विकासन्युज

एनबी इन्सुरेन्स र सिटिजन बैंकबीच बैंक-इन्स्योरेन्स सम्झौता

काठमाडौं । एनबी ईन्स्यारेन्स र सिटिजन बैंक इन्टरनेशनलबिच बैंक एसुरेन्स सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा एनबी इन्सुरेन्स कम्पनी लिटिमेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सिटिजन बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कर्याकारी अधिकृत राजन सिंह भण्डारीले हस्ताक्षर गरेका हुन् । अब बैंकका ग्राहकहरुले नेपालभर रहेका सिटिजन बैंकका शाखाहरु मार्फत एनबी इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । प्रमुख कार्यकारी अधिकृत वादे श्रेष्ठले कम्पनीले चालु आर्थिक बर्ष ७३/७४ को तेश्रोे त्रैमाससम्ममा करिब ५०करोड बीमा प्रिमियम संकलन गरेको जानकारी पनि दिएका थिए ।

अर्घाखाँची सिमेन्टको हर्न बजाउन निषेध अभियानलाई सहयोग

काठमाडौं । अर्घाखाँची सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तरगत वातावरण प्रति सचेत हुँदै काठमाडौं उपत्यकाभित्र लागू गरिएको हर्न बजाउन निषेध अभियानलाई सहयोग गरेको छ ।कम्पनीले उपत्यकाभित्र बढ्दो सवारी साधनको संख्यासँगै बढेको ध्वनी प्रदुषणलाई नियन्त्रण गर्न यो अभियानलाई सहयोग गरेको हो । काठमाडौं महानगरपालिका तथा काठमाडौं उपत्यका भित्र महानगरिय ट्राफिक प्रहरीले वैशाख १ गतेदेखि उपत्यकाभित्र सवारी साधनहरुले हर्न बजाउन निषेध गरेको छ । यो नियम अनुसार अत्यावश्यक सवारी साधन र सुरक्षाका सवारी साधनहरुले समेत अति आवश्यक भएमा मात्र हर्न बजाउन पाउनेछन् । यो शुरुवातले पक्कै पनि अस्पताल, विद्यालय, तथा अन्य संस्थाहरुद्धारा समर्थन प्राप्त गर्नेछ, जसले निकै लामो समयदेखि यो समस्यालाई झेल्दै आएका थिए । अर्घाखाँची सिमेन्टले सामाजिक उत्तरदायित्व अबलम्बन गर्दै समय समयमा वृक्षारोपण कार्यक्रमका साथै वातावरण संरक्षणका लागि जनचेतना अभियानहरु पनि संचालन गर्दै आएको छ । कम्पनीले बढ्दो वातावरणीय समस्या प्रति सचेत हुँदै सिमेन्ट उत्पादनमा पनि वातावरण मैत्री व्यागफिल्टर प्रविधिको प्रयोग गरिरहेको छ । यो अभियानमा अर्घाखाँची सिमेन्टका साथै रेनोल्ट नेपाल तथा जिओनीको पनि सहयोग रहेको छ ।

एक अर्ब ३६ करोडको हकप्रद सेयर आउँदै, ज्योति, मिर्मिरे र सहयोगीले पाए अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक अर्ब ३६ करोड रुपैंयाँ बराबरको हकप्रद सेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले सहयोगी विकास बैंक, ज्योति विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकलाई एक अर्ब ३६ करोड मूल्य बराबरको हकप्रद सेयरलाई अनुमति प्रदान गरेको हो । बोर्डले सहयोगी र ज्योति विकास बैंकको हकप्रद सेयरलाई बैशाख ५ गते अनुमति दिएको हो भने मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको हकप्रद सेयरलाई बैशाख ६ गते अनुमति दिएको हो । ज्योति विकास बैंकले एक बराबर एक कित्ताको अनुपातमा १ करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले एक अर्बको १० करोड ४३ लाख १७ हजार एक सय रुपैंयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ । ज्योति विकास बैंकले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले पनि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति बुधबार मात्रै पाएको छ । बैंकले १५ करोड मुल्य बराबरका १५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । मिर्मिरेले प्रभु क्यापिटलाई बिक्रि प्रबन्धक नियुक्त गरेको  छ । त्यस्तै, सहयोगी विकास बैंकले १० कित्ता बराबर ३ दशमलब ५ कित्ताका दरले ११ लाख एक हजार एक सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो । सहयोगीले एसिएम मर्चेण्ट बैंकलाई बिक्रि प्रबन्धक तोकेको छ ।

