शून्य लगानीमा महानगरको सडक झिलिमिलि बन्दै, साथमा वार्षिक ३ करोड राजश्व आम्दानी पनि
काठमाडौं । आईडिया लगाउनुपर्छ, शून्य लगानीमा पनि पूर्वाधार विकास गर्न सकिन्छ । साथै, त्यही पूर्वाधारबाट वार्षिक करोडौ रुपैयाँ आम्दानी गर्न सकिन्छ । यो सपना होइन, कथा सुनाएको पनि होइन, वास्तविकता हो । र, टाढाको कुरा पनि होइन, राजधानीको सडकमा भईरहेको वास्तविकता । राजधानीका मुख्य सडकहरुमा अहिले धमाधम सोलार वत्तिसहितको पोल गाडीदैँ छ । काठमाडौं महानगरपालिकाको सडकमा राखिदैँ गरेका यी सोलार बत्ति र पोलमा महानगरपालिकाले एक रुपैयाँ पनि लगानी गरेको छैन । नेपाल सरकार वा विदेशी दाताले अनुदान दिएका पनि छैनन् । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार काठमाडौ उपत्यकाको थापाथली, माइतीघर, कोटेश्वर, चाबहिल, टेकु, कालीमाटी, त्रिपुरेश्वर लगायतका महानगरभित्रको प्रमुख सडकहरुमा सोलार बत्ति राखिदैछ । यी सडकमा १२८५ वटा पोलमा सोलार बत्ति राखिदैछ । सरकारी-निजी साझेदारी (पब्लिक प्राइभेट पार्टनरसीप) मोडलमा सडकमा सोलार बत्ति राख्दा महानगर वा सरकारको तर्फबाट लगानी शून्य छ । रोशन श्रीवास्तव यो पूर्वाधार निर्माण गर्दा सरकारको लगानी शुन्य मात्र भएन, उल्टै तिनै सडक बत्तिबाट महानगरले वार्षिक १ करोड ३४ लाख रुपैयाँ रोयल्टी पाउने छ । त्यस्तै वार्षिक २ करोड ५० भन्दा बढी विज्ञापन शुल्क आर्जन हुनेछ । लोडसेडिङका कारण सडक अध्यारो भएको बेलामा उज्यालाे नेपाल कार्यक्रम अन्तर्गत यो परियोजना अगाडि बढेको हो । ‘त्यतिबेला नै यो काम भएको भए यसको प्रभावकारीता धेरै हुने थियो । अहिले पनि यसको महत्व धेरै छ’ सोलार बत्ति राख्ने जिम्मा पाएको विके ट्रेडर्स कम्पनीका प्रबन्ध निर्देशक रोशन श्रीवास्तवले भने । सरकारी-निजी साझेदारीमा यसरी काम गर्न सकिन्छ भनेर मैले नै महानगरपालिकालाई अवधारण बुझाएको थिए । महानगरले पहिले टेण्डर गर्यो । मैले पाएँ । ‘यो प्रजेक्ट सम्पन्न गर्न मैले सरकारसँग एक रुपैयाँ पनि लिएको छैन, सबै मैले नै लगानी गरेको छु । व्यवसायसँगै देशको हितमा केही काम गर्ने सोचका साथै मैले जोखिम लिएर पनि ५० करोड भन्दा बढी लगानी गर्ने निर्णयमा पुगेँ’ उनले भने । निजी क्षेत्रले बनाएको पोल र सोलारको गुणस्तर कस्तो हुन्छ ? श्री वास्तव जोशिदै भने-‘सार्क सम्मेलनअघि राखिएको जस्तो ६ महिनापछि बत्ति नबल्ने सोलार हुँदैन । पाउडर पुटेड पोल राखिएको छ । २५ वर्षसम्म पोलको वारेन्टी छ । आगो लागे पनि केही हुँदैन । लिथिइम भ्याट्री प्रयोग भएको छ । काठमाडौंमा १० दिनसम्म झरी परेपनि राती बत्तिको उज्यालोमा कमी आउँदैन ।’ उनले थपे-जहाँ मैले सोलार बत्ति जडान गरेको छु, त्यो सडकमा तपाईले हेडलाईट नबाली राती पनि गाडी कुदाउन सक्नुहुन्छ ।’ उनका अनुसार पोलमा जडान गरिएको बल्बको पावर ५० वाटको हुने हुनाले हेडलाईट नबालीकन सहजै मोटर हाँक्न सकिने छ । यसरी पोल राखेबापत कम्पनीले १० वर्षसम्म हरेक पाेलमा ३ फिट वाई ४ फिटको विज्ञापन बोर्ड झुण्डाउनेछ । विज्ञापन स्पेस बिक्री गरेर कम्पनीले आम्दानी गर्ने छ । ‘८ वर्षमा मेरो लगानी उठ्छ, दुई वर्षको कमाई मलाई नाफा हुन्छ’ उनले भने । ‘पोल राखेबाफत रोयल्टी प्रतिपोल ८ हजार ७ सय रोयल्टी रुपैयाँ र प्रति विज्ञापन शूल्क ७ हजार २ सय राजस्व वार्षिक रुपमा महानगरपालिकालाई तिर्दै गरी सम्झौता गरेको उनले बताए । पोल निर्माणदेखि १० वर्षसम्म मर्मत खर्च पनि आफैले गर्ने उनले बताए । ‘मैले १० वर्षसम्म विज्ञापनबाट पैसा कमाउने हो । तर विद्युत प्राधिकरणको पोलमा विज्ञापन राख्ने र मलाई दुःख दिने प्रयास शुरु भएको छ । राम्रो काम गर्नेलाई दुःख दिन्छन् ।’ महानगरका सडकका अन्य पोलमा विज्ञापन राख्न नपाउने सहमति भएको उनले बताए । सम्झौता अनुसार १८ महिनामा निर्माण कार्य सम्पन्न गर्नु पर्ने हो । सम्झौता भएको ८ महिनामा ७० प्रतिशत काम सकिएको उनले बताए । ‘करिव ५० करोड लगानी हुँदै छ । बैंकबाट कर्जा लिएर काम गरेको छु’ २९ वर्षिय युवा उद्यमी श्रीबास्तवले भने । विके ट्रेडर्स कम्पनीले सम्झौता अनुसार नै काम गरिरहेको महानगरका प्रवक्ता कार्कीले बताए ।
तीन दशकमा बाढी पहिरोले साढे ५३ खर्बको क्षति पुर्याउने
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) र जलवायु परिवर्तसम्बन्धी अनुसन्धान गर्दै आएको संस्था (पीआइके) ले संयुक्त रूपमा गरेको अध्ययनले यस्तो देखाएको हो । बाढी पहिरोले चर्को खाद्यान्न संकट पर्न सक्ने अनुमान गरेको छ । अध्ययनअनुसार चीनको ग्वाङजाओ, तियन्जिन, सेन्झेन, झान्जियाङ, सियामेन, भारतको मुम्बई, चेन्नाई, मद्रास, सुरत, कोलकाता, भियतनामको होचीः मिन्ह, इन्डोनेसियाको जाकार्ता, थाइल्यान्डको बैंकक र जापानको नागोयामा ठूलो क्षति पुग्ने अध्ययनले देखाएको हो । यो अवधिमा एसियाली देशमा मात्र ७० लाख बालबालिकामा कुपोषण हुनेछन् र पछिल्ला वर्षहरूमा १५ अर्ब अमेरिकी डलरबराबरको खाद्यान्न सहयोग जुटाउनु पर्नेछ । जलवायु परिवर्तनका कारण चीनको उत्तरी क्षेत्र, पाकिस्तान, अफगानिस्तान, ताजकिस्तानलगायत देशको तापक्रम भने अहिलेको भन्दा ८ डिग्री बढ्ने देखाएको छ । बढ्दो तापक्रमले निम्त्याउने बाढी पहिरोलगायत अन्य प्राकृतिक प्रकोपबाट एसियाली देशसहित विश्वमा ठूलो जनधनको क्षति हुने अनुमान गरिएको छ ।
अरुण फाइनान्सको साउन ९ गते बुक क्लोज
