विकासन्युज

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा कैलालीमा

काठमाडौं, ६ असोज । ग्लोबल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कैलाली जिल्लामा थप २ वटा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बिहीबारदेखि बैंकले कैलाली जिल्लाको ओलानी र सोल्टामा उक्त सेवा शुरु गरेकोे हो । उक्त दुई सेवाको बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र तथा मसिन हस्तान्तरण गरेर उद्घाटन गरेका छन् । बैंकिङ्ग सेवा उपभोग गर्न टाढा सम्म धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बैंकले शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको बैंकले जनाएको छ । उक्त सेवाको सञ्चालन पछि स्थानिय बासिन्दाले घरदैलोबाटै सेवा उपभोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । बैंकले ओलानीमा शुरु गरेको सेवा सञ्चालनका लागि स्थानिय नविन बहादुर सिंह र सोल्टामा गरेको सेवाको लागि स्थानिय हिरादेवि जैसीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । कैलालीमा शुरु गरिएका २ सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ४४ पुगेको छ । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लगायतका सुबिधा रहेका छन् । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवा पुग्न नसकेका स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट आधारभुत बंैकिङ्ग सेवा पुर्याउदै आएको छ । यस संगै ग्लोबल आइएमई बैंकका ९१ शाखा, १०३ एटिएम र ४४ शाखारहित बैंकिङ्ग सेवा पुगेका छन् ।

दोलखाका चार हजार विद्युत् पोल जीर्ण अवस्थामा, ठूलो क्षति हुनसक्ने अनुमान

दोलखा, ६ असोज । नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाले जिल्लाभर चार हजार काठका पोल जीर्ण अवस्थामा रहेको जनाएको छ । जिल्लामा केही सातादेखि अनियमित रुपमा विद्युत् आपूर्ति गडबड भएपछि पछिल्लो समय प्राधिकरण दोलखा शाखा विवादमा फसेको थियो । शाखाका प्रमुख शेरबहादुर सुनुवारले जिल्लामा चार हजार काठका पोल जीर्ण अवस्थामा पुगेको र वर्षात्को समयमा धेरै पोल ढल्ने गरेकाले विद्युत् समय समयमा सर्ट हुने गरेको जानकारी दिए । लामोसाँघुबाट विद्युत् ल्याउन निकै समस्या भएको बताउँदै उनले वर्षात्को समयमा सबैभन्दा बढी विद्युत् अनियमितता हुने गरेको बताए । लामोसाघुदेखि मुडेसम्म जङ्गल हुँदै विद्युत् ल्याउनुपर्ने भएकाले पनि समस्या आएकाले समधानको लागि माथिल्लो निकायसँग छलफल भइरहेपनि कार्यान्वयन हुन सकेको छैन । चार हजार पोल फेर्नको लागि करिब १० करोड रुपैयाँ लाग्छ तर त्यत्तिको रकम कार्यालयले खर्च गर्नसक्ने अवस्था नभएको प्रमुख सुनुवारले जानकारी दिए । काठको पोल जीर्ण भएपछि जुनसुकै बेला ठूलो दुर्घटना हुनसक्ने भएकाले स्थानीयलाई सचेत रहन कार्यालयले आग्रह गरेको छ । जिल्ला विकास समितिलाई विद्युत् मार्फत आउने राजस्वको केही प्रतिशत विद्युत् प्राधिकरणलाई छुट्याउन आग्रह गर्दा पनि बेवास्ता गरेको कार्यालयको भनाइ छ । दोलखामा गम्भीर दुर्घटना हुनसक्ने नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाले विस्तार भएका विद्युत् प्रसारण लाइन जिर्ण भएका कारण दोलखामा गम्भीर दुर्घटना हुनसक्ने औँल्याइएको छ । आव २०७२/०७३ को प्रतिवेदनमा अनुसार कुनै पनि दिन, कुनै पनि क्षण प्रसारण लाइनको कारण गम्भीर दुर्घटना हुनसक्ने सो शाखाले जनाएको हो । प्रतिवेदन अनुसार जिल्लाका विभिन्न स्थानमा गाडिएको चार हजार काठको पोल जीर्ण अवस्थामा रहेको र फेरबदलको लागि कुनै पहलन बताइएको छ । जिल्लामा ३३ केभी प्रसारण लाइन रहेकामा नियमित विद्युत् आपूर्तिमा समस्या भइरहने, सिंगटी सवस्टेसन चालु हुननसक्दा ११ केभी प्रसारण लाइन समेत अवरुद्ध हुने गरेको शाखाका लेखाप्रमुख टेकबहादुर श्रेष्ठले जानकारी दिए । जिल्लामा ३३ केभी लाइन १३१ किलोमिटर, ११ केभी लाइन ३८३ किलोमिटर र ४००/२३० भोल्ट लाइन ०५२ किलोमिटर रहेको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा १० आंशिक र ११ पूर्णरुपले विद्युतीकरण हुन बाँकी गाविस रहेको र २७ गाविस र दुई नगरपालिकामा भने राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युतीकरण भएको त्यस्तै समुदायस्तरबाट चार गाविसमा विद्युतीकरण भएको र ती स्थानमा समेत पोल जीर्ण भए पछि कुनै पनि बेला दुर्घटना हुनसक्ने औँल्याइएको हो । रासस

अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक निर्देशकमा अधिकारी नियुक्त

काठमाडौं, ६ असोज । अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक निर्देशकमा शुदर्शनप्रसाद अधिकारी नियुक्त भएका छन् । भदौ २५ गते बसेको कम्पनीको १६औँ सञ्चालक समितिको बैठकले अधिकारीलाई दोश्रो कार्यकालका लागि संस्थापक निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । अधिकारीले आगामी चार बर्षसम्म कम्पनीको संस्थापक निर्देशकको जिम्मेवारी सम्हाल्नेछन् । कम्पनीले संस्थापक निर्देशकमा अधिकारी रहेको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको छ ।

साढे २ प्रतिशतले घट्यो रेमिट्यान्स

काठमाडौं, ६ असोज । चालु आर्थिक वर्षको पहिलो एक महिनामै रेमिट्यान्स भित्रिने क्रम घटेको छ । साउन महिनामा रेमिट्यान्स आउने क्रम दुई दशमलब ५ प्रतिशतले घटेर ५१ अर्ब ५१ अर्ब ९४ करोडमा सिमित भएको हो । गत आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स २६ दशमलब ३ प्रतिशतले बढेको थियो । रेमिट्यान्स घटेपछि खुद ट्रान्सफर आय पनि २ दशमलब ५ प्रतिशतले कम भएर ५९ अर्ब ७९ करोड रुपैंयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २९.७ प्रतिशतले बढेको थियो ।

परिसूचक र कारोबार दुबै ओरालो लाग्दा दुई कम्पनीको सेयर मूल्य १०% ले वृद्धि

काठमाडौं, ६ असोज । बिहीबार नेप्से परिसूचक १२ अंकले घटेर १७६६ अंकमा पुगेको छ । सेयर बजारमा परिसूचक सँगै कारोबार रकम पनि घटेको छ । सो दिन १४० कम्पनीको जम्मा ९ लाख १६ हजार कित्ता सेयर कारोबार भएको छ । बिहीबार ९० करोड रुपैयाँको करोबार भएको छ । जुन बुधबारको तुलनामा ४ करोड रुपैयाँले घटी हो । बजारमा एभरेष्ट बैंक कन्भर्जन अफ प्रिफेरेन्स र यूनाइटेड फाइनान्स कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै वेष्ट्रर्न डेभलपमेन्ट बैंकको करिब ८ प्रतिशतले सेयर मूल्य बढेको छ । किसान माइक्रोफाइनान्स वित्तिय संस्था र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब ५ प्रतिशतले घटेको छ । बिहीबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँको र शिखर इन्स्योरेन्स कम्पनीको ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र सानिमा बैंकको ४ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

रोयल इनफिल्डको हिमालयन बाइक नेपालमा, मूल्य ५ लाख ६१ हजार

काठमाडौं, ६ असोज । रोयल इनफिल्डको हिमालयन मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । नेपालको एडभेञ्चर टुरिजमका लागि भन्दै दुगड समुहले हिमालयन मोटरसाइकल नेपाली बजारमा भित्र्याएको हो । ५ लाख ६१ हजार रुपैंयाँ पर्ने एलएस ४१० मोटरसाइक बिशेष नेपालका लागि निर्माण गरिएको हो । उकालो, ओरालो, जंगल र हिमाली सडकहरुका लागि बिशेष फिचरसहित निर्माण गरिएको हिमालयनले नेपालको पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्ने कम्पनीले दावी गरेको छ । रोयल इनफिल्डको हिमालयन प्रोजेक्ट लिडर प्रदिप भ्याथ्युले १५ लिटरको पेट्रोल ट्यांकी रहेको त्यसले ४५० किलोमिटर माइलेज दिने बताए । बलियो टायर, शक्तिशाली फ्रन्ट तथा ब्याक ब्रेक सहित सफट् लगेज, जेरि क्यान अड्काउने ठाउँ र डिस्क ब्रेकको सुबिधा यसमा रहेको छ । नेपालको बजार अनुसन्धान गरेरै हिमालयन मोटरसाइकल नेपाल भित्र्याएको दुगड समुहका अध्यक्ष मोतीलाल दुगडले बताए । रोयल इनफिल्ड हिमालयनले मोटरसाइकल पारखीहरुका लागि नयाँ आयाम थप्ने कम्पनीले दावी गरेको छ । सन १९०१ मा पहिलो पटक मोटरसाइकल निर्माण गरेको कम्पनीले भारतको आइसर कम्पनीसँग जोइन्ट भेञ्चरमा मोटरसाइकल उत्पादन गर्दै आएको छ । नेपालमा रोयल इनफिल्डका ८ वटा शोरुम रहेका छन् । नेपालमा रोयलको बुलेट ३५० सीसी, थण्डरभोल्ट ५०० सीसी, कन्टिनेन्टल ५३५ सीसी र क्याफे रेसर र हाल भित्रिएको हिमालयन लगायतका मोटरसाइकलहरु बिक्रि भैरहेका छन् ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने

काठमाडौं, ६ असोज । हेटौंडा कपडा उद्योग पुनः संचालन गर्ने सम्वन्धमा वस्तुस्थितिको अध्ययन गरी १५ दिनभित्र सुझावसहित प्रतिवेदन पेश गर्न अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको छ । समितिले उद्योग पुनः सञ्चालनका लागि उपयुक्त मोडालिटी, प्रक्रिया, मेशिन र पूर्वाधारको अवस्था, उद्योगमा हुन सक्ने लगानीका विकल्पहरु र उद्योगबाट हुने उत्पादनको लागि बजारको सम्भाव्यता अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने छ । समितिमा अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनी, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुषाल, नेपाली सेनाको प्रतिनिधि, नेपाल प्रहरीको प्रतिनिधि, सशस्त्र प्रहरीको प्रतिनिधि एवं निजी क्षेत्रबाट रामएकबल यादव, अजय मुडबरी र विना गौतम श्रेष्ठ सदस्य रहेका छन् । सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार हालै मात्रै रुग्ण बनेको नेपाल औषधि लिमिटेडलाई पुनः सञ्चालनको निर्णय गरेको सरकारले आफ्नो पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग पनि पुनः सञ्चालनको तयारी थालेको हो । यो उद्योग २०५७ साल देखि बन्द छ । यस उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्न सक्ने क्षमता छ ।

सुपथ मूल्य पसलमा नै कम तौलको सामान

काठमाडौं, ६ असोज । चाडबाडलाई लक्षित गरी सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा नै कम तौलको सामान भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा साल्ट ट्रेडिङले जावलाखेलमा राखेको पसलमा दुई किलोको चिनीको प्याकेटमा २० ग्राम कम भेटेपछि विभागले सामान तौलेर मात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ । दुई हप्तादेखि रोकिएको बजार अनुगमन मङ्गलबारदेखि विभागले पुनःतीव्र पारेको छ । गत शनिबारदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । विभागले आज १७ वटा पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन गरेका, सरकारले तोकेअनुसारको मूल्यसूची नराखेको र सरसफाइ नगरेको भन्दै श्री पोखरा फार्मेसी गोँगङ्बु, आमिन फार्मेसी गोँगङ्बु, कामना फार्मेसी गोंगङ्बु, युनिभर्सल फार्मेसी टोखा, श्री जय माँ लक्ष्मी मेडिकल हल टोखा, गोसाइँकुण्ड स्वास्थ्य सेवा केन्द्र गोंगङ्बु, श्री पाटन ओम पोलिकिल्निक लगनखेल, फेमेली माइल डेन्टल केयर सेन्टल लगनखेललाई मूल्यसूची राख्न, दर्ता गरी सञ्चालन गर्न निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । विभिन्न स्थानका खाद्य पसलमा गरिएको अनुगमनमा नापतौल मेसिन नभएको, मिति नाघेको खाद्य सामग्री भेटिएको, लेबल नभएको र सरसफाइ नभएको हुँदा श्री पसलमा सेजवाल डिपार्टमेन्टल स्टोर जावलाखेल, भाटभटेनी सुपर स्टोर बौद्ध, मेघा मार्ट खुमल्टार, श्री राम स्टोर खुमल्टारलाई मिति सकिएको सामग्री बिक्री वितरण रोकी नापतौल मेसिन राख्न निर्देशन दिइएको छ । बाजेको सेकुवा प्राली बत्तिसपुतली, बाजेको सेकुवा प्राली सिनामङ्गल, श्री बाजेको सेकुवा, कमलपोखरीलाई सरसफाइ गरी पसल सञ्चालन गर्न निर्देशन दिइएको छ । रासस