विकासन्युज

नविन्द्रराज जोशीका दाईलाई काठमाडौंको मेयर बनाउने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकको मेयरमा राजुराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले जोशीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । जोशी उद्योग मन्त्री नविन्द्रराज जोशीका दाई हुन् । काँग्रेसले उपमेयरको उम्मेदवार भने हरिप्रभा खड्गीलाई बनाउने निर्णय गरेको छ । त्यसैगरी ललितपुर महानगरपालिकाका प्रमुखमा चिरिबाबु महर्जन र उपप्रमुखमा गीता सत्याललाई चुनावी मैदानमा उतारेको छ । क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो महानगर मानिएको प्रदेश नं ४ को पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ । यसैगरी भरतपुर महानगरपालिका प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा पार्वती शाहलाई उम्मेदवार बनाएको छ । पहिलो चरणमा निर्वाचन हुने एकमात्र उपमहानगरपालिका हेटौडा उपमहानगरपालिकाका  कांग्रेसले प्रमुखमा आनन्दराम पराजुली र उपप्रमुखमा लक्ष्मी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसका तर्फबाट संबन्धित महा /उप–महानगरपालिकाको प्रमुख,उपप्रमुख र वडा अध्यक्ष सहित सदस्य पदमा आधिकारिक रुपमा मनोनयन गरिएका उमेद्वारहरुले संबन्धित निर्वाचन अधिकृतको कार्यालयमा उमेद्वारी दर्ता गराउने क्रम जारी रहेको छ ।

समयमा नबन्ने भयो बाराको गार्मेण्ट प्रोसेशिङ जोन, पूर्वाधार निर्माणका लागि २ अर्ब २० करोड लाग्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७४/७५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित अघि बढाएको गार्मेण्ट प्रोसेशिङ जोन (जीपीजेड) निर्माण कार्य ढिला हुने भएको छ । चालु आर्थिक वर्षको बजेट घोषणाको क्रममा २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि उक्त परियोजन अघि बढाउने भनिएपनि अहिलेसम्म आयोजना निर्माणको ठोस काम हुन सकेको छैन । जोन स्थापनाका लागि अर्थ मन्त्रालयबाट माघमा मात्र सहमति आएको र बजेटका कारण समयमा परियोजना निर्माण कार्य शुरु गर्न नसक्दा जोन सञ्चालनमा आउन अझै ३ वर्ष लाग्ने भएको हो । सरकारले चालू आवमा जोने पूर्वाधार निर्माणका लागि ५० करोड रुपैयाँ निकासा गरेको छ । परियोजना निर्माण गर्ने क्रममा रकम अभाव भएमा अझ थप्ने बताएको छ । उक्त परियोजनाको पूर्वाधार निर्माणका लागि कुल २ अर्ब २० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सिमरा विशेष आर्थिक क्षेत्रअन्तर्गत एक सय ६५ बिगाह क्षेत्रफलमा उक्त जोन बन्दै गरेको छ । जोन निर्माण कार्य शुरु भएपनि निर्धारित समयमा भने नसकिने भएको छ । विभिन्न चारओटा प्याकेजमा आयोजनाको काम अगाडि बढाउन लागिएको आयोजना प्रमुख तथा सेज विकास समितिका इञ्जिनीयर अर्जुन पाण्डेयले बताए । ‘३ वर्षमा परियोजना निर्माण कार्य सम्पन्न गर्ने गरी योजनाका चारओटै प्याकेजको टेण्डर गर्ने तयारी भइरहेको छ,’ उनले भने ‘चारओटै प्याकेजका लागि छुट्टाछट्टै टेण्डर गरिने छ ।’ परियोजनाको पहिलो प्याकेजमा बाटो, जग्गा विकास, नाला निर्माण, खानेपानीलगायतका काम सम्पन्न गरिनेछ । यसका लागि एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दोस्रो प्याकेजमा विद्युत्, ढल प्रशोधन केन्द्रलाई समेटिएको छ । यसको अनुमानित लागत करीब ५७ करोड रुपैयाँ छ । विभिन्न भवनको निर्माण कार्य तेस्रो प्याकेजमा राखिएको छ । यसका लागि ३५ करोड रुपैयाँ र हेलिप्याड, हेल्थ क्लब, गेष्ट हाउसलगायत चौथो प्याकेजमा २९ करोड खर्च लाग्ने अनुमान छ । गार्मेण्ट प्रोसेसिङ दुईओटा प्याकेजका टेण्डर समेत भरसक यसै वर्ष अगाडि बढाउने तयारी आयोजनाले गरेको छ । सिमरा सेजलाई बहुवर्षीय आयोजनाका रूपमा अगाडि बढाउने सरकारको योजना छ । यदि योजना अघि बढेमा सिमरा सेज ८ सय ३३ बिगाह क्षेत्रफलमा फैलिएको हुनेछ ।

