फिनल्यान्डमा ‘फोर जी’सेवामा नयाँ रेकर्डः १.९ जिबीपिएस स्पीडको डाउनलिंक
काठमाडौं, ८ भदौ । फिनल्यान्डको दूसञ्चार सेवाप्रदायक इलिसाले फोर जीमा नयाँ विश्व रेकर्डसहित डाउनलिंक स्पीड परीक्षण गरेको जनाएको छ। इलिसाले प्रेस विज्ञप्ती जारी गर्दै फोर जीको दुनियमा सबैभन्दा बढी गतिको इन्टरनेट उपलब्ध भएको दाबी गरेको छ। यो गति अर्को जेनेरेसनको प्रविधिको लागि पनि अवसर भएको र प्रविधिको दुनियामा नै नयाँ आविष्कार भएको उसले दाबी गरेको छ। अहिलेसम्म सैद्धान्तिक रुपमा फोर जीमा ४५० एमबिपिएसमात्र हुने मानिन्छ तर इलिसाले चिनिया दूरसञ्चार भेन्डरसँगको सहकार्यमा इलिसाले १.९ जिविपिएस गतिको डाउनलिंक गति परीक्षण भइसकेको प्रष्ट पारेको टेलिजियोग्राफी अनलाईले समाचार लेखेको छ।
भूकम्प पिडितलाई ट्याक्सी दर्ताको नम्बर गोलाप्रथावाट कात्तिकमा दिइने
काठमाडौं, ८ भदौ। भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउन दुई महिनापछि गोलाप्रथा हुने भएको छ । गत साउन २ देखि यही भदौ ५ गतेसम्म दर्ता भएका निवेदनको जाँच गरी तीनपुस्तेसहितको सूची प्रकाशनको प्रक्रिया पूरा गर्न दुई महिना लाग्ने भएकाले त्यसपछि मात्र गोलाप्रथाबाट छनोटको प्रक्रिया सुरु हुने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए। “सोचेभन्दा धेरै बढीले आवेदन दर्ता गराएकाले यसको जाँचका लागि पनि समय लाग्नेछ, जाँचपछि भूकम्पपीडित नभए तिनको आवेदन खारेज हुन्छ, पीडितले पनि एकभन्दा बढी निवेदन दर्ता गराए त्यो पनि खारेज गरिनेछ” – उनले भने। भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार साउन ५ गतेदेखि ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको हो । भूकम्पपीडितले दर्ता गर्न पाउने गरी विसं २०७२ जेठ २८ र सोही वर्षको चैत २१ को मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता खोलिएको मन्त्रालयले जनाएको छ । ट्याक्सी दर्ताका लागि साउन ५ देखि भदौ २ गतेसम्मको समय तोकिएको थियो । भदौ २ गते र त्यसपछि लगातार दुई दिन सार्वजनिक बिदा परेकाले आइतबार आवेदन दिने अन्तिम मिति थपिएको थियो । भूकम्पपीडित परिचयपत्र पाएकालाई अहिलेको भन्दा गुणस्तर र क्षमता कम नहुने गरी एक हजार ५०० ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउन विभागले आवेदन खुलाएको हो । भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरका भूकम्पपीडित परिचयपत्र पाएकाले आवेदन दर्ता गराएका हुन् । निवेदन दर्ताको अन्तिम मिति आइतबारसम्म एक लाख ४७ हजार १६९ ले आवेदन दर्ता गराएको यातायात व्यवस्था कार्यालय, साना÷ठूला सवारी, बाग्मतीका कार्यालय प्रमुख तिलक पौडेलले जानकारी दिए। आवेदनका लागि प्रत्येक आवेदकबाट १०० का