फेरि थपिदैं २५ मेगावाट बिजुली, लोडसेडिङ के हुन्छ ?
काठमाडौं१६, माघ । केन्द्रीय प्रशारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगवाट बिजुली ल्याउन लागेको छ । यसअघि विद्युत् प्राधिकरण र भारतको नोडल एजेन्सी एनभिभिएन विद्युत् व्यापार कम्पनी लिमिटेडबीच अन्तरदेशीय प्रशारण लाइनबाट थप ८० मेगावाट बिजुली खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो । पुस १७ देखि ४० मेगावाट र माघ १९ गतेदेखि ४० मेगावाट गरी ८० मेगावाट बिजुली ल्याउन सम्झौता भएको थियो । तर वुधबारदेखि २५ मेगावाट मात्र बिजुली थप हुने प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताएक । भारतबाट तीन सय ५५ मेगावाट बिजुली आयात भएकोमा बुधबारबाट २५ मेगावाट थपिएर तीन सय ८० मेगावाट पुग्ने छ । गत बर्ष तीन सय ४७ मेगावाटसम्म बिजुली आयात भएको थियो । नदीको पनी घटेर बिजुली उत्पादनमा केहि कमि आएपनि पछिल्लो समयमा माग नबढेकाले लोडेडिङव्यवस्थाप हुनेमा प्राधिकरण ढुक्क छ । नागरिक दैनिबकाट ।
वाइडवडि किन्न साढे ५ करोड बैना, एक वर्ष भित्र निगमलाई अमेरिका युरोप उड्ने जहाज
काठमाडौं १६, माघ । नेपाल वायुसेवा निगमले एयरबसको ठूलो जहाज (वाइडबडी) खरिदका लागि अमेरिकी कम्पनी एएआर कर्पोरेसनलाई ५ करोड ४४ लाख रुपैयाँ (५ लाख डलर) बैना दिने शुक्रबार सम्झौता गरेको छ। दुइटा वाइड बडी विमान खरिदका लागि निगमले असोज पहिलो साता आह्वान गरेको खरिद प्रक्रियामा सहभागी भएका ११ वटा कम्पनीमध्येबाट माघ १ गते एएआर कर्पोरेसन छानिएको थियो । ‘निगमका तर्फबाट बैनाका लागि भएको सम्झौतापत्रमा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार र एएआरका तर्फबाट दीपक शर्माले हस्ताक्षर गरेका छन्,’ स्रोतले भन्यो । उक्त सम्झौतापत्रमा साक्षीका रुपमा निगमका निमित्त महाप्रवन्धक आरबी शाह र एएआरका तर्फबाट निक प्राइसले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एएआरले ०७४ पुस र चैतमा गरी दुइटा वाइडबडी काठमाडौं पुर्याउने छ । कान्तिपुर दैनिकबाट ।
दैनिक दुई लाख लिटर दूध अपुग, दैनिक सात लाख लिटर दूध खपत
काठमाडौं १६, माघ । देशभर अचले दैनिक दुई लाख लिटर दूध अपुग देखिएको छ । दूधको माग अनुसार उतपादन हुन नसक्दा अपुग देखिएको हो । गाउँमा उत्पादन भएको दूधको बिक्री हुने केन्द्र सहर नै हो । सहरमा दूध बिक्री गरी गाउँमा दैनिक तीन करोड ५० लाख रुपैयाँ पुग्ने गरेको केन्द्रिय दुग्ध सहकारी संघले जनाएको छ । संघका सल्लाहकार धर्मदत्त देवकोटाले मुलुकलाई दूधमा आत्मनिर्भर बनाउन सरकारले पशुपालक कृषकलाई अनुदान बढाउनुपर्ने बताए । ‘देशभर दैनिक सात लाख लिटर दूध खपत हुन्छ’ उनले भने, ‘संकलन पाँच लाख लिटर मात्रै छ, उत्पादन र बजार माग तुलना गर्दा दुई लाख लिटर दूध अपुग छ ।’ देशभर १८ सय ५५ वटा दुग्ध सहकारी संस्था छन् । उत्पादन लागतको आधारमा दुग्ध उत्पादक किसानलाई मर्का परेकोले किसानले पनि दूधको मुल्य वृद्धि गर्नुपर्ने माग राखेका छन् । ललितपुरमा दैनिक ४० हजार लिटर दूध बिक्रीबाट दुई लाख ४० हजार रुपैयाँ र बार्षिक एक करोड ५० लाख लिटर दूध उत्पादन हुन्छ भने बार्षिक ८५ करोड रुपैयाँभन्दा बढीको दूध बिक्री हुने गरेको छ । नागरिक दैनिकबाट ।
नयाँ व्यवस्थासँगै १५ सय उद्योग खारेज हुने प्रक्रियामा
