विकासन्युज

त्रिभेणी विकास बैंकले १९ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २३ भदौ । त्रिभेणी विकास बैंकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको हो । बैंकको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ८२ करोड रुपैयाँ रहेको छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर ५२३ रुपैँयामा कारोबार भइरहेको छ ।

बाफिया बिवाद टुंग्याउन लागे अर्थमन्त्रालय र अर्थसमिति, अर्काे सातासम्ममा अन्तिम रुप दिइने

काठमाडौं, २३ भदौ । बैंक तथा वित्तीय संस्था सम्बन्धी विवादित ऐनलाई अन्तिम रुप दिएर पुन संसदमा पेश गर्ने तयारी भएको छ । यसको लागि अर्थमन्त्रालयले आन्तरिक छलफल गरिसकेको छ भने अर्थसमितिले आगामी सातासम्ममा दफावार छलफल गरेर अन्तिम रुप दिने तयारी गरेको छ । विहिवारको अर्थसमिति बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बाफियाको बारेमा मन्त्रालयमा आन्तरिक छलफल भइसकेको जानकारी दिए । ‘हामीले आन्तरिक छलफल गरिसकेका छौं, अहिले अधिकतम सहमति खोजिन्छ, कोही असहमत भयो भने पनि संसोधन गर्दै गरौंला, तर ऐन चाढो ल्याउनु पर्ने भयो,’ समिति बैठकमा महराले भने । समिति सभापति प्रकाश ज्वालाले आगामी सातासम्ममा समितिमा दफावार छलफल गरेर ऐन ब्यवस्थापिका संसदमा पेश गरिसक्ने जानकारी दिए । ‘बाफिया समितिमा बसेको निकै लामो समय भइसक्यो, अब ढिला गर्नु हुन्न, अर्काे सातासम्ममा दफावार छलफल गरौं र विधयेक पुन संसदमा पठायौं, यसको लागि अर्थमन्त्री र अर्थसचिवले समय दिनु पर्यो,’ सभापति ज्वालाले भने । बाफिया एक पटक समितिले आवश्यक छलफल गरेर संसदमा पेश गरेको थियो । तर बाफियाको मस्यौदामा बैंकका संचालकको कार्यकाल जस्ता केही विषयमा ब्यापक विवाद भएपछि सरकारले विधयेक फिर्ता लिएको थियो । सरकारले फिर्ता लिएको सो विधयेक पुन छलफलको लागि अर्थसमितिमै पठाइएको थियो । यसविचमा सरकार परिवर्तनको कारण छलफल गर्न नसकिएको सभापति ज्वालाले जानकारी दिए । ‘विधयेक फिर्ता भएपछि हामीले एक पटक छलफल गर्यौं, तर पुरानो सरकार जाने र नयाँ आइनसकेको अवस्थामा छलफल प्रभावकारी ढंगले अगाडि बढाउन सकिएन,’ ढिलाइ हुनुको कारण बारे सभापति ज्वालाले प्रकाश पारे । अर्थमन्त्री नहुदा बाफियावारे छलफल अगाडि बढ्न नसकेको उनको भनाइ छ ।

१० करोडमा भव्य महल बनाउँदै पर्वतारोहण संघ, पर्वतीय पर्यटन सेवा एउटै भवनबाट

काठमाडौं २३, भदौ । नेपाल पर्वतारोहण संघ (एनएमए)ले भव्य व्यापारिक महल बनाउने भएको छ । नेपलको पर्वतीय पर्यटन र विकासको निम्ति स्थापना भएको यो संस्थाले नक्सालमा ६ तले भव्य महल बनाउने भएको छ । १० करोड रुपैयाँ लगातको यस्तो भवनमा अन्डरग्राउण्ड पार्किङदेखि विभिन्न व्यापारिक व्यपारिक पसलसमेत हुने संघले जानकारी दिएको छ । संघले आगामी दुई वर्षभित्र निर्माण सक्ने यो महल पर्वतीय पर्यटनको विकास र विस्तारमा सहयोगी बनउन पनि आवश्यक रहेको उल्लेख छ एनएमए नेपालको एकमाअन्त्र अन्तर्राष्ट्रि अल्पाइनर्स क्लवलको सदस्य संस्था हो । यो संस्थाले पर्वतीय पर्यटनमा केन्द्रित तालिम तथा पर्वतीय पर्यटनको विसकासको लागि चार दशकदेखि काम गर्दे आएको छ । संस्थाले भवन निर्माण गर्न विस्तृत योजना पनि तयार पारिसेकेको भवनाका डिजाइनर मनिष कायस्थले बताए । पर्वतीय पर्यटनलाई केद्रिकृत गर्ने सबै काम गर्न संघकै भवनामा कार्यालय राख्ने तयारी भएको संघले जानकारी दिएको छ ।अहिले पनि संघको ककनीमा अन्तर्राष्ट्रिय वाल क्लाइम्बिङ, ग्राउण्ड ग्रास स्की, आरोही स्मृति पार्कसहितका गतिविधि हुने गरेको छ । पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय संग्राहालय रहेको छ । केन्द्रमा हुने यो भवन भने सबै क्षेत्रका पर्वतीय पर्यटनको विकास र सहजीकरण गर्ने काममा प्रयो हुने छ । कार्यालयमा सबै पर्वतीय पर्यटनको काम र गतिविधि तथा कार्यलय रहने उल्लेख छ ।

