विकासन्युज

निजगढ विमानस्थल निर्माण कार्य छिटो बढाउन संसदीय समितिको निर्देशन

काठमाडौं। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना र ढाँचा छिटो टुङ्ग्याई कार्य अगाडि बढाउन नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकमा सांसदहरुले निजगढ विमानस्थल निर्माण सुस्त भएको भन्दै त्यसलाई तीव्रता दिनुपर्ने माग गरेका थिए । बैठकले निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन छिटो सम्पन्न गर्न वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको निर्माण कार्यमा हाल देखापरेको अवरोध हटाउन तथा पोखरा विमानस्थल निर्माणको काम छिटो सुरु गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै सप्तरीको राजविराज विमानस्थलको पहुँच मार्गको प्रथमचरणको कार्य सम्पन्न गरी अविलम्ब दोस्रो चरणको कार्य सुरु गर्न समितिले निर्देशन दिएको छ । बिहीबारको बैठकमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले निजगढ विमानस्थलको निर्माण कार्य ढिला भइरहेको स्वीकार गर्दै यसको निर्माणको ढाँचाबारे राजनीतिक सहमति कायम गर्न यसै महिनाभित्रै सबै दलका शीर्ष नेता सम्मिलित छलफल आयोजना गर्न लागिएको जानकारी दिए । उनले विमानस्थल निर्माणको गुरुयोजना तथा प्रथम चरणमा गरिने निर्माण कार्यको विस्तृत डिजाइन तयार गर्न अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनोटका लागि आशयपत्र माग गरी मूल्याङ्कन अघि बढाइएको बताए । रासस

सरकारी अस्पतालको फार्मेसीमा औषधि सस्तो

चितवन। भरतपुर अस्पतालले आफ्नै फार्मेसी सुरु गरेपछि उपभोक्ताले सात गुणासम्म सस्तोमा औषधि पाउन थालेका छन् । सरकारी अस्पतालमा आफैँले फार्मेसी सञ्चालन प्रक्रियागत रुपमा जटिल भए पनि क्रमशः व्यवस्थापन हुँदै जाँदा उपभोक्ता र अस्पताल दुवैले लाभ लिन पाएका हुन् । अस्पतालको फार्मेसी स्टोर प्रमुख राजकुमार ढुङ्गानाका अनुसार बजारमा रु १०० पर्ने स्लाइन लगाउँदा प्रयोगमा आउने क्यानुला ननसेफ्टि अस्पतालको फार्मेसीमा रु १५ मा पाइन्छ । क्यानुला सेफ्टि अस्पतालको फार्मेसीले ८२ रुपैयाँ ७१ पैसामा बिक्री गर्दै आएको छ भने बजारमा रु १५० मा बिक्री गरिन्छ । गर्भावस्थामा आमाले प्रयोग गर्ने प्रिग्नेन्सी प्रोटिन अस्पतालको फार्मेसीमा रु २५० मा पाइन्छ भने अन्यत्र त्यसको मूल्य रु ४०० रहेको छ । ग्यास्ट्रिक हुँदा लगाउने प्यान्टा पराजोल ४० एमजीको इन्जेक्सन बाहिर बजारमा रु १७६ मा पाइन्छ भने अस्पतालको फार्मेसीले १०८ रुपैयाँ १० पैसामा बिक्री गर्दै आएको छ । बाहिर बजारमा रु २५ पर्ने इसिजी लिड अस्पतालको फार्मेसीमा रु सात रुपैयाँमा बिक्री गर्दै आएको स्टोर प्रमुख ढुङ्गानाले बताए। अत्यधिक प्रयोग हुने ज्वरोको प्यारासिटामोल, आइब्रुफिन अस्पतालको फार्मेसीमा एक रुपैयाँ ५२ पैसामा प्रतिट्याबलेट पाइन्छ भने बाहिर बजारमा रु दुई लिने गरिन्छ । यसैको सिरफलाई अस्पतालमा २५ रुपैयाँ ५० पैसामा बिक्री गरिन्छ भने बजार मूल्य रु ३२ रहेको छ । क्यानुला हातमा टाँस्न प्रयोग हुने इजी फिक्स अस्पतालको फार्मेसीमा १० रुपैयाँ ८८ पैसा पर्छ भने बाहिर बजारमा रु ३५ पर्छ । यतिमात्र होइन अस्पतालको फार्मेसीले हाल बिक्री गर्दै आएका ८०० प्रकारका औषधिमध्ये अधिकांशमा लेखिएको मूल्यभन्दा सस्तोमा बिक्री गर्दै आएको छ । अस्पतालले गएको कात्तिकबाट आफँैले फार्मेसी सञ्चालन गर्दै आएको हो । गत वैशाख मसान्तसम्ममा रु तीन करोड सात लाख २३ हजारको औषधि फार्मेसीले बिक्री गरेको छ । सो अवधिमा फार्मेसीले रु ५५ लाख ३६ हजार नाफा आर्जन गरेको ढुङ्गानाले बताए । दर तय गर्दा बजार मूल्यको भन्दा कम तय गरिएको छ । जसबाट पनि अस्पताल र उपभोक्ताले आधा आधा लाभ लिएका स्टोर प्रमुख ढुङ्गानाले बताए । हरेक महिना बिक्री बढ्दै गएको पनि उहाँले बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले सार्वजनिक खरिद ऐनअनुसार औषधि खरिद गर्नुपर्ने भएकाले खरिदमा समय लाग्दा आवश्यक सबै औषधि पु¥याउन कठिन भए पनि सकेसम्म सस्तोमा धेरै औषधि उपभोक्तालाई दिलाउन सकिएको बताए । सार्वजनिक खरिद ऐनअनुसार औषधि खरिद गर्दा कोटेसनमा १५ दिन लाग्छ भने टेन्डरमा जाँदा दुई महिना लाग्छ । अस्पतालका कतिपय चिकित्सकलाई कम्पनीले प्रभाव पारेर उसकै ब्रान्ड लेखिदिने हुँदा बिरामीले दुःख पाउने गरेका छन् । फार्मेसीले बिक्री गरेको औषधि फिर्ता हुने गरेको छ । गत सात महिनामा चिकित्सकले लेखेको भन्दा फरक ब्रान्ड परेपछि फार्मेसीबाट रु पाँच लाख २१ हजारको औषधि फिर्ता भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मरासिनी अस्पतालको फार्मेसीले मोलिकुल उपलब्ध गराउन सक्ने भए पनि चिकित्सकले सिफारिस गर्ने गरेका सबै ब्रान्ड राख्न नसकिने बताउछन् । अस्पतालले एक हजार २०० प्रकारका औषधि फार्मेसीमा पु¥याउने लक्ष्य राखेको छ । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारी स्वास्थ्यमन्त्री गगन थापाले सस्तो र सुलभ रुपमा उपभोक्तालाई औषधि दिने उद्देश्यका साथ सरकारी अस्पतालमा सुरु गरिएको आफ्नै फार्मेसी सफल बनाउन चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताए । अस्पतालभित्र रहेको साझाको फार्मेसी हटाएर भर्ना भएका बिरामीका लागि छुट्टै भित्र फार्मेसी सञ्चालन गरेसँगै अस्पतालको आम्दानीसमेत बढ्ने उहाँको भनाइ छ । पहिले अस्पताल परिसरमा फार्मेसी सञ्चालन गर्नेले मासिक रु १६ लाख भाडा बुझाउँदै आएको थियो । अस्पतालको फार्मेसीले गत महिना रु १३ लाख ८८ हजार नाफा गरेको छ । औषधि खरिद प्रक्रिया सहज बनाउनुपर्ने बताउँदै उहाँले अन्य निर्माण र खरिद झँै औषधिको खरिद प्रक्रिया भएकाले यसलाई परिवर्तन गर्न सकेमा अधिकांश औषधि नागरिकलाई दिन सकिने उहाँले बताए । मन्त्रालयले रु १५ लाख उपलब्ध गराएर अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न लगाएको हो । रासस

