विकासन्युज

३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरे, गत वर्षभन्दा १५ हजार सात सय बढी

मुस्ताङ, २८ पुस । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षमा ३९ हजारभन्दा बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको जानकारीअनुसार, सन् २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कलासंस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन् । सन् २०१५ भन्दा १६ मा १५ हजार सातसय ४५ बढी पर्यटक भित्रिएको एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले जानकारी दिए । “सन् २०१५ मा जम्मा २३ हजार दुईसय ७२ जना मात्र पर्यटक आएको तथ्याङ्क छ । भूकम्प त्रास र प्रतिकूल मौसमका कारण गत वर्ष कम पर्यटक भित्रिएका हुन्”, प्रमुख दाहालले भने, “सन् २०१६ को सङ्ख्या उत्साहजनक छ ।” पर्यटकको आवागमन बढेसँगै मुस्ताङका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । एक्यापका अनुसार मुस्ताङ भ्रमणमा आउने पर्यटकमध्ये १५ हजार चारसय ७८ भारतीय र २३ हजार पाँचसय ३५ अन्य देशका छन् । गत वर्ष मे महिनामा सबैभन्दा धेरै ६ हजार आठसय १६ र जनवरी महिनामा सबैभन्दा थोरै तीनसय ६५ जना पर्यटक मुस्ताङ आएको प्रमुख दाहालले जानकारी दिए। एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्याङ्क सङ्कलन गर्दै आएको छ । रासस

बिहीबार मात्रै ७८ लाख ८५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, २८ पुस । बिहीबार मात्रै ७८ लाख ८५ हजार ४६६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । निर्धन उत्थान बैंक र सानिमा बैंकको गरि सो मात्राको बोनस सेयर सूचिकृत भएको छ । निर्धन उत्थान बैंकको ९ लाख ९९ हजार ८१८ कित्ता बोनस नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, सानिमा बैंकको ६९ लाख ८५ हजार ६४८ कित्ता बोनस सूचिकृत भएको छ ।

