विकासन्युज

३ अर्ब बढीको सेयर कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता  ३ अर्ब ६१ करोड ५७ लाख १७ हजार रूपैयाँकाे शेयर कारोबार भएको छ ।  नेपाल स्टक एक्चेन्जका अनुसार कुल १७७ कम्पनीको ६८ लाख चार हजार १६० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५५.८० प्रतिशत बढी हो । गत साता १७१ कम्पनीको रु दुई अर्ब ३२ करोड सात लाख ३३ हजारबराबरका ४३ लाख ७७ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०.६५ अंकले बढेर अन्तिम दिन एक हजार ५३०.३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.५ अंकले बढेर ३२०.७३ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १९ करोड १४ लाख ४० हजार बराबरको कारोबार भएको थियो । यस्तै शेयर संख्याका आधारमा नेपाल बैंक कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । उक्त बैंकको तीन लाख ५४ हजार कित्ता शेयर कारोबार भएको थियो । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस साता मिर्मिरे माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक र स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद शेयर सूचीकृत भएको छ । रासस

एनआरएनको अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएन) को अध्यक्षमा उद्यमी भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनको उपाध्यक्ष समेत रहेका भट्टले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने जानकारी दिएका हुन् । एनआरएनले गर्न बाँकी काम आफनो कार्यकालमा पुरा गर्ने उनले जानकारी दिए । आगामी असोज २८ गते एनआरएनको सम्मेलन काठमाडौमा हुने छ । भट्टले आफु अध्यक्ष भएपछि वैदेशिक रोजगारी आपतकालिन कोषलाई सदुपयोग गरी एनआरएनमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गराउने घोषणा गरेका छन् । एनआरएनमा महिला फोरमलाई अझ बढी सशक्त बनाउने, स्टार्टअप फण्डको व्यवस्थाका साथै सामाजिक उद्यमशिलतालाई प्रवद्र्धन र महिला र युवाको सहभागितामा बढाउने उनले घोषणा गरेका छन् । यसैगरी लाप्राक नमूना वस्ती, एनआरएन भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्ड, सामूहिक लगानी परियोजनाको निर्माण, अतिथि देवोभव, वैदेशिक रोजगार कोषको विस्तार, वौद्धिक पलायनलाई रोक्ने र वाहिरिएकालाई स्वदेशमा फर्काउन पहल गर्ने योजना सार्वजनिक गरेका छन् । नेपालमा सञ्चार, मदिरा, होटल र शिक्षालगायत पुर्वाधारको क्षेत्रमा भट्टको लगानी रहेको छ । एनआरएनको समेत लगानी भएको काठमाडौं, कुलेखानी हेटौडा सुरुङ मार्गको निर्माणमा उनले जोड दिएका छन् । सरकाले आयोजनाको लाइसेन्स खारेज गर्न लागेको विभिन्न सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको उनले स्पष्टपारे । उनले सो आयोजना अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

३० कम्पनीमा आवेदन गर्दा जागिर नपाएको ज्याक मा ३८ खर्बको मालिक, कसरी मिल्छ सफलता ?