दरले एक करोड ४७ लाख १६ हजार ९०० रुपैयाँ राजस्व उठेको कार्यालयले जनाएको छ । चौध वर्षपछि गत वर्ष विभागले एक हजार ८०० ट्याक्सी दर्ता नं गोलाप्रथाद्वारा छनोट गरी आवेदकलाई बाँडेको थियो । देशभरका नागरिकबाट आवेदन दर्ताका लागि सूचना प्रकाशित गरिएकामा आठ हजार ५०० ले मात्र आवेदन दिएको विभागले जनाएको छ । त्यसबेला आवेदन शुल्क एक हजार तोकिएको थियो । रासस
डेलले नेपालमा सेभेन जेनेरेसनका दुई मोडेलका ल्यापटप लन्च गर्यो
काठमाडौं, ८ भदौ। डेलले नेपालमा दुई मोडेलका नयाँ ल्यापटप सार्वजनिक गरेको छ। कम्पनीले इन्सपिरन ५००० सिरिजमा १३ र १५ इन्चका ल्यापटप सार्वजनिक गरेको हो। अन्तराष्ट्रिय बजारमा यी ल्यापटपको मूल्य तोकिएपनि नेपाली बजारमा आइपुग्दा कति मूल्य पर्ने हो भनेर यकिन गरिएको छैन। अहिलेसम्मको नयाँ टेक्नोलोजी प्रयोग गरेर निर्माण गरिएको यो ल्यापटपमा माइक्रोसफ्टको ‘विन्डोज-१०’ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ। कम्पनीले यी मोडेलका ल्यापटपहरु विशेष गरी नेपालका विद्यार्थीहरुलाई फोकस गरेर ल्याएको बताएको छ। त्यस्तै स्कुल, कलेज र परिवारका लागि पनि एउटा राम्रो र आकर्षक कम्प्युटिङका लागि भरपर्दो रहेको जनाएको छ। डेलको दक्षिण एसियामा व्यापार हेर्ने प्रमुख अमित मुखर्जीले विश्वका धेरै देशहरुमा डेलको व्यापार अग्रस्थानमा रहेको र नेपालमा पनि डेलले व्यापारमा प्रथम स्थान ओगटेको बताए। उनले डेलले संसारका इन्नोभेटिभ टेक्नोलोजी प्रयोग गरेर ग्राहकको मन जितेको बताए। ‘इन्सपिरन १३ – ५०००’ १३ इन्चको यो ल्यापटपमा सेभेन जेनेरेसनको ‘आई ७’ इन्टेल प्रोसेसर रहेको छ भने विन्डोजको लेटेस्ट भर्सन ‘विन्डोज १० प्रो’ रहेको छ। १६ जिवि डिडिआर फोर मेमोरी रहेको यो ल्यापटपमा २ टिबी स्टोरेज क्षमता रहेको छ। ट्रु लाईफ एलइडी व्याकलाइट टच डिस्प्ले भएको यो ल्यापटपमा वाइड एङ्गल एचडी डिस्प्ले रहेको छ। ‘इन्सपिरन १५ – ५०००’ इन्सपिरन सिरिजमा १५ इन्चको यो ल्यापटपमा पनि इन्टेलको लेटेस्ट सेभेन जेनेरेसनको ‘आई ७’ प्रोसेसर रहेको छ भने विन्डोजको लेटेस्ट ‘विन्डोज टेन प्रो’ अपरेटिङ सिस्टम रहेको छ। ८ र १६ जिबी डिडिआर ४ र्याममा उपलब्ध यो मोडेलको ल्यापटपमा अप्सनल रुपमा इन्फ्रारेड क्यामेरा रहेको छ। टच स्क्रिन भएको यो ल्यापटपमा पनि २ टिबी स्टोरेज क्षमता रेहेको छ भने इक्सटर्नल र इन्टरनल दुवै रुपमा ‘व्लु रे’ डिभिडी रिडर/राइटर राख्ने व्यवस्था रहेको छ। अबको दुइमहिनाभित्र वजारमा उपलव्ध गराउने योजनाका साथ कम्पनीले काम थालेको बताएको छ। एकबर्ष वारेन्टीका साथ उपलब्ध हुने यी ल्यापटपहरुमा इन्टरनेसनल वारेन्टी समेत उपलब्ध गराउने मुखर्जीले जानकारी दिए।
यामाहा मोटर्सद्वारा चार बर्षमा १० लाख स्कुटर उत्पादन
