्मुज जलडमरू नजिकैको क्युशम टापुमा आक्रमण गरेको जनाएको छ । तनावका कारण युद्धविराम सङ्कटमा फेब्रुअरी २८ मा इरानमाथि अमेरिकी र इजरायली आक्रमण सुरु भएदेखि तेहरानले अमेरिकी सैन्य बेसहरू रहेका खाडी क्षेत्रका लक्ष्यहरूमा बारम्बार आक्रमण गर्दै आएको छ । युद्धअघि विश्वको झन्डै पाँच भागको एक भाग तेल र तरल प्राकृतिक ग्यास ढुवानी सम्हाल्ने हर्मुज जलडमरूलाई पुनस् खोल्न अमेरिकाले दबाब दिइरहेका बेला अप्रिलको सुरुमा सहमति भएको युद्धविरामका बाबजुद हालैका साताहरूमा दुश्मनी समय-समयमा चर्किएको छ । गत साता इरान र अमेरिकाले युद्ध रोक्न र जलडमरू पुनः खोल्नका लागि एउटा अस्थायी प्रारम्भिक सम्झौतातर्फ प्रगति भएको संकेत दिएका थिए, तर दुवै पक्षले अझै पनि यस सम्झौतामा हस्ताक्षर गर्न बाँकी छ । यस सम्झौतापछि थप जटिल वार्ताहरू पछि गरिनेछ । इरानका विदेशमन्त्री अब्बास अराघ्चीले बुधबार लेबनानी सञ्चारमाध्यम अल मायादिनलाई कुराकानी पूर्ण रूपमा नटुटिएको तर कुनै प्रगति पनि नभएको बताएका छन् । लेबनानमा लडाइँ अन्त्य हुनुपर्ने सर्तका अतिरिक्त, तेहरान अर्बौं डलरको तेल राजस्वमा पहुँच, कच्चा तेल निर्यातमा लगाइएको प्रतिबन्धबाट छुट, आफ्ना बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी हटाउन र जलडमरूमा आफ्नो नियन्त्रण कायम राख्न चाहन्छ । इन्धनको मूल्य घटाउने दबाबमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु आफ्नो सबैभन्दा ठुलो प्राथमिकता भएको बताएका छन् । इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ । बुधबार सार्वजनिक भएको एक पडकास्ट अन्तर्वार्तामा ट्रम्पले इरान आणविक हतियार नराख्न सहमत भएको र यस वार्तामा खामेनी पनि संलग्न रहेको बताएका थिए । बुधबार नै ट्रम्पले इरानसँगको वार्तामा यसै सप्ताहान्तमा प्रगति हुन सक्ने सङ्केत गरे । ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यदि यो भयो भने यो सप्ताहान्तमा हुन सक्छ ।’ यद्यपि उनले उक्त समयसीमा भित्र के हुने अपेक्षा गरिएको छ भन्नेबारे विस्तृत विवरण दिएनन् । ट्रम्पले पक्षहरू जलडमरू खोल्ने विषय र लेबनानको द्वन्द्वलाई छुट्टाछुट्टै रूपमा सुल्झाउन काम गरिरहेको बताए । लेबनानमा इजरायलको आक्रमण जारी यस युद्धले मुख्य गरी इरान र लेबनानमा हजारौंको ज्यान लिइसकेको छ भने ऊर्जा आपूर्ति र अन्य ढुवानीमा गम्भीर अवरोध पुर्याएर विश्वव्यापी आर्थिक पीडा निम्त्याएको छ । यसले इजरायल र हिजवुल्लाहबिचको द्वन्द्वको पछिल्लो चरणलाई पनि बढावा दिएको छ । लेबनानी सुरक्षा स्रोतहरूका अनुसार बुधबार लेबनानको दक्षिणी क्षेत्रमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ र बेरुतको ठीक दक्षिणमा एउटा कारलाई निशाना बनाइएको छ, जबकि इजरायलले हिजबुल्लाहद्वारा प्रहार गरिएको आशङ्का गरिएको एउटा शत्रुतापूर्ण विमानलाई आकाशमै नष्ट गरेको जनाएको छ । अराघ्चीले इजरायलले बेरुतमा आक्रमण गरे इरानले निर्णायक जवाफ दिने बताएका छन्। आफ्नो पोडकास्ट टिप्पणीमा ट्रम्पले बृहत् युद्धको सम्झौताको प्रयास गरिरहँदा लेबनानको लडाइँलाई लिएर भएको एक तनावपूर्ण फोन कुराकानीका क्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई ‘पागल’ भनेको कुरा स्वीकार गरे । नेतान्याहुको उपनाम बिबी उल्लेख गर्दै ट्रम्पले भने, ‘एक समयमा मैले भनेको थिएँ, बिबी, हामीले यसलाई रोक्नुपर्छ। हामीले यसलाई रोक्नै पर्छ ।’ नेतान्याहुले सीएनबीसीसँगको अन्तर्वार्तामा आफू र ट्रम्पबिच कहिलेकाहीँ ‘रणनीतिक असहमति’ हुने भए पनि इरानसँग सम्बन्धित मुख्य मुद्दाहरूमा उनीहरू सहमत रहेको बताए । अन्य पठनीय सामग्रीहरू: मध्यपूर्वको लामो युद्धले विश्व अर्थतन्त्र संकटमा, मन्दी र उच्च मुद्रास्फीतिको चेतावनी चिप प्लान्ट बनाउन १.५ अर्ब डलर लगानी गर्दै सामसङ इरान र अमेरिका युद्धविरामको सहमति नजिक फरारीको पहिलो ईभी ‘लुचे’ सार्वजनिक, सेयर बजारमा गिरावट आउँदा ५.५ अर्ब डलर घाटा तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति अर्बपति वुओङको ७ अर्ब डलरको रहस्यमयी कारोबार कमजोर हुँदै भारतीय रुपैयाँ नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति