विकासन्युज

हेलो सरकारमा चार हजार उजुरी फछ्र्योट हुन बाँकी

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हेलो सरकारमा सर्वसाधारणका करिब चार हजार गुनासो अझै फछ्र्योट हुन बाँकी रहेको छ । विसं २०६८ कात्तिकबाट सर्वसाधारणको गुनासोलाई सम्बन्धित मातहतका कार्यालयलाई पुर्याएर समस्या समाधान गर्ने भनेर सञ्चालनमा आएको हेलो सरकारले अझै चार हजार गुनासोलाई नगरेको हो । हेलो सरकारका प्रमुख प्रद्युन्नप्रसाद पौडेलले गुनासो फछ्र्योट भइरहेको भन्दै अझै चार हजार गुनासो फछ्र्योट हुन बाँकी रहेको जानकारी गराए । उनका अनुसार ४९ हजार ५५८ मध्ये अहिलेसम्म चार हजार ५४९ गुनासा फछ्र्योट भएको छ । ‘‘कतिपय नीतिसँग जोडिएका गुनासो आउने गर्दछन्’’उनले भने–‘‘त्यसैले त्यस्ता गुनासो फछ्र्योट गर्न समय लाग्ने गर्दछन् ।’’ उनका अनुसार सबैभन्दा बढी गृह मन्त्रालयसँग जोडिएका धेरे गुनासो आउने गर्दछन् । दैनिक करिब ६० गुनासोमध्ये २० वटा जति गृहसँग जोडिएका गुनासा आउने गरेका छन् । अहिले ट्राफिक नियम मिचेको, अव्यवस्थित पार्किङ गर्ने गरेको, सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु बसाएको गुनासो बढी आउने गरेको उपसचिव समेत रहेका पौडेलले जानकारी गराए । यसैगरी हेलो सरकारमा ट्वीटरमा बढी गुनासा आउन थालेका छन् । २०७२ साल पुसदेखि ट्वीटर सञ्चालन गरेको हेलो सरकारमा दैनिक बढी गुनासो ट्वीटरमा आउने थालेको उनले बताए । उनका अनुसार ट्वीटरमा दैनिक करिब ४० को हाराहारीमा गुनासो आइरहेका छन् । फोनमा भने करिब १५ गुनासो आउने गरेका छन् । हेलो सरकारले पाँचै विकास क्षेत्रमा क्षेत्रीय कार्यालय समेत खोलेको छ । रासस

‘नेपाल अफ्रिका फिल्म फेस्टिवल– २०१६’ शुरु

काठमाडौँ, २२ भदौ । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा बुधबारदेखि पाँचौं ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०१६’ शुरु भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन (सीजेएमसी) को आयोजनामा भएको उक्त महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सवले नेपाल र अफ्रिका महादेशबीचको सम्बन्ध र मित्रता बढाउन सेतुको काम गर्ने बताए । उपराष्ट्रपति पुनले महोत्सवलाई नेपाल र नेपालीले अफ्रिकाको कला, संस्कृति, जीवनशैलीबारे जान्ने अवसरका रुपमा लिएको बताउँदै “सूचना र प्रविधिक कारण अफ्रिकन जीवनशैलीबारे चलचित्रमार्फत् हामीले हेर्ने र बुझ्ने मौका पायौँ” भने । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अफ्रिकन मुलुक कङ्गोका नेता ‘प्याट्रिस लुमुम्बा’ ले स्वतन्त्रताका लागि आफ्नो ज्यानको बलिदान दिएको घटनास्मरण गर्दै नेपाल र अफ्रिकन मुलुकसँग कुटनीतिक सम्बन्ध कायम गर्नेतर्फ पहल गर्ने बताए। सीजेएमसीका प्रमुख डा मञ्जु मिश्रले सांस्कृतिक विविधताले सम्पन्न अफ्रिकन मुलुक र नेपालबीच साँस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले उक्त महोत्सवको आयोजना गरेको जानकारी दिए । उनले आफ्नो पत्रकारिता अध्यापन हुने सीजेएमसीलाई विश्वविद्यालय बनाउन सरकारका तर्फबाट सहयोगको अपेक्षा गरेका छन् । भदौ २४ सम्म चल्ने उक्त महोत्सवमा ७ अफ्रिकन र एक नेपाली चलचित्रको प्रदर्शनी गरिनेछ । रासस  

सर्वोत्कृष्ट कर्मचारी शान्तराज सुवेदीको हुलाक अधिकृतदेखि दोस्रो पटक अर्थ सचिवसम्मको यात्रा