काठमाडौं, ८ भदौ। यामाहा मोटर इन्डियाले विगत चार बर्षमा आफ्नो उन्पादन प्लान्टवाट १० लाख थान स्कुटरको उत्पादन गरेको जनाएको छ। कम्पनीले भारतीय प्लान्टमा ४ बर्ष अघि पहिलो स्कुटर उत्पादन गरेको थियो । यामाहाले ग्रेटर नोएडाको सुरजपुर प्लान्टमा १० औं लाख स्कुटरको रुपमा अहिलेको नयाँ स्कुटर फेसिनोको उत्पादन गरेको जनाएको छ। कम्पनीले यस बर्ष भारतीय बजारमा १० प्रतिशत बजार हिस्साका साथ अगाडि बढ्ने जनाएको छ। सन् १०१२ मा यामाहाले सिग्नस रे मोडलको स्कुटरका साथ भारतीय बजारमा आएको थियो। १० लाख स्कुटरमध्ये करीव ८० हजार स्कुटर भारत बाहिर निर्यात भएको कम्पनीले बताएको छ । कम्पनीले मुख्य रुपमा नेपाल, मेक्सिको, श्रीलंका, कोस्टारिका, डोमिनिकन रिपब्लिक र इक्वेडोर जस्ता देशमा स्कुटर निर्यात गर्छ । सिग्नस रे विशेष रुपमा महिला वर्गको लागि उत्पादन गरिएको थियो । कम्पनीले हाल भारतमा सिग्नस रे, सिग्नस अल्फा, सिग्नस रे जेड आर र लेटेस्ट उत्पादन फेसिनो मोडलका स्कुटर उत्पादन गर्दे आएको छ। नेपालमा यामाहाका उत्पादनहरु मोरङ अटो वर्कस (एमएडब्ल्यु) इन्टरप्राइजेजले विक्रिवितरण गर्दै आएको छ।
ग्यासमा ठगि गर्ने श्रीकृष्ण र नारायणीसहित दर्जन उद्योग कारवाहीमा
काठमाडौं, ८ भदौ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागबाट खटिएको सरकारी अनुगमन टोलीले बुधबार श्रीकृष्ण ग्यास र नारायणी ग्यास उद्योग सहित करिब दर्जन व्यवसायी माथि कारवाही गरेको छ । तौलमा ठगि गरेको, गुणस्तरहित बस्तु बिक्री गरेको, मूल्य सूचि नराखेको लगायतका कैफियतमा सरकारले निम्न उद्योग तथा सेवाका कम्पनीहरुलाई कारवाही गरेको छ ।
ग्रील तथा स्टील ब्यवसायी महासंघले प्रधानमन्त्रीलाई बुझायो पाँच बुँदे माग पत्र
काठमाडौं, ८ भदौ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी पाँच बुँदे माग राखेको छ । महासंघका अध्यक्ष मोहन कटुवालको नेतृत्वमा गएको व्यवसायीहरुको टोलिले ग्रील तथा स्टील व्यवसाय दर्ता प्रकृया सहज बनाई कानुनी दायरामा ल्याउने र कानुनी दायरामा आउन नचाहने ब्यवसायीलाई कारवाहीको गर्ने ब्यवस्था गर्नु पर्ने, मेटल फेब्रिकेटीङ सम्बन्धि सम्पूर्ण कामहरु ग्रील तथा स्टील ब्यवसायीले मात्र गर्ने ब्यवस्था गर्नु पर्ने, दक्षजनशक्तिको अभाव कम गर्न दक्ष जनशक्ति उत्पादनमा विषेश प्राथमिकता दिनुपर्ने, लोडसडिङको तत्कालिन अल्पकालिन र दीर्घकालीन बिकल्प खोज्नु पर्ने र सरकारद्धारा जारी गरिएको ग्रीलजन्य तयारी सामाग्रीको उपभोक्ता मुल्य सुचिलाई कडाई साथ लागू गर्नु पर्ने माग गरेको हो । अध्यक्ष कटवालले महासंघले ५४ जिल्ला संगठन विस्तार गरिसकेका, यो क्षेत्रमा १ लाख ५० हजार मानिसले रोजगाी पाएको जानकारी दिदै निर्माण कार्यमा यो क्षेत्रको भूमिका बारेमा प्रधानमन्त्रीलाई जनाकारी दिएका छन् । महासंघले आंफनै खर्चमा बार्षिक ५००० दक्ष जनशक्ति उत्पादन गर्दे आईरहेको तर तालिम लिएपछि उनीहरु बिदेशिने गरेको कारण आफूहरु समस्यामा परेको बताए ।
