विकासन्युज

हामीनिटको प्रदर्शनी तथा बिक्री मेला भोलिदेखि शुरु

काठमाडौं, ४ कात्तिक । जोरपाटी स्थित हामीनिटले ऊनी पश्मिना, कटन तथा बिभिन्न प्रकारका कलेक्सनहरुको बृहत प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्ने भएको छ । यहि कात्तिक ५, ६ र ७ गते तीन दिन सम्म उक्त मेलाको आयोजना गर्न लागेको छ । पिस ब्याङ्कवेटको हल जोरपाटी एभरेष्ट बैंकको पछाडीे हामीनिटले महिला तथा पुरुषहरुका लागि ऊलन कपडाहरु, स्वेइटर, पञ्जा, टि–शर्ट, टोपी, मफलर, सल लगायत बिभिन्न आकर्षक डिजाईनका पहिरनहरु नेपालमै उत्पादन गरी बृहत प्रदर्शनी तथा बिक्री मेला गर्न लागेको हो । हामीनिट ब्राण्डले नजिकिदै गरेको जाडो यामलाई मध्येनजर गरि आम नेपालीका माझमा आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको कम्पनीका प्रबन्ध निर्देशक शान्ता बुढाथोकीले बताइन् । मेलामा २०० रुपैयाँ देखि २००० रुपैयाँ सम्मका कपडाहरु विशेष छुट गरि प्रदर्शनीमा राख्न लागिएको उनले बताइन् । हामीनिटका के.एल.टावर चुच्चेपाटी र जोरपाटी टेलिकम पछाडी गरि दुईवटा आउटलेट संचालनमा छन् । साथै छिट्टै नै शान्ता प्लाजा ज्ञानेश्वर र बौद्ध मार्ट, बौद्धमा पनि आउटलेट संचालन गर्ने बुढाथोकीले जानकारी गराएकी छन् ।

नेपालको आर्थिक विकासमा सहयोग गर्ने -अमेरिकी राजदूत एलैना बि टेप्लिज

काठमाडौं, ४ कात्तिक । उद्योगमन्त्री नवीन्द्रराज जोशी र नेपालका लागि अमेरिकी राजदूत एलैना बि टेप्लिजले बिहिबार उद्योग मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरुबीच भएको भेटवार्तामा उद्योगमन्त्री जोशीले संविधान निर्माण पछिको वर्तमान अवस्थामा आर्थिक समृद्धि हासिल गर्न उद्योग मन्त्रालय लगानीको वातावरण बनाउन क्रियाशील रहेको बताए । सो अवसरमा उनले लगानीकर्तालाई आश्वस्त बनाउन मन्त्रालयले नीतिगत सुधार र उद्योगमैत्री वातावरण बनाउन लागि परेको मन्त्रालयले प्रयास गरिरहेको जानकारी दिए । उद्योगमन्त्री जोशीले नीतिगत सुधारका क्रममा अहिले विशेष आर्थिक क्षेत्र(सेज) र औद्योगिक व्यावसाय प्रवद्र्धन ऐन संसद्बाट पास भइसकेको र कम्पनी ऐन, वैदेशीक लगानीसम्बन्धी कानुन र बौद्धिक सम्पत्तिसम्बन्धी कानुन पास हुने क्रममा रहेको जानकारी दिए । भेटका अवसरमा उनले विदेशी लगानीसम्बन्धी कानुनले विदेशी लगानीका स्वरुपलाई स्पष्टरुपमा परिभाषित गरेको, प्रविधि हस्तान्तरणका स्वरुप र विदेशी लगानी प्रवद्र्धनका लागि लगानी प्रवद्र्धन बोर्डको स्थापना गरेको उल्लेख गरे । त्यसैगरी गैरआवासीय नेपालीको लगानीमा थप सहजता, विदेशी लगानीको प्रवेश र बहिर्गमनका सम्बन्धमा स्पष्ट व्यवस्था गरिएको तथा जग्गा प्राप्तिलाई सहजीकरण गरिएको जस्ता विशेषता प्रस्तावित नीतिमा उल्लेख भएको मन्त्री जोशीले बताए । औद्योगिक वातावरणका लागि आवश्यक नीतिहरुको तर्जुमापछि आगामी मार्च महिनामा उद्योग मन्त्रालयले विदेशी लगानीकर्ता सम्मेलन गर्ने तयारी गरिएको भन्दै त्यसमा अमेरिकी लगानीकर्ताको समेत उल्लेख्य सहभागिताका लागि अनुरोध गरेका थिए । भेटमा अमेरिकी राजदूत टेप्लिजले उद्योग मन्त्रालयको अहिलेको कार्यप्रति सन्तोष व्यक्त गर्दैै नेपालको आर्थिक विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताए । नेपालले बौद्धिक सम्पत्तिसम्बन्धी नीति तयार गर्दा आफ्नो मुलुकको साथै वैदेशीक लगानीकर्ताको हितलाई समेत सम्बोधन गर्न सक्नुपर्ने सुझाव उनको थियो । नेपालमा उद्योग विकासको प्रशस्त सम्भावना रहेको भन्दै राजदूत टेप्लिजले आर्थिक विकासका लागि व्यावसायिक वतावरण बन्न जरुरी रहेको बताए ।

