विकासन्युज

निलम्बित कार्की अझैं अख्तियार चलाउँदै, प्रमुख आयुक्तसरह नियमित गतिविधि गर्दै

काठमाडौं ६, कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले टंगालस्थित कार्यालय परिसरबाटै अख्तियार सञ्चालन गरेको भेटिएको छ । आयोग मुख्यालयसँगै रहेको परिसरबाटै कार्कीले प्रमुख आयुक्तले झैं नियमित गतिविधि गरिरहेका छन् । कार्कीले शुक्रबार कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्णय गरेको स्रोतले बतायो । निलम्बन हुनुअघिको मिति राखेर कार्कीले कर्मचारीहरू कोरिया पठाउने सूची स्वीकृत गरेका हुन् । फाइल लिएर अख्तियारका सहसचिव बेगेन्द्र शर्मा पौडेल कार्कीको निवास पुगेका थिए । कार्कीको कार्यकक्ष र सचिवालयमा रहेका महत्त्वपूर्ण फाइल र प्रमाणका कागजात निवासमा पुर्‍याइएको स्रोतले बतायो । अधिकांश ठूला, संवेदनशील र महत्त्वपूर्ण मुद्दाका अनुसन्धान अधिकृतले सोझै प्रमुख आयुक्त कार्कीलाई ब्रिफिङ गर्थे । ‘प्रमुखको निजी सचिवालयमा अहिले खासै कुनै कागजात छैन,’ स्रोतले भन्यो, ‘सबै ओसारेर निवासमा पुर्‍याइएको छ ।’ कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा दर्ता भएपछि पनि आलोचक र विरोधीमाथि निगरानी र गोप्यताको जासुसी गर्न प्रयोग भएको टिम झनै सक्रिय भएको स्रोतले बतायो । स्रोतका अनुसार यसबीचमा कतिपयको फोनको ‘कल डिटेल’ हेर्ने र म्यासेजका विवरण तान्ने काम भइरहेको छ । यस्ता विवरण टंगाल परिसरस्थित कार्कीकै निवासमा पुर्‍याइन्छ । शुक्रबार आयोग कार्यालय खुल्नासाथ कान्तिपुर संवाददातालाई सूचना दिएको भन्दै सोधपुछ भइरहेको थियो । गोप्य ढंगले कान्तिपुरको सम्पर्कमा आएका एक उपसचिवले सामान्य भलाकुसारी गरेकै कारण आफूमाथि अप्ठेरो परेको बताए । कार्कीसँग निकट रहेर काम गरेका आयुक्त राजनारायण पाठकले आयोगभित्रका गतिविधिबारे उनलाई भेटेर जानकारी गराइरहेका छन् । कार्कीले नियमित काम कारबाही नगरे पनि आयोगका सुरक्षाकर्मी, उनीप्रति बफादार सचिवालयका कर्मचारी छन् । उनले विशेषज्ञका रूपमा नियुक्त गरेका केही व्यक्तिले हरेक महाशाखाको निगरानी गरिरहेको स्रोतले जनाएको छ । कान्तिपुर दैनिकबाट ।