म्याक्स भिजनले सेयर निष्काशन गर्ने, एनआईसी एसिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । म्याक्स भिजन लिमिटेडले सेयर निष्काशन गर्ने भएको छ । मोटर पार्टस्को आयात गर्दै आएको कम्पनीले ५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । एन आई सी एसिया क्यापिटल लिमिटेड र म्याक्स भिजन लिमिटेडबिच निष्कशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा म्याक्स भिजन लिमिटेडका अध्यक्ष केशव प्रसाद श्रेष्ठले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । पूँजी बजारमा निजि क्षेत्रका कम्पनी भित्र्याउन सरकारले प्रोत्साहन स्वरुप कर छुटको ब्यबस्था गरेको छ । साथै धितोपत्र बोर्डले पनि निजि क्षेत्रका कम्पनीहरुलाई साधारण शेयरहरुको धितोपत्र निष्काशन गर्न प्रोत्साहन स्वरुप बिशेष ब्यबस्था गरेको छ । एनआईसी एसिया क्यापिटल लिमिटेडले हाल बजारमा कायम रहेको बैंक तथा बित्तिय संस्था, इन्स्योरेन्स र जलबिद्युत मात्रको साधारण शेयरहरुको धितोपत्र निष्कशन गर्ने प्रचलन रहेकोमा म्याक्स भिजन लिमिटेड जस्तै अन्य इच्छुक निजि क्षेत्रका कम्पनीहरुलाई पनि सर्वसाधारणमा शेयर निष्कशन गर्न प्रोत्साहन गर्ने उद्घेश्यले सोही अनुरुप बिशेष पहल गरेको छ ।

स्मार्ट सिटीका लागि ६ स्थान छनोट, पालुङटार स्मार्ट सिटीका लागि ५ अर्ब, अन्यलाई ३ अर्ब मात्र

