विकासन्युज

एसबीआईले ४० प्रतिशत हकप्रद जारी गर्ने, बोनस र एफपिओ पछिको पुँजीमा हकप्रद

काठमाडौं, १४ मंसिर । नेपाल एसबीआई बैंकले लगानीकर्ताहरुलाई ४० प्रतिशत (१०ः४ को अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको सञ्चालक समितिले यसअघि प्रस्ताव गरेको बोनस तथा एफपिओको बिक्री पछि कायम पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २८ प्रतिशत वोनस सेयर प्रस्ताव गरेको छ । २८ प्रतिशत बोनस वितरण पश्चात बैंकको पूँजी करिब ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँ पुग्नेछ । त्यस्तै बैंकले ९८४ रुपैयाँमा एफपीओ जारी गर्ने प्रस्ताव पनि धितोपत्र बोर्डमा लगेको छ । सो एफपिओपछि बैंकको चुक्ता पुँजीमा ६७ लाख रुपैयाँ बढेर चार अर्व ९७ करोड ७८ लाख रुपैयाँमा हुनेछ । बैंकले एफपिओ र बोनस सेयरपछिको चुक्ता पुजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ । बैंकले प्रस्ताव गरेको बोनस एफपिओ र हकप्रद जारी गरेपश्चात बैंकको चुक्तापूँजी ६ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ। चालु आर्थिक बर्षको पहिलो तीन महिनामा  बैंकले ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

केरुङ कनेक्सनः रसुवागढी ड्राइपोर्टको काम तिब्रगतिमा, चीनले निःशुल्क निर्माण गरिदिने

काठमाडौं, १४ मंसिर । रसुवागढीमा निर्माण गर्न लागिएको ड्राइपोर्ट(सुख्खा बन्दरगाह)को काम तिब्रगतिमा अघि बढेको छ । हालसम्म सो ड्राइपोर्टको जिओटेक्निकल सर्भे सम्पन्न भैसकेको छ । नेपालले सन २०१५ को डिसेम्बरमा चीनियाँ कम्पनी द आर्किटेक्चरल डिजाइन एण्ड रिकन्स्ट्रक्सन इन्स्टिच्युट अफ तिब्बतसँग सम्झौता गरेको थियो । ‘रसुवागढी बन्दरगाह निर्माणका लागि चिनियाँ कम्पनीले जिओटेक्निकल सर्भे सम्पन्न गरिसकेको छ, अब ६ महिना भित्र डिपिआर तयार पारेर निर्माण आरम्भ गर्छ’, इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका प्रबन्धक हेमेन्द्र मोहन शाहीले विकासन्युजसँग भने । चीन सरकारको शतप्रतिशत लगानीमा निर्माण हुने बन्दरगाहमा एक सय ६० वटासम्म कन्टेनर पार्किङ गर्न सकिन्छ । यसले दैनिक ५ सय वटा कन्टेनरलाई आवतजावतको सुबिधा दिन सक्ने प्रबन्धक शाहीले जानकारी दिए । यतिबेला चिनियाँ कम्पनीले जिओटेक्निकल सर्भेको आधारमा साइट डिजाइनको काम गरिरहेको छ । ‘हामीले जमिनको मुआब्जा तिरेर ठिक्क पारिदिने हो, डिपिआरलाई स्विकृति दिने हो बाँकी निर्माणको सबै काम चिनियाँ कम्पनीले गर्छ र त्यसको भुक्तानी पनि चीनबाटै हुन्छ ।’ शाहीले भने । सो बन्दरगाह नेपाल–चीन सिमा नाकाबाट ३ किलोमिटर भित्र नेपाली भूमिमा निर्माण गर्न लागिएको हो । हाल सो नाकाबाट दैनिक औसतमा ५० देखि एक सय वटा कन्टेनरबाट समान ढुवानी भैरहेको छ । २० बर्ष ढुक्क सो बन्दरगाह निर्माण भएपछि अर्काे १५ देखि २० बर्षसम्म नेपाली बजारका लागि आवश्यक पर्ने समान ढुवानी गर्न सकिने उनले बताए । ‘हामीलाई पुग्ने समान ल्याउन सकिन्छ । दैनिक पाँच सय गाडी आवत जावत गराउन सकिन्छ । १५ देखि २० बर्षका लागि थेग्छ ।’, शाहीले भने । जग्गा अधिग्रहणको सबै काम सम्पन्न भैसकेको जानकारी पनि उनले दिए । ‘हामीले जग्गा अधिग्रहणको सबै काम सम्पन्न गरिसकेका छौं, थोरै मात्र विवाद आएको थियो, स्थानिय बासीले पनि राम्रो साथ दिए’, शाहीले भने । रसुवागढी सुख्खा बन्दरगाह निर्माणको काम हेरिरहेका इन्टरमोडलका इञ्जिनियर रबिन्द्र पोखरेलले जिओटेक्निकल सर्भेमा प्राप्त रिपोर्टका आधारमा पुर्वाधार निर्माणको योजना बन्ने बताए । ‘जिओटेक्निकल सर्भेमा कुनै माटोले एक मिटर स्क्वायरले ५० केजी तौल थेग्छ भन्ने हुन्छ । कुनैले एक सय र १५० केजी तौल थेग्छ भन्ने हुन्छ । यो रिपोर्ट डिजाइनमै समेटिएर आउँछ । त्यसका आधारमा कस्तो पुर्वाधार बनाउने भन्ने एकिन गरिन्छ ।’ उनले भने । तातोपानी नाकामा भूकम्प र पहिरोले ठुलो क्षति पुर्याउपछि सरकारले रसुवागढी नाका मार्फत केरुङ कनेक्सनको काम अघि बढाएको थियो । यसलाई नेपाल–चीन जोड्ने रणनीतिक नाकाका रुपमा पनि हेरिएको छ ।