नोकियाका पाँचवटा फोन जसको बिक्री रेकर्ड कसैले उछिन्न सकेनन्

सबैभन्दा बढी बिक्री भएका २० मोवाइलमा १२ नोकियाका काठमाडौं, ५ कात्तिक। कुनै समयको मोवाइल फोनको बजारमा मार्केट लिडर रहेको नोकिया केही समयको बिश्रामपछि फेरि कमब्याक गर्न लागेको छ। अहिलेको बजारको समिकरणमा नोकियाको कुनै उपस्थिति नभएपनि संसारमा सबैभन्दा बढी बिक्री हुने २० वटा मोवाईलमा १२ वटा नोकियकै रहेका छन् अहिले पनि। बजारमा नयाँ गुमनाम भएको नोकिया अहिलेसम्म पनि सबैभन्दा बढी बिक्री भएको ब्राण्डमा गनिन्छ। टेलिग्राफले प्रकाशित गरेको समाचार अनुसार संसारमा आजसम्म बिक्री संख्याको आधारमा उत्कृष्ट २० को सूचीमा नोकियाका विभिन्न १२ वटा मोडलहरु अहिले पनि सबैभन्दा बढी बिक्री हुने सूचीमा रहेका छन्। उक्त सूचीको सबैभन्दा बढी बिक्री हुने सूचीमा पनि नोकियाकै ११०० मोडलको फोन रहेको छ। सन् २००३ मा सार्वजनिक भएको यो फोन आजसम्म २५ करोडभन्दा बिक्री भएको बताइएको छ। त्यस्तै सन् २००५ मा उत्पादन भएको नोकियाकै १११० मोडलको सेट दोस्रो सूचीमा रहेको छ। जुन पनि ११०० मोडलकै संख्यामा बिक्री भएको छ। सबैभन्दा बढी बिक्री हुने फोनको सूचीको तेस्रो स्थानमा पनि नोकियाकै ३२१० मोडलको सेट रहेको छ। १५ करोडभन्दा बढी बिक्री भएको यसको रेकर्ड अझैसम्म अरु फोनले उछिन्न सकेका छैनन्। यसैगरी नोकिया १२०० मोडल चौथो स्थानमा छ बढी बिक्री हुनेको सूचीमा जुन १५ करोडकै हाराहारीमा छ। सूचीको ५ औं स्थानमा ५२३० छ भने ६ औं स्थानमा ६६०० मोडलको फोन पनि १५ करोडकै हाराहारीमा बिक्री भएको जुन आजसम्म आरु कुनै पनि ब्रान्डको फोन बिक्री नभएको बताइएको छ। त्यस्तै अर्को ८ औं स्थानमा रहेको नोकियाको सेट हो २६०० मोडलको फोन जुन साढे १३ करोडभन्दा बढी  बिक्री भएको छ। सबैभन्दा बढी बिक्री हुने सूचीको ९ स्थानमा रहेको सन् २००६ मा आएको नोकिया १६०० मोडल हो जुन चिन र भारतको लागिमात्र भनेर डिजाइन गरिएको थियो। सुचीको ११ र १२ औ स्थानमा रहेका क्रमशः ३३१० र १२०८ मोडल पनि १० करोड बढी बिmक्रीको रकेर्ड रहेको छ। त्यस्तै सन् २००४ मा आएको नोकिया ६०१० मोडलको फोन पनि ७ करोडभन्दा बढी बिक्री भएको छ भने सन् २००७ मा आएको नोकिया ५१३० मोडलको फोनको बिक्री रेकर्ड ६ करोड रहेको छ।

एक वर्षभित्र काठमाडौँका मुख्य सडक झिलिमिली हुने, साैर्य बत्ति राख्दकाे खर्च एक वर्षमा विज्ञापनबाट उठ्ने

काठमाडौँ, ५ कात्तिक । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा २० करोड ५७ हजार रुपैयाँ लागतमा सौर्यबत्ती जडान प्रक्रिया अघि बढेको छ । काठमाडौँ महानगरपालिकाले तीन भागमा विभाजन गरी एक वर्षभित्र एक हजार ८५ खम्बामा कामपाले आगामी एक वर्षभित्र उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सौर्यबत्ती जडान गर्न लागेको हो । उक्त कार्यका लागि कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र बिके ट्रेडर्स सप्लायर्सका रञ्जनराज श्रीवास्तवले हस्ताक्षर गरिसकेका छन् । सम्झौतानुसार कम्पनीले एक वर्षभित्र महानगरका विभिन्न क्षेत्रमा सौर्यबत्ती जडान गरिसक्नुपर्नेछ । केही समयअघि सौर्यबत्ती जडानका लागि कामपाले आवेदन मागेको र जडानका लागि १५ कम्पनीले आवेदन दिएकामा विके ट्रेडर्स छानिएको हो । काठमाडौँका मुख्य सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ सो कार्यक्रम अगाडि बढाइएको तामाङले जानकारी दिए । उक्त सुविधा जनताले बिनालगानी पाउने छन् । एउटा खम्बाका लागि रु एक लाख ५० हजार लाग्ने महानगरका खरिद एकाइ प्रमुख दीपक अधिकारीले जानकारी दिए । सौर्यबत्ती जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्बन्धित कम्पनीले नै बेहोर्ने छ । निर्माणका लागि जिम्मा पाएको कम्पनीले खम्बामा विज्ञापन राखेर आम्दानी गर्ने छ । खम्बामा विज्ञापन राखेपछि कम्पनीले कामपालाई वार्षिक रुपमा विज्ञापन कर बुझाउनुपर्छ । प्रत्येक वर्ष पाँच प्रतिशतका दरले बढ्ने सहमतिका साथ कम्पनीले एउटा खम्बाको वार्षिक आठ हजार ७०० रोयल्टी बुझाउनुपर्ने छ । स्वीकृत प्रस्तावले एक वर्षको निर्माण अवधि बाहेक १० वर्षपछि सो सौर्यबत्ती, ब्याट्री तथा विज्ञापन स्वतः कामपाको हुनेछ । सौर्यबत्ती जडानका लागि महानगरले तीन छुट्टाछुट्टै खण्ड पहिचान गरेको छ । सोअनुसार कलङ्की, त्रिपुरेश्वरदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल, क्षेत्रपाटी हुँदै सोह्रखुट्टे, बालाजु चोक हुँदै नयाँ बसपार्कसम्म पहिलो खण्डमा ४०० बत्ती राखिने छ । त्यस्तै दोस्रो खण्डमा दरबारमार्गदेखि काठमाडौँ प्लाजा, कृष्ण पाउरोटी तथा गौशालामा राखिने छ । तेस्रो खण्डमा ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तीसपुतली र डिल्लीबजार पुतली सडकमा जोडिने बताइएको छ । सो खण्डमा ३०० सौर्य बत्ती जडान गरिने प्रमुख तामाङले जानकारी दिए । त्यसैगरी पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुलसम्म, तीनकुने कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्गल चोकसम्म महानगरले पहिचान गरेको तेस्रो खण्डमा तीन सय ८५ खम्बा राखिने जानकारी कामपाले दिएको छ । साैर्य बत्ति राख्न महानगरपालिकाले शुरूमा २० कराेड रूपैयाँ लगानी गर्ने छ । साेही स्थानमा राखेकाे विज्ञापनबाट महानगरपालिकाले वार्षिक १६ कराेड रूपैयाँ भन्दा बढी विज्ञापन करबाट उठाउने भएकाे छ ।

