विकासन्युज

सभामुख घर्तीको एक हप्ते भ्रमण रद्द

काठमाडौं, ४ कात्तिक । सभामुख ओनसरी घर्तीले स्विजरल्यान्डको जेनेभामा आयोजना हुने इन्टरनेसनल पार्लियामेन्ट्रियन युनियनको बैठकमा भाग लिन जानुहुने कार्यक्रम रद्द गरेकी छन् । मुलुकमा उत्पन्न विशेष राजनीतिक कारणले उनले साताव्यापी आफ्नो भ्रमण रद्द गरेको उनका प्रेस सल्लाहकार वासुदेव शर्मा (बबिन)ले जानकारी दिए । सभामुख घर्तीसहित सो बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (एमाले)को प्रमुख सचेतक भनुभक्त ढकाल, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक टेकबहादुर बस्नेत सहित संसद् सचिवालयका पदाधिकारी सो कार्यक्रममा जाने कुरा थियो। उनीहरु भोलि त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम रहेको थियो । व्यवस्थापिका–संसद्मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संयुक्त रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्की विरुद्धमा बुधबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । दर्ता भएको सो महाअभियोगलाई संसद्मा कसरी प्रवेश गराउने भन्ने विषयमा उच्च राजनीतिक नेतृत्वका बीच कुराकानी भइरहेकाले व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँच गरी स्थगित भएको थियो । रासस

साताको अन्तिम दिन सेयर बजारमा हरियाली, परिसूचक र कारोबार दुबैमा सुधार

काठमाडौं, ४ कात्तिक । यो साताको शुरुवात देखिनै राताम्मे भएको सेयर बजारले अन्तिम दिन भने हरियाली छाएको छ । बिहीबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार भएको छ । परिसूचक ६ दशमलब ५८ अंकले उकालो लागेर १७९४ दशमलब ४७ अंकमा पुगेको छ । बुधबारको तुलनामा बिहीबार करिब १५ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १२६ कम्पनीको ७ लाख ८७ हजार कित्ता सेयर ७० करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन होटल, उत्पादनमूलक र फाइनान्स समूह बाहेक बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १२७ अंकले उकालो लागेको छ । त्यस्तै सबैभन्दा बढी होटल समूहको परिसूचक ४२ अंकले ओरालो लागेको छ । बजारमा एभरेष्ट बैंक र शिखर इन्स्योरेन्सको ६ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ६ करोड ३० लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको ६ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । स्ट्याण्डर्ड चार्टड बैंकको ५ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्था र कामना विकास बैंकका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । स्वरोजगार लघु वित्त विकास बैंकका लागानीकर्ताले करिब ६ प्रतिशत गुमाएको छन् ।

नेपाल अण्डामा आत्मनिर्भर बन्दै, वार्षिक एक अर्ब २० करोड अण्डा उत्पादन

काठमाडौं, ४ कात्तिक । पशुपन्छी विकास मन्त्रालयले मुलुक अण्डामा आत्मनिर्भर भएको घोषणाको तयारी गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो समयमा देशका विभिन्न ६२ जिल्लामा एक अर्ब २० करोड अण्डा वार्षिक उत्पादन भएको छ । सो सङ्ख्या स्थानीय कुखुराबाट उत्पादन हुने अण्डा बाहेकको सङ्ख्या हो । राष्ट्रिय जनगणनाबाट प्राप्त भएको तथ्याङ्क तथा ती जिल्लामा गरिएको सर्भेक्षणको प्रतिवेदनको अध्ययन चाँडै गरिनेछ । त्यसको अध्ययनपछि घोषणा गरिने तयारी भएको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले जानकारी दिए। सरदर प्रतिव्यक्ति प्रतिवर्ष ४८ गोटा अण्डा खाने अवस्थामा पुगेपछि आत्मनिर्भरका लागि मापदण्ड पूरा हुनेछ । त्यसमा कति मानिस साकाहारी भई अण्डा नखाने तथा केहीले मापदण्डभन्दा बढी खान सक्ने हुन्छन् । त्यो गणना औसतमा निकालिन्छ । चितवन जिल्ला कुखुराको अण्डा तथा मासु उत्पादनमा अग्रणी मानिन्छ । रासस

