सोमबार मात्रै कञ्चनको तीन लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, कसमसको हकप्रद नेप्सेमा सूचिकृत
काठमाडौं, १३ मंसिर । सोमबार कञ्चन डेभलपमेन्ट बैंकको मात्र करिब ३ लाख ७६ हजार १७६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ । त्यस्तै सोमबार नै कसमस डेभलपमेन्ट बैंकको ५० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । हाल बैंकको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर ४४५ रुपैयाँमा कारोबार भएको छ ।
एडीवीबाट शिक्षा मन्त्रालयलाई करिव १३ अर्व ऋण सहयोग, शिक्षा क्षेत्रमा वर्षेनी ऋण माग्दै सरकार
काठमाडौं,१३ मंसिर । सरकारले हरेक बर्ष शिक्षा क्षेत्रको विकासको लागि अर्बौ रुपैंयाँ लगानी गर्दै आएपनि सँधै अपुग भएको भन्दै शिक्षा मन्त्रालयले विभिन्न माध्यमबाट ऋण सहयोग लिन छाडेको छैन । यसै अनुरुप मन्त्रालयले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) संचालन गर्न बजेट अभाव रहेको जनाउँदै कार्यान्वयनका लागि अपुग रकम मध्ये एसियाली विकास बैंक (एडीवी)बाट करिब १३ अर्ब रुपैयाँ ऋण सहयोग लिने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रीपरिषद् बैठकले एडीवीबाट १२ अर्व ८४ करोड ऋण सहयोग र ५ करोड ३० लाख प्राविधिक सहयोग लिने निर्णय गरेको हो । एसएसडीपी संचालनका लागि विभिन्न संस्थाहरुले पहिले नै ऋण सहयोग उपलब्ध गराउने प्रस्ताव गरेको रकममध्ये सरकारले एडीवीको ऋण सहयोग स्विकार गर्ने निर्णय गरेको शिक्षा मन्त्री धनीराम पौडेलले जानकारी दिए । उनका अनुसार एडीवीको सहयोग मात्रै नभएर जाईका, विश्व बैंक लगायतका संस्थाहरुबाट पनि लगानीको प्रस्ताव आएकाले त्यसको कार्यान्वयनको लागि पनि सरकारले विस्तारै निर्णय गर्दै जानेछ । मन्त्री परिषद्ले ऋण सहयोग स्विकार गर्ने निर्णय गरेसँगै एसएसडीपी संचालन गर्न सहज हुने मन्त्री पौडेलले बताए । विद्यालय शिक्षा सुधार कार्यक्रम सोचेजस्तो आजको भोलि परिवर्तन नहुने भन्दै क्रमिक रुपमा विकास गर्नको लागि सहयोग अनिवार्य भएको मन्त्री पौडेललेको भनाइ थियो । विद्यालय शिक्षा सुधारको लागि पञ्च बर्षिय योजना अगाडी सारिएको भएपनि यसले छिटै उदेश्य प्राप्ति गर्ने र शैक्षिक गुणस्तर बृद्धि संगै विद्यालय शासन प्रणालीमा समेत सुधार आउने मन्त्री पौडेलले दावी गरे । कार्यक्रम संचालन गर्न ४ सय ४३ मिलियन डलरको प्रतिवद्धता प्रस्ताव आएपनि झण्डै २ सय ७९ मिलियन अमेरिकी डलर बराबरको रकम अपुग हुने देखिएपछि सरकारले उक्त निर्णय गरेको जनाएको छ । कार्यक्रममार्फत शैक्षिक पद्धतीमा व्यापक पुनरावलोकन, शिक्षकको क्षमता वृद्धि, र शिक्षाको गुणस्तर सुधारमा जोड दिने भनिएपनि बर्षैपिच्छे सरकारले छुट्याएको अर्वौ रकम कहाँ खर्च हुन्छ भन्ने प्रतिवेदन सार्वजनीक हुन सकिरहेको छैन ।
सेन्ट्रल फाइनान्सले २३ प्रतिशत लाभांश दिने, पूँजी ३० करोड ४९ लाख रुपैयाँ पुग्ने
काठमाडौं, १३ मंसिर । सेन्ट्रल फाइनान्सले लगानीकर्तालाई २३ दशमलब ६८ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सले २२ दशमलब ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशलमब १८ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने प्रश्ताव गरेको छ । कम्पनीको उक्त प्रश्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ । बैंकको स्वीकृत प्रश्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल कम्पनीको चुक्ता पूँजी २४ करोड ६५ लाख रुपैयाँ रहेको छ । २३ दशमलब ६८ प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ३० करोड ४९ लाख रुपैयाँ पुग्ने छ । सोमबार कम्पनीको प्रतिकित्ता सेयर २१४ रुपैयाँमा किनबेच भएको छ ।
उचित मूल्य नपाएपछि कृषकले सुन्तला टिपेनन्, प्रतिकिलो १० देखि ३५ रुपैयाँ मात्र
पाल्पा, १३ मङ्सिर । सुन्तलाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । बजार मूल्य राम्रो नभएपछि उनीहरुले बोटबाट सुन्तला टिपेका छैनन् । साना सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो १० रुपैयाँ र ठूला सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँमा कारोबार हुने भएपछि जिल्लाको पश्चिमी भेगका किसानले सुन्तला नटिपेका हुन् । तर उपभोक्ताले भने ८० देखि ९० रुपैयाँ प्रतिकिलो सुन्तला किनेर खान बाध्य छन् । प्रतिकिलो ३५ रुपैयाँमा नै सुन्तला ढुवानी गर्नुपर्ने भएपछि बिचौलियाले बढी नाफा खाने तर आफूहरुलाई उत्पादन मूल्यसमेत उठाउन समस्या भएको ती किसान बताउँछन् । तानसेनदेखि पश्चिमका गाविसबाट झन्डै रु पाँच करोडभन्दा बढीको सुन्तला रुपन्देही जिल्लामा समेत निर्यात हुदै आएकामा यसवर्ष ढुवानी मूल्य बढेको भन्दै मुनाफा नदिँदा सुन्तला नै नटिपेको मुझुङ गाविस–४ का राजु कार्कीले बताए । मुझुङ गाविसबाट गत वर्ष ३३ लाख रुपैयाँ, छहरा गाविसबाट मात्र एक करोडभन्दा बढीको सुन्तला रुपन्देही जिल्लामा निर्यात भएको थियो । सुन्तलाबाट एक लाखभन्दा बढी आम्दानी गर्ने किसान बढेपछि यो गाउँका अधिकांशले वैदेशिक रोजगारबाट फर्केर सुन्तलाखेती थालेको कार्कीको भनाइ छ । गाउँबाट प्रत्येक वर्ष ७० देखि ८० टनसम्म सुन्तला बिक्री वितरण गर्दै आएका किसान अहिले सुन्तलाको मूल्य नपाउँदा समस्यामा परेका हुन् । तीनसय बोटका सुन्तलाले कार्कीको बगैँचा पहेँलपुर बनाएको छ । यसपालि सुन्तला धेरै फलेर हाँगा नै नुगेका छन् । पाँच सात वर्षमा नै सुन्तलाबाट प्रत्येक वर्ष डेढ दुई लाख आम्दानी हुन थालेकाले वृद्ध आमाबुबासँग घरमा बसेर सुन्तला, तरकारीखेती गर्दै आएको उनले बताए । अर्का कृषक रामबहादुर कार्की भएका ३५ वटा बोटका सुन्तलाबाट आम्दानी कम हुने हो कि भनेर चिन्तित हुनुहुन्छ । यस्तै छहरा, पालुङमैनादी, सोमादी, भुवनपोखरी, कुसुमखोला, खस्यौली, भैरवस्थानलगायतका किसानले राम्रो मूल्य नपाएपछि अझै सुन्तला टिपेका छैनन । छहरा गाविस–५ अम्लाबासका पारशमणि पोखरेलका अनुसार सुन्तलाको मूल्य अझै राम्रो हुने आशामा किसानले सुन्तला नटिपेका हुन् । पाकेको सुन्तला बढी समयसम्म बोटमा राख्दा अर्को वर्ष कम फल्ने चिन्तासमेत उनीहरुमा छ । रासस
