प्याराग्लाइडिङप्रति पर्यटकको आकर्षण, दक्ष प्याराग्लाइडिङ पाइलटको अभाव हट्ने
पोखरा, १० कात्तिक । पर्वतीय पर्यटनमा पछिल्लो समय प्याराग्लाइडिङ प्रति स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । पर्वतीय पर्यटनको गन्तब्य बन्दै गएको नेपालमा भ्रमणमा आउने अधिकांश पर्यटक प्याराग्लाइडिङप्रति आकर्षित भएको फ्लाइङ बुद्ध प्याराग्लाइडिङ प्राइभेट लिमिटेडका सञ्चालक तारानाथ पहारीले जानकारी दिए । नेपाल प्याराग्लाइडिङका लागि आकर्षक गन्तव्य बने पनि त्यसको उडान गर्ने पाइलटको भने अझैसम्म पनि कमी रहेको उनको भनाइ छ । “पोखरालाई आधार बनाएर ६२ वटा प्याराग्लाइडिङ उडान गर्ने कम्पनी सञ्चालनमा आएका छन्,” उनले भने, “प्रत्येक कम्पनीले ६ जना पाइलट राख्न पाउने व्यवस्था भए पनि पोखरामा हालसम्म जम्मा १८० जना नेपाली, सात/आठजना मात्र विदेशी पाइलट छन् ।” प्याराग्लाइडिङको मुख्य समय अक्टोबर, नोभेम्बर भए पनि पछिल्ला वर्षमा प्रायशः सबै महिनाजसो प्याराग्लाइडिङ सञ्चालन भइरहेको सञ्चालक पहारीले बताए। नेपालमा प्याराग्लाइडिङ सुरु भएको लामो समयपछि पाइलट उत्पादनका लागि बाबु एडभेन्चर स्कुल र ब्लुस्काई फ्लाइङ स्कुलले अनुमति पाएसँगै ती स्कुल यतिखेर दक्ष पाइलट तयार गर्ने लक्ष्यका साथै क्रियाशील छन् । बाबु एड्भेन्चर स्कुलले स्याङ्जाको स्वरेकमा स्कुल सञ्चालनमा ल्याएको छ भने ब्लुस्काई फ्लाइङ स्कुलले तनहुँको बन्दीपुरमा प्याराग्लाइडिङ पाइलट तयार गर्न कक्षा सञ्चालन गरेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथालगायतका विश्वका उच्च हिमालबाट प्याराग्लाइडिङ गरी विश्व जगतमा कीर्तिमानी कायम गरेका सानुबाबु सुनुवारले स्याङजाको पर्यटकीय गाउँ स्वरेकमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरेसँगै उक्त स्कुलमा स्वदेशी तथा विदेशी नागरिकले प्याराग्लाइडिङ पाइलट बन्ने इच्छाका साथ तालिम लिन थालेका छन् । स्वरेकमा अत्यावश्यक पूर्वाधारसहितको प्याराग्लाइडिङ पाइलट तयार गर्नका लागि कक्षा सञ्चालन यसै वर्षदेखि सुरु गरिसकेको सञ्चालक सुनुवारले जानकारी दिए । दक्ष व्यावसायिक पाइलट बन्नका लागि लगभग साढे दुई वर्ष लाग्ने गर्दछ । बाबु एड्भेन्चर स्कुलका प्रशिक्षक बालकृष्ण बस्याल ९बालु०का अनुसार स्कुलमा दक्ष प्याराग्लाइडिङ पाइलट बन्ने उद्देश्यका साथ १४ वर्षका युवादेखिदेखि ५८ वर्षका वयस्क पनि आएका छन् । हाल सो स्कुलमा अष्ट्रियालगायतका विदेशी राष्ट्रका नागरिकका साथै स्वदेशी युवाले प्याराग्लाइडिङ पाइलटको तालिम लिइरहेको र अब चाँडै नै प्याराग्लाइडिङ पाइलटको अभाव समाधान हुँदै जाने उनले बताए । स्कुल सञ्चालनसँगै स्वरेक गाउँको पर्यटकीय आकर्षण समेत बढेको छ । अत्यन्त मनमोहक चौर तथा पहाडि भू–भाग रहेको स्वरेकको उच्च भू–भागमा प्याराग्लाइडिङ उडान हेर्नकै लागि पनि पर्यटक आउने गरेको एक्सवाइजेड होमस्टे, स्वरेकका सञ्जु थापाले जानकारी दिए । रासस
पुननिर्माणका लागि २० अर्ब ८१ करोड रुपैंयाँ बजेट स्विकृत
