बाढीपिडीतका लागि एनआरएनएद्वारा राहतकोष स्थापना, शेष घले दम्पत्तिले दिए १ करोड
काठमाडौं । शुक्रबार देखिको अबिरल बर्षाका कारण नेपालको तराईका बिभिन्न जिल्लामा बाढीपहिरोले ठुलो धनजनको क्षति पु¥याएपछि गैरआवासिय नेपाली संघ (एनआरएन) ले राहत कोष स्थापना गरेको छ । एनआरएनको आइतबार बसेको आकस्मिक बैठकले बाढीको जोखिममा रहेका हजारौं परिवारलाई तत्काल उद्दार र आपतकालिन राहतका लागि आपतकालिन सहयोगस्वरुप ’बाढीपिडीत राहत कोष’ स्थापना गर्ने निर्णय गरेको हो । कोषमा अध्यक्ष शेष घले र जमुना गुरुङको एमआईटी फाउण्डेसनले १ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ । बैठकमा संघका संरक्षक जीवा लामिछाने तथा उपाध्यक्ष भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी र सचिव अर्जुन श्रेष्ठले जनही १ लाख रुपैयाँ तथा प्रवक्ता रन्जु थापाले ५० हजार रुपैयाँ र कोषाध्यक्ष हिक्मत थापाले ५१ हजार रुपैयाा सहयोगको घोषणा गरेका छन् । एक साताभित्र दुई करोड रुपैयाँ जम्मा गरी राहत बितरण थाल्ने तयारी रहेको एनआरएनकी प्रवत्ता रञ्जु वाग्लेले जानकारी दिइन् । बिश्वभरी छरिएर नेपालीहरुलाई आफ्नो गच्छेले भ्याएसम्म रकम सहयोग गरी बिपतको घडीमा मातृभूमी र पिडीतलाई सहयोगको हात अगाडी बढाउन एनआरएनले अपिल समेत गरेको छ ।
२२ अर्ब लगानी थप्दै नेपाल टेलिकम, आक्रामक बजार विस्तारसँगै एसएमएस सेवा निःशुल्क
काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले टेलिफोन सेवा र विस्तार र नयाँ सञ्चार प्रविधि जडान गर्न २२ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७४/०७५ मा यो रकम लगानी गरेर ग्राहक संख्या १७ प्रतिशत बढाउने लक्ष्य टेलिकमले लिएको छ । टेलिकमका हाल १ करोड ७४ लाख ४२ हजार ग्राहक छन् । चालु आवमा टेलिकमका ग्राहक २ करोड नाघने भएका छन् । फोरजी सेवा,वाइम्याक्स र तारसहितको टेलिफोन सेवा विस्तारमा टेलिकमले लगानी बढाउने प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले यो वर्षदेखि डिजिटल अर्थतन्त्र निर्माणमा टेलिकमले ध्यान केन्द्रीत गर्ने जानकारी दिइन् । यस्तै इन्टरनेट सेवालाई अझ प्रभावकारी बनाउने उनले बताइन् । पुर्वाधार निर्माणतर्फ चालु आवमा टेलिकमले पाँचथरको चियोभन्ज्याङदेखि गोरखाको आरुघाट बजारसम्म ८ सय किलोमिटर लामो सुचना मार्गको निर्माण गर्ने भएको छ । गत आवमा टेलिकमले १५ अर्ब रुपैयाँ खुदनाफा गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत मध्ये सबैभन्दा बढी नाफा टेलिकमको छ । गत आवमा टेलिकमले ४४ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । टेलिकममा ९२ प्रतिशत सरकार र ८ प्रतिशत सर्वसाधारणको सेयर लगानी रहेको छ । अविरल बर्षाका ठुलो धनजनको क्षति भएको भन्दै टेलिकमले आफनो सञ्जालाभित्र मुलुकभर एसएमएस सेवा निशुल्क गर्ने जानकारी दिएको छ । याे सेवा साउन ३१ गते मंगलबारसम्म निशुल्क गर्ने टेलिकमले जनाएकाे छ ।
प्रमको भारत भ्रमणमा व्यापार घाटाका बारे छलफल हुने
नगरकोट । वाणिज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले संविधान संशोधनका विषयमा नेपाली काँग्रेसले पारित गराउने उद्देश्यका साथ विपक्षी दलसँग तीव्र रुपमा छलफल गरिरहेको बताएका छन्। रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले संविधान संशोधनलाई पारित गराउन संशोधनको पक्षमा दुई तिहाई पु¥याउने वातावरण बनाउन राजपा लाग्नुपर्ने र निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा व्यापार घाटाका बारे पनि छलफल हुने जानकारी दिए । रासस
