दैनिक व्यापार घाटा २ अर्ब ४१ करोड नाघ्यो
काठमाडौं । नेपालले वैदेशिक व्यापारमा दैनिक २ अर्ब ४१ करोड भन्दा बढि घाटा व्यहोरिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ८ महिनाको वैदेशिक व्यापारको तथ्यांकका अनुसार नेपालले दैनिक औषत २ अर्ब ४१ करोड भन्दा बढि व्यापार घाटा व्यहोर्दै आएको हो । केन्द्रिय बैंकको तथ्यांक अनुसार नेपालले सो अवधीमा कुल ५४० अर्ब ३४ करोडको व्यापार घाटा व्यहोरेको छ । सो अवधीमा नेपालले ६२६ अर्ब ५६ करोडको समान आयात गरेको छ जुन अघिल्लो बर्षको ८ महिनाको भन्दा ४४ दशमलब २ प्रतिशत बढि हो । तर नेपालको निर्यात भने जम्मा ४८ अर्ब २२ करोडमै सिमित भएको देखिन्छ । यद्यपी यो अघिल्लो आवको सोहि अवधीको भन्दा १२ दशमबल ८ प्रतिशत बढि हो । आठ महिनामा मुलुकको निर्यात–आयात अनुपात ७ दशमलब ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो । भारततर्फ १६.३ प्रतिशत, चीनतर्फ १३.४ प्रतिशत र अन्य मुलुकतर्फ ८.२ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, रोजिन, चाउचाउ, तार लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, पोलिष्टर धागो, तयारी पोशाक, उनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको छ । ८ महिनामा भारतबाट भएको आयात ५९ प्रतिशत, चीनबाट भएको आयात १७.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एम.एस विलेट, अन्य मेशिनरी तथा पार्टपुर्जा, सिमेन्ट, लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, कच्चा रेशम, तयारी पोशाक लगायतका वस्तुहरुको आयात घटेको छ । भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार, विराटनगर भन्सार र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ कैलाली भन्सार र भैरहवा भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
डाइमेटाइज् न्युट्रिसनको पौष्टिक आहार नेपाली बजारमा
काठमाडौं । अमेरिकी कम्पनी डाइमेटाइज् न्युट्रिसनको पौष्टिक आहार नेपाली बजारमा बिक्री शुभारम्भ भएको छ । यसको बिक्रीको थालनी मीनभवनस्थित ‘अल इन वन मार्ट मा रहेको बिक्री कक्षबाट शुभारम्भ गरिएको छ । एडभान्स फिटनेस सोलुसन नेपालले अमेरिकी कम्पनीको आधिकारिक बिक्रेताको रुपमा नेपालमा बिक्री वितरणको दायित्व लिएको छ । खासगरी विभिन्न व्यायाम (जिम ) मा अभिरुचि राख्नेहरुका लगि यो आहार उपयोगी मानिन्छ । बिक्री केन्द्रको उद्घाटन आइतबार गृहराज्यमन्त्री इन्द्र बानियाँ, समाजसेवी अस्मिता सुमार्गी, शारिरीक सुगंठन संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । शारिरिक सुगठनमा रुचि राख्ने युवाहरुको लागि डाइमेटाइज्का पौष्टीक आहारले उचित पोषणमा सहयोग गर्ने उनीहरुले बताए । डाइमेटाइज् कम्पनी सन् १९९४ मा स्थापना भएको हो । यसले विश्वका ५० भन्दा बढी मुलुकमा पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।
६ दिन भित्रै एनसेल बिक्री वापतको लाभकर बिक्रेताबाट उठाउन निर्देशन
काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले आगामी ६ दिनभित्रै एनसेल बिक्री वापतको लाभकर उठाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेल लाभकर बारे ९ औं पटक छलफल गर्दै समितिले आगामी ६ दिन भित्रै असुली सक्न निर्देशन दिएको हो । ‘यस अघि १० महिना २ गतेको समिति बैठकले ९० दिन भित्रै एनसेल बिक्री वापतको लाभकर असुल्न दिएको निर्देशन अनुसार बाँकी अवधीमा करको दर यकिन गरेर असुल उपर गराउन समिति पुनः निर्देशन दिने’, समितिका सभापति डोरप्रसाद उपाध्यायले निर्देशनको मस्यौदा पढेर सुनाए । समितिको माघ २ गते बसेको बैठकले ९० दिन भित्रै एनसेल बिक्री वापतको लाभकर बिक्रेताबाट असुल्न निर्देशन दिएको थियो । समितिले दिएको ९० दिनको सो समय सीमा बैशाख २ गते सकिँदैछ । प्रधानमन्त्रीलाई डाकिएको बैठकबाट समितिले फेरी माघ २ गतेकै निर्देशनलाई निरन्तरता दिँदै बैशाख २ गतेभित्रै कर असुल गरिसक्न भनेको हो । बैठले यस अघि एनसेलको स्वामित्व १२ पटक परिवर्तन भएको र ती सबै खरिद बिक्रिमा लाभ कर असुल नगरिएकाले सो समयमा कर अधिकृतहरुलाई छानविन गरि कारवाही गर्न पनि निर्देशन दिएको छ । समितिले यस अघिको एनसेल खरिद बिक्रि प्रकरणमा सामेल सरकारी अधिकृतहरुलाई छानविन गरि कारवाही गर्न अख्तियारलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्रीको बयानः कर असुलिन्छ बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले क्रेता र बिक्रेता कम्पनी यहि धर्तीमा भएकाले कर असुलिने बताएका थिए । उनले बिक्रेता टेलियासोनेरा र क्रेता एक्जियटा कम्पनीसँग संयुक्त छलफल गर्ने तयारी भैरहेको जानकारी पनि दिएका थिए । प्रधानमन्त्री दाहालले एक्जियटाले आफूमाथी अन्याय भएको बताउँदै आफूलाई चिठ्ठी लेखेपछि आफूले अर्थ मन्त्रीको ध्यानाकर्षण गराएको बताएका थिए ।‘एक्जियटाले पत्र लेखेर आफूमाथी अन्याय भयो भन्ने दावी गर्यो मैले सो पत्रको बोदार्थ अर्थ मन्त्रालय पठाएको थिएँ, त्यसकै आधारमा मन्त्रिपरिषदमा छलफल भएको हो, कुनै निर्णय भएको छैन’, दाहालले लेखा समितिमा स्पष्टिकरण दिँदै भने । उनले वैदेशिक लगानी निरुत्साहित नहुने गरि एनसेल बिक्रीको लाभकर प्रक्रिया अघि बढाउने पनि बताएका थिए ।
सिमेन्टको मूल्य घटाउने सहमति, आजै सबै उद्योगलाई पत्राचार गरिने
काठमाडौं । सिमेन्ट उद्योगीहरु सिमेन्टको मूल्य घटाउन सहमत भएका छन् । उद्योग मन्त्री नविन्द्रराज जोशीसँग उद्योग मन्त्रालयमा आयोजना गरिएको छ । छलफलमा नेपाल सिमेन्ट उद्योग संघले वृद्धि गरिएको मूल्यमा पुर्नविर्चार गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । उद्योग मन्त्री नवीन्द्रराज जोशीले पुनर्निर्माणको प्रथम चरण भरखरै शुरु भएकाले सिमेन्टको मूल्य बढाउँदा नागरिक र राज्यलाई नै असर गर्ने बताएपछि उद्योगीहरु पुर्नर्विचार गर्न सहमत भएका हुन । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले नेपाली सिमेन्टहरुको उत्पादन लागत दक्षिण एसियामै महंगो रहेको भन्दै सरकारको अनुरोधलाई स्वीकार गर्दै हाललाई मूल्य वृद्धिमा पुनर्विचार गर्न संघले आफ्ना सदस्य सिमेन्ट उत्पादकहरुलाई आजै पत्राचार गर्ने बताए । नेपाली सिमेन्ट उद्योगको उत्पादन लागतलाइ कम गरि प्रतिस्पर्धी मूल्यमा गुणस्तरिय सिमेन्ट उपभोक्ताहरुलाई उपलब्ध गराउन के कस्ता उपायहरु अवलम्वन गर्नु पर्नेछ भनी अध्ययन गर्न उद्योग मन्त्रालयका सह सचिव गोपीकृष्ण खनालको संयोजकत्वमा अर्थ मन्त्रालय, सिमेन्ट उत्पादक संघका प्रतिनिधि र विज्ञ सदस्य समेत रहेको एक अध्ययन समिति समेत गठन गरिएको छ । सो समितिले सरकारलाई नेपाली सिमेन्ट उद्योगको उत्पादन लागत कम गर्न सकिने बिषयमा अवलम्वन गर्नुपर्ने नीतिगत सुधारका सम्वन्धमा सुझाव दिनेछ । अन्तराष्ट्रिय बजारमा कोईला र क्लिङ्गकरको मूल्य वृद्धि भएको भन्दै केही नेपाली सिमेन्ट उत्पादकहरुले आफ्नो उत्पादनमा प्रतिवोरा २० रुपैंया देखि ३० रुपैंयासम्म मूल्य वृद्धि गरेको समाचार वाहिर आएपछि गत विहीवार उद्योग मन्त्री नवीन्द्राज जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्षलाई मन्त्रालयमा डाकी मूल्य वृद्धिको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए ।
नेपाल लाइफको ‘स्मार्ट जीवन बीमा’ योजना सार्वजनिक, रु.१० मा १० लाखको जीवन बीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले “स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस” भन्ने मूल नाराका साथ “स्मार्ट जीवन बीमा” योजना सार्वजनिक गरेको छ । उक्त नयाँ बीमा योजनाको शुभारम्भ पोखरामा आयोजित एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले गरेका हुन् । सो अवसरमा प्रमुख अतिथिले यस योजनाले आम जनताको बचत परिचालनमा सघाऊ पुरयाउने विश्वास व्यक्त गरेका छन् । साथै उक्त अवसरमा सो स्मार्ट जीवन बीमा योजनाको बीमित आफू पनि बन्ने घोषणा गरेका छन् । यस बीमा योजनाले हरेक तह र तप्काका व्यक्तिलाई जीवन बीमामा समेट्ने गरि दैनिक रु.१० मा रु.१० लाखको जीवन बीमा गराउन सक्ने भएकोले जीवन बीमाको दायरा बिस्तारमा महत्वपूर्ण योगदान पुर्याउने छ । कार्यक्रममा कम्पनीका संचालक कमलेश कुमार अग्रवालले यस नयाँ योजनाले समेत आम बीमितको मन जित्न सफल हुनेमा बिश्वास व्यक्त गरेका छन् । कार्यक्रममा संचालक हरिश्चन्द्र सुवेदीले नयाँ बीमा योजनाले कम्पनीको व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै, उनले जीवन बीमाका लागि बिद्यमान कर छुटको प्रावधानलाई बढाउन सके जीवन बीमा क्षेत्रलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कालीगण्डकीको मर्मत सम्भारको काम १० दिनभित्र सम्पन्न गर्न घिसिङको निर्देशन
काठमाडौं । मुलुकको प्रमुख ‘पावर ब्याङ्क’को रुपमा रहेको एक सय ४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत सम्भारको काम १० दिनभित्र सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । विद्युत्भार कटौतीलाई अन्त्य गर्न महत्वपूर्ण मानिएको सो आयोजनाको मर्मत शुरु भएको दश दिन भइसक्दा पनि नसकिएकाले कार्यकारी निर्देशक घिसिङले अबको दश दिनमा मर्मत गरी पूर्ण क्षमतामा आयोजना सञ्चालन गर्न निर्देशन दिएका हुन् । प्राधिकरणका अनुसार विगतका वर्षमा जुन समयमा सबैभन्दा बढी विद्युत् आवश्यक पर्दथ्यो, सोही समयमा नै आयोजना मर्मतको नाममा बन्द गरिने