काठमाडौं, १० कात्तिक । अर्थमन्त्रालयले भूकम्पपछिको पुननिर्माणका लागि २० अर्ब ८१ करोड रुपैंयाँ बजेट स्विकृत गरेको छ । बुधबार बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा अर्थ सचिव शान्तराज सुवेदीले सो मात्रामा बजेटको अख्तियारी दिइएको जानकारी गराएका हुन् । अर्थसचिव सुवेदीले पुननिर्माणका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा अनुदान रकम वितरणका लागि समय तोकेर सञ्चालन गरिएको ४५ दिने अभियान सफल भएको बताएका थिए । उनले भूकम्प प्रभावित थप १७ जिल्लाको सर्भेक्षण, प्राथमिक विद्यालय भवन निर्माण, पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको कामलाई द्रुतगतिमा अघि बढाउन निर्देशन पनि दिए । प्राधिकरणका उपाध्यक्ष उपाध्यक्ष भीम रावलले पुनर्निर्माणको कामलाई सामान्य अवस्थामा जसरी नलिन र पुनर्निर्माण तथा पुनस्र्थापना ऐनको भावना र मर्म अनुरुप थप स्रोत साधन परिचालन गरी युद्धस्तरमा काम गर्नुपर्नेमा जोड दिएका थिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दिनमा पनि समयसीमा तोकी कार्यतालिका अनुसार पुनर्निर्माणका कामहरु अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले पुननिर्माणको काममा खटिने कर्मचारीहरुलाई प्रोत्साहन र सुबिधा थपिनु पर्नेमा जोड दिए । १७ जील्लामा प्रारम्भिक सर्वेक्षणको काम अघि बढेको जानकारी ज्ञवालीले गराएका थिए । बैठकमा मुख्य सचिव डा. सोमलाल सुवेदीले पुनर्निर्माणको कार्यमा खटिने कर्मचारीहरुलाई कार्यसम्पदान करार गरी उपलब्ध स्रोत साधन अनुरुप अतिरिक्त सुविधा दिने व्यवस्था गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएका थिए । प्राधिकरण निर्देशक समितिको बैठकले बिहिबार ३ बजे पुनः बस्ने गरि स्थगित भएको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
एनसेलले ल्यायो मोबाईल टिभी प्याक, अब मोवाईलबाटै अनलाइन टिभी हेर्न सकिने
काठमाडौं, १० कार्तिक । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ‘मोबाईल टिभी प्याक’ ल्याएको छ । नेपाली दुरसंचार क्षेत्रको इतिहासमा नै पहिलो पटक टिभी प्याक सेवा सुरु गरिएको जनाउँदै कम्पनीले भनेको छ–‘एनसेलले नविन सेवासहित दुरसञ्चार क्षेत्रमा एउटा कोसेढुङ्गा स्थापना गरेको छ ।’ चाडपर्वको अवसरमा ल्याइएको यो प्याक अन्तर्गत एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले अब सुलभ शुल्कमा आफ्नै मोबाईलमा अनलाइन टिभी हेर्न सक्ने कम्पनीले जनाएको छ । यो प्याक सुचारु गर्ने ग्राहकहरुले नेट टिभी एप मार्फत अनलाइन टिभी हेर्न सक्नेछन् । नेट टिभी, एनआईटिभी स्ट्रिम्ज् प्रा.लिको प्रोडक्ट हो र एनसेलले एनआईटिभी स्ट्रिम्ज्सँग यो मोबाईल टिभी सेवाको लागि सहकार्य गरेको छ । यो मोबाईल टिभी प्याक बुधबार (कार्तिक १०) देखि १५ दिनको लागि सञ्चालनमा आएको छ । एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार ३० मिनेट, १ घण्टा, २ घण्टा र ३ घण्टाको टिभी प्याक खरिद गरि नेट टिभी एप प्रयोग गर्न सक्नेछन् । ३० मिनेटको प्याकको शुल्क ३५ रुपैयाँ तोकिएको छ । १ घण्टाको प्याकको ६० रुपैयाँ, २ घण्टा र ३ घण्टा प्याकको मुल्य क्रमशः १०० रु १५० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । प्याकका शुल्कहरुमा कर समाबेश गरिएको कम्पनीले जनाएको छ । यी चारै वटा प्याकहरु ग्राहकले प्रत्येक