काठमाडौं । सरकारले स्मार्ट सिटी निर्माण गर्नका लागि १० स्थानमध्ये ६ स्थान छनोट गरेको छ । पालुङटार, निजगढ, लुम्बिनी, दैलेखको दुल्ली, स्याङ्जाको वालिङ र डडेल्धुराको अमरगढी स्मार्ट सिटीका लागि छनोटमा परेका हुन् । नयाँ विकास गरिने स्मार्ट सिटीको अध्ययन गर्न र डिपीआर तयार गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमा डेढ करोड रुपैयाँ विनियोजन गरिएको छ । हरियाली वातावरण भएको, सफा र स्वच्छ, दिगो विकासका पूर्वाधार तयार सहितको अत्याधुनिक सेवा–सुविधा उपलब्ध र सबै सेवा–सुविधामा जनताको पहुँच भएको सहर नै ‘स्मार्ट सिटी’ हो । स्मार्ट सिटीमा फराकिला सडक, पर्याप्त खुला ठाउँ, हरियाली क्षेत्र, व्यवस्थित ढलनिकास, संयुक्त अवास, ई–गभर्नेन्स, ई–कमर्स, सुविधासम्पन्न यातायात, अत्याधुनिक सञ्चार, स्वास्थ्य तथा शिक्षाको उपलब्धता र आधुनिक बजार हुन्छ । उक्त स्थानमा स्मार्ट सिटीको पूर्वाधार निर्माण गर्न करिब २० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । छनोटमा परेका ६ स्थानमध्ये चार स्थानमा पूर्वाधार निर्माण गर्नका लागि अध्ययन शुरु गर्ने तयारी गरेको सहरी विकास मन्त्रालय, आवास तथा भवन महाशाखा प्रमुख डा.रमेशप्रसाद सिंहले बताए । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मुलुकका विभिन्न १० स्थानमा स्मार्ट सिटी बनाउने घोषणा गरेको छ । देशभर १०  स्थानमा स्मार्ट सिटी विकास गर्ने घोषणा गरे पनि बाँकी चार स्थानको भने अझै छनोट हुन सकेको छैन । अन्य स्थानको छनोट प्रक्रियामा रहेको छ । स्मार्ट सिटीको लागि आवशयक पूर्वाधार तयारी गर्नका लागि न्यूनतम ३ देखि अधिकतम ५ अर्ब रुपैयाँ सम्म खर्च लाग्ने प्रारम्भिक अनुमान मन्त्रालयले गरेको छ । स्मार्ट सिटी विकासका लागि छनोट परेको पालुङटार क्षेत्रमा पूर्वाधार निर्माण गर्न सबभन्दा धेरै ५ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । अन्य स्थानमा करिब ३ अर्ब रुपैयाँको हाराहारीमा खर्च हुने देखिएको उनले बताए । छनोट भएका स्थानमध्ये पालुङटार, निजगढ र लुम्बिनीमा सम्भाव्यता र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम समेत सुरु गरिएको छ । हाल मन्त्रालय डीपीआर तयारीका लागि परामर्शदाता छनोटको अन्तिम तयारीमा छ । जमिनको उपलब्धता सरकारले नयाँ सहर विकास हुन सक्ने सम्भावना, भवन निर्माणको प्रवृत्ति तथा सहरीकरण, सडक सञ्जालको विकास तथा सहजता, प्राकृतिक स्रोतको उपलब्धत,  उपलब्ध पूर्वाधार तथा सेवा, सुविधाहरू, साक्षरता, जनसंख्या वृद्धिदरलाई स्मार्ट सिटी विकास गर्ने आधार मानेको छ । सरकारले २०७२÷७३ को बजेटमा पहिलोपटक स्मार्ट सिटी निर्माण गर्ने उल्लेख गरेको हो । उक्त बजेटमा काठमाडौं उपत्यका, लुम्बिनी र निजगढमा गरी तीनवटा स्थानलाई स्मार्ट सिटी विकास गरिने उल्लेख छ । बजेटमा त्यसका लागि गुरुयोजना तयार गरेर स्मार्ट सिटी विकास गरिने बताइएको थियो । चालू आर्थिक वर्ष ०७३/७४ मा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिँदै  गोरखाको पालुङटारलाई केन्द्र मानी मस्र्याङ्दी आसपासका क्षेत्रमा स्मार्ट सिटी गुरुयोजना निर्माण गरी कार्यान्वयन लगिने उल्लेख छ ।

