विकासन्युज

नेपाली जुत्ता घर, घाटाको व्यापार

तर तीन/तीन स्थानमा शाखा विस्तार गर्दै २५ मंसिर । शिखर सु, बिएफ डियर हिल सुज, कोसेली, टाकुरा, स्काई, सफ्ट टच, लेदर विग्ंस, क्रस रोड र सु ल्यान्ड प्रतिस्पर्धी र बजारमा अग्रणी नेपाली जुत्ताका ब्रान्डहरू हुन् । प्रतिस्प्रर्धाकै बीचमा सहकार्य गर्ने र नेपाली जुत्ताको प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ प्रयोग गरे । सामूहिक लगानीमा ‘नेपाली जुत्ता घर’ सञ्चालनमा ल्याए, एउटै सो रुम, एउटै कर्मचारी । आपसमा प्रतिस्पर्धी मानिएका ब्रान्डहरूको सामूहिक आउटलेट सञ्चालनमा आयो पहिलो पटक २०६९ असोज ११ गते जमलमा । हाल काठमाडौंको जमल र महाराजगञ्जमा तथा ललितपुरको कुमारीपाटी र नमस्ते सुपरमार्केट पुल्चोकमा जुत्ता घरका शाखा छन् । कम्पनीमा २० जना कर्मचारी रहेका छन् । तर नेपाली जुत्ता घरको व्यापार राम्रो छैन । नमस्ते सुपरमार्केटस्थित नेपाली जुत्ता घरका इन्चार्ज सनत दासले व्यापार निराशाजनक अवस्थामा रहेको बताए । उनी भन्छन्– ‘चार बजिसक्यो, बोहोनी (पहिलो बिक्री) नै भएको छैन, दिनभर पसल कुरेर बस्दै आएको छु ।’ कुमारीपाटीको आउटलेट इन्चार्ज नवीन शाहीले चाहिँ कारोबारबारे बोल्न अप्ठ्यारो माने । ‘धेरै बेचिन्छ भनौं भने त्यत्रो व्यापारको पैसा कहाँ गयो भन्ने प्रश्न आउँछ अनि थोरै बेचिन्छ भनौं भने व्यवसाय कसरी चलेको छ त भन्ने प्रश्न आउँछ,’ उनले भने । कुमारीपाटीको जुत्ता घर २०७० पुस २६ गते देखि सञ्चालनमा ल्याइएको हो । महाराजगञ्चको नेपाली जुत्ता घर स्थापना २०७० भदौ २५ गते सुरु गरिएको हो । त्यसको उद्घाटन नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमबहादुर गुरुङले गरेका थिए । त्यहाँको इन्चार्जका रूपमा अभिषेक प्रधान खटिएका छन् । उनका अनुसार दैनिक कम्तीमा ६ जोर र बढीमा १८ जोरसम्म बिक्री हुन्छ । जमलस्थित नेपाली जुत्ता घरको आउटलेटमा पुग्दा त्यहाँ दुईजना ग्राहक थिए र उनीहरूले एक जोर बिएफ डियर हिल सुज र एक जोर टोम टेलर्सको पार्टी सुज खरिद गरे । उनीहरूले दुई जोर जुत्तालाई ९ हजार चार सय ९० रुपैंयाँ तिरे । अन्य स्थानको तुलनामा यस आउटलेटमा कारोबार राम्रो देखिन्छ । जमल आउटलेटका इन्चार्जका रुपमा योगेन्द्र न्यौपानेलाई खटाइएको छ । त्यहाँ उनीसहित अन्य दुईजना कर्मचारी काम गर्छन् । नेपाली जुत्ता घरमा संलग्न कम्पनीहरूको बिजनेस पोलिसीको अभावमा व्यापार नबढेको निष्कर्ष नमस्ते सुपरमार्केटस्थित नेपाली जुत्ता घरका इन्चार्ज सनत दास बताउँछन् । नेपाल छालाजुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्षसमेत रहेका नेपाली जुत्ता घरका निर्देशक होमनाथ उपाध्यायले पनि नेपाली जुत्ता घर नाफामा नभएको, त्यसको व्यवस्थापन र प्रमोसन गर्न नसकिएको बताए । तर, आफूहरू निराश नभएको र छिट्टै जुत्ता घरलाई नाफा आर्जन हुनेगरी चलाउने योजना बन्दै गरेको उनले बताए । ‘हामी छिट्टै नाफामा पुग्छौं, अब प्रमोसनमा लाग्दैछौं, यो नमुना प्रयास हो, विकास र विस्तारको योजनामा छौं,’ उनले भने । उपाध्यायका अनुसार नेपाली जुत्ता घर कम्पनी प्रालिले राजधानीमा अझै तीनवटा आउटलेट थप्ने योजना बनाएको छ । अति व्यस्त मानिएका चाबहिल, बानेश्वर र पुरानो बसपार्कमा नयाँ आउटलेट स्थापना गर्ने तयारी कम्पनीको छ । ‘जुत्ता घरको साझेदारहरू सबैलाई आ–आफ्नै कम्पनीको प्रमोसनमा लाग्दैमा फुर्सद छैन्,’ उनी भन्छन्, ‘अब सामूहिक योजना ल्याउँछौं, अनि व्यापार बढ्छ ।’ नेपाली जुत्ताघरमा नेपाली बजारमा ख्यातिप्राप्त एवं ब्रान्डेड जुत्ता कम्पनीहरूको सहभागिता रहेको छ, जसमा शिखर, बिएफ डियर हिल, स्काई, कोसेली, क्रसरोड, लेदर विग्स, टाकुरा, सफ्टटच र शू ल्यान्डलगायतका प्रतिष्ठित ब्रान्डका जुत्ता चप्पलहरू पाइन्छन् । यो प्रयास नेपालमा नवीनतम र नमुना प्रयासको रूपमा रहेको छ । यस जुत्ता घरमा सबै ब्रान्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज÷स्कुल र लेडिज सबै वर्ग, उमेर र समूहलाई हुने जुत्ता तथा चप्पलहरू बिक्री वितरणका लागि राखिएका छन् । जुत्ताघरको मुख्य उद्देश्य भनेको नेपाली ब्रान्डको पहिचान एवं नेपाली ब्रान्डको प्रवद्र्धन नै रहेको नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्याय बताउँछन् । नमस्ते सुपरमार्केटले नेपाली ब्रान्डका जुत्ता तथा चप्पललाई प्राथमिकतामा राख्दै नेपाली जुत्ता घरको चेन स्टोर खोल्नलाई पहलकदमी लिएको बताइएको छ । नेपाल जुत्ता घरका निर्देशकसमेत रहेका उपाध्यायले सरकारले सरकारी पोसाकमा नेपाली कपडा नै प्रयोग गर्ने नीति अबलम्बन गर्न लागेको सन्दर्भमा छालाका जुत्ता पनि नेपाली नै प्रयोग गर्नुपर्ने नीति पारित गर्नुपर्ने बताए ।

