अमेरिकाद्वारा थप ११ वस्तुमा भन्सार छुट, विशेष व्यापार ग्राह्यताले ७७ वस्तुमा भन्सार छुट
काठमाडौं । अमेरिकाले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने भएको छ । विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स)अनुसार अमेरिकाले थप वस्तुमा भन्सार छुट दिने भएको हो । अब नेपालले अमेरिकामा शून्य भन्सारदरमा ७७ वस्तु निर्यात गर्न पाउनेछ । नेपाल अमेरिका व्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा) काउन्सिलको बिहीबार काठमाडौंमा सम्पन्न तेस्रो बैठकमा सहभागी अमेरिकी प्रतिनिधिले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने जानकारी दिएका हुन् । नेपाल र अमेरिकाबीच व्यापार र लगानीका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०११ को अप्रिलमा टिफा भएको थियो । अमेरिकाले भूकम्पपछिको नेपालको आर्थिक पुनरुत्थानमा सघाउने भन्दै अघिल्लो वर्ष विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स)दिने कानुन ल्याएर ६६ वस्तुमा भन्सार छुट दिने व्यवस्था गरेको थियो । भन्सार छुटको सो सूचीमा थप ११ वस्तु थपिने बैठकमा सहभागी अमेरिकी प्रतिनिधिले जनाएका हुन् । यससँगै नेपालले ७७ वस्तुमा भन्सार छुट पाउने भएको वाणिज्य मन्त्रालयका सहसचिव रवि सैँजूले बताए । यो सुविधाको उपयोग गर्दै तयारी पोसाक, गलैँचा, पस्मिना र हस्तकलाका उत्पादनको निर्यात उच्चदरमा बढाउन सक्ने उनले बताए । यसअघि अमेरिकामा नेपाली वस्तुको निर्यातमा हाल १७ देखि ३३ प्रतिशतसम्म भन्सार लाग्दै आएको थियो । अब भन्सार छुटसँगै अमेरिकामा नेपालको निर्यात उच्चदरमा बढ्ने सम्भावना छ । उत्पादन र गुणस्तरमा सघाउन नेपालको आग्रह बैठकमा नेपालले शून्य भन्सार सुविधा पाएका वस्तुको उत्पादन र गुणस्तर वृद्धिका लागि अमेरिकी लगानी तथा प्राविधिक सहयोग बढाउन आग्रह गरेको थियो । त्यस्तै, नेपालका अन्य प्रतिस्पर्धी वस्तुलाई पनि आगामी दिनमा सहुलियत पूर्ण बजार सुविधा उपलब्ध गराई नेपालको निर्यात व्यापारलाई प्रवद्र्धन गर्न प्रस्ताव गरेको थियो । नेपालले बौद्धिक सम्पत्ति संरक्षण, श्रम, वित्तीय सेवा, प्रत्यक्ष वैदेशिक लगानी, मानव तथा वनस्पति स्वास्थ्य संरक्षण, खाद्य सुरक्षा तथा वस्तुको गुणस्तर प्रमाणीकरणका क्षेत्रमा कार्यान्वयनमा ल्याइएका नयाँ नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै ती क्षेत्रमा नेपालको थप क्षमता विकासका लागि सहयोग गर्न अमेरिकालाई आग्रह गरिएको सैँजूले बताए । प्राविधिक सहयोग गर्न अमेरिका तयार अमेरिकाले नेपालको व्यापार सहजीकरण तथा उत्पादन वृद्धिमा प्राविधिक सहयोग गर्न तयार रहेको जनाएको छ । बैठकमा अमेरिकी पक्षले नेपालले हालका दिनमा वित्तीय र औद्योगिक क्षेत्रको सबलीकरण, लगानी प्रवद्र्धन, बौद्धिक सम्पत्तिको संरक्षण र व्यापार सहजीकरणका क्षेत्रमा चालेका सुधारात्मक कार्यको प्रशंसा गर्दै ती क्षेत्रमा नेपाललाई आवश्यक पर्ने प्राविधिक सहयोग उपलब्ध गराउन अमेरिका सकारात्मक रहेको जानकारी दिए । को–को थिए बैठकमा बैठकमा नेपालको तर्फबाट वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय र संयुक्त राज्य अमेरिकाको तर्फबाट सहायक व्यापार प्रतिनिधि मार्क लिनस्कोटले नेतृत्व गरेका थिए । बैठकमा अमेरिकी राजदूत अलाइना बी.