भृकुटीमण्डपमा देश चिनाउने उत्पादन (फोटोफिचर सहित)
काठमाडौं, १३ मंसिर । नेपाल हस्तकला महासंघले आयोजना गरेको व्यापार मेलाको तेश्रो दिन सोमबार करिब ३० हजार अवलोकन कर्ताले मेलाको अवलोकन गरेका छन् । उक्त मेलामा सोमबार मात्रै करिब १ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएका छन् । उक्त मेला वाणिज्य मन्त्रालय तथा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा भृकुटीमण्डपमा आयोजना गरिएको छ । आयोजकका अनुसार मेलाको पहिलो दिन ५० हजार जना अबलोकन गरेका थिए भने दोश्रो दिन आइतबार करिब ३० हजार अवलोकन कर्ताले मेलाको अवलोकन गरेका थिए । तीन दिनमा १ लाखभन्दा बढीले मेला अबलोकन गरेको आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले बताए । मेलामा ७ वटा पेभिलियनसहित १ सय ७८ वटा स्टल छन् । बंगलादेश, पाकिस्तान, चीनको स्वसासित क्षेत्र तिव्वत र भुटानका प्रदर्शनकर्ताहरुले समेत मेलामा भाग लिई रहेका छन् । मेलामा आइतबार नेवा डे मनाईएको छ । यसमा प्रतिभा समूह नकबहिल ललितपुरद्वारा नेवारी संस्कृति झल्किने डाफा भजन, नौ बाजा, अष्टमातृका नाच र धिमे नाच प्रस्तुत गरिएको थियो । मेलाको चौंथो दिन सोमबार तराई दिवस मनाईएको थियो । यसमा थारु संस्कृतिअनुसारको कार्यकमहरु प्रस्तुति गरिएको संयोजक उपाध्यायले बताए । मेलाको तेश्रो दिन बाणिज्य सचिव ईन्द्रप्रसाद उपाध्याय, नेपाल स्थित चिनीया राजदुतावासका अधिकृतहरु, तिब्बेत विश्वविद्यालयका प्राध्यापकहरु, स्वीडेनका व्यापारीलगायतले मेलाको अवलोकन गरेका थिए । व्यापार मेलाकै अवसरमा आयोजना भएको १२ औं हस्तकला प्रतियोगितामा यस पटक धातुपत्रकला र उनी बुनाई विधामा प्रतियोगीहरुले प्रदर्शनी स्थलमा बसेर आफ्नो कला प्रदर्शन गरेका थिए । उक्त प्रतिस्पर्धा अवलोकन गर्नेहरुको पनि ठूलो भीड लागेको थियो ।
लिएगो स्मार्ट फोन मोर्डन, स्टाईलिस र बलियो छ- मोहन वंशल
मोहन वंशल, प्रबन्ध निर्देशक, जेएसएस ग्रुप एक दशकभन्दा बढी समयदेखि मोवाइल ब्यवसायमा सक्रिय रहँदै आएको प्रतिष्ठित ब्यापारीक घराना जेएसएस ग्रुपले लिएगो ब्राण्डको मोवाइल नेपाली बजारमा बिक्री शुरु गरेको छ । विश्वका विभिन्न २० मुलुकहरुमा राम्रो उपस्थिति जनाइसकेको यो मोवाइल ब्राण्ड नेपालको लागि भने नयाँ हो । यो फोनमा अत्याधुनिक सुविधाको साथै निकै बलियो भएको कम्पनीको दावी छ । स्टाइलिस र नयाँ विषेशताका साथ निर्माण गरिएको लियागो फोनले वालमा किला ठोक्दा होस् वा गाडीले किच्दासमेत असर नपर्ने कम्पनीको भनाई छ । लियागो फोनले नेपाली उपभोक्तको मन कसरी जित्न सक्छ ? यसको विशेषता के छन् ? प्रतिश्पर्धात्मक बजारमा यसको उपस्थिति कस्तो रहन्छ भन्ने विषयमा रहेर देशविकास साप्ताहिकले जेएसएस ग्रुपका प्रबन्ध निर्देशक मोहन वंशलसँग गरेको कुराकानीः लिएगो ब्राण्डको