विकासन्युज

हकप्रद सेयरमा रिडी हाइड्रोपावरको जालझेल, साढे ७३ हजार कित्ता बोलकबोलमा बेचिँदै

काठमाडौं, १९ भदौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार १ गतदेखि साउन ४ गतेसम्म १० बराबर ३ दशमलब ५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्यो । एक महिनाका लागि आवेदन अबधी तोकेको रिडीले जम्मा दुई वटा मात्रै आवेदन संकलन केन्द्र तोकेको थियो । ती दुबै आवेदन केन्द्र काठमाडौंमै थिए । ग्लोबल आईएमइ क्यापिटल नाचघर र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी टे«ड टावर थापाथलीमा मात्रै आवेदन दिन सकिने कम्पनीको आव्हान पत्रमा उल्लेख थियो । लगानी कर्तालाई पर्याप्त सूचना र आवेदन संकलन केन्द्र नदिएर कम्पनीले हाल ७३ हजार ६ सय ६१ कित्ता शेयर बोलकबोलका लागि आव्हान गरेको छ । कम्पनीले संस्थापकतर्फको १४ हजार २ सय ७८ कित्ता र सर्वसाधारणतर्फको ५९ हजार ३८३ कित्ता सेयर बोलकबोलमा बिक्रि गर्न लागेको हो । शेयर खरिद गर्न चाहनेले शिलवन्दी बोलपत्रमा न्युनतम १ सय कित्तादेखि अधिकतम ७३ हजार कित्ता नै आवेदन दिन सक्नेछन् । रिडीको अहिले शेयर मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ रहेको छ । रिडीको नेपाल स्टक एक्सचेन्जमा ४७ लाख २२ हजार तीन सय कित्ता शेयर सूचिकृत छ । रिडी कम्पनीले गुल्मीमा २४०० वाट क्षमताको रिडीखोला हाइड्रोपावर निर्माण गरेको छ । तर कम्पनीले आयोजना प्रभावितका लागि वितरण गरिएको सेयर वापत प्राप्त हुने हकप्रदका लागि समेत सो क्षेत्रमा संकलन केन्द्र राखेन् । ‘आयोजना प्रभावित गुल्मीका लगानी कर्ताले हकप्रदमा कसरी आवेदन दिने ? हजारौं खर्च गरेर काठमाडौं आउनु पर्ने अवस्था सृजना किन गरियो ? यसबाटै प्रष्ट हुन्छ कम्पनीले लगानी कर्तामाथी अन्याय गरेको छ’, लगानी कर्ता ज्योति दाहालले भने । उनले हकप्रद निष्काशनका लागि १० प्रतिशत लगानी कर्ता रहेको जिल्लामा एउटा संकलन केन्द्र अनिवार्य गर्नुपर्ने समेत बताए ।   सेयर बजारका विश्लेषक रविन्द्र भट्टराईले पनि रिडी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशनका क्रममा लगानी कर्तामाथी अन्याय गरेको आरोप लगाए । उनले कम्पनीको वेभसाइटबाट फारम डाउनलोड गरेर हकप्रद भर्न सकिने व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए । ‘सरकारले अनलाईनबाट टेण्डरको फारम भर्न सकिने कानुनी व्यवस्था गरिसकेको छ, अब हकप्रदमा पनि अनलाइनबाटै आवेदन दिने व्यवस्था गरिनु पर्छ’, भट्टराईले भने । भट्टराई र दाहाल दुबैले नेपाल धितोपत्र बोर्डको गैरजिम्मेवारीका कारण हकप्रद सेयरमा लगानी कर्तामाथी अन्याय भैरहको आरोप समेत लगाए ।