उर्जा बैंक स्थापना गर्न भारतको ‘ग्रीन सिग्नल’, सचिवस्तरिय बैठकमा छलफल हुँदै
काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि बिजुली व्यवस्थापन गर्न नेपालले ऊर्जा बैंक स्थापनका लागि भारतसंग प्रस्ताव गरेको छ । गत साता भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत विद्युत् आदन–प्रदान समिति (पावर एक्सचेन्ज कमिटी) बैठकमा नेपाल विद्युत प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतलाई बेच्ने र हिउँदमा किन्ने गरी ऊर्जा बैंक स्थापनाको प्रस्ताव गरेको हो । नेपालको प्रस्तावलाई भारतीय पक्षले सकरात्मक रुपमा लिएको विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । आदनप्रदान समिति बैठकले आउदो नेपाल–भारत सचिवस्तरिय संयुक्त स्थायी समिति बैठक (जेसीडब्आर) मा छलफल गर्ने सहमति भएको उनले जानकारी दिए । विद्युत प्राधिकरणले आफनो तर्फबाट राखेको प्रस्तावलाई भारतीय पक्षले सकरात्मक रुपमा लिएको उनको भनाई छ । आउदो जेडीडब्आर बैठकमा यस विषयमा सहमति हुने संभावना रहेको उनले जानकारी दिए । आउदो सचिवस्तरिय बैठकमा उत्तरप्रदेशबाट नेपाल जोड्ने १३२ केभी क्षमताका ३ वटा प्रसारणलाइन र २ वटा ३३ केभी प्रसारणलाइन निर्माणको विषयमा पनि छलफल हुने अधिकारीले बताए । ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षादको ४ महिना बढी हुने बिजुली व्यवस्थापन गर्न नेपालले ऊर्जा बैंकि स्थापनाको अवधारणा ल्याएको हो । माथिल्लो तामाकोसीलगायत अन्य केही ठुला आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि ०७६ देखि वर्षादको ४ महिना बिजुली उत्पादन बढी हुने प्रक्षेप्रणका आधारमा प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतलाई बेचेर सुख्खायाममा भारतबाट खरिद गर्न ऊर्जा बैंक स्थापना गर्न लागेको अधिकारीले स्पष्टपारे । कुलेखानी बाहेक सबै आयोजना नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिका भएकाले मंसिर, पुस, माघ, फागुन, चैत, बैशाख र जेठसम्म नदीको पानी वहाव घटेपछि यसको असर विद्युत उत्पादनमा ७० प्रतिशतसम्म कमी आउने गरेको छ । तामाकोसी आएपछि वर्षादमा बिजुली छेलोखेलो भएपनि सुख्खायामा उत्पादन घटेर केही घण्टा लोडसेडिङ हुने अवस्था छ । सरकारले चालु आवमा विद्युत उत्पादन ८ सय थप गर्ने लक्ष्य लिएको छ । गत आवमा ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएपछि जडित क्षमता ९८० मेगावाट पुगेको छ । हालसम्मको उत्पादन गरी ३ वर्षभित्र विद्युतको उत्पादन जडित क्षमता २ हजार १ सय मेगावाट नाघने अनुमान गरिएको छ । आउदो ०७५ सालको असार अन्तिमसम्म बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसीको पहिलो युनिटबाट बिजुली उत्पादन हुदैछ । सोही वर्षको मंसिरसम्म तामाकोसीको ५ वटै युनिटको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्धारित लक्ष्यमा केही महिना ढिलाइ भएपनि ०७५ भित्र तामाकोसी पुर्ण रुपमा सञ्चालनमा आइसक्ने छ । योजनामा रहेको निर्धारित आयोजना सम्पन्न भएमा आउदो सन् २०२१ को अन्त्यसम्ममा भारतबाट बिजुली आयात बन्द हुनेछ । केही वर्ष ऊर्जा बैकिङमार्फत ऊर्जा आपूर्तिलाई सन्तुलनमा ल्याई आगामी सन् २०२१ को अन्त्यदेखि भारतबाट बिजुली आयात बन्द गर्ने योजना तयार भएको अधिकारी बताउछन् । नेपाल–भारत अन्तरदेशिय प्रसारणलाइन अन्र्तगतको ढल्केबर सवस्टेशन आउदो कात्तिकभित्र २२० केभीमा सञ्चालनमा आउने छ । ढल्केबरमा कम क्षमताको सवस्टेशनका कारण हाल १३२ केभीबाट १४५ मेगावाटसम्म विद्युत प्रवाह भइरहेको छ । २२० केभीमा चार्ज भएपछि