डलर अहिले सम्मकै उच्च, मंगलबार ११० रुपैयाँ २६ पैसामा कारोबार

काठमाडौ, १४ मंसिर ।  अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरीकी डलर बराबर ११० रुपैयाँ २६ पैसा तोकेको छ । २०७२ फागुन ११ गते एक डलर बराबर ११० रुपैयाँ ४ पैसामा कारोबार भएको नेपाल राष्ट्र बैकले जनाएको छ । अमेरिकाको केन्द्रिय बैंकले व्याजदर बढाउने संकेत गरेपछि डलरको भाउ बढ्न थालेको नेपाल राष्ट्र बैंकका निर्देशक बासुदेव अधिकारीले बताए । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए लगत्तै उनले व्यारमैत्री नीति ल्याउने आँकलन गरिएको छ । एकातिर व्याजदरका कारण डलर महंगो भइरहेको छ भने अर्को तर्फ भारतमा ५०० र एक हजारका नोट प्रतिवन्धित रहेको छ । जसले भारतीय मुद्रा कमजोर भएको छ । ‘भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर रहेकोले भारतीय मुद्रा कमजोर हुदा नेपाली रुपैयाँ पनि कमजोर हुने गरेको छ,‘ –अधिकारीले भने । एक सातामा नै नेपाली रुपैयाँ डलरसँग करिव चार रुपैयाँको हाराहारीमा कमजोर भईसकेको छ ।

प्राइम कर्मशियल बैंकको ८९ करोड बोनस सेयर स्वीकृत, ४ लाख ८४ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं, १३ मंसिर । प्राइम कर्मशियल बैंकले प्रस्ताव गरेको ८९ करोड २२ लाख १० हजार ३२१ रकम बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ४ करोड ४८ लाख ९३ हजार १७९ नगद लाभांश बितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । साथै प्राइम बैंकले गत भदौ र असोजमा निष्काशन गरेको हकप्रद सेयर बाडाफाँड गरेको छ । हकप्रद सेयरका लागि आवेदन नपरेको ४ लाख ८४ हजार ६९४ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले गत भदौं १२ देखि असोज १६ गतेसम्म ३ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो ।

कृषि विकास बैंकबाट ४० लाखकाे सुनचाँदी चाेरी

वीरगन्ज, १३ मंसिर । वीरगन्ज महानगरपालिका–१० लिङ्करोडस्थित कृषि विकास बैंकबाट करिब रु। ४० लाख मूल्य बराबरको सुनचाँदी चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार मध्यरात बैंकको दक्षिणतर्फ रहेको फलामको ग्रिल निकाली दराज खोलेर रु। ३९ लाख २३ हजार ६७९ मूल्य बराबरका ७२ दशमलव ६ तोला सुन र रु। २१ हजार ८१३ मूल्य बराबरको २७ दशमलव ४४ तोला चाँदी चोरी भएको छ । अनुसन्धानका क्रममा प्रहरीले सो बैंकका सुरक्षागार्ड बृजकिशोर चौहान, उमेशप्रसाद र फुनेरा राजकुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए सो दराजको तीनवटा साँचोमध्ये एउटा साँचो बैंक प्रबन्धक, अर्को लेखापालसँग थियो भने एउटा साँचो क्षेत्रीय कार्यालयमा पठाउनुपर्नेमा त्यहाँ नपठाई प्रबन्धकले आफ्नै कोठामा रहेको दराजमा राखेको थियो । चोरले पहिले दराजमा राखेको साँचो झिकेर सुनचाँदी राखिएको दराज खोली चोरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धाबाट खुल्न आएको प्रहरीले जनाएको छ । रासस

