विकासन्युज

कात्तिकमा बुटवल पावरको ४० लाख ८१ हजार कित्ता एफपीओ, कति पर्ला मूल्य ?

काठमाडौं । दुई जलविद्युत आयोजना निर्माण गर्न बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले कात्तिकसम्म थप निश्कासन (एफपीओ) ल्याउने भएको छ । धितोपत्र बोर्डबाट यो महिनाभित्र एफपीओ निश्कासनका लागि बीपीसीले स्वीकृति पाउँदै छ । बोर्डबाट स्वीकृत पाएपछि निश्कासनको प्रक्रिया सुरु गर्ने बीपीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । उनका अनुसार बीपीसीले प्रतिकित्ता ५१८ रुपैयाँ प्रिमियम मुल्य प्रस्ताव गरेको छ । उसले ४० लाख ८१ हजार कित्ता एफपीओ निश्कासन गर्न लागेको हो । यो दरमा एफपीओ निश्कासन अनुमति पाए कुल २ अर्ब ११ करोड ३९ लाख ५८ हजार रुपैयाँ संकलन हुने छ । एफपीओ सबै बिक्रि नभए अण्डर राइटरले खरिद गर्नुपर्ने प्रावधान भएकाले यस विषयमा टुङगो लाग्न बाँकी रहेको उनले जानकारी दिए । कम्पनीले सेयर निश्कासन(अण्डर राइटर)का लागि लक्ष्मी क्यापिटल र एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा बीपीसीले ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बीपीसीले गत चैतको पहिलो साता एफपीओ निश्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । साढे ६६ मेगावाटका न्यादी र कावेली ए आयोजना निर्माणमा थप लगानी जुटाउन बीपीसीले प्रिमियम दरमा एफपीओ निश्कासन गर्न लागेको उनले जानकारी दिए ।  धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि बीपीसीले एफपीओ निष्कासन गर्न लागेको हो । सहायक कम्पनी कावेली इनर्जी लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेका २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । यी आयोजनामा हालसम्म ९५ करोड ३६ लाख रुपैयाँ लगानी भैसकेको छ । १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी गर्न बाँकी छ । बीपीसीले १ सय मेगावाटको तल्लो मनाङ मस्र्याङदी र साढे ८ मेगावाटको चिनोखोला आयोजना अघि बढाउँदैछ । तल्लो मनाङको उत्पादन अनुमतिपत्र लिने क्रममा छ । चिनोको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिमा छ । यस्तै, कम्पनीले चुक्तापुँजी पनि बढाउँदैछ । हाल कायम रहेको २ अर्ब १० करोड रुपैयाँबाट बढाएर २ अर्ब २२ करोड पु¥याउने तयारी बीपीसीको छ । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ । कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत प्राधिकरणको गरी १३ प्रतिशत, सांग्रिला इनर्जी लिमिटेड र आईकेएन नेपाल एसको ७५ र सर्वसाधारण र कर्मचारीको गरी १२ प्रतिशत स्वामित्व छ ।    

अवरुद्ध जलविद्युत् परियोजना आजदेखि सञ्चालन

गुल्मी, १२ भदौ । गुल्मीको दरमखोला लघु जलविद्युत् परियोजनाको अस्थायीरुपमा विद्युत् सेवा आजदेखि सञ्चालन भएको छ । पहिरोले बगाएको बाँध तथा नहरलाई अस्थायीरुपमा नहर निर्माण गरेपछि विद्युत् सेवा सञ्चालन भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए । पचासी किलोवाट क्षमता भएको विद्युत् परियोजना सञ्चालन भएसँगै नगरपालिकाको वडा नं २, ७, ८ र छिमेकी जिल्ला बागलुङको बडिगाड गाँउपालिकाको वडा नं २ गरी चार वटा वडाका झण्डै ९०० घरधुरीका उपभोक्ताले बिजुली बाल्न पाएका छन् । विद्युत् सेवा सञ्चालन भएपछि बिजुली बत्ती, उद्योगधन्दा, कलकारखाना, कुटानी पिसानी, सञ्चारमाध्यमलगायत विद्युुतीय यन्त्रसमेत सञ्चालनमा आएका छन् । जलविद्युत् परियोजना गत तीन हप्ताअघिदेखि सोही वडाकै बसेरीका विभिन्न ठाउँमा माथिबाट खसेकोे पहिरोले विद्युत् नहरको बाँधलाई पहिरोले बगाएपछि जलविद्युत् परियोजना अवरुद्ध भएको थियो । रासस