हुण्डीबाट पैसा पठाउने नेपाली कामदारलाई तत्कालै फिर्ता बोलाउनुपर्छः ढुंगाना

भिष्मराज ढुंगाना, प्रमुख-विदेशी विनिमय व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक हुण्डी व्यवसाय मुलुकका लागि घातक हो । तर हुण्डीमुक्त मुलुक पनि कुनै छैन । सबैले हुण्डी घटाउने प्रयास गर्ने हो । सबै मुलुकमा सिंगल डिजिटको हुण्डी हुन्छ नै । तर हामी कहाँ ३८ प्रतिशत पैसा हुण्डीबाटै आउँछ । पाकिस्तानमा कुनै समयमा ६० प्रतिशत पैसा हुण्डीबाट आउँथ्यो । उनीहरुले विभिन्न तरिका अपनाएर अहिले त्यो मात्रा घटाएका छन् । हामीले पनि हुण्डी निरुत्साहित गर्न विभिन्न उपाय अपनाउँदै आएका छौं । बैंक तथा वित्तिय संस्थाबाट रेमिट्यान्स ल्याउनेदेखि रेमिटेन्स कम्पनी पनि खोलेका छौं । यति हुँदा पनि केहि मुलुकबाट हुण्डी धेरै भित्रिरहेको छ । दक्षिण कोरिया गएका नेपाली कामदारले ९४ प्रतिशत रकम हुण्डीबाट पठाउँछन् । ६ प्रतिशत पैसा मात्रै फर्मल च्यानलबाट आइरहेको छ । इराजयलबाट पनि हुण्डी नै धेरै आउने गरेको हाम्रो अध्ययनले देखाएको छ । लेबनानबाट पनि हुण्डी धेरै हुने गरेको छ । यी मुलुकमा हुण्डी रोक्ने प्रयास गर्ने हो भने हुण्डीको मात्रा धेरै नै कम हुन्छ । हुण्डी घटाउन केन्द्रिय बैंकको मात्रै भूमिका हुन्न । जस्तो कोरियाबाट बर्षेनी ४२ अर्ब रेमिट्यान्स आउनुपर्ने तर २ अर्ब मात्रै आउँछ । कोरिया सरकारले स्विकृत दिएको ठाउँमा नेपाल सरकारले पठाएका मानिस कोरिया जान्छन् । नेपाल र कोरिया सरकारको नियमनमा उनीहरु कोरियामा काम गर्छन् । तर तिनै मानिसले हुण्डीबाट पैसा पठाउँछन् । नेपालीलाई कोरिया पठाउँदा नै रेमिट्यान्सबाट पैसा नपठाए फर्काइदिन्छौं भनेर नेपालमै सम्झौतामा हस्ताक्षर गराउनु पर्छ । हरेक महिना उनीहरुको रिपोर्ट हेर्नु पर्छ । रेमिटेन्सबाट पैसा नपठाए फर्काउने काम गर्नु पर्छ । हामीले श्रम मन्त्रालयसँग पनि पटक पटक छलफल गरिसकेका छौं । श्रम मन्त्रालय पनि सकारात्मक देखिएको छ । केहि मानिसले रेमिट्यान्सको शुल्क धेरै भयो भनेर हुण्डी बढेको भन्ने गरेका छन् । त्यसमा कुनै सत्यता छैन् । हुण्डी गर्नेले डलर वा अन्य मुद्राको सटही दर नै धेरै दिने गरेकाले हुण्डी प्रोत्साहित भएको हो । रेमिट्यान्स कम्पनीले डलरको भाउ १०६ दिए भने हुण्डी वालाले १०८ रुपैंयाँ दिन्छन् । १०८ मा डलर किनेर नेपाल सामान ल्याउनेहरुलाई ११२ रुपैंयाँमा बेच्छन् । त्यस्तो पैसा नेपालमा १५ प्रतिशत कर छलेर समान भित्र्याउन प्रयोग गर्छन् । हुण्डीलाई निरुत्साहित गर्न कसले कुन मात्राको पैसा कसरी ल्याएका छन र कहाँ खर्च गर्छन भनेर हेर्ने गरेका छौं । त्यो भन्दा ठुलो अध्ययन हालसम्म गरेका छैनौं । अहिलेसम्म विदेशबाट समान ल्याउनका लागि मात्रै पैसा लैजान दिने गरेका छौं । विदेशमा उद्योग खोल्न वा लगानी गर्न भने अहिलेसम्म दिने गरेका छौनौं । तर पनि नेपालबाट केहि पैसा हुण्डीका रुपमा जाने गरेको अनुमान छ । त्यस्तो फेला पर्यो भने चाँही हामी कारवाही गर्छाै । त्यस्ता सूचना दिनेलाई २० प्रतिशत पुरस्कार दिने चलन छ । हामीले हुण्डीबाट पैसा पठाउनु अपराध हो भनेर त भनेका छौं तर त्यो पर्याप्त छैन् । बैंकिङ साक्षरताका कार्यक्रममा पनि विद्यार्थीलाई हुण्डीबारे बताउने गरेका छौं । विदेश जाने नेपालीलाई अभिमुखिकरणमा पनि दुई दिनसम्म हुण्डीबारे जानकारी दिने गरेका छौं । हुण्डी रोक्न प्रयासहरु भएका छन तर पर्याप्त देखिएको छैन् । हुण्डी गर्दा गर्दै कोहि समातियो भने त्यसलाई विदेशी विनियम अपचलन गरेको केस लाग्छ । त्यसलाई विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार जति रकम हुण्डी गरेको हो त्यसको ३ गुणा जरिवाना र ३ देखि ४ बर्ष जेल सजाय हुन्छ । यस्तो केस राजश्व अनुसन्धान विभागले हेर्छ । उसैले अदालतमा मुद्धा हालेर कारवाही प्रक्रिया अघि बढाउँछ ।(कुराकानीमा आधारित)

लक्ष्मी बैंकले १८ प्रतिशत बोनस दिने, हकप्रद सेयर भर्ने र प्रोफेसनल विकास बैंकका सेयरधनीले पनि बाेनस पाउने

काठमाडौं, २८ पुस । लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई सेयर १८ दशमलब २९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बैंकको बुधबार बसेको १८३ औँ सञ्चालक समितिको बैठकले गरेको हो । हाल लक्ष्मी बैंकले प्रोफेसनल दियालोे विकास बैंकलाई खरीद  (एक्वाएर) गर्ने प्रक्रियामा चलिरहेको छ । उक्त विकास बैंकलाई खरिद गरेपछि बैंकले १०० प्रतिशत(शतप्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने भएको छ, जुन बैंकको साधारणसभाले पारित गरिसकेको छ । हकप्रद निष्कासन र दियालाे विकास बैंक खरिदपछि मात्र बैंकले लगानीकर्तालाई बोनस सेयर दिने निर्णय गरेको हो । उक्त बैंकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई बोनस वितरण गर्ने छ । त्यसबेला कायम चुक्ता पूँजीसँग समायोजन गर्दा लक्ष्मीले घोषणा गरेको बोनस सेयर १८ दशमलब २९ प्रतिशत हुने बैंकले जनाएको छ । बोनस र हकप्रद पश्चात लक्ष्मी बैंकको चुक्ता पूँजी सात अर्ब नाघ्ने छ। गत असार मसान्तकाे पुँजीकाे अाधारमा भने बैंकले दिने बाेनस सेयर ३८ प्रतिशत भएकाे जनाएकाे छ ।

सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, माघ २० गतेदेखि बुक क्लाेज

काठमाडौं, २८ पुस । सिद्धार्थ बैंकले सेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । सो मात्राको हकप्रद पारित गर्नको लागि बैंकले आगामी फागुन ५ गते साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी माघ २० गते कम्पनीको बुक क्लोज हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय बैंकको सेयर प्रतिकित्ता ९८१ रुपैयाँमा कारोबार भएको थियो ।

सनराइज बैंकले ३० प्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं, २८ पुस । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षमा कायम चुक्ता पूँजीको ३० प्रतिशत (१ः०.३० को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले प्रति सेयर १०० रुपैयाँ दरको १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयरको निष्कासन गर्न लागेको हो । बैंकले उक्त सेयर निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिहिबार सम्पन्न सो नियुक्ति सम्बन्धी सम्झौतामा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका तर्फबाट महा-प्रबन्धक शंकरप्रसाद कालीकोटाले हस्ताक्षर गरेका छन् । साथै, बैंकको नवौं वार्षिक साधारण सभाले कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।

लेखा समितिमा एमाले-माओवादी भिडन्त, पशुपति चौलागाई कि हरिबोल गजुरेल ?

काठमाडौं, २८ पुस । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति कसले लिने भन्नेमा एमाले र माओवादी केन्द्रबिच हानथाप सुरु भएको छ । एमालेले लेखा समिति प्रतिपक्षीले लिने अन्तराष्ट्रिय मान्यता अनुसार आफुले पाउनु पर्ने बताउँदै आएको छ । उता, माओवादी केन्द्रले भने आफ्नो भागमा परेको समिति भन्दै आफैंसँग राख्नुपर्ने सर्त अघि सारेको छ । अन्यथा एमालेले आफ्नो भागको एउटा समिति छोड्नुपर्ने सर्त माओवादी सर्त छ । दुई दलबिच सभापति कसले लिने भन्ने विवाद नमिलेपछि पुस २७ गतेका लागि सभापति छान्न डाकिएको बैठक सारिएको थियो । एमालेले पशुपति चौलागाईलाई सभापतिका रुपमा अघि सारेको छ भने माओवादी केन्द्रले पुर्व मन्त्री समेत रहेका नेता हरिबोल गजुरेललाई अघि सारेको छ । यी दुईबिच बुधबार चुनावी प्रतिष्पर्धा हुने तय भएको थियो तर सभामुखले सहमतिका लागि प्रयास गर्न भन्दै बैठक स्थगित गरेकी थिइन् । एमाले संसदिय दलका प्रमुख सचेतक भानभुक्त ढकालले एमाले सत्तासिन हुँदा लेखा समितिको सभापति छोड्ने गरि हाललाई आफ्नो पार्टीले सभापति पाउनुपर्ने बताए ।‘हिजो प्रतिपक्षी हुँदा माओवादीलाई दिएकै हो, अहिले हामी प्रतिपक्षमा छौं, भोली सत्ता पक्ष भयौं भने छोड्न तयार छौं तर अहिले हामीलाई नै सभापति दिनुपर्छ ।’ उनले आफ्नो पार्टीले पशपुति चौलागाईलाई सभापतिका रुपमा अघि सारेको पनि जानकारी दिए । सहमतिमै सभापति चयन हुने र नेतृत्व एमालेले पाउने दावी पनि उनले गरे । हाल रिक्त रहेको सार्वजनिक लेखा समिती, संबिधान कार्यान्वयन र अनुगमन समिति र महाअभियोग सिफारिस समितिमा तीन दलले भाग बण्डा गर्नुपर्ने धारणा पनि राखे ।

कुलमान घिसिङले पाए उत्कृष्ट व्यवस्थापक अवार्ड, चेम्बर दिवसमा दर्जन व्यवसायी सम्मानित