सिटी एक्सप्रेस मनी ट्रान्सफरको दोस्रो साप्ताहिक उपहार आशिष पौडेललाई

काठमाडौं, ४ कार्तिक । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैं तिहार–छठको उपलक्ष्यमा प्रस्त’त गरेको उपहार योजनाका दोश्रो साप्ताहिक विजेताको घोषणा गरेको छ । साताका दोश्रो भाग्यशाली उपहार ३२ इन्च एल.इ.डि. टेलिभिजन आशिष पौडेलले पाएका छन् । उनले कतारबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत नेपालमा आफन्तलाई रकम पठाएका थिए । कम्पनीले “सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस”उपहार कार्यक्रमबाट हरेक हप्ता १ जना भाग्यशाली विजेतालाई ३२ इन्च एल.इ.डि. टेलिभिजन उपहार दिने घोषण गरेको थियो । यो योजनाबाट १ जना भाग्यशाली विजेताले कार्यक्रमको अन्त्यमा काठमाडौँमा नै ४ आना घडेरी जित्न सक्ने जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरल विगत १० वर्षदेखि विदेशबाट नेपालमा पैसा पठाउने तथा नेपालमा रकम प्राप्त गर्ने मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको छ ।

केल्भिनेटर एसी अब नेपाली बजारमा

काठमाडौं, ४ कात्तिक । नेपालको एक मात्र आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्र्तगत इ.ओ.एल. कम्पनीले केल्भिनेटर (अमेरिकन प्रविधि) एसी नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले पहिलो पटक नेपाली ग्राहकहरुको माझमा उक्त ए.सी. भित्र्याएको हो । कम्पनीले यसअघि चेष्ट फ्रिजर, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन जस्ता घरायसि सामाग्री भित्र्याएको थियो । ग्राहकहरुको मन जित्न सफल केल्भिनेटर ब्राण्डले फेरिपनि ग्राहकहरुको मन जित्न ए.सी भित्राएको हो । कम्पनीका अनुसार यो ए.सी १.० टन र १.५ टन गरी दुई वटा मोडलहरुमा उपलब्ध छन् । अमेरिकन प्रविधिबाट निर्मित उक्त ए.सीमा इन्स्ट्यान्ट हिट (तुरुन्तै तातो गर्ने), टुर्बो कुल (तुरुन्तै चिसो गर्ने), गोल्ड फिन, एन्टी ब्याक्ट्रियल तथा सिल्भर लोन फिल्टर, लोयूभर स्टेप कन्ट्रोल (हावा को दिशा लाई कन्ट्रोल गर्न सकिने) तथा रिमोट मा नाइट ग्लो बटम र सबै भन्दा महत्वपूर्ण कम भन्दा कम विद्युत खपत गर्ने जस्ता विशेषता रहेका छन् । यस ए.सी बजारमा पाईने अरु ए.सीहरु भन्दा भिन्न रहेको कम्पनीको दाबी छ ।

स्ट्याण्डार्ड चाटर्ड बैंकले ३५ प्रतिशत लाभांश दिने, एफपिओ पनि जारी गर्ने

काठमाडौं, ४ कात्तिक । स्ट्याण्डार्ड चाटर्ड बैंकले सेयरधनीलाई ३५ दशमबल ८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ३३ दशमलब ३३ प्रतिशत बोनसका साथै कर प्रयोजनको लागि १ दशमलब ७५ प्रतिशत नगद लाभांश सहित सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निणर्य बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ३ अर्ब ७३ करोड रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर करिब ३ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । साथै बैंकले प्रिमियम मूल्यमा एफपिओ जारी गर्ने निणर्य गरेको छ । तर बैंकले अहिले सम्म कति अनुपातमा एफपिओ जारी गर्ने भनेर खुलाएको छैन । बैंकको एफपिओ जारी गर्ने निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिनु पर्ने जनाइएको छ ।