सिद्धार्थ बैंकद्धारा ई–सेवा खाता संचालनमा, शुन्य मौज्दातमै खोल्न सकिने

काठमाडौं, ५ कात्तिक । सिद्धार्थ बैंकले ई–सेवाका ग्राहकहरुलाई लक्षित गरी “सिद्धार्थ ई–सेवा खाता” संचालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि उक्त खाता सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार उक्त खाता शुन्य मौज्दातमै खोल्न सकिने छ । यस खाताद्धारा ग्राहकहरुले निःशुल्क चेकबुक, इलेक्ट्रोनिक बैंकिङ्ग प्याकेज लगायत अन्य थुप्रै आकर्षक सुविधाहरु प्राप्त गर्नसक्ने बैंकले बताएको छ । साथै, ग्राहकहरुले आफुलाई पायक पर्ने ई–सेवाका कुनै पनि आधिकारिक प्रतिनिधि मार्फत् यो खाता सजिलै खोल्न सक्नेछन् । उक्त “सिद्धार्थ ई–सेवा खाता” खोल्ने आधिकारिक सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक रामेश्वर प्रसाद बस्याल र ई–सेवाका तर्फबाट ई–सेवा फोनपे प्रा. लि का अध्यक्ष असगर अलीले हस्ताक्षर गरेका हुन् ।शुन्य मौज्दात र विभिन्न आकर्षक सुविधाहरुसहितको यस खातामार्फत ई–सेवाका प्रविधिमैत्री ग्राहकहरुलाई उच्चस्तरिय बैंकिङ्ग सेवा प्राप्त गर्ने बैंकको विश्वास छ । बैंकले हाल नेपालभर रहेका आफ्ना ६४ शाखा, ८१ ए.टि.एम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिंग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