कर्णालीमा राष्ट्रिय प्रणालीमार्फत बिजुली आपूर्ति गर्न ४ सय केभी प्रसारणलाइन निर्माण हुदै

काठमाडौं । सरकारले कर्णाली क्षेत्रमा राष्ट्रिय प्रणालीबाट बिजुली आपूर्तिको काम थालेको छ । राष्ट्रिय प्रणालीको विद्युत आपूर्तिबाट बञ्चित कर्णालीबासीका लागि सरकार स्वामित्वको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले कञ्चनपुरको कर्मादेवदेखि कालिकोटको फुकोटसम्म १३० किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारणलाइनको काम अघि बढाएको छ । प्रसारणलाइनको अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढेको छ । कम्पनीले पहिलो चरणमा परामर्शदाताबाट आशयपत्र (ईओआई) मागेको छ । यसका लागि आउदो भदौ ३० गते भित्र प्रस्ताव पेश गर्न भनेको छ । प्रसारणलाइन नेपाल–भारत सीमा न्युकर्मादेव, न्युलम्की, सुर्खेतको वेतान हुँदै कालिकोटको फुकोटसम्म पुग्ने छ । यस्तै सवस्टेशन निर्माणका लागि पनि काम सुरु हुने छ । कम्पनी गठन भएपछि यो पहिलो आयोजना हो । आयोजनाको लागत अध्ययनपछि मात्र तय हुने छ । पहिलो चरणमा यो प्रसारणलाइनको अध्ययन गर्न लागिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवालीले बताए । ईओआईको काम सकिएपछि बोलपत्र आब्हान गरेर परामर्शदाता छनौट गरिने उनले बताए । उनकाअनुसार केही महिनाभित्र परामर्शदाता छनौट हुने छ । प्रसारणलाइको सर्वेका लागि सरकारले बजेटको व्यवस्था गरेको उनले बताए । कम्पनीको यो पहिलो आयोजना हो । मुलुकभरी प्रसारणलाइनको काम यो कम्पनीमार्फत अघि बढाउन सरकारले बेग्लै संस्था स्थापना गरेको हो । चालु आर्थिक वर्षमा सरकारले थप १ किलोमिटर लामो विभिन्न क्षमताको प्रसारणलाइनको सम्पन्न गर्ने लक्ष्य लिएको छ । चालु आवमा प्रसारणलाइन थप भएर ३ हजार ३०४ किलोमिटर पुग्ने छ । गत आव सम्ममा ३ हजार २०४ किलोमिटर प्रसारणलाइन निर्माण भइसकेका छन् ।  