मन परुञ्जेल संसर्ग, खटपटपछि बलात्कार

२५ मंसिर । काभे्रपलाञ्चोक साँगा–५ बस्ने २३ वर्षीया अन्जु (परिवर्तित नाम) र पर्सा महादेवपट्टी–१ घर भई भक्तपुर नगरपालिका–१५ बस्ने २४ वर्षीय दयानन्द चौधरीबीच ६ वर्षदेखि प्रेम सम्बन्ध कायम थियो । यो बीचमा उनीहरुबीच आपसी सहमतिमा कयौँपटक शारीरिक सम्बन्ध कायम भएको दुवैले स्वीकार पनि गरेका छन्, तर गत भदौ २६ गते चौधरीले जबर्जस्ती करणी गरेको भन्दै घटनाको चार दिनपछि भक्तपुर प्रहरीमा अन्जुले किटानी जाहेरी दिइन् । प्रहरीले चौधरीलाई पक्राउ ग¥यो । हाल चौधरी पुर्पक्षका लागि जेल चलान भएका छन् । प्रहरी स्रोतका अनुसार चौधरी बिस्तारै अन्जुदेखि टाढिन थालेपछि दुईबीच खटपट सुरु भएको थियो । अन्तमा अन्जुले जिल्लास्थित महिला अधिकारकर्मीको सहयोगमा चौधरीविरुद्ध जबर्जस्ती करणी गरेको आरोप लगाउँदै उजुरी गरेकी थिइन् । घटनाको दिनमा पनि दुवैजना पाटनको एक स्थानमा भेट भई चौधरीकै मोटरसाइकलमा अन्जु भक्तपुरस्थित चौधरीको डेरामा पुगेर यौन सम्पर्क गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । त्यस्तै, काभे्र बालुवापाटीकी २१ वर्षीया एक युवती र सिन्धुपाल्चोक ठूलोपाखर घर भई भनपा–१६ घलाँटे बस्ने २४ वर्षीय विनोद तामाङबीच फोनमा कुराकानी हुने गरेको लामो समय भइसकेको थियो । गत भदौमा युवतीकी आमा बिरामी भई भक्तपुर अस्पतालमा उपचारका लागि आएका बेला ती युवतीको तामाङसित प्रत्यक्ष भेट भयो । सहमतिमै युवती तामाङको कोठामा गई रात बिताए, तर घटनाको दुई हप्तापछि जबर्जस्ती करणीको उजुरी गरिन् । तामाङ अहिले पुर्पक्षका लागि जेल चलान भएका छन् । मध्यपुर थिमी नगरपालिका–७ डेरा लिई बस्ने सुन्तली (परिवर्तित नाम) र सिन्धुपाल्चोक जिल्ला मगाम–७ बस्ने शेरबहादुर तामाङ नातामा देवर भाउजु हुन् । सुन्तलीका पति लामो समयदेखि वैदेशिक रोजगारमा छन् । देवर भाउजुबीच पटक–पटक शारीरिक सम्बन्ध कायम भएको दुवैले सकारेका पनि छन् । गत असार २४ गते पनि भाउजुकै अनुरोधमा मदिरापान गरेर शेरबहादुर सुन्तलीको कोठामा गए र त्यहीँ रात बिताए, तर त्यसको पाँच दिनपछि देवरविरुद्ध सुन्तलीले जबर्जस्ती करणीको उजुरी महानगरीय प्रहरी वृत्त थिमीमा दर्ता गरिन् । स्रोतका अनुसार उनी देवरविरुद्ध सार्वजनिक अपराधबमोजिम कारबाहीको माग गर्दै उजुरी गर्न गएकी थिइन्, तर वृत्तमा कार्यरत एक प्रहरीकै सल्लाहमा उनले शेरबहादुरविरुद्ध जबर्जस्ती करणीसम्बन्धी उजुरी दर्ता गरेकी थिइन् । मुद्दा अदालतमा पुग्यो । भक्तपुर जिल्ला अदालतले शेरबहादुरलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दियो । सोहीबमोजिम शेरबहादुर थुनामा छन् । भक्तपुरमा पछिल्लो समय सहमतिमा कायम भएको शारीरिक सम्बन्धलाई पनि कानुनको सहारामा बलात्कारको घटनामा परिणत गर्ने परिपाटी विकास