नबिल इन्भेष्टमेन्टको अर्को इकाइ असोज २ गतेबाट,  कम्तिमा १०० वटा किन्नुपर्ने

काठमाडौं २३, भदौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको म्युचअल फन्ड अन्तर्गत इक्विटी फन्डले लगानीका लागि प्रस्ताव आव्हान गरेको छ । आगामी असोज २ गतेबाट जारी हुने लगानीका लागि कम्पनीले १० रुपैयाँ दरका १० करोड इकाइहरु जारी गर्ने भएको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको इकाइहरु निस्कासन गर्न आगामी असोज २ गतेदेखि छिटोमा ६ गते र ढिलोमा १६ गतेसम्मको समय तोकेको छ । कम्पनीले जारी गर्ने कुल इकाइमध्ये ८ करोड ५० लाख रुपैयाँ बराबरको इकाइमा मात्र सर्वसाधारणले आवेदन दिन पाउँछन् । सर्वसाधारणले कम्तिमा एक सयदेखि बढीमा एक करोड इकाइसम्म खरिदका निम्ति आवेदन दिन सक्नेछन्। नबिल बैंक लिमिटेडको कोष प्रबर्धक कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने नबिल इक्वीटी फन्डको लागि आवेदन माग गर्ने भएको छ ।

वृद्धभत्ता र सुन धरौटी राखेर सडक निर्माण, बाटो खन्न स्थानियले २६ लाख जुटाए

काठमाडौं २३, भदौ, । वैतडीका स्थानियले बृद्धभत्ता र सुन धरौटी राखेर सडक खन्न थालेका छन् । मणिदत्त बडूले बृद्ध भत्तावापत पाएको आठ हजार रुपैयाँ सडक खन्नका लागि दिए । सँगै एकल महिला भत्ता थापेकी तारादेवी बडूले पनि आफूले पाएको आठ हजार रुपैयाँ देहोमान्डु दुर्गास्थानदेखी सलनासम्मको ग्रामिण सडक निर्माण उपभोक्ता समितिलाई बुझाइन् । दलित भत्ता बुझेका नरुवा कामीले भने दुई हजार थपेर १० हजार रुपैयाँ सुम्पिए । एकपछि अर्कौ गर्दै दुर्गास्थान र देहीमान्डु गाविसका विभिन्न वडाका झन्डै बीसजनाले बृद्धभत्ता घरमै नपुर्‍याई सडकका लागि बुझाए ।असिमकेदार मन्दिरका पुजारी लक्ष्मीदात्त पाण्डेले आफूसँग भएको दुई तोला सुन धरौटी राखेर समितिलाई रकम दिए । भारतीय सेनाको जिम्दारबाट सेवानिबृत्त भएका तारादत्त बडुले पनि पेन्सनिबाट आएको रकममा थपेर ३५ हजार रुपैयाँ दिएको समाचार विहिबारको अन्नपूर्ण पोष्टमाा छापिएको छ । समितिका सचिव कृष्णदत्त बडूका अनुसार वर्षैदेखि गाउँघरसम्म बाटो आउने र गाडी गुडोस् भन्ने सपना देखेका बैतडी दुर्गास्थानका बासिन्दाले एकपछि अर्कौ गर्दै २६ लाख रुपैयाँ संकलन गरेका छन् ।

