सेयर बजार निरन्तर ओरालो, ९४ करोडको कारोबार, परिसूचक १७७९ अंकमा
काठमाडौं, ५ असोज । यो साताको शुरु देखि नै सेयर बजार निरन्तर ओरालो तिर लागिरहेको छ । बुधबार पनि नेप्से परिसूचक ७ दशमलब ३७ अंकले घटेर १७७९ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको देखिन्छ । सो दिन १४२ कम्पनीको २२ लाख १९ हजार कित्ता सेयर ९४ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । सो दिन दुई समूहको परिसूचक सामान्य अंकले घटेको छ भने बाँकी अरु समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक करिब ५० अंकले घटेको छ । त्यस्तै, बीमा, हाइड्रोपावर, होटल, बैंकिङ् र फाइनान्स समूहको परिसूचक क्रमशः ३४, २०, ११, ८ र १ अंकले ओरालो लागेका छन् । विकास बैंक र अन्य समूहको परिसूचक क्रमश ०.६३ र ०.२९ अंकले उक्लिएका छन् । बजारमा सनराइज बैंक र नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको ४ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्थाका लागानीकर्ताले सबैभन्दा बढी ७ प्रतिशत कमाएका छन् । नविल ब्यालेन्स फण्ड १ का लागानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।
पोखरा फाइनान्सको १३ प्रतिशत बोनस दिने निर्णय राष्ट्र बैंकबाट स्वीकृत
काठमाडौं, ५ असोज । पोखरा फाइनान्स लिमिटेडको १३ दशमलब ५ प्रतिशत बोनस सेयर दिने निर्णयलाई राष्ट्र बैंकले स्वीकृती दिएको छ । त्यसका साथै फाइनान्सले कर प्रयोजनको लागि राखेको ०.७१ प्रतिशत नगद लाभांश दिने निर्णयलाई पनि बैंकले स्वीकृत गरेको छ । बैंकले स्वीकृत गरेको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
एकिकृत कारोबार लगत्तै सेयर कारोबार खुल्ने, मर्ज तोडिएमा १५ भित्र कारोबार गर्नैपर्ने
काठमाडौं, ५ असोज । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तिय संस्था मर्ज भएर एकिकृत कारोबार सुरु भए लगत्तै सेयर कारोबारको व्यवस्था मिलाउन निर्देशन दिएको छ । बोर्डले बुधबार सूचिकृत कम्पनीहरुलाई मर्जपछिको एकिकृत कारोबार लगत्तै सेयर कारोबारको व्यवस्था गर्न निर्देशन दिएको हो । हाल एकिकृत कारोबार सुरु भएपछि नेपाल राष्ट्र बैंकको स्विकृतिमा मात्रै सेयर कारोबार खुल्ला गर्न पाउने व्यवस्था रहेको छ । केन्द्रिय बैंकले एक हप्तादेखि एक बर्षसम्ममा सेयर कारोबारका लागि अनुमति दिँदै आएको छ । प्रभु बैंकले मर्जपछि एकिकृत कारोबार थालेको एक वर्ष पुग्नै लागेपनि केन्द्रिय बैंकले सेयर कारोबारका लागि अनुमति र्दिएको छैन् । त्यस्तै, बोर्डले मर्जर तोडिएको १५ दिनभित्रै सेयर कारोबार खुल्ला गर्ने व्यवस्था मिलाउन पनि सूचिकृत बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । हाल कुमारी र एनसीसी बैंक सम्मिलित मेगा मर्ज तोडिएपछि यी संस्थाको सेयर कारोबार बन्द रहेको छ । बोर्डले आफ्नो निर्देशनमा भनेको छ–‘सूचीकृत कम्पनीहरुको गाभ्ने/गाभिने कार्य सम्पन्न भई एकीकृत कारोबार शुरु भएसंगै शेयर कारोबार शुरु गर्ने व्यवस्था गर्ने र सो हुन नसकेमा वढीमा १५(पन्ध्र) दिन भित्र अनिवार्य रुपमा कारोबार हुने व्यवस्था गर्ने ।’ बोर्डको निर्देशनले नेपाल राष्ट्र बैंकको निर्णय प्रक्रियालाई छिटो र सहज बनाउन दबाव दिएको छ । हाल केन्द्रिय बैंकले मर्जपछिको एकिकृत कारोबार र मर्ज तोडिएका संस्थाहरुको सेयर कारोबार खुलाउन तजबिजमा निर्णय गर्दै आएको छ । ठोस मापदण्ड बिनै केन्द्रिय बैंकले कुनै संस्थालाई एक हप्तामै सेयर कारोबारको अनुमति दिने गरेको छ भने कुनैले बर्षदिन बित्दा समेत सेयर कारोबार खुलाउन अनुमति पाउने गरेका छैनन् । बोर्डको यो निर्देशनले लगानीको हित हुने देखिन्छ ।
सुबिसुको दशैं तिहार योजनामा किल्यर टीभी र वाइरलेस केवल मोडम सित्तैमा
काठमाडौं, ५ असोज । नेपालको एक अग्रणी टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेटले नेपालीहरुको महान चाड दशैं तिहारको अवसर पारेर आफ्ना ग्राहकवर्गहरु लागि ‘दशैं तिहार योजना’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकवर्गले प्रस्तुत गरिएका ईन्टरनेट र क्लियर टिभि प्याकेजको खरिदमा फ्रि किल्यर टीभी एचडी सेट–टप बक्स र वाइरलेस केवल मोडम सित्तैमा प्राप्त गर्न सक्ने छन् । दशैं अफर अन्तर्गत ग्राहकहरुले विभिन्न अफरहरु छुट्टाछुट्टै मूल्यमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकहरुले किल्यर टीभी २ हजार ९९९ रुपैयाँ, केवल इन्टरनेट ५ हजार ९९९ रुपैयाँ, केवल इन्टरनेट एण्ड किल्यर टीभी कोम्बो ५ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्ने बताएको छ । ग्राहकहरुले अन्य अफरहरुमा अनलिमिटेड केवल इन्टरनेट एण्ड किल्यर टीभी कोम्बो अफर ७ हजार ९९९ रुपैयाँ र फिप्त्थ इन्टरनेट एण्ड किल्यर टीभी कोम्बो ९ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार ईन्टरनेट, क्लियर टीभी र ईन्टरनेट र क्लियर टीभीको कोम्बो प्याकेज खरिद गर्न सक्नेछन् । यो योजना सिमित अबधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।
सानिमा बैंकले १५ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं, ५ असोज । सानिमा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर लाभांशको लागि बैंकले शुन्य दशमलब ७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । त्यसका साथै, बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको स्विकृति तथा बैंकको आगामी साधारण सभाबाट पारित गरेपछि बैंकले सो मात्रामा बोनस सेयर दिनेछ । सानिमा बैंकले २०७३ साल असार मसान्तसम्ममा एक अर्ब ४ करोड नाफा कमाएको थियो । २०७२ असार मसान्तसम्ममा बैंकको नाफा ६२ करोड ४१ लाख मात्रै थियो । सानिमाको चुक्ता पुँजी चार अर्ब रुपैंयाँ रहको छ भने जगेडा कोषमा एक अर्ब ४१ करोड रुपैंयाँ रहेको छ । बुधबार बजारमा बैंकको प्रतिकित्ता सेयर ७४५ रपैयाँमा कारोबार भइरहेको छ ।
