मर्चेन्ट बैंकरको चुक्ता पुँजी वृद्धि गर्दै धितोपत्र बोर्ड
काठमाडौं, १० मंसिर । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरहरुको चुक्ता पुँजी वृद्धि गर्ने तयारी गरिरहेको छ । मचेन्ट बैंकरहरुको वित्तिय स्थायित्व कायम गर्नका लागि भन्दै बोर्डले पुँजी वृद्धि गर्न लागेको हो । बोर्डका प्रबक्ता निरज गिरीका अनुसार मर्चेन्ट बैंकरहरुको वित्तिय स्थायित्व कायम गर्नका लागि उनीहरुको पुँजी वृद्धि जरुरी रहेकोले बोडले पुँजी वृद्धि गर्ने कार्य अघि बढाएको बताए । उनले मर्चेन्ट बैंकरहरुको पुँजी वृद्धिका लागि बोर्डले छलफल गरिरहको जानकारी दिदै प्रतिशतमा वा रुपैयाँमा कसरी बढाउने भन्ने मोडालिटी तयार भईनसकेको पनि जानकारी दिए । विभिन्न चरणमा छलफल गरेपछि मात्र पुँजी वृद्धि बारे निर्णय हुने पनि गिरीले जानकारी दिए । उनका अनुसार मर्चेन्ट बैंकरहरु पुजी वृद्धिको बारेमा सकारात्मक रहेका छन् । हाल मर्चेन्ट बैंकरहरुको चुक्तापुँजी कामको प्रकृति हेरेर एक करोडदेखि ७ करोड सम्म रहेको छ । शेयर रजिष्ट्रारको काम मात्र गर्ने मर्चेन्ट बैंकरको एक करोड, निष्कासन तथा विक्रि प्रबन्धकको काम पनि गर्ने कम्पनीको ३ करोड, धितोपत्र प्रत्याभुतिकर्ताको ४ करोड, लगानी व्यवस्थापन मात्र गर्ने कम्पनीको एक करोड र निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुति ,शेयर रजिष्ट्रेशन र लगानी ब्यवस्थापनको काम गर्ने मचेन्ट बैंकरको सात करोड रुपैयाँ चुक्तापुँजी रहेको छ । हाल निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुति ,शेयर रजिष्ट्रेशन र लगानी ब्यवस्थापनको काम गर्ने मचेन्ट बैंकर १४ वटा रहेका छन् भने लगानी व्यवस्थापनको जिम्मा मात्र लिएका मर्चेन्ट बैंकर ४ वटा र लगानी व्यवस्थापन र शेयर रजिष्ट्रेसनको जिम्मा लिएका कम्पनी एकवटा रहेको छ ।
सेयर बजारमा ६५ अंकको गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं, १० मंसिर । यो साता सेयर बजारमा नेप्से परिसूचक ६५ दशमलब ५९ अंकले घटेको छ । लगातार घटिरहेको बजारमा परिसूचक अन्तिम दिन १५३४ दशमलब ३ अंकमा आएर रोकिएको छ । यो साताभर बजारमा ५ अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो अवधिमा ३१ हजार ३३६ कारोबारबाट ७३ लाख ३५ हजार तीन सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीहरुको कारोबार भएको छ । गत साताको तुलनामा नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने केहि सुधार भएको छ । कारोबार रकम गत साताको भन्दा ०.९ प्रतिशत बढी हो । गत साता जम्मा ५ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १४.१८ अंकले घटेर ३३१.१७ अंकमा आईपुगेको छ । साताभर सबैभन्दा बढी बीमा समूहको परिसूचक ७४७ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल समूहको १०५, विकास बैंकको ९९ र जलविद्युत समूहको ७० अंकले ओरालो लागेका छन् । वाणिज्य बैंक, उत्पादनमूलक, अन्य र व्यापार समूहको परिसूचक क्रमशः ४९, १३, १० र एक अंकले परिसूचक घटेका छन् । यस साता कारोबार रकमको आधारमा एभरेष्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ७१ करोड १५ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ६० हजार कित्ता) को आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता पाँचै दिन खुलेको सेयर बजारमा ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