ठूला प्रसारण लाइन बनाउँदै सरकार, ४ सयदेखि ७६५ केभीसम्म क्षमताका लाइन निर्माण गरिने

काठमाडौं, ४ कात्तिक । सरकारले साना तथा मझौला क्षमताका प्रसारण लाइनको सट्टामा ४ सय केभीदेखि ७ सय ६५ केभी क्षमताका ठूला प्रसारण लाइन निर्माण गर्ने भएको छ । अबको एक दशकभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको योजना भएकाले ठूला क्षमताको प्रसारण लाइन निर्माण गर्न लागिएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । नदीको क्षमता अनुसार उत्तर–दक्षिण जोड्ने उच्च भोल्टेज क्षमताका प्रसारण लाइनको निर्माण कार्य थालनी गर्ने र मध्य पहाडी राजमार्गको निश्चित खण्डमा पनि उच्च भोल्टेजका प्रसारण लाइन निर्माण गरिने सरकारको लक्ष्य रहेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेको बताए । सरकारले उत्पादित उद्योगको उपयोग गर्न मेची–काली प्रसारण लाइन, कर्णाली, गण्डकी र कोशी कोरिडोर प्रसारण लाइन निर्माण कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाउने भउको छ । हाल नेपाल विद्युत् प्राधिकरणले ११ केभीदेखि ४ सय केभी क्षमतासम्मका प्रसारण लाइन निर्माण गरिरहेको छ । सरकारले हाल भएको ऊर्जा संकटलाई समाधान गर्न चालू आवमा हाल भएको ८ सय २९ मेगावाट विद्युत् उत्पादन क्षमतालाई २ सय मेगावाटले बढाएर १ हजार २९ मेगावाट विद्युत् उत्पादन उत्पादन गर्ने लक्ष्य लिएको छ । आगामी दुई वर्षभित्र एक हजार ४ सय ५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ । विद्युत् अभावको असर पूर्वाधार निर्माणदेखि उद्योग कलकारखाना एवम् चौतर्फी रुपमा पर्न थालेपछि सरकारले नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी एवम् नीजि क्षेत्रका प्रवद्र्धकलाई निर्माणमा रहेका आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न आग्रह गर्दै उक्त लक्ष्य अगाडि सारेको हो । प्राधिकरणले निर्माण गरिरहेको ३२ मेगावाट क्षमताको चमेलिया र कुलेखानी तेस्रो आयोजनालाई आगामी माघसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । कुलेखानी तेस्रो १४ मेगावाट क्षमताको हो । सरकारले निजी कम्पनीमार्फत अगाडि बढाइएका आयोजनालाई पनि छिटो सम्पन्न गर्न आवश्यक सहजीकरण गरिदिने भएको छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना जस्ता आयोजनालाई छिटो सम्पन्न गर्न सरकारले सहजीकरणको भुमिका खेलिदिने भएको छ । तामाकोशीको आउँदो मङ्सिरदेखि वाँध वाध्ने देखि अन्य भौतिक पूर्वाधारको काम अगाडि बढाउने भएको छ । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण प्रभावित भएको सो आयोजनाको निर्माण हाल सुरु भइसकेको छ । यस्तै चिलिमे जलविद्युत् आयोजनाका सहायक कम्पनीमार्फत अगाडि बढेका साञ्जेन, माथिल्लो साञ्जेन, रसुवागढी आयोजनाको निर्माणलाई पनि गति दिने भएको छ । घिमिरेले माथिल्लो त्रिशुली थ्री ए निर्माणमा भइरहेको ढिलाइ छिट्टै अन्त्य हुने बताए । उनले प्राधिरकण र यसका सहायक कम्पनीमार्फत जलविद्युत् आयोजनाबाट ८ सय ५० मेगावाट, निजी प्रवद्र्धकबाट ४ सय मेगावाट तथा सौर्य, जैविकलगायत स्रोतबाट २ सय मेगावाट गरी कुल एक हजार ४ सय ५० मेगावाट विद्युत् आन्तरिक ग्रीडमा थप गरिने जानकारी दिए । त्यस्तै सरकारले ढल्केबर सवस्टेशन निर्माण कार्यलाई तिव्रता दिएको छ । उक्त सवस्टेसनको स्तरोन्नति गर्ने काम यहि मङ्सिर अन्त्यसम्म सक्ने गरी हालदुई सिफ्टमा निर्माण कार्य अघि बढाएको छ । चिनियाँ ठेकेदारले दैनिक ३ सयभन्दा बढी मजदुर परिचालन गरेर हाल दुई सिफ्टमा काम गरिरहेको मन्त्रालयले बताएको छ । सो सवस्टेसन निर्माण सम्पन्न भएपछि भारतबाट थप विद्युत् आयात गर्न सहज हुने बताइएको छ । २ सय २० केभी क्षमताको सो सवस्टेसनबाट थप विद्युत् आयात गरी मुलुकमा जारी ऊर्जा समाधान गर्ने सरकारको लक्ष्य छ । यस्तै ढल्केबर–खिम्ती प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

