सरकारले बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा ग्रुप कम्पनीलाई दियो
काठमाडौं । सरकारले चर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णय गरेको हो । प्रधानमन्त्रीले संसद्मा विशेष सम्बोधन गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री र मन्त्रीहरू बालुवाटारमा सामूहिक तस्बिर खिंचाउँदै बूढीगण्डकी आयोजनालाई इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले बताए । ‘नेपालका लागि अति नै आवश्यक बुढीगण्डकी आयोजना इपीसीएफ मोडलमा बनाउन दिने मन्त्रिपरिषदले निर्णय गरेको छ’ मन्त्री काकीले भने । इपीसीएफ मोडल भन्नाले इन्जिनियरिङ, खरिद, निर्माण र लगानीको जिम्मा दिनु हो । यो मोडेलमा निर्माणकर्ता आफैंले लगानी जुटाउँछ । आयोजना निर्माणपछि यसको आयबाट नै थ्री गर्जेजलाई नेपाल सरकारले ऋण तिर्ने छ । यो आयोजनाको स्वीकृतिपछि उर्जा मन्त्रालयले चिनियाँ कम्पनीसँग यो विषयमा थप छलफल गर्ने भएको छ । त्यसै गरी आजैको बैठकले राष्ट्रिय समाचार समिति राससमा रिक्त महाप्रबन्धकमा पत्रकार ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ । गत माघ ६ गतेदेखि सो पद रिक्त थियो । त्यस्तै निर्यात तथा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशकमा शरद्विक्रम राणालाई नियुक्त गरिएको छ । बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्रीहरुले सामूहिक फोटो खिचेका छन् । सामूहिक फोटो खिच्नुको अर्थ दाहाल सरकारको यो अन्तिम बैठक हो ।
राजश्व संकलन ५.३३ प्रतिशतले बढ्यो, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा करले लक्ष्य भेटेन
काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा राजश्व संकलन ५ दशमलब ३३ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक राजश्व विभागले १० महिनामा १ खर्व ७९ अर्व २८ करोड ४७ लाख ८७ हजार राजश्व संकलन लक्ष्य पाएको थियो । विभागले सो अवधीमा जम्मा १ खर्व ८८ अर्व ८५ करोड ७६ लाख ८४ हजार रुपैंयाँ राजश्व संकलन गरेको हो । सो रकम लक्ष्य भन्दा ९ अर्ब ५७ करोड २८ लाख ९७ हजार बढि हो । विभागले आर्थिक वर्ष २०७३/०७४ वैशाख मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा भने २० प्रतिशतले वृद्धि गरेको छ । विभागले आयकर तर्फ १ खर्व १ अर्व ८१ करोड ७० लाख ३६ हजार, मूल्य अभिवृद्धि कर ४८ अर्व ३२ करोड २४ लाख ११ हजार र अन्तःशुल्क तर्फ ३७ अर्व २८ करोड ५७ लाख १६ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ आयकर, वहालकर, व्याजकर गरी १०७ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०१ प्रतिशत र अन्तशुल्क तर्फ १०८ प्रतिशत हो । शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा करले लक्ष्य भेटेन त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ६४ करोड २८ लाख ४० हजार र ७८ करोड ९६ लाख ८१ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९९ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर १५ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २५ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३२ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २४ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३२ प्रतिशत रहेको छ । विभागले आर्थिक वर्ष २०७३÷७४ को वार्षिक लक्ष्य २ खर्व ३३ अर्व ६० करोड १५ लाख १७ हजार पाएको छ ।