चन्द्रागिरीमा दुई घण्टा चुम्बन (फोटो फिचर)
काठमाडौं, ८ भदौ । कलंकीदेखि थानकोट चेकपोष्टसम्म करिब चार किलोमिटर सडक पार गर्न एक घण्टा लाग्यो । गाडी गुडाउनै कठिन खाल्डाखुल्टी, त्यसमाथि ट्राफिक जाम, गर्मी, धुलो र धुवाँको मुस्लोले त्यो यात्रा यति कठिन भयो कि कथामा सुनिने नर्क नै यहि हो । थकित मोडमा चन्द्रागिरीको बेस स्टेशन पुगियो । लाग्यो नर्कबाट भागेर स्वर्गमा आईपुगियो । जहाँ धुलो, धुँवा र कोलाहल छैन । सफा पीच रोड । व्यवस्थित पार्किङ । ढकमक्क फूल फूलेको बगँैचा सहितको चन्द्रगिरी बेस स्टेशन । चन्द्रागिरी हिलस्टेशनका तर्फबाट राजु पौडेलले स्वागत गरे । धुलाम्मे अनुहारबाट खिस्स दाँत देखाउँदै पहिला रेष्टरुम जाने अनुमति माग्यौं । चन्द्रागिरीको नरम पानीले अनुहारको धुलो पखाल्यौं, टाउको र गर्धनको धुलो पुछ्यौं । हामीलाई बेस स्टेशनको रेष्टुरेण्टमा लगेर बसाउँदै राजु पौडेलले अफर गरे–लञ्चको व्यवस्था माथि छ, यहाँँ चिया लिऊँ कि कफि ? ब्ल्याक टी पिउँदै कुरोकन्थो शुरु भयो । हामीले भन्यौं–‘यहाँसम्म आउन धेरै गाह्रो भयो । बाटो खत्तम रहेछ । यहाँ आईसकेपछि राहत मिल्यो ।’ उनले भने–‘यहाँ आएपछि मलाई कविता लेख्न मनपर्छ । चन्द्र सर (कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाल) त्यहाँ उभिएर काठमाडौंको नियाल्दै बाटोबाट यता आउँदै गरेका सबै मानिसहरु चन्द्रागिरी जान आएका होलान् भन्ने ठान्नुहुन्छ ।’ चन्द्रागिरी केवुलकार सर्बसाधारणलाई खुला गर्दै अनौपचारिक रुपमा सेवा सञ्चालन गरेको साउन २५ गते करिब १० हजार जनाले केबलकार निःशुल्क चडेको सुनाउँदै दैनिक १० हजार मानिसलाई चन्द्रागिरी यात्रा गराउने कम्पनीको लक्ष्य रहेको उनले बताए । हामीले केबुलकारको यात्रा शुरु गर्यौं । समुन्द्री सतहबाट १४०० मिटर उचाईमा रहेको चन्द्रागिरी बेस स्टेशनबाट २५५१ मिटरको उचाईमा रहेको टप स्टेशन पुग्न साढे दुई किलोमिटर पार गर्नुपर्छ । उक्त दुरी पार गर्न ९ देखि १४ मिनेट लाग्ने रहेछ । तिब्र गतिमा हुँदा चाँडो र विस्तारै चल्दा ढिलो पुगिने । हामी चढेको केबुलकार विस्तारै चल्यो । घना बस्तीबाट माथि उठेको केबुलकार जंगल हुँदै कुहिरोभित्र छिर्यो । ‘यात्रा’ शब्दले अर्थ एउटै हुन्छ । तर यात्राको अनुभव विलकुलै फरक । कलंकीदेखि चेकपोष्ट सम्मको अत्यास लाग्दो यात्रा र केबुलकारमा जंगल माथि उडेर कुहिरो भित्र छिर्दाको यात्राको अनुभव नितान्त फरक । सडकको