सिइओको छनोटसँगै अघि बढ्ने भयो राष्ट्रिय प्रसारण ग्रीड कम्पनी
काडमाडौँ, २८ कात्तिक । लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणले प्रतिनिधि नपठाउँदा अन्योलमा परेको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले गति लिने भएको छ । सरकारले प्रसारण लाइन निर्माण कार्यलाई गति दिने लक्ष्यका साथ स्थापित राष्ट्रिय ग्रीड कम्पनीलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने तयारी अनुसार प्रमुख कार्यकारी अधिकृतको विज्ञापन गरेसँगै कम्पनीले पूर्णता पाउन लागेको हो । ऊर्जा मन्त्रालयले कम्पनीको प्रतिनिधिमा प्राधिकरणको ११ आै तहको उपकार्यकारी निर्देशक पठाउन ताकेता गरेको लामो समय समय भए पनि प्राधिकरणले अटेर गर्दै आएको थियो । व्यवस्थापन समूहबाटै भए पनि कम्पनी अगाडि बढाउने लक्ष्यका साथ मन्त्रालयले प्रमुख कार्यकारी अधिकृत छनोट प्रक्रिया सुरु गरेको हो । व्यवस्थापन समूहमा विद्युत् विकास विभागका उपकार्यकारी निर्देशक, अर्थ मन्त्रालयका उपसचिव र प्राधिकरणको ११ औ तहका उपकार्यकारी निर्देशक रहने व्यवस्था छ । पछिल्लो पटक प्राधिकरणको कार्यकारी निर्देशक परिवर्तन भएको सन्दर्भमा कम्पनीका लागि प्रतिनिधि समेत पाउने अपेक्षा गरिएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीलाई आवश्यक पर्ने प्रतिनिधि पठाउने तयारीमा आफू रहेको जानकारी दिए । प्रसारण लाइन निर्माणमा सहजता दिन र हाल निर्माणमा रहेका आयोजनालाई पनि समयमै समपन्न गर्ने लक्ष्यका साथ सो कम्पनी स्थापना गरिएको हो । ऊर्जामन्त्री जनार्दन शर्माले ग्रीड कम्पनी र राष्ट्रिय विद्युत् उत्पादन कम्पनी लिमिटेड सञ्चालनमा ल्याउनका लागि प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । मुलुकभर हाल प्राधिकरणसहित अन्य साझेदार संस्थाले ४५ वटा प्रसारण लाइन निर्माणको काम गरिरहेको छ । मन्त्रालयले पहिलो चरणमा ग्रीड कम्पनीमा प्रमुख कार्यकारी अधिकृत नियुिक्तको तयारी थालेको र सार्वजनिक सूचना मार्फत आवेदनका लागि समेत आह्वान गरेको ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले जानकारी दिए । प्राधिकरणले अगाडि बढाएका प्रसारण लाइन निर्माणको काम सहज रुपमा अगाडि नबढेको, समय र लागत मात्रै बढिरहेको अवस्थामा बेग्लै कम्पनीमार्फत काम गर्दा सहज हुने विश्वास लिइएको सहायक प्रवक्ता पन्थको भनाइ छ । चालु आवको बजेट वक्तव्यमा उल्लेख भएअनुसार प्राधिकरणलाई खण्डिकरण गर्ने र उसले गर्दै आएको कामलाई सहज रुपमा कम्पनी मार्फत अगाडि बढाउने उद्देश्यअनुसार नै कम्पनी स्थापना भएको हो । कम्पनीको प्रमुख कार्यकारी छनोटपछि आवश्यक जनशक्तिको समेत व्यवस्थापन गरेर काम सुरु गर्ने भन्ने केही समयअघि सम्पन्न साधारण सभाको निर्णयअनुसार नै प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ । रासस
उपत्यकामा बगैँचा र हरियाली प्रवद्र्धन गर्न ७० मिलियन डलरकाे याेजना बन्दै