विद्यार्थीभन्दा प्राध्यापक धेरै, इतिहास विभागमा एक विद्यार्थी १२ प्राध्यापक

काठमाडौं २३, भदौ । त्रिभुवन विश्व विद्यालय (त्रिवि)का केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै रहेका छन् । फाइल तस्बिर त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ। तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै भएको समाचार विहिबारको नयाँ पत्रिकामा छापिएको छ। मानविकी संकायअन्तर्गत भूगोल केन्द्रीय विभागमा यस वर्ष प्रथम सेमेस्टरमा विद्यार्थी भर्ना भएनन्। इतिहास केन्द्रीय विभागमा भने एक विद्यार्थी भर्ना भएका छन् । प्राध्यापक भने १२ छन् । त्रिवि भूगोल केन्द्रीय विभाग प्रमुख नरेन्द्रराज खनालले प्रथम सेमेस्टरमा भर्ना शून्य रहेको र तेस्रो सेमेस्टरमा नियमित पाँच विद्यार्थी हाजिर हुने गरेको बताए। सो विभागमा १४ प्राध्यापक छन् । त्रिविका आधा दर्जन केन्द्रीय विभागमा १० जनाभन्दा कम विद्यार्थी छन् । तर, प्राध्यापकको संख्या त्योभन्दा धेरै छ । आधा दर्जन विषयमा विद्यार्थीभन्दा प्राध्यापक संख्या धेरै छ । अहिले त्रिविमा प्रथम सेमेस्टरका विद्यार्थी परीक्षा सकेर बसेका छन तेस्रो सेमेस्टर सञ्चालनमा छ। त्रिविमा स्नातकोत्तर चार सेमेस्टरको हुने गरे पनि एउटै समयमा दुईवटा सेमेस्टर मात्र सञ्चालन हुने गरेको छ । त्रिविको भूगोल केन्द्रीय विभागमा प्रवेश परीक्षा दिन विद्यार्थीले निवेदन दिएका थिए । तर, प्राध्यापकले विद्यार्थीले चाहेको समयमा नपढाउने भएपछि प्रथम सेमेस्टरमा विद्यार्थी शून्य भएको हो।

बाहिरी चक्रपथमा जग्गा को मूल्य बढ्यो, लाख खर्चेर करोडौं फाइदाको लोभ

काठमाडौं २३, भदौ । आठ लेनको बाहिरी चक्रपथ निर्माण गर्ने पक्कापक्की भएपछि चोभार, गाम्चा र सतुङ्गलको ६.१ किलोमिटर ट्याक नजिकका जग्गाको मूल्य अकासिएको छ। सात हजार रोपनी जग्गामा करिब नब्बेजना जग्गाधनीले सहयोगात्मक सुझाव दिएपछि बाहिरी चक्रपथ निर्माण हुन लागेको खबरले मूल्यमा तलमाथि भएको हुनसक्ने काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले बताएको समाचार विहिबारको गोरखापत्रमा छापिएको छ। ‘बाहिरी चक्रपथ पर्ने भयो भनेर केहीले आफूखुसी मूल्य बढाएर बेचेका छन्, कतिपयले लाखौं खर्च गरेर करोडौं फाइदा हुने लोभमा पनि जग्गा किनेका छन्’, उनले भने, ‘बाहिरी चक्रपथ र सिस्टर सिटीमा पर्ने जग्गालाई केही जग्गा कटौती गर्दै पुनः जग्गाधनीलाई जग्गा दिने भएपछि मूल्य बढेको हुनसक्छ।’ उनका अनुसार बाहिरी चक्रपथ जग्गा एकीकरण समिति बनिसकेको छ। बाहिरी चक्रपथ र सिस्टर सिटीमा पर्ने जग्गामा भौतिक निर्माणमा फेरबदल र प्लट मिलानका कामबाहेक जग्गा किनबेच गर्न सकिने भएकाले पनि उक्त कार्य बाहिरी चक्रपथ पर्ने उपत्यकाका तीनवटै जिल्लामा भएको हुनसक्ने बताए। प्रमुख तिवारीका अनुसार पहिलो चरणको निर्माणका लागि चोभार, गाम्चा र सतुङ्गलको ६.१ किलोमिटरभित्रका जग्गा एकीकरणका लागि नक्सा तयार भइसकेको जानकारी दिए। मन्त्रालयले अन्तिम टुङ्गो लगाएपछि एकीकरण हुने जग्गामा केही फेरबदलसहित बाहिरी चक्रपथको पहिलो चरणको काम थालनी हुने उनले बताए। कीर्तिपुर नगरपालिकाका सूचना अधिकृत सुजिन्द्र महर्जनले बाहिरी चक्रपथ निर्माण हुने पक्का भएपछि किनबेच कम भएको छ । बेचिएका जग्गाहरू पनि अधिक मूल्यमा बेचिएको उनले बताए। उनका अनुसार जग्गाधनीले भनेजति मूल्य दिन हाउजिङ कम्पनीबीच एक प्रकारले अहिले प्रतिस्पर्धा नै चलेको छ। ५० मिटरको फराकिलो बाहिरी चक्रपथ र दुवैतर्फ २५० मिटरका जग्गा र त्यस वरपरका जग्गाको मूल्य एक्कासि बढेको हो। बाटो भएका कित्ताका जग्गाको भाउ तीनचार दोब्बर बढेको र बाटो नै नभएका जग्गा पनि केही हाउजिङ कम्पनीले किन्न सुरु गरेपछि मूल्य बढेको बताइन्छ । बाहिरी चक्रपथ र चक्रपथसँग दुवैतर्फ २५० मिटरभित्रको भगिनी सहर अर्थात् ‘सिस्टर सिटी’मा जग्गाधनीले चालीसदेखि पचास प्रतिशत जग्गा पाउने भएकाले किनबेच प्रभावित भएको हो। कीर्तिपुरका नारायण महर्जनले बाहिरी चक्रपथ र सिस्टर सिटी नजिक हुने भएपछि केही राम्रो हुने सङ्केत पाएकाले बाटो नभएका खेतबारी बिक्री गर्ने मनशाय त्यागेको जानकारी दिए। बाहिरी चक्रपथ निर्माण हुने भएपछि पहिलो चरणमा सुरु हुने चोभारस्थित गलैँचा फ्याक्ट्रीका बाटो भएका जग्गाको मूल्य अहिले अकासिएको गुणराज प्रजापतिले बताए। ललितपुर जिल्लाको बाहिरी चक्रपथमा पर्ने गोदावरी क्षेत्रका जग्गाको मूल्य पनि बढेको बताइएको छ । बाहिरी चक्रपथभित्र काठमाडौं जिल्लामा ३५।८ किलोमिटर, ललितपुर जिल्लामा १५.८० किलोमिटर र भक्तपुर जिल्लामा २१।०५ किलोमिटर सडकलाई पाँच वर्षभित्र निर्माण गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरणको लक्ष्य रहेको छ।