१४ औं हस्तकला व्यापार मेला सुरु, १७६ स्टलमा देश चिनाउने उत्पादन
काठमाडौं, १० मंसिर । राजधानीको भृकुटीमण्डपमा १४ औं हस्तकला व्यापार मेला सुरु भएको छ । शुक्रबार उपराष्ट्रपति नन्द बहादुर पुनले मेलाको उद्घाटन गरेका हुन् । मंसिर १४ गतेसम्म्म सञ्चालन हुने मेलामा ७ वटा पेभिलियन सहित १७६ स्टल रहेका छन् । मेलामा महासंघका जिल्ला हस्तकला संघहरु,बस्तुगत संघहरुको साथै ती संघमा आवद्ध करिव २५ वटा जिल्लाका सदस्य उद्यमी ब्यवसायीहरु, काठमाडौं उपत्यका लगायत देशको विभिन्न भौगोलिक क्षेत्रको जाति जनजातिको प्रतिनिधित्व गर्ने स्थानीय हस्तकला सामाग्रीहरु प्रदर्शन गरिएका छन् । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु साथै जडिवुटी, अर्थोडक्स चिया आदि प्रर्दशनी तथा विक्रीका लागि राखिएका छन् । त्यस बाहेक नेपाल एकिकृत व्यापार रणनीति भित्र समावेश रहेका वस्तुहरुलाई पनि मेलामा प्रतिनिधित्व गराएको छ । मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति नन्द बहादुर पुनले नेपाली उत्पादनको आन्तरिक बजार प्रवद्र्धन तथा निर्यात अभिवृद्धिका लागि एकिकृत पहलकदमी आवश्यक रहेको धारणा राखेक थिए । उनले देशको आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने घरेलु उद्योगहरुको प्रवद्र्धनका लागि सरकारले बिशेष कार्यक्रम बनाउनुपर्ने सुझाव पनि राखेका थिए । सार्क स्तरिय हस्तकला ग्रामको निर्माण तिब्रगतिमा अघि बढाउनुपर्नेमा पनि उनले जोड दिएका थिए । मेलालाई उद्योग सचिव, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, महासंघका अध्यक्ष धर्मराज शाक्य लगायतले हस्तकलाको संरक्षण र विकासका लागि आफ्ना धारणा राखेका थिए । मेला अवलोकन गर्नको लागि प्रवेश टिकटको दर ५० रुपैंयाँ निर्धारण गरिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत सहुलियतको व्यवस्था गरिएकोे छ । मेलामा झण्डै २ लाख आगन्तुक आउने अनुमान गरिएको छ । मेला अवधिमा स्टलमा हुने प्रत्यक्ष कारोवार र व्यवसायिक अर्डर समेत गरी झण्डै १० करोड भन्दा बढिको कारोवार हुने अपेक्षा राखिएको छ । मेलामा, चीन, ईरान,संयुक्त अरव इमिरेट्स, भुटान श्रीलंका लगायतका देशहरुबाट २० जना भन्दा बढि विदेशी आयातकर्ता आउने सम्भावना रहेको महासंघले जनाएको छ । विदेशी आयातकर्ताले आयातकर्ताको रुपमा मेलामा आउन दर्ता गर्नु पर्ने छ । त्यसरी दर्ता भएका आयातकर्ताहरुलाई महासंघबाट २ रात ३ दिनको लागि होटल सुविधा प्रवन्ध गरिएको छ । उक्त व्यवस्था बढिमा २५ जना आयातकर्ताकाको लागि मिलाईएको छ । १२औं हस्तकला प्रतियोगिता पनि व्यापार मेलाको अवसरमा हस्तकला क्षेत्रका कलाकारहरुको प्रतिभा पहिचान गरी सम्मान गर्ने उद्देश्यले फेडेक्स एभरेष्ट डि कार्गाे, काठमाडौ. महानगरपालिका र ललितपुर उप महानगरपालिकाको सहयोगमा फेल्ट उन बिधा र प्रस्तर कलामा १२औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी आयोजना भैरहेको छ । प्रतियोगीतका दौरान कलाकारहरुले आफ्नो प्रतिभा अनुसारका उत्पादन निर्माण थालिसकेका छन् । प्रतियोगितामा उत्कृष्ट घोषित प्रति विधा ३ जना कलाकारहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्रबाट पुरष्कृत गरिने छ । प्रति विधा प्रथम हुनलेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई बीस हजार नगद पुरस्कारको व्यवस्था गरिएको उपाध्ययले जनाकारी दिए ।