काठमाडौं । “सफल बन्नका लागि एउटा गोप्य सूत्र छ र त्यो हो आफ्नो सपनालाई जीवित राख्नु । वास्तवमा जीवित सपनाले नै कमजोर विचारहरूबाट बचाउने गर्दछ ।” यो प्रेरक भनाई हो अलिबाबा डट कमका फाउण्डर तथा चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माको । फोब्सका अनुसार उनीसँग ३८ अर्ब ७० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ । नेपाली रुपैयाँमा उनको सम्पत्तिको मूल्य ३८ खर्ब ८३ अर्ब रुपैयाँ हुन्छ, जुन नेपालको जीडीपी भन्दा १२ खर्ब रुपैयाँ बढी हो । सन् १९६४ मा चीनको हन्जाउ गाउँको एउटा गरिब परिवारमा जन्मिएका ज्याक मा आज विश्वकै सफल व्यवसायीहरु मध्येका एक मानिन्छन् । उनले यति ठूलो सफलता सजिलै हासिल गरेका भने होइनन् । सफलता हात पार्नु भन्दा अगाडि उनले थुप्रै असफलताका अनुभवहरु सँगालेका थिए । ज्याक मा सानैदेखि पढाईमा त्यति ध्यान दिँदैनथे । यही कारणले गर्दा उनी ४ कक्षामा २ पटक र ८ कक्षामा ३ पटक फेल भएका थिए । त्यसैगरी उनले ग्य्राजुएशनको इन्ट्रान्स एक्जाममा ५ पल्टसम्म असफलता हात पारेका थिए । युवा अवस्थाको हुँदा उनले ३० अलग अलग ठाउँमा जागिरका लागि निवेदन दिएका थिए । तर उनलाई जागिर दिनका लागि कुनै पनि कम्पनी तयार भएनन् । बहुराष्ट्रिय विजाहट केएफसीले एप्लाई गरेका २४ जनामध्ये २३ जनालाई जागिर दिए पनि ज्याक मालाई भने जागिर दिन अस्विकार गर्यो । त्यसपछि ज्याक माले पुलिसमा भर्ती हुने प्रयास गरे तर त्यहाँ पनि उनलाई अयोग्य ठहर गरियो र भर्ती गरिएन । त्यसैगरी हार्वड युनिवर्सिटीमा प्रवेश पाउन उनले १० पटकसम्म प्रयास गरेको भएता पनि ती प्रयासहरु त्यसै खेर गएका थिए । एक पछि अर्को गर्दै धेरै असफलताहरु हात लागेता पनि उनले कहिल्यै हरेश खाएनन् बरु आप्mनो प्रयासलाई जारी राखे । यसै शिलशिलामा सन् १९९९ मा आप्mना १७ जना साथिहरुसँग मिलेर अलिबाबा डट कम नामको ईकमर्स वेबसाइटको शुरुवात गरे । आज यो वेबसाइट संसारको सबैभन्दा धेरै कमाउने ईकमर्स वेबसाइट बन्न सफल भएको छ । फोब्र्सका अनुसार अलिबाबा डट कमले २०१६ अप्रिलदेखि २०१७ मार्चसम्ममा १२ महिनामा २३ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५६ प्रतिशतले बढी हो । अलिबाबा सन् २०१४ मा न्यूयोर्कमा जारी गरेको साधारण सेयर (आईपीओ) अहिलेसम्मकै विश्वको सबैभन्दा ठूलो साधारण सेयर निष्काशन हो । अलिबाबा डट कमलाई सफलताको शिखरमा पुर्याएर ज्याक मा आज चीनमा मात्र होइन, विश्वमा नै चर्चित उद्यमी बनेका छन् । असफलताबाट कहिल्यै हरेश नखाने स्वभावका यिनै ज्याक माले विभिन्न कार्यक्रम तथा अन्तर्वार्ताहरुमा व्यक्त गरेका केही विचारहरु यस्ता छन् जो लाखौं करोडौं युवाहरुको भविष्य निर्माणका लागि कोशेढुंगा सावित भएका छन् । ज्याक माका प्रेरक विचारहरु १. सबैभन्दा ठूलो असफलता भनेकै हार मान्नु हो । यदी तपाईं हार मान्नुहुन्न भने तपाईंको सामु अर्को एउटा मौका अवश्य आउनेछ । २. यदी तपाईंलाई आफूमाथि भरोसा छ र आफ्नो कामप्रति पूर्ण लगाव छ भने कुनै पनि समस्याले तपाईंको बाटो छेक्न सक्दैन । ३. एकदमै जरुरी कुरा जुन तपाईंमा हुनैपर्छ, त्यो हो–धैर्य । ४. कसैको सफलताबाट सिक्नुभन्दा राम्रो हो उसको गल्तीबाट सिक्नु । किनभने सफल हुने विभिन्न कारणहरु हुन सक्दछन् तर असफल हुने कारण भने समान हुन्छ । ५. आफ्नो कम्पनीमा त्यस्ता व्यक्तिलाई मात्र जागिर दिनुहोस् जो तपाईं भन्दा बढी सक्षम छन् । किनभने त्यस्ता व्यक्तिले मात्र तपाईंको सपना पूरा गर्नमा तपाईंलाई मद्दत गर्न सक्छन् । ६. आफ्नो प्रतिद्धन्दीबाट धेरै कुरा सिक्ने गर्नुहोस् तर नक्कल कहिल्यै नगर्नुहोस् । यदी नक्कल गर्नुहुन्छ भने तपाईंको पतन निश्चित छ । ७. म आफैंलाई खुशी राख्ने प्रयास गर्छु, किनभने मलाई थाहा छ, म खुशी भइनँ भने मेरा स्टाफहरु खुशी हुँदैनन, मेरा शेयरहोल्डरहरु खुशी हुँदैनन् अनि मेरा ग्राहकहरु खुशी हुँदैनन् । ८. पैसा कमाउनका लागि मात्र व्यापार नगर्नुहोस् । बरु समाजलाई सकारात्मक तरिकाबाट कसरी प्रभावित पार्न सकिन्छ भन्ने तर्फ ध्यान केन्द्रीत गर्नुहोस् । यस्तो गर्न सक्नुभयो भने पैसा निरन्तर रुपमै तपाईंको नजिक आइरहनेछ ।