सुन्धारामा सस्तो तर ब्राण्डेड फेसन बजार खुल्दै

काठमाडौं, १९ भदौ । ब्राण्डेड फेसन सामानहरु बिक्री÷वितरण गर्ने सस्तो बजार खुल्ने भएको छ । सुन्धारास्थित धरहराको पछाडि थाहा टोलमा दुई रोपनी जग्गामा ‘सस्तो फेसन बजार’ खोल्न लागिएको हो । असोज पहिलो सातासम्ममा अर्थात् दशैंअघि फेसन बजार सञ्चालनमा ल्याउने बजारका सञ्चालक सुरेश लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार ग्राहकलाई एउटै छानामुनी सस्तो मुल्यमा फेसनका सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलोपटक फेसन सस्तो बजारको अवधारणा ल्याइएको हो । ‘अहिलेसम्म नेपालमा यस्ता किसिमका बजारहरु खुलेका छैनन्,’ सञ्चालक लामिछानेले भने– ‘सुन्धारातिर एउटा सानो सटरको ३०÷४० हजार रुपैयाँ पर्छ, तर हामीले मिडियम साइजको सटर १२ देखि १६ हजार रुपैयाँमै उपलब्ध गराउँछौं ।’ ‘धेरै बेच्ने, सस्तोमा बेच्ने र ब्राण्डेड सामानमात्रै बेच्ने’ आफूहरुको उद्देश्य रहेको उनले बताए । बाहिरको मुल्यभन्दा आइटम हेरी ३० देखि ४० प्रतिसतसम्ममा ब्राण्डेड सामान बिक्री÷वितरण गर्ने लामिछानेले दाबी गरे । ‘हामीले गुणस्तरीय नेपाली उत्पादनको प्रवद्र्धन गर्न खोजेको हौं,’ उनले भने । लामिछानेको अनुसार बजार निर्माणका लागि ५ करोड रुपैयाँको खर्च भएको छ । बजारको भौतिक निर्माण कार्य सकिएको छ, केहीदिनभित्रै सटरहरु भाडामा लगाइने छ । बजारमा ४० वटा सटर रहने छन्, जहाँ एक सटरमा एउटामात्रै आइटम राख्न पाइने छ । बजारमा स्वदेशी तथा विदेशी ब्राण्डेड सामानहरु पनि उपलब्ध हुनेछन् । बजारभित्र चस्मा, जुत्ता, लेहेंगा, साडी, फेन्सी, अन्डर गार्मेन्टका पसल रहनेछन् भने एउटा स्तरीय शैलुन रहने लामिछानेले बताए । दुई तलाको यो भनव सुरुका तला आरसीसी ढलान र माथिल्लो तला प्रिफाइव भएकाले पूर्णरुपमा भूकम्प प्रतिरोधी छ । सटर पाँच वर्षका लागि भाडामा लगाइने र पाँच वर्षपछि नविकरण गरिने छ ।

आरम्भ माइक्रोफाइनान्सले शतप्रतिशत पूँजी बढाउने

काठमाडौं, १९ भदौ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको बिशेष साधारणले शतप्रतिशत पूँजी बढाउने निर्णय गरेको छ । बैंकको भदौ १८ गते सम्पन्न बिशेष साधारण सभाले हाल कायम रहेको एक करोड २ लाख चुक्ता पुँजीलाई बढाएर २ करोड ४ लाख पुर्याउने निर्णय गरेको हो । कम्पनीले जारी पूंजी पनि २ करोडलाई वृद्धि गरी ४ करोड पुरयाउने निर्णय पनि गरेको हो । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ८ स्थित केन्द्रीय कार्यालय रहेको कम्पनीले विभिन्न १० वटा पहाडी जिल्लाहरुमा १३ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ । संस्थाले हाल कार्यक्षेत्र रहेकै जिल्लाहरुमा आगामि तिन महिना भित्र कम्तिमा दुई वटा शाखाहरु थप गरि शाखा संख्या १५ पुरयाउने लक्ष्य लिएको छ । यसका अतिरिक्त संस्थाले थप ५ पहाडी जिल्लाहरुमा समेत आफनो कार्यक्षेत्र विस्तार गरि लघुवित्तीय सेवा उपलव्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ ।

