विकासन्युज

पेट्रोलियम पदार्थ अापूर्ति व्यस्थापनमा विवाद, प्राथमिकता पाइपलाइन निर्माण कि भण्डारण क्षमता वृद्धि ?

काठमाडौं, ११ पुस । गत बर्ष भारतले ६ महिना भन्दा बढि समय नाका बन्दी लगाउँदा हायल कायल भएको नेपाल सरकारले अब ३ महिनाको माग थेग्ने गरि पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने घोषणा गरेको थियो । सोही घोषणा अनुसार सरकारले बजेट भाषणमै पनि इन्धन भण्डारण क्षमता बढाउने उल्लेख गर्यो । तर अझै पनि पेट्रोलियम पदार्थको भण्डार क्षमता बढाउने सम्बन्धि काम अघि बढ्न सकेको छैन् । बरु नेपाल आयल निगमले आगामी १५ बर्षसम्म इण्डियन आयल कर्पाेरेशन(आइओसी)सँग इन्धन किन्नै पर्ने बाध्यात्मक व्यवस्था समेटिएको रक्सौल–अमलेखगञ्ज पाइपलाईन विस्तारको काम अघि बढाउन तोडतोडले लागि परेको छ । ‘पाइपलाईन निर्माणको काम अघि बढाउन स्थानीय स्तरमा रहेका समस्या समाधान गर्न अहिले बिरगञ्जमा खटिएको छु’, नेपाल आयल निगमका प्रवक्ता समेत रहेको पाइपलाइन परियोजना प्रमुख भानुभक्त खनालले विकासन्युजसँग भने । तर आपुर्ति मन्त्रालयले भने पाइपलाइनलार्इ दोश्रो प्राथमिकतामा थाँती राखेर पहिलो प्राथमिकतामा भण्डारण क्षमता बढाउनुपर्ने बताउँदै आएको छ । आपूर्ति मन्त्री दीपक बोहराले भने–‘मुख्य कुरा भनेको भण्डारण क्षमता बढाउने हो । नाका बन्दीबाट पाठ सिकेर पहिलो प्राथमिकतामा ९० दिनका लागि पुग्ने इन्धन भण्डारण गर्नुपर्छ ।’ केहि दिन अघि आपूर्ति विभागको समिक्षा बैठकमा मन्त्री बोहराले पाइपलाइन विस्तारलाई दोश्रो प्राथमिकतामा राखेर भण्डारण क्षमता बढाउन अघि बढ्ने बताएका हुन् । तर निगमका प्रवक्ता खनालले भने पाइपलाइन र भण्डारण क्षमता बढाउने काम एकै पटक अघि बढाउने तयारी भैरहेको बताए ।‘हामी पाइपलाइनको निर्माण र भण्डारण क्षमता बढाउने काम एकै पटक अघि बढाउने योजनासहित अघि बढेका छौं’, निगम प्रवक्ता खनालले भने । कति छ इन्धन भण्डारण गर्ने क्षमता ? देशका १० वटा डिपोमा ५१३५ किलो लिटर पेट्रोल, ४१६१० किलोलिटर डिजेल, १६३१४ किलोलिटर मट्टितेल र ८४९९ किलोलिटर हवाई इन्धन भण्डारण गर्ने क्षमता रहेको छ । देशमा यी चारधरी इन्धनको कुल भण्डारण क्षमता ७१६२२ किलोलिटर मात्रै रहेको छ । सो क्षमताले अधिकतम एक हप्ताको माग समेत धान्न नसक्ने भन्दै सरकारले क्षमता वृद्धि गर्न लागेको हो । त्यसका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको मन्त्री बोहराले बताउँदै आएका छन् ।