काठमाडौं । अरुण फाइनान्सको आगामी साउन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले सेयर धनीहरुलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको छ । सो प्रयोजनको लागि साउन ९ गते कम्पनीको बुक क्लोज हुन लागेको हो ।
असार सकियो, चालीस प्रतिशत खेत अझै बाँझै
भक्तपुर । मनसुन कमजोर भई पर्याप्त वर्षा नभएपछि असार सकिए पनि भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी छ । अघिल्ला वर्षमा असारको अन्तिम साता नै रोपाइँ सकिने भक्तपुरमा यस वर्ष मनसुन कमजोर भई पर्याप्त वर्षा नहुँदा असार सकिए पनि जिल्लामा ४० प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको दुई मुख्य खोला मनोहरा र हनुमन्तेका साथै खस्याङ, खुसुङखोला किनारको फाँटमा सिँचाइको सहज सुविधा भएपनि सिरुटार, दधिकोट, गुण्डु, सिपाडोल, ताँथली, सुडाल, नंखेललगायत गाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । मनसुन कमजोर भई आवश्यकमात्रामा वर्षा नभएपछि कृषक सुक्खा जमिनमा भए पनि रोपाइँ गर्न बाध्य छन् । बीउ छिपिएर खेर जान लागेपछि सुक्खा जमिनमा भए पनि धान रोप्नु परेको उनीहरु बताउँछन् । परम्परागत राजकुलो मासिएका कारण रोपाइँमा असर गरेको कृषकको गुनासो छ । असार सके पनि रोपाइँ गर्न नपाएका चाँगुनारायण नगरपालिका–९, ताथलीका कृषक हरि छुकाले यसपाली मनसुन एकदमै कमजोर भएका कारण ताथली क्षेत्रमा अझै रोपाइँ गर्ने जग्गा बाँझै रहेको जानकारी दिए । “बीउ छिप्पीसक्यो, अहिलेसम्म रोपाइँ शुरु गर्न पाएको छैन । वर्ष दिन खानका लागि रोप्ने धान समयमा रोप्न नपाएपछि कृषक चिन्तित भएका छन्”– उनले भने । सूर्यविनायक नगरपालिका–६, कटुञ्जेका अर्का कृषक सञ्जय खड्काले अघिल्ला वर्षमा असारको दोस्रो सातासम्म रोपाइँ सकिसक्ने खेतमा यसपाली मनसुन साह्रै कमजोर भएका कारण असारको अन्तिमसम्म रोपाइँ शुरु गर्न नसकेको बताए । उनले बढ्दो शहरीकरणसँगै जग्गा प्लटिङ गर्नेले पुख्र्यौली राजकुलो बन्द गरेका कारण रोपाइँमा समस्या आएकाले आकाशे पानीको भर पर्नुपरेको गुनासो गरे। सिँचाइका लागि खोलानाला, पोखरी नजिक भएका स्थानमा पम्पसेट मार्फत सिँचाइ गरेर रोपाइँ गरिएको तर आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने ताथली, सुकाल, सिरुटार, गुण्डु, नंखेल, कटुञ्जे, दधिकोट, दुवाकोट, चाँगु, सिपाडोल र चित्तापोल क्षेत्रमा अझै रोपाइँ बाँकी भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुंगानाले जानकारी दिए । उनले यस वर्ष भक्तपुरमा पानी नभएका कारण सुक्खा धान रोप्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै रोपाइँकै लागि कृषि कार्यालयबाट जिल्लाका चारैवटा नगरपालिकामा समेट्ने गरी कृषकको समूहमा २० वटा पानी तान्ने पम्प वितरण गरेको जानकारी दिए। जिल्लाकोे ११ हजार १०६ हेक्टर खेतीयोग्य जमिनमध्ये चार हजार ३४८ हेक्टरमा धानखेती गरिन्छ । भक्तपुरमा वार्षिक २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । भक्तपुरमा प्रतिहेक्टर छ दशमलव दुई टन धान उत्पादन हुने गरेको छ जुन नेपालको समग्र उत्पादन प्रतिशतभन्दा दोब्बर हो । रासस