पटक प्याक खरिद गर्नुपर्ने वा सेवा प्रयोगको अवधि सकिएपछि स्वतः नविकरण हुने दुई किसिमबाट यो सेवा सुचारु गर्न सक्छन् । प्रत्येक पटक लिन मिल्ने प्याक २४ घण्टाको लागि मात्र मान्य हुनेछ र स्वत नविकरण हुने प्याक हरेक मध्यरातमा स्वतः नविकरण हुनेछ । प्याक खरिद गर्नका लागि ग्राहकहरुले एस्ट्रिक १७१३३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्नेछन् । १७१३३ मा एसएमएस पठाएर पनि ग्राहकले यी प्याकहरु खरिद गर्न सक्छन् । ‘‘मोबाइल टिभी सेवामा सुलभ पहुँच सुनिश्चित गर्दै ग्राहकका लागि यो नविन सेवा ल्याउन पाएकोमा हामी निकै खुसि छौ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । ‘‘मोबाईल डेटा सेवा र कन्टेन्ट दुवैको माग बढिरहेको बेलामा, ग्राहकले मोबाईल तथा टिभी दुवै सेवा एकितृत रुपमा लिन सक्ने हुँदा यसले ग्राहकलाई थप मुल्य प्रदान गर्नेछ ।”
नेपाल टेलिकमको नयाँ एक्सचेन्ज रुपन्देहीको नहरपुरमा
काठमाडौं, १० कात्तिक । नेपाल टेलिकमले रुपन्देही जिल्लाको नहरपुरमा नयाँ एक्सचेन्ज सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की (राम कार्की) ले सो एक्सचेन्जको उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर सो एक्सचेन्जको उद्घाटन गरेका छन् । सो अवसरमा मन्त्री कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई आफ्नो सीप र क्षमता अभिवृद्धिका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्दैै यसबाट मात्रै नेपाली युवाहरुलाई श्रम बेच्नका लागि विदेश जानबाट कम गर्न सकिने बताएका छन् । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले आफ्ना भइरहेका सेवालाई गुणस्तरीय बनाउन विभिन्न कार्य गरिरहेको बताइन् । साथै थ्रिजी सेवालाई प्रत्येक क्षेत्रमा पुर्याउन र फोरजी सेवा छिट्टै नै सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताइन् । बुधबार उद्घाटित नहरपुर एक्सचेन्ज ९६ लाइन क्षमताको रहेको छ । यस मध्ये ६४ लाइन टेलिफोन र ३२ पोर्ट एडीएसएल डाटा क्षमता रहेको छ । अब सो क्षेत्रका ग्राहकहरु पनि टेलिफोन तथा इन्टरनेट सेवाबाट लाभान्वित हुने भएका छन् । लामो समयदेखि प्रतिक्षारत ग्राहकले समेत सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले कम्पनीले विभिन्न स्थानमा यस्ता एक्सचेन्ज स्थापना तथा सञ्चालन गर्दै आएको बताएको छ ।
आशा लघुवित्तको पहिलो शाखा नुवाकोटको देवीघाटमा
काठमाडौं, १० कात्तिक । आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो पहिलो शाखा नुवाकोटको देवीघाटमा शुभारम्भ गरेको छ । सो शाखाको समुदघाटन आशा लघुवित्त वित्तीय संस्थाका सञ्चालक रामेश्वर सापकोटाले एक समारोहका बीच गरेका छन् । सो कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रामबहादुर पाण्डे, संचालक निर्गुण प्रसाद भट्टचन प्रमुख, कार्यकारी अधिकृत रमेश सिंह खड्का, स्थानीय बुद्धिजीवीहरु, उद्यमी व्यवसायीहरु, समाजसेवीहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो । संस्थाले निकट भविष्यमा नेपाल अधिराज्यभर थप शाखाहरु विस्तार गर्ने योजना रहेको जनाएको छ ।
बेनी–जोमसोम सडक खण्डबाट चिनियाँ कम्पनी गायब !