टेपलेट्जको समेत सहभागिता थियो । बैठकपछि संयुक्त वक्तव्य पनि जारी गर्दै दुई देशबीच व्यापार र लगानी सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने बताइएको छ । यसका लागि दुई पक्षबीच संवाद र सहकार्यलाई आगामी दिनमा थप घनीभूत बनाइने भएको छ । नेपालबाट अमेरिका निर्यातको अवस्था नेपालबाट सबैभन्दा बढी निर्यात हुने मुलुकमा भारतपछि दोस्रोमा अमेरिका रहेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालबाट अमेरिकामा ४ अर्ब ६८ करोड रुपैयाँबराबरका वस्तु निर्यात गरेको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा ३ दशमलव ५ प्रतिशतले बढी हो । नयाँ पत्रिका दैनिकबाट ।
५५ घरलाई एउटै शौचालय, समस्या भूकम्प पीडितलाई नै
काठमाडौं । गत बर्षको भूकम्पले सिन्धुपाल्चोक, तल्लो माझीगाउँका श्रीमान माझीको घर भत्कियो । घरविहीन भएपछि उनी बारीको कान्ला, बोराले बारेको छाप्रो हुँदै अहिले टिनको टहरमा बस्छन् । यो सिंगो सिन्धुपाल्चोकको कथा व्यथा हो । माझीगाउँलाई टाउको लुकाउने छत र दुई छाक जुटाउन जति गाह्रो छ, त्यो भन्दा बढी गाह्रो छ दिसापिसाब व्यवस्थापन । भूकम्पले घरसँगै शौचालय पनि भत्किएपछि माझीगाउँले खुल्ला ठाउँमा दिसापिसाब गर्न बाध्य भए । कान्तिपुर दैनिकबाट ।
यूनाईटेड इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डर धुर्मुस–सुन्तली, कम्पनीको ब्राण्ड ईमेज राम्राे हुने विश्वास
काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनीले सामाजिक कार्यका अभियान्ता धुर्मुस–सुन्तली फाउण्डेशनका संस्थापक सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे कट्टेल (सुन्तली) लाई कम्पनीको ब्राण्ड एम्वेस्डर बनाएको छ । उनीहरुसंगको सहकार्यले कम्पनीको ब्राण्ड ईमेज तथा बीमा प्रति सर्वसाधारणमा जागरुक गराउन समेत सहयोग पुग्ने विश्वास लिएको छ ।
सनराइज बैक र आईडीबीआई बैंकबीच रेमिट्यान्स सेवामा सहकार्य गर्ने सम्झौता
काठमाडौं । सन्राइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा भारतको आईडीबीआई बैंकसंग रेमिट्यान्स सम्बन्धी सम्झौता गरेको छ । यसबाट भारतमा बस्दै आएका नेपालीहरुले आईडीबीआइ बैंकको कुनै पनि शाखाबाट नेपालमा सन्राइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्ने भएका छन् । आईडीबीआई बैंकको भारतमा १८०० भन्दा बढी शाखाको संजाल छ । सन्राइज बैंक लिमिटेड र आईडीबीआई बंैकबीच रेमिटेन्स सम्झौता आईडीबीआई बैंकको प्रधान कार्यालय मुम्बईमा सम्पन्न भएको छ । उक्त सम्झौतामा सन् राइज बैंकका अध्यक्ष मोतीलाल दुगड र आईडीबीआई बैंकका नायव प्रबन्ध निर्देशक के. पी. नायर तथा कार्यकारी निर्देशक मैथीली बालसुब्रमन्यमको उपस्थितिमा सन् राइज बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईडीबीआई बैंकका तर्फबाट बैंकका मुख्य महाप्रबन्धक एन. कृष्णनले हस्ताक्षर गरेका छन् । सम्झौतासंगैै भारतको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहिहरुले सन्राइज बैंकको ६८ वटा शाखा र ३ वटा एक्स्टेन्सन काउन्टरबाट प्राप्त गर्न सक्ने सनराईज बैंकले जनाएको छ ।
नेपालमा लगानी गरेर फाइदा लिन राजदूतहरु समक्ष उद्योग मन्त्रीको आग्रह, राजदूतहरुको प्रश्न श्रम ऐन किन रोकियो ?
काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालमा लगानी गरेर भरपुर फाईदा लिन अन्तराष्ट्रिय लगानी कर्ताहरुलाई आग्रह गरेका छन् । उद्योग मन्त्रालयले विहीवार काठमाडौंमा आयोजना गरेको नेपाल स्थित कुटनैतिक नियोगका प्रतिनिधीहरु सँगको छलफल कार्यक्रममा मन्त्री जोशीले नेपाल सम्भावनै सम्भावना भएको मुलुक हो भन्दै लगानीका लागि आग्रह गरेका हुन् । लगानीकर्ताहरुले विगतमा औंल्याएका लगानीका लागि अप्ठ्यारा कतिपय ऐन नियमहरुमा समय समयिक सुधार गरिसकिएको र कतिपय ऐनहरु निर्माणको अन्तिम चरणमा रहेको भन्दै मन्त्री जोशीले अहिले पनि नेपालमा लगानी गरिरहेका लगानी कर्ताहरुले मनग्य नाफा कमाईरहेको बताए । उद्योग मन्त्रालयले अहिले दोस्रो चरणको आर्थिक सुधार कार्यक्रमलाई अगाडी बढाईरहेको भन्दै मन्त्री जोशीले लगानी सम्मेलनमा व्यक्त प्रतिवद्धतालाई परिणाममा उतार्न उद्योग मन्त्रालय नेपाल स्थित विदेशी कुटनैतिक नियोगहरुसँग समन्वयात्मक ढंगले अगाडी बढ्न तयार रहेको बताए । आगामी आर्थिक बर्षको बजेटमा उद्योग मन्त्रालयले विशेष गरी रोजगारी सृजनालाई उच्च प्राथमिकतामा राखेको चन्दै मन्त्री जोशीले मन्त्रालयले प्रत्येक बर्ष १० खर्ब रुपैंया लगानी भित्र्याई बार्षिक ५० हजार रोजगारी सृजना गर्ने उद्देश्यका साथ कार्यक्रम अगाडी बढाएको जानकारी गराए । । आर्थिक विकासका विषयमा नेपालका राजनितीक दलहरु एकजुट रहेको भन्दै मन्त्री जोशीले आगामी स्थानीय निर्वाचनको घोषणा पत्रमा समेत मुलुकका प्राय सबै दलले आर्थिक मुद्धालाई केन्द्रविन्दुमा राखेको बताए । छलफलमा उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले उद्योग मन्त्रालय र मन्त्रालय अन्तरगत विभागबाट प्रदान गरिने सेवालाई छिटो छरितो र पारदर्शी बनाउन अनलाईन सेवालाई बढावा दिईएको बताए । औद्योगिक व्यवसाय ऐन २०७३ मा व्यवस्था गरिए अनुरुप उद्योग सम्वन्धी सेवालई छिटो छरितो बनाउन एकद्धार सेवा उद्योग विभागबाट सुरु गरि सकिएको भन्दै सचिव कोईरालाले लगानी सम्मेलनमा प्राप्त सहयोगका लागि कुटनैतिक नियोगका प्रतिनिधिहरुलाई धन्यवाद दिए । छलफलमा सहभागी कुटनैतिक निकायका प्रतिनिधिहरुले नेपालमा उद्योग स्थापना गर्न प्रकृयागत जटिलताहरु रहेको भन्दै त्यसलाई सरलिकृत गरेर अगाडी बढ्न सके नेपालमा लगानी गर्न अन्तराष्ट्रिय समुदायहरु आकर्षित रहेको बताएका छन् । नेपालले आवश्यक नीति नियमहरु बनाउँदा छिमेकी मूलुकहरुसँग प्रतिष्पर्धी हुने हिसावले ऐन नियम तर्जुमा गर्न समेत उनीहरुले सुझाव दिएका छन् । विगत लामो समयदेखी छलफलमा रहेको श्रम ऐनको वर्तमान अवस्थाका वारेमा समेत उनीहरुले जिज्ञासा राखेका छन् । यसरी जिज्ञासा राख्नेहरुमा अमेरिका, जापान, फिनल्याण्ड, युएई, युएनडिपी र ब्राजिलका प्रतिनिधिहरु रहेका थिए ।
१३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४ विहीबारदेखि राजधानीमा शुरू