काठमाडौं, १५ माघ । सरकारले अब नयाँ दर्ता स्वीकृत लिने उद्योगहरुले सञ्चालन अवधिको मापदण्ड तोकेको छ । औद्योगिक प्रवद्र्धन बोर्डमा बसेको बैठकले दर्ता भएको १० वर्षयभित्र सञ्चालनमा गर्नुपर्ने व्यवस्था गरेको हो । नयाँ औद्योगिक व्यवसाय ऐन २०७३ कार्यान्वयनका लागि गत मंगलबार उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बसेको बैठकले उद्योगको प्रकृति अनुसार सञ्चालन अवधि तोकेको हो । पुराना ऐनअनुसार दर्ता भएका तर सञ्चालनमा नआएका उद्योगहरु स्वत खारेज हुने प्रकृयालाई पनि अघि बढाएको छ । बैठकले पुरानो मापदण्डअनुसार सञ्चालनमा आएका उद्योगहरु पुरानै प्रक्रियामा सञ्चालन भएपनि नयाँ स्वीकृत लिने उद्योगका हकमा उद्योगको प्रकृतिका आधारमा कार्ययोजना तय गरिने छ । उद्योगीले पेश गरेको कार्ययोजनाका आधारमा समयसीमा तोक्न लागिएको उद्योग मन्त्रालयकी सहसचिव यमकुमारी खतिवडाले बताइन् । पछिल्लो बैठकले उद्योगदर्ताको लागि प्रकृतिअनुसार वर्गीकरण पनि गरेको छ । ठूला, मझौला तथा वैदेशिक लगानीका उद्योगका लागि उद्योग विभागका दर्ता गनुपर्नेछ भने साना तथा लद्यु, घरेलु उद्योग साना तथा घरेलु उद्योगमा दर्ता गर्नु पर्ने छ । त्यसैगरी विशेष आर्थिक क्षेत्र(सेज)मा स्थापना हुने स्वदेशी उद्योगमा सेजमा दर्ता प्रक्रियाका लागि सूचना प्रकाशित गर्ने योजना मन्त्रालयले बनाउन लागेको छ । उद्योगीले उद्योगमा लगानी गर्ने पूँजी र क्षेत्रको आधारमा उद्योगको वर्गीकरण गरिने छ । पुरानो व्यवस्थाअनुसार साना उद्योग पनि उद्योग विभागमै दर्ता हुँदै आएको थियो । उद्योगले पुरा गर्नुपर्ने मापदण्ड निर्माण गर्न उद्योग विभागका महानिर्देशकको संयोजनमा अर्थं, कृषि, पर्यटन, वन, वातावरण तथा स्थानीय विकास मन्त्रालयका प्रतिनिधिहरुको सहभागिमा कार्यदले बनाउन लागिएको खतिवडाले बताइन् । उद्योग मन्त्रालयले देशमा औद्योगिक वातावरण निर्माण गर्न अर्थात औद्योगिकरणका माध्यमबाट देशभित्रै रोजगारी सिर्जना गर्न, उत्पादकत्व बढाउन उद्योगीहरुलाई सहज र सरल हुने खालका नीतिगत व्यवस्था गर्न लागेको हो । बैठकले तय गरेका निर्णयहरुलाई मन्त्रीपरिषद्मा सिफारिस गर्ने बताइएको छ । पुरानो व्यवस्थाअनुसार दर्ता भएका तर, हालसम्म सञ्चालनमा नआएका करिब एक हजार पाँच सय उद्योग खारेज हुने प्रक्रियामा रहेको विभागका महानिर्देशक बैठकमा जानकारी गराएका थिए । नयाँ ऐन पारित भएसँगै दर्ता भएर १० वर्षसम्म पनि सञ्चालनमा नआएका उद्योगहरू खारेजीमा जानेछन् । सञ्चालनमा आएका उद्योगका हकमा पनि नयाँ नीतिगत व्यवस्था लागू गरिने भएको छ । तीन वर्षसम्म स्थिर पूँजी बढाउन नसकेका उद्योगहरुको हकमा आगामी बैठकले निर्णय गर्नेछ । नयाँ औद्योगिक ऐन पारित भएपनि लामो समयसम्म बोर्डको बैठक बस्न नसकेको भन्दै झण्डै दुई साताको छलफलपछि उक्त दिन बैठक बसेको हो र अब तालिका मिलाएर बोर्डको नियमित बैठक पनि वस्ने भएको छ ।
सिद्धार्थ डेभलपमेन्ट बैंकको डेपुटी सिईओमा पवन ढकाल नियुक्त
काठमाडौं, १४ माघ । सिद्धार्थ डेभलपमेन्ट बैंकले डेपुटी सिईओमा पवन ढकाललाई नियुक्त गरेको छ । बैंकले यसै साता ढकाललाई डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । ढकाल यसअघि कैलाश विकास बैंकको असिष्टेन्ट जेनरल म्यानेजर थिए । ढकालले करिब २५ वर्ष बैंकिङ् क्षेत्रमा बिताएका छन् । स्ट्याण्डार्ड चाटर्ड बैंकबाट बैंकिङ् करिअर शुरु गरेका ढकालले सो बैंकमा करिब ८ वर्ष बिताएका थिए । उनले माछापुच्छ्रे बैंकमा १४ वर्ष काम गरेका थिए भने कैलाश विकास बैंकमा साढे ३ वर्ष सेकेन्ड म्यानको भूमिका निर्वाह गरेका थिए । ढकालले कैलाश विकास बैंकबाट राजीनामा दिइसकेका छन् । करिब एक महिनापछि उनले सिद्धार्थ डेभलपमेन्ट बैंकको डेपुटी सिईओको जिम्मेवारी सम्हाल्ने छन् ।
नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटद्धारा सम्पति शुद्धिकरण सम्मेलन सम्पन्न
काठमाडौं, १४ माघ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले नेपालमा दोस्रो पटक सम्पति शुद्धिकरण विषयको सम्मेलन सम्पन्न गरेको छ । सो कार्यक्रमको उद्धघाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले त्यहाँ उपस्थित विभिन्न बैंकका १५० भन्दा बढी प्रतिनिधीहरुलाई सम्बोधन गरेका छन् । उनले एएमएलको महत्व बताउँदै यसको कुनै विकल्प नरहेको र यसबाट बैंक तथा वित्तिय संस्थाहरुले दिर्घकालीन स्थायित्व र लाभ लिन सक्ने कुराको जानकारी गराएका छन् । साथै, बैंकिङ्ग कर्मचारीहरु यस विषयमा सतर्क भई कुनै पनि हिसाबले सम्झौता हुन दिन नहुने बताए । त्यसैगरी नेपाल बैंकर्स संघका प्रमुख अनिल केशरी शाहले अबको बेला भनेको एएमएल सम्बन्धि विषयमा कर्मचारीहरुलाई दक्षता दिलाउने र प्रविधि विकासमा जोड दिने बताएका छन् । त्यसैगरि नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका अध्यक्ष तथा बैंक अफ काठमाडौं लुम्बिनिका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले नेपालको वर्तमान बैंकिङ्ग अवस्थालाई हेर्दा यो सम्मेलन निकै उचित समयमा हुन पुगेको र अहिलेको अवस्थामा वित्तिय क्षेत्रमा निक्षेपको अभाव भएको र निक्षेप लिनुपर्दा पनि एएमएलसम्बन्धि कुरालाई अनुसरण गरि अघि बढ्नुपर्ने बताए । त्यसैगरि उद्धघाटन सत्रमा नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र फिनटिलेक्टी, इन्डियाद्धारा नेपाली बैंकिङ्ग क्षेत्रमा गरिएको सम्पति शुद्धिकरण र आतकंवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि सर्बेक्षणको जानकारी गराएका छन् ।
वीरगन्ज औद्योगिक करिडोर विद्युत्भार कटौतीमुक्त हुने, थप ५० मेगावाट विद्युत् उपलब्ध
काठमाडौं, १४ माघ । सरकारले केहीदिनभित्रै वीरगन्ज औद्योगिक करिडोरलाई विद्युत्भार कटौतीमुक्त बनाउने भएको छ । भारतबाट आयात हुन लागेको थप ५० मेगावाट विद्युत् बारा पर्सा औद्योगिक करिडोरलाई नै उपलब्ध गराउने विषयमा वीरगन्ज उद्योग वाणिज्य सङ्घको टोलीलाई विश्वस्त तुल्याउँदै ऊर्जामन्त्री जनार्दन शर्माले छिट्टै विद्युत्भार कटौतीमुक्त गर्ने विश्वास दिलाएका छन् । वीरगन्जमा कार्यरत उद्योगी एवम् व्यवसायीको प्रतिनिधिमण्डललाई विश्वास दिलाउँदै मन्त्री शर्माले आफू औद्योगिक राजधानीलाई थप सवल बनाउन लागिपरेको र त्यसमा स्थानीयवासीको सकारात्मक पहल जरुरी रहेको बताए । ऊर्जा मन्त्रालयसँग नियमित छलफलमा रहेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले आफूहरु सरकारलाई सकारात्मक सहयोग गर्न तयार रहेको बताएका छन् । रक्सौल परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम आगामी साताभित्र सम्पन्न हुने क्रममा रहेको छ । सो अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात हुन लागेको छ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले रक्सौल परावनीपुर र कुशाहा कटैया अन्तरदेशीय प्रसारण लाइनमार्फत थप ५०/५० मेगावाट विद्युत् आयात गर्ने सहमति भएको छ । वीरगन्ज औद्योगिक करिडोरमा तत्काल नै विद्युत् उपलब्ध गराए एक सय मेगावाट विद्युत् खपत हुन सक्छ । वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले आफूहरुको प्रतिनिधिमण्डललाई मन्त्री शर्माले छिट्टै विद्युत्भार कटौतीमुक्त गरिने र भारतबाट आयात भएको विद्युत्लाई बारा, पर्साका