नेपा हिमाद्धारा सोनी फोरके एचडीआर एण्ड्रोइड टीभीको नयाँ रेञ्ज सार्वजनिक
काठमाडौं, ५ असोज । नेपा हिमा लिङ्क प्रालिले नेपाली बजारमा सोनी ईलेक्ट्रोनिक्सका फोरके हाइ डायनामिक रेञ्ज(एचडीआर) अन्तर्गत नयाँ रेञ्जमा टीभीहरु सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका नयाँ टीभीहरु आधुनिक एचडीआर चलचित्र तथा शोका लागि उपयुक्त रहेको र यसले उपभोक्तलाई उत्कृष्ट दृष्य तथा आवाज सम्प्रशणको मञ्जा दिने कम्पनीले जानकारी दिएको छ । नेपा हिमा ट्रेड लिङ्क नेपालका लागि सोनी ईलेक्ट्रोनिक्सको आधिकारिक विक्रेता हो । कम्पनीले एचडीआर लाइनअप अन्तर्गत अत्यधिक रुचाइएको एक्स९३ डी सिरिज, फोरके एचडीआर टीभी रेञ्ज र फूल एचडी टीभी अन्तर्गत ईन्टरनेट र एक्सट्रा प्रो सिरिज पनि सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका नयाँ टीभी रेञ्जले उच्च ब्राइटनेस, कन्ट्रास्ट र चहकिलो रङ् सम्प्रेषण गर्ने क्षमता राख्छन् । टीभीहरुमा सोनीकै स्लिम ब्याकलाइट ड्राइभ प्रविधिको प्रयोग गरिएको छ । यसले गर्दा टीभीले चहकिलो तथा उत्कृष्ट कन्ट्रास्ट लेभल समायोजन गरी जीवन्त दृष्य सम्प्रेषणमा सहयोग गर्ने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी टीभीमा प्रयोग गरिएको एक्सावन फोरके प्रोशेसरले कलर म्यापिङ प्रविधि मार्फत प्राकृतिक रङ सम्प्रेषणमा प्रत्यक्ष सहयोग पुर्याउँछ । सार्वजनिक गरिएका ब्राभियाको नयाँ लाइनअपले एण्ड्रोइड ६.० मार्शमेलो सपोर्ट गर्छ । यसले गर्दा प्रयोगकर्ताले यूएसबी ड्राइभ मार्फत अतिरिक्त सञ्चय क्षमताको उपयोग गर्न पाउँछन् । फलस्वरुप अन्य टीभीका तुलनामा यसका प्रयोगकर्ताले आवश्यकता अनुसार आफ्ना टीभीमा धेरै एप्लिकेशन्स डाउनलोड तथा उपयोग गर्ने सुविधा प्राप्त गर्ने कम्पनीको भनाइ छ । घरको आन्तरिक सजावतलाई थप आकर्षक देखाउन प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यका साथ ब्राभियाका नयाँ टीभीको डिजाइन समेत निकै आकर्षक तरिकाले गरिएको छ । साथै, टीभीमा तारको व्यवस्थापनलाई समेत विशेष ध्यान दिइएको छ । यसले गर्दा टीभी वरपर सफा वातावरण कायम गर्न सहयोग मिल्छ । कम्पनीका अनुसार निकट भविष्यमा नै सोनीको यी आरथ्रीडी सिरिजपनि सार्वजनिक गर्ने योजना रहेको छ । उत्कृष्ट दृष्य तथा आवाज सम्प्रेषण गर्ने क्षमता सहितका यी टीभीमा एक्स–प्रोटेक्शन प्रो फिचर पनि समाहित गरिएको छ । यसले गर्दा टीभी थप सुरक्षित हुनुका सार्थ कार्य क्षमतामा समेत बृद्धि हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार आरथ्रीडीले धुलो, आद्र्रता, चत्याङ्ग तथा विद्युतिय तरङ्गबाट समेत सुरक्षा प्रदान गर्छ । सार्वजनिक गरिने तयारीमा रहेको आर३२६डी मोडलका टीभीलाई पावर बैंक तथा कारका ब्याट्री मार्फत समेत सञ्चालन गर्न सकिने जानकारी दिइएको छ ।