इमाडोलमा पाइपबाट ग्यास निकालियो, टेकुमा एक महिना भित्रै

काठमाडौं, ५ कात्तिक । ललितपुरको इमाडोलस्थित ग्यास कुवाबाट पाइपमा ग्यास निकालेर चुलो बालिएको छ । उद्योग मन्त्री नविन्द्रराज जोशीले शुक्रबार पाइपबाट निकालिएको ग्यासले चुलो बालेका हुन् । उपत्यका भित्रका १४ वटा कुवामध्ये ब्लक नम्बर सीमा पर्ने इमाडोलको प्लान्टमा नेपाली इञ्जिनियरहरुले तयार पारेको कम्प्रेसर मेसिनले ग्यास निकालिएको हो । पछिल्लो तथ्यांक अनुसार जमिन मुनिबाट निकालीएको पदार्थमा ८५ प्रतिशत पानी र १५ प्रतिशत मिथेन ग्यास पाइएको छ । यसअघि जापानी सहयोग नियोग(जाइका)ले सन १९७८ मा गरेको अध्ययनले भने ४० प्रतिशतसम्म ग्यास रहेको प्रतिवेदन तयार पारेको थियो । उद्योग मन्त्री नविन्द्रराज जोशीले एक महिना भित्रै टेकुको प्लान्टबाट समेत ग्यास निकाल्ने बताए । ‘आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि आन्तरिक श्रोत तथा साधानको अधिकतम उपयोग गर्ने नीति अनुसार सरकार अघि बढेको छ, अब टेकु प्लान्टको काम पनि एक महिना भित्रै सम्पन्न हुन्छ’, मन्त्री जोशीले भने । खानी तथा भुगर्भ बिभागका महानिर्देशक राजेन्द्र खनालले विभागको बार्षिक कार्यक्रम अनुसार परिक्षणका रुपमा पाइपबाट ग्यास निकालिएको बताए । अब बिशेष अध्ययनपछि व्यवसायीक रुपमा ग्यास निकाल्न सम्भव छ वा छैन पत्ता लगाउने पनि बताए । कसरी निकालियो ग्यास ? गत बर्ष भारतले नाका बन्दी लगाएपछि सरकारले आत्मनिर्भर बन्ने भन्दै तत्कालिन तथा दिर्घकालिन सबै उपाय खोजेको थियो । जस अनुसार सोही अवधीमा इमाडोलमा ३५० मिटर खनेर वेल हालिएको थियो । सो वेलबाट मेसिनले पानी तानेर कम्प्रेसरमा राखिन्छ । कम्प्रेसरले ग्यसलाई पाइपको माध्यमबाट पठाउँछ भने पानीलाई बाहिर फालिदिन्छ । १५ लाखको मोबाइल ग्यास प्लान्ट पुल्चोक इञ्जिनियरिङ कलेज, थापाथली इञ्जिनियरिङ कलेज, नास्ट र विभागका इञ्जिनियरहरुको संयुक्त प्रयासमा मोबाइल ग्यास प्लान्ट तयार पारिएको छ । प्लानतलाई गुडाएर अन्यत्र समेत लैजान मिल्छ । त्यसका लागि १५ लाख रुपैंयाँ खर्च लागेको विभागका महानिर्देशक राजेन्द्र खनालले जानकारी दिए । २० हजार परिवारलाई ५० बर्षसम्म पुग्ने ग्यास जाइकाको अध्ययनले २० हजार परिवारलाई ५० वर्षसम्म उपभोग गर्न पुग्ने ग्यास रहेको रिपोर्ट तयार पारेको थियो । तर पछिल्लो अध्ययनले भने पानीमा ग्यासको मात्रा कम रहेको उल्लेख गरेको छ । पाइपबाट मात्रै उपभोग मिथेन ग्यासलाई सिलिण्डरमा भरेर प्रयोग गर्न सकिन्न । यसलाई पाइपमार्फत घर घरमा पुर्याउनु पर्ने हुन्छ ।

दुई महिनामा १३ अर्बको वस्तु निर्यात, अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत बढी

काठमाडौं, ५ कात्तिक । चालु आवको दुई महिनासम्ममा कुल वस्तु निर्यात ७ दशमलव ७ प्रतिशतले वृद्धि भई कुल १३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा १५ दशमलव २ प्रतिशतले कमी आएको थियो । यस अविधिमा भारततर्फ नौ, चीनतर्फ २४ दशमलव ५ र अन्य मुलुकतर्फ ५ दशमलव ५ प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा कुल वस्तु आयात ४३ दशमलव ४ प्रतिशतले बढेर रु १४९ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७ दशमलव ५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ४९ दशमलव ८, चीनबाट भएको आयात २६ दशमलव २ र अन्य मुलुकबाट भएको आयात ३६ दशमलव ५ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वस्तु व्यापार घाटा ४८ दशमलव १ प्रतिशतले बढी रु १३५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १७ दशमलव ८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ दशमलव ८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव ८ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको दुई महिनासम्ममा रु ३८ अर्ब ४८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा व्यापार घाटा बढेको, विदेशी लगानीको लाभांश भुक्तानी उल्लेख्य रुपमा बढेको तथा वैदेशिक अनुदान घटेका कारण रु ११ अर्ब १२ करोडले घाटामा छ । अघिल्लो वर्षको दुई महिनासम्ममा रु ३१ अर्ब ८८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु तीन अर्ब ५० करोडले घाटामा छ । यस अवधिमा पुँजीगत ट्रान्सफर रु एक अर्ब ५४ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु दुई अर्ब १९ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु दुई अर्ब ५१ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु ८३ करोड थियो । चालु आवको साउन महिनामा ८ दशमलव ६ प्रतिशत पुगेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भदौ महिनामा ७ दशमलव ९ प्रतिशतमा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले शुक्रबार जारी गरेको प्रतिवेदनका अनुसार समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थ, फलफूल, दलहन तथा गेडागुडी, मदिराजन्य पेय पदार्थ, मसला, लत्ताकपडालगायतका सामग्रीको मूल्य भने अपेक्षित रुपमा घट्न सकेको छैन । कुल विदेशी विनिमय असार मसान्तको रु १० खर्ब ३९ अर्ब २१ करोडबाट ० दशमलव ६ प्रतिशतले कमी आई भदौ मसान्तमा रु १० खर्ब ३२ अर्ब ७० करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको रु आठ खर्ब ८७ अर्ब एक करोडको तुलनामा २०७३ भदौ मसान्तमा ० दशमलव ८ प्रतिशतले कमी आई रु आठ खर्ब ८० अर्ब १६ करोड रहेको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थामा (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको एक खर्ब ५२ अर्ब २० करोड रुपैयाँको तुलनामा शून्य दशमलव २ प्रतिशतले वृद्धि भई एक खर्ब ५२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२ दशमलव ४ प्रतिशत छ ।