यात्रामा धुलो, धुवाँ, गर्मी, ध्वानीको कोलाहल र त्यसमा पनि जाम । केबुलकारको यात्रा, शान्त, शितल, निरन्तर एउटै गतिमा । चरा उडेको देख्दा रमाउनेहरु सपनामा आफै उडेको सपना देखेजस्तो । यहाँ सपना होइन, ३८ वटा गुण्डोलाहरु (केबलकार) निरन्तर सयौं यात्रुहरुलाई विपनामा उडाई रहेका छन् । अटोमेटिक चल्ने गुण्डोलाले यात्रुलाई जमिनबाट बादलमा र बादलबाट जमिनमा पुर्याउने काम गरिरह्यो । चन्द्रागिरी कुहिरोले ढपक्क डाकेको थियो । दिउँसो १ बजेको मौसम पनि बिहानी ६ बजेतिरको जस्तो । बिहानी पनि भदौको होइन, माघमा तुषारो पर्न लागेको अवस्थामा जस्तो । हामी जुत्ता खोलेर मन्दिर जान लाग्यौं । हामीअघि एक तिर्थालु मन्दिर जाँदै थिए । मन्दिर परिसरमा बसेका फूलपाती व्यवसायीले फूल र पूजाको सामान किन्न आग्रह गरे । ‘हामीले त खाईसक्यौं, के पुजा गर्नु ?’ अघाएका तिर्थालुले भने । ‘यहाँ त दिउँसो पनि बिहानी जस्तै हुन्छ, भर्खरै घाम लाग्ने बेला जस्तो । जतिखेर पनि पूजा गर्न सकिन्छ’ फूलपाती व्यवसायीले आफ्नो कला देखाए । तस्वीरमा भालेश्वर देवता हुन् जहाँ परम्परादेखि पुजा गरिँदै आएको छ । यी देवता अहिले पनि यथावत छन् । चन्द्रागिरी हिलले सो स्थानमा प्यागोडा शैलीमा परम्परालाई टपक्क टिपेर नयाँ शिव मन्दिर बनाएको छ । नयाँ मन्दिर, नयाँ पुजारी तर प्रस्तुति पुरै परम्परागत । झल्को लाग्छ, यो मन्दिर गणतन्त्र आएपछि बनेको होइन, मल्लकाल तिर नै बनेको हुनुपर्छ । हामीले चन्द्रगिरी लेकमा प्रकृतिसँग करिब दुई घण्टा चुम्बन गर्यौं । घरी बादलसँग चुम्बन गर्यौ, घरी घामसँग । तर एउटा सपना मिस गर्ने चिन्ता थियो । पृथ्वीनारायण शाहले जसरी पहिलो पटक सोही स्थानबाट काठमाडौं उपत्यका हेरेर लोभिएका थिए, त्यसरी हामीले काठमाडौं हेर्ने मौका नमिल्ला जस्तो लाग्यो । चन्द्रगिरीबाट हिमाल देखिने, पहाड र तराई देख्न नपाईने हो कि भन्न चिन्ता थियो । अब चिन्ता हट्यो । कहीँ कहीँ बादलको घुम्टो खुल्यो । निलो आकाशसँगै काठकाडौंको घना बस्ती देखिन थाल्यो । आशा लाग्यो, अब हिमाल, पहाड र तराई पनि देख्न पाईन्छ । फोटोका क्रेजीहरुमा नयाँ उत्साह देखियो । अँह, पाईएन । फेरी कुहिरो मडारिएर आयो । तन्नेरीहरु लखर्रलखर्र केबुलकार तिर झर्न थाले । बन्दै गरेको भ्यूटावर, चिल्ड्रेन पार्क, थ्री डी हल लगायत थप पूर्वाधार नियाल्दै फर्कने क्रममा भेट्टिइन–कम्पनीको सेल्स एण्ड मार्केटिङ प्रमुख इन्दिरा पौडेल । उनका अनुसार सफ्ट लञ्च गरेपछि चन्द्रागिरी केबलकारले व्यवसायिक लञ्चको तिथिमिति तय भएको छैन । सरकारसँग ३६ हेक्टर जमिन ४० वर्षको लागि लिजमा लिएर करिव ५ हेक्टरमा जमिनमा केबुलकार, मन्दिर, रेष्टुरेन्ट, होटल, मनोरञ्जन पार्क, थ्रिडी हल, भ्यू