विकासन्युज

फस्ट माइक्रोफाइनान्सको हकप्रद आउने

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  संस्थाको सोमबार बसेको सञ्चालक समिति बैठकले चुक्तापुँजी बढाउन २ बराबर १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेको हो । वार्षिक साधारणसभाबाट पारित भएपछि हकप्रद सेयर निश्कासन गर्ने संस्थाले जनाएको छ ।

सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ ।  बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन निर्णय गरेको हो । नेपाल राष्ट्र बैंककाे स्वीकृती  र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने बैंकले जनाएको छ ।

रिडी हाइड्रोपावरले ६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६ प्रतिशत बोनस सेयर दिने भएको छ ।  कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सो लाभाँश दिने प्रस्ताव गरेको हो । आगामी कात्तिक १० गते हुने वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।

मिस्त्रि खोला जलविद्युत्को काम द्रुत गतिमा, २ वर्षमा बिजुली उत्पादन हुने

  म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रि खोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । रोवस्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको यस आयोजनाले १६ महिनादेखि आफ्नो निर्माण कार्यलाई दु्रत गतिमा अगाडि बढाएको छ । नीलगिरि र घलेम्दी खोलाको दोभानमा बाँध रहने यस आयोजनाको २ हजार ३०० मिटर सुरुङमागर्बाट ल्याइने पानीलाई २८७ मिटर हेडबाट नारच्याङको बेँसीगाउँस्थित कालिगण्डकी नदीको किनारमा रहने  गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । पूर्वाधार निर्माणमा परिचालन भएको हाइ हिमाल हाइड्रो कन्स्ट्रक्सनले अहिलेसम्म ९५८ मिटर लामो सुरुङमार्ग निर्माण गरिसकेको परामर्शदाता हाइड्रो कन्सल्ट इञ्जिनियरिङका आवासीय इञ्जिनियर दिवाकर खड्काले बताए । सन् २०१६ को जुनदेखि पूर्वाधार निर्माण शुरु गरेको यस आयोजनाबाट आगामी सन् २०१९ फेब्रुअरी सम्ममा विद्युत् उत्पादन शुरु गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । आयोजनाको सुरुङमार्गभित्र नै ११५ मिटर लामो, साढे आठ मिटर चौडाइ र १३ मिटर गहिराइका दुई वटा बालुवा थिग्र्याउने पोखरीसमेत निर्माण भइरहेको छ । जसको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको बाँध निर्माणको अधिकांश काम सम्पन्न भएको र विद्युत्गृहतर्फको पूर्वाधार निर्माणलाई दु्रत गति दिएको आयोजनाले जनाएको छ । आयोजनाको विद्युत्गृहतर्फको २६ प्रतिशत, पेनस्टक पाइएको १८ प्रतिशत र सुरुङमार्ग भित्रको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनियर खड्काले जानकारी दिए । विद्युत्गृहतर्फको कामलाई प्रभावकारी बनाउन नारच्याङस्थित आवासगृहबाट सिसीटिभीमार्फत अवलोकन गर्ने व्यवस्थासमेत गरिएको छ । वर्षाले निर्माण कार्यलाई केही प्रभाव पारे पनि संरचना निर्माणको काम नरोकिएको आयोजनाले जनाएको छ । यस आयोजनामा अहिले २५६ जना कामदार परिचालन छन् । साढे ५ अर्ब रूपैयाँ भन्दा बढी लागत अनुमान गरिएको यस आयोजनाले जलविद्युत्को निर्माण कार्य पूर्वनारच्याङमा ६ किमी सडक विस्तारसँगै ३ वटा मोटरेवल पुल निर्माण गरेको जनाएको छ । रासस

बैंकले साना तथा मझौला व्यवसायमा लगानी विस्तार गर्न थाले, ग्लोबल आईएमईले ३ दिनमा कर्जा दिने

काठमाडौं । बैंकहरुले लगानी विविधिकरण अन्र्तगत साना तथा मझौला व्यवसाय कर्जामा लगानी केन्द्रीत गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले साना तथा मझौला व्यसायलाई प्राथमिक कर्जाको सुचिमा राखेपछि लक्ष्य पुरा गर्न बैंकहरुले धमाधम साना तथा मझौला कर्जामा लगानी विस्तारमा जोड दिएका छन् । बैंकले ३ दिनमै साना तथा मझौला कर्जा दिने योजना सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कुल कर्जाको न्युनतम ५ प्रतिशत साना तथा मझौला उद्योगमा लगानी गर्नुपर्ने सीमा तोकेपछि बैंकहरुले यसतर्फ ध्यान दिएको हुन् । बैंकहरुले धमाधम साना तथा कर्जा लगानीमा जोड दिन थालेको पाइएको छ । ०७४ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट साना तथा मझौला व्यवसायमा कुल लगानीमा रहेको कर्जाको २.५ प्रतिशत अर्थात ४८ अर्ब ८८ करोड रुपैयाँ रहेको राष्ट्र बैकले जनाएको छ । बैकहरुले कर्जा लगानीका लागि भिन्न योजना सार्वजनिक गरेका छन् । जसअनुसार ग्लोबल आईएमई बैंकले मागेको ३ दिनमै कर्जा दिने ग्लोबल आईएमई एसएमी लोन योजना ल्याएको छ । नयाँ साना तथा मझौता व्यवसाय सुरुवात तथा संचालित व्यवसाय विस्तारका लागि भनेर ग्लोबल आईएमई एसएमई लोन ल्याएको जानकारी दिएको छ । बैंकले ३ दिनमै कर्जा उपलब्ध हुने व्यवस्था गरेको जानकारी दिएको छ । उसले देशभरका ११२ शाखामार्फत विना झन्झट आकर्षक ब्याज दरमा र न्युनतम सेवा शुल्कमा साना तथा मझौला व्यवसायलाई कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । यद्यपी बैंकले कर्जाको ब्याज दर भने खुलाएको छैन् । यस्तै सिभिल बैंकले पनि साना तथा मझौला व्यवसायमा कर्जा विस्तार गर्ने योजना ल्याएको छ । जसअनुसार बैंकले उद्यमशीलता तपाइको सहकार्य हाम्रो भन्ने नाराका साथ साना तथा मझौला व्यवसाय कर्जा ल्याएको छ । विना झन्झट सहज रुपमा कर्जा प्रवाह गर्ने बैंकले जानकारी दिएको छ । यस्तै एनआईसी एसिया बैंकले पनि पहिलादेखि नै आफनो लगानी साना तथा मझौला व्यवसायमा कैन्द्रीत गरेको जानकारी दिएको छ । केही साताअघि विकास न्युजसंग कुरा गर्दे प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मण रिसालले एनआईसको लक्ष्य साना तथा मझौला उद्यम विस्तार र विकासमा भएको बताएका थिए । बैंकले ठुला भन्दा साना व्यवसायलाई जोड दिएको उनको भनाई थियो । चालु आवमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई कुल कर्जाको २५ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न निर्देशन दिएको छ । यस्तै विकास बैंकले न्युनतम् १५ र वित्त कम्पनीले १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने नीतिगत व्यवस्था ल्याएको छ । गत आवमा बैंकले प्राथमिक क्षेत्रमा न्युनतम २० प्रतिशत लगानी गर्नुपर्नेमा १८ प्रतिशत मात्र गरेको जानकारी दिएको छ । राष्ट्र बैंकले कृषिमा १० जलविद्युतमा ५, पर्यटनमा ५, साना तथा मझौला उद्यम, निकासीमुलक उद्यम र औषधीमा न्युनतम ५ प्रतिशत लगानी सीमा निर्धारण गरेको छ ।  

सेन्चुरी बैंकको हकप्रद सेयर बिक्रीको म्याद १५ दिन थप

काठमाडौं । सेन्चुरी बैंकको हकप्रद सेयर निश्कासन तथा बिक्री खुला म्याद थप भएको छ । बैंकले हकप्रद बिक्री खुला आइतबारसम्म गरेको थियो । बैंकको सञ्चालक समिति बैठकले १५ दिन म्याद थप्ने निर्णय गरेको हो । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थाता १ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ बराबर १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद बिक्री खुला गरेको हो । बैंकले असार २७ गते सेयरधनी दर्ता किताव बन्द गरी साउन १६ देखि हकप्रद बिक्री खुला गरेको थियो ।

कावेली विकास बैंकको हकप्रद सेयर बिक्री खुला

काठमाडौं । कावेली विकास बैंकको हकप्रद सेयर आज सोमबारदेखि बिक्री खुला भएको छ ।  बैंकले चुक्तापुँजी बढाउन २ बराबर १ अनुपातमा ३ करोड ५० लाख रुपैयाँ ८ हजार रुपैयाँ बराबरको ३ लाख ५० हजार ८८० कित्ता हकप्रद बिक्री खुला गरेको हो । सेयर बिक्री बन्द असोज २१ गते हुने धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आर्र्ईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

सिन्धु विकास बैंकको हकप्रद सेयर बिक्री खुला

काठमाडौं । सिन्धु विकास बैंकको हकप्रद सेयर (आज) सोमबारदेखि बिक्री खुला भएको छ ।  बैंकले चुक्तापुँजी बढाउन १० बराबर ८ अनुपातमा २० करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरको २० लाख ९७ हजार ५४० कित्ता हकप्रद बिक्री खुला गरेको हो ।  हकप्रद बिक्री बन्द असोज २२ गते हुने बैकले जानकारी दिएको छ ।