कोकाकोला कप २०७३ को विजेता समुहहरु
काठमाडौं, ५ असोज । चृुली उच्च माध्यमिक विद्यालय र दुर्गा उच्च माध्यमिक विद्यालय क्रमशः प्रमुख अतिथी महेश प्रसाद दाहाल (सचिव, युवा तथा खेलकुद मन्त्रालय), आलोक कोहली, कोका कोला नेपालका देशिय निर्देशक, बोटलर्स नेपाल लिमिटेडबाट आनन्द रत्नापार्खी तथा रजनिश शर्मा तथा एन्फाका पदाधिकारीहरुका साथमा ।
निर्यात बढाउने सरकारी सबै प्रयास असफल, घट्दैछ जीडीपीमा निर्यात व्यापारको अनुपात
काठमाडौं, ५ असोज । निर्यात व्यापारलाई वृद्धि गर्न सरकारले उद्यमी व्यवसायीका लागि केही वर्षयता विभिन्न कार्यक्रम ल्याएपनि लक्ष्यअनुरुप उपलब्धी हासिल हुन भने सकेको छैन । चार वर्षअघिको बजेटमार्फत १ खर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात गर्ने भनिए पनि विस्तारै व्यापार अझै खुम्चिदै गएको छ । गत आव २०७२/७३ मा अघिल्लो आर्थिक वर्ष २०७१/७२ को तुलनामा निर्यात व्यापार १७ दशमलव ८ प्रतिशतले ह्रास आई ७० अर्ब १२ करोड रुपैयाँमा खुम्चिएको छ । गएको वर्ष यसरी निर्यात व्यापार खुम्चनुमा भूकम्प तथा सीमा नाकाको प्रभाव भएपछि अघिल्लो वर्ष पनि व्यापार ७ दशमलव ३ प्रतिशतले खुम्चिएको थियो । सरकारसँग आफूले लक्ष्य गरेअनुसारको व्यापार कहिलेसम्म हुन सक्छ भन्ने सवालको जवाफ छैन । आर्थिक वर्ष २०७२/७३ मा वर्ष डा.रामशरण महतले बजेट वक्तव्यमार्फत आर्थिक वर्ष २०७१/७२ को भन्दा आगामी आव( २०७२/७३) मा निर्यात भएको वस्तुको परिमाणभन्दा बढी निर्यात गरे सत प्रतिशत नगद अनुदान थप गर्ने कार्यक्रम ल्याएका थिए । तर, निर्यात व्यापार भने करिब १८ प्रतिशतले तल ओर्लियो । सरकारले बढ्दै गएको व्यापार घाटा कम गर्न तुलनात्मक लाभ भएका वस्तु तथा सेवाको उत्पादन वृद्धि गर्न तथा निजी क्षेत्रलाई प्रोत्साहनलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरेको हो । निर्यात व्यापार घटेसँगै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यसको अनुपात पनि घट्दै गएको छ । आर्थिक वर्ष २०७०/७१ मा ४ दशमलव ७ प्रतिशत रहेको जीडीपीमा निर्यात व्यापारको अनुपात गएको वर्ष ३ दशमलव १ प्रतिशतमा खुम्चिएको छ भने गत आवमा ४ प्रतिशत अनुपात रहेको थियो । यसरी निर्यात व्यापार घट्नुमा नेपाली उत्पादनको सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) नहुनु पनि हो । विश्व बजारमा विक्रीका लागि जाने वस्तुमा ट्रेडमार्क नहुँदा नेपाली उत्पादनको निर्यात प्रवद्र्धनमा समस्या देखिएको छ । सामूहिक व्यापार चिह्न भएका वस्तुले मुलुकको पहिचान बोक्ने भएकाले