सोल्टी होटल ५० औं बर्षमा, पोखरा र नेपालगञ्जमा चार तारे होटल बनाउँदै

काठमाडौं, ४ कात्तिक । सोल्टी होटलले पोखरा र नेपालगञ्जमा ४ तारे होटल सञ्चालनमा ल्याउने भएको छ । होटलको ५० औैं बार्षिकोत्सवका अवसरमा आयोजीत पत्रकार सम्मेलनमा सोल्टी होटलका अध्यक्ष प्रभाकर शमसेर राणाले पोखरा र नेपालगञ्जमा चार तारे होटल सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् । नेपालगञ्जमा आगामी बैशाखबाट सञ्चालन गर्न लागिएको होटलमा ५५ करोड लगानी हुनेछ । ८१ कोठा रहेको होटलले मध्यपश्चिम तथा सुदुरपश्चिमको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष राणाले बताए । त्यस्तै, पोखरामा निर्माण गरिने अर्काे ४ तारे होटलमा ६० करोेड लगानी हुनेछ । रिसोर्टका रुपमा निर्माण गरिने पोखराको होटलका लागि जग्गा खरिद भैसकेको पनि उनले जानकारी दिए ।

बृहत ग्रुप दशौं वर्षमा प्रवेश

काठमाडौं, ४ कात्तिक । रियल इस्टेट क्षेत्रको प्रतिष्ठित व्यवसायिक समूह बृहत ग्रुप स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा नवौं वार्षिकोत्सव मनाउँदै कम्पनीले कात्तिक २ गतेदेखि कात्तिक ४ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । कात्तिक २ गते सोमबार बृहतले कम्पनीका सदस्यहरुको सहभागितामा खोकनास्थित स्तुपा परिसर सरसफाइ तथा रंगरोगन गर्यो । उक्त अवसरमा ग्रुपका कार्यकारी अध्यक्ष ओम राजभण्डारीले नेपालकै नमुना बस्तीका रुपमा रहेको तनहुँको बन्दिपुरको स्थलगत अध्ययन भ्रमणका लागि खोकनाका स्थानीयवासीलाई बृहतले सहयोग गर्ने बताएका छन् । ‘वल्र्ड हेरिटेज साइटका रुपमा रहेको खोकनामा मौलिक किसिमको नमुना बसोबास विकास होस् भन्ने उद्देश्यले यसका लागि स्थानीयवासीलाई बन्दीपुर नमुना बस्तीको एक्पोजर भिजिटमा हामीले सघाउन खोजेका हौं,’ राजभण्डारीले भने । यस्तै, नेपाल रेडक्रश सोसाइटीसँगको सहकार्यमा गू्रपले कात्तिक ३ गते रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा कम्पनीका सदस्यहरुका साथै अन्य सर्वसाधारणसमेत गरी कुल ५३ जनाले सहभागिता जनाएका थिए । बृहतले आफ्नो स्थापनाको पहिलो वर्षगाँठदेखि नै हरेक वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । कात्तिक ४ मा पनि ग्रूपले विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु आयोजना गर्दै ‘वृहत दिवस’ मनाएको छ । नेपाली रियल इस्टेट क्षेत्रका अग्रणी व्यवसायी ओम राजभण्डारीको नेतृत्वमा संचालित बृहत ग्रूपअन्तर्गत हाल बृहत इन्भेष्टमेन्ट्स (बीआई), बृहत डेभलपर्स एण्ड बिल्डर्स (बीडीबी), पायोनियर बिल्डर्स एण्ड डेभलपर्स (पीडीबी), बृहत प्रोपर्टी सोलुसन्स (बीपीएस), स्वयम्भू होटल्स एन्ड अपार्टमेन्ट र अन्तरप्रेरणा गरी ६ कम्पनीहरु संचालित छन् । यीमध्ये बीआईले परियोजना विकास, बीडीबीले निर्माण, पीडीपीले डिजाइन तथा सुपरभिजन, बीपीएसले प्रोपर्टी (घर–जग्गा) विक्री व्यवस्थापन र स्वयम्भु होटल्सले रेन्टल होम÷अपार्टमेन्ट सेवा लगायतको काम गरिरहेको छ । रियल इस्टेटसँग प्रत्यक्ष सम्बन्धित काम गर्ने यी पाँच कम्पनीबाहेक बृहत ग्रूपअन्तर्गतको सबैभन्दा पछिल्लो कम्पनी ‘अन्तरप्रेरणा’ भने उद्यमशील