काठमाडौ, २२ भदौ । यस वर्ष शान्तराज सुवेदीको जीवनमा तीन महत्वपूर्ण उपलब्धी हासिल भए । पहिलो, उनले अर्थशास्त्रमा विद्यावारिधी गरे । दोस्रो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थमन्त्रालयमा पुनः सरुवा भए । र, तेस्रो यस वर्षको सर्वोत्कृष्ट कर्मचारी घोषित भए । प्रशासन समुहबाट सचिव बनेका सुवेदीलाई यसअघि पनि अर्थसचिव बनाइएको थियो । पूर्वअर्थमन्त्री शंकर कोइरालाको कार्यकालयमा अर्थसचिव बनाइएका सुबेदी त्यसपछि अर्थमन्त्रालयको नेतृत्व गर्न आइपुगेका डा. रामशरण महतको कार्यकालमा त्यहाँबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरियो । प्रधानमन्त्री कार्यालयमा रहदा पनि उनले संघीयतामा सरकारका कर्मचारी ब्यवस्थापन कसरी गर्ने भन्ने रणनीति बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । प्रधानमन्त्री कार्यालयबाट उनलाई अख्तियार सरुवा गरिएको थियो । सरकार परिवर्तन भएर अर्थमन्त्रालयको नेतृत्व कृष्णवहादुर महराले सम्हालेपछि उनी पनि अर्थमन्त्रालय सरुवा भएका छन् । अर्थ आएको केही दिन मात्रै हुदा उनी मुख्य सचिव डा. सोमलाल सुवेदी नेतृत्वको समितिले देशभरका उच्च पदस्थ कर्मचारी मध्यमा सर्वोत्कृष्ट ठहर गर्दै २ लाख रुपैयाँ राशीको पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ । बुधवार प्रधानमन्त्री पुस्पकमल दाहालले सुवेदीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरे । सुवेदीले सन् १९९२ देखि हुलाक कार्यालयमा अधिकृत स्तरबाट निजामति सेवा सुरु गरेका हुन् । पछि उनी सेवा समूह परिवर्तन गरे पछि सन् २००२ मा अर्थमन्त्रालय अन्तरगतको मूल्य अभिबृद्धि कर कार्यालयमा उपसचिव भएका थिए । सन् २००३ मा सहसचिबमा बढुवा भएपछि सामान्य प्रशासन मन्त्रालयमा कार्यरत थिए । यस्तै सन् २०१२ देखि अर्थमन्त्रालयको सचिब बनेका थिए । अर्थमन्त्रालयबाट सरुवा भएर उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका बरिष्ठ सविचको जिम्मेवारीमा रहेका थिए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा भएका सचिव सुबेदीले अख्तियारमा रहदा उत्कृष्ट काम गरेवापत यस वर्षको सर्वोत्कृष्ट कर्मचारी बनेका हुन् । उनी केही दिन अगाडि मात्रै अख्तियारबाट पुन अर्थमन्त्रालयमा सरुवा भएका छन् । सचिब बन्नु अघि विभिन्न मन्त्रालयको प्रशासन समूहमा काम गरेका सुवेदी विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि बहन गरिसकेका ब्यक्ति हुन् । उनले सर्वोत्कृष्ट कर्मचारी पुरस्कारको रकम भूकम्प पीडितलाई दिने घोषणा गरिसकेका छन् ।