स्मार्ट फोन भित्र्याउनु भयो, यसमा त्यस्तो के विषेशता छ ? बजारमा प्रशस्तै स्मार्ट फोनहरु भित्रिएका छन् । यति हुँदाहुँदै पनि हामीले नयाँ ब्राण्डको लिएगो स्मार्ट फोनमा केहि नयाँ विषेशता पायौं र नेपाली बजारमा ल्याउने आँट ग¥यौं । यो आफैमा एउटा स्टाईलिस फोन हो, नेपाली बजारमा माथिदेखि तलसम्मका उपभोक्ताले खरिद गर्न सक्ने भरपर्दो, मजबुत र गुणस्तरीय छ । जसमा फङ्सनहरु अपग्रेडेड छ, ¥याम, रुम अपग्रेड छ । अहिले बजारमा भएका फोनहरुमा अक्टाकोर प्रविधि छ तर लिएगोमा डेगाकोर प्रविधि प्रयोग भएको छ जुन पहिलो पटक नेपाली उपभोक्ताले प्रयोग गर्न पाउने छन् । यसकोे स्क्रिन साह्रै वलियो हुनाले ओखर फुटाउदासमेत कुनै स्क्राच हुन्न । यो हामीले प्रयोग गरेर देखाइसक्यौं । लिएगोमा यस्ता धेरै विषेशता छन् जुन उपभोक्ताले प्रयोग गरेपछि मात्रै यसको अझै महत्व बुझ्नेछन् । प्रतिस्पर्धाको बजारमा लिएगोको उपस्थितिले कति स्थान लिने अनुमान गर्नुभएको छ ? नेपाली बजारका उपभोक्ता सचेत भइसकेका छन्, केहि नयाँ चाहान्छन् । लुगाभन्दा छिटो मोवाइल फेर्ने चलन आइसक्यो । यस्तो अवस्थामा उपभोक्तको माग अनुरुप नै बजारमा लिएगो आएको छ । बजार हिस्सा कति ओगट्छ त्यो अहिले नै भन्न सक्ने अवस्था छैन । तर एउटा लगानीकर्ताको आँखाले हेर्दा केहि समयकै अन्तरालमा बजारमा रहेका ब्राण्डमा टपटेन भित्र पर्ने लिएको मोवाइल पर्ने विश्वास लिएका छौं । उपभोक्ताले कति थरिका र कति कलरका मोवाइल प्रयोग गर्न पाउनेछन् ? उपभोक्ताको मनोविज्ञानलाई बुझेर कम्पनीले चार सिरिजमा ११ वटा मोडेलका मोवाइलहरु निर्माण तथा वितरण गरेको छ । जसमा गोल्डेन, रोज गोल्ड, ह्वाइट र ग्रे गरी चार किसिमका कलरहरु छन् । ५ दशमलव ७ यसको स्क्रिन साइज छ । १३ मेगापिक्सेल क्षमताको फ्रन्ट, व्याक क्यामेरा रहेको छ । यसर्थमा उपभोक्ता आफूले चाहेको कुनैपनि मोडल वा रंगको मोवाइल उपभोग गर्न सक्नेछन् । लिएगो कहाँको उत्पादन हो र यसको अन्तराष्ट्रिय बजार कस्तो छ ? अहिले विश्व बजारमा स्मार्ट फोनले ठूलो हिस्सा ओगटेको छ । प्रायः बी सबै चाइनामा बनेका छन् । नाम चलेका ठूला ब्राण्डका मोवाइलसमेत चाइनामा बन्ने गर्छ । कुन देशमा बनेको भन्दा पनि कस्तो गुणस्तर र विषेशता छ, त्यो हेर्नुपर्छ । विश्व बजारमा लियागो स्टाईलिस फोन उत्कृष्ट रहेको पाएका छौं । जसले अपग्रेड प्रविधि प्रयोग गर्छ, सस्तो मूल्यमा उपलब्ध गराउँछ र राम्रो सेवा दिन्छ त्यसले मार्केट लिने हो । र यसमा लिएगोले सन् २०१८ सम्म विश्वकै टपटेन ब्राण्ड बन्ने लक्ष्य लिएको छ । विभिन्न मोडलका मोवाईलहरु छन् त्यसको मूल्य न्यूनतम ५ हजारदेखि ५० हजार रुपैयाँ सम्म मूल्य तोकिएको छ । नेपालमा कसरी बजार विस्तार गर्दै हुनुहुन्छ ? बजार र उपभोक्ताको माग अनुसार पुरै नेपालमा मार्केट विस्तार गर्ने तयारीमा छौं । एकै पटक चारैतिर विस्तार गर्न सकिंदैन । तरपनि देशका मुख्य शहरहरुमा हाम्रो उपस्थिति रहन्छ । काठमाडौंबाटै हाम्रो