५ अर्ब विद्युत् महसुल मिनाह गर्दै सरकार

काठमाडौं । अर्थ मन्त्रालयले करिब ५ अर्ब रुपैयाँ बराबरको विद्युत महशुल मिनाहा गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो वक्यौता रकम मिनाह गर्ने प्रस्ताव पास गरेपछि अर्थ मन्त्रालयले त्यसलाई कार्यान्वयनमा ल्याउन लागेको हो । विगत ७ वर्षदेखि उक्त रकम बक्यौता रहँदै आएको हो । नगरपालिका, तत्कालिन गाविस तथा सडक बत्तीबाट उठ्न बाँकी उक्त रकम नेपाल विद्युत प्राधिकरणले आर्थिक पुनसंरचनाका लागि मन्त्रालयमा पठाएको प्रस्ताव स्वीकृत गर्दै रकम मिनाह गर्ने निर्णय मन्त्रालयले गरेको हो । विगतका वर्षहरूदेखि बक्यौता रहँदै आएको ६ अर्ब रकम मन्त्रालयले प्राधिकरणलाई शोधभर्नाको रूपमा दिने अर्थ मन्त्रालयले स्रोतले जानकारी दिएको छ । प्राधिकरणका अनुसार सडक बत्तीको महशुल आव २०६७/६८ देखि आव २०७२/७३ सम्म ४ अर्ब रुपैयाँ बाँकी छ । यही शीर्षकमा यस वर्ष करिब ५५ करोड थपिदै छ । यस्तै, सरकारी कार्यालयको बक्यौता ५२ करोड रुपैयाँ छ । रकम नतिरेका निकायहरूले आगामी आर्थिक वर्ष २०७४/७५ देखि मासिक रूपमा विद्युत् रकम तिर्न सहमत भएकामा उक्त रकम मिनाह गरिने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

सिभिल बैंकले ल्यायो खुशीका योजना, नौ महिने मुद्दतीमा १२.७५ प्रतिशत ब्याज

काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वसाधारणलाई लाभान्वित गर्न “सिभिल बैंक खुशीका योजना” ल्याएको छ । जस अन्तर्गत नौ महिने मुद्दतीमा १२.७५ प्रतिशत वार्षिक ब्याजदर, ६ महिने मुद्दतीमा १२.२५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिने छ । साथै, बचत खातामा ८.२५ प्रतिशत सम्मको वार्षिक ब्याजदर र आश्वा सेवा निःशुल्क गरिने भएको छ ।

भारतीय भूतपूर्व सैनिकलाई एक अर्ब निवृत्तिभरण

तम्घास ९ गुल्मी, । जिल्लाका अवकाश प्राप्त भारतीय भूतपूर्व सैनिक एवम् निजामती कर्मचारीलाई रु एक अर्ब १५ करोड निवृत्तिभरण वितरण गरिएको छ । सदरमुकाम तम्घासमा भूतपूर्व भारतीय सैनिकका लागि गत वैशाख २८ गतेदेखि १३ दिनसम्म सञ्चालन गरिएको क्याम्पबाट सो रकम वितरण गरिएको हो । बर्सेनि छ÷छ महिनामा वितरण गरिँदै आएको उक्त निवृत्तिभरण लिनका लागि गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रुकुम, रोल्पा र डोल्पाबाट गरी सात हजार भन्दा बढी भूतपूर्व सैनिक आउने गरेका जिल्लास्थित भूतपूवर्ज सैनिक सङ्घले जनाएको छ । केही भूतपूवै सैनिकले एसबिआई बैंकबाट निवृत्तिभरण लिने गरेका छन् । भारत सरकारले १५ देखि ३३ वर्षसम्म सेवा पु¥याएका भूपू सैनिक र अवकाश प्राप्त निजामती कर्मचारीलाई विगत ६० वर्षदेखि तम्घासबाट निवृत्तिभरण वितरण गर्दै आएको छ । रासस