रासस महाप्रबन्धकमा ओपेन्द्र शर्मा नियुक्त
काठमाडौँ, । सरकारले राष्ट्रिय समाचार समिति राससमा रिक्त महाप्रबन्धकमा पत्रकार ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शर्मालाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत माघ ६ गतेदेखि सो पद रिक्त थियो । त्यस्तै निर्यात तथा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशकमा शरद्विक्रम राणालाई नियुक्त गरिएको छ । बैठकले बूढीगण्डकी इन्जिनियरिङ प्रोक्यरमेन्ट कन्स्ट्रक्सन ढाँचामा अघि बढाउने सम्झौतापत्र तयार गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ । प्रधानमन्त्रीले संसद्मा विशेष सम्बोधन गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री र मन्त्रीहरूले बालुवाटारमा सामूहिक तस्बिर खिंचाएका थिए । रासस
ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा कालीकोटमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कालीकोट जिल्लामा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालीका वडा नं २ मा सेवा शुरु गरिएको हो । ग्लोबल आईएमई बैंकका सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले व्यवसायीक प्रतिनिधिलाई मसिन हस्तान्तरण गरेर उक्त सेवाको उद्घाटन गरेका छन् । बैंकले खाँडाचक्र नगरपालीका वडा नं २ शुरु गरेको सेवा सञ्चालनका लागि स्थानिय कर्ण वहादुर खत्रिलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । कालीकोटमा शुरु गरिएको सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ४६ पुगेको छ । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लगायतका सुबिधा रहेका छन् । ग्लोवल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा हालसम्म ३ वटा एक्सटेन्सन काउण्टर तथा १३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
नेप्से परिसूचक दोहोरो अंकले बढ्दा ७८ करोडको कारोबार, सबै समूह हरिया
काठमाडौं । केही दिनयता लगातार ओरालो लागेको सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ । मंगलबार नेप्से परिसूचक १० दशमलब ११ अंकले उकालो लागेर १६२६ दशमलब ५१ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचक सँगै करोबार रकममा पनि वृद्धि भएको छ । दोहोरो अंकले बढेको बजारमा ७८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २६ करोड रुपैयाँ बढी हो । सोमबार जम्मा ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । मंगलबार १४७ कम्पनीको १० लाख १७ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबारको बजारमा कारोबार भएका ८ वटै समूहहरु हरिया देखिएका छन् । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक ५५ अंकले उकालो लागेका छन् । त्यस्तै, बीमा, फाइनान्स, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः २०, ११.३५,११.०७ र १०.९५ अंकले उकालो लागेका छन् । होटल, हाइड्रोपावर र अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् ।
विश्व बैंकले देखायो नेपाली अर्थतन्त्रका एक दर्जन चुनौती, सन २०३० अघि न्युन मध्यम आय असम्भव
काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक विकासमा सवालमा एक दर्जन चुनौतीको फेहरिस्ता सार्वजनिक गरेको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै विश्व बैंकको सिनियर अर्थ विद दामिर कोसिकले नेपालको आर्थिक विकासमा एक दर्जन भन्दा बढि गम्भिर चुनौती रहेको बताएका हुन् । उनले भुपरिवेष्ठित अवस्थिती, अस्पष्ट आर्थिक नीति नियम तथा कानुन, युवा शक्तिको विदेश पलायनता, अनुपयुक्त विकास मोडल लगायतका चुनौती रहेको बताए । यस्ता छन विश्व बैंकले औल्याएका चुनौती विश्व बैंकको आर्थिक विकासका लागि नेपालको भौगोलिक अवस्थिती सबै भन्दा ठुलो चुनौतीका रुपमा रहेको बताएका छ । विश्व बैंकले तयार पारेको अध्ययन रिपोर्टका अनुसार कठिन भौगोलिक बनोटले नेपालको आर्थिक विकासलाई कहिल्यै सहज नबनाउने उल्लेख गरेको छ । बाह्य रुपमा भुपरिवेष्ठित र आन्तरिक रुपमै पनि बिविधतायुक्त कठिन भुगोलहरु नेपालको आर्थिक विकासमा प्राकृतिक अवरोधका रुपमा रहेको विश्व बैंकले बताएको छ । त्यस बाहेक भूकम्प, बाढि पहिरो लगायतका अनय प्राकृतिक प्रकोपहरु पनि नेपालको आर्थिक विकासका बाधक बनेको अध्ययन रिपोर्टमा भनिएको छ । भारतसँगको निर्भरताका कारण पनि नेपालको विकासमा समस्या उत्पन्न भएको विश्व बैंकको दावी छ । नेपालले आफ्ना हरेक सकारात्मक तथा नकारात्मक घट्ना तथा आर्थिक विकासका सवालमा भारतप्रति बढि नै उदार हुने गरेको अध्ययनमा भनिएको छ । एक दशक लामो सशस्त्र द्धन्द्ध, जातिय तथा क्षेत्रिय आन्दोलन र अस्थिर राजनीतिका कारण नेपालको आर्थिक विकास ओझेलमा परेको उसले दावी गरेको छ । त्यस बाहेक नेपालले अख्तियार गरेको अस्पष्ट आर्थिक नीतिले पनि आर्थिक विकासमा रोकावट ल्याएको बताइएको छ । लगानी मैत्री कानुनको अभाव सरकार फेरिएसँगै बदलिने प्राथमिकताले आर्थिक विकासको गति अवरुद्ध पारेको विश्व बैंकको ठहर छ । त्यस्तै, निरन्तरता रुपमा विदेशीएका युवा शक्तिले रेमिटेन्स पठाएको भएपनि आन्तरिक उत्पादन क्षमतामा भने ह्रास आएको बताइएको छ । नेपालले हालसम्म अख्तियार गरेको विकास मोडल नै अनुपयुक्त रहेको निष्कर्ष पनि विश्व बैंकले निकालेको छ । हाल जारी राजनीतिक तथा आर्थिक गतिबिधीले नेपालको तिब्र आर्थिक विकासमा सहयोग नपुग्ने ठोकुवा पनि गरिएको छ । अहिलेकै गतिमा काम गर्ने हो भने सन २०३० अघि नेपालले न्युन मध्यम आय भएको मुलुकका रुपमा आफुलाइई स्थापित गर्न नसक्ने पनि उसको निष्कर्ष छ ।
१० महिनामै ८५ हजार मेट्रिक टन सिमेन्ट उत्पादन, दश वर्षयताकै बढी
उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले चालु आवमा १० वर्षयताकै बढी सिमेन्ट उत्पादन गरेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योग बेलाबेलामा राजनीतिक उतारचढावका कारण बन्द हुने गरेको भएपनि चालु आव २०७३/०७४ मा दशकयताकै बढी सिमेन्ट उत्पादन गर्न सफल भएको छ । चालु आवको दुई महिना बाँकी छँदै ८५ हजार मेट्रिक टन क्लिङ्कर (सिमेन्ट) उत्पादन गरिसकेको छ । सिमेन्ट उत्पादन गर्नका लागि भुटान र भारतबाट कोइला आयत गर्दै आएको उद्योगका क्लिङ्कर उत्पादन प्रमुख सञ्जयकुमार लालले जानकारी दिए । करिब ८५ प्रतिशत चुनढुङ्गा, १४ प्रतिशत रातोमाटो र एक प्रतिशत फलाम