भृकुटी स्टक कम्पनीले तीन दिन सेयर कारोबार गर्न नपाउने
काठमाडौं । भृकुटी स्टक कम्पनीले अाजदेखि तीन दिन सेयर कारोबार गर्न नपाउने भएको छ । उक्त कम्पनीले कारोबार राफसाफमा लापर्वाही गरेकाले आइतबारदेखि तीन दिनसम्म कारोबार गर्न नपाउने भएको हाे । धितोपत्र दलालले लगानीकर्ताको रकम समयमा भुक्तानी गर्न नसकेकोले नेप्सेले आगामी मंगलबार(साउन ३ गते)सम्म कम्पनीको कारोबारमा रोक लगाएको हो ।
तीन गाउँपालिका र एक नगरपालिकाको आय-व्यय विवरण पारित
धादिङ । दुई नगरपालिका र ११ वटा गाउँपालिका भएको धादिङमा आर्थिक वर्षको अन्तिम दिनमा आइपुग्दा तीन गाउँपालिका र एक नगरपालिकाले शनिबार चालु आर्थिक वर्षको आय-व्यय विवरण पारित गरेका छन् । अन्य गाउँपालिका र नगरपालिकाले आव शुरु हुनुपूर्व नै आय-व्यय विवरण प्रस्तुत गरी गाउँ र नगरसभाले पारित गरेर लागू गर्नुपर्नेमा निर्वाचित जनप्रतिनिधि अलमलमा परेकाले समयमै सभा सम्पन्न हुन नसकेको हो । थाक्रे गाउँपालिकाले ३३ करोड ७१ लाख ६० हजार रुपैयाँको आय-व्यय विवरण पारित गरेको छ । सिद्धलेक गाउँपालिकाले ३० करोड ५० लाख रुपैयाँ र गल्छी गाउँपालिकाले २७ करोड १६ लाख रुपैयाँको आय-व्यय विवरण पारित गरेको छ । नीलकण्ठ नगरपालिकाले रु ६९ करोड १४ लाख २८ हजारको आय-व्यय विवरण प्रस्तुत गरेको छ । आय-व्यय विवरण पारित गर्न सरकारले असार १५ गतेसम्म समय उपलब्ध गराएकामा केही गाउँपालिकाले कर्मचारी अभावमा समयमै काम सम्पन्न गर्न नसकेको जनाएको छ । आवको सुरुको दिनदेखि नै नियमित कामकाज गर्नुपर्ने भएकाले समयमै बजेट ल्याउन लागिपरेको गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिनाले बताए । धुनीबेँशी नगरपालिकाले कार्यकारी अधिकृत र लेखाअधिकृत नभएकाले बजेट निर्माण गर्न नसकेको जनाएको छ । सरकारले वर्षको अन्तिम दिनमा मात्र कर्मचारी पठाएकाले अब एक सातामै आय-व्यय विवरण प्रस्तुत गरिने त्यहाँका नगरप्रमुख बालकृष्ण आचार्यले जानकारी दिए ।
सगरमाथा फाइनान्स प्राप्ति पश्चात सेञ्चुरी बैंकद्धारा एकीकृत कारोबार शुरु