सुजुकी डिजायरको फेसलिफ्ट भर्जनको कार सार्वजनिक, २२ किलोमिटर माइलेज

काठमाडौं । सीजी मोटोकर्पले सुजुकीको बेष्ट सेलर मोडल डिजायरको फेसलिफ्ट भर्जन कार नेपाली बजारमा सार्वजनिक गरेको छ । हियर टेक च्यासिस प्ल्याटफर्ममा आधारिट भइ निर्माण गरिएकाले कारको वजन हल्का भएको र पीयसको रोबष्ट च्यासिस डिजाइनका कारण कारमा यात्रा गर्नेका लागि भने अझ सुरक्षित भएको कम्पनीले बताएको छ । सुरक्षामा विशेष ध्यान दिइ निर्माण गरिएको कारका सबै भ्यारियण्टमा डुअल एयरब्याथ र एबीएसलाई स्ट्याण्डर्ड सुरक्षा फिचर्सका रुपमा उपलब्ध गरिएको छ । कारको बाहिरी सजावत पूर्ण रुपले परिमार्जन गरिएको छ । यसले गर्दा कारलाई आफ्नो श्रेणीकै सर्वाधिक स्टाइलिस लुक्स प्राप्त भएको छ । पछिल्लो संस्करणका तुलनामा नयाँ कारको चौडाइ ४० एमएम फराकिलो रहेको छ । साथै, कारमा लामो ह्विल बेसको प्रयोग गरिएको छ । यसले कारको आन्तरिक भागलाई थप स्पेशियस र आरामदायी बनाएको कम्पनीको दावी छ । कारको उपयोगितामा थप बढावा दिने सोचका साथयसको बुट स्पेश पनि थप बढाएर ३ सय ७८ लिटर बनाइएको छ । कारमाप्रिमियम सेडानमा झैँ किलेस एण्ट्रिज, डीआरएल, रियर भेण्ट सहितको स्वचालित एसी, डायमण्ट कट अलोइ लगायत अत्याधुनिक सुविधापनि उपलब्ध गरिएका छन् । साथै,कारमा एण्ड्रोइड अटोमाआधारित स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणाली (भारतीय निर्मित कारमै पहिलो) र ठूलो टच स्क्रिन प्रणाली मार्फत एप्पल कार प्लेको सुविधा पनि उपलब्ध गरिएको छ । कारलाई पूर्ण परिक्षण गरी सफलता हात पारिसकेको के१४ ईञ्जिनले शक्ति प्रदान गर्छ । के१२ ईञ्जिन विशेष गरी शक्ति र २२ किलोमिटर प्रति लिटर माइलेज दिने ईञ्जिनका रुपमा परिचित छ ।

२२ करोड सरकारी अनुदान कुर्दै बीमा कम्पनी

काठमाडौं । गत आर्थिक बर्ष २०७३/०७४ मा निर्जीवन बीमा कम्पनीले कृषि र पशुधन बीमा वापत २९ करोड ७६ करोड भुक्तानी दिएका छन् । सरकारले कृषि तथा पशुधन बीमामा ७५ प्रतिशत अनुदान दिने व्यवस्था छ । कृषक तथा किसानसँग २५ प्रतिशत प्रिमियम असुली गरेपछि स्वतः कृषि तथा पशुधन बीमा हुने व्यवस्था छ । सोही व्यवस्था अन्तर्गत गत आवमा गरिएको बीमा र त्यसमा परेका दावी वापत निर्जीवन बीमा कम्पनीले २९ करोड ७६ करोड भुक्तानी गरेका हुन् । किसानलाई बीमा दावी वापत भुक्तानी गरिसकेको भएपनि कम्पनीहरुले भने अझै सरकारबाट अनुदान वापतको रकम पाएका छैनन् । बीमा कम्पनीले कृषि विकास मन्त्रालय र पशुपंक्षी विकास मन्त्रालयले दिनुपर्ने अनुदान वापतको २१ करोड ७९ लाख रुपैंया नपाएका हुन । ‘बीमा कम्पनीहरुले दावी वापतको भुक्तानी दिईसकेका छन्, अब सरकारको तर्फबाट कोषमा प्राप्त अनुदान वापतको रकम बीमा कम्पनीहरुलाई दिइनेछ’, बीमा समितिका उप–निर्देशक कुन्दन सापकोटाले भने । पशु पंक्षी विकास मन्त्रालयका अनुसार पशुधन बीमाको दावी भुक्तानी वापत मन्त्रालयले ९ करोड २४ लाख रकम बीमा समिति मातहतको कोषमा उपलब्ध गराईसकको छ । मन्त्रालयले पशुपंक्षी बीमाको दावी वापत कुल १९ करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । उता, मन्त्रालयका अधिकृत शिरिश पुनका अनुसार सो मन्त्रालयमा कृषि बीमा वापत सरकारले दिने अनुदानका लागि ३ करोड १० लाख रुपैंयाँको दावी परेको छ । त्यसमा १ करोड रुपैयाँ थप हुने सम्भावना रहेको पनि उनले बताए । उता, पशुपंक्षी विकास मन्त्रालयमा भने ४ करोडको मात्रै बजेट रहेको थियो । ‘हामीले दावी वापतको भुक्तानी दिईसकेका छौं तर सरकारका तर्फबाट पाउनुपर्ने अनुदान पाउन सकेका छैनौं’, सगरमाथा इन्स्योरेन्स कम्पनीका पुर्वप्रमुख कार्यकारी अधिकृत तथा वर्तमान सल्लाहकार केबी बस्नेतले भने । बस्नेतका अनुसार कृषि तथा पशुधन बीमा वापत कम्पनीले आर्थिक बर्ष २०७२/०७३ कै ५ लाख ६० हजार रुपैंयाँ सरकारी अनुदान पाएको छैन् । गत आवमा मात्रै २ करोड ५० लाख रुपैंयाँ पाएको छैन् । बीमा समितिले बीमा पोलिसीको पुरा प्रिमियम तिरेपछि मात्रै बीमा गर्ने व्यवस्था रहेपनि कृषि तथा पशुधन बीमामा भने त्यो व्यवस्थामा छुट दिँदै आएको छ । २५÷२५ प्रतिशत प्रिमियम तिरेपछि बीमा गर्ने व्यवस्थालाई बीमा कम्पनीले भने उधारो बीमा मान्दै आएका छन् ।  