काठमाडौं, २८ कात्तिक । काठमाडौं उपत्यकाको हरियाली प्रवद्र्धनका लागि ७० मिलियन डलरको सहयोग जुट्ने भएको छ । उपत्यकालाई हरित नगरि बनाउन भन्दै काठमाडौं उपत्यका विकास प्राधिकरणले ७० मिलियन डलरको प्रोजेक्ट जुटाउन लागेको हो । दिगो विकास रणनीति अन्तर्गत युएन इस्क्यापको कार्यक्रमबाट प्राधिकरणले सो रकमको जोहो गर्नेछ । ‘युएन इस्क्यापको ७० मिलियन डलरको प्रोजेक्ट पाउने निश्चित जस्तै भएको छ, त्यो पैसा आयो भने उपत्यकालाई हरित नगरि बनाइनेछ’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले विकासन्युजसँग भने । तिवारीका अनुसार युएन इस्क्यापले संसारका १० वटा मुलुकका बिभिन्न शहरमा हरियाली प्रवद्र्धनका लागि त्यस्तो सहयोग दिँदै आएको छ । यसपालीको सहयोगको सूचिमा नेपाल दुई नम्बरमा परेको छ । युएन इस्क्यापको सूचिमा केन्या एक नम्बरमा रहेको उनले बताए । ‘नेपाल त्यस्तो सहयोग पाउने मुलुकको २ नम्बरमा छ, १० वटा मुलुकले पाउने भएकाले २ नम्बरमा परेका हामीले त्यो सहयोग पाउने निश्चित जस्तै भैसकेको छ’, तिवारीले भने । उनका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका सार्वजनिक क्षेत्रमा बगैँचा निर्माण तथा हरियाली प्रवद्र्धनमा सो रकम खर्च गरिनेछ । त्यसका लागि हाल प्राधिकरणले धमाधम योजना बनाईरहेको पनि उनले जानकारी दिए । ‘दिगो विकास लक्ष्यको कार्यक्रम अनुसार हामीले त्यो पैसा पाउँछौं, त्यसले उपत्यकालाई हरित नगरिका रुपमा स्थापित गराउनेछ’, तिवारीले भने । उनले उपत्यकाका तीनै जिल्लामा रहेका खाली सार्वजनिक जमिनलाई अन्य प्रयोजनमा उपयोग नगर्न पत्राचार गरिसकिएको पनि बताए । ‘उपत्यका भित्रका खाली सार्वजनिक जमिनमा अन्य सरंचना नबनाउन निर्देशन दिइसकेका छौं’, तिवारीले विकासन्युजसँग भने । संयुक्त राष्ट्र संघको वातावरण विभागले त्यस्तो सहयोग उपलब्ध गराउन लागेको हो । वातावरण विभागको युएन इस्क्यापले नोभेम्बर ३० तारिख देखि डिसेम्बर १ तारिखसम्म थाइल्याण्डको बैंककमा ‘एसिया तथा प्यासिफिक शहररुमा २०३० को दिगो विकास लक्ष्यको कार्यान्वयन’ विषयक गोष्ठीको आयोजना गर्दैछ । तिवारीले सो गोष्ठीमा नेपाली प्रतिनिधीका रुपमा सहभागीता जनाएर आफ्ना योजना तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । नारायण चौर र कमलपोखरीको फेरियो मुहार एक करोड ३७ लाख खर्चेर प्राधिकरणले नारायण चौरको खाली जमिनमा बगैँचा बनाएर मुहार फेरिदिएको उनले बताए । त्यस्तै, दुई करोडको सिमित बजेटमै कमलपोखरीको पनि मुहार परिवर्तन गराएको उनले बताए ।‘न्युन लगानीमा नारायणचौर र कमलपोखरीको मुहार फेरिएको छ, बजेट र इच्छाशक्ति भयो भने उपत्यकालाई बगैँचा र हरियालीयुक्त शहर बनाउन सक्छौं भन्ने पुष्टि भैसकेको छ’, तिवारीले भने ।
हकप्रद र बोनसको हल्लाले एभरेष्टमा तानिए लगानीकर्ता, नेप्सेमा सामान्य सुधार
काठमाडौं, २८ कात्तिक । बजार आइतबार झिनो अंकले उकालो लागेको छ । यससँगै ओरालो लागेपछि निरास बनेका लगानीकर्तामा केही आशा पलाएको छ । यसदिन जलविद्युत र होटल बाहेक सवै उपसुचकहरु केही अंकले बढेको छ । होटल शुन्य दशमलव ५९ अंक, जलविद्युत शुन्य दशमलव २३ अंकले घटेको छ भने बैंकिङ शुन्य दशमलव १७ अंक, विकास बैंक, शुन्य दशमलव ०६ अंक, फाइनान्स शुन्य दशमलव ४२ अंक, विमा शुन्य दशमलव ४४ अंक र अन्य शुन्य दशमलव ८ अंकले बढेको छ । दिभर ७३ करोड बराबरको ८ लाख ६२ हजार बराबरको सेयर खरिद विक्रि भएको छ । दिनभर कुल १३७ कम्पनीको सेयर कारोबार भएको थियो । यसदिन एभरेष्ट बैंकको सवैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकले राम्रो लाभांस र हकप्रद सेयर जारी गर्ने हल्लाका कारण