विकासन्युज

बनेपामा सेयर कारोबार गर्नेको सङ्ख्या वृद्धि, सातामा १० करोड बढीकाे सेयर किनबेच

बनेपा। सेयर बजारको दायरा फराकिलो हुँदै जाँदा बनेपामा पनि कारोबार गर्नेको संख्या बढ्दै गएको छ । बनेपामा भिजन सेक्युरिटिज प्रालि (३४), डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रालि (४४) नंले शाखा कार्यालयमार्फत डिम्याट गर्ने र सेयर कारोबारको काम छ महिनादेखि हुन थालेपछि सो कारोबार गर्नेको संख्या बढेको हो । भिजन सेक्युरिटिज प्रालि बनेपा शाखाका प्रमुख प्रकाश अधिकारीले गाउँ गाउँबाट सेयर कारोबार गर्न ग्राहक आउन थालेकाले गाउँको पैसा शहरमा परिचालन भएको बताए । उनले यस क्षेत्रमा शेयर कारोबार गर्ने महिलाको संख्या बढ्नुका साथै शेयर कारोबारप्रति जनचेतना बढ्दै गएको बताए । सो शाखामा एक साताको अवधिमा १० करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । चैतबाट उक्त कार्यालयले बनेपामा शुरु गरेको शेयर कारोबार गत साता चार दिनको अवधिमा छ करोड तीन लाख ४० हजार रुपैयाँ भएको थियो । त्यस्तै डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रालिले बनेपामा एक साताको अवधिमा ९१ लाख ११ हजार रूपैयाँ बराबरकाे कारोबार गरेको छ । गत साता सो कार्यालयले  ८५ लाख ६० हजार रूपैयाँको कारोबार गरेको बनेपा शाखाका प्रमुख नमोः ओम श्रेष्ठले जानकारी दिए । “नयाँ नयाँ तर सानो कारोबार गर्ने ग्राहकको संख्या बढेको छ,” उनले भने । उक्त ब्रोकर कार्यालयले पाँच महिनादेखि बनेपामा सेयर कारोबार गर्दै आएको छ । यी दुई ब्रोकर कार्यालयबाहेक क्रियटिभ सेक्युरिटिज प्रालिले पनि शेयर कारोबार गर्दै आएको छ । बनेपा बजारलाई काभ्रेपलाञ्चोकको प्रमुख व्यापारिक केन्द्रको रुपमा हेरिँदै आएको छ । यहाँ आर्थिक कारोबार बढी हुने गर्छ ।

प्रिमियर इन्स्योरेन्सको ३७ औ शाखा दमकमा

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपालको ३७ औ शाखा दमकमा रहेको छ । उक्त शाखाको उद्घाटन दमक नगरपालीकाका प्रमुख रोमनाथ ओलीले गरेका छन् । इन्स्योरेन्सले यस दमक शाखाले आफ्नो सेवालाइ अझ विस्तारीत गर्दै लैजाने प्रतिवद्धता प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले व्यक्त गरेका छन् । कम्पनीले आर्थिक बर्ष ०७३।७४ मा एक अर्ब ३५ करोड रुपैयाँ विमाशुल्क संकलन गरेको छ । सो अवधिमा बैंकले अठार करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

सरकारले खाद्य संस्थाको महाप्रवन्धकको पदपूर्ति गर्न माग्यो आवेदन

काठमाडौं   । सरकारले नेपाल खाद्य संस्थानमा महाप्रवन्धकको नियुक्तिको काम थालेको छ । खुला प्रतिस्पर्धाबाट महाप्रवन्धक नियुक्तिको तयारी सरकारले गरेको छ । भदौ १५ गतेसम्म आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखा शिलवन्दी आवेदन दिन भनेको छ । अर्थशास्त्र, व्यापार र व्यवस्थापनमा न्युनतम स्नातक तहसम्म अध्ययन पुरा सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव भएका व्यक्तिले मात्र आवेदन दिन सक्ने छन् ।