सेवा सुरु हुन्छ । मोवाइल बिक्रीपछि दिइने सेवा वा सर्भिस सेन्टर कस्तो हुनेछ ? हामीले मोवाइल बेच्ने मात्र होइन, बिक्रीपछि पनि सेवा दिने गरी देशभरी ३८ वटा सर्भिस सेन्टर स्थापना गरेका छौं । लिएगो आउनु पहिला नै हामीसँग किवि मोवाइलका ती सर्भिस सेन्टरहरु थिए र यसैलाई वैधानिकता दिएर लिएगोको पनि सेवा दिनेछौं । यस्ता सेन्टरहरुले जहाँबाट किनेको भएपनि सेवा दिनेछन् । यसैमा हामीले अनलाइन सर्भिस पनि दिएका छौं । अनलाइनमार्फत ग्राहकले बनाउन दिएको फोन कस्तो अवस्थामा छ भनेर समेत थाह पाउन सक्छ, त्यसको लागि हामीले ट्रयाकिङ नम्वर पनि दिएका हुन्छौं । त्यसैको आधारमा ग्राहाकले फलो गर्न सक्छन् । यस्तो सेवा हामी नेपालमा पहिलोपटक दिंदैछौं । अर्को कुरा लेभल हेरेर मोवाइल मर्मत हुन सक्ने र नसक्ने आधारमा सेवा दिइन्छ । चौविस घण्टा, ७२ घण्टाको समय राखेर सेवा दिने र केहि कारण फोन बन्नै नसक्ने अवस्था आएमा १२ दिन भन्दा पछाडि नयाँ फोन उपलब्ध गराउँछौं । यो हाम्रो प्रतिवद्धता हो । मोवाइल बजार प्रतिस्पर्धा बढेको देखिन्छ, व्यवसायले गर्नेको लगानी कत्तिको जोखिममा छ ? विजनेशमा ‘नो रिक्स नो गेन’ भनिन्छ । कुनैपनि विजनेश जोखिमविहीन हुनै सक्दैन । त्यसमाथि महँगा–महँगा मोवाइलहरु ल्याएका हुन्छौं, यस्तो अवस्थामा उपभोक्ताले मन पराएनन् र बिक्री गर्न सकिएन भने क्षति हुने डर हुन्छ । यद्यमी हामीलाई विश्वास छ कि लिएगो मोवाइल नेपाली बजारमा छिट्टै स्थापित हुनेछ ।
ओरालो लागेर दुईपिटक सम्म सर्किट ब्रेक लागेको बजार उकालोतर्फ
काठमाडौं, १३ मंसिर । सेयर बजार उकालोतर्फ लागेको छ । सोमबार ओरालो लागेर दुईपटकसम्म सर्किट ब्रेकर लागेर दुईबजेपछि बजार उकालो लागेको छ । अहिलेसम्म बजार ३४.०७ अंकले बढीसकेको छ । बजारमा दवदवा राख्ने बैकिङ समूह, होटल, विकास बैंक, इन्सुरेन्स र अन्य पनि उकालो लागि रहेका छन् । जलविद्यतु,फाइनान्स र उत्पादनमूलक समूहको पनि उकालो लाग्ने तरखरमा रहेका छन् । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ले आइतबार लगानीकर्ताहरुलाई नआत्तिन आग्रह गरेको थियो । त्यसको असर सोमबारको बजारमा देखिएको छ । नेप्सेले कुनै कारण विना हल्लाको पछि लागेर सेयर विक्रि गर्दा पाउने लाभाबाट बन्चित हुनुपर्ने भन्दै लगानीकर्ताहरुलाई विवेकपुर्ण ढंगले लगानी गर्न आग्रह गरेको थियो ।
ढल्केबर सवस्टेसनको ९० प्रतिशत काम सम्पन्न हुँदै, थप ८० मेगावाट विद्युत् आउँदै
काठमाडौँ, १३ मङ्सिर । बहुप्रतिक्षित एवम् महत्वपूर्ण आयोजना मानिएको ढल्केबर सवस्टेसनको काम आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ । हिउँदमा बढदो विद्युत् माग पूरा गर्न सहज हुने सो सवस्टेसनको करिब ९० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आइरहेको ८० मेगावाट विद्युत् बढाएर तत्काल थप ८० मेगावाट विद्युत् ल्याउन सो सवस्टेसन निर्माण सक्नैपर्ने बाध्यता छ । भारतको मुजफ्फरपुरबाट जोडिएको चार सय केभिएको