व्यक्तिलाई व्यवसाय संचालन तथा सफलताका लागि आवश्यक वित्तिय सहायतादेखि व्यवस्थापन, मेन्टोरशीप, व्यवसाय अभिबृद्धि लगायतमा सघाउँदै नेपालमा उद्यमशीलता विकास र युवा उद्यमीहरु उत्पादन गर्ने उद्देश्य राखेको छ । कात्तिक ४ मा आयोजित औपचारिक वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष राजभण्डारीले भन्नुभयो, ‘‘बृहत ग्रूप अबका दिनमा बृहत प्रिमियम रेजीडेन्सी विकासमा केन्द्रित रहनेछ । जसमा डिजाइन, निर्माण गुणस्तर, निर्माण सामग्री, वर्कम्यानसीप, मेन्टिमेन्स फ्रि आवास आदि कुराहरुको उत्कृष्ट संयोजन हुनेछ ।’’ साथै, ग्रूपले आफ्नो मावन संसाधन (एचआर) को क्षमता विकासलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीको पर्फमेन्स उच्च बनाएर लैजाने नीति अबलम्बन गरेको पनि उनले जानकारी दिए । राजभण्डारीको नेतृत्वमा हालसम्म काठमाडौं उपत्यका भित्र तथा बाहिर गरी एक दर्जन आवास परियोजना सफलतापूर्वक सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

सिजीको ६५ इन्चको नयाँ टिभी बजारमा, खरिदमा २० प्रतिशत क्यास ब्याक अफर

काठमाडौं । तिहारको अवसरमा सिजी ब्रान्डले ६५ इन्चको एलइडी टिभी नेपाली बजारमा ल्याएको छ । कम्पनीले एन्ड्रोइड, क्वाड कोर प्रोसेर अल्ट्र क्लियर प्यानल समावेश भएको टिभी बजारमा ल्याएको हो । टिभीमा एप स्टोर, वाइफाइ, वेव वाउजर, डोल्बी साउन्डजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त टिभीको खरीदमा विभिन्न उपहारहरु राखिएको छ । साथै, २०–३२ इन्च टिभीको खरिदमा २० प्रतिशत सम्मको महाक्यास ब्याक अफर पाइने छ ।

महासंघको बिशेष साधारण सभाद्धारा बिधान संसोधन प्रस्ताव पारित, भवानी राणा स्वतः अध्यक्ष बन्ने

काठमाडौं, ४ कात्तिक । नेपाल उद्योग बाणिज्य महासंघको बिशेष साधारण सभाले बिधान संसोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राजधानीको आर्मी अफिसर्स क्लबमा सम्पन्न बिशेष साधारण सभाले बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने बिधान संसोधनको प्रस्ताव सर्व सम्मतिले पारित गरेको हो । ‘कार्य समितिले ल्याएका सबै प्रस्ताव सर्व सम्मतिले पारित भएका छन्, आगामी चैत २८ गतेको साधारण सभाले बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष चयन गर्नेछ’, महासंघ कार्य समितिका सदस्य केशब पाण्डेले विकासन्युजसँग भने । महासंघको बिशेष साधारण सभाले महासंघको संस्थागत संरचना परिवर्तन गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गरेको उनले जानकारी दिए । जस अनुसार अब सात वटा प्रदेशमा महासंघको प्रान्तिय संरचना रहनेछ । महासंघका पुर्व अध्यक्ष चण्ढीराज ढकाल नेतृत्वको विधान संसोधन समितिले तयार पारेको प्रस्ताव अनुसार महासंघको विधान संसोधन भएको हो । यसले महासंघकी वर्तमान बरिष्ठ उपाध्यक्ष भवानी राणालाई स्वतः अध्यक्ष बन्ने बाटो खुल्ला गरेको छ । राणा महासंघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्नेछिन् । महासंघमा अब बरिष्ठ उपाध्यक्षका लागि कडा प्रतिष्पर्धा हुनेछ । महासंघको बिशेष साधारण सभालाई महासंघका धेरै पुर्व अध्यक्षहरुले भने बहिस्कार गरेका थिए ।