लक्ष्मी लघुवित्तको ११ लाख कित्ता हकप्रद सेयर आउँदै, भदौ २६ गते बुक क्लोज

काठमाडौं, १९ भदौ । लक्ष्मी लघुवित्तले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । यस लघुवित्तको सेयर बुक क्लोज भदौं २६ गते हुने कम्पनीले जनाएको छ । ११ करोड चुक्ता पुँजी भएको यस लघुवित्तले ११ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ । यस कम्पनीको सेयर ३५ सय ५० को हाराहारीमा किनबेच भईराखेको छ । यस लघुवित्तको प्रवद्र्धक लक्ष्मी बैंक हो ।

म्याग्दीमा एक अर्ब रेमिट्यान्स भित्रियो

म्याग्दी, १९ भदौ । म्याग्दीेका बैंक तथा वित्तीय संस्थाका शाखाले एक वर्षको अवधिमा एक अर्बभन्दा बढी विप्रेषण ९रेमिट्यान्स० भुक्तानी गरेका छन् । विसं २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा ती शाखाले एक अर्ब सात करोड ६५ लाख ५० हजार रेमिट्यान्स भुक्तानी गरेका नेपाल राष्ट्र बैङ्कको पोखरा क्षेत्रीय कार्यालयले जनाएको छ । कार्यालयका सहनिर्देशक रितुनाथ लम्सालले म्याग्दीका १४ बैंक तथा वित्तीय संस्थाका २० वटा शाखाबाट सो मात्रामा रेमिट्यान्स भुक्तानी भएको जानकारी दिए । बेनी, दरवाङ, बाबियाचौर र भुरुङ तातोपानीमा रहेका बैंकका शाखाबाहेक विभिन्न कम्पनीका एजेन्टमार्फत भएको भुक्तानी जोड्दा अझ बढी रेमिट्यान्स जिल्लामा भित्रिएको छ । पछिल्लो समय युवायुवती रोजगारी र अध्ययनका लागि विदेशीएसँगै रेमिट्यान्स पनि भित्रन थालेको प्रभू बैंक बेनी शाखाका प्रबन्धक निरज पन्तले बताए । रेमिट्यान्सको धरै हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ । रासस

सिन्धु विकास बैंकद्धारा १७ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, १९ भदौ । सिन्धु विकास बैंकले १७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको १५७ औं बैठकले लगानी कर्तालाई १६ दशमलब ८ प्रतिशत बोनस सेयर र शुन्य दशमलब ८८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि लगानी कर्ताले सो मात्रामा लाभांश प्राप्त गर्नेछन् ।