गोहीले चपाएर पनि फुत्किन सफल भएका एक बालकको कथा

तस्विरः द्रोण शिवाकोटीको फेसबुकबाट चितवन । ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना हामीले अन्तर्राष्ट्रिय टेलिभिजनबाट देख्छौँ । गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ । तर चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक फुत्किए् भन्दा तपार्इंलाई आश्चर्य लाग्ला । यो यथार्थ हो । गोहीले समाएका बालक सकुशल फिर्ता भए । अहिले उनी उपचाररत छन् । गत चैत २५ गते भरतपुर महानगर–२३ जगतपुर घैलाघारीका १२ वर्षीय बालक अर्जुन हरिजन सदाझैँ चितवन निकुञ्जको छेवैमा रहेको राप्ती नदीमा पौडी खेल्न गए । सधैँ पौडी खेल्ने ठाउँमा त्यो दिन पनि साथीसँगै पुगे । अपराह्न करिब ४ बज्दै थियो । एक्कासि हाम्फालेका अर्जुन गोहीको पिठ्यूँमा परेछन् । लेउले ढाकेर बसेको थियो गोही । लेउ नै सम्झेँ उनले । “म हामफालेँ, गोहीको माथि परेछ, लेउ जस्तै बनेर बसेको रहेछ, म हाम्फालेपछि अनि झ्याप्पै हात समायो,” सम्झँदै अर्जुन भन्छन् । देब्रे हातमा समाएर तीनचोटि पछा¥यो । त्यसलगत्तै पानीमुनि लग्यो । सामान्यतया गोहीले समाइसकेपछि पानीमुनि लगेर सास फेर्न नदिई मार्छ । “यो हात त सबै पड्यापुडुक भा छ,” गोहीले समाएको देब्रेहात देखाउँदै उनले भने । यति गर्दा पनि बालकको होस भने गएको थिएन । गोहीले आफैँलाई गरेको आक्रमण हेर्दै थिए । फुस्कने कोसिस उनको व्यर्थ थियो । “मैले साथीहरुलाई एउटा हातले बोलाएँ, धन्न उनीहरु आए, पानीमुनि नै साथीले गोहीको आँखामा हाने, अनि भाग्यो,” अस्पताल श्ययाबाट खुसीका साथ उनले घटनाबारे बेलिविस्तार लगाए । गोहीको आँखामा लाग्ने बित्तिकै भाग्दोरहेछ भन्ने उनले त्यो दिनबाट चाल पाए । साथीहरुले पानीभित्रै गएर गोहीलाई डन्ठाले हानेको हेरिरहेका अर्जुन भन्छन्, “म बेहोस नै भएको थिइनँ, हेरिराथेँ, अब ज्यान बचेन भन्ने लाग्याथ्यो ।” एउटा हात त गोहीले छाडेकै थिएन । टाउको समाउने प्रयास गर्दै थियो । गोहीसँगको सङ्घर्ष सम्झँदै उनी भन्छन्, “टाउको समायो भने मार्छ भन्ने लागेर मैले अर्को हातले रोक्न खोज्दा त्यो हात पनि टोक्यो ।” भुँडीमा प्वाल पारेको छ । छातीका विभिन्न ठाउँमा गोहीले टोकेको छ । खुट्टाभरि घाउ नै घाउ छ । देब्रे हात तीन ठाउँमा भाँचिएको छ । पाखुरा र नाडीमा पत्ता राखेको छ । गोहीको मुखबाट फुत्किएर नयाँ जीवन पाएका अर्जुन खुसी हुँदै भन्छन्, “ठीकै भाछ सञ्चो हुन लाछ अब घर जाने ।” अब कहिल्यै पौडी खेल्न नजाने उनी बताउँछन् । पैसा तिर्न सकेनन् परिवारले उनी सामान्य सुकुम्वासी परिवारका हुन् र सम्पत्तिका नाममा एक कट्ठा जमिन छ । त्यही पनि ऐलानी । घरको एउटा मात्रै छोरो, तीन छोरी र आमा फुलमायाँ अहिले १३ दिनदेखि छोराको उपचारमा चितवन मेडिकल कलेजमा छिन् । कलेजको अर्थोपेडिक वार्डको २९६ नम्बर श्ययामा उनी छन् । अर्जुनकी दिदी सरिता पनि अस्पतालमै उनको हेरचाहमा छिन् । अहिलेसम्म करिब दुई लाख पैसा लागेको छ । नौ दिन आइसियुमा राखिएको थियो । एकदिन पोस्टअपमा राखेर चार दिनअघि अर्थोमा सारिएको हो । औषधिको ऋण खोजेर नगद नै तिरे । अस्पतालको पैसा करिब डेढ लाख तिर्न बाँकी छ । अस्पतालको बिलको बिटो देखाउँदै आमा फूलमायाँ भन्छिन्, “यो पैसा कसरी तिर्नु ?” बुबा रामबहादुर मजदुरको काम गर्छन् । फूलमायाँ मेलापात । “म घरमै थिएँ, गोहीले तेरो छोरालाई टोक्यो, छोरो लिन जा भने गाउँलेले, त्यो सुन्दै ढलेछु, अनि मलाई थाहै भएन । भोलिपल्ट होस आयो र हस्पिटलको आइसियुमा छोरो छ भेट्न जाउँ भनेपछि अनि आ‘को,” फुलमायाँले भनिन् । पैसा तिर्न चन्दा सङ्कलन चितवनका एक सामाजिक अभियन्ता द्रोण सिवाकोटीले फेसबुकमा उनको दर्दनाक तस्बिर हालेपछि घटनाबाहिर आएको हो । उनीलगायत गाउँलेले अहिले उनको उपचारका लागि चन्दा सङ्कलन सुरु गरेका छन् । सक्ने सहयोग गरिदिए उनको अस्पतालको ऋण घट्ने थियो भन्छन् सिवाकोटी । पैसा नभएर परिवार पनि रन्थनिरहेको छ । “हिजो नै पैसा जम्मा गर भनेको थियो,” अर्जुनकी दिदी सरिताले भनिन्, “दश हजार जम्मा ग¥र्यौं अरू गर्न सकिएन । गरिबले कहाँबाट ल्याउनु पैसा । गरिब परिवारलाई कसैले सहयोग गरिदिए हुन्थ्यो”, उनी अनुनय गर्दै भन्छिन् । अस्पताल ल्याउँदा नरुने कोही थिएन त्यो दिन सहयोगीका रुपमा आकस्मिक कक्षमा थिइन् अस्पतालकी कर्मचारी मञ्जु भट्ट । “अर्जुनलाई ल्याउँदा अस्पतालमा नरुने कोही थिएन,” मञ्जुले भनिन्, “घाउहरु हेरिसाध्य थेन ।” भुँडीमा पारेको प्वालबाट आन्द्रा नै देखिन्थ्यो भनेर चिकित्सकले भनेको कुरा उनी सम्झिन्छिन् । “हड्डी नै टुक्रा भाथ्यो रे”, मञ्जु सुनाउँछिन् । साह्रै पीडामा देखिएका बालक अहिले यस्तो हुँदा आफूलाई पनि खुसी लागेको मञ्जुले बताइन् । रासस