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले “ग” वर्गको सगरमाथा फाइनान्सलाई प्राप्ती (एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गरेको छ । काठमाडौंमा सम्पन्न एक समारोहका बीच उक्त एकीकृत कारोबारको शुभारम्भ अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरेका हुन् । सेञ्चुरी कमर्सियल बैंकले ८ अर्ब पूँजी पुर्याउने शिलसिलामा उक्त फाइनान्सलाई एक्वाएर गरेको हो । एकीकृत कारोबार पश्चात् बैंकको जारी पुँजी ५ अर्ब ४६ करोड रुपैयाँ तथा ६६ वटा शाखाहरु हुनेछन् । निकट भविष्यमा नै बैंकले अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्ससंग एकीकृत कारोबार गदैछ भने ४० प्रतिशत हकप्रद शेयरका लागि आव्हान पत्र प्रकाशित गरिसकेको छ । सम्पूर्ण प्राप्तीहरु, हकप्रद तथा चालु आ.व.को मुनाफाबाट यसरी सेञ्चुरी बैंकले तोकिएको ८ अर्ब पुँजी पुर्याउदै छ । एकीकृत कारोबार पश्चात् देशभर सेञ्चुरी बैंकको शाखाहरु ९० वटा हुनेछन् ।
तीन आयोजनाबाट ३० मेगावाट विद्युत् थप हुँदै
चौतारा । वि.सं २०७४ मा निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोक जिल्लाका तीन जलविद्युत् आयोजनाबाट थप २९.६ मेगावाट विद्युत् उत्पादन भई राट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । वैशाख १२ गतेको भूकम्प, भारतीय नाकाबन्दी र बाढीपहिरोले क्षति पुर्याइ बन्द भएको ४२ मेगावाटको बराम्ची जलविद्युत् आयोजना, लक्ष्यभित्र सम्पन्न हुन नसकेका २२ मेगावाटको चाकु ए र ३२ मेगावाटको गेलुङ खोला आयोजना चाँडै नै सम्पन्न भएपछि थप विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको हो । वि.सं २०७२ वैशाखमा सम्पन्न गरिने लक्ष्य रहेको भोटेकोशी करिडोरअन्तर्गत शिवश्री हाइड्रो पावरद्वारा निर्माण भइरहेको २२ दशमलव २ मेगावाटको चाकु ए आयोजना आगामी माघ महिनामा सम्पन्न गरिने कार्यकारी निर्देशक उमेश कसजुले बताए। सो आयोजना सम्पन्न हुने बेलामा भूकम्पले ठूलो क्षति पुर्याएपछि दुई वर्ष ढिलाइ भएको हो । पुनःनिर्माणको काम अगाडि बढाइरहेकै अवस्थामा नाकाबन्दी र गत वर्ष असार तेस्रो साता तिब्बतबाट भोटेकोशीमा आएको बाढीले बाह्रबिसे–तातोपानी २६ किमी सडकखण्ड ध्वस्त भई लामो समयसम्म यातायात बन्द भएको थियो । हाल सो आयोजनाको काम तीव्ररुपमा भइरहेकाले आगामी माघसम्म सम्पन्न भई विद्युत् उत्पादन हुने बताइएको छ । जुगल गाउँपालिकाअन्तर्गत हगामस्थित ३१ मेवाको गेलुङ खोला आयोजनाबाट आउँदो असोज महिनाभित्र विद्युत् उत्पादन हुनेछ । त्यसलाई भूकम्प र बाढीपहिरोको असरले गर्दा निर्धारित समयभन्दा दुई वर्षपछि सम्पन्न भएको हो । निजी क्षेत्रबाट सञ्चालित ४२ मेगावाटको बरम्ची खोला आयोजना भूकम्पबाट क्षति पुगेपछि विगत दुई वर्षदेखि बन्द छ । सो आयोजनालाई आगामी कात्तिकसम्म पूर्ण रुपमा सञ्चालनमा ल्याइने भएको छ । विनाशकारी भूकम्प र बाढीका कारण सञ्चालनमा आइरहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना विगत दुई वर्षदेखि बन्द छ । रासस