सिप्रदीको २४औं वर्कशपको उद्घाटन सम्पन्न, वृक्षारोपण कार्यक्रमको आयोजना
काठमाडौं, १० मंसिर । भारतीय अटोमोबाइल कम्पनी टाटाको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लिले आफ्नो २४ औं वर्कशपको उद्घाटन सम्पन्न गरेको छ । कम्पनीले वर्कशपको रुपमा बागडोल वर्कशपको उद्घाटन एक विषेश कार्यक्रमबीच सम्पन्न गरेको छ । सोही अवसरमा पर्यावरणीय महत्वलाई ध्यानमा राखी कम्पनीले वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेको छ । वर्कशप उद्घाटन तथा वृक्षारोपण कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, टाटा मोटर्स् ग्राहक सेवा इन्टरनेशनल बिजनेस हेड गणेश सेट्टी तथा टाटा मोटर्स् ग्राहक सेवा, सार्कका क्षेत्रीय प्रबन्धक अन्सुमन सामन्तको लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । उद्घाटनको क्रममा सिप्रदी ट्रेडिङ्गका सिओओ राजेशप्रसाद गिरीले बागडोल वर्कशपको बारेमा जानकारी दिदैं कमर्सियल गाडीहरुको लागि आफ्नो कम्पनीले देशभर छरिएका विभिन्न वर्कशपहरुद्वारा छिटो, छरितो एवं भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
माथिल्लो त्रिशूली ‘थ्री ए’ आयोजनाः ऋणको अवधि पाँच वर्ष थप्न चिनियाँ पक्षलाई आग्रह
काठमाडौं, १० मङ्सिर । गोरखा भूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य चाँडै शुरु हुने भएको छ । कुल ६० मेगावाट क्षमताको सो आयोजना गत वर्ष नै सम्पन्न हुनेपर्नेमा भूकम्पका कारण ढिलाई भएको हो । संसदीय समिति र विभिन्न सरोकारवाला निकायले पटक/पटक आयोजना पुनःनिर्माण सुरु गर्न आग्रह गरेपनि कसरी अगाडि बढाउने भन्नेबारे निर्णयमा नपुग्दा समस्या भएको छ । आयोजनाका लागि ऋणदाता चिनियाँ आयात निर्यात बैंकलाई पाँच वर्ष ऋणको अवधि थप गरिदिन अर्थ मन्त्रालयले आग्रह गरेपछि चिनियाँ पक्ष सहमत भएको बताइएको छ । अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित सरोकारवाला निकायका बीच भएको छलफलमा सो आयोजना अगाडी बढाउन चिनियाँ पक्ष सहमत भएको हो । निर्माणको जिम्मा लिएको चाइना गेजुवा गु्रप अफ कम्पनी (सीजीजीसी)ले यही मङ्सिर अन्तिम साताबाट निर्माण कार्य अघि बढाउने भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताए । बाँधको दुवैतर्फका संरचना नेपाल सरकार आफैले निर्माण गनुपर्नेछ । सो कार्यका लागि अर्थ मन्त्रालयले ६१ करोड रुपैयाँको बजेट उपलब्ध गराउने भएको छ । विसं २०७३ असार १६ गतेदेखि विद्युत उत्पादन सुरु गर्नुपर्ने सम्झौता भए पनि उक्त आयोजनाको निर्माण कार्यमा भूकम्पका कारण ढिलाइ भएको हो । आयोजनाको मुख्य काम रोकिएको भए पनि प्रसारण लाइनको काम भने भइरहेको छ । कुल २६ वटा टावरमध्ये २४ वटाको फाउन्डेसनको काम अगाडि बढेको छ । केही स्थानमा मुआब्जामा चित्त नबुझाएर स्थानीयवासीले अवरोध गरे पनि प्रसारण लाइन निर्माणमा खासै समस्या नरहेको बताइन्छ । भूमीगत (सुरुङभित्रै) विद्युत् उत्पादन गर्ने संरचना निर्माण गरी नुवाकोटको मनकामनास्थित फालेटारमा बाँध बाधेर सिम्लेमा विद्युतगृह बनाउने योजना अनुसार अघि बढेको काम भूकम्पले बाँध पुग्ने सडकमा क्षति पुर्याएपछि आयोजना रोकिएको थियो । उत्पादन गृह सिम्लेबाट बाँधस्थलसम्मको पाँच किलोमिटर सडक सुचारु नहुदाँ आठ अर्ब ९० करोड रुपैयाँको आयोजना अलपत्र परेको थियो । पहुँच मार्गसँगै मुख्य समस्या