सवैभन्दा बढी कारोबार भएको हो । लगानीकर्ता तथा ब्रोकरहरुका अनुसार बैंकले ७० प्रतिशत हकप्रद र ३५ प्रतिशत वोनस सेयरको हल्लाले बजारमा बैकको सेयर कारोबार निक्कै बढेको हो । केही दिनयता निरन्तर घटीरहेको बैंकको सेयर कारोबार आइतबार एकाएक बढेको हो । यसदिन बैंकको २० करोडको कारोबार भएको छ । त्यसैगरी बढी कारोबार हुनेमा सिभिल बैंक लिमिटेड चार करोड, शिखर इन्सुरेन्स तीन करोड र स्ट्यान्डर्ड चार्टड बैंकको २ करोड ९२ लाख रुपैयाँ रहेको छ । आइतबार सवैभन्दा बढी कमाउनेहरुमा एनवी इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ । देवः विकास बैंक, नेपाल बैंक लिमिटेड,साझा विकास बैंक र एभरेष्ट बैंक लिमिटेड रहेका छन् । त्यस्तै गुमाउनेहरुमा राष्ट्रिय विमा कम्पनी लिमिटेड प्रमोटर सेयर, राष्ट्रिय विमा कम्पनीका लगानीकर्ता, रिलायवल माइक्रो फाइनान्स वित्तिय संस्था, सेवा विकास बैंक रहेका छन् ।
सानिमा बैंकले दियो सामुदायिक केन्द्रलाई घाँस काट्ने उपकरण
काठमाडौं, २८ कात्तिक । सानिमा बैंक लिमिटेडले नक्साल स्थित नन्दीकेशर बगैँचा(नारायणचौर)को सुन्दरता कायम राख्न सामुदायिक केन्द्र नक्साललाई घाँस काट्ने उपकरण प्रदान गरेको छ । ११ औ महानगरीय प्रहरी दिवसका दिन आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सामुदायिक केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठलाई घाँस काट्ने उपकरण हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । आफ्नै केन्द्रिय कार्यालय अगाडी रहेको बगैँचाको सौन्दर्यता जोगाउनका लागि घासँ काट्ने मेसिन सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।
आम्रपाली बायोटेकको मम्स ब्राण्डका नयाँ प्रडक्ट नेपाली बजारमा
काठमाडौं, २८ कात्तिक । नेपाली बजारमा ८ वर्षदेखि बिक्रीवितरण भइरहेको भारतीय कम्पनी आम्रपाली बायोटेक इन्डिया प्रालिले मम्सका नयाँ ब्रेकफास्ट प्रडक्ट नेपाली बजारमा भित्र्याएको छ । राजधानीमा बिशेष कार्यक्रमको आयोजना गर्दै कम्पनीले मम्सका नयाँ प्रडक्ट चोकोफ्लेक्स, चोकोफिल्स, मुसली र पोरिज सार्वजनिक गरेको हो । आम्रापाली बायोटेक इन्डियाका चेयरमेन डाक्टर अनिल कुमार शर्मा, निर्देशकद्धय रितिक सिन्हा र डाक्टर स्वप्निल शिखा तथा सेल्स एण्ड मार्केटिक प्रमुख उपाध्यक्ष प्रभात कुमार सिंहले नयाँ प्रडक्टको संयुक्त रुपमा सार्वजनिक गरेका थिए । प्रडक्ट लञ्च कार्यक्रममार्फत् नयाँ प्रडक्टको बिक्री वितरणसमेत शुरु गरिएको जानकारी दिइएको हो । मम्सका अचार, जाम, कर्नफ्लेक्स, जुस, सस्लगायतका ७२ भन्दा बढी प्रडक्टको कारोबार भइरहेको छ । मम्स कम्पनीका उत्पादन नेपाली बजारमा निक्सोन एक्सपोर्ट इम्पोर्ट प्रालि, सन्तोष भेराइटीज र प्रथम ट्रेड लाइन प्रालिले बिक्रीवितरण गरिरहेका छन् । भारतमा फुड प्रडक्टमा सबैभन्दा धेरै कारोबार गरिरहेको आम्रपाली ग्रुपले भुटान, बंगलादेश र मिडिलइस्टका बिभिन्न देशमा आफ्ना उत्पादन बिक्रीवितरण गरिरहेको छ । निकट भविष्यमा नेपालमै प्लान्ट राखेर उत्पादन गर्ने लक्ष्य मम्स ब्राण्डले लिएको छ । नेपालमा उत्पादन गरेर भारतका बिहार लगायतका प्रान्तमा कारोबार गर्ने लक्ष्य लिएको आम्रपाली ग्रुपका नेपालस्थित कन्ट्री हेड जनक ओलीले जानकारी दिए । ब्राण्ड एम्बासडरको रुपमा भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिं धोनी रहेको मम्सका उत्पादनहरु नेपालका सबै जनरल स्टोर र सुपरस्टोरहरुमा उपलब्ध छन् । आम्रापाली बायोटेक इन्डियाका चेयरमेन डा. अनिल कुमार शर्माले नेपालसँग आफ्नो सम्बन्ध बिबिध कारणले नजिक भएकै कारण भारतमा भन्दा पहिले नेपालबाट आफ्नो प्रडक्ट लंच गरेको बताए ।