दशैँअघि नै दरौँदीबाट बिजुली उत्पादन, करिब एक अर्ब बढीको लगानी

गोरखा, २२ भदौ । गोरखाको मुच्चोकमा निर्माणाधीन दरौँदी ‘ए’ जलविद्युत् आयोजनाले आउँदो दशैँअघिदेखि नै बिजुली उत्पादन गर्ने जनाएको छ । कूल ६ दशमलब २ मेगावाट क्षमताको यस आयोजनाको मुच्चोकस्थित दरौँंदी नदीमा चार मिटरको बाँध बाँधी चार किलोमिटर फलामे टनेलमार्फत पानी चनौटेमा विद्युत गृह निर्माण गरिसकिएको छ । विद्युत गृहदेखि गोरखा बजारको नेपाल विद्युत् प्राधिकरणस्थित सव–स्टेसनसम्म १८ किलोमिटर प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाका जनसम्पर्क अधिकृत विष्णु पन्तले जानकारी दिए । चनौटेदेखि भालुस्वाँरासम्म दरौँंदी बगरमा ल्याइएको प्रशारण लाइन नारेश्वर हुँदै सदरमुकामको हरमटारीस्थित सव–स्टेसनमा ल्याइएको छ । अहिले ताप्लेस्थित शिखरमा प्रशारण लाइनका क्षेत्रका अवरोधक रुख कटानको काम भइरहेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली सव–स्टेसनसम्म पुर्याउन प्राविधिक तयारी गरिसकिएको छ । आयोजनाले परीक्षण उत्पादन छिट्टै गर्ने तयारी गरेको पन्तको भनाइ छ । ‘यो साता हामी परीक्षण उत्पादन गर्छौ । उत्पादन भएको बिजुली प्रसारण लाइनमार्फत् सव–स्टेसनमा पठाउँछौँं’ पन्तले भने । गत असार महिनादेखि नै आयोजनाबाट बिजुली उत्पादन हुने बताइए पनि भूकम्प तथा नाकाबन्दीले गर्दा काममा ढिलाइ भएको थियो । ‘बिजलुी उत्पादन तथा प्रसारण गर्न सम्पूर्ण तयारी पूरा भइसक्यो । दशैं अघि नै बिजुली उत्पादन हुन्छ’ पन्तले भने । आयोजनाबाट उत्पादन भएको बिजुली सव–स्टेसनमा जडान गरेपछि गोरखामा रहँदै आएको दिनहुँ दुई घन्टा विद्युत् भार कटौती अन्त्य हुने बताइएको छ । दरौँंदी ‘ए’ जलविद्युत् रु एक अर्बको लगानीमा निर्माण हुने तयारीका साथ निर्माण सुरु गरे पनि पूर्वनिर्धारित योजनाअनुसार काम नहुँदा लागत बढेको बताइएको छ । कति लागत बढ्यो भन्नेबारे आयोजनाले अन्तिम तथ्याङ्क निकाल्न बाँकी रहेको छ । रासस

बुधबार सेयर बजारमा ९ अंकको गिरावट, एक अर्ब ६५ करोड रुपैयाँको कारोबार

काठमाडौं, २२ भदौ । बुधबार बजार खुलेको आधा घण्टामा नै परिसूचक घटेर १८१९ अंकमा पुगेको थियो । त्यसपछि बजारमा केहि सुधार देखिएको हो । बजार बन्द हुँदा भने परिसूचक ९ दशमलब ९७ अंकले घटेर १८२४ अंकमा पुगेको छ । सो दिन १४५ कम्पनीको २९ लाख ३१ हजार ९३४ कित्ता सेयर १ अर्ब ६५ करोड २१ लाख रुपैयाँमा किनबेच भएको छ । सो दिन बीमा, होटल र अन्य समूहको परिसूचक बाहेक अरु बाकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बैंकिङ् समूहको परिसूचक २० अंकले ओरालो लागेको छ भने बाकी समूहको सूचक सामान्य अंकले ओरालो लागेका छन् । बीमा, होटल र अन्य समूहको परिसूचक क्रमशः ९४, २ र ०.५८ अंकले उकालो लागेका छन् । बुधबार नबिल बैंकको १३ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनीको ११ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । त्यस्तै, नबिल बैंक लि. प्रमोटर सेयर, नेपाल बङ्गलादेश बैंक, प्रभु इन्स्योरेन्स, एभरेष्ट बैंक र सनराइज बैंकको ७ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. प्रमोटरका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।

पर्यटकको बसाइँ लम्ब्याउन पर्यटक पथ प्रदर्शक तालिम शुरु

पोखरा, २२ भदौ । पोखरामा पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले पोखरा पर्यटन परिषद्ले बुधबारदेखि १० दिने पर्यटक पथ प्रदर्शक तालिम शुरु गरेको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवम् अन्तर्राष्ट्रिय श्रम सङ्गठन जापानको सहयोगमा सञ्चालित सो तालिममा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) ले प्राविधिक सहयोग उपलब्ध गराएको छ । पोखरा आउने पर्यटकको बसाइँ लम्ब्याउन सहयोग पु¥याउन र औपचारिक रुपमा पर्यटक पथ प्रदर्शकलाई व्यवस्थित गर्न तालिम आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताए । पर्यटक पथ प्रदर्शक तालिमका लागि धेरै युवा आकर्षित भए पनि पहिलो चरणमा जम्मा ४१ जना युवालाई सहभागी गराउन सकिएको जानकारी दिँदै उनले तालिमका अन्य आकांक्षीका लागि चाँडै नै अर्को तालिम आयोजना गर्ने सोच राखिएको जानकारी दिए। तालिमउद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा क्षेत्रीय कार्यालयका प्रमुख उदय भट्टराई, नाथमका यातायात एवम् अनुसन्धान विभाग प्रमुख कृष्ण खरेल, परिषद्का पूर्व अध्यक्षद्वय डम्बरबहादुर केसी र टीकाराम सापकोटा, उपाध्यक्ष चिरञ्जीवी पोखरेल, महासचिव रामु गौतम लगायतले पर्यटक पथ प्रदर्शकले निर्वाह गर्ने भूमिकाले चर्चा गर्दै ती पथप्रदर्शकले पर्यटकको बसाइँ लम्ब्याउन वा छोट्याउन सक्ने बताए । रासस