भएको छ । मनपरुन्जेल सम्बन्ध गाँस्ने, तर मन नपरेपछि बलात्कारको आरोप लगाउने प्रवृत्तिले पुरुष कानुनको सिकार बन्दै गएका छन् । प्रहरी स्रोतका अनुसार घटनाको प्रकृति हेर्दा कुनै पनि कोणबाट बलात्कार हुन नसक्ने घटनालाई बलात्कारअन्तर्गत मुद्दा चलाउनुपर्ने बाध्यता रहेको छ । अशक्त, उमेर नपुगेका बालिका हो भने जबर्जस्ती करणी हुन सक्दछ तर उमेर पुगेका बयस्क युवती, त्यसमाथि शिक्षित युवती यौन सम्पर्क भएको हप्ता दिनपछि बलात्कृत भएको भन्दै उजुरी गर्न आउनु आफैँमा शङ्कास्पद भएको प्रहरीको भनाइ छ । जबर्जस्ती भएकै हो भने प्रतिकारका केही सामान्य लक्षण हुनुपर्छ, त्योसमेत नहुने गरेको प्रहरी बताउँछन् । “बचाउका लागि चिच्याएको, झडप भएको केही हुँदैन, चोटपटक लागेको केही हुँदैन तर पनि जबर्जस्ती करणी गरेको आरोपमा केटालाई कारबाही गर्नुपर्ने अवस्था छ,” प्रहरी स्रोतले भन्यो । विभिन्न महिला अधिकारकर्मी र संघ संस्थाको दबाब तथा पीडित पक्षको किटानी जाहेरीका कारण प्रहरीले आरोपी व्यक्तिमाथि मुद्दा चलाउनैपर्ने बाध्यता रहेको प्रहरी स्रोतले नाम उल्लेख नगर्ने सर्तमा बताए । बलात्कृत भएको भन्दै घटनाको केही दिनपछिमात्र प्रहरीमा उजुरी पर्नु नै आपसी सम्बन्धमा आएको असमझदारी भएको प्रहरीको भनाइ छ । “किटानी जाहेरी दर्ता नगर्दा अनावश्यक विवाद र अधिकारकर्मीको दबाब आउने भएकाले त्यस्ता घटनाको मुद्दा प्रक्रियामा जान प्रहरी बाध्य छ,” स्रोतले भन्यो । यस्तो बेला पीडितको शारीरिक जाँच र यौन सम्पर्क भएको बेला स्खलन भएको विर्य जाँचलगायतमा समस्या आउने गरेको प्रहरी बताउँछन् । मुलुकी ऐनको जबर्जस्ती करणीसम्बन्धी महलमा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा १६ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा जबर्जस्ती करणी गरेको ठहर्ने’ उल्लेख गरिएको छ । सो महलको स्पष्टीकरण प्रयोजनमा ‘डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन’ भनी उल्लेख छ । भक्तपुरमा गत वर्ष मात्र २८ वटा जबर्जस्ती करणीसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता भएका थिए । तीमध्ये २२ वटाको फैसला भइसकेको जिल्ला अदालतका स्रस्तेदार खड्गराज अधिकारीले जानकारी दिए । त्यस्तै यस आर्थिक वर्षको साउनदेखि यतामात्र अदालतमा बलात्कारका पाँच मुद्दा दर्ता भएको छ । उनले कानुनमा स्पष्टसँग अनुचित प्रभाव र झुक्यानमा पारी लिएको मञ्जुरीलाई मञ्जुरी नमान्ने व्यवस्था गरेकाले प्रेमी प्रेमिकाबीच सहमतिमा भएको शारीरिक सम्बन्ध पनि जबर्जस्ती करणीमा जाने गरेको बताए । बिहे गर्ने भनी झुक्याएर यौन सम्पर्क गरेको आरोपसहित उजुरी आउने र सोहीबमोजिम प्रहरी प्रतिवेदन र आरोपीको साविती बयान हुने भएकाले अदालतले कानुनबमोजिम कारबाही गर्ने गरेको उनको भनाइ छ । रासस

