विकासन्युज

किसान माइक्रोफाइनान्सको असोज ४ देखि हकप्रद निश्कासन हुदै, सेयरधनी दर्ता बन्द

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  संस्थाले चुक्तापुँजी बढाउन १ सय कित्ता बराबर २४ कित्ता हुने गरी ७८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गर्न लागेको सेयर निश्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केटस् लिमिटेडले जनाएको छ । संस्थाको सेयर निश्कासन कात्तिक ७ गते हुने छ । हकप्रद सेयर निश्कासनका लागि सेयरधनी दर्ता बन्द गरिएको कम्पनीले जनाएको छ ।

प्रधानमन्त्रीले भनेः पञ्चेश्वरमा नेपालले ३७ प्रतिशत लगानी गर्ने विषयमा अडान लिनुस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वरमा लगानी गर्ने विषयमा नेपालले लिएको अडान कायम राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आगामी मंगलबारदेखि भारतको नयाँ दिल्लीमा हुन लागेको दुई देशका विज्ञ समुह बैठकमा नेपालको तर्फबाट कुल लागतको ३७ प्रतिशत र भारतले ६३ प्रतिशत लगानी गर्नुपर्ने अडान कायमै राख्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । आईतबार प्रधानमन्त्री कार्यालय सिहदरबारमा सरोकारवाला निकायलाई बोलाएर प्रधानमन्त्री देउवाले आयोजनाको उपभोग अनुसार लागत भार हुनेगरी डीपीआर तयार गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले पञ्चेश्वरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्दा मुलुकलाई फाईदा हुनेगरी मात्रै अघि बढ्न भनेका छन् । पञ्चेश्वर सुरु भएको २१ बर्ष भयो तर अझैसम्म कुनै उपलव्धि हुन सकेको छैन’ प्रधानन्त्रीले भने, ‘अब नेपाललाई फाईदा हुनेगरी यो डीपीआरमा सहमति गर्नुहोस् ।’ प्रधानमन्त्री देउवाको अघिल्लो हप्ता भएको भारत भ्रमणका क्रममा एक महिनाभित्र पञ्चेश्वरको डीपीआरमा सहमति जुटाउने कुरा भएको थियो । त्यस्तै प्रधानमन्त्रीले भारतलाई तल्लो शारदाका लागि कर्णालीको पानी दिने भन्ने महाकाली सन्धिमा उल्लेख भएको बुँदा पनि हटाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । बैठकमा जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्बासेले आयोजनाको विस्तृत विवरणका साथै नेपालको अडान र भारतको अडानका विषयमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले डाकेको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री महेन्द्रबहादुर शाही, सिचाईमन्त्री संजय गौतम, मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रलगायत परराष्ट्र, उर्जा, सिचाई, र प्रधानन्त्री कार्यालयका सचिव र पञ्चेश्वर प्राधिकरणका पदाधिकारी र विज्ञ समुहका सदस्यहरु सहभागी थिए ।      

नाडा अटो शो सम्पन्न, २६०० सवारी साधन बिक्री

काठमाडौं । १२ औं संस्करणको नाडा अटो शोमा २ हजार ६०० भन्दा बढी सवारीसाधन बिक्री भएका छन् । नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेलामा झन्डै एक हजार वटा चार पाङ्ग्रे तथा करिब १६०० वटा दुई पाङग्रे सवारी साधन बिक्री भएका हुन् । ६ दिनसम्म चलेको यो मेलामा ६० हजार भन्दा बढी आगन्तुकले अवलोकन गरेका छन् । यो मेलामा दर्जनभन्दा बढी नयाँ ब्राण्डका सवारीसाधन सार्वजनिक गरिएको आयोजकले बताएका छन् । गत मंगलबारदेखि यो मेला सुरु भएको थियो । यो अटो शो सर्भो वर्ल्ड क्लास लुब्रिकेन्ट्सको शिर्ष प्रायोजकमा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज प्रा.लि.को संयुक्त आयोजना रहेको थियो । नेपालमा सवारी विलासिताको मात्र साधन नभएको प्रमाण अटो शोको तथ्यांकले देखाएको नाडाका प्रतिनिधी दिपकाजी तुलाधारले बताए । उनले भने, ‘अब सवारीसाधन सबैको आवश्यकता भइसक्यो । यति धेरैजनाले सवारीसाधन बुक गर्नुभएको छ। पक्कैपनि आवश्यकता भएर हो ।’ प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथ साथै नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरू लगायत वित्तिय संस्था तथा इन्स्योरेन्स समेतको बृहत सहभागिता रहेको थियो । जसमा नेपालमै उत्पादित् सामग्रीहरू समेत थिए । एकै ठाँउमा पैठारीकर्ता, डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरूको जमघटले सवारी साधन र सम्बन्धित सम्पुण क्षेत्रको विश्लेषण, विकास, बजारिकरण र विस्तारका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको आयोजकले बताएका छन् । नाडा अटो शो २०१७ खरिद बिक्री मात्र हुने एउटा व्यापारिक मेला मात्र नभई समग्र नेपाली अटोमोवाइल व्यवसायको क्रमिक एवं समस्टिगत विकासको प्रस्तुती थियो । यस वर्षको मेलामा साना ठूला गरि लगभग १३० वटा स्टलहरू रहेका थिए भने जसमा ९० वटा कम्पनीको सहभागिता रहको थियो । प्रदर्शनीमा १६ वटा ब्राण्डका ४–पाङग्रे, १९ वटा ब्राण्डका २–पाङग्रे तथा ६ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू समेत रहेका थिए । कार्यक्रममा गोलाप्रथामार्फत टिकट नम्बर ०२४८४० लिने सहभागीले डोरप्राइज प्राप्त गरेका छन् । डोर प्राइजमा युएमको रेनेगेड राखिएको थियो । यस वर्षको बेस्ट स्टलमा शरण एण्ड ईलेक्ट्रोनिक्सले पाएको छ। कमर्शियल भेहिकलमा आइएमी अटोमोबाइल्सको अशोक लेल्याण्डले बेस्ट स्टल अवार्ड प्राप्त गरेको छ । चार पाङ्ग्रेमा फोर्डले पुरस्कार पाएको छ भने दुई पाङग्रेमा बजाजले जितेको छ ।

महिन्द्राको मोटरसाइकल र स्कुटरमा उपहारै उपहार

काठमाडौं । नेपालमा महिन्द्रा कम्पनीको टुह्वीलर मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको अग्नि मोटो इन्कले दशै, तिहार तथा छठलाई लक्षित गरी विभिन्न उपहार योजना ल्याएको छ । कम्पनीले महिन्द्रा सुनैसुनको वर्षा, रानीहारसँगै विदेश यात्रा योजना प्रस्तुत गरेको छ । यस योजनामा ग्राहकले कुपन स्क््रयाच गरी निश्चित उपहारको रुपमा १ तोलासम्म सुनको सिक्का पाउने कम्पनीले जनाएको छ । ग्राहकले चाडपर्वको बेलामा कुनै पनि महिन्द्रा बाइक तथा स्कुटरको खरिद गर्दा एउटा स्क्र्याच कुपन पाउने छन् । कुपनलाई स्क््रयाच गरी न्युनतम् २.५ ग्रामदेखि १ तोलासम्मको सुनको सिक्का पक्का पाइने कम्पनीले जानकारी दिएको छ । हरेक १५ दिनमा एक जनाले रानीहार उपहार पाउने छन् । त्यसैगरी बम्परमा ४ जनाको दुई परिवारलाई ४ दिन ५ रातको थाइल्याण्ड भ्रमणको अवसर पनि मिल्ने छ ।  

भदौ २८ गतेदेखि दशैंका लागि नयाँ नोट पाइने, बढीमा २७ हजारसम्म साटिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि भदौ २८ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । बैंकले प्रतिव्यक्ति बढीमा २७ हजार रुपैयाँका दरले नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले यस वर्ष बैकिङ्ग कार्यलय थापाथलीका अतिरित्त राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका गरी १६ शाखाबाट नयाँ नोट वितरण गर्ने निर्णाय भएकाे नोट व्यवस्थापन विभागले  जानकारी दिएको छ । राष्ट्र बैंककाे सटही काउन्टरबाट ५, १०, २० ५० र १० का नयाँ नाेट बढीमा २७ हजार  र वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंकबाट बढीमा २० हजार रूपैयाँसम्म नयाँ नाेट सटही हुने छ । सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशाल बजार र नक्साल, नेपाल बैंकको न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर, कृषि विकास बैंकको गौशला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सफा नोट पाइने छ । राष्ट्र बैंकको थापथली काउन्टरबाट नयाँ नोट साट्न पाइने छ । सरकारी निकायलाई नोटको उपलब्धता हेरी भदौ २१ देखि ३० गतेसम्म सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसार नयाँ नोट पाउने छन् । यस्तै बैंक तथा वित्तीय संस्थाले नयाँ नोट सटही गर्नका लागि थप जनशक्ति र बीमालगायत खर्च हुने भएपछि आफना ग्राहकलाई मात्र सटही सुविधा दिने गरेका छन् ।    

चीनको होङसीले सिमेन्ट उत्पादन गर्न ३७ अर्ब ल्याउने, आयोजना लगानी सम्झौतामा हस्ताक्षर सम्पन्न

काठमाडौं । चीनियाँ लगानीमा नेपालमा ठुलो सिमेन्ट कारखाना स्थापना हुने भएको छ ।  चीनको होङसी र नेपालको शिभम् सिमेन्टको संयुक्त लगानीमा नेपालमा सिमेन्ट कारखाना स्थापना हुने भएको हो । सिमेन्टमा विदेशी लगानी ल्याउने विषयमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी र होङसी शिभम् सिमेन्ट प्रालिका निर्देशक लाई विपेङले आयोजना लगानी सम्झौतापत्र (पीआईए) मा आइतबार हस्ताक्षर गरेका छन् । होङसीले ३६ अर्ब ८५ कराेड रुपैयाँ  (३५ करोड ,९१ लाख अमेरिकी डलर) लगानी ल्याउने छ । सिमेन्टमा आएको यो हालसम्मकै सबैभन्दा ठुलो वैदेशिक लगानी हो । होङसीले सिमेन्ट उत्पादनका लागि डलरमा लगानी ल्याउन सरकारबाट स्वीकृति पाइसकेको छ । होङसीको ७० र नेपालीको ३० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । सिमेन्ट उद्योग दर्ता र अन्य स्वीकृतिको काम सकिएको छ । चीनको होङसी र नेपालको शिमभ् सिमेन्टको संयुक्त लगानीमा नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाका लागि आवश्यक पुर्वाधार निर्माणको काम भइरहेको छ । उद्योगबाट सन् २०१८ को सुरुदेखि सिमेन्ट उत्पादन हुनेछ । उद्योगले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चावस्तुका लागि पाल्पामा खानीका लागि स्वीकृति पाएको छ । उद्योग आफैले कच्चा वस्तु क्लिङकर उत्पादन गर्ने भएको छ । होङसीले दैनिक ६ हजार टन र पछि उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पु¥याउने लक्ष्य राखेको छ ।  वार्षिक ४३ लाख ८० हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योग सञ्चालनका लागि मात्र ८० मेगावाट बिजुली आवश्यक पर्नेछ । उद्योगबाट प्रत्यक्ष रुपमा १ हजार र अप्रत्यक्ष रुपमा १० हजारले रोजगारी पाउने अनुमान गरिएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लगानी सम्झौताबाट नेपालको व्यवसायीक वातावरण बारे सकारात्मक सन्देश सम्प्रेषणभएको बताए । उनले आयोजनाको कार्यान्वयनको क्रममा सरकारको तर्फबाट आवश्यक सहयोग समयमै उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे । सो अवसरमा बोर्डका सीईओ अधिकारीले सम्झौताले विदेशी लगानीकर्ताका लागि नेपाल वास्तवमै आकर्षक गन्तव्य बन्दै गइरहेको प्रमाणित भएको बताए । निर्देशक वेईपेङ्ले नेपालमा विदेशी लगानी भित्र्याउन लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पु¥याएको बताए ।  

दशैंको अवसरमा बज्र एण्ड बज्राचार्यले ग्राहकवर्गलाई बाथरुम प्याकेज अफर दिने

काठमाडौं । दशैंकोे अवसरमा बज्र एण्ड बज्राचार्य इन्टरप्राईजेजले आफ्ना ग्राहक वर्गलाई सुपथ मूल्यमा सामानहरु विक्री गर्ने भएको छ । कोहोलर, पोर्सिलोन्सा, सि.आर.डब्लु., ह्यालकोन, सुप्रिम, पञ्चकन्या तथा सोमानी ब्राण्डका बाथरुम, ट्वाईलेट, टायल, पाईप, स्टिम, साउना तथा ज्याकुजीहरु भरी छुट तथा एउटा किन्दा अर्को सितैमा दिने कम्पनीले जनाएको छ । घरका लागि बाथरुम प्याकेज अफर, होटेलहरुको लागि स्पेशल बाथरुम प्याकेज अफर, क्यास ब्याक तथा स्क्रयाच कार्ड अफर समेत उपलब्ध गराउने जानकारी दिएकोे छ । यो अफर  भदाै ०१ गते देखि सिमित अवधिका लागि ग्राहकवर्गहरुलाई प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

बाढीपीडितका लागि धुर्मुस सुन्तली फाउण्डेशनले एकीकृत नमुना बस्ती बनाउने

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले तराईका बाढीपीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको छ । बाढीका कारण पिडितहरुको अवस्था पिडादायि रहेको, पालमुनी बस्नुपर्ने अवस्था रहेको र यसबाट अरु कुनै पनि मानविय क्षति नहोस भन्नका लागि फाउण्डेशनले एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको हो । आफुनै खटेर तराईका १२ जिल्लाका २३ स्थानमा झण्डैं ६५ लाख बरावरको राहत सामाग्री तथा बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितरण गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले पिडितहरुको अवस्थालाई देखेर आफुहरुले एकीकृत बस्तीको योजना अघि सारेको बताएका छन् । ‘उहाँहरु अझै पनि पालमुनी बसीरहनुपरेको अवस्था छ र उहाँहरुका लागि यतिबेला बासस्थानको आवश्यकता छ’ कट्टेलले  भने ‘फेरी अर्को मानबिक क्षति नहोस भन्नका लागि पनि हामीलाई एकीकृत नमुना बस्तीको आवश्यकता महशुस भएको हो ।’ बाढीका कारण पिडित बनेका तराई बासीहरुको अति आवश्यक कुराहरु समेत नभएको बताउँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरेले उनीहरुका लागि राहत मात्र भन्दा पनि एउटा बासस्थानको जरुरत भएको र फाउण्डेशनले बाढी पिडितहरुका लागि आएको सहयोग रकमले उक्त नमुना बस्ती निर्माण गर्ने जानकारी दिईन् । एकीकृत नमुना बस्ती निर्माण गर्ने योजना बनाएपनि कहाँ र कति लागतमा बनाउँने भन्ने अझै पनि टुङ्गो नलागेको र छलफलमै रहेको उनको भनाई छ । राहत बितरणमा ब्यस्त रहेका फाउण्डेशनका परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले बताए अनुसार बस्ती पिडितहरु बढी भएको स्थान र कुनै पनि बिपत्तिले छिट्टै प्रभाव नपार्ने र सुरक्षित स्थानमा निर्माण गरिने छ । तर अझै पनि आफुहरु स्थल छनौटमा रहेको र बस्तीमा बन्ने घरहरुको प्रकृती र त्यसको खाका तयार गरेपछि मात्र अन्य कुराहरु सार्बजनिक गरिने धुर्मुस सुन्तली फाउण्डेशनले जानकारी दिएको छ । बाढी पिडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण संगैं केही समयअघि मात्रै ५ अर्वको अनुमानित लागतमा निर्माण गरिने भनिएको नमुना नेपालको काम पनि निरन्तर अगाढी बढिरहने फाउण्डेशनले बताएको छ । फाउण्डेशनले निर्माण गर्ने भनिएको उक्त बस्ती पनि अन्य बस्ती जस्तै बाल मैत्री, अपाङ्ग मैत्री र भुकम्प प्रतिरोधी हुनेछ । फाउण्डेशनले यसअघि ३ वटा एकीकृत नमुना बस्तीबाट सफलता प्राप्त गरिसकेको छ ।