विकासन्युज

बैंक अफ काठमाण्डु लुम्बिनीको ६२ लाख ८ हजार