पेट्रोलियम पदार्थमा मासिक आधा अर्ब नाफा, मूल्य घटाउने तयारी छैन

काठमाडौं २३, भदौ । मासिक नाफा आधा अर्बभन्दा बढी पुगिसके पनि आयल निगमले इन्धन मूल्य घटाएको छैन। निगमले नै यस महिनाको नाफा ५६ करोड ३८ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा पनि यहाँको भाउ नघटाइने गरेकाले निगमको नाफा उच्च रहँदै आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्चा तेलको मूल्य करिब ४४ अमेरिकी डलर छ । स्थानीय बजारमा भाउ नघटाउँदा लामो समय घाटामा रहेको ग्यास कारोबारमा समेत नाफा हुन थालेको विहिबारको आजको कान्तिपुरले छापेको छ। ‘अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा घटेकाले नाफा भएको हो,’ निगमका प्रवक्ता भानु खनालले भने । भारतीय आयल निगम ९आईओसी० ले पठाएको मूल्यसूचीअनुसार पछिल्लो १५ दिनमा निगमको नाफा २८ करोड १९ लाख रुपैयाँ छ । आईओसीले अंग्रेजी महिनाअनुसार दुई पटक मूल्य पठाउँछ । उसले सेप्टेम्बर १ मा पठाएको नयाँ मूल्यसूचीअनुसार ५६ करोड ३८ लाख नाफा हुने देखिएको हो । २०७१ साल असोज १३ देखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू भए पनि सधैं नेपालमा मूल्य समायोजन हुँदैन । नाफामा गएपछि निगमले सरकार र विभिन्न संस्थाबाट लिएको स्वचालित ३६ अर्ब ६६ करोड ऋण पनि चुक्ता गरिसकेको छ । निगमको अब कुनै दायित्व छैन । पछिल्ला दुई वर्षमा १५ अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । निगमको तथ्यांकअनुसार ग्यास, पेट्रोल, डिजेललगायत सबैमा नाफा छ । चाडपर्वका लागि भनेर खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ छुट दिए पनि अन्यमा घटाएको छैन । छुट भएपछि सर्वसाधारणले प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँमा खरिद गर्दै आएका छन् । यसअघि प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ थियो । निगमले ग्यासमा ५० रुपैयाँ छुट दिए पनि प्रतिसिलिन्डर ग्यासमा १ सय ७ रुपैयाँ १३ पैसा नाफा छ । खाना पकाउने ग्यासको मूल्य सामान्य घटाए पनि पेट्रोल, डिजेल, मट्टितेलमा कुनै परिवर्तन गरिएको छैन । निगमको तथ्यांकअनुसार प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ ७२ पैसा, डिजेलमा १ रुपैयाँ २ पैसा, मट्टितेलमा १८ रुपैयाँ ८९ पैसा नाफा छ । हवाई इन्धन आन्तरिकतर्फ १७ रुपैयाँ ९२ पैसा, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ २७ रुपैयाँ ९२ पैसा नाफा छ । नाफा भए पनि मूल्य समायोजनबारे कुनै योजना नभएको निगमले जनाएको छ।