दुई तिहाइ वित्तीय सेवा बाग्मतीमा मात्रै

२५ मंसिर । वित्तीय बजारको दुई तिहाइ हिस्सा काठमाडौं उपत्यका र आसपासका जिल्लाले ओगटेका छन् । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक गतिविधिलाई समेटेर गरेको अध्ययनले यस्तो देखाएको हो । काठमाडौं क्षेत्रले कुल कर्जाको ५८ प्रतिशत उपयोग गरेको छ । यस्तै कुल निक्षेपमा ६९ दशमलव ४ प्रतिशत काठमाडौं क्षेत्रबाट मात्रै संकलन भएको छ । राष्ट्र बैंकको अनुसन्धान विभाग, आर्थिक विकास शाखा तथा नेपाल राष्ट्र बैंकका काठमाडौं उपत्यका बाहिरका कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) का कार्यक्षेत्रअन्तर्गतका ४७ जिल्लाहरूकोे समग्र आर्थिक गतिविधिसम्बन्धी तथ्यांक एवं सूचना र स्थलगत अध्ययनका आधारमा तयार पारिएको प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययनमा आठ क्षेत्रअन्तर्गत विभिन्न ४७ जिल्लाका गतिविधि समावेश गरिएको छ । काठमाडौं क्षेत्रअन्तर्गत बाग्मती अञ्चलका सबै जिल्ला र दोलखा जिल्ला समावेश गरिएको छ । गत आर्थिक वर्षमा काठमाडौं क्षेत्रबाट मात्रै १० खर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । सो आवमा कुल १४ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । गत वर्ष ११ खर्ब ७ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा काठमाडौं क्षेत्रले ६ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँ उपयोग गरेको छ । काठमाडौंपछि धेरै निक्षेप संकलन गर्ने क्षेत्रमा पोखरा परेको छ । पोखरा क्षेत्रवाट गत वर्ष १ खर्ब ८ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यो रकम कुल निक्षेपको ७ दशमलव ५१ प्रतिशत हो । पोखरा क्षेत्रले कुल कर्जाको ७ दशमलव ३१ प्रतिशत कर्जा उपयोग गरेको छ । सो क्षेत्रमा गत आर्थिक वर्षमा ८१ अर्ब रुपैयाँ कर्जा गएको छ । विराटनगर क्षेत्रले कुल निक्षेपको ५ दशमलब ५८ प्रतिशत हिस्सा ओघटेको छ । सो क्षेत्रवाट गत आर्थिक वर्षमा ८४ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । विराटनगर क्षेत्रले कुल कर्जाको १० दशमलब ५८ प्रतिशत हिस्सा उपयोग गरेको छ । गत आर्थिक वर्षमा विराटनगर क्षेत्रमा १ खर्ब १७ अर्ब २८ करोड रुपैयाँ कर्जा उपयोग भएको छ । जनकपुर क्षेत्रले निक्षेप र कर्जा दुवैको २ दशमलव ४६ प्रतिशत हिस्सा उपयोग गरेको छ । यो क्षेत्रले ३५ अर्ब ६० करोड निक्षेप संकलन गरेको छ भने २७ अर्ब २९ करोड रुपैयाँ कर्जा उपयोग गरेको छ । वीरगन्ज क्षेत्रले कुल निक्षेप संकलनमा ५ दशमलव २६ प्रतिशत योगदान गरेको छ । गत अवमा सो क्षेत्रबाट ७५ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यस्तै कर्जाको उपयोगमा वीरगन्ज क्षेत्रको हिस्सा ९ दशमलव ४५ प्रतिशत रहेको छ । सो क्षेत्रले गत आर्थिक वर्षमा १ खर्ब ४ अर्ब ७४ करोड रुपैयाँ कर्जा उपयोग गरेको छ । सिद्धार्थनगर क्षेत्रले गत वर्ष कुल निक्षेपको ५ दशमलव ४९ प्रतिशत हिस्सा योगदान गरेको छ । यस्तै कुल कर्जाको ६ दशमलव ५८ प्रतिशत हिस्सा सो क्षेत्रले उपयोग गरेको छ । गत आर्थिक वर्षमा सिद्धार्थनगर क्षेत्रबाट ७९ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन भएको थियो भने ७२ अर्ब ९४ करोड रुपैयाँ कर्जा उपयोग भएको थियो । नेपालगन्ज क्षेत्रबाट गत आर्थिक वर्षमा ३४ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । कुल निक्षेप संकलनमा नेपालगन्ज क्षेत्रबाट २ दशमलव ४ प्रतिशत संकलन भएको छ । यस्तै, कुल कर्जामा नेपालगन्ज क्षेत्रले ३ दशमलव ३८ प्रतिशत हिस्सा उपयोग गरेको छ । गत आर्थिक वर्षमा सो क्षेत्रमा ३६ अर्ब ३९ करोड रुपैयाँ कर्जा उपयोग भएको थियो । निक्षेप संकलन र कर्जा उपयोग दुवैमा धनगढी क्षेत्रको योगदान सबैभन्दा कम रहेको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा धनगढी क्षेत्रबाट २२ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । कुल निक्षेप संकलनमा धनगढी क्षेत्रको योगदान १ दशमलव ५७ प्रतिशत रहेको छ । यस्तै ,धनगढी क्षेत्रले गत आर्थिक वर्षमा २५ अर्ब ४० करोड रुपैयाँ कर्जा उपयोग गरेको छ । कुल कर्जामा धनगढी क्षेत्रले उपयोग गरेको अंश २ दशमलव २९ प्रतिशत रहेको छ ।