उद्योग र होटलमा एक हजार करोड रुपैयाँ लगानी भईसक्यो-शशिकान्त अग्रवाल

शशिकान्त अग्रवाल नेपालको एक चर्चित उद्यमी हुनुहुन्छ । धागो उत्पादन गर्ने रिलाइन्स कम्पनी, एभरेष्ट सुगर मिल्स, हिमालय सुगर मिल्स, भगवती स्टील्स लगायत ठूला उद्योग सञ्चालन गरिरहेको औद्योगिक समूहले पछिल्लो समयमा होटल क्षेत्रमा ठूलो लगानी गर्दैछ । साथै शशिकान्त अग्रवाललाई सेयर बजारको ठूलो लगानीकर्ताको रुपमा मानिसहरुले नाम लिन थालेका छन् । देशविकाससँगको कुराकानीमा उहाँले अहिलेसम्म उद्योग तथा सेवाको क्षेत्रमा १ हजार करोड लगानी गरिसकेको बताउनु भयो । के छन् उहाँको नयाँ योजनाहरु ? कुन कुन हुन् लगानीको सुरक्षित क्षेत्र ? प्रस्तुत छ उहाँसँग गरिएको विकास वहस । शशिकान्त अग्रवाल, अध्यक्ष, एमएस ग्रुप तपाईकोे व्यवसायिक यात्रा कस्तो भईराखेको छ ? म विजनेशमा आएको ४० वर्ष भयो । हाम्रो कपडा पसल थियो । स्कूलबाट कलेज सुरु गर्दादेखि नै व्यापारमा लागेको हुँ । मेरो हजुरबुवाले भारतबाट कपडा ल्याएर बेच्नुहुन्थ्यो । बुवाले तेश्रो मुलुकबाट कपडा ल्याउन थाल्नु भयो । हामी पुरानो कपडा व्यापारी हौं । पछि कपडाको व्यापार बन्द गरियो र मैले टेक्सटाईलको व्यापार सुरु गरेँ धोवीघाटमा । शहरी विकासका कारण समस्या भएपछि टेक्सटाईल कम्पनी बन्द गरियो । त्यसपछि धागो बनाउने काम सुरु गरियो । अहिले बिराटनगरमा रिलायन्स कम्पनी छ । एउटै छानामुनी ३७ सय मजदुर काम गर्छन् । यस उद्योगको कुल उत्पादनको ३० प्रतिशत नेपालमै खपत हुन्छ । २० प्रतिशत टर्कीमा निर्यात हुन्छ । ५० प्रतिशत अरु देशमा निर्यात गर्छौ । बिरगञ्जमा भगवती स्टील्स छ । महोत्तरी र सिराहामा दुई वटा चिनी उद्योग छन् । एभरेष्ट सुगर र हिमालयन सुगर मिल्स छन् । हिमालयन सुगरले भर्खर उत्पादन सुरु गरेको हो । यस उद्योगमा नेपालमै पहिलो पटक सल्फर फ्री सुगर बनाउँदैछौं । चुना र सल्फर नलाग्ने चिनी हो त्यो । कोका कोला, पेप्सी, डाबर नेपाल र औषधीमा प्रयोग हुनेगरि त्यस्तो चिनी उत्पादन गर्न लागेका हौं । होटल तथा रेष्टुरेन्टको कफीमा त्यस्तो चिनी प्रयोग गरिन्छ । तपाई चिनी उत्पादक संघको अध्यक्ष पनि हुनुहुन्छ, पछिल्लो समय चिनीको भाउ किन बढेको हो ? नेपालमा १० वर्षदेखि मूल्य नबढेको एउटै मात्र खाद्यान्न हो चिनी । १० वर्षअघि प्रतिकिलो ७० रुपैंयाँ थियो होला आज जम्मा ८० रुपैंयाँ मात्रै पुगेको छ । धान, चामल, दालको मूल्य १० वर्षमा तीन गुणाले बढ्यो होला तर चीनीको मूल्य बढेको छैन । पछिल्लो समय केहि मूल्य बढेको देखिन्छ यो विश्व बजारकै कारण हो । तेल, लगायतका कच्चा पदार्थको मूल्य पनि वृद्धि भयो । त्यसकारण चिनीको मूल्य केहि बढेको हो । नेपालमा प्रति वर्ष प्रति व्यक्ति चिनीको खपत १२ किलोग्राम छ । चिनीको मुल्य १५ रुपैंयाँ वृद्धि भयो भने बार्षिक १८० रुपैंयाँ मात्रै व्ययभार