महालक्ष्मी विकास बैंकद्धारा ऋषी पञ्चमीको अवसरमा निशुल्क स्वास्थ शिविर आयोजना

काठमाडौं । महिलाहरुको महान चाड ऋषी पञ्चमीको पावन अवसरमा महालक्ष्मी विकास बैंक लिमिटेडको कालीमाटी शाखाले भदौ १० गते टेकु स्थित ऋषेश्वर महादेव दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुलाई निशुल्क स्वास्थ शिविर एवं पानी तथा जुस खुवाउने कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमा करीब ३० देखि ४० हजार भन्दा बढी दर्शनार्थीहरुलाई बैंकले राती १२ बजे देखि साँझ ४ बजेसम्म पिउने पानी तथा जुस वितरण गरेको थियो भने निशुल्क स्वास्थ शिविरबाट करिब ५०० जना प्रत्यक्ष लाभान्वीत भएका थिए । संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको बैंकले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।

त्रिवि स्कुल अफ म्यानेजमेन्टद्वारा जेहेनदार विद्यार्थीलाई क्षात्रवृति दिने निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले यस वर्षको श्री इन्द्रभक्त श्रेष्ठ क्षात्रवृत्ति विराटनगरकी कञ्चन कार्कीलाई दिनेभएको छ । आइतबार दोश्रो इन्द्र भक्त जयन्तिका अवसरमा क्याम्पसले एमबिएका प्रथम सेमेष्टरका कार्कीलाई क्षात्रवृतिका लागि छनोट गरेको हो । त्यस्तै एमबिए तर्फ सर्वोत्कृष्ट नतिजा ल्याउने अलकाश्री श्रेष्ठलाई श्री इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक दिने भएको  छ । उक्त पदक आगामी दिक्षान्तर समारोहका बिच प्रदान गरिने एन ई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठले जानकारी दिए । स्कुल अफ म्यानेजमेन्टले इन्द्र जवाहर सहयोग गुठिले अन्तर्गत १ करोडको अक्षय कोषको स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । नेपालमा चेम्बर आन्दोलनका अभियन्ता, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल चेम्बर अफ कमर्सका पुर्व अध्यक्ष स्वर्गिय इन्द्र भक्त श्रेष्ठको सम्झनामा दोस्रो इन्द्र भक्त जयन्ति कार्यक्रम आइतबार ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रमका एन.ई. ग्रुपमा अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष रवि भक्त श्रेष्ठले इन्द्र जवाहर सहयोग गुठीको गतिविधि तथा नेपालको चेम्बर अभियान लगायत आर्थिक तथा सामाजिक क्षेत्रमा गरेका योगदानबारे बोलेका थिए ।  