काठमाडौं, २७ पुस । नेपाल चेम्वर अफकमर्सले ६६औं वार्षिक साधारण सभा गर्नुको साथै चेम्वर दिवस २०७३ मनाएको छ । नेपाल चेम्वर अफ कमर्सले बेष्ट मेनेजमेन्ट अवार्ड नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई सम्मान गरेका हुन् । चेम्वर दिवस २०७३ का अवसरमा चेम्बरले घिसिङसहित मुलुकको आर्थिक विकासमा योगदान पुर्याउनु हुने विभिन्न कम्पनीलाई सम्मान गरेको छ । चेम्वरले तेसो मुलुकतर्फ निर्यात गर्ने कार्गाे तर्फ मुक्तिनाथ दिकार्गाे, राईजिङ स्टार कार्गाे, ग्लोबल सिपिङ लजिष्टिक, कार्पेट तर्फ हिमालय कार्पेट, काजु आर्टस रग, डेजे कार्पेट प्रा.लि., पारामाउण्ट कार्पेट इण्डष्ट्रिज प्रा.लि., दि सांग्रिला कार्पेट एण्ड ह्याण्डिक्राप्mट इण्डष्ट्रिज, गार्मेण्ट तर्फ युनाईटेड कलर्स फेशनप्रा.लि., नेपाल फेशनप्रा.लि. ह्याण्डिक्राफ्ट तर्फ अष्टमंगल हस्तकला उद्योग, फेल्ट तर्फ एभरेष्ट फेशन, इण्डिया तर्फ किरण शुजम्यानुफेक्चरर्स, चाईनातर्फ न्यु इशा इन्टरप्राईजेजलाई सम्मान गरेको छ । यस्तै, चेम्वर एक्सिलेन्स अवार्ड २०१६ नेपाल निर्यात परिषदलाई प्रदान गरिएको छ । यसै गरी पूर्व स्वर्गीय अध्यक्षहरुको स्मृतिमा उनीहरुको परिवारकातर्फबाट चेम्वरले ईश्वरलाल टाईम अचिभमेन्ट अवार्ड उद्योगपति व्यवसायी तथा समाजसेवी लक्ष्मीदास मानन्धरलाई, ईश्वरभक्त मेमोरियल अवार्ड व्यवसाय प्रवद्र्धनमा योगदान पुर्याउनु भएका चन्द्रगिरी हिल्स लिमिटेडका संचालक चन्द्रप्रसाद ढकाललाई, र बनवारी लालममोरियल अवार्ड सूचना तथा प्रविधिको माध्यमद्वारा मुलुकको आर्थिक विकासमा टेवा पुर्यारउनने इन्फो डेभलपर्स प्रा.लि.लाई प्रदान गरिएको थियो । बुधबार राजधानीमा आयोजित चेम्बर दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको ध्यान दलहरुबीच राजनैतिक समझदारी बनाउने र निजी क्षेत्रको सहकार्यमा तिव्र आर्थिक विकास गर्ने तर्फ केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री दाहाले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन (वाफिया) हालै पारित भएको, सरकारले आर्थिक विधेयकलाई जोड दिएको र आर्थिक विषयसंग सम्बन्धित ऐनहरु छिटै पारित भई निजी क्षेत्रको प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे । सरकारले विद्युतभार कटौती गरी आम सर्वसाधारण र उद्योगी व्यवासायीको मनोबच उच्च बनाउन सफल भएको बताउंदै जलाशयुक्त र अर्ध जलाशययुक्त विद्युत उत्पादनमा सरकारको ध्यान केन्द्रित भएको बताए । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारको आर्थिक विकासको लक्ष्य प्राप्तिमा निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताए । अध्यक्ष श्रेष्ठले विशेष आर्थिक क्षेत्र ऐन, बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन (वाफिया) जस्ता आर्थिक क्षेत्रसंग सम्बन्धित ऐन पारित भएकोमा खुशी व्यक्त गर्दै संसदमा विचाराधिन आर्थिक क्षेत्रसंग समबन्धित बाँकी ऐनहरुलाई यथाशिघ्र पारित गरी निजी क्षेत्रको मनोबल उच्च बनाउन प्रधानमन्त्री दाहाललाई आग्रह गरे । साथै उनले निर्यात प्रवद्र्धनको लागिठोस कार्यक्रम ल्याउन अनुरोध गरे ।