टावर निर्माण गरिँदै छ । बेस स्टेशनको १२० रोपनी जमिन कम्पनीले आफैं खरिद गरेको छ । कम्पनीले २०६६ सालमा नेपाल सरकारसँग लिज सम्झौतामा हस्ताक्षर गरेको थियो भने पछिल्लो दुई वर्षदेखि निर्माण कार्य गरिरहेको छ । सबै पूर्वाधार निर्माण हुन अझै धेरै समय लाग्ने देखिन्छ । कम्पनीले हालसम्म साढे तीन अर्ब लगानी गरिसकेको छ भने अझै केहि लगानी थप्ने कम्पनीकी सेल्स एण्ड मार्केटिङ प्रमुख इन्दिरा पौडेलले बताइन् । कम्पनीमा आइएमई ग्रुप, भाटभटेनी ग्रुप, नवराज नेपाल, उत्तम नेपाल, उमा केसीलगायतको लगानी रहेको छ । कति पर्छ केबल कार चढेको ? केबलकार चढ्नका आम नेपालीले सात सय रुपैंयाँको टिकट काट्नु पर्छ । त्यसमा थानकोट, मकवानपुरको फाखेल र चित्लाङका बासिन्दालाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क मुलुकका पर्यटकहरुका लागि ७ सय भारतीय रुपैंयाँ शुल्क तोकिएको छ भने अन्य मुलुकका पर्यटकले २२ अमेरिकी डलर तिर्नु पर्छ । तीन फिट भन्दा कम उचाई भएका बालबालिकाका लागि निःशुल्क व्यवस्था गरिएको छ भने तीन देखि चार फिट उचाईकाहरुले ४० प्रतिशत छुट प्राप्त गर्नेछन् । जेष्ठ नागरिकले पनि २५ प्रतिशत छुट पाउँछन भने फरक क्षमता भएकाहरुका लागि ४० प्रतिशत सहुलियतको व्यवस्था गरिएको पौडेलले जानकारी दिईन् ।
प्रधानमन्त्रीलाई हस्तकला महासंघको बधाई, निर्यात प्रवद्र्धनमा सघाउन आग्रह
काठमाडौं, ८ भदौ । नेपाल हस्तकला महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएको छ । बुधबार महासंघ अध्यक्ष धर्मराज शाक्य नेतृत्वको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललार्ई बधाई दिएको हो । भेटमा महासंघका अध्यक्ष शाक्यले हस्तकला क्षेत्रको विकास विस्तार र प्रबद्र्धन गर्न सकेको खण्डमा नेपाली अर्थतन्त्रले भोग्दै आएको व्यापार घाटा कम गर्न सकिने बताएका थिए । उनले हस्तकलाको निर्यात प्रवद्र्धनमा सघाउन प्रधानमन्त्री दाहालसँग आग्रह समेत गरेका थिए । नेपाली हस्तकला क्षेत्रको आन्तरिक बजारका साथै अन्तराष्ट्रिय बजारमा भएको निकासी समेत गरी २० अर्ब बराबरको कारोबार रहेको उल्लेख गर्दै उनले व्यापार घाटा कम गर्न पनि हस्तकला उद्योगको प्रवद्र्धन आवश्यक रहेकोमा जोड दिएका थिए । साथै नेपाली हस्तकला क्षेत्रले ११ लाख भन्दा बढि ब्यक्तिलाई प्रत्यक्ष र परोक्ष रुपमा रोजगारीको अवसर प्रदान गर्दै आएको महासंघले बताएको छ । प्रधानमन्त्रीलाई भेट्न महासंघका अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष लगायत महानिर्देशक लगायतको टोली बालुवाटार पुगेको थियो । प्रधानमन्त्री दाहालले पनि हस्तकला उद्योगको प्रवद्र्धन तथा निर्यातमा सघाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।