लगानीलाई सुरक्षित गर्न सरकार क्रियाशिल छ- उद्योग मन्त्री नवीन्द्रराज जोशी

काठमाडौं, ११ पुस । उद्योग मन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रलाई कसरी प्रोत्साहीत गर्न सकिन्छ भन्नेमा सरकार क्रियाशिल रहेको बताएका छन् । नेपालमा लगानी गरिरहेका निजी क्षेत्रका उद्योगीहरु सँगको उद्योग मन्त्रालयमा आयोजित छलफलमा मन्त्री जोशीले लगानीकर्ताहरुको लगानीलाई सुरक्षित गर्न कानुनी रुपमा नै प्रत्याभूत गर्न सरकार क्रियाशिल रहेको बताए । यसका लागि सरकारले विषेश आर्थिक क्षेत्र सम्वन्धि ऐन र कार्य्विधि समेत पारित गरिसेकेको औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन पारित भै विनियमावली बन्ने चरणमा रहेको, खानी नियमावलीमा समसामयिक सुधार गरिएको, कम्पनी ऐन संसदमा छलफलमा रहेको, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन आगामी २ हप्ता भित्र मन्त्रिपरिषद्मा पेश गर्ने तयारी भईरहेको र वौद्धिक सम्पत्ति सम्वन्धी ऐन मस्यौदाको क्रममा रहेको उद्योग मन्त्री जोशीले बताए । उद्योग दर्ता प्रकृयालाई सहज बनाउन उद्योग विभाग र कम्पनी रजिष्टारको कार्यालयबाट हुने काममा सहजिकरण गर्न सरकारकै तर्फबाट सहयोगीको व्यवस्था गर्न लागिएको भन्दै मन्त्री जोशीले उद्योगको इन्ट्र, अपरेसन र एग्जीट सबैलाई सरल बनाउन लागिएको बताए । भैरहवा, सिमरा र पाँचखालमा विषेश आर्थिक क्षेत्रको स्थापना, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको संचालन तथा ७ वटै प्रदेशमा औद्योगिक क्षेत्रका स्थापना सरकारको प्राथमिकतामा रहेको मन्त्री जोशीले बताए । छलफल कार्यक्रममा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईरालाले निजी क्षेत्रको समस्या समाधानका लागि उद्योग मन्त्रालयले इमान्दार प्रयास सुरु गरिसकेको र यसको परिणाम छिट्टै देखिने बताए । त्यस्तै, अरु मन्त्रालयसँग गाँसिएका समस्या समाधानका लागि पनि उद्योग मन्त्रालयबाट निरन्तर प्रयासको थालनी गरिएको भन्दै सचिव कोईरालाले औद्योगिक व्यवसाय प्रवद्र्धन सम्बन्धि नयाँ नियमावलीले कतिपय समस्याहरुलाई सम्बोधन गर्ने बताए । छलफलमा उद्योगिहरुले समग्र औद्योगिक वातावरणमा सुधार नभए सम्म थप लगानी आउन नसक्ने भन्दै उद्योग मन्त्रालयको मात्र प्रयासले औद्योगिक वातावरण बन्न नसक्ने बताए । नेपालको अर्थतन्त्रको मोडेल कस्तो हुने भन्नेमा अन्यौलता रहेको भन्दै निजी क्षेत्रका प्रतिनिधिहरुले उद्योगका लागि जग्गा प्राप्ति पनि प्रमुख समस्याको रुपमा रहेको बताए । घरेलु तथा साना उद्योग स्थापनाका लागि न्यूनतम् पूँजी तोकिनु समस्याका रुपमा रहेको भन्दै उनीहरुले उद्योगका लागि बिजुली प्राप्ति पनि ठुलो समस्याको रुपमा रहेको बताए ।

सेञ्चुरी कमर्सियल बैंकलाई आश्वा प्रणालीमा सहभागी हुन धितोपत्र बोर्डको अनुमति

काठमाडौं, ११ पुस । नेपाल धितोपत्र बोर्डले सेञ्चुरी कमर्सियल बैंकलाई धितोपत्र दरखास्त संकलन कार्य (आश्वा) प्रणालीमा सहभागी हुन अनुमति दिएको छ । बोर्डका अनुसार अब बैंकले धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त बुझी लगानीकर्ताहरुको खातामा रकम होल्ड गरी दरखास्त लिनेछ । उक्त कार्य आगामी माघ १ गते देखी लागु हुने बोर्डले जनाएको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ को असोज मसान्तसम्म कुल निक्षेप ३१ अर्ब ६८ करोड रुपैयाँ र कर्जा रकम २७ अर्ब ६० करोड रुपैयाँ परिचालन गरेको छ । साथै, बैंकले सोही अवधिमा बैंकले सञ्चालन मुनाफा १२ करोड ३१ लाख रुपैयाँ र खुद मुनाफा ७ करोड ४३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

पत्रकार महासङ्घको कार्यालयमा तालाबन्दी

म्याग्दी, ११ पुस । नेपाल प्रेस युनियन म्याग्दीले सोमबार नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा तालाबन्दी गरेको छ । महासङ्घको सदस्यताका लागि गैरव्यावसायिक पत्रकारलाई सिफारिस गरेकाले तालाबन्दी गरेको प्रेस युनियनका जिल्ला सभापति गोपाल छन्त्यालले बताए । सरकारी कर्मचारी र राजनीतिक दलका कार्यकर्तालाई महासङ्घको साधारण सदस्यता प्रदान गर्नका लागि सिफारिस गरिएकामा युनियनको आपत्ति रहेको सभापति छन्त्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासङ्घको साधारण सदस्यताका लागि २७ जनाको आवेदन परेकामा आइतबार बसेको बैठकले १५ जनाको नाम सिफारिस गरेको थियो । योग्य भएकालाई बैठकमा छलफल गरी सदस्यताका लागि सिफारिस गरिएको शाखा अध्यक्ष सुरत केसीले बताए। रासस