व्यापारदेखि सेवासम्म, जहाँ खेतान त्यहाँ झगडा

२४ मंसिर । उद्योगपति मोहनगोपाल खेतानका जेष्ठपुत्र राजेन्द्र खेतान युवा अवस्थामै नेपालको व्यावसायिक समूहमा अग्रपंक्तिमा देखिएका थिए । जतिबेला उनी बुबाको छत्रछायाँमा थिए, युवा उद्यमीमा उनको नाम सबैभन्दा अगाडि थियो । जन्मजात उद्योगपतिको परिचय बनाएका राजेन्द्र खेतानको यतिबेला भने पहिचान नै बदलिएको छ । धेरैले उनलाई घमण्डी र झगडिया भन्न थालेका छन् । ‘जहाँ खेतान, त्यहाँ झगडा’ उनका समकक्षीहरू यसै भन्छन् । पछिल्लो उदाहरण हो, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २३ गते बोलाइएको विशेष साधारणसभा बस्नै नसक्नु । मुख्य लगानीकर्ता खेतान समूह रहेको एभरेष्ट इन्स्योरेन्स कम्पनी चरम विवादमा छ । यस कम्पनीमा राजेन्द्र खेतान समूह र टिवडेवाला समूहबीच लामो समयदेखि विवाद हुँदै आएको छ । बहुमतको बलमा कम्पनीभित्र आर्थिक अनियमितता गरेको र सर्वसाधारणको समेत सेयर लगानी रहेको कम्पनीलाई खेतान समूहले निजी कम्पनीको रूपमा चलाउँदै आएको टिवडेवाला समूहको दाबी छ । विवादकै कारण नियामक बीमा समितिले तोकेको न्यूनतम पुँजीसमेत प्रवद्र्धकहरूले लगानी गरेका छैनन् । बीमा समितिले निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २५ करोड रुपैयाँ हुनुपर्ने नीति लागू गरेको धेरै वर्ष बितिसक्दा पनि यस कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ मात्र छ । कम्पनीका तत्कालीन अध्यक्ष राजेन्द्र खेतानले आफ्नै कम्पनी हिमालयन स्न्याक्स एन्ड नुडल्स कम्पनीमा आगलागीको दाबी भुक्तनी प्रक्रिया पूरा नगरी लिएको र संस्थालाई ४ करोड रुपैयाँभन्दा बढी नोक्सान पु¥याएको आरोप उनकै पार्टनरले लगाउँदै आएका छन् । यसै विषयमा उत्पन्न विवादका कारण गत वर्र्ष बीमा समितिले कम्पनीमा हस्तक्षेप गरेको थियो । करिब ६ महिनाअघि बीमा समितिले साधारणसभा गराई नयाँ सञ्चालक समिति गठन गराई व्यवस्थापन हस्तान्तरण गरेको थियो । सबै कम्पनीमा विवाद एभरेष्ट इन्स्योरेन्समा मात्र होइन, खेतान समूहको लगानी रहेका सबै कम्पनीमा विवाद छ । खेतान समूहले प्रवद्र्धन गरेको लक्ष्मी बैंक र प्राइम लाइफ इन्स्योरेन्समा पनि ठूलो लफडा छ । सुशासनको कमी र आर्थिक अनियमिता भएको बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स र यसका व्यवस्थापक कारबाहीमा पर्दै आएका छन् । प्रवद्र्धकहरूबीच विवादकै कारण लक्ष्मी बैंकले गत वर्ष हकप्रद सेयर जारी गर्न सकेन । बैंकको अघिल्लो साधारसभाले २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय ग¥यो । प्रवद्र्धकहरूबीच नै लफडा भएपछि उक्त सेयर निष्कासन हुन नसकेको हो । गत कात्तिकमा भएको बैंकको साधारसभाले फेरि ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ राजस्व छलेपछि उक्त कम्पनीमा साझेदारी गर्दै आएको डेनिस मल्टिनेसनल कम्पनी काल्र्सवर्ग ग्रुप र खेतान समूहबीच विवाद भयो । उक्त कम्पनीमा खेतान समूहको ५९ प्रतिशत लगानी थियो । व्यवस्थापन पूरै खेतान समूहको थियो । १०औं करोड रुपैयाँ राजस्व छलीले डेनिसको बहुराष्ट्रिय कम्पनीको कर्पोरेट छविमा ठूलो धक्का लाग्यो । परिणामतः राजस्व छलीको १० करोड रुपैयाँ पूरै गोर्खा ब्रुअरीको तर्फबाट खेतान समूहले तिर्नुप¥यो । काल्र्सवर्ग ग्रुपले राजस्व छलीबापतको रकम भुक्तानी गर्न मानेन । नाम नै मेटियो गोर्खा ब्रुअरीमा विवाद त्यतिमा मात्र टुंगिएन । काल्र्सवर्ग ग्रुपले ग्रोर्खा बु्रअरीमा खेतान समूहलाई अल्पमतमा पार्ने गरी कम्पनीको ८० प्रतिशत सेयर आफ्नो स्वामित्वमा लियो । व्यवस्थापन पनि खेतान समूहबाट खोसेर आफूले नियन्त्रणमा लियो । अहिले उक्त कम्पनीमा खेतान समूहको केही चल्दैन । यतिसम्म कि खेतान समूह बदनाम भएकै कारण काल्र्सवर्ग ग्रुपले गोर्खा ब्रुअरीको आधिकारिक वेभसाइटमा खेतान समूहको नाम र फोटोहरूसमेत हटाइदिएको छ । नेपाल सरकारको ७५ प्रतिशत र खेतान समूहको १२ दशमलव ५ प्रतिशत सेयर रहेको नेपाल ओरिन्यन्ट म्याग्नेसाइट कम्पनी पनि विवादमा परेको छ । दोलखाको चुनढुंगा खानी सञ्चालन गर्न पूर्वउद्योगमन्त्री कर्णबहादुर थापाले कम्पनीलाई अनुमति दिने तयारी गरेका थिए । खेतान ग्रुपले प्रस्ताव गरेकोभन्दा पनि बढी सुविधा राखेर मन्त्रालयले कम्पनी सञ्चालनको अनुमति दिन लागेको पाइएको भन्दै वर्तमान उद्योगमन्त्री महेश बस्नेतले सञ्चालन अनुमति नदिई राखेका छन् । पूर्वमन्त्रीले स्वीकार गरेका सर्तमा लाइसेन्स दिँदा राज्यलाई