यूनिक फाइनान्सको १६ प्रतिशत बोनस दिने निर्णय राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं, २२ भदौ । यूनिक फाइनान्स लिमिटेडको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । साथै, फाइनान्सले प्रस्ताव गरेको कर प्रयोजनको लागि २० लाख ९ हजार ३४७ रुपैयाँ ३७ पैसा नगद लाभांश वितरण गर्न राष्ट्र बैंकले स्वीकृति दिएको छ । फाइनान्सको सो प्रस्ताव कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिने छ ।

पुल निर्माण नहुँदा जलविद्युत्मा गरिएको २२ अर्बको लगानी प्रभावित

बेसीशहर, २२ भदौ । पूर्वी लमजुङको दोर्दीखोलामा निर्माणाधिन नौथर–सेरा जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण विगत– ५ वर्षदेखि अलपत्र छ । दोर्दी करिडोरका एक दर्जन गाविस जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको सो पुलको काम ठेकेदारले समयमै अघि नबढाउँदा स्थानीय वासिन्दाले सास्ती खेप्नुपरेको छ । एउटै ठेकेदारले धेरै काममा ठेक्का पार्ने अनि काम सुरु गरेर वर्षौसम्म अलपत्र छाड्दा समस्या भएको हो । ठेकेदार पाएजति सबै ठेक्का आफैं लिने र कामदारको अभाव देखाएर वर्षौँसम्म काम अपलपत्र पार्ने प्रक्रियाको अन्त्य हुनुपर्ने माग सांसद लालबहादुर तमुको छ । ६ वर्षअघि रु पाँच करोडको लागतमा निर्माण सुरु गरिएको पुल यतिबेला अलपत्र छ । छ वर्षको अवधिमा पुलमा तीनवटा पिलर बन्नुबाहेक अन्य कुनै पनि काम भएको छैन । विसं।२०७० असार मसान्तसम्ममा पुल निर्माण गरिसक्न थप म्याद दिइएको थियो तर २०६८ देखि २०७० सम्म ठेकेदार कम्पनी सपना जयबाबा जेभीले एक÷एक वर्षको फरकमा एउटा एउटा खाडल खन्दै पिलर राख्दै आएपनि विगत दुई वर्षदेखि पुल बनाउने कार्यमा सिन्को पनि नभाँचेको स्थानीय राजनीतिक दलका प्रतिनिधिको भनाइ छ । काँग्रेस सभापति भेषबहादुर पौडेल भन्छन्– “ हामीले चारवर्ष अघि नै पुलः निर्माणका लागि भन्दै खाडल खनेको देखेका थियौँ तर अहिलेसम्म खाडल खन्ने र पुर्ने बाहेक पुलःनिर्माणको काम अघि बढेको पाइएन । त्यस्ता ठेकेदारलाई तत्काल कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाउनुपर्छ । ” ठेकेदार कम्पनीले बारम्बारको चेतावनीलाई समेत बेवास्ता गरेपछि ठेक्का प्रक्रियानै रद्द गरेर नयाँ प्रक्रियामा जाने तयारी भएको जिल्ला विकास समितिले बताएको छ । दोर्दी करिडोरमा मात्र जलविद्युत् क्षेत्रमा निजी क्षेत्रबाट रु २२ अर्ब भन्दा बढी लगानी भएको तर पुलःनिर्माणले गति नलिँदा वर्षायाममा सबै जलविद्युत् आयोजनाको काम रोक्नुपर्ने बाध्यता छ । स्थानीय विकास अधिकारी शेखर पौड्यालका अनुसार जिल्लाको दोर्दी करिडोरमा मात्र जलविद्युत् आयोजनका लागि रु २२ अर्ब लगानी भइसकेको छ तर नदीमा पुलःनिर्माण नहुँदा वर्षायाममा काम रोक्नुपर्ने बाध्यता छ । पुल निर्माण छिटो गर्न बारम्बार ताकेता गरे पनि ठेकेदारले कानमा तेल हालेर बसेको छ । सडक डिभिजन कार्यालयले पनि ठेकेदारलाई बारम्बार ताकेता गरिएको तर उसले कुनै सुनुवाई नगरेकाले ठेक्का प्रक्रिया खारेजी गरेर नयाँ बोलपत्र आह्वानको तयारी रहेको जनाएको छ । सो पुलःनिर्माण नहुँदा पूर्वी लमजुङका दर्जन भन्दा बढी गाविस सडक सञ्जालसँग जोडिन सकेका छैनन् । रासस