थपिन्छ । त्यसकारण यो त्यति ठूलो कुरा होइन । चिनीको मूल्यमा सामान्य हेरफेर हुँदा उपभोक्तालाई खासै असर गर्दैन । तर चिनीको मूल्य बढ्दा विरोधका आवाज धेरै उठेको सुनिन्छ, यस्तो किन भयो ? चामल र दालमा मूल्य वृद्धि हुँदा कोही बोल्दैनन् । तर चिनीको मूल्य बढ्दा हामीलाई गाली गर्छन् । १० वर्षमा अरु समानको मूल्य कति बढ्यो होला ? कामदारको तलब कति बढ्यो ? मेसिनको मूल्य बढेको बढ्यै छ । तैपनि चिनीको मूल्य खासै बढाएका छैनौं । धान उत्पादक किसान संगठित छैनन् । तर उखु उत्पादक किसान संगठित भएका छन् । चिनीको उत्पादनमा दुई लाख किसान छन् र ती सबै जागरुक छन् । अहिलेको संसदमा ४० जना त उखु किसान नै छन् । यस्तो पृष्ठभूमिका कारण पनि चिनीको मूल्यमा राजनीति हुने गरेको छ । उखुको मूल्यमा पनि राजनीतिक रंग देखिन्छ । केही वर्षअघि तपाईले होटल क्षेत्रमा नयाँ लगानीको घोषणा गर्नु भएको थियो, ती योजनाहरु अहिले कुन अवस्थामा छन् ? ठमेलमा १५० कोठा भएको डाउन टाउन होटल निर्माण हुँदैछ । ठमेलमा बन्ने यो होटल तिहारबाट सञ्चालनमा आउँछ । संसारमा ६ हजार होटल रहेको मेरियट होटलको चेनमा त्यो होटल सुरु हुन्छ । अहिलेसम्म ठमेलमा अन्तराष्ट्रिय होटलको चेन नै छैन । यो होटल ठमेलमा खुल्ने वित्तिकै ठमेलमा पर्यटकका लागि नयाँ आयाम थपिन्छ । ठमेलको परिचय नै बदलिन्छ । ठमेलको मेरियट सञ्चालन गरेको १५ महिनापछि नक्सालमा १३० कोठाको अर्काे मेरियट होटल सञ्चालन गर्छाै । यो चाँही फाइब स्टार हुनेछ । रेष्टुरेण्ट, स्पा, क्यासिनो र विभिन्न प्रकारका अन्य सुबिधा आउनेछन् । भक्तपुरमा पनि एउटा रिसोर्ट खोल्ने योजना बनिरहेको छ । त्यसको लागि ६० रोपनी जग्गा लिईसकेका छौं । रिसोर्टको डिजाइन भैरहेको छ । हामीले जुन स्तरको रिसोर्ट बनाउँने योजना बनाएका छौ त्यो स्तरको रिसोर्ट काठमाडौंमा बनेकै छैन । त्यो रिसोर्टमा एउटा कोठाको एक रात बसेको सय देखि ४ सय डलर लाग्छ । यो रिसोर्ट हामी करिव १ वर्षपछि बनाउन थाल्नेछौं । यी होटलहरुमा गरिएको लगानी तपाई एक्लैको हो वा साझेदारीमा हो ? होटलहरुमा हाम्रो एकल लगानी हो । विभिन्न बैंकहरुले फाइनान्स गरेका छन् । ठमेलको होटलमा नेपाल इन्भेष्टमेन्ट बैंक र विश्व बैंकले फाइनान्स गरेका छन् । नक्सालका लागि प्रभु बैंक, सिटिजन्स बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले फाइनान्स गरेका छन् । होटलहरुमा लगानी कति गर्नुभयो ? होटलहरुको लगानीमा ८० प्रतिशत ऋण र २० प्रतिशत हाम्रो क्यास हुन्छ । ठ्याक्कै यति लगानी गरिएको छ भन्न सकिन्न । ठमेलमा एक अर्बको लगानी हो भने नक्सालमा ३ अर्बको लगानी हो । पर्यटन क्षेत्रमा यति ठूलो लगानी गर्दै हुनुहुन्छ, यस क्षेत्र भविष्य कस्तो देख्नु भएको छ ? नेपालका लागि २/३ अर्बको लगानी खासै ठूलो होइन । अर्थतन्त्र निकै अघि बढिसकेको छ । त्यसकारण यो मध्यमस्तरको लगानीको हो । नेपालको पर्यटन उद्योगप्रति म त निकै आशावादी छु । नेपालमा पर्यटकलाई आकर्षित गर्ने जति पनि चिजहरु छन् तिनको प्रचारप्रसार नै भएको छैन । लाजमर्दाे कुरा बर्षमा जम्मा सात/आठ लाख पर्यटक आईरहेका छन् । नेपालमा संसारका सबैखाले पर्यटनको सम्भावना छ । र्याफ्टिङ, ट्रेकिङ, जंगल सफारी, हेरिटेज, सस्कृति, हिमाल लगायतका सबै खाले पर्यटनको सम्भावना छ । मेरो विचारमा नेपालको पर्यटन क्षेत्रलाई ६/८ आठ गुणा बढाउन सकिने सम्भवना रहेको छ । त्यसका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्छ । पछिल्लो समय सेयर बजारमा तपाईलाई ठूलो लगानीकर्ता भन्छन्, कति छ लगानी ? तपाईले जस्तै अरु केही मान्छेले यो प्रश्न गरे । उद्योग उद्योग व्यवसायमा लागेको मान्छे म कहाँ सेयर बजारमा लगानी गर्छु र ? सेयर बजारको लगानी मलाई सुहाउँदैन । औद्योगिक क्षेत्रमा सफल भएको मान्छे सेयर बजारको खेलाडीको रुपमा परिचित हुन चाहान्न । त्यसले राम्रो ब्राण्ड इमेज चाँही दिँदैन । म केही कम्पनीको संस्थापक लगानीकर्ता छु । तर मैले पब्लिक सेयरको कारोबार गर्दिन । बर्षभरीमा दुई चार करोडको साधारण सेयर पनि किन्दिन । मलाई सेयर बजारबारे केहि पनि थाहै छैन । प्रमोटर सेयरमा पनि सधै र सबै अवस्थामा लगानी गर्दिन । त्यसमा पनि प्रमोटर सेयर किन्न ६ महिना लाग्छ । प्रक्रिया नै लामो छ । नेपालका सबै जसो औद्योगिक घराना व्यापारमा केन्द्रीत भएको देखिन्छ, यसतर्फ तपाईको योजना के छ ? अहिलेसम्म हामी व्यापारको कुनै पनि क्षेत्रमा हात हालेको छैन । सर्भिस सेक्टरमा होटलमा लगानी गर्न लागेका हौं । सनराइज हाउजिङ पनि हाम्रै हो । बैंक र इन्स्योरेन्समा केहीमा प्रमोटर बनेका छौं । ग्राण्डमा केही लगानी थियो अहिले प्रभुमा मर्ज भएको छ । शिखर इस्योरेन्सको पनि हामी संस्थापक लगानी कर्ता हौं । होटल तथा रिपोर्टहरु नयाँ योजना हुन् । अहिलेसम्म एमएस ग्रुपको लगानी कति छ ? सबैमा गरेर एक हजार करोडको लगानी गरेको छु । केही नयाँ योजना बन्दैछन् । पुराना उद्योगको अपग्रेडेसनको काम पनि भईराखेको छ । व्यवसाय विस्तारसँगै लगानी बढ्दै जान्छ । कुनै योजना सोचेभन्दा ढिला काम भईराखेको हुन्छ ।

नेपाल बंगलादेश बैंकले ३३ प्रतिशत लाभांश दिने

काठमाडौं, १९ भदौ । नेपाल बंगलादेश बैंकले ३३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले लगानी कर्तालाई ३२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक दशमलब ६८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि बैंकले सो मात्रामा लाभांश वितरण गर्नेछ । गत आर्थिक वर्षमा एक अर्ब बढी नाफा कमाएको थियो । २०७२ असार मसान्तसम्ममा ८१ करोड ३९ लाख नाफा कमाएको बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब १९ करोड नाफा कमाउन सफल भएको थियो ।