जलविद्युत लगानी तथा विकास कम्पनीले ल्यायो ५ वर्षे योजना, ३२३८ मेगावाट बनाउन ३६ अर्ब लगानी गर्ने

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले आउदो ५ वर्षमा जलविद्युत विकासमा झण्डै ३६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले आगामी ५ वर्षका लागि व्यवसायिक योजना तयार पारी ३ हजार २३८ मेगावाट क्षमताका आयोजना निर्माणमा यो रकम लगानी गर्ने भएको हो । कम्पनीको व्यवसायिक योजना सञ्चालक समितिले अनुमोदन गरिसकेको छ । आउदो ५ वर्षमा निजी क्षेत्रबाट निर्माण हुने ५६५ मेगावाट क्षमताका विभिन्न ८ आयोजनामा ५ अर्ब ९ करोड लगानी गर्ने भएको छ । सरकारी निकायबाट निर्माण गरिने १ हजार ६४० मेगावाट क्षमताका विभिन्न ५ आयोजनामा १६ अर्ब २१ करोड र निजी क्षेत्रबाट निर्माण हुने १ हजार ३३ मेगावाट क्षमताका ५ जलविद्युत आयोजनामा १४ अर्ब ४६ करोड रुपैयाँ लगानी गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले जानकारी दिए । सबै आयोजनामा सहवित्तीयकरणमा लगानी गर्ने छ । कम्पनीसंग हाल १० अर्ब रुपैयाँ मात्र पुँजी भएकाले कर्मचारी संचय कोष, नागरिक लगानी कोष, बीमा संस्थान, नेपाली सेनाको कल्याणकारी कोषको रकम परिचालनका अतिरिक्त सर्वसाधारणबाट लगानी जुटाउने उनले बताए । सकेसम्म स्वदेशी लगानीमा आयोजना बनाउने तयारी भइरहेको उनको भनाई छ । यस्तै एसियाली विकास बैंक (एडीबी) बाट ५० लाख डलर ऋण लिने तयारी भइरहेको उनले बताए । सरकारले ल्याएको योजनाअनुसार जलविद्युत आयोजना बनाउन खर्बौ रुपैयाँ लगानी जुृटाउनु पर्ने अवस्था रहेको पोखरेलले बताए । स्थापनाको ७ वर्षको अवधिमा कम्पनीले ५४१ मेगावाट क्षमताका १४ आयोजनामा ६ अर्ब ७८ करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ । यस्तै ५ कम्पनीमा ३४ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । कम्पनीले हालसम्म १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरी ९० करोड रुपैयाँ लाभांश वितरण गरेको उनले बताए । गत आवमा कम्पनीले ५२ करोड रुपैयाँ खुदनाफा गरेको छ ।