३ वर्षभित्रै राजधानीका सबै कारखाना र इँटाभट्टा विस्थापित हुने

काठमाडौं । नेकपा(एमाले)ले काठमाडौं उपत्यकका तीन जिल्लालाई संसारकै रमणीय सांस्कृतिक तथा व्यवस्थित शहरका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरेको छ । एमालेले आफ्नो सरकार बनेको दोश्रो वर्षभित्र नेपालको राजधानी रहेको उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरूलाई मिलाएर मेघा नगर घोषणा गर्ने बताएको छ । काठमाडौँ उपत्यका लगायत मकवानपुरको टिस्टुङ र कुलेखानी क्षेत्र, धादिङको बैरेनी र नौबिसेसम्मको क्षेत्र, विदुर, बेत्रावतीदेखि बैरेनीसम्मको नुवाकोट र रसुवा जिल्लामा पर्ने त्रिशुली उपत्यका, मेलम्ची समेत इन्द्रावती उपत्यका र दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित हुने गरी वृहत्तर राजधानी क्षेत्रको विकास गर्ने पनि एमाले प्रतिवद्धता छ । एक बर्षमै अधिकार सम्पन्न राजधानी सुधार, विस्तार तथा विकास प्राधिकरण स्थापना गरि गुरुयोजना बनाउने, दोस्रो वर्षदेखि सम्पूर्ण संरचना निर्माण शुरु.गर्ने भनिएको छ । त्यसरी विकसित गरिएको राजधानीमा एउटा मेघा शहर सहित १० वटा अत्याधुनिक स्याटलाइट शहर निर्माण गर्ने एमाले भननई छ । एमालेले ३ वर्षभित्र गाडी पार्किङका लागि उपत्यकाका विभिन्न स्थानमा बहुतले भवनहरू निर्माण गर्ने, सबै सडकहरूमा पाँच मिनेटको फरकमा छुट्ने गरी महानगरपालिकाद्वारा सञ्चालित सुविधा सम्पन्न सार्वजनिक यातायातका साधनहरू सञ्चालन गर्नेछ । ३ वर्षभित्र राजधानी उपत्यकाबाट सबै किसिमका कारखाना, इँटाभट्टा र वर्कशपहरूलाई उपत्यका बाहिर स्थानान्तरण गर्नेछ । राजधानीमा भित्री, बाहिरी र बृहत्् गरी तीन वटा चक्रपथ निर्माण, विस्तार तथा विकास गरिने छ । सबै चक्रपथ र अन्य सडकहरूको समानान्तर मेट्रो रेल सञ्चालन गर्ने बताएको छ । एमालेले प्राकृतिक ताल तथा निर्माण हुनेसमेत गरी राजधानी उपत्यकाभित्र कम्तीमा २० वटा तालको विकास गर्नेछ । ती तालहरूको पानी तथा उपत्यका बाहिरका नदीहरूबाट लिफ्ट प्रणालीबाट पानी प्रवाहित गरी वाग्मती, विष्णुमती, मनोहरा र हनुमन्तेमा सफा पानी बग्ने सुनिश्चित गर्नेछ । चोभारमा सोही प्रणालीबाट पानी प्रशोधन गरी पिउने पानीको रूपमा पनि प्रयोग गर्नेछ । वाग्मती नदीको शिरदेखि चोभारसम्म ५० मिटर चौडाइको नदी प्रवाह क्षेत्र कायम गर्ने, नदीका दुवै किनारामा ५०÷५० मिटर ग्रिनवेल्ट निर्माण गरी कम्तीमा २५ स्थानमा पार्क निर्माण गर्ने, वाग्मती नदीमा ठाउँ– ठाउँमा बाँध हालेर ताल विकास गरिने छ । वाग्मती नदी र यसका शाखाहरूको स्वच्छता, पवित्रता र नदी प्रवाहक्षेत्रलाई कानूनद्वारा संरक्षण गरी उल्लंघन गर्नेलाई दण्ड जरिवाना लाग्ने व्यवस्था लागु गर्ने एमाले प्रतिद्धता छ । फुल्चोकी, मृगस्थली, गोकर्ण र शिवपुरीका जङ्गगलहरूलाई जोड्ने गरी एकीकृत विकास गरिने छ । यो क्षेत्रलाई खुल्ला चिडियाखाना र पर्यटन केन्द्रका रूपमा विकास गरिने उल्लेख ।