मन्त्री शाही नेतृत्वको टोलीद्वारा कर्णालीको ऊर्जा सम्भाव्यताको अध्ययन

जुम्ला । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीले आज कर्णाली क्षेत्रसहित जाजरकोट जिल्लाको ऊर्जा सम्भाव्यता अध्ययन गरेको छ ।  ऊर्जाको सम्भाव्यता बोकेको कर्णाली क्षेत्रको जलविद्युतको सम्भाव्यता अध्ययन, राष्ट्रिय प्रसारण लाइन जोड्न सकिने अवस्था र कर्णाली करिडोरको अनुगमनका क्रममा टोली जुम्ला आइपुगेको हो । हवाई मार्ग भएर अपरान्ह ३ः३० बजे जुम्ला आइपुग्नुभएका ऊर्जामन्त्री शाहीले जुम्लाका स्थानीय तहका प्रमुखसहित उच्च अधिकारीसँग कर्णाली अन्चलको मुख्य कर्णाली नदी, मुगुको राराताल, जुम्लाको तिला र हिमानदीको सम्भाव्यता अध्ययन गरेको बताए । मुख्य नदी कर्णाली र यसका सहायक नदीमा कतिवटा जलविद्युत आयोजना संचालन गर्न सकिन्छ भन्ने कुराको अध्ययन गरिएको उनले जानकारी िदए  । “आज गरेको कर्णाली क्षेत्रको ऊर्जाको अध्ययन तथा अनुगमनका विषयमा काठमाडौँै फर्केपछि छलफल गर्छौं, त्यसपछि मात्र कुन नदीको सम्भाव्यता अध्ययन गर्ने हो भन्ने कुराको यकिन गर्छौं,” मन्त्री शाहीले भने । उहाँले राष्ट्रिय प्रसारण लाइन दैलेख भएर आएको र त्यसको सब–स्टेशन कालीकोटको चिल्खायामा राखेर जुम्ला जोड्ने वचन दिए ।त्यसैगरी, उहाँले अहिले सरकारको मुख्य काम दुई तहको निर्वाचन सम्पन्न गराउने रहेको बताउनुभएको छ । मन्त्री शाहीले कर्णालीको समग्र विकासका लागि अर्काको भरमा नपर्न कर्णालीवासीलाई अपिल गर्नुभयो । त्यसका साथै विकासका लागि जनप्रतिनिधि स्वयंले घन सब्बल समातेर काम गर्न सुझाउनुभयो । एक फरक प्रसङ्गमा ऊर्जामन्त्री शाहीले कर्णालीको विकास र समृद्धिको सवालमा एनजिओ÷आइएनजिओले यहाँका नागरिकको बानी बिगारेको आरोप लगाए ।  हाइड्रोपावरको प्रचुर सम्भाव्यता बोकेको कर्णालीले अब हरेक कुरा आयात गर्ने मात्र नभई विद्युत् निर्यात गरेर देशलाई सहयोग पु¥याउने तर्क गरे। टोलीले आजै जाजरकोट जिल्लाको पनि जलस्रोतको सम्भाव्यता अध्ययन गरेको छ । ऊर्जामन्त्री शाहीसहित नेपाल विद्युत् प्राधिकरणका कायर्कारी िनदेशक  कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, पूर्वसभासद् नरेश भण्डारीसहितको प्राविधिक टोलीले कर्णाली क्षेत्रको अनुगमन गरेको हो । रासस