दामी र हामीनिटको पर्व लक्षित अफरमा कपडा किन्दा ७५ प्रतिशतसम्म छुट

काठमाडौं । दामी र हामीनिट इन्डस्ट्रिजले पर्वकाे अवसर पारेर दशैंको खुशी बाँडौं अफरको मेला आयोजना गरेको छ । ५ सयदेखि १५ सयसम्मको कपडाको खरिदमा ७५ प्रतिशत सम्म छुट अफर ल्याएको छ । ५ हजारभन्दा माथिको खरिदमा एउटा आकर्षक गिफ्ट ह्याम्पर दिने कम्पनीले जानकारी दिएको छ । केएल टावरको तेस्रो तल्लामा रहेको हामीनिटले महिला तथा पुरुषका लागि ऊलन कपडा, स्वेइटर, पञ्जा, टि–शर्ट, टोपी, मफलर, सल ,जिन्स पाइन्ट, टाउजर, साथै, वच्चाहरुका कपडालगायत बिभिन्न आकर्षक डिजाईनका पहिरनहरु नेपालमै उत्पादन गरी बिक्री बितरण गर्दै आईरहेको छ । हामीनिट ब्राण्डले छिटो समयमा नै लोकप्रिय ब्राण्डको रुपमा नेपालीका माझमा आफुलाई परिचित गराउदै लैजाने उद्देश्यका साथ आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको कम्पनीका प्रबन्ध निर्देशक शान्ता बुढाथोकीले बताए । यो मेला भदौ २९ देखि असोज १३ गते सम्म केएल टावर चावहिलमा मेला जारी रहने कम्पनीले जनाएको छ ।

एनआईसी एशियाको २१ प्रतिशत लाभांश पास, सञ्चालक समिति सर्वसहमतिमा निर्वाचित

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा शुक्रबार राजधानीमा सम्पन्न भएको छ । सो सभाले चुक्ता पूँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत अर्थात् रु. ७ करोड ४ लाख ४८हजार ३ सय ९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । सभाले बैंकको प्रबन्धपत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ । साथै, बैंकको साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा जगदीश प्रशाद अग्रवाल, तुलसीराम अग्रवाल, रामचन्द्र संघाईलाई निर्वाचित गरेको छ । त्यस्तै, सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा राजेन्द्रप्रसाद अर्याल, विनोद कुमार प्याकुरेल, आदित्यकुमार अग्रवाल सर्वसम्मतिमा सञ्चालक पदमा निर्वाचित भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी रोशनकुमार न्यौपानेले जानकारी दिएका छन् । यसअघि बैंकको ३२० औं सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा गणेशमान श्रेष्ठलाई नियुक्त गरेको थियो । साथै, साधारण सभापश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको बैैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्बसम्मतिले चयन गरेको छ । बैंकले हाल करिब ५ लाख ७० हजार भन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढीकर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकलाई १२५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्राधिकरणमा पिपिएका लागि जलविद्युत् आयोजनाको चाङ