प्रदेश नं ३,४ र ६ मा स्थानीय तहको मनोनयन दर्ता सुरु

काठमाडौँ, १९ वैशाख । मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न आज मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि विहान १० बजे देखि ५ बजेसम्मको समय तय गरेको छ । मुलुकका प्रदेश नं ३, ४ र ६ का सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गर्न सुरु गरेका छन् । संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा हुन लागेको स्थानीय तहको ऐतिहासिक निर्वाचनले डेढ दशकदेखिको जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण हुनेछ । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट निर्वाचित हुने जनप्रतिनिधिबाट लोकतन्त्रको स्थानीय तहमै वास्तविक अभ्यास भई जनताले लोकतन्त्रको लाभको उपभोग गर्ने विश्वास निर्वाचन आयोगले लिएको छ । रासस

माछापुच्छ्रे बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, नौ महिनाको कमाई १ अर्ब रुपैयाँ

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा १ अर्ब रुपैयाँ नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६१ प्रतिशतले बढी हो । यस बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड रुपैयाँ छ भने जगेडा तथा संचित कोषमा १ अर्ब ७५ करोड रुपैयाँ छ । एक वर्षमा बैंकले निक्षेप करिव ११ अर्ब वृद्धि गरी ५८ अर्ब रुपैयाँ पुर्याएको छ । कर्जा सापटी १३ अर्बले वृद्धि गरी ५३ अर्ब रुपैयाँ पुर्याएको छ । लगानी करिब ५ अर्ब रुपैयाँ छ । सेयर पुँजीको आधारमा बैंकको बिजनेश भोलुम केही सानो भएको छ । बैंकको पुँजी प्रयाप्तता अनुपात १६ प्रतिशत छ । निक्षेप कर्जा अनुपात ७१ प्रतिशतमा झरेको छ । खराव कर्जा शुन्य दशमलव ३६ प्रतिशतमा झरेको छ । यसले बैंकको पोजिशन राम्रो देखाउँछ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ छ । हाल यस बैंकको सेयर प्रतिकित्ता ४२० रुपैयाँमा कारोबार भईरहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ छ ।

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ७२ प्रतिशतले वृद्धि, ९ महिनामा ७ अर्ब ९४ करोड बीमा शुल्क आर्जन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा ७२ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले चैत मसान्तसम्ममा ४० करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफामा बीमाङ्किय मूल्याङकलपछि प्राप्त हुन नाफा जोडिएको छैन । गत वर्ष सोही अवधिमा कम्पनीले २३ करोड ८० लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले नौ महिनामा ७ अर्ब ९४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको सेयर पुँजी ३ अर्ब ९ करोड रुपैयाँ छ । जगेडा तथा कोषमा ४ अर्ब ७३ करोड रुपैयाँ छ । जीवन बीमा कोष ३७ अर्ब रुपैयाँ भने महाविपत्ती कोषमा २२ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा छ । प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ छ । पीई अनुमान १४१.१५ छ । हाल यस कम्पनीको सेयर प्रतिकित्ता २२५० रुपैयाँमा कारोबार भईरहेको छ ।

एमाले घोषणा पत्रमा पानी जहाजदेखि रेलसम्मः उपत्यकामा मेगा सिटी, वृद्ध भत्ता पाँच हजार