बाँधको दायाँतर्फको पहिरो र सुरुङ मार्गको प्रवेश विन्दुमा आएको पहिरोले आयोजना निर्माण रोकिएको हो । सडक खुलाउनका लागि नेपाली सेनालाई जिम्मा दिने तयारी गरिएको छ । सेनाले यसअघि पनि उक्त आयोजनाको पहुँचमार्ग सुधार गरेको थियो । तर वर्षातको समयमा पुनः पहिरो झरेपछि आयोजनाको पहुँचमार्ग अवरुद्ध हुँदै आएको छ । भूकम्पपछि ठेकेदार निर्माणमा नफर्कदा, सडक मार्ग सुचारु नहुँदा माथिल्लो त्रिशूली ‘थ्रि ए’ लामो समयदेखि अलपत्र बनेको थियो । ‘थ्रि ए’ निर्माण गरी त्यसको पानी बाँध बाँधेर ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्रि बी’ र ६५ मेगवाट क्षमताको मध्य त्रिशूली गङ्गा जलविद्युत आयोजना निर्माण गर्ने तयारी भए पनि मूख्य आयोजनाको अन्यौलताले यी आयोजना समेत रोकिएका छन् । भूकम्पले माथिल्लो त्रिशुली ‘थ्रि ए’ आयोजनाको चार हजार ७६ मिटर लम्बाईको सुरुङ, निर्माण सामाग्रीका साथै आयोजना निर्माणमा प्रयोग भएका सवारी साधनमा समेत क्षति पुगेको थियो । सन् २०११ को जुनबाट काम सुरु भएकोे आयोजना २०१४ को मे र पछि २६ महिना म्याद थप गरी सन् २०१६ जुन ३० मा सम्पन्न गर्ने गरी चीनको चाइना गेजुवा गु्रप अफ कम्पनीले ठेक्कामा लिएको थियो । ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका उच्च अधिकारीलगायतले केही समय पहिला स्थलगत अध्ययन गरी उक्त आयोजनाको निर्माण शीघ्र सुरु गर्न आवश्यक पहल गर्ने बताएका थिए । निर्माणस्थलमा ठेकेदारले बिमा कम्पनीका प्रतिनिधि लगेर थप अध्ययन गर्ने र निर्माण सामग्रीलगायत संरचनामा पुगेको क्षतिको समेत मूल्याङ्कन गर्नेछ । भूकम्पका कारण ठेकेदारले करिब रु एक अर्ब बराबरको क्षती पुगेको दावी गर्दै आएको छ । निर्माण सुरु गरेको डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गर्ने तयारी गरिएको आयोजना प्रमुख जोशीको भनाइ छ । रासस
इमर्जिङ नेपालद्धारा स्टार्टअप फन्ड स्थापना, करोड भन्दा माथिका आयोजनालाई इक्वीटीमा लगानी गर्ने
काठमाडौं, १० मंसिर । इमर्जिङ नेपालले स्टार्ट अप फन्ड प्रारम्भ गरेको छ । फन्डले उद्यमी व्यवासयीहरुलाई आफ्नो परियोजना सञ्चालन गर्न उनीहरुको आर्थिक संवृद्धि हासिल गर्न सहयोग पुर्याउने छ । इमर्जिङ नेपालले स्थापना गरेको स्टार्ट अफ फन्डले १ करोड रुपैयाँभन्दा माथिका परियोजनामा इक्युटीमा लगानी गर्नेछ । त्यसका लागि कम्पनीले पुस १४ गतेसम्म आवेदन गर्न आह्वान गरिसकेको छ । नेपालमा दर्ता भएका शिक्षा, स्वास्थ्य जस्ता क्रियटिभ इनोभेसनका परियोजनाहरुमा लगानी गर्ने संघ संस्थाहरुले यसमा निवेदन दिन सक्नेछन् । इक्वीटीमा लगानी गर्न लागेको नेपालमा यो पहिलो अभ्यास हो । विदेशमा भने यस्ता कार्यहरु प्रसस्त भएका छन् । यस कम्पनीले इक्वीटीको नाममा पुँजी प्रबाह गर्न पहिलो चरणमा उद्यमीसँग कन्सेप्ट पेपर माग गर्ने र दोस्रो चरणमा छनौटमा परेका परियोजनाको विस्तृत विजनेस प्रपोजल तयार गरी लगानी गर्ने छ । सवै परियोजनाको मुल्यांकन छनौट कम्पनीबाटै हुने पनि कमपनीका अध्यक्ष तथा पूर्व सचिव लालमणी जोशीले जानकारी दिए । कम्पनीका प्रमूख कार्यकारी अधिकृत डा.