विकासन्युज

नविल बैंकको ३० प्रतिशत बोनस सेयरको पर्खाईमा हुनुहुन्छ, भदौ २७ गते भित्रै सेयर किन्नुस

काठमाडौं । नविल बैंकले भदौ २७ गतेदेखि बुक क्लोज गर्ने भएको छ । भदौ २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले २७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकले असोज १० गते साधारण सभा बोलाएको छ । सोही साधारण सभाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गर्दैछ । सोही साधारण सभाका लागि भन्दै बैंकले २७ गतेबाट बुक क्लोज गर्ने निर्णय गरेको हो । नविल बैंकको ३० प्रतिशत बोनस सेयर प्राप्त गर्नका लागि भदौ २७ गतेभित्रै सेयर खरिद गरिसक्नुपर्नेछ । बैंकले आर्थिक बर्ष २०७२/७३ को नाफाबाट सो मात्रामा बोनस सेयर र नगद लाभांश दिने निर्णय गरेको हो । सो आवमा बैंक २ अर्ब ८१ करोड ९३ लाख ३४ हजार नाफा गरेको थियो । बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा भने ३ अर्ब ६२ करोड ८ लाख २२ हजार नाफा आर्जन गर्न सफल भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांशमा टाइपिस्टको भुल, अब लगानी कर्तालाई ४० प्रतिशत लाभांश

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने भएको छ । भदौं २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यस अघि भदौ ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो तर सो निर्णयमा टाइपिङ बिग्रिएको बैंकले जनाएको छ । बैंक नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित गरेपछि लगानी कर्तालाई ४० प्रतिशत लाभांश दिने बताएको छ ।  बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा ३ अर्ब २९ करोड नाफा गरेको थियो ।

अवरोधले दुई जिल्ला जोड्ने सडक विस्तार अलपत्र

भक्तपुर । सडक विस्तारका क्रममा ‘रिटेनिङ वाल’ अर्थात टेवा पर्खाल भत्किएर तरकारी तथा अन्नबाली नष्ट भएको भन्दै एक वर्षदेखि स्थानीयवासीले अवरोध गरेपछि भक्तपुर र काठमाडौँ जोड्ने सडक निर्माण अलपत्र बनेको छ । भक्तपुरको बोडेबाट काठमाडौँंको मूलपानी जोड्ने बोडे–मूलपानी सडक विस्तारका क्रममा नीलबाराही चेकपोस्ट नजिकै निर्माण भइरहेको ‘रिटेनिङ बाल’ अर्थात टेवा पर्खाल गतवर्ष भत्किएको थियो । सडक निर्माण ठेकेदार कम्पनी ‘सन्तोषी पिआर जेभी ललितपुर’ ले बाली क्षति भएका कृषकलाई नष्ट भएको तरकारी, अन्नबालीको क्षतिपूर्ति स्वरूप ६ लाख रुपैयाँ दिए पनि कृषकले भने ३७ लाख रुपैयाँ माग गरेर सडक निर्माण कार्यमा अवरोध गरेपछि समस्या आएको डिभिजन सडक कार्यालय भक्तपुर प्रमुख इञ्जिनियर गुरुप्रसाद अधिकारीले जानकारी दिए । आर्थिक वर्ष २०७२/७३ मा थिमिको बाहाखाबजार, पुरानो बाटो हुलाक मार्ग र नगरपालिका भवन हुँदै मिलरोड, बोडै हुँदै मनोहरासम्म जोड्ने २ दशमलव ८ किलोमिटर सडक निर्माण सम्पन्न गर्न समस्या आएको छ । सात मिटर फराकिलो कालोपत्रे एवं फुटपाथसहित निर्माण हुने उक्त सडकको मापदण्डभित्र परेका घरटहरा, बिजुली, टेलिफोनको पोल नहटाउँदासमेत सडक विस्तारमा समस्या आएको अधिकारीले बताए । उक्त सडकमा मापदण्डभित्र ३८ घरटहरा, ३५ बिजुलीको पोल, ३२ टेलिफोनको पोल, दुईवटा मन्दिर र ढुंगेधारा, दुईवटा कम्पाउन्ड पर्खाल परे पनि त्यसलाई नहटाइदिँदा सडक विस्तारमा समस्या परेको छ । रासस

बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु

काठमाडौ । कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवद्र्धनका लागि स्थानीय बल्खु खोलामा नजिकै सहासिक खेल बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु गरेको छ । कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बन्जी जम्प संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य शुरु भएको छ । कीर्तिपुर नगरपालिका–२ स्थित उक्त क्षेत्रमा गरिएको भौगोलिक सर्भेक्षणबाट बन्जी जम्पका लागि उपयुक्त देखिएपछि नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकाबाट नजिक पर्ने त्यस क्षेत्रमा सो खेलको विकासका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि नगरपालिकाले चालु आवमा १ करोड विनियोजन गरेको नगर प्रमुख रमेश महर्जनले जानकारी दिए । विस्तृत परियोजना प्रतिवेदनपछि उक्त पूर्वाधार सम्पन्न गर्न के कति खर्च लाग्ने र कसरी निर्माण पूरा गर्ने भन्ने विषयमा टुंगो लाग्ने छ । नगरपालिकाले त्यहाँ गर्ने लगानीबाट त्यस क्षेत्र आसपासका स्थानीय लाभान्वित हुने र रोजगारीको अवसर बढ्ने विश्वास गरिएको छ । रासस

कुमारी बैंकको १ करोड ३५ लाख कित्ता सेयर सुचिकृत

काठमाडौं । कुमारी बैंकको सेयर नेपाल स्टक एक्सचेन्ज लिमितटेडमा कारोबारका लागि सूचिकृत भएको छ ।  काष्ठमण्डप डेभलपमेन्ट बैंक, काँक्रेबिहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स लिमिटेडलाई प्राप्ति गरेपछिको १ करोड ३५ लाख ३९ लाख २१० कित्ता सेयर सुचिकृत भएको हो ।

बैंकले सेयर धितोमा कर्जा दिन थाले, बढ्ला त बजार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेपछि बैंकहरु धमाधम सेयरमा लगानी गर्न थालेका छन् ।  हालसम्म झण्डै आधा दर्जन बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर कर्जा लगानी गर्ने योजना सार्वजनिक गरेका छन् । बैंकले सेयरमा लगानी गर्ने भएपछि हाल घटिरहेको बजार बढ्ने अनुमान गरिएको छ । नबिल बैंकले सजिलो कर्जा नै नबिल सेयर कर्जा भनेर सेयर कर्जा दिने योजना ल्याएको छ । मुक्तिनाथ विकास बैंकले पनि सेयर कर्जा योजना ल्याएको छ । यी दुई बैंकले सेयर कर्जाको ब्याज दर भने खुलाएका छैनन् । कैलाश विकास बैंकले सस्तोमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको छ । उसले १२ प्रतिशतमा सेयर कर्जा दिने कैलाश सेयर लोन योजना ल्याएको जानकारी दिएको छ । हाल बजारमा सेयर कर्जा १५ प्रतिशत भन्दा कममा पाइन्न । प्रक्रिया थालेको २ दिनमा सेयर कर्जा पाइने बैंकले जानकारी दिएको छ । एनआइसी एशिया बैंकले शेयर धितो कर्जा योजना फेरि सुरु गरेको छ । ग्राहकले अत्याधिक रुचाएकाले यो योजना पुन सुरु गरेको बैंकले जानकारी दिएको छ । उसले पनि २ दिनमा सेयर कर्जा दिने बताएको छ । यसैगरी बुधबार सिद्धार्थ बैंकले पनि आइतबार विज्ञापन गरेर सेयर कर्जा खुला भएको जानकारी दएको छ । अन्य बैंक तथा वित्तीय संस्थाले धमाधम सेयर कर्जा खुला गर्न थालेका छन् । गत शुक्रबार मात्रै सेयर बजार २५ अंक घटेर १ हजार ५५४ अंकमा सीमित भएको छ । पछिल्लो समयमा बजार घट्दै गएको छ । गत वर्ष बजार बढेर १ हजार ८८१ अंकसम्म पुगेको थियो । कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक हुने समयमा यो वर्ष सेयर बजार खस्किएको छ । बैंकको ब्याज दर नघटेको र बजारमा सेयर आपूर्ति धेरै बढेपछि मूल्य घटेको सेयर ब्रोकर नरेन्द्र सिजापति बताउछन् । केही दिनअघि विकास न्युजले  गरेको कुराकानीमा बजार घट्नुमा आपूर्ति बढी भएको उनको भनाई थियो । बैंकले सेयर कर्जा खुला गरे पनि महंगो ब्याजले बजार बढ्ने संभावना न्युन रहेको धितोपत्र व्यसायी नन्दकिशोर मुन्दडा बताउछन् । “ब्याज दर अझै घटेको छैन भने बजारमा बोनस र हकप्रदको सेयरको आपुर्ति ह्वातै बढेका कारण सुधार हुने संभावना कम देखिन्छ”उनी भन्छन । पर्याप्त तरलता भएपनि बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज दर नघटाएको उनको भनाई छ । हकप्रद बिक्री नभएर धमाधम लिलामीमा आएको छ । पुँजीवृद्धिको योजनाअन्र्तगत बैंक तथा वित्तीय संस्थाको बोनस र हकप्रद सेयर सकिएको र बीमाको मात्र बाँकी रहेकाले लगानीकर्ताको आकर्षण घटेको उनको भनाई छ । बजारमा १० देखि १५ प्रतिशत तलमाथि हुने संभावना रहेको उनले जानकारी दिए । पुँजी वृद्धिको योजनापछि बजार बढ्ने र सकिएपछि घट्ने प्रवृति रहेको उनको भनाई छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा थप अंकुश लगाउदै बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजी (काेर क्यापिटल) को ४० प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था गरेको छ । गत वर्ष मार्जिन प्रकृतिको कर्जा लगानी साढे ७ प्रतिशत बढेर ४० अर्ब ४७ करोड ५७ लाख रुपैयाँ पुगेको थियो । यस्तो कर्जा गत वर्ष मात्रै २ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ बढेको थियो । वित्तीय घर्षण बढेपछि गत माघदेखि नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जालाई अनुत्पादक भन्दै लगानीमा अंकुश लगाएको थियो । हाल बजारमा ७०अर्ब रुपैयाँ बढी तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।    

