सात प्रदेशमा एकीकृत नमूना बस्ती निर्माण गर्न धुर्मुस-सुन्तली फाउन्डेसनलाई सरकारले सहयोग गर्छः मन्त्री पाण्डे
काठमाडौं, २० मंसिर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पहुँच र पहिचानका हिसाबले पछाडि पारिएका र विकेन्द्रित रुपमा रहेका सीमान्तकृत, लोपोन्मुख जाति समुदायमा एकीकृत वस्ती निर्माण गरी उनीहरुको उत्थानका लागि गरिने सबै काममा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । चर्चित हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)सँग मन्त्रालयमा भएको भेटमा उनले एकीकृत बस्ती निर्माणका लागि सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै ‘जनता आवास कार्यक्रम’सँगै जोडेर एकीकृत वस्ती निर्माण गर्न धुर्मस–सुन्तली फाउन्डेसनलाई सुझाव दिए । एकीकृत बस्ती निर्माण गर्दा पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने गरी आयआर्जनको विषयलाई पनि सँगै जोड्नुपर्ने उनको भनाइ थियो । एकीकृत वस्ती नै पर्यटकीय गन्तव्य हुन सक्ने गरी सात वटै प्रदेशमा एकीकृत वस्ती निर्माण गर्नुपर्नेमा मन्त्री पाण्डेले जोड दिनुभयो । उनले भने, “एकीकृत वस्तीमा ‘होम स्टे’ सञ्चालन आर्थिक उपार्जन गर्न सकियोस् ।” सो अवसरमा भूकम्पपीडितलाई एकीकृत नमूना वस्ती निर्माण गरी हस्तान्तरण गरेका चर्चित हास्यकलाकार धुर्मुसले सात प्रदेशमा एकीकृत नमूना वस्ती निर्माण गर्ने आफ्नो चाहना रहेको बताएका थिए । उनले फाउन्डेसनले छिट्टै नै सात प्रदेशमा एकीकृत नमूना वस्ती निर्माण गर्न लागेकाले सरकारको सहयोग आवश्यक रहेको बताए । साथै उनले सिन्धुपाल्चोकको गिरान्चौरमा निर्माण गरेको ‘धुर्मुस–सुन्तली एकीकृत वस्ती’सम्म पुग्ने सडक कालोपत्रे गर्न सरकारसँग सहयोग मागेका थिए । उनले बर्सेनि आगलागीबाट पीडित बन्दै आएका महोत्तरीको मुसहर वस्तीलगायत अन्य सीमान्तकृत र लोपोन्मुख समुदायमा पनि एकीकृत नमूना वस्ती निर्माण गर्ने फाउन्डेसनको योजना रहेको बताएका छन् । सो अवसरमा मन्त्री पाण्डेले गिरान्चौरको एकीकृत नमूना वस्तीसम्म पुग्ने सडक तत्काल कालोपत्र गरिने र सात वटा प्रदेशमा एकीकृत नमूना वस्ती निर्माण गर्न धुर्मुस–सुन्तली फाउन्डेसनलाई मन्त्रालयले सहयोग गर्ने बताए । यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले काभ्रेको पहरी वस्ती र सिन्धुपाल्चोकको गिरान्चौरका भूकम्पपीडितका लागि नमूना एकीकृत वस्ती निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको थियो ।
साउदीका रोजगारदाता कम्पनी रेड जोनमा पर्ने क्रम बढ्दै, नेपालबाट कामदार पठाउन रोकिने
काठमाडौं, २० मंसिर। बैदेशिक रोजगारको लागि साउदी अरव जाने तयारीमा रहेका कामदारहरुलाई बैदेशिक रोजगार विभागबाट पुरा जानकारी लिएर मात्र जान आग्रह गरेको छ । पछिल्लो समय साउदी सरकारले विभिन्न रोजगारदाता कम्पनीहरुलाई कार्वाहि गरी रेड जोनमा राखेका कारण त्यस्ता कम्पनीहरु रोजगारको हिसावले असुरक्षित हुने हुँदा विभागले आवश्यक जानकारी लिएर मात्र जान आग्रह गरेको हो । साउदी सरकारले कति र कस्ता कम्पनीहरुलाई रेड जोनमा राखेको हो त्यसको यकिन तथ्यांक नआएपनि कार्वाहि फुकुवा गरी ग्रिन जोनमा सूचिकरण नगरेसम्म त्यस्ता कम्पनीबाट कामदारको माग आएपनि नेपालबाट कामदार पठाउन रोक लगाइने विभागले जनाएको छ । साउदी अरवमा रेड जोनमा पर्ने कम्पनीहरु बढ्दै गएका कारण समस्या देखिएकोले श्रम मन्त्रालय, विभाग र बैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिहरुविच भएको छलफलबाट कामदार पठाउन रोक लगाउने सहमति भएको छ । रेड जोनमा परेका कम्पनीहरुमा मात्र नभएर साउदी अरवमा रोजगारीका लागि पुगेका नेपालीहरु समस्यामा पर्ने क्रम बढ्दै गएको अवस्थामा त्यसको निराकरण गर्न पनि विस्तृतमा छलफल भएको बैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डले बताए । उनले भने– साउदीमा थुप्रै समस्या देखिएका छन् र तोकिएको काम, तलव र सुविधा नपाइ नेपाल फर्किनु पर्ने अवस्था छ, यसको समाधानको लागि व्यवसायी र विभागविच सहमति जुटेको छ । यसैगरी नेपाली कामदारलाई समस्यामा पार्ने कम्पनीका विषयमा नेपाली दूतावासमा उजुरी परे त्यस्ता कम्पनीमा समेत कामदार पठाउन रोकिने विभागले जनाएको छ । तोकिएको काम, तलव र सुविधा नदिइ नेपाल फर्किनु पर्ने अवस्थामा कम्पनीले तत्काल एक्जिट पर्मिट दिने लिखित सम्झौता गरेमा मात्र कामदार पठाउन पनि सरकारी अधिकारी तथा व्यवसायी सहमत भएको रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए । उनका अनुसार मेगा रिक्रुटमेन्ट प्रकृतिका कामदार आपूर्ति गर्ने कम्पनीहरुबाट मागपत्र आएमा त्यस्ता रोजगारदाता कम्पनीको नाम उल्लेख गरी रोजगारदाता कम्पनी र कामदार आपूर्ति गर्ने कम्पनीबीच भएको सम्झौता लगायत राखेर श्रमस्वीकृति दिन विभाग सहमत भएको छ ।
अलैँचीको भाउ नपाएपछि गोरखाका किसान चिन्तित, किन्ने व्यापारी नआएको गुनासो
गोरखा, २० मंसिर । अलैँची उत्पादन हुने जिल्लाको रुपमा पहिचान बनाएको गोरखामा यस वर्ष अलैँचीको भाउ नपाएपछि किसान चिन्तित भएका छन् । गतवर्ष किसानका घरघरै आएर व्यापारीले अलैँची किन्ने गरेकामा यसवर्ष अलैँची तयार भइसके पनि व्यापारी नआएपछि किसान चिन्तित बनेका हुन् । जिल्लाको हंशपुर, खरिबोट, थालाजुङ, मुच्चोक, केराबारीलगायत गाविस अलैँचीको पकेट क्षेत्र मानिए पनि उत्पादन भएको अलैँची बिक्री नभएको हंशपुर–४ का विष्णुहरि अधिकारी बताउछन्। उनी भन्छन् – “गतवर्ष विभिन्न क्षेत्रबाट व्यापारी आएर अलैँची लिएर जान्थे अहिले कोही आएका छैनन् ।” गतवर्ष पूर्वी नेपालको झापा, इलामलगायतका क्षेत्रबाट आउने व्यापारीले स्थानीय व्यापारीसँग मिलेर अलैँची खरिद गर्दै आएका उनले बताए । भूकम्पले जमिनको माटो हल्लाएको र चिस्यान हराउँदै गएकाले गत वर्षको तुलनामा यस वर्ष अलैँचीको उत्पादन घटेको सम्बद्ध किसान बताउँछन् । अलैँची उत्पादन बढदै गएको र प्रतिकेजी मूल्य बर्सेनि बढेपछि किसानले धान फल्ने खेत मासेर अलैँची खेती विस्तार गरेका थिए । गतवर्ष असोज, कात्तिकमै व्यापार हुने गरे पनि थोरै अलैँची फलेको यसवर्ष भने मङ्सिर तेस्रो हप्ता बितिसक्दा पनि अलैँचीको बिक्री हुन नसकेको किसान अङ्गराम दवाडीले बताए । उनले भने – “बोरामा अलैँची थुपारेका छौँ, अझै बिक्री भएको छैन ।” गतवर्ष अलैँची प्रतिकिलो दुई हजार २५० रुपैयाँमा बिक्री भएकामा अहिले व्यापारीले प्रतिकिलो जम्मा एक हजार ५०० मात्र दिएपछि अलैँची बिक्री नगरेको अर्का किसान सीता अधिकारीले जानकारी दिए । हंशपुर–९ का किसान किरण प्रधानले यसवर्ष अलैँचीको उत्पादनमा कमी आएको जानकारी दिए । उनले भने – “गतवर्ष एक क्विन्टल अलैँची बिक्री गरेको थिएँ, यसवर्ष २५ केजी मात्र उत्पादन भएको छ ।” किसानले गतवर्ष अलैँची बिक्री गरी रु छ करोड गाउँमा भित्र्याएका थिए । गोरखामा उत्पादन हुने अलैँची रामशाही जातको हो । उत्पादन भएको अलैँची बिक्री गर्न जिल्ला कृषि विकास कार्यालयले कुनै पहल नगरेको किसानहरुको गुनासो छ । कार्यालय प्रमुख