एकैदिन पाँच कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन(बिहीबार) किसान माइक्रोफाइनान्स वित्तीय संस्था, सुमीट माइक्रोफाइनान्स र सिन्धु विकास बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । त्यस्तै, नेप्सेले सोही दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीेको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले किसान माइक्रोफाइनान्स वित्तीय संस्थाकोे २४.२२ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २५९६ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १८७७ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले सुमीट माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १९०५ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १७१६ रुपैयाँ रहने भएको छ । सिन्धु विकास बैंकको पनि ८० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २२२ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य २८८ रुपैयाँ रहने भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीे दुबैको १० प्रतिशत बोनस पछिको सेयर मूल्य नेप्से समायोजन गरेको छ । अरुण भ्यालीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २४४ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ३१४ रुपैयाँ रहने भएको छ । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०६८ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १०४१ रुपैयाँ रहने भएको छ ।

सामसुङका उपाध्यक्षलाई भ्रष्ट्रचारको आरोपमा पाँच वर्षको जेल सजाय

विश्वकै ठुलो स्मार्टफोन तथा अन्य विद्युतिय उपकरण निर्माता कम्पनी सामसुङका उत्तराधिकारी ली जेइ योङलाई भ्रष्टचारको आरोपमा पाँच वर्षको जेल सजाय दिइएको छ । सोही भ्रष्टाचार काण्डमा मुछिएका दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हेईले पनि पद गुमाउनुपरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । सामसुङका उपाध्यक्ष लीमाथी राष्ट्रपतिका एक गोप्य सहयोगीलाई सरकारको नीति कम्पनी अनुकुल बनाउनका लागि चार करोड अमेरिकी डलरको घुस दिएको आरोप छ । यसै आरोपमा उनलाई फेब्रुअरी १७ मा प्रहरीले गिरफ्तार गरी जेल चलान गरेको थियो । पक्राउ परेको दोस्रो दिनमा नै उनलाई हत्कडी बाधेर पुछताछ गरिएको थियो । अदालतले सामसुङका अन्य चार ठुला पदाधीकारीलाई पनि चार वर्षसम्मको जेल सजाय तोकेको छ । लीलाई सुनाइएको सजायले सामसुङले नेतृत्वमा असर पार्नसक्ने अनुमान गरिएको छ ।   #BREAKING Samsung heir Lee Jae-Yong convicted of bribery, embezzlement, capital flight, perjury: Yonhap — AFP news agency (@AFP) August 25, 2017 #BREAKING Samsung heir Lee Jae-Yong jailed for five years: Yonhap — AFP news agency (@AFP) August 25, 2017 को हुन् ली जेइ योङ ? ली जेइ योङ दक्षिण कोरियाको चर्चित एवं विशाल कम्पनी सामसुङ ग्रुपका उपाध्यक्ष हुन् । ली सामसुङ ग्रुपका प्रमुख ली कुन्हीका छोरा पनि हुन् । करिब आठ अर्ब अमेरिकी डलरका धनी ली दक्षिण कोरियाका तेस्रा धनी व्यक्तिमा गनिन्छन् । सन् २०१४मा फोर्ब्सले उनली विश्वका शक्तिशाली व्यक्तित्वहरुको सूचीमा ३५ औं स्थानमा राखेको थियो ।