५ अर्ब २५ करोडमा धमाधम बन्दैछन् ८५० वटा नयाँ पुल, २००० पुल सञ्चालनमा

काठमाडौं, ११ पुस । सरकारले सडक यातायातलाई सहज बनाउन यतिबेला ८५० वटा नयाँ पुलहरुको निर्माण धमाधम अघि बढाइरहेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागले हाल ५२५ अर्बको लगानीमा ती पुलहरुको निर्माण अघि बढाएको हो । चालु आर्थिक बर्षभित्रै ७५ वटा नयाँ पुल निर्माण सम्पन्न हुने अवस्थामा रहेको सडक विभाग पुल महाशाखाका प्रमुख तथा उप महानिर्देशक सरोज प्रधानले जानकारी दिए । हाल देशभर २ हजार पुल सञ्चालनमा रहेका छन् । आगामी चार बर्षभित्रै यी पुलहरुको निर्माण सम्पन्न भएपछि नेपालमा पुलहरुको संख्या करिब ३ हजार पुग्नेछ । विभागले चालु आर्थिक बर्षभित्रै थप २५० वटा पुलहरुको टेण्डर प्रक्रिया पुरा गरेर निर्माण आरम्भ गर्ने तयारी गरिरहेको छ ।‘स्थानिय र रणनीतिक महत्वका गरि थप २५० वटा पुलको टेण्डर निकालेर यहि बर्ष निर्माण थाल्ने तयारी भैरहेको छ’, सडक विभागका उप महानिर्देशक प्रधानले भने । निर्माणको चरणमा रहेको पुलहरुमध्ये १५० वटामा भने प्राबिधिक समस्या देखिएको छ । तीमध्ये पनि करिब एक दर्जन भन्दा बढि पुलमा नेपाली जनशक्ति र प्रबिधीले टुंगो लगाउनै नसक्ने समस्याह देखिएको उनले बताए ।‘झापाको मेची पुलमा निर्माण भैरहेको नेपाल–भारत मितेरी पुलमा देखिएको समस्या नेपाली प्राबिधिकले समाधान गर्न नसक्ने अवस्थामा पुगेको छ, त्यसका लागि विदेशी प्राबिधिक र प्रबिधी चाहिन्छ’, उनले भने । प्रधानका अनुुसार मेची पुलको पिलरका लागि गरिएको ड्रिल बांगिएर जमिन मुनी गएको छ, जसलाई सोझो पार्ने प्रबिधी नेपालसँग छैन् । नेपालले पछिल्लो १०/१५ बर्षदेखि मात्रै आफ्नै जनशक्ति र प्रबिधीले पुल निर्माण आरम्भ गरेकाले ठुला पुल बनाउन अझै समस्या नै रहेको पनि उनले बताए । दक्ष प्राबिधिकको अभाव, पर्याप्त बजेटको अभाव, गुाणस्तरिय निर्माण सामग्रीको अभावले पुलहरुको निर्माणमा सुस्तता देखिएको प्रधानले दावी गरे । सामान्यतया पुलको आयु निर्माण सम्पन्न भएको मितिले ५० बर्षसम्म मान्ने गरिएको छ । पुर्वपश्चिम राजमार्गको पथलैयादेखि बर्दिबास क्षेत्रसम्म पर्ने पुलहरु जिर्ण अवस्थामा पुगिसकेको प्रधानले बताए । पुलहरुको मर्मत तथा पुर्ननिर्माण झनै जटिल बिषय भएको पनि उनले बताए ।

नेप्से परिसूचक ४२ अंकले घट्दा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं, ११ पुस । सोमबार नेप्से परिसूचक ४२ दशमलब ८४ अंकले घटेर १४३२ दशमलब ५७ अंकमा झरेको छ । साताको पहिलो दिन कारोबार भएको बजारमा परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन ४८ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा जम्मा १३० कम्पनीको १५ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । सोमबार बजार दोहोरो अंकले घट्दा पनि दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.९७ र ९.८६ प्रतिशतले बढेको छ । सो दिन जनउत्थानको सेयर मूल्य प्रतिकित्ता १८०९ रुपैयाँ रहेको छ भने मेरो माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता ५३५ रुपैयाँ रहेको छ । सोमबार बजारमा चार कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । नागबेली लघुवित्त विकास बैंकको ९.९८ , कर्नाली डेभलपमेन्ट बैंकको ९.९५, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ९.९२ र प्रोगेसिभ फाइनान्सको ९.५७ प्रतिशतले घटेको छ । बजारमा कारोबार भएका सबैपरिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३११ अंकले ओरालो लागेको छ भने बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । एभरेष्ट बैंक र बैंक अफ काठमाण्डू लुम्बिनी कम्पनीको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नेको इन्स्योरेन्सको २ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

मर्कन्टायल प्लाजामा मोबाइल मेला शुरु, मोबाइल खरिदमा ५० प्रतिशत सम्म छुट

काठमाडौं, ११ पुस । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा क्रिशमस र नयाँ वर्षको अबसर पार्दै मोबाइल मेला शुरु भएको छ । नयाँ वर्षको अबसर पार्दै सिटिभी मोबाइल, द वल्र्डभिजन मोबाइल, लिंक इलेक्ट्रोनिक्स मोबाइल, सिटिभी केयर र एप्पल वल्र्ड मोबाइलले संयुक्त रुपमा मोबाइल मेला आयोजना गरेका हुन् । मोबाइल मेलामा मेला अबधीभर सबै ब्राण्डका मोबाइल सस्तोमा बिक्री वितरण तथा १ घण्टामा मोबाइल मर्मत गरिने मोबाइल मेलाका संयोजक तथा एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । मेलामा एप्पल वल्र्ड मोबाइल र सिटिभी केयरले संयुक्त रुपमा १ घण्टे मोबाइल केयर सेवा पनि संचालनमा ल्याएका छन् । यसैगरि मेला अवधिभरमा जस्तोसुकै मोबाइल पनि एक्सचेन्ज गरि अर्को मोबाइल लिन सकिने व्यवस्था गरिएको छ । १ हजार २ सय देखि १ लाख ३० हजार सम्मका नेपालमा उपलब्ध ब्राण्डका मोबाइल सेट पाइने यो मेलामा एशोसरिजमा ५० प्रतिशत सम्म छुट दिइने संयोजक ग्लाइडरले जानकारी दिए । वल्र्डभिजन मोबाइल प्रालिका प्रबन्ध निर्देशक संगम राइले क्रिशमसको दिनबाट सुरु भएको यो मेला १५ दिनसम्म रहने र अन्य बजारमा भन्दा सस्तोमा मोबाइल पाइने दाबीे गरेका छन् । यो मोबाइल मेलालाई एक दर्जन बढी मोबाइल कम्पनीहरुले साथ दिएका जानकारी गराइएको छ ।

ओभर ड्राइभ २०१७ अवार्ड्समा भिटारा ब्रेजा तीन उपाधीद्वारा सम्मानित

काठमाडौं, ११ पुस । पारिवारिक कार तथा कम्प्याक्ट एसयूभीका रुपमा अत्यधिक लोकप्रियता पाइरहेको सुजुकी भिटारा ब्रेजालाई सीएनबीसी–टीभी १८ ओभर ड्राइभ २०१७ अवार्ड्समा तीन भिन्न अवार्डद्वारा सम्मानित गरिएको छ । कार्यक्रम मार्फत भिटारा ब्रेजालाई कम्प्याकट एसयूभी अफ दि इयर, कार अफ दि इयर र भिवर्स च्वाइस कार अफ दि इयर उपाधीद्वारा सम्मानित गरिएको हो । आकर्षक स्पोर्टी डिजाइन सहितको यो कारले यात्रु तथा चालकलाई यात्राको समयमा निकै आरामदायी अनुभव प्रदान गर्छ । कारमा जडित इञ्जिन तथा गियरबक्सको उत्कृष्ट क्षमता र प्रदर्शनीका कारण उपभोक्ता माझ कार विशेष लोकप्रिय रहेको छ । ब्रेजामा कम्पनीले फोर सिलिण्डरको १ हजार २ सय ४८ सीसी क्षमता सहितको टर्बो चार्ज्ड डिजल म्याटेड फाइभ स्पिड म्यानुअल ट्रान्समिशन ईञ्जिन जडान गरिएको छ । कारमा जडित यो ईञ्जिनले ९० पीएसको अधिकतम शक्ति र २ सय एनएम अधिकतम टर्क उत्पन्न गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । कारमा प्रयोग गरिएको च्यासिसले यात्रु तथा चालकलाई गुणस्तरिय यूरोपियन सवारीको अनुभव प्रदान गर्छ । साथै, कारको नियन्त्रण प्रणाली समेत निकै सुरक्षित तथा आरामदायी छ । साथै, कम्पनीले कारमा आधुनिक स्मार्ट मार्फत नियन्त्रण गर्न मिल्न विभिन्न अत्याधुनिक फिचर्सपनि उपलब्ध गराएको छ ।