अन्तर्देशीय प्रसारण प्रणाली र त्यसैगरी ढल्केवरबाट खिम्तीसम्म जोडिने अर्को २२० केभिएको प्रसारण प्रणाली पनि सोही सवस्टेसनमा जोडिने भएकाले सो आयोजना महत्वपूर्ण मानिएको हो । ढल्केबर हेटौँडा प्रसारण लाइन र ढल्केबर दुहवी प्रसारण लाइनको पनि मुख्य बिन्दु पनि सोही सवस्टेसन हो । ती दुवै प्रसारण लाइन चार सय केभिए क्षमताका छन् । धनुषा, महोत्तरी, सर्लाहीसम्म विद्युत् उपलब्ध गराइरहेको १३२ केभी क्षमताको प्रसारण लाइनसमेत सोही सवस्टेसनमा जोडिएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले सवस्टेसनको काम सम्पन्न हुने चरणमा पुगेको जानकारी दिनुभयो । काममा दृढ इच्छाशक्ति भयो भने दुई वर्ष लाग्ने काम चार महिनामा नै सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण नै सो परियोजना हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा मन्त्री जनार्दन शर्माको विशेष चासोका कारण सो आयोजना एक महिना ढिला गरेरै भए पनि सम्पन्न हुन लागेको हो । विसं २०७२ मा सम्पन्न गर्नुपर्ने सो सवस्टेसन ठेकेदार कम्पनी र प्राधिकरणको उच्च नेतृत्वको लापर्बाहीका कारण तोकिएको समयमा पूरा हुन सकेको थिएन । गत भदौमा ऊर्जा मन्त्री शर्मासहितको टोलीले चार महिनाभित्र सवस्टेसनको काम सम्पन्न नभए ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएपछि ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक कम्पनी (सिसिपिजी) ले तत्कालै काम सुरु गरेको थियो । माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनामा काम गरिरहेका चिनियाँ र नेपाली गरी २०० भन्दा बढी मजदुरलाई नियमित रुपमा परिचालन गरेपछि आयोजनासम्पन्न हुने चरणमा पुगेको प्रवक्ता अधिकारीको भनाइ छ । परियोजनाको हाल सवस्टेसन रहने भवन, ठूला क्षमताको ट्रान्सफर्मर रहने ‘बेस’ तथा अन्य भौतिक संरचनासमेत पूरा भइसकेको छ । ट्रान्सफर्मर समेत निर्माणस्थलमा आइसकेको छ भने अन्य प्राविधिक उपकरणसमेत उपलब्ध भइसकेको छ । प्रवक्ता अधिकारीले भौतिक संरचना पूरा भइसकेको अवस्थामा उपकरण जडानको कार्य अब छिट्टै सुरु हुने र हिउँदमा मागअनुसार विद्युत् उपलब्ध गराउन सकिने बताउनुभयो । यस्तै आयोजनाको महत्वपूर्ण मानिएको अग्नि नियन्त्रण कक्ष, तथा कर्मचारी आवास भवन पनि बनिरहेको छ । आयोजनाका प्रमुख रहनुभएका राधेशरण महतोले हरेक दिनको कार्यप्रगति ऊर्जा मन्त्री शर्मा र प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई उपलब्ध गराउने र कुनै समस्या परे तत्कालै समाधान गर्ने गरिएको छ ।आयोजनामा समय र लागत बढाउने प्रवृत्तिका कारण अधिकांश आयोजना समस्याको चक्रब्युहमा फसिरहेको अवस्थामा ढल्केबर सवस्टेसनको कामले भने गति लिएको छ । यस्तै सोही सवस्टेसनमा आउने विद्युत् काठमाडौँ ल्याउनका लागि महत्वपूर्ण मानिएको ढल्केबर–खिम्ती प्रसारण लाइनको कामसमेत अन्तिम चरणमा पुगेको छ । एकाध स्थानमा प्रसारण लाइनको तार कस्ने काम मात्रै बाँकी रहेको छ । रासस