ठूलो नोक्सान हुने दाबी मन्त्री बस्नेतको छ । खेतान समूहको निजी कम्पनी हिमालयन स्न्याक्स एन्ड नुडल्स कम्पनीले पनि राजस्व छलीसम्बन्धी मुद्दा खेपिरेहको छ । पार्टनर सडकमा, खेतान सिंगापुरमा यस्तै यस्तै विवादले व्यापारिक साझेदारबीच पनि खेतानको सम्बन्ध कटुतापूर्ण छ । उनीसँग साझेदारी गर्दा घाइते हुने व्यवसायीको संख्या धेरै छ । खेतानसँग साझेदारी गरेका पारिवारिक नातेदारसमेत सडकमा पुगेका छन् । पारिवारिक नाता भएका र कुनैबेला लक्ष्मी बैंकको सञ्चालकसमेत रहेका राकेश अडुकियाले आफ्नो दुर्गति हुनुमा राजेन्द्र खेतानको हात भएको आफ्ना साथीसर्कलमा बताउँदै आएका छन् । उनीसँग साझेदारी तोड्न चाहने, तर नसक्ने अवस्थामा पुगेका पनि धेरै छैन । एभरेष्ट इन्स्योरेन्समा खेतानसँग साझेदारी गर्दै आएका निरञ्जन टिवडेवालले सार्वजनिक रूपमै खेतानको चर्को आलोचना गरेका छन् । ११ वर्षदेखिका व्यापारिक टिवडवालले खेतानलाई ‘अत्यन्तै नीच सोच भएका’ व्यक्तिको रुपमा चित्रित गर्दै विगत १० वर्षदेखि खेतानसँग बोलचाल नभएको बताएका छन् । अनलाइन खबरमा प्रकाशित टिवडेवालसँग अन्तर्वार्ताको एक अंश  कानुनविपरीत विदेशमा लगानी पछिल्लो सात वर्षमा खेतान समूहले नेपालमा नयाँ लगानी गरेको छैन । बाबुको पालादेखि अहिलेसम्म नेपालमा कमाएको धन विदेशमा पु¥याएको आरोप उनीमाथि लाग्दै आएको छ । उनले गोर्खा ब्रुअरीमा रहेको सेयर बिक्री गरेर उक्त पुँजी सिंगापुर लगेको बताइन्छ । खेतान समूहले सिंगापुरमा कम्पनी खोलेर ट्रेडिङ बिजनेस गर्दै आएको उनको निकट व्यवसायीहरू बताउँछन् । खेतान समूहले सबैभन्दा धेरै लगानी भारतमा वियर कम्पनी गरेको बताइन्छ । भाइ चन्द्रप्रकाश खेतानले नेतृत्व गरेको वियर कम्पनीले भारतमा राम्रो मुनाफा गरेको, तर राजेन्द्र खेतानले नेतृत्व गरेको सिंगापुरको टे«डिङ व्यापार नोक्सानमा रहेको जानकारहरू बताउँछन् । सामाजिक क्षेत्रमा पनि बद्नाम उद्योग, व्यापारमा मात्र होइन, सामाजिक क्षेत्रमा पनि राजेन्द्र खेतानको छवि झगडिया पात्रको रूपमा विकसित हुँदैछ । पछिल्लो उदाहरण हो खेतान अध्यक्ष भएपछि मारवाडी सेवा समितिका सबै गतिविधि बन्द हुनु । जब खेतान समितिको अध्यक्ष बने ,तब यो संस्था ऐतिहासिक रूपमा पहिलो पटक चरम विवादमा फसेको छ । ६२ वर्ष लामो इतिहास बोकेको परोपकारी संस्थाको सम्पूर्ण सेवा बन्द भएका छन् । विगत सात दशकदेखि निर्वाद तवरले उपलब्ध गराउँदै आएका महत्वपूर्ण सेवाहरू दुग्ध वितरण होमियोप्याथिक सेवा, आवास सुविधा, एम्बुलेन्स, शव बाहन सेवा तथा पानी वितरणलगायत सबैसेवा अतिश्चित कालका लागि बन्द गरिएका छन् । यसअघि खेतान नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघमा पनि झगडा गरेर बाहिरिएका थिए । नेपाल उद्योग वाणिज्य महासंघको २०६२ सालको निर्वाचनका क्रममा प्रथम उपाध्यक्ष पदमा चण्डिराज ढकाल र राजेन्द्र खेतानको दाबी प¥यो । धेरैले ढकाललाई साथ दिए । चुनाव हार्ने अवस्था सिर्जना भएपछि खेतानले महासंघलााई झिटिगुन्टा व्यापारीको संगठन भएको आरोप लगाउँदै महासंघ परित्याग गरेको घोषणा नै गरे । महासंघ त्यागेर उनी नेपाल उद्योग परिसंघमा आबद्ध भए । परिसंघमा पनि केही वर्षको सक्रियतापछि उनले वरिष्ठ उपाध्यक्षको दाबी गरे । परिसंघका अध्यक्ष विनोद चौधरीले आफ्ना विश्वासपात्र नरेन्द्रकुमार बस्न्यातलाई अगाडि सारे । वरिष्ठ उपाध्यक्ष पद नपाएपछि परिसंघलाई ‘विनोद एन्ड चौधरी कम्पनी’ संज्ञा दिँदै त्यहाँबाट बाहिरिए । परिणाम अहिले पनि चौधरी र खेतानबीच तिक्ततापूर्ण सम्वन्ध रहेको जानकारहरू बताउँछन् । ‘सबै कुरा मैले जानेको छु, मैले भनेकै हुनुपर्छ भन्ने घमण्ड राजेन्द्रमा छ,’ महासंघमा कार्यसमितिमा दुई कार्यकाल सँगै काम गरेका पूर्वअध्यक्ष चण्डिराज ढकाल भन्छन्, ‘मान्छे ट्यालेन्ट हो, पैसा पनि छ, तर घमण्डले गर्दा समूहमा काम गर्न सक्दैन ।’ सभासद् बन्दा पनि विवाद राजेन्द्र खेतान यसअघि असफल भएको संविधानसभामा सभासद् पनि भएका थिए । उनी नेकपा मालेबाट समानुपातिकमा सभासद् भएका थिए । त्यतिबेला पनि उनी चर्को विवादमा परे । विनोद कुमार चौधरी, दिवाकर गोल्छा, पद्म ज्योति, श्रवणकुमार अग्रवाल, मधुसुदन अग्रवाल, विमल केडिया, मोतीलाल दुगडलगायत व्यवसायका प्रतिस्पर्धीहरू विभिन्न पार्टीबाट सभासद् भएपछि उनी रातारात नेकपा मालेमा छिरेर सभासद् भएका थिए । सभासद् बन्नुपूर्व पार्टीलाई दिने कबोल गरेअनुसार चन्दा नदिएको आरोपमा खेतान नराम्ररी मुछिएका थिए ।