विनोद आत्रेयले यस कम्पनीले विकास पुर्वाधारमा लगानी गर्ने, सरकारलाई परामर्स सेवा उपलव्ध गराउने, राष्ट्रलाई वित्तिय, स्वास्थ्य, पर्यटन हबको रुपमा विकसित गर्न पहल गर्ने जस्ता कार्यहरु गर्ने डा. आत्रेयले जानकारी दिए । पुर्वाधारको विकासको रुपमा जलस्रोत पर्यटन तथा बैकिङ क्षेत्रमा लगानी बढाउने लगायत विभिन्न आयोजनाहरुको सम्भाव्यता अध्ययन गर्ने जस्ता उदेश्यहरु लिएर इमजिङ नेपालको स्थापना भएको पनि डा. आत्रेयले जानकारी दिए । संस्थाले उदेश्यहरु पुर्ति गर्न हाल केयर रेटिङ नेपाल लिमिटेड स्थापना गर्नको लागि आवश्यक कार्य सुरु गरिसकेको पनि आत्रेयले बताए । उनका अनुसार संस्थाले सर्वाजनिक निजी साझेदारीमा स्थापना हुने इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक सम्बन्धी कार्य पनि सुरु गरिसकेको छ । इमजिङ नेपाल इक्वीटीबेस संस्था हो । यसको चुक्ता पुँजी २५ करोड रहेको छ । शुक्रबार सम्पन्न साधारणसभाले कम्पनीको पुँजी २५ करोड बनाएको हो । कम्पनीको अधिकृत पुँजी पाँच अर्व रुपैयाँ रहेको छ । यस कम्पनीमा सरकारको ०.५ प्रतिशतमात्र लगानी रहेको छ । आइएमई ग्रुप, विशाल ग्रुप, एनआरएनहरुको लगानी रहेको छ । कम्पनीमा १० प्रतिशत भन्दा माथि कसैको पनि लगानी रहेको छैन । २०७२ भदौमा स्थापना भएको यस कम्पनीले यसैपालिदेखि काम सुरु गरेको हो ।
नारायणी टुडेको वार्षिकोत्सव थाइल्यान्डमा, नेपालको पर्यटन विकासमा थाइल्यान्डबाट सिक्नुपर्ने
थाइल्यान्ड, १० मंसिर । प्राकृतिक सम्पदाले भरिपूर्ण भएपनि राजनीतिक अस्थिरताका कारण नेपाल पछिपरेको कुरा चितवनको नारायणी टुडे राष्ट्रिय मासिक पत्रिकाले थाइल्यान्डको पत्ताया सिटीमा बिहिबार आयोजना गरेको १७औँ वार्षिकोत्सव समारोहमा बोल्ने वक्ताले बताएका छन् । सँगैसँगै विकासक्रममा रहेका नेपाल र थाइल्यान्ड राजसंस्थाले लामो समय सत्ता सञ्चालन गर्दै गर्दा विकासक्रममा थाइल्यान्डले कायापलट गरेको छ भने नेपाल भने यथास्थितिमा रहेकामा वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए । थाइल्यान्डमा पर्यटक भित्रिनुको मुख्य कारण समुन्द्र हो भने नेपालमा रहेका हिमशृङ्खला र दुर्लभ वन्यजन्तु तथा प्राकृतिक छटा आकर्षणका केन्द्र हुन् । तर उचित प्रचार, अस्थिर राजनीति र व्यवस्थापनको अभावका कारण नेपाल पछि परेको वक्ताको दाबी थियो । कार्यक्रमको उद्घाटन गर्दै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् ९एनआरएनए०का थाइल्यान्ड उपाध्यक्ष महेन्द्र श्रेष्ठले नेपालको पर्यटन विकासका लागि थाइल्यान्डबाट धेरै सिक्नुपर्ने बताए । उनले राजनीतिक दलका नेता, विभिन्न पेसाकर्मीसहित पत्रकारको टोलीको यो थाइल्यान्ड भ्रमणले नेपालमा पर्यटक कसरी भित्र्याउन सकिन्छ र बसाइ लम्ब्याउन सकिन्छ भन्ने विषयमा ज्ञान हासिल गर्नसक्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारीले थाइल्यान्डको विकासलाई हेरेर नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए । उनले पत्रकारिता पेसामाथि औँला उठाउन नसक्ने गरी काम गर्नुपर्ने भन्दै समाज रुपान्तरणका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने “राजनीतिका कारण देश बिग्रियो मात्रै भन्नुभन्दा सही ट्र्याकमा लान हामी पत्रकारले के गरौँ भन्ने बारेमा सोच्नुपर्छ ।” नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले थाइल्यान्डले छोटो समयमा गरेको प्रगतिबाट ज्ञान लिएर नेपालको विकासमा परिचालन गर्नसके विकास सम्भव भएको जिकिर गरे । “देशको समृद्धिका लागि पत्रकारको कलम चल्नुपर्छ, त्यसका लागि थाइल्यान्ड भ्रमण सार्थक बनोस्,” आचार्यले भने । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले नेपाल र थाइल्यान्डको विकासक्रम उस्तै ढङ्गबाट अघि बढेको भएपनि हामी पछिपर्नाको कारण शासन व्यवस्था मात्रै नभएर हाम्रो इच्छाशक्तिको अभाव प्रमुख कारण रहेको उल्लेख गरेका छन् । गाली र आलोचनाले मुलुक नबन्ने भन्दै उनले भुटान, थाइल्यान्डबाट पाठ सिक्ने गरी लेख्न पत्रकारलाई आग्रह गरेका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष इन्द्रजित परियारले नेपालमा विकास भएको नकारात्मक राजनीतिलाई सकारात्मकतामा ढाल्नुपर्ने भन्दै पर्यटनको खानी भएर पनि हामी ओझेलमा पर्नुको कारण खोज्नुपर्ने बताए । राजनीतिक स्थिरता पछि अब देशलाई अन्य क्षेत्रको अनुभव हेरेर समृद्धितर्फ लैजानुपर्नेमा जोड दिएका छन् । नारायणी टुडे राष्ट्रिय मासिकका प्रकाशक/सम्पादक वीरेन्द्रमणि पौडेलले पत्रिकाको वार्षिकोत्सवका लागि मात्रै नभएर थाइल्यान्डको विकासको सिको गरेर नेपालको विकास गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले दलका नेता, पत्रकार र पेसाकर्मीहरुलाई थाइल्यान्ड भित्र्याएको बताए । आगामी वर्षमा क्रमशः विकसित मुलुकमा नेपालीलाई लगेर यस्तै विशेष कार्यक्रम आयोजना गर्ने उनले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, वरिष्ठ न्यूरो सर्जन डा बालकृष्ण थापा, डा कृष्ण काफ्ले, प्रेस सेन्टर नेपालका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी र प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष तीर्थ नेपालले मन्तव्य राखेका थिए । सो कार्यक्रममा नेपालबाट आएका राजनीतिक दल, पत्रकार, पेसाकर्मीसहित थाइल्यान्डमा रहेर पेसा–व्यवसाय गर्ने नेपालीको उपस्थिति रहेको थियो । विश्वमा नै थाइल्यान्ड धेरै पर्यटक भित्र्याउने देशका रुपमा परिचित छ । पत्रकारसहित चार सम्मानित नारायणी टुडे राष्ट्रिय मासिक पत्रिकाले थाइल्यान्डको पत्ताया सिटीमा बिहीबार १७औँ वार्षिकोत्सवका क्रममा चितवनका तीन पत्रकार र एक भेट्रिनरी चिकित्सकलाई सम्मान गरेको छ । उनीहरुलाई कदरपत्रसहित एनआरएनए थाइल्यान्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठले कदरपत्रसहित सम्मान गरेका थिए । सो क्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरि पोखरेल, बिबिसी तथा नेपाल टेलिभिजनका चितवन संवाददाता ईश्वर जोशी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा कृष्ण काफ्लेलाई सम्मान गरिएको थियो । रासस
सानिमा बैंकको ४१औँ शाखा नुवाकोटको बिदुरमा सञ्चालन
काठमाडौं, १० मंसिर । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय नुवाकोटको बिदुरमा सञ्चालन गरेको छ । बैंकले यूके एडद्वारा प्रवद्र्धित सक्षम परियोजनाको सहकार्यमा उक्त शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका ब्राण्ड प्रवद्र्धक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका अध्यक्ष बिनय श्रेष्ठद्धारा भएको छ । सानिमा बैंकका अध्यक्ष श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले यस बिदुर शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्घाटन समारोहमा मह जोडीले बिदुरमा सानिमा बैंक संचालनमा आएकोमा बिदुरवासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरेका छन् । सानिमा बैंकको उक्त शाखा समेत गरी मेचीदेखि महाकालीसम्म ४१ वटा शाखा संजाल तथा ४७ वटा ए.टि.एम रहेका छन् ।