सो लाइनबाट २ सय मेगाावाट बिजुली आदनप्रदान गर्न सकिने छ । आगामी २ वर्ष भित्र सवस्टेशनलाई ४ सय केभीमा स्तरोन्नोती गर्ने लक्ष्य लिइएको छ । ४ सय केभीमा स्तरोन्नोती भएपछि १ हजार २ सय मेगावाट बिजुली आदनप्रदान हुने छ । लोडसेडिङ हटाउन यो वर्ष मात्र भारतबाट ५ सय मेगावाटसम्म बिजुली आयात गर्ने लक्ष्य प्राधिकरणको छ । गत वर्ष ३८५ मेगावाटसम्म बिजुली आयात भएको थियो । विद्युत आदनप्रदान समिती बैठकले नेपाललाई थप १ सय मेगावाट बिजुली दिने सम्झौता गरेको छ । ३ वर्षमा विद्युत् प्राधिकरण अन्र्तगतको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी, चिलिमे हाइड्रोपावर लिमिटेड अन्र्तगतको १११ मेगावाटको रसुवागढी, १५ मेगावाटको सान्जेन, ४२ मेगावाटको तल्लो सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना सम्पन्न हुदैछन् । यस्तै विद्युत प्राधिकरणले आफनो लगानीमा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना आउदो ६ महिनामा सम्पन्न हुदैछन् । यस्तै निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी, ४२ मेगावाटको मिस्त्रीखोला, २० मेगावाटको माथिल्लो मोदी, ८२ मेगावाटको तल्लोसोलु, ८६ मेगावाटको सोलु दुधकोसी, २३.५ मेगावाटको माथिल्लो सोलु, सिंगटी, खारे खानीखोलालगायत झण्डै २ दर्जन आयोजना आउदो ३ वर्षमा सम्पन्न हुदै छन् । लिखु नदीमा १५७ मेगावाट क्षमताका ३ वटा आयोजनाको निर्माण सुरु भएको छ । विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको त्रिशुली ३ ए आयोजना ३ वर्षमा सम्पन्न हुदै छ । आगामी हिउँददेखि १४० मेगावाटको तनहुँ अर्धजलासययुक्त आयोजनाको काम सुरु हुदै छ ।
माहुली सामुदायिक लघुवित्तको ४ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । आइतबार मात्रै कम्पनीको सो मात्राको साधारण सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत भएको हो ।
चिनियाँ टोलीद्धारा नुवाकोटकाे साततले दरबार क्षेत्रको अध्ययन हुँदै
नुवाकोट । भूकम्पले क्षति पुर्याएको ऐतिहासिक साततले दरबार क्षेत्रको पुनःनिर्माणको जिम्मा लिएको चीनले नुवाकोट दरबार क्षेत्रको अध्ययन गर्न थालेको छ । चिनियाँ वरिष्ठ इञ्जिनीयरको टोलीले दरबार क्षेत्रमा भत्किएका संरचनाको पुनःनिर्माणका लागि प्राविधिक अध्ययन थालेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले बताए । चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज नामक संस्थाका तर्फबाट वरिष्ठ इञ्जिनीयरसहितको आठ जनाको टोलीले दरबार क्षेत्रको अवस्था सर्भे गर्न थालेको कार्यालय प्रमुख फुयाँलले बताए । “गत साता नुवाकोट दरबार क्षेत्रको तुलजा भवानीको मन्दिर भत्किएको समाचार सार्वजनिक भएपछि चिनियाँ टोलीले चासो दिएको हो” फुयाँलले भने, “नुवाकोटको पुरातात्विक संरचना जोखिममा रहेको निक्र्योल गरी टोली लागत इस्टिमेटका लागि आएको हो ।” अहिले टोलीले साततले दरबार र दरबार क्षेत्रको आधा दर्जनभन्दा बढी पुरातात्विक महत्वका मठमन्दिर र दरबारको अध्ययन गरिरहेको छ । चिनियाँ टोलीले साततले दरबार, गारद घर, रंगमहल, तुलजा मन्दिर, लामपाटी, सेतापाटी, नारायण मन्दिर र विष्णु मन्दिरको सर्भे गर्न प्रारम्भ गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले विसं १८१९मा पृथ्वीनारायण शाहद्वारा निर्मित साततले दरबार क्षेत्रको पुरातात्विक महत्वका संरचनाको क्षति पुर्याएको थियो । दरबार क्षेत्रको प्रमुख आकर्षण साततले दरबारमा क्षति पुगेको छ भने तुलजा मन्दिर, गारद घरलगायत भने भत्किएको छ । भूकम्प गएको २७ महिनासम्म पनि