एनसीसी बैंकको ११ लाख कित्ता सेयर लिलामीमा, एनबी समूहको सेयर कसले किन्ला ?

२४ मंसिर । यति डेभलपमेन्ट बैंकले एनसीसी बैंकको ११ लाख २० हजार कित्ताभन्दा बढी सेयर लिलामी गर्ने भएको छ । सेयर धितोमा कर्जा लिएका एनबी ग्रुपका संचालकहरु जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठसहितका परिवारले कर्जा नतिरेपछि बैंकले धितो लिलामी गर्न लागेको हो । यति डेभलपमेन्ट बैंकले बुधवार सार्वजनिक सुचना प्रकाशित गरी आफ्नो बैंकमा धितो बन्दकी रहेको एनसीसी बैंकको ११ लाख २० हजार ५ सय कित्ता सेयर लिलामी गर्ने जानकारी दिएको हो । मंगलवार एनसीसी बैंकको सेयर प्रतिकित्ता ५ सय १८ रुपैयाँमा कारोवार भएको छ । यो मूल्य अनुसार एनसीसीको सेयरको बजार मूल्य ५८ करोड ४ लाख १९ हजार रुपैयाँ हुने छ । एनबी ग्रुपका संचालक र उसका परिवारले एनसीसीको सेयर धितो राखेर यति डेभलपमेन्ट बैंकवाट कर्जा लिएका थिए । सो कर्जाको सावा ब्याज रकम समयमै तिर्न नसकेपछि बैंकले नियमानुसार धितो लिलामीको प्रक्रिया सुरु गरेको हो । यतिले जीतबहादुर श्रेष्ठका छोरा जेन श्रेष्ठ प्रबन्ध संचालक रहेको जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजको नाममा रहेको ३ लाख ८६ हजार कित्ता सेयर लिलामी गर्न लागेको छ । यस्तै अनारदेबी श्रेष्ठको नाममा रहेको एनसीसी बैंककै ७८ हजार ५ सय कित्ता सेयर पनि लिलामी गर्ने सुचनामा उल्लेख छ । यतिले लक्ष्मीबहादुर श्रेष्ठको नाममा रहेको एनसीसीको ३६ हजार कित्ता सेयर पनि लिलामी गर्ने भएको छ । यतिमा लक्ष्मीबहादुरको नामको धितो राखिएको सेयर लिलामी गर्न लागिएको हो । लक्ष्मीबहादुरकी श्रीमती विनु श्रेष्ठको नाममा रहेको एनसीसी बैंककै १ लाख ९९ हजार ५ सय कित्ता सेयर पनि लिलामी गरिने भएको छ । यतिले एनबी इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको एनसीसी बैंकको ४ लाख २० हजार ५ सय कित्ता सेयर पनि लिलामी गर्ने भएको छ । एनबी इन्भेष्टमेन्ट प्रालि पनि एनबी ग्रुपका परिवारको हो । सो प्रालिमा पूर्णवहादुर श्रेष्ठका छोरा सुजित श्रेष्ठ प्रबन्ध संचालक उनकी आमा गीता श्रेष्ठ संचालक रहेका छन् । यतिले १५ दिन भित्रमा सो सेयर लिलामी गरिसक्ने जानकारी दिएको छ । यसअघि १९ मंसिरमा ३५ दिने सार्वजनिक सुचना प्रकाशित गरेर कर्जा तिर्न जानकारी गराउदा पनि कुनै प्रयास नगरेको भन्दै यतिले धितो लिलामी प्रक्रियामा लगेको हो । सो सेयर गोप्य शिबन्दी टेण्डरवाट बढाबढ प्रक्रियामा विक्री गरिने भएको छ ।

एभरेष्ट इन्स्योरेन्समा फेरि विवाद, विशेष साधारणसभा बस्न सकेन ।

२३ मंसिर । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा फेरी विवाद बल्झिएको छ । कम्पनीका मुख्य प्रवद्र्धकहरु खेतान समूह र निरञ्जन तिवेडेवाल समूहबीच विवाद चर्केकाले मंसिर २३ गते लागि बोलाइएको विशेष साधारणसभा बस्न सकेन । विवाद चर्केपछि एउटा पक्षले साधारसभा वहिस्कार गरेको र कोरम नपुगेका कारण साधारणसभा हुन नसकेको कम्पनीका एक कर्मचारीले बताए । साधारणसभामा ३५ प्रतिशतमात्र सेयरधनी उपस्थित भएका थिए । साधारसभाका लागि ५० प्रतिशतभन्दा बढी सेयरधनीको उपस्थिति अनिवार्य हुन्छ । गत कात्तिक ३० गते बसेको इन्स्यारेन्स सञ्चालक समितिको बैठकले मंसिर २३ गतेका लागि अग्रवाल भवन कमल पोखरीमा विशेष साधारणसभा बस्ने निर्णय गरेको थियो । निरञ्जन टिवडेवाला ग्रुप समूह मंगलबार बोलाइएको साधारणसभामा उपस्थित नभएको खेतान समूहबाट प्रतिनिधित्व गर्ने एक सञ्चालकको दावी छ । यस कम्पनीमा राजेन्द्र खेतान समूह र टिवडेवाला समूहबीच लामोसमय देखि विवाद हुँदै आएको छ ।खेतान समूहले बहुमतको बलमा कम्पनीभित्र आर्थिक अनियमितता गरेको टिवडेवाल समूहको दावी छ । कम्पनीका तत्कालिन अध्यक्ष राजेन्द्र खेतानले आफ्नै कम्पनीमा लागलागीको दावी भुक्तानी प्रक्रिया पूरा नगरि लिएको र संस्थालाई ४ करोडभन्दा बढी नोक्सान पु्र्याएको आरोप उनकै पार्टनरले लगाउँदै आएका छन् । यसै विषयमा उत्पन्न विवाद, तत्कालिक कार्यकारी प्रमुख केवलकृष्ण श्रेष्ठले गरेको आर्थिक अनिमितता र खेतान पक्षले कम्पनी नै बन्द गर्ने गरी गराएको एकतर्फि निर्णयपछि गत वर्ष बीमा समितिले यस कम्पनीमा हस्तक्षेप गरेको थियो । करिब ६ महिनाअघि बीमा समितिले साधारणसभा गराई नयाँ सञ्चालक समिति गठन गराई व्यवस्थापन हस्तान्तरण गरेको थियो । मंगलबारका लागि बोलाइएको विशेष साधारणसभामा हालको अधिकृत पुँजी १५ करोड रुपैयाँबाट वृद्धि गरी ४० करोड रुपैयाँ पु¥याउने तथा जारी पुँजी साढे १० करोडबाट वृद्धि गरी ३० करोड रुपैयाँ पु¥याउने र सोहीबमोजिक प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेन्डा थिए । बीमा समितिले निर्जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पुँजी २५ करोड रुपैयाँ हुनुपर्ने नीति लागू गरेको धेरै वर्षवितिसक्दा पनि यस कम्पनीको चुक्ता पुँजी १० करोड मात्र छ । पुँजी वृद्धि गर्नकै लागि लागि विशेष साधारणसभा बोलाइएको थियो ।