काठमाडौं । नेकपा(एमाले)ले आसन्न स्थानिय तह निर्वाचनका लागि महत्वकांक्षी घोषणा पत्र सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी ओलीले सोमबार सार्वजनिक गरेको घोषणा पत्रमा १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनदेखि प्रसान्त महासागर र हिन्द महासागरमा नेपाली ध्वजा बाहक पानी जहाज सञ्चालन गर्नेसम्मका योजना समेटिएका छन् । एमालेले आगामी पाँच बर्षभित्रै काठमाडौं–निजगढ फास्ट ट्रयाक, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गको निर्माण सम्पन्न गर्ने, पुर्व पश्चिम राजमार्गलाई ६ लेनको बनाउने, वृद्धभत्ता पाँच हजार पुर्याउने, सरकारी अस्पतालमा पुग्ने सत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता दिने, ३ बर्षभित्रै एक घर एक रोजगारी सृजना गर्ने, पाँच बर्षभित्र सबै नेपालीलाई साक्षर बनाउने लगायतका महत्वकांक्षी योजना समेटिएको घोषणा पत्र सार्वजनिक गरेको हो । १) सडक पुर्वाधारः फास्ट ट्रयाक, हुलाकी राजमार्ग, मध्यपहाडी पाँच बर्षभित्रै एमाले घोषणा पत्रमा आगामी पाँच बर्षभित्रै फास्ट ट्रयाक, हुलाकी राजमार्ग, मध्यपहाडीको निर्माण सम्पन्न गर्ने उल्लेख छ । मध्यपहाडी लोकमार्गलाई चार लेन बनाउने पनि एमालेले बताएको छ । त्यस्तै, पुर्व पश्चिम राजमार्गलाई ६ लेनमा स्तरोन्नति गर्ने, उत्तर दक्षिण सडकहरुलाई चार लेनको बनाउने, हिमाली जिल्लाहरुबाट चीनसम्म पुग्ने सडकलाई दुई लेनको बनाउने, इलामदेखि डडेलधुरासम्म भित्रि तराई हुँदै औद्योगीक करिडोर राजमार्ग बनाउने एमाले घोषणा पत्रमा उल्लेख गरिएको छ । २) हवाई र जलमार्गः समुन्द्रमा ध्वजा बाहक पानी जहाज एमालेले प्रसान्त र हिन्द महासागरमा नेपाली ध्वजा बाहक पानी जहाज सञ्चालन गर्ने बताएको छ । त्यसका लागि आवश्यक कानुनी तथा पुर्वाधार तयार गरेर भारत, चीन, र बंगलादेशसँग वार्ता गर्ने एमाले घोषणा पत्रमा उल्लेख छ । १० बर्षभित्रै निजगढ विमानस्थल निर्माण गरेर सञ्चालन गरिसक्ने एमाले दावी छ । ३) उपत्यकालाई मेगा सिटी एमालेले काठमाडौं, भक्तपुर र ललितपुरलाई समेटेर मेगा सिटी निर्माण गर्ने बताएको छ । उसले न्युयोर्क, पेरिस वा लण्डन जस्तै विकासित मेगा सिटीका रुपमा उपत्यकालाई विकास गर्ने जनाएको हो । उपत्यकालाई सांस्कृतिक मौलिकता र आधुनिकताको संयोजनसहितको नमुना शहर बनाउने एमाले घोषणा छ । त्यस बाहेक बनेपा, पनौती, धुलिखेल, कुलेखानी, दामन, बैरेनी, विदुर, बेत्रावति, रसुवा, मेलम्ची, इन्द्रावति, दोलालघाट, भकुण्डेबेसी लगायतका क्षेत्र समेटेर बृहत्तर राजधानी निर्माणको काम अघि बढाउने पनि एमाले घोषणा पत्रमा उल्लेख गरिएको छ । एमालेले तीन बर्षभित्रै उपत्यकाभित्रका सबै कलकारखान र इँटाभट्टाहरुलाई विस्थापित गर्ने, प्राकृतिक तालहरुको संरक्षण गरि २० वटा तालको निर्माण गर्ने, भित्रि, बाहिरी र बृहत गरि तीनवटा चक्रपथ निर्माण गर्ने पनि एमालेले बताएको छ । ४) वृद्ध भत्ता पाँच हजार एमालेले वृद्ध भत्ता बढाएर पाँच हजार पुर्याउने बताएको छ । त्यस्तै, सरकारी अस्पतालमा सुत्केरी हुने शिशु र र आमाको पोषण र स्वास्थ्यका लागि पाँच हजार प्रोत्साहन भत्ता दिने एमालेले उल्लेख गरेको छ । ५) तीन बर्षमा एक घर एक रोजगार, १० बर्षमा बेरोजगारी उन्मुलन एमालेले आफ्नो नेतृत्वमा सरकार बनेको तीन बर्षभित्रै एक घर एक रोजगारी दिने र आगामी १० बर्षभित्रै बेरोजगारी उन्मुलन गर्ने घोषणा पत्रमा लेखेको छ ।