गर्दथ्यो । हाल सो आयोजनाको एउटा मात्रै युनिट बन्द गरेर मर्मत गरिएको छ । दुई वटा युनिटबाट नियमित रुपमा ९६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मतरसम्हार छिटो गराउने उद्देश्यले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ स्थलगत अवलोकनका लागि आयोजनास्थल पुगेका प्राधिकरणले जनाएको छ । निर्देशनअनुसार काम भए नभएको अवलोकन गर्न उनी आयोजनास्थल पुगेका हुन् । कालीगण्डकी आयोजनामा ४८ मेगावाटका तीन वटा टर्वाइनमध्ये एउटा टर्वाइनको मर्मत भइरहेको छ । गत वर्ष यस्तै प्रकृतिको समस्या समाधान गर्न प्राधिकरणले ४२ दिन लगाएको थियो । साँझको समयमा मात्रै आयोजना सञ्चालन हुने भएकाले सो आयोजनालाई ‘पावर ब्याङ्क’को रुपमा लिने गरिन्छ । आयोजनाको उपयोग र उचित व्यवस्थापन गरेर नै मुलुकभर विद्युत्भार कटौती अन्त्य गराउन सफलता प्राप्त भएको हो । प्राधिकरणको प्रवद्र्धनमा कालीगण्डकी आयोजना विगत १४ वर्षखेखि सञ्चालनमा छ । रासस
सनराइज बैंकको शाखा खुसिबुमा स्थानान्तरण, लकर सेवामा ५० प्रतिशत छुट
काठमाडौं । सनराइज बैंक लिमिटेडले काठमाडौंको ढल्कोमा रहेको शाखालाई खुसिबुमा स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौड्यालले गरेका छन् । बैंकले अत्याधुनिक बैंकिङ्ग सेवाहरु लगायत छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले उक्त शाखा स्थानान्तरण गरेको हो । सो शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । नयाँ शाखा उद्घाटनको अवसरमा बैंकको सो शाखामा २०७४ बैशाख २७ गते सम्म लकरको वार्षिक भाडा दरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । हाल बैंकले नेपाल अधिराज्यभर ६८ वटा शाखा र ७७ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन.काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् । बैंकले निकट भविष्यमा काठमाडौंको घट्टेकुलो, झापाको बुधबारे, सुर्खेतको विरेन्द्रनगर तथा मकवानपुरको हेटौडामा शाखा स्थापना गर्ने छ ।
सेयर बजारमा एक अर्ब २१ करोडको सेयर कारोबार, सबैभन्दा बढी नेपाल बैंकको
काठमाडौं । आइतबारको सेयर बजारमा एक अर्ब २१ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १४१ कम्पनीको १९ लाख २६ हजार कित्ता सेयर किनबेच भएका हुन् । आइतबार सबैभन्दा बढी कारोबार गर्नेमा नेपाल बैंक अगाडि रहेको छ । बैंकको १० करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ५०३ रुपैयाँ रहेको छ । त्यस्तै, सुर्या लाइफ इन्स्योरेन्स र एनसीसी बैंकको ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन यी दुई कम्पनीको सेयर मूल्य क्रमशः ११४० र ४३६ रुपैयाँ रहेको छ । दिनभर ओरालो लागेको नेप्से परिसूचक कारोबार बन्द हुँदा सामान्य अंकले उकालो लागेको छ । परिसूचक शुन्य दशमलब ५६ अंकले बढेर १६५१ दशमलब ६० अंकमा अडेको छ । सो दिन तीन समूहका परिसूचक ओरालो लागेका छन् । बीमा, उत्पादनमूलक र होटल समूहको परिसूचक क्रमशः ३८, ३७ र १९ अंकले ओरालो लागेका हुन् । त्यस्तै, कारोबार भएका बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् ।