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकले करिब छ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता पिपिएका लागि नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएका छन् । गत आर्थिक वर्षदेखि हालसम्म आवेदन दिइएका ती आयोजनाका बारेमा प्राधिकरणले भने कुनै निर्णय गरेको छैन । ती सबैजसो आयोजना नदी प्रवाहमा आधारित आयोजना हुन् । वर्षाको समयमा बढी विद्युत् उत्पादन गर्ने तर हिउँद लागेपछि कूल जडित क्षमताको ३० प्रतिशतको हाराहारीमा मात्रै उत्पादन गर्न सक्ने सामथ्र्य राख्ने ती आयोजनाको विद्युत् खरिद सम्झौता गर्ने कि नगर्ने भन्ने बारेमा प्राधिकरणले हालसम्म कुनै निर्णय गर्न सकेको छैन । सरकारले जलाशय, अर्धजलाशय र नदी प्रवाहमा आधारित आयोजना भनी तीन तहमा वर्गीकरण गरेको छ । प्राथमिकता सूची निर्धारण गर्दा जलाशय र अर्धजलाशयलाई नै प्राथमिकता दिएको छ । बढी माग हुने समयमा विद्युत् दिन नसक्ने आयोजनाभन्दा बढी विद्युत् दिन सक्ने आयोजना नै प्राथमिकतामा रहेको सरकार र प्राधिकरणको बुझाइ छ । सोही बुझाइका कारण छ हजार मेगावाट क्षमता बढीका आयोजना प्रतीक्षा सूचीमा रहेका छन् । प्राधिकरणले केही समय पहिले लिऊ वा तिर टेक अर पे प्रावधानका आधारमा सम्झौता गर्दै आएको थियो । विगतमा लिऊ र तिर टेक एण्ड पे प्रणाली कायम हुँदा ऊर्जा उद्यमी मारमा परेका थिए । विद्युत् आयोजना बनाए पनि बनाउ नबनाए पनि नबनाउन विद्युत् आवश्यक परेमात्रै खरिद गर्छौं भन्ने मान्यताले काम गरेको उनीहरुको भनाइ थियो । तर, सरकारले आवेदन दिएकालाई लिऊ वा तिरको रणनीतिका साथ सम्झौताको प्रक्रिया अगाडि बढाएपछि रहँदै आएको समस्या समाधान भएको थियो । पछिल्लोपटक नदी प्रवाहमा आधारित आयोजनाको तीन हजार ५०० मेगावाटभन्दा बढी क्षमताका आयोजनासँग पिपिए गरिसकिएको र सोही आधारमा नै नयाँ सम्झौता गर्न नसकिने भन्दै प्राधिकरणले तत्कालका लागि सम्झौता स्थगित भएको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका अहिले पनि छ हजार मेगावाट क्षमताभन्दा बढी नदी प्रवाहमा आधारित आयोजना सम्झौताका लागि आवेदन आएको बताए । उनले सञ्चालक समितिले नयाँ निर्णय नगराएसम्म र नयाँ गुरुयोजना नबनाउँदासम्म तत्काल सम्झौता हुन नसक्ने बताए । “सम्झौता त हुन्छ, तर एउटा मोडालिटी आवश्यक पर्यो । कार्यविधि नबन्दासम्म हामीलाई सम्झौता गर्न अप्ठ्यारो परेको छ”, उनले भने । सरकारले सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने रणनीति अगाडि सारेको छ । तर सम्झौता नै हुँदैन भनेर बस्नु चाहीँ गलत भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंको भनाइ छ । यस्तै बिहीबार पत्रकार सम्मेलन नै आयोजना गरेर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले १० वर्षमा १२ हजार मेगावाट विद्युत् खपतको कार्ययोजना बनाएको जानकारी दिनुभएको थियो । विद्युत् विकास विभागले सर्वेक्षण, उत्पादन तथा निर्माणको अनुमित लगातार दिइरहेको सन्दर्भमा प्राधिकरणले मात्रै विद्युत् खरिद सम्झौता रोक्दा त्यसबाट नकारात्मक प्रभाव पर्न सक्ने भन्दै सरोकार भएकाहरुले आपत्ति जनाएका छन् । “दैनिकजसो ऊर्जाको माग बढ्दै गएको छ, त्यसलाई सम्बोधन गर्न पनि बढीभन्दा बढी विद्युत् उत्पादन गर्नैपर्ने बाध्यता छ, तर सरकारकै निकायका बीचमा कुरा बाझिँदा समस्या पर्न सक्छ”, अध्यक्ष गुरागार्इंले भने । कर्णाली अञ्चलको जाजरकोटबाहेक अन्य जिल्लामा विद्युतको केन्द्रीय प्रसारण लाइन पुगेको छैन । शहरी क्षेत्रको विकास र विस्तार भइरहेको सन्दर्भमा प्राधिकरणले सहजरुपमा विद्युत् उपलब्ध गराउने हो भने तत्काल नै पाँच हजार मेगावाट विद्युत् खपत हुन सक्छ, त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक्ता छ । प्राधिकरणकै प्रक्षेपणलाई आधार मान्ने हो भने पनि वर्षेनी १५ प्रतिशतका दरले ऊर्जाको माग बढ्दै गएको छ । सम्झौता गरिएकामध्ये हाल तीन हजार मेगावाट क्षमताका आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन् । त्यसमा स्वतन्त्र ऊर्जा उद्यमीका आयोजना नै बढी छन् । सरकारले सामान्यरुपमा सहजीकरण मात्रै गर्ने हो भने आगामी दुई वर्षभित्र ती सबै आयोजना सञ्चालनमा आउन सक्छन् । तर वन, जग्गा प्राप्ति र स्थानीयस्तरमा पैदा हुने अनावश्यक समस्याका कारण धेरैजसो आयोजना ‘नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार’मा परिणत भएर बसेका आयोजनालाई अगाडि बढाउन पनि पिपिए जरुरी देखिने सरोकारवालाको भनाइ छ । रासस

बुद्ध एयरबाट पोखरा–भरतपुर–भैरहवा हवाई उडान

पोखरा । बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताए । पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा ३ हजार ६ सय रुपैयाँ र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई रु चार हजार २ सय र विदेशीका लागि ९७ डलर कायम गरिएको छ । यी उडान आजदेखि नियमित हुने बरालले जानकारी दिए । रासस