एक्सीएमजीको एक्साभेटर बजारमा

काठमाडौं, ४ कात्तिक । एक्सीएमजीको एक्सई २१५ मोडेलको एक्साभेटर नेपाली बजारमा भित्रिएको छ । आईडिएमसी प्रालिले एक्सीएमजीको एक्साभेटर नेपाली बजारमा ल्याएको हो । गणतन्त्र चिनको एक्सीएमजी ब्राण्डकोे यो २१ दशमलब ५ टनको एक्साभेटरमा विश्व बिख्यात जापानीज इसुजु कम्पनीको ईन्जीनका साथै जापानीज कावाशाकी कम्पनिद्धारा निर्मित हाईड्रोलिक्स जडान गरिएको छ । नेपालमा यो मेशिन बिक्री शुभारम्भको अबसरमा सबै खरिदकर्ताहरुको एक जोडीलाई कम्पनीको प्mयाक्ट्री अवलोकन सहित ५ रात ६ दिनको चीन भ्रमणको अवसर समेत उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक पुरुषोत्तम सुबेदीले जानकारी दिए । यो योजना १५ नोभेम्बर २०१६ सम्म लागु हुने जनाइएको छ । यो एक्साभेटरको बजार मुल्य ८५ लाख रुपैंयाँ रहेको छ । विश्वको हेवी ईक्वीपमेन्ट बजारमा अत्याधिक माग रहेको ५ ब्राण्डहरु मध्ये एक्सीएमजी ब्राण्ड पनि प्रमुख एक हो भने चाईनामा सबैभन्दा धेरै बिक्री हुने नं. १ हेवी ईक्वीपमेन्ट ब्राण्ड हो । बिक्री पछिको सेवा संभारका लागि कम्पनिले भक्तपुरको सानोठिमी स्थित आप्mनै मर्मत संभार केन्द्रको स्थापना गरी चाईनीज बिषेशज्ञ ईन्जिनियर समेत उपलब्ध गराएको छ । एक्सीएमजीको रोड रोलर, सोयल कम्प्याक्टर, डबल ड्रम कम्प्याक्टर, ब्याकहो लोडर, लोडर, मोटर ग्रेडर, मोबाइल क्रेन, लरी क्रेन, क्वाइलर क्रेन, डिजेलबाट चलाउन सकिने फोर्कलिफ्ट ट्रक, मोबाइल टावर क्रेन समेत आईडिएमसीले नेपाली बजारमा उपलब्ध गराउदै आएको छ ।