इम्बोस्ड नम्बर प्लेटमा अञ्चल खारेज, अब प्रदेशको नम्बर लेखिने

काठमाडौं ।  सरकारले सवारी साधनमा जोड्न लागेको इम्बोस्ड नम्बर अब अञ्चलको नभई प्रदेशको नामबाट हुने भएको छ ।  यसअघि अञ्चलको नामबाट गर्ने व्यवस्थालाई खारेज गरी प्रदेशको नाम वा नम्बरबाट हुन लागेको हो । मुलुक संघीय संरचनमा गई अञ्चल खारेज भइ प्रदेश कार्यान्वयनमा आएपछि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । यसका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले अञ्चलको अनुसुचि परिर्वतन गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने भएको छ । यसअघि १३ प्रकारका सवारी नम्बर प्लेट भएकोमा इम्बोस्ड लागु भएपछि घटाएर ५ वटामा झारिएको छ । २ पाङग्रे, ३ पाङग्रे र ४ पाँग्रेलाइ समेत गरी ५ वर्षभित्र २५ लाख नयाँ इम्बोस्ड नम्बर प्लेट जडान गरिने योजना रहेको भौतिक पुर्वाधारमन्त्री वीरबहादुर बलायरले बताए । व्यवस्थापिका संसदको विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री बलायरले ५ वर्षभित्र सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गरिसक्ने जानकारी दिए । उनका अनुसार २ पांग्रेलाई २ हजार ५ सय, ३ पांग्रेलाई २ हजार ९ सय, ४ पांग्रेलाई ३ हजार २ सय र हेभी सवारीसधानलाई ३ हजार ६ सय रुपैयाँ मुल्य तोकिएको छ । ठेकेदारले प्रति इम्बोस्ड नम्बर न्युनतम १६ देखि बढीमा १९ डलरसम्म पाउने छ । ५ वर्षमा सरकारले झण्डै ४ अर्ब अर्थात ३ करोड ३३ लाख ५० हजार रुपैयाँ लाग्ने मन्त्री बलायरले जानकारी दिए । उनकाअनुसार यसबाट  आउदो ५ वर्षमा २ अर्ब ८४ करोड रुपैयाँ राजश्व संकलन हुने उनले जानकारी दिए । पहिला अर्डर भएको इम्बोस्ड प्लेट सानो भएको र अन्य प्राविधिक कारणले नेपाली भाषमा इम्बोस्ड नम्बर लेख्न नमिल्ने र नेपालको झण्डा रहने उनले बताए । नेपाल अन्तराष्ट्रिय सडक सञ्जालमा जोडिएको र वान बेल्ट वान रोड (ओबीओआर) मा गइसकेकाले नेपालीको सट्टा अंग्रेजीमा नम्बर प्लेट हुने उनले स्पष्टपारे । नेपालले इम्बोस्ड नम्बर प्लेट लागु गरिसकेको छ

एनआइसी एशियाले ल्यायो शेयर धितो कर्जा, दुई दिनमै कर्जा प्रवाह गर्ने व्यवस्था

काठमाडौं । एनआइसी एशिया बैंकले शेयर धितो कर्जा योजना फेरि सुरु गरेको छ । ग्राहकले अत्याधिक रुचाएकाले यो योजना पुन सुरु गरेको बैंकले जानकारी दिएको छ । सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ दिनमा नै कर्जा प्रवाह गर्ने व्यवस्था सहित बैंकले शेयर धितो कर्जा सुरु गरेको हो । बैंकको सम्पूर्ण १२० शाखाहरुबाट यो कर्जा उपलब्ध हुनेछ । यो कर्जा अन्तर्गत गाहकहरुले न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म आफूसगं रहेको शेयर धितोमा राखी कर्जा उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत साधारण तथा संस्थापक शेयर धितो राखी शेयर धितो कर्जा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।