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सानो पूँजी लगानी भएका उद्योगहरूलाई प्रोत्साहन गर्न नसकेसम्म मुलुकको अर्थतन्त्र फष्टाउन नसक्ने बताएका छन् । लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले विहीबारदेखि राजधानीमा शुरू भएको ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ को उदघाटन गर्दै उनले मुलुकको आर्थिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घन र विकास आवश्यकता औंल्याएका हुन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको मेलामा अर्थमन्त्री महराले नेपालको आर्थिक रूपान्तरण, परम्परागत कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण नगरेसम्म मुलुकको आर्थिक समृद्घि सम्भव नभएको बताए । मुलुकको आन्तरिक उत्पादनलाई बढाएर आयात प्रतिष्थापन गर्न सकिने भन्दै मन्त्री महराले ग्रामीण क्षेत्रमा रहेका घरेलु तथा साना उद्योगहरू सुदृढ नभएसम्म मुलुकको आन्तरिक उत्पादनलाई बढाउन सम्भव नहुने बताए । मुलुक लामो समयसम्म राजनीतिक खिचातानीबाट गुज्रँदै आएको भन्दै उनले राजनीतिक परिवर्तनको यात्रा पुरा भएकाले अब सम्पूर्ण ध्यान आर्थिक विकास र समृद्घिको यात्रामा लगाउनुपर्नेमा उहाँले जोड दिए । विज्ञान मन्त्री प्रेमबहादुर सिंहले मुलुकमा रहेका साधन स्रोत र प्रविधि पर्याप्त हुँदा पनि तिनको आवश्यक अनुसन्धान र विकास गर्न नसकेका कारण दिगो विकास र समृद्घि हासिल गर्न नसकिएको बताए । मुलुकको दिगो विकास र समृद्घिका लागि कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यलाई विज्ञान प्रविधिसँग जोडेर मात्र अगाडि बढ्न सम्भव भएको उनको भनाई थियो । मुलुकमा रहेको रैथाने प्रविधि र सीपको आधुनिकीकरण, संरक्षण र हस्तान्तरणबाट मुलुकको आर्थिक समृद्घि सम्भव भएको उनले बताए । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालमा लघु घरेलु तथा साना उद्योगहरू प्रविधि प्रयोग र क्षमताका हिसाबले प्रतिस्पर्धी बन्न नसकी उद्योगमा पुस्ता हस्तान्तरण हुन नसकेको भन्दै थुप्रै युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न किसिमका प्रविधि तथा उपकरणहरुको आविष्कार, खोज, अनुसन्धान र आविष्कारहरु उद्योगसंग जोडिइ समुचित उपयोग र प्रवद्र्धन हुन नसकेको बताए । लघु, घरेलु तथा साना उद्योगहरु छरपष्ट भएर रहेका कारण यस्ता उद्योगहरुले प्राप्त गर्नुपर्ने विविध खालका सहयोग, सेवा र सुविधाहरु प्राप्त गर्न नसकिरहेको भन्दै अध्यक्ष गिरीले यस्ता उद्योगहरुलाई संस्थागत गर्न भौगोलिक अवस्था हेरी स्थानीय निकाय तहमै लघु उद्योग ग्राम, घरेलु उद्योग ग्राम, महिला उद्योग ग्राम, हस्तकला उद्योग ग्राम जस्ता संस्थागत संरचनाहरुमा उद्योगलाई स्थानान्तरण गर्न जरुरी रहेको बताए । प्रदर्शनीमा २१५ वटा स्टल रहेकोमा ५७ वटा बैज्ञानिक खोज, अनुसन्धान र नवीनतम प्रविधिसंग सम्बन्धित स्टलहरु रहेका छन् भने केन्द्रीय महिला उद्यमी प्याभिलियनमा २५ वटा, बन तथा कृषि सहज कार्यक्रमका १० वटा, राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट प्रर्वद्धित १० जना महिला उद्यमीहरु त्यसैगरी भारत, पाकिस्तान, बंगलादेश र चीनका समेत गरी ३० वटा स्टलहरु रहेका छन र बाँकी स्टलमा नेपालका लघु, घरेलु तथा साना र राष्ट्रिय उद्योगका औद्योगिक उत्पादनहरुको प्रदर्शनी गरिएको छ । यसैगरी यस प्रदर्शनीमा करिव ६ करोडको आर्थिक कारोवार हुने र करिव १ लाखले प्रदर्शनीको अवलोकन गर्ने अनुमान गरिएको छ । यसका अलावा प्रदर्शनी अवधिमा अनुसन्धानकर्ता, उद्यमी र सरोकारवाला निकाय बीच ‘इनोभेशन टेक्नोलोजी एण्ड इन्टरप्राइज’ विषयक अन्तरक्रिया, महिला उद्यमशिलताको विकासमा सरकारी निकायहरुको भूमिका विषयक छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रमहरु संचालन हुनेछन् भने मेला भित्रको मेला रोजगारी मेला पनि संचालित रहेको छ ।
‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत एनसेलले ल्यायो नयाँ डेटा प्याकहरु
काठमाडौं । एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ, जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिन सक्नेछन् । नयाँ डेटा प्याकहरु यहि विहिबार (वैशाख ०७ ) देखि लागु भएको छ । इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत यस अघि ल्याइएको अफर समाप्त भए लगतै ल्याइएको यो योजना अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब न्युनतम ६ पैसा प्रति एमबि सम्ममा डेटा सेवाको मजा लिन सक्नेछन् । डेटा सेवा अब न्युनतम ६ पैसा प्रति एमबि सम्मको आकर्षक मूल्यमा विभिन्न समयावधिका डेटा प्याकहरु अब अझै बढी डेटा भोलुमका साथ दुई गुणा भोल्युमको डे प्याक तथा चार गुणा भोल्युमको नाइट प्याक ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक मध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकता अनुसार जति पटक पनि खरिद गर्न सक्छन् । अल टाइम डेटा प्याक अन्तर्गत एनसेलका ग्राहकले रु १० मा २५ एमबि, रु २० मा ६० एमबि, रु १०० मा ३०० एमबि, रु १५० मा ६०० एमबि र मात्र रु २५० मा १२०० एमबि डेटा खरिद गर्न सक्नेछन् । डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन् । अर्थात् डे डेटा प्याक अन्तर्गत ग्राहकले मात्र रु २५० मा २४०० एमबि डेटाको मजा लिन सक्नेछन् । त्यस्तै नाइट प्याक अन्तर्गत ग्राहकले रु २५० मा ४८०० एमबि डेटाको मजा लिन सक्नेछन् । यसरी डे डेटा प्याक अन्तर्गत ग्राहकले न्युनतम ११ पैसा प्रति एमबि सम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले मात्र ६ पैसा प्रति एमबि सम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् । ३०० एमबि, ६०० एमबि र १२०० एमबि का प्याकहरुको समयावधि ३० दिन रहेको छ र २५ एमबि र ६० एमबि का प्याकको समयावधि ३ दिनको रहनेछ । ‘‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप हामीले डेटा शुल्कलाई थप परिमार्जित गर्दै र अझ सुलभ बनाउँदै यो अफर ल्याएका छौ । यो अफरले बढी भन्दा बढी ग्राहकमा इन्टरनेट सेवाको पहुच पुर्याई त्यसबाट लाभ लिन मद्दत पुर्याउने विश्वास छ,’’ एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्माले भने । एनसेलका ग्राहकले एस्ट्रिस्क १७१२३ ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् । उल्लेखित शुल्कहरु सबै कर सहित हुन् । यो अफर ९० दिनको लागि मान्य हुनेछ ।
भक्तपुरमा भेटियो हालसम्मकै ठूलो ग्यास भण्डार, ग्यास निस्किएको क्षेत्रमा तारबार गरी संरक्षण गर्न मन्त्रीको निर्देशन