जुम्लामा २ करोड २५ लाखको स्याउ बिक्री

जुम्ला । एक सातायता जिल्लामा २ करोड २५ लाख रूपैयाँ बराबरको स्याउ बिक्री भएको छ ।  यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन् । अहिलेसम्म जिल्लाबाट ५४२ मेट्रिक टन स्याउ विभिन्न जिल्ला पठाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । व्यापारीले किसानको बगैँचामै गएर स्याउ प्रतिकिलो  ६० रूपैयाँका दरले खरिद गर्न थालेका छन् । चन्दननाथ नगरपालिका–१० का छक्कबहादुर शाही बगैँचाबाटै  ३ लाख रूपैयाँ भन्दा बढीको स्याउ बिक्री गरेको बताउछन् । सोही वडाकै सरस्वती देवकोटा लगानीअनुसारको आम्दानी गर्न सफल भएको बताइन । स्याउमा चमेरो, अरिङ्गाल, कोइरालोलगायतले क्षति पु¥याउन थनलेकाले चाँडै बेच्नु परेको उहाँको भनाइ छ । सुर्खेत र नेपालगञ्जमा स्याउको मूल्य ह्वात्तै घटेकाले व्यापारी मारमा परेका छन् । ग्रेडिङ र प्याकेजिङ बिना स्याउ धमाधम बिक्री हुन थालेको छ । ग्रेडिङ नगरिएको स्याउले उचित मूल्य नपाउँदा व्यापारी चिन्तामा छन् । जिल्ला सहकारी संघमा रहेको रु ८० लाखको ग्रेडिङ मेसिन सञ्चालनमा आउन सकेको छैन । दिनहुँ हातले नै स्याउ ग्रेडिङ गर्नु परिरहेको व्यापारी रामकृष्ण चौलागार्इंले बताउनुभयो । उहाँले ६५ मेट्रिक टन स्याउ खरिद गर्नुभएको थियो भने करिब २५ मेट्रिक टन कमसल स्याउ भेटिएको छ । जुम्लामा प्रतिकिलो रु ६० मा खरिद गरिएको स्याउ काठमाडौँमा रु १२० मा बिक्री गर्ने सम्झौता भएको चौलागाईंले बताउनुभयो । उहाँले करिब रु ३५ लाखको स्याउ खरिद गर्नुभएको छ । भदौ पहिलो साताभित्रै जुम्लाका ९० प्रतिशत स्याउका बगैँचा रित्तिएका छन् । पञ्चेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मीनबहादुर डाँगी व्यापारीले अत्याएका कारण स्याउ पूर्ण रुपमा तयार हुन नपाएको बताए । रासस

नेशनल हाइड्रोको प्रमुख कार्यकारी अधिकृतमा कुमार पाण्डे नियुक्त

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा कुमार पाण्डे नियुक्त भएका छन् । भदौ ३ गते बसेको हाइड्रोको सञ्चालक समितिको बैठकले पाण्डेलाई हाइड्रोको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । पाण्डेले भदौ ४ गते (आइतबार) देखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले अब करिब ४ वर्ष सम्म कम्पनीको सिईओको जिम्मेवारी सम्हाल्नेछन् ।  

नेपाल व्यवस्थापन संघ र भारतको पीएचडी चेम्बरबीच समझदारी, व्यवसायको विस्तार गरिने

नयाँ दिल्ली । नेपाल व्यवस्थापन संघ र पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज, भारत बीच आपसी सहकार्यका लागि विहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज द्वारा आयोजित “इण्डो–नेपाल जिएसटी मिट” कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो । यो समझदारीपत्र भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावासद्वारा आयोजित ताजमहल होटलमा हुने कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा आदान प्रदान हुने कार्यक्रम छ । उद्योग र वाणिज्य क्षेत्रको विकास, विस्तार, प्रत्यक्ष विदेशी लगानी प्रवद्र्धन र प्रविधि हस्तान्तरणका क्षेत्रमा अध्ययन एवं अनुसन्धान, उपयुक्त र सामयिक नीतिगत व्यवस्थाका लागि पैरवी, उपयुक्त जनशक्ति विकास, दक्ष र प्रभावकारी व्यवस्थापन सहित प्राविधिक तथा आर्थिक क्षेत्रमा पारस्पारिक सहयोग आदानप्रदान गर्ने सदाशय अनुरुपका उद्देश्य राखेर यो समझदारी गरिएको छ । समझदारी अनुसार दुवै संस्थाहरुले व्यवसायिक सम्बन्ध स्थापना गरी पारस्पारिक सहयोगको आधारमा दुवै मुलुक, दुवै संस्था र त्यसमा आवद्ध सदस्यहरुलाई प्रत्यक्ष लाभ पु¥याउने क्षेत्र पहिचान गरी कार्यक्रमहरु सञ्चालन गर्नेछन्। दुवै मुलुकमा नयाँ अवसरहरुको उजागर गर्ने साना तथा मध्यम व्यवसायको विकास र विस्तार गर्नका लागि व्यवसायिक सञ्जाल विस्तार गर्ने प्रावधान पनि समझदारीमा रहेको छ । समझदारी हस्ताक्षर कार्यक्रममा नेपाल व्यवस्थापन संघको अन्तर्राष्ट्रिय सम्बन्ध तथा साझेदारी उपसमितिका संयोजक डा. विनोद आत्रेय र पीएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रि, भारतका महासचिव सौरभ सन्यालको उपस्थिति रहेको थियो । समझदारी पत्रमा साक्षिकोरुपमा उनीहरुले हस्ताक्षर गरेका छन ।