सुनको मुल्यमा भारी गिरावट, मंगलबार सम्म ५४ हजारमा झर्ने
काठमाडौं, २८ कात्तिक । विश्व बजारमा सुनको भाउ ओरालो लागेको छ । विश्वकै शक्तिशाली अमेरिककाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि सुनको मुल्यमा ओरालो लाग्न थालेको हो । ट्रम्प निर्बाचित भएकै दिन नेपाली बजारमा एक्कासि १३ सय रुपैयाँले उकालो लागेको सुन भोलिपल्ट एकैदिन १४ सय रुपैयाँले ओरालो लागेको थियो । त्यसपछि निरन्तर ओरालो लागेको सुनको मुल्य आइतबार पनि पनि ओरालो लागेको छ । यसदिन सुन प्रतितोला ५५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सुरक्षित लगानीको ग्यारेन्टी नभएकाले लगानीकर्ताहरु सुनतर्फको लगानीमा त्यत्ति आकर्षित नभएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्प निर्माचित भएपछि सुनको मुल्य उकालो लाग्ने विष्लेषकहरुले दावी गरेका थिए । तर सो दावीलाई असत्य सावित गर्दै सुनको मुल्यमा गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १२ सय ५० भन्दा तल नझर्ने धेरैको अनुमान थियो । तर शुक्रबारको अन्तिम कारोबार मूल्य प्रति औंस १२ सय २८ अमेरिकी डलरमा झरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमले सुनको मुल्य आगामी नोभेम्बर १५ सम्ममा एक हजार दुई सय अमेरिकी डलर सम्म पुग्ने अनुमान गरेका छन् । त्यसरी हेर्दा नेपालमा मंगलबार सम्म सनुको भाउ ५४हजार सम्ममा पुग्ने छ । नेपाल सुनचादी व्यवसायी संघका अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार तोलामा ५६ हजार चार सय रुपैयाँ सम्म पुगेको सुनको भाउ आइतबार ५५ हजार पाँच सय रुपैयाँ पुगेको छ । ट्रम्पले दीर्घकालिन नाफामूलक कारोबारमा रोक लगाउने देखिएपछि विश्वमा लगानीकर्ताहरुले आफ्ना सम्पति बिक्री गर्न थालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतले एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएकोले पनि सुनको मुल्यमा गिरावट आएको अनुमान विष्लेषकहरुले गरेका छन् । उनीहरुका अनुसार भारतमा सवैभन्दा बढी सुनको खपत हुने गरेको छ । आर्थिक अस्थिरता बढ्दै गएपछि लगानीकर्ताले सुनमा लगानी गर्ने गरेका छन् ।
वायुसेवा निगमलाई विदेशी साझेदारको फेरि खोजी, विदेशी साझेदारै चाहिने पर्यटन सचिवको भनाई
काठमाडौं २८, कात्तिक । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई पुनः विदेशी साझेदार ल्याउने विषयमाथि बहस सुरु भएको छ । वायुसेवा निगम संचालक समितिका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले वायुसेवा निगमलाई विदेशी साझेदारी विना अगाडि बढाउन तथा यसले सफलता हासिल गर्न नसक्ने बताएपछि फेरि निगमभित्र विदेशी साझेदारको बहस चल्न थालेको हो । सचिव अधिकारीका अनुसार निगले खरिद गर्न लागेको एयरवसको वाइडबडि जहाज भित्र्याएर उडान गन्तव्य बिस्तार गर्ने र यात्रु सेवामा सहजीकरण गर्ने भएको छ । निगमको समग्र व्यवस्थापनलाई हेर्ने हो भने आफैंले विकास गर्ने र दीर्घकालिन सफलता हासिल गर्न सक्ने अवस्था रहेको उनको भनाइ छ । ‘वायुसेवा निगमको व्यपारिक योजना अनुसार काम गन दिन र लामो समयसम्म हवाई पहुँच बनाएर काम गर्न अन्तर्राष्ट्रिय साझेदारी ल्याउनै पर्छ ।’ सचिव अधिकारीले भने । पाँच १० वर्ष नाफा कमाएको विषयलाई मात्रै हेर्नु भएन । अहिलेको समय भनेको वायुसेवाको अहिलेको व्यस्थापन र क्षमता बढाउने हो । यसका लागि कुनै पनि विदेशी वायुसेवासँग साझेदारी ल्याएर विदेशीको सिस्टम र व्यवस्थापनको सिस्टममा जानुपर्ने पनि उनको बुझाई छ । निगमको अहिलेको क्षमता कमजोर भएकोले पनि यसलाई बलियो बनाउन रणनीतिक साझेदार आवश्यक हुन्छ । यस अघि करीब एक वर्ष पहिले निगमको व्यवस्थापन लुफ्थान्सालाई दिने विषयमा तत्कालि पर्यटन मन्त्री दीपकचन्द्र अमात्यले प्रस्ताव अगाडि बढाएको भएपनि त्यसले अन्तिम रुपम भने लिन सकेको थिएन । त्यतिबेला जर्मनी वायुसेवा कम्पनी लुफ्थान्सा कन्सल्टिङले ७६ प्रतिशतको साझेदारीमा निगमभित्र प्रवेश गर्न चाहेको थियो । यो वायुसेवाले निगमका लागि ६ वटा जहाजको प्रस्ताव पनि अगाडि सारेको थियो । लुफ्थान्साले गरेको प्रस्तुतीकरणमा दुई वटा वाइडबडि र चारवटा न्यारोबडिका जहाज दिने प्रस्ताव गरेको थियो । लुफ्थान्साले ६ वटै जहाज थप गर्न ७६ प्रतिशतको रकम व्योहार्न तयार भएको छ भने बाँकी २४ प्रतिशत मात्रै निगमको दायित्व हुने जानकारी प्रस्ताव गरेको थियो । यो प्रस्ताव निगमको हितको लाग उपयोगि भएको तर्क आएको भएपनि सरकारी निकायकै सहमति हुन नसक्दा र प्रतिस्पार्धा विना ल्याएको प्रस्ताव भनेर अगाडि बढेको थिएन । पर्यटन सचिव अधिकारीले भने पुनः नयाँ ढंगबाट जानुपर्ने र निगमको दीर्घकालिन हित हेर्नुपर्र्ने तर्क राखेका छन् ।
युवालाई रोजगारी सरकारको प्राथमिकता : मन्त्री जोशी
पोखरा, २८ कात्तिक । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग धन्दाको विकास गरी युवालाई रोजगारी प्रदान गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बतएका छन् । पत्रकारसँग आइतबार भएको भेटघाटमा उनले देशमा उद्योग व्यवसायको अभावका कारण रोजगारीको खोजीमा युवा विदेशिनुपरेको बाध्यात्मक अवस्था अन्त्य गर्न उद्योग स्थापना गरेर उनीहरूलाई स्वदेशमा नै अवसर प्रदान गर्नु आवश्यक रहेको बताएका हुन् । बन्द उद्योग सञ्चालनका लागि सरकारले कदम चालेको चर्चा गर्दै मन्त्री जोशीले साना घरेलु कुटिर उद्योगको विकास गर्दै ठूला उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए । “सरकारले बन्द भएकामध्ये चल्नसक्ने उद्योगलाई चलाउने र नचल्ने उद्योगलाई व्यवस्थापन गर्ने सोच अघि बढाएको छ,” उनले भने,“ उद्योगको विकासका साथै खनिज पदार्थको सम्भाव्यताका लागि सरकारले गृहकार्य गरिरहेको छ ।” हेटौँंडा कपडा उद्योगलाई सञ्चालनमा ल्याएर पहिलो चरणमा नेपाली सेना तथा प्रहरीका लागि कपडा उपलब्ध गराउने लक्ष्य राखिएको बताउँदै उनले बुटवल धागो कारखानालाई नीजी क्षेत्रलाई भाडामा दिनेबारे छलफल भइरहेको उल्लेख गरे । गोरखकाली रबर उद्योगमा मासिक एक करोड रुपैयाँ घाटा भइरहेका कारण त्यसको कसरी व्यवस्थापन गर्ने भन्नेबारे सरकार गम्भीर बनेको बताए । उनले वीरगन्ज चिनी कारखाना चलाउने सम्बन्धमा पनि गृहकार्य भएको जानकारी दिए ।