महिन्द्राको केयूभी१०० को वार्षिकोत्सवको अवसरमा फ्रि सर्भिस क्याम्पको आयोजना

काठमाडौं । महिन्द्रा गाडीको आधिकारीक विक्रेता अग्नि ग्रुपले केयूभी१००को पहिलो वार्षिक उत्सवको उपलक्ष्यमा जेठ ११ र १२ गते फ्रि सर्भिस क्याम्पको आयोजना गरेको छ । यस क्याम्पमा केयूभी१००गाडीलाई निशुल्क रुपमा जाँच तथा सर्भिस गरीनुका साथै लुब्रिकेन्टमा र स्पेयर पार्टसमा १५ प्रतिशत छुट दिन लागिएको जानकारी कम्पनीले गराएको छ । साथै, यो सुविधा युनिक आईडल अटोमोविल बालकुमारी र गुड अटोमोविल धुमबाराहीमा उपलब्ध छ । नेपालका युवाहरुलाई लक्षित गरी महिन्द्रा केयूभी१०० लाई लिभ योङ्ग, लिभफ्रि भन्ने नारा सहित गत वर्ष नेपालमा भित्राएको थियो । छोटो अवधिमा युवाहरुमाझ अत्याधिक लोकप्रिय हुनु र बजारमा राम्रो व्यपार गर्नुलाई कम्पनीले सकारात्मक संकेतको रुपमा लिएका छन् ।

देशमा लगानी गरेर भावी सन्ततिको लागि ढोका खोल्न उद्योग मन्त्रीको आग्रह

काठमाडौं । वासिङ्गटन डिसी । उद्योग मन्त्री नविन्द्रराज जोशीले देशमा आर्थिक समृद्धिको संभावनाको ढोका खुलेको भन्दै प्रवासमा रहेका नेपालीहरुले समेत देशमा लगानी गर्न अनुरोध गरेका छन् । जनसम्पर्क समिति अमेरिकाले बुधवार न्यूयोर्कमा आयोजना गरेको अन्र्तक्रियालाई सम्बोधन गर्दे मन्त्री जोशीले देशसँगको सम्बन्ध स्थापित गर्ने प्रयासमा हातेमालो गर्न प्रवासीहरुलाई अनुरोध गरे । पहिलो पुस्ताले मेहनत गरेर आर्जन गरेको सीप र पूँजी मातृभूमिमा परिचालन गरेमा दोश्रो पुस्ताका सन्ततिलाई पनि मातृभूमिसँग जोडने सेतुको रुपमा यसले काम गर्ने उनले बताए । मन्त्री जोशीले लगानी सम्मेलनको आयोजना गरेर सबै राजनीतिक दलको प्रतिवद्धतामा देशमा स्वदेशी पूँजीको परिचालन र वैदेशिक लगानीको मार्ग प्रशस्त गर्न सफल भएको बताए । जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका अध्यक्ष रोशन ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले राजनीतिक स्थायित्व पछि आर्थिक समृद्धमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

जेठ ३१ गतेको निर्वाचन गराउन आयोग प्रतिवद्ध : निर्वाचन आयोग

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताएका छन्। स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँगको आजको छलफल कार्यक्रममा उनले भने “कहीँकतै दुविधा र भ्रममा नपरी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ र स्वतन्त्ररुपमा गर्न व्यवस्थापनको लागि हामी अघि बढिरहेका छौ । स्थानीय तहको सङ्ख्या बढाएको आधिकारिक जानकारी प्राप्त भएको छैन, सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयबाट आएको अधुरो प्रतिवेदनको आधारमा निर्वाचन हुन नसक्ने बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने– “आयोगले ४६१ वटै स्थानीय तहमा केन्द्रित गरेर निर्वाचनको व्यवस्थापनलाई अघि बढाइरहेको छ ।” मुलुकका सबै स्थानीय तहमा एकै चरणमा निर्वाचनको तयारी गरिरहेको आयोगले राजनीतिक सहमतिको वातावरण बनोस् भनी जेठ ३१ गतेको निर्वाचनको लागि सहमति जनाएको प्रसङ्ग स्मरण गराउँदै उनले ४६१ स्थानीय तहको निर्वाचनको सामग्रीको व्यवस्थापन समेत भइसकेको बताए । स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा भएको थियो । सो निर्वाचनको सन्दर्भमा आयोगले सरकारका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतलाई अनुगमन र सुक्ष्म अनुगमन कर्ताको भूमिकामा विभिन्न जिल्लामा खटाएको थियो । रासस