काठमाडौं, १० कात्तिक । बेनी–जोमसोम सडक खण्डको अध्ययन गरिरहेको चिनियाँ कम्पनी सम्पर्क बिहिन भएको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारका पालामा बेनी जोमसोम सडक खण्डको अध्ययन तथा निर्माणमा समेत सघाउने भन्दै आएको चिनियाँ कम्पनी लामो समयदेखि सम्पर्क बिहिन भएको हो । ‘बेनीदेखि जोमसोमसम्मको सडकको अध्ययन गर्न सरकारले एक चिनियाँ कम्पनीलाई दिएको थियो, चिनियाँ कम्पनीले तत्कालै अध्ययन गरेर ऋण वा अनुदानमा तुरुन्तै सडक बनाइदिन्छ भन्ने सरकारी अपेक्षा थियो तर लामो समयदेखि चिनियाँ कम्पनी सम्पर्कमा आएको छैन’, सडक विभागका महानिर्देक देवेन्द्र कार्कीले भने । अध्ययनको जिम्मा लिएको चिनियाँ कम्पनी गायब भएपछि सो खण्डको सडक निर्माणमा सडक विभागले कुनै काम गर्न पाएको छैन् । ‘हतारमा चिनियाँ कम्पनीलाई जिम्मा दिईयो, अहिले कम्पनी सम्पर्कमा छैन, सडक विभागले पनि त्यहाँ कुनै काम गर्न पाइरहेको छैन’, विभागका महानिर्देशक कार्कीले भने । उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक चिनियाँ प्राइभेट कम्पनीलाई ६ महिनामा डिपिआर बनाउने र काम थाल्ने गरि जिम्मेवारी दिएको बताए । प्रधानमन्त्रीस्तरिय निर्णय भएकाले सडक विभागसँग सो चिनियाँ कम्पनीबारे कुनै जानकारी नभएको कार्कीले बताए । ७६ किलोमिटरको बेनी जोमसोम सडक खण्ड कालीगण्डकी नदिको किनारै किनार निर्माण गरिएको छ । सिंगल लेनमा निर्माण गरिएको सो कच्ची सडकलाई डबल लेनमा स्तरोन्नति गरि कालो पत्रे बनाउनका लागि जग्गाको मुआब्जा बाहेक ३ अर्ब ५० करोड रुपैंयाँ लाग्ने योजना विभागले तयार पारेको थियो । साधारणतया ४ बर्षमा निर्माण सम्पन्न गर्न सकिने अवस्थामा रहेको सो सडकमा आपतकालिन निर्माण सेवा सञ्चालन गरेर साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने योजना तयार पारेको थियो । जोमसोमदेखि कोरला नाका सम्मको सडक निर्माणका लागि भने सडक विभागले टेण्डर जारी गरेर निर्माण व्यवसायीसँग सम्झौता समेत गरिसकेको उनले बताए । सो खण्डमा एक सय किलोमिटर सडकका लागि गत असारमै टेण्डर दिएर सम्झौता सम्पन्न भैसकेको हो । बेनी जोमसोम सडकका लागि विभागसँग आफ्नै डिपिआर रहेको र बजेट उपलब्ध भए ठेक्कापट्टाको काम तुरुन्तै अघि बढाउन सकिने अवस्थामा रहेको जानकारी पनि दिए ।
हरिवंशको गीत ‘हेर्दा जाबाे कागज, यस्काे कत्राे तागत, साहिली जे गर्नु छ गर्छ यहि पापी पैसाले’ (भिडियाे सहित)
काठमाडाैं, १० कात्तिक । कार्तिक २६ देखि प्रर्दशनमा आउन लागेका फिल्म ‘जात्रा’ को गीत सार्वजनिक गरिएको छ । हरिवंश आचार्यको शब्द तथा स्वर रहेको पैसा बोलको गीत सार्वजनिक गरिएको हो । प्रर्दशन मिति नजिकिँदै गर्दा प्रोमोशनस्वरुप गीत सार्वजनिक गरिएको ‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईले जानकारी दिएका छन् । भट्टराईले १२ वर्ष मह जोडीसँग काम गरिसकेका छन् । मह सञ्चारले निर्माण गर्ने फिल्म निर्देशनको जिम्मा समेत प्रदिपलाई नै दिने समाचारसमेत सार्वजनिक भइसकेका छन् । फिल्मको विषयवस्तुसँग मेल खाने गीतमा पैसाको महत्व र आवश्यकतालाई रमाइलो ढंगले प्रस्तुत गरिएको निर्माता एवं कलाकार रबिन्द्रसिंह बानियाले जानकारी दिएका छन् । फिल्मको लागि आफैँले गीत लेखेर गाउन पाउँदा आफुलाई निकै खुशि लागेको हरिवंश आचार्यले बताएका छन् । गाउनका लागि केहि कठिन भएपनि गीतमा एउटा कथा रहेको उनको भनाई छ । शशी रावलको समेत स्वर रहेको गीतमा रोशन थापाले संगीत भरेका छन् । यस्तो छ भिडियो ।
लक्ष्मी बैंकको दुई नयाँ शाखा संचालनमा
काठमाडौं, १० कात्तिक । लक्ष्मी बैंकले बुधबार दुई नयाँ शाखा नवलपरासीको रजहर र उदयपुरको गाईघाट शुभारम्भ गरेको छ । बैंकिङ् सेवाहरु ग्राहकमाझ सहज रुपमा पुर्याउने लक्ष्यले बैंकले यो नयाँ शाखा संचालनमा ल्याएको हो । आर्थिक र व्यापारीक दृष्टिकोणले प्रमुख भूमिका भएको गाईघाट र बैकिङ्ग क्षेत्रमा पहुँच सुदृढ नभईसकेको,रजहर जस्तो बजारहरुमा ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ । साथै बैंकले शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । उक्त शाखा मार्फत सुविधाजनकन निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसायकर्जा सेवाहरु प्रदान गर्ने बैंकले बताएको छ । हाल लक्ष्मी बैंकको शाखा संजाल ५७, २ विस्तार काउन्टर र ७७ ए टि एम रहेको छ । यीशाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।