पुनःनिर्माणमा चासो नहुँदा दरबार बर्खाको पानीले गर्दा कमजोर बन्दै गएकाले तत्काल पुनःनिर्माण गर्नुपर्ने फुयाँलले बताए । नुवाकोटको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल दरबार क्षेत्रका सम्पदाको तत्काल पुनःनिर्माण नगर्ने हो भने सम्पदा नै नष्ट हुने भएकाले सरकारले प्राथमिकता दिनुपर्ने नुवाकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले बताए । “जुन देशले सहयोग गर्ने भनेको छ त्यो देशलाई तत्काल काम गर्ने वातावरण बनाउनुपर्छ” उनले भने, “भूकम्पले थङथिलो भएको सम्पदाले दुई बर्खा झेलिसकेको छ । बर्खाको पानी पसेर भएको संरचना पनि भत्किन थालेको छ ।” गत साता दरबार क्षेत्रमा रहेको मल्लकालीन तुलजा भवानीको मन्दिर अविरल वर्षाका कारण भत्किन थालेको छ भने गारद घर पनि भत्किन थालेको छ । दरबार क्षेत्रका सम्पदामध्ये भैरवी मन्दिर मात्र पुरातत्व विभागले पुनःनिर्माण गरिरहेको छ । रासस
नारायणगढ-मुग्लिन र मुग्लिन-नौबिसे सडक अवरुद्ध, यात्रु अलपत्र
चितवन । अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला, सेतीदोभान, भोर्लेलगायतका क्षेत्रमा पहिरो खसेको छ । शनिबार दिउँसो २ बजेपछि वर्षात्सँगै ती ठाउँमा पहिरो खसेको हो । पानी परिरहेको र पहिरो खसिरहेकाले बाटो सफा गर्न नसकिएको उनले बताए । ठूला पहिरा नभएकाले पानी रोकिएमा दुईदेखि तीन घण्टामा सडक सफा गरी सवारी सञ्चालनमा ल्याइने यादवले बताए । सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् । यस्तै, पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डमा १४ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाका अनुसार सो सडकको फिस्लिङ, कुरिनटार, मजिम्टार, जोगिमारा, बेनीघाटलगायतका १४ स्थानमा पहिरो खसेको छ । शनिबार साँझ ६ बजेपछि ती ठाउँमा पहिरो खसेका हुन् । गएराति २ बजे पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको भएपनि पुनः पहिरो ठाउँठाउँमा खसेपछि सडक अवरुद्ध बनेको झाले बताए । तीनवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेको झाले बताए । रासस
राहत तथा उद्धारमा खट्न अध्यक्ष दाहालको निर्देशन
काठमाडौं। नेकपा(माओवादी केन्द्र)ले बाढी प्रभावित जनताको राहत तथा उद्धारमा सम्पूर्ण शक्तिका साथ परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपद्को यस अवस्थामा उद्धार र राहतका लागि तत्काल जुट्न पार्टीको सम्पूर्ण पंक्तिलाई आग्रह गरे । केही दिनदेखिको अविरल वर्षाका कारण देशव्यापी रुपमा ठूलो जनधनको क्षति भएको र बाढीपहिराका कारण राजमार्ग तथा अन्य सम्पर्क सञ्जालसमेत अवरुद्ध हुन पुगेकाले लनागरिकको जीउधनको रक्षा गर्न, उनीहरुलाई सुरक्षित स्थानमा उद्धार गर्न र राहतको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । पूर्वप्रधानमन्त्री दाहालले सरकारमा सहभागी भएका पार्टीका मन्त्रीलाई पनि नागरिकको उद्धार र राहत वितरणमा सक्रियताका साथ लाग्न र परिचालित हुन आग्रह गरेका छन् । यस्तै माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले पनि बाढी तथा पहिरोपीडित नागरिकको उद्धार तथा राहत वितरणका लागि खट्न आग्रह गरेको छ । वाइसिएलका नेता रामप्रसाद सापकोटाले वाइसिएलका सम्पूण समिति तथा सदस्यलाई पूर्ण इमान्दारीका साथ परिचालित हुन आग्रह गरिएको जानकारी दिए। अनेरास्ववियु (क्रान्तिकारी)ले पनि बाढी तथा पहिरोपीडितको राहत तथा उद्धारमा खट्न नेता तथा कार्यकर्तालाई आग्रह गरिसकिएको अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिएका छन् । रासस