सिनर्जी फाइनान्सले हकप्रद निष्कासन गर्दै, मंसिर ५ गते विशेष साधारणसभा

काठमाडौं, ४ कात्तिक । सिनर्जी फाइनान्सले १ बराबर शून्य दशमलब २५ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । उक्त बैठकको निर्णयलाई राष्ट्र बैंक तथा फाइनान्सको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । फाइनान्सको आगामी विशेष साधारणसभा मंसिर ५ गते हुने भएको छ । हाल फाइनान्सको चुक्ता पूँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर १७६ रुपैयाँमा किनबेच भएको छ ।

हिमालय एअरलाइन्सद्वारा कोलम्बोमा परिवारको लागि आकर्षक टिकटदर अफर

काठमाडों, ४ कात्तिक । हिमालय एअरलाइन्सले जाडोको मौसममा परिवार सहित काठमाडौँबाट कोलम्बो घुम्न जाने योजना बनाइरहेका ग्राहकहरुका लागि आकर्षक टिकटदर अफर ल्याएको छ । कम्तिमा पनि दुइ जना सदस्य रहनुपर्ने उक्त परिवारको लागि एअरलाइन्सले दई तर्फी भाडादर ३५ हजार १५२ (प्रति व्यक्ति) रुपैयाँ तोकिएको बताएको छ । तर सो मूल्यमा ट्याक्स कायम गरिएको छैन । कम्पनीका अनुसार उक्त आकर्षक टिकटदर पुस १६ गतेसम्म लागू हुनेछ भने इच्छुक ग्राहकहरुले कार्तिक १४ गतेसम्म टिकट खरीद गरीसक्नु पर्ने छ । ग्राहकहरुले उक्त सेवाको टिकट एअरलाइन्स्को सेल्स र रेजर्भेशन कार्यलय अथवा आफूलाई उपयुक्त लागेको ट्राभल एजेन्टहरुबाट बुक गर्न सक्नेछन् । एअरलाइन्स्का भाइस प्रेसिडेन्ट( श्री विजय श्रेष्ठ भन्छन्,“कोलोम्बो छट्टी मनाउनका साथ सँकृति प्रवर्धन गर्नको लागि परिचीत गराइएको एउटा नयाँ गन्तब्य हो । सोहि कुरालाई मध्यनजर गरेर एअरलाइन्सले ग्राहकहरु, जो आफ्नो परिवार सँग गुणस्तरीय समय विताई अविशमरणीय यादहरु समेट्न चाहन्छन्, उनीहरुलाई लक्षित गरेर उतm आकर्षक टिकटदरको अफर ल्याएको हो । हामी विश्वस्त छौँ कि धेरै भन्दा धेरै ग्राहकहरुले यस अवसरलाई पुर्ण रुपमा उपभोग गरेर लाभान्वित हुनहुने छन्।” काठमाडौँ–श्रीलंका हप्ताको २ दिन मगंलबार र शनिबार मात्र उडान हुने छ । काठमाडौंबाट साढे ११ (११ः३०) बजे प्रस्थान भएको H9673 एअरलाइन्स कोलोम्बोमा सोही दिन सवा ३(१५ः१५) बजे आगमन गर्ने कम्पनीले जनाएको छ । त्यस्तै, कोलोम्बो बाट सवा ४ (१६ः१५) बजे प्रस्थान भएको H9674 एअरलाइन्स काठमाडौंमा सोही दिन सवा ८ (२०ः१५) बजे आगमन गर्ने छ । सँयुक्त लगानीमा सञ्चालित यस एअरलाइन्स्को ४८.९९ प्रतिशत लगानी तिब्बत एअरलाइन्सको छ भने ५१.०१ प्रतिशत लगानी नेपालको रहेको छ ।