सिटिजन्स बैंकको ललितपुरको मानभवन शाखा स्थानान्तरण

काठमाडौं, ५ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनलको ललितपुर स्थित मानभवन शाखा स्थानान्तरण भएको छ । उक्त शाखा ललितपुरको ग्वार्को-६ ‘कु’ स्थित हारती भवनबाट संचालन गरिएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पुजापाठ गरि नया भवनबाट यस शाखाको आरम्भ गरेका हुन् । बैंकको हाल कुल ५८ वटा शाखा, ५१ वटा ए.टि.एम. काउन्टर र ४८ वटा शाखाबाट बैंकले आधुनिक बैकिङ्ग सेवा दिँदै आइरहेको छ । बैंकले हाल करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । बैंकले निकट भविष्यमा बर्दिवासमा रहेको बैंकको शाखालाई पनि स्थानान्तरण गर्ने भएको छ ।

नयाँ मर्चेन्ट बैंकरको आवेदन बन्द, प्रक्रियामा रहेका १० वटाले अनुमतिपत्र पाउने

काठमाडौं, ५ कात्तिक । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को अनुमतिपत्र दिने कार्य स्थगित गरेको छ । हालसम्म बोर्डवाट १९ वटा संगठित संस्थाहरुले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को अनुमतिपत्र प्राप्त गरेका छन् भने दश वटा संगठित संस्थाहरुले अनुमतिपत्रका लागि बोर्डमा आवेदन गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डले नयाँ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको लागि अनुमति बन्द भएकोले बजारको कमी हुन सक्ने जनाउँदै नयाँ मर्चेन्ट बैंकरको अनुमति बन्द गरेको जनाएको छ । बोर्डले भनेको छ ‘१९ वटा मर्चेन्ट बैंकर कार्यरत रहेको एवं थप दश वटा संगठित संस्थाहरु प्रक्रियामा रहेको परिप्रेक्ष्य, विद्यमान बजारमा बैंक तथा वित्तीय संस्था र बीमा सम्वन्धी संस्थाहरुको वाहुल्यता रहेकोमा हाल बैंक तथा वित्तीय संस्था तथा बीमा सम्वन्धी संस्थाहरुको अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया स्थगित भएको’ ले मर्चेन्ट बैंकरको लागि आवेदन दर्ता बन्द गरिएको छ । मर्चेन्ट बैंकरहरुले वहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, करिव दश वर्ष अगाडिकोे पूँजी सम्बन्धी व्यवस्था, पूर्वाधार व्यवस्था, व्यवसायिक क्षेत्रको विस्तार आदिको सम्बन्धमा अध्ययन भइरहेको पनि बोर्डले जनाएको छ । मर्चेन्ट बैकिङ्ग व्यवसायको दायरा बढाउने, पूर्वाधार व्यवस्था सुदृढ गरी सेवाको स्तर वृद्धि गर्ने जस्ता उद्देश्यले मर्चेन्ट बैकिङ्ग सम्बन्धी नियमावली संशोधन प्रक्रिया अगाडि बढाईएको बोर्डले उल्लेख गरेको छ । हाल अनुमतिका लागि बोर्डको प्रक्रियामा रहेका १० वटा मर्चेन्ट बैंकरलाई भने विद्यमान नियमावलीको व्यवस्था अनुसार अनुमतिपत्र प्रदान गरिने बोर्डले स्पष्ट पारेको छ ।