कतार एयरवेजको ‘ट्राभल टूगेदर, सेभ टूगेदर’ क्याम्पेन सञ्चालनमा

काठमाडौं, १३ मंसिर । कतार एयरवेजले आफ्ना उपभोक्ताका लागि ट्राभल टूगेदर, सेभ टूगेदर क्याम्पेन सञ्चालनमा ल्याएको छ । सहयात्रीसँग यात्रामा निस्कँदा आउने बेग्लै मज्जालाई ध्यानमा राखि कम्पनीले यो क्याम्पेन सञ्चालनमा ल्याएको हो । योजना अन्तर्गत उपभोक्ताले एयरलाइनको फस्र्ट बिजनेश क्याविन्सको शुल्कमा ३० प्रतिशत सम्मको छुट प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ३ देखि ९ जनाको समूह बनाइ यात्रा गर्ने यात्रुले योजना मार्फत आकर्षक डिल्सबाट लाभान्वित हुन सक्नेछन् । २८ नोवेम्बर देखि ५ डिसेम्बर २०१६ सम्म यात्राका लागि टिकट बुक गर्ने उपभोक्ताले १५ जून २०१७ सम्मको यात्रामा यस क्याम्पेनबाट लाभान्वित हुन सक्ने कम्पनीले जानकारी दिएको छ । यात्रूहरुले फ्लाइटको खरिदमा डबल क्यूमाइल्स समेत प्राप्त गर्ने जानकारी दिइएको छ । साथै, अनलाइन माध्यमबाट टिकट बुक गर्ने यात्रूहरुले हमाद ईन्टरनेशनल एयरपोर्टको कतार ड्युटी फ्रि रिटेल्समा सपिङ गर्नका लागि २५ प्रतिशत सम्म छुट उपलब्ध हुने कतार ड्यूटी फ्रि भाउचर्स समेत प्राप्त गर्न सक्नेछन् । तर, योजनामा शर्तहरु लागु हुने कम्पनीले जानकारी दिएको छ । यसका लागि उपभोक्ताले qatarairways.com/travel together मा गई बुकिङ गर्दा थप जानकारी प्राप्त हुने कम्पनीले जानकारी दिएको छ । योजना अन्तर्गत छानिएका ट्राभल एजेन्ट मार्फत विभिन्न विशेष टूर प्याकेजको ब्यवस्था समेत गरिएको छ । यसका लागि उपभोक्ताले आफ्नो पायक पर्ने ट्राभल एजेन्ट वा कतार एयरवेजको सेल्स अफिस मार्फत थप जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

माछापुच्छ्रे बैंकको एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

काठमाडौं, १३ मंसिर । माछापुच्छ्रे बैंकले नारायणचौर नक्सालमा करिब २ सय जनाको निःशुल्क प्रभातकालीन स्वास्थ्य परीक्षण गरेको छ। मुटुरोग बिशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीको टोलीले निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क रुपमा औषधी समेत बितरण गरिएको छ। बढ्दो चिसो सँगै मुटु सम्बन्थी समस्या पनि बढ्ने हुँदा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्था सँग सहकार्य गरेर निःशुल्क शिविरका साथै निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको बैंकले जनाएको छ । बैंकले वर्षैभरी देशका बिभिन्न स्थानहरुमा सामाजिक उत्तरदायित्व वहन गर्दै बिभिन्न कार्यहरु गरिने जनाएको छ ।

बेष्ट रेमिट र जनउत्थान सामुदायीक लघुवित्त विकास बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं, १३ मंसिर । बेष्ट रेमिट नेपाल र जनउत्थान सामुदायीक लघुवित्त विकास बैंक बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बेष्ट रेमिटको तर्फबाट बजार ब्यवस्थापक तथा संचालन प्रबन्धक प्रदिप श्रेष्ठ र जनउत्थानको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम पोख्रेलले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार विश्वका विभिन्न मुलुकबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स जनउत्थान सामुदायीक लघुवित्त विकास बैंकका बिभिन्न शाखाहरुबाट भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ । गैर आवासीय नेपालीहरुद्धारा प्रर्वद्धित बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ । बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरिरहेको जनाएको छ । जनउत्थान सामुदायीक लघुवित्त विकास बैंकसँग भएको सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका ३५ सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।