मिलाएर क्लिङ्कर उत्पादन हुन्छ । आगामी आवमा एक लाख ५० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने गरी उद्योगले काम गरिरहेको लालको भनाइ छ । सिमेन्ट उत्पादनका लागि चाहिने चुनढुङ्गा १८ किलोमिटर टाढा रहेको सिन्धाली चुनढुङ्गा खानीबाट ल्याउने गरिएको छ । विसं २०४४ मा दर्ता भई रु छ अर्ब ३० करोड लागतमा निर्माण भएको उक्त कारखाना स्थापनाका लागि जापान सरकारले आर्थिक र प्राविधिक सहयोग गरेको थियो । विसं २०४९ मङ्सिरबाट उत्पादन थालेको सो उद्योगले सुरुका दिनमा प्रतिदिन ८०० टन क्लिङ्कर उत्पादन गर्दै आएको थियो । उद्योगका महाप्रवन्धक सुरेन्द्र पौडेल मन्त्रालयको नीतिगत सहयोग र उद्योगका कर्मचारीको कार्यदक्षताका कारण पछिल्लो समय सिमेन्ट उत्पादन बढेको बताउछन् । “विगतमा मासिक रु ३० करोड घाटा व्यहोर्दै आएका थियौँ, चालु आवमा रु १७ करोड आम्दानी गरिसकेका छौँ ।” ढुवानीलगायत समस्याले अरु सिमेन्टको तुलनामा उदयपुर सिमेन्ट केही महँगो परेको पौडेलको भनाइ छ । उनी भन्छन् – “थोरै महँगो भए पनि हाम्रो सिमेन्ट बिक्रीमा समस्या छैन ।” उदयपुर सिमेन्ट दुई सयवटा डिलरबाट काठमाडौँ र तराईका विभिन्न बजारमा दैनिक रुपमा बिक्री वितरण भइरहेको छ । विद्युत्भारका कारण उद्योगले लक्ष्यअनुसार उत्पादन गर्न सकेको छैन । अखिल नेपाल औद्योगिक मजदुर सङ्घका अध्यक्ष चक्रबहादुर उद्योग क्षेत्रमा काम गर्ने श्रमिकलाई औषधि उपचार, उपदान, पदोन्नतिलगायतका समस्या भएको बताउँछन् । उनी भन्छन् – “श्रमिकका कारण उद्योग अहिलेको स्थितिसम्म आएको हो त्यसैले सञ्चालक समितिले हाम्रा मागको सुनुवाइ गर्नुपर्छ ।” सोह्र हजार टन उत्पादन क्षमता रहेको उद्योगले अहिले प्रतिदिन ६०० देखि ७०० टन अर्थात् १२ हजारदेखि १४ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । “१० मिनेट बत्ती जाँदा रु चार लाख बराबरको घाटा हुन्छ,” उनले भने । वैशाख महिनामा मात्र ८० पटक बत्ती जाँदा रु तीन करोडको घाटा भएको छ । जापान सरकारले वनाएको मेसिन मर्मतका लागि रु १५ करोडको बोलपत्र आह्वान गरेर उद्योगले काम अगाडि बढाइसकेको छ । नेपालको पुरानो सिमेन्ट उद्योगका रुपमा रहेको उक्त उद्योगमा अहिले ४२५ कर्मचारी काम गर्दै आएका छन् । उद्योगलाई सहज ढङ्गले सञ्चालन गरी कसरी जनतालाई फाइदा दिन सकिन्छ भन्ने हिसाबले काम गरिरहेको उद्योग सञ्चालक समितिका अध्यक्ष अक्रुर खड्का बताउँछन् । उनी भन्छन् – “उद्योगलाई सहज ढङ्गले चलाउन लागिपरेका छौँ फाइदाभन्दा पनि जनताको सेवा नै हाम्रो मुख्य लक्ष्य हो ।” रासस
संसद् बैठक ३ बजे बस्दै, प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्बोधन गर्ने
काठमाडौं। व्यवस्थापिका-संसद्को आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न १५ बजेका लागि सरेको छ । संसद् सचिवालयका अनुसार प्रमुख राजनीतिक दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेका कारण बैठक पर सारिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष सम्बोधन गर्ने भएका छन् । यस्तै आव २०७४/७५ का लागि सरकारले प्रस्तुत गर्ने बजेटका सम्बन्धमा सांसदको सुझाव लिनका लागि बजेटपूर्वको छलफल गरिने कार्यसूची छ । संसद्को बर्खे अधिवेशन सोमबारदेखि शुरु भएको हो । रासस