पुनर्बीमामा ९५ करोड विदेशियो, ५९ करोड फर्कियो

२३ मंसिर । नेपाली बीमा कम्पनीले बार्षिक करोडौं रकम विदेशी पुनर्बीमा कम्पनीलाई तिर्ने गरेका भएपनि यस्ता कम्पनीवाट आउने रकमको अंश भने कम हुने गरेको छ । नेपाली कम्पनीले विदेशी पुनर्बीमा कम्पनीलाई तिरेको शुल्कको एक तिहाइ रकम पनि दाबी भुक्तानीको लागि प्राप्त नहुने तथ्यांकले देखाएको छ । बीमा समितिले दिएको तथ्यांक अनुसार गत असोज मसान्तसम्ममा निर्जीबन बीमा कम्पनीहरुले ९५ करोड ९३ लाख रुपैयाँ पुनर्बीमा शुल्क तिरेका छन् । कूल दाबी भुक्तानीमा पुनर्बीमा कम्पनीहरुले ३० करोड ७७ लाख रुपैयाँ ब्यहोरेका छन् । यस्तै पुनर्बीमा गराएवापत कम्पनीहरुले २८ करोड ९३ लाख रुपैयाँ कमिसन पनि पाएका छन् । यो तथ्यांक अनुसार नेपाली निर्जीबन बीमा कम्पनीहरुले ९५ करोड ९३ लाख रुपैयाँ विदेशी कम्पनीलाई तिर्दा करिब ५९ करोड रुपैयाँ फिर्ता पाएका देखिएको छ । बर्सेनि ठूलो मात्रामा रकम विदेशिने गरेपछि नेपालमै पुनर्बीमा कम्पनी स्थापना गरिएको अर्थमन्त्री डा. रामशरण महतको भनाइ छ । ‘बर्सेनि करोडौं रकम पुनर्बीमाको लागि विदेशिने गरेको छ’– केहि दिन अघि अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले भनेका थिए– यहि आवश्यकता महसुस गरेर पुनर्बीमा कम्पनी स्थापना गरिएको हो । केहि दिन भित्रमा नै पुनर्बीमा कम्पनी उद्घाटन गरेर संचालनमा ल्याउने तयारी भएको अर्थमन्त्रीको भनाइ छ । नेपालवाट बर्सेनि करोडौं रकम पुनर्बीमाको लागि विदेशिने गरे पनि फिर्ता आउने रकमको हिस्सा निकै सानो भएको तथ्यांकले देखाएको छ । पुनर्बीमा गराउनै पर्ने र त्यसो हुदा बार्षिक करोडौं रकम विदेशिने गरेकोले नेपालमै पुनर्बीमा कम्पनी स्थापना भएको बीमा समितिका सल्लाहकार भोजराज शर्मा बताउछन् ।

पूर्व राजपरिवारको अर्बौ धनसम्पत्ति जफत, दुई लाख कित्ता सेयर, २८ करोड नगद र २२ हजार रोपनी जग्गा ट्रष्टको नाममा

२२ मंसिर । पूर्व राजपरिवारको स्वामित्वमा रहेको अर्बौ रुपैयाँ बराबरको सम्पत्ति सरकारले जफत गरेको छ । त्यसका २२ हजार रोपनी जग्गा, करिव २८ करोड नगद र झण्डै दुई लाख कित्ता सेयर रहेको सरकारी अधिकारीहरुले बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवार दरवार हत्याकण्डामा मारिएका पूर्वराजा वीरेन्द्र शाह र उनको परिवार शाह परिवारको स्वामित्वमा रहेको विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको एक लाख ८१ ९४२ कित्ता सेयरसमेत जफत गरिएको छ । त्यसमा नबिल बैंकमा एक लाख ४४ हजार ४७२ कित्ता, नेपाल औद्योगिक विकास निगममा छ हजार ७५० कित्ता र होटल डेला अन्नपूर्णमा ३० हजार ७२० कित्ता सेयर रहेको छ । उल्लेखित सेयरको हालको बजार मूल्य ३५ करोड रुपैयाँभन्दा बढी हुन्छ । उल्लेखित सबै सेयर नेपाल ट्रष्टको नाममा ल्याईसकिएको ट्रष्टका सहसचिव प्रज्ज्वल शर्मा अर्यालले जानकारी दिए । त्यसैगरी गत असोज मसान्तसम्म विभिन्न बैंकहरूमा रु २७ करोड ४५ लाख ५४ हजार नगद मौज्दात रहेको र ४५ हजार ४५ बेलायती पाउण्ड समेत ट्रष्टले आफ्नो स्वामित्वमा ल्याएको छ । मंगलबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पूर्व राजपरिवारको स्वामित्वमा रहेको थप १५ हजार २७३ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको छ । ती जग्गा धादिङ र नुवाकोट जिल्लामा रहेको र सरकारले हालै ट्रष्टको स्वामित्वमा ल्याएको बताईयो । नागार्जुन दरबारले चर्केको जग्गा धादिङ र नुवाकोट जिल्लामा अवस्थित रहेको भन्दै ट्रष्टका सहसचिव अर्यालले बाँकी जग्गा भने नुवाकोटको थानसिङमा फेला परेको जानकारी दिए । यस्तै ट्रष्टको स्वामित्वमा हालसम्म २२ हजार ५१८ रोपनी जग्गा प्राप्त भएको र सो जग्गा ट्रष्टले संरक्षण गरिरहेको छ । मुलुकभर रहेका चल अचल सम्पत्तिको खोजबिन जारी रहेको भन्दै सहसचिव अर्यालले सुराक दिनेलाई उचित पुरस्कारको प्रबन्ध गर्न नसक्दा सही तथ्याङ्क प्राप्त हुन नसकेको बताए । उनले भने–‘‘पूर्व राजपरिवारको सम्पत्ति अझै पनि स्वदेश तथा विदेशमा रहेको भन्ने अनौपचारिक सूचना ट्रष्टसँग रहेको भएपनि आवश्यक प्रमाण पु¥याउन नसक्दा एकीकृत गर्न सकिएको छैन ।’’ यस्तै नेपाल ट्रष्टको जग्गा उपयोग सम्बन्धी गुरुयोजनाको मस्यौदा तयार भएको र चल अचल सम्पत्तिलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा छिट्टै योजना समेत तयार हुने उनले बताए ।