निर्यात सम्भावना बढाउने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरप्रसाद घिमिरे बताए । ‘सामूहिक ट्रेडमाकले वस्तुको विश्वसनीयतासमेत बढाउँछ,’ उनले भने । तुलनात्मक लाभ बढी भएका नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस)मा समावेश अधिकांश वस्तुले अहिलेसम्म सामूहिक व्यापार चिह्न छैनन् । केन्द्रका अनुसार सामूहिक व्यापार चिह्न भएका वस्तुमा पश्मिना र चिया मात्र रहेका छन् । सरकारले निर्यात र प्रतिस्पर्धात्मक क्षमता उच्च भएका कृषि तथा औद्योगिक गरी ९ ओटा वस्तुलाई एनटीआईएसमा समावेश गरे पनि हाल यी दुईको मात्रै सामूहिक ट्रेडमार्क छ । केन्द्रका अनुसार अलैंचीको सामूहिक ट्रेडमार्क अहिले प्रक्रियामा रहेको छ । उद्योग विभागले सामूहिक ट्रेडमार्कको पहिलो चरणको प्रमाणपत्र नेपाल अलैंची व्यवसायी महासंघलाई उपलब्ध गराइसकेको केन्द्रले बताएको छ । स्वदेशमा सामूहिक ट्रेडमार्क दर्ता भएसँगै भारत, संयुक्त अरब इमिरेट्स र पाकिस्तानमा पनि उक्त ट्रेडमार्क दर्ताका लागि केन्द्रले महासंघलाई बजेटसमेत उपलब्ध गराइसकेको छ । एनटीआईएसमा समावेश चियाको सामूहिक ट्रेडमार्क त नेपालमा मात्र दर्ता छ । पश्मिना (च्या पश्मिना)को भने भारत, अमेरिका, अष्ट्रेलिया, चीन, यूरोपेली संघसहित करीब ४३ मुलुकमा सामूहिक ट्रेडमार्क दर्ता भईसकेकोले गएको वर्ष २ अर्ब ८९ करोडको उःलन तथा पश्मिना सल निर्यात भयो । नेपाल गलैंचा निकासीकर्ता संघ र केन्द्रीय गलैंचा उद्योग संघबीचको विवादका कारण गलैंचामा सामूहिक ट्रेडमार्क प्राप्त गर्न सकेको छैन । तैपनि विश्व बजारमा खास गुमेको नेपाली गलैंचाले पुनः आफ्नो पहिचान पाउँदैछ । गत आवमा ८ अर्वभन्दा बढीको गलैंचा निर्यात भएको छ । यद्यपि, वाणिज्य मन्त्रालयले केही समयअघि सार्वजनिक गरेको तीन महिने कार्ययोजनामा ऊनी गलैंचाको अमेरिका र यूरोपमा व्यापार चिह्न दर्ता यही आर्थिकसम्म सम्पन्न गर्ने उल्लेख छ । एनटीआईएसमा आवद्ध अन्य वस्तुको सामूहिक ट्रेडमार्कका लागि भने पहलसमेत भएको छैन । एनटीआईएसमा अलैंची, चिया, पश्मिना, गलैंचासहित अदुवा, जडीबुटी, रेसादार टेक्स्टाइल तथा यार्न, छाला र जुत्ता तथा चप्पल पर्छन् । यी वस्तुलाई सरकारले प्रतिस्पर्धात्मक लाभ भएका वस्तु भनी घोषणा गरे पनि सामूहिक ट्रेडमार्क दर्ता भने गर्न सकेको छैन । नेपाल उद्योग वाणिज्य महासंघले सामूहिक व्यापार चिह्न भयो भने समस्या पर्दा कानूनी समाधानका लागि पनि सहज हुने बताएको छ । निर्यातजन्य वस्तुको पहिचान गरी उत्पादन र गुणस्तरमा ध्यान दिन सके अवश्य पनि नेपाली वस्तुले विश्व बजारमा स्थान पाउन सकछ । त्यसैले जीडीपीमा निर्यात व्यापारको अनुपात बढाउन, व्यापार घाटा घटाउन, देशभित्रनै रोजगारी सिर्जना हुने खालका यस्ता उद्योगलाई प्रोत्साहन गरिनु पर्छ ।