कावेली विकास बैंकले २० प्रतिशत बोनस सेयरपछि ५० प्रतिशत हकप्रद सेयर दिने

काठमाडौं । कावेली विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने भएको छ । आर्थिक वर्ष २०७२÷७३ को नाफाबाट बैंकले १ करोड ४० लाख ३५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ६ करोड १९ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी करिव ७ करोड ६० लाख रुपैयाँ हुनेछ । बोनस सेयर वितरणपछि ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने बैंकको विशेष प्रस्ताव छ । बोनस र हकप्रद सेयर पाउनको लागि बैशाख १२ गतेसम्ममा सेयर किनिसकेको हुनुपर्नेछ । १३ गतेदेखि २७ गतेसम्म सेयर दाखिल खारेज दर्ता बन्द रहने बैंकले जनाएको छ । बैंकले बैशाख २७ गते विशेष नवौं वार्षिक साधारणसभा बोलाएको छ । धनकुटामा मुख्य कार्यलय रहेको यो विकास बैंकको कार्यक्षेत्र एक जिल्ला मात्र रहेको छ ।

एनआईसी एसियाकाे नाफा ४९ प्रतिशतले बढ्यो, बै‌कले नाै महिनामा एक अर्ब १३ करोड कमायो

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको नौ महिनामा १ अर्ब १३ करोड रुपैयाँ कमाएको छ । यो नाफा बैैंकको गत आवको सोही अवधिको तुलनामा ४९ दशमलव ८८ प्रतिशतले बढि हो । गत वर्ष बैंकले यो अवधिमा ७५ करोड ९३ लाख रुपैयाँ मात्रै कमाएको थियो । बैंकको यो खुँद नाफा गत वर्षको तुलनामा ३७ करोड ८८ लाख रुपैयाँले बढि हो । बैंकको गएको चैत मसान्तसम्मको निक्षेप संकलन ७८ अर्ब ९९ करोड करोड रुपैयाँ रहेको छ । यो बैंकले बैंकको ऋण लगानी ६७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यो  बैंकको चुक्ता पूँजी ६ अर्ब ३५ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा तीन अर्ब छ । यसले ११ अर्ब ४४ लगानीसमेत गरेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७८ दशमलव २६ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा शून्य दशमलव ४६ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २६ रुपैयाँ ०६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ५० पैसा छ । हाल यो बैंकको प्रतिसेयर ४ सय ६९ रुपैयाँमा कारोबार भइरहेको छ ।