फोटोः राजेश मैनालीको फेसबुकबाट काठमाडौं । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नम्बर १ स्थित सिरुटारमा प्राकृतिक ग्यास मिथेनको भण्डार फेला परेको छ । भक्तपुर खानेपानी आयोजनाले खानेपानीको पाइप गाड्न खनेको खाल्डोबाट मिथेन ग्यास निस्केको हो । खानी विभागको प्राकृतिक ग्यास तथा कोइला शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार यस्तो मिथेन ग्यासलाई पाइपबाट घरमा लगेर प्रयोग गर्न सकिन्छ । यस्तै ग्यास ललितपुरको इमाडोल, काठमाडौंको टेकु लगायतका स्थलमा पनि रहेको छ । तर भक्तपुरमा भने जमिनको सतहबाट नजिकै मिथेन ग्यास फेला परेको हो । सिरुटारमा ४२ मिटर मुनिबाट मिथेन ग्यास निस्केको हो । त्यहाँ इमाडोलको भन्दा धेरै मात्रामा ग्यास रहेको अनुमान गरिएको छ । इमाडोलमा पानी र ग्यास मिसिएको अवस्थामा रहेको छ । तर भक्तपुरमा भने ग्यास र पानी छुट्टा छुट्टै रहेको हुन सक्ने श्रेष्ठले बताए । मंगलबार पाइप गाड्ने क्रममा ग्यास निस्केर आगो बलेको थियो । सेना, प्रहरी र स्थानियले चार घण्टा लगाएर आगो निभाएका थिए ।‘सिरुटारमा ग्यासको मात्रा पनि धेरै छ, र जमिन सतहको नजिकै पनि छ, त्यहाँ ग्यास र पानी छुटिएको अवस्थामा देखिन्छ, त्यसैले त्यो आफैं बल्यो’, श्रेष्ठले विकासन्युजसँग भने । इमाडोलमा भने ३५० मिटर खनेपछि मात्रै मिथेन ग्यास फेला परेको थियो । इमाडोलमा पानी र ग्यासलाई छुट्याएर मात्रै बाल्न सकिन्छ । तर सिरुटारमा भने मंगलबार पाइप वेल्डिङ गर्नेक्रममा मिथेन ग्यासको भण्डारमै आगो लागेको थियो । पेट्रोलियम अन्वेषण आयोजनाका प्रमुख सुधिर रजौरेले हाल स्थानिय बासिन्दाको सुरक्षाका लागि ग्यास नबल्ने व्यवस्था गरिएको जानकारी दिए । ‘आगलागि नहुने गरि खाल्डो र पाइपलाई पुरेका छौं, नागरिकलाई पनि सतर्क रहन भनेका छौं, आपसी सहमतिमा थप अनुसन्धान तथा ड्रिलिङको काम गर्छौ’, रजौरेले भने । यसैबीच उद्योगमन्त्री नवीन्द्रराज जोशीले सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित गत मङलबार ‘डिपबोरिङ’ गर्ने क्रममा ग्यास निस्किएको क्षेत्रमा तारबार गरी संरक्षण गर्न निर्देशन दिएका छन् । ‘डिपबोरिङ’ गर्ने क्रममा जमिनबाट ग्यास निस्किएर आगलागी भएको स्थानको आज अवलोकन गर्दै मन्त्री जोशीले एक साताभित्र ग्यास निस्किएको क्षेत्रमा तारबार गरी उचितरुपमा संरक्षण गर्न निर्देशन दिएका हुन् । मन्त्रीसँगै अनुगमनमा गएको खानी विभागअन्तर्गत प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुखलगायतको टोलीले उक्त क्षेत्रलाई तारबार गरी संरक्षण गर्ने भएको छ । डिपबोरिङ गरेको ठाउँबाट ग्यास निस्किएर आगलागी भएको क्षेत्रलाई हाल माटोले पुरिएको भएपनि अझै प्राकृतिक मिथेन ग्यास निस्किरहेकाले तारबार गरेर संरक्षण गर्नुपर्ने प्राकृतिक तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले बताए । डिपबोरिङमा प्रयोग भएको पाइप अझै नझिकिएकाले पाइप निकालेर ग्यास निस्किएको ठाउँलाई प्लास्टर गरेर बन्द गरी सुरक्षित गर्नुपर्ने उनले बताए । जमिनबाट ग्यास निस्किएको क्षेत्र आसपासको एक सयदेखि डेढसय मिटरमा ड्रिल गरी अध्ययन गरी प्राकृतिक ग्यासको मात्रा पत्ता लगाउन सकिने उनले बताए ।