उद्योगलाई नै उपलब्ध गराउने वचन दिएको बताए । वीरगन्ज औद्योगिक करिडोरलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री शर्माले काठमाडौँ उपत्यकापछि वीरगन्जलाई विद्युत्भार कटौतीमुक्त गर्ने प्रयासमा रहेको बताए । भारतीय ठेकेदार कम्पनी मोहन इनर्जीले निर्माण गरिरहेको रक्सौल परवानीपुर अन्तरदेशीय प्रसारण लाइनमध्ये टावर निर्माणको काम सम्पन्न भएको छ भने आठ किलोमिटर क्षेत्रमा तार तान्ने काम जारी रहेको आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले जानकारी दिए । विद्यमान ३३ केभी प्रसारण लाइनबाट हाल १० मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भारतबाट थप ५० मेगावाट विद्युत् आयात गरिने छ । यसले वीरगन्ज औद्योगिक करिडोर र आसपासका क्षेत्रलाई पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना नेपाल विद्युत् प्राधिकरणको छ । आयोजनाको सबैभन्दा विवादित बनेको चारवटा टावरको फाउन्डेसन निर्माण सम्पन्न भएको छ । कुल ८ दशमलव ५ किलोमिटर क्षेत्रमा तार तान्न बाँकी रहेको छ । भारतीय ठेकेदार मोहना इनर्जीले दैनिक दुई सत्रमा काम गरेर भए पनि यसै महिनाको अन्त्यसम्ममा प्रसारण लाइन निर्माण सम्पन्न गर्ने जानकारी आफूलाई दिएको आयोजना प्रमुख मुखियाले बताए । परवानीपुर क्षेत्रमा केही स्थानीयवासीले प्रसारण लाइन निर्माणमा अवरोध गर्दा आयोजना केही समय ढिला हुन पुगेको हो । गत पुसको २० गते ऊर्जा मन्त्री शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनास्थलको निरीक्षण गरी तोकिएको समयभन्दा पहिल्यै आयोजना सम्पन्न गर्न निर्देशन दिएका थिए। आयोजनालाई छिटो सम्पन्न गराउन वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष शर्माले आफूहरुले आयोजना निर्माणका लागि सहजीकरण गरिरहेको र आइपर्ने समस्या समाधानका लागि उद्योगीसमेत लागिपरेको बताए। रासस
स्वावलम्बन लघुवित्त विकास बैंकको १६ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं, १४ माघ । स्वावलम्बन लघुवित्त विकास बैंक लि.को १६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले इलाका कार्यालय विर्तामोड-झापा, इटहरी-सुनसरी, लहान-सिरहा, बर्दिवास-महोत्तरी, बीरगंज-पर्सा, गठ्ठाघर-भक्तपुर र घोराही-दाङ्गमा एक समारोहबीच वार्षिकोत्सव मनाएको हो । भक्तपुरमा आयोजित समारोहमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बैंकले सदस्यहरुको जीबनस्तर उठाएको, गरिबी न्यूनिकरण गर्न सहजीकरण गरेको, बित्तीय पहुँच नपुगेको स्थानमा लघुवित्त बैंकहरु पुगेकोमा खुसी व्यक्त गरेका छन् । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले ग्राहक सदस्यहरुलाई भरपर्दो सेवा पुर्याउन बैंक तत्पर रहेको बताए । समारोहमा बैंकमा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघु व्यवसायी, वचतकर्ता, केन्द्र प्रमुख तथा शाखा कार्यालयहरुलाई सम्मान गरिएको थियो । त्यस्तै, एसएलसी परीक्षामा ग्राहक सदस्यका उत्कृष्ठ छोराहरुबाट २ जना तथा छोरीहरु २ जना गरी जम्मा ४ जना छोराछोरीलाई नगद सहित सम्मान गरिएको थियो । साथै, कर्मचारीका छोरा छोरीहरु मध्ये एस.एल.सी. परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने ४ जनालाई नगद सहित सम्मान-पत्र प्रदान गरिएको थियो । बैंकले हाल ४९ जिल्लाका १२३ कार्यालय मार्फत २ लाख ९ हजार ७ सय ४७ ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ । बैंकको हाल लगानीमा रहिरहेको कर्जा ६ अर्व ९९ करोड रुपैयाँ रहेको छ ।