स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशविरुद्ध कार्की महाअभियोग: नेपाली काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसका नेताहरुले स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरिएको बताएका छन्  । काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले आज पार्टी केन्द्रीय कार्यालयमा गरेको पत्रकार भेटघाटमा नेताहरुले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायपालिकको सिद्धान्त विपरीत नियतबस अदालतका निर्णय गरेको र सरकारको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए । कार्यक्रममा काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले आफ्नो पार्टी सदैव स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको पक्षमा रहेको बताउँदै स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको धारणा व्यक्त गरे । काँग्रेस नेतासमेत रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिको राजीनामापछि को गृहमन्त्री हुन्छ भन्ने जिज्ञासामा महामन्त्री कोइरालाले त्यसबारेमा शीर्ष नेता बसी टुङ्गो लगाउने जानकारी गराए । काँग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनअघि संशोधन प्रस्ताव पारित नभए पनि त्यसले निर्वाचनमा कुनै प्रभाव नपर्ने बताए । संशोधन प्रस्ताव पारित गर्ने प्रयास निरन्तर जारी रहने बताउँदै नेता सिटौलाले निर्वाचनका लागि पार्टीको तयारी अन्तिम चरणमा रहेको जानकारी गराए । कार्यक्रममा प्रचारप्रसार उपसमितिका संयोजकसमेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले काँग्रेस स्थापनाकालदेखि नै स्वतन्त्र, निष्पक्ष र सबल न्यायापालिकाको पक्षमा उभिँदै आएको बताउँदै न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाइराख्न प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएको अवगत गराए । सरकारले कानुन बमोजिम प्रहरी प्रमुखको नियुक्तिमा सर्वाेच्च अदालतबाट हस्तक्षेप भएको र न्यायको सिद्धान्त विपरीत प्रधान न्यायाधीशले न्यायाधीशहरुको इजलास तोक्ने गरेको आरोप लगाउँदै मन्त्री लेखकले अदालतप्रति जनताको विश्वास जोगाइराख्न पनि महाअभियोगको प्रस्ताव आएको जिकिर गरे । काँग्रेस र नेकपा (माओवादी केन्द्र) का २४९ जना सांसदहरुले हस्ताक्षर गरी आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्ता गराएका थिए । सोही विषयप्रति असन्तुष्टि जनाउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आइतबार नै पदबाट राजीनामा दिए । काँग्रेस उम्मेदवारको टुङ्गो आजै काँग्रेसले पहिलो चरणको स्थानीय तहका लागि पार्टीका आधिकारिक उम्मेदवार आजै चयन गरिसक्ने जनाएको छ । पहिलो चरणको निर्वाचन हुने प्रदेश नं ३, ४ र ६ का सबै तहमा आज पार्टीका अधिकारीका उम्मेदवारको टुङ्गो लगाउन पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक बसिरहेको छ । निर्वाचन आयोगले भोलि वैशाख १९ गते उम्मेदवार मनोनयनको तालिका सार्वजनिक गरेको छ । त्यसका लागि आज रातिसम्म भए पनि सबै तहमा उम्मेदवारको टुङ्गो लागिसक्ने पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए । काँग्रेसले महानगरपालिका र उपमहानगरपालिका केन्द्रले र बाँकी सबै तहमा उम्मेदवार चयन गर्न जिल्लास्थित पार्टीको संयन्त्रलाई जिम्मेवारी दिएको थियो । तर प्रदेश नं ६ बाहेकका केही तहमा उम्मेदवार चयन गर्न विवाद देखिएपछि त्यसको पनि केन्द्रले नै टुङ्गो लगाउँदैछ । पार्टीले निर्वाचनको तयारीका लागि सबै तहमा निर्वाचन परिचालन समिति र प्रचारप्रसार समिति गठन गरी घोषणापत्रसमेत पठाइसकेको जनाएको छ । सरकारले प्रदेश नं ३, ४ र ६ मा पहिलो चरणको स्थानीय निर्वाचन वैशाख ३१ मा तथा प्रदेश नं १, २, ५ र ७ मा दोस्रो चरणको निर्वाचन आगामी जेठ ३१ गते गर्ने निर्णय गरेको छ । रासस