यमकुमार श्रेष्ठले गत वर्ष अलैँची बिक्री वितरणमा कुनै पनि समस्या नरहेको हुँदा यसवर्ष पनि ढिलोचाँडो बिक्री हुने दाबी गरेका छन्। उनले अलैँची बिक्रीका लागि कार्यालयले किसान र व्यापारीबीच सम्बन्ध गर्ने काममा लागेको स्पष्ट पारे । श्रेष्ठले केही वर्षदेखि जिल्ला कृषि कार्यालयले अलैँचीको बेर्ना अनुदानमा उपलब्ध गराइरहेको बताए । उनले भूकम्पपछि पानीका मुहान सुकेको, चिस्यान हराएको र ढुसीजस्ता रोगको सङ्क्रमणले अलैँचीको उत्पादन घटेको बताएका छन् । रासस
चरेस किनबेच गर्ने दुई जना पक्राउ, प्रहरीद्धारा ७९ हजार रुपैयाँसमेत बरामद
जाजरकोट, २० मंसिर । प्रहरीले सात किलो चरेस किनबेच गर्दा गर्दै आइतबार दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । सीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई पक्राउ गरेको थियो । तुलसाले बमलाई बिक्री गर्दै गर्दा फेला पारिएको प्रहरीको भनाइ छ । बमबाट ७९ हजार रुपैयाँसमेत बरामद गरेको छ । विशेष सूचनाका आधारमा बिक्री भइरहेको सूचना पाएपछि सदरमुकामबाट प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले तिनलाई पक्राउ गरेको बताइएको छ । एक हप्ताभित्र जाजरकोट प्रहरीले तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरिसकेको छ । रासस
अस्ट्रेलियाबाट विद्यालयलाई छ लाख रुपैयाँ सहयोग प्राप्त
म्याग्दी, २० मंसिर । म्याग्दीको रिसिनचौतारीस्थित धौलागिरि प्राविलाई अस्ट्रेलियाबाट छ लाखभन्दा बढी रुपैयाँ सहयोग प्राप्त भएको छ । अस्ट्रेलियामा बस्दै आएकी पिप्लेकी जममाया मल्लको पहलमा विद्यालयलाई छ लाख १० हजार रुपैयाँ सहयोग उपलब्ध भएको हो । मल्लको नेतृत्वमा विद्यालयमा पुगेका आठ अस्ट्रेलियालीले सोमबार विद्यालयलाई उक्त सहयोग हस्तान्तरण गरेका छन् । कार्यक्रममा विद्यालयका प्रअ मनबहादुर पुर्जालाई सहयोगदाता मल्लले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । विद्यालयलाई शैक्षिक सामग्रीसमेत उपलब्ध गराइएको छ । त्यस्तै उनीहरुले स्थानीय चौतारी आमा समूहलाई १० हजार रुपैयाँ सहयोग गरेका छन् । कार्यक्रममा सहयोगदातालाई अभिनन्दन गरिएको थियो । उक्त अवसरमा विद्यालयमा नवनिर्मित दुईकोठे भवनको समेत उद्घाटन गरिएको छ । जिल्ला शिक्षा कार्यालयको रु सात लाख ५० हजार सहयोग र स्थानीयवासीको जनश्रमदान गरी रु १५ लाख ६२ हजारको लागतमा निर्मित भवनको मुक्तिधाम मावि स्रोत केन्द्रका स्रोत व्यक्ति दुतबहादुर गर्वुजाले उद्घाटन गरेका हुन्। कार्यक्रममा विद्यालयका प्रअ पुर्जाले आफ्ना स्वर्गीय बुबा तानवीरको स्मृतिमा विद्यालयलाई १० हजार एक सय पाँच रुपैयाँ र गर्वुजाले स्व बाजे पुनिराम, बजै बिखमा र आमा धनमायाको स्मृतिमा पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग प्रदान गरेका थिए । रासस
मोरङका पर्यटकीय स्थलमा चहलपहल बढ्यो, दैनिक एक हजार बढी पर्यटक अवलोकन गर्ने
मोरङ, २० मङ्सिर । जाडो मौसम सुरु भएसँगै मोरङका पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । जिल्लामा रहेका बेतना सिमसार, हसिना सिमसार, राजारानी, रानी वन, जेफाडे डाँडा, बेतेनी सिमसारलगायतका पर्यटकीय क्षेत्रमा दृश्यावलोकन र वनभोज खान जानेको चहलपहल बढेको हो । अहिले यी पर्यटकीय क्षेत्रमा वनभोज खान जानेको भीड बढ्नुका साथै घुमघाम गर्न जानेको सङ्ख्यामा वृद्धि भएको छ । खासगरी शनिबारको दिन यी पर्यटकीय क्षेत्रमा भीड बढी हुने गरेको छ । शनिबार सार्वजनिक बिदा हुने भएकाले विद्यार्थी तथा कर्मचारी परिवारका साथ घुम्न आउने गर्छन् । बेलबारी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बेतना सिमसार क्षेत्र यतिखेर पूर्वाञ्चलमै एउटा नमुना गन्तव्यका रुपमा विकास भइरहेको छ । सो सिमसार क्षेत्रले करिब ६५ बिगाहा क्षेत्रफल ओगटेको छ । साइबेरियादेखि आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा, विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति यस क्षेत्रमा पाइन्छन् । मोरङ जिल्लामा रहेका पर्यटकीयस्थलमध्ये बेतना सिमसारमा बढी भीड लाग्ने गर्दछ । यहाँ विभिन्न जिल्लाबाट वनभोज खान र दृश्यालोकनका लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । सो सिमसार क्षेत्रमा अहिले दैनिक एक हजार ५०० पर्यटक आउने गछन् । यस्तै मोरङमै रहेको जेफाले डाँडा नयाँ र मनोरम गन्तव्य बनिरहेको छ । जिल्लाको सिंहदेवी गाविसमा रहेको सो पर्यटकीयस्थलमा सञ्चालित होमस्टेमा पर्यटकको आकर्षण बढ्न थालेको छ । त्यहाँ सुरु गरिएको होमस्टे आगन्तुकका लागि आकर्षण बन्दै गएको हो । मङ्सिर लागेसँगै मोरङसहित, झापा, सुनसरी, धनकुटासहित भारतबाट समेत दैनिक सयौँ पर्यटक सो पर्यटकीय क्षेत्र घुमघामका लागि आउने गरेको जेफाले सामुदायिक होमस्टे व्यवस्थापन समितिका सचिव भीम ठकुरीले जानकारी दिए । उनका अनुसार अहिले पर्यटनको मौसम सुरु भएसँगै जेफालेमा दैनिक होमस्टेमा बस्न र जेफाले भ्यू टावरबाट मनोरम दृश्य हेर्नेको भीड बढेको छ । रासस
सिद्धार्थ बैंकले ३९ प्रतिशत बोनस दिने
काठमाडौं, २० मंसिर । सिद्धार्थ बैंक लिमिटेडले शेयरधनीहरुलाई १ अर्ब ४७ करोड रुपैयाँ बराबरको बोनस शेयर प्रदान गर्ने प्रस्ताव गरेकोे छ । उक्त प्रस्ताव आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको हो । प्रस्तावित बोनस शेयरको उक्त रकम बैंकले हालै जारी गरेको हकप्रद शेयर बाँडफाँड पछिको पुँजीको ३९ प्रतिशत हुन आउँदछ । उक्त बोनस शेयर नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी पन्ध्रौं साधारणसभाबाट पारित भएपछि बैंकका शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् । चालु आर्थिक वर्ष २०७३/७४को आश्विन मसान्तसम्ममा बैंकले ३५ करोड खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ । सोही अवधिमा बैंकले कुल निक्षेप ७० अर्ब ५ करोड रुपैयाँ संकलन गरी ५८ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले हाल नेपालभर ६३ शाखा, ८२ ए.टि.एम र विभिन्न ६८ स्थानमा शाखारहित बैंकिंग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
मेगा बैकले १४ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, ८ अर्ब चुक्ता पुँजीकाे खाका प्रष्ट
काठमाडौं, २० मंसिर । मेगा बैंक नेपाल लिमिटेडले गत वर्षको नाफाबाट करिव १४ प्रतिशत लाभांश सेयरधनीलाई विरतण गर्ने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैंठकले १३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ । बोनस सेयर वितरण गरेपछि बैंकले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ७ करोड ७२ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ६१ करोड रुपैयाँ हुनेछ । ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्ता पुँजी करिब ७ अर्ब ५० करोड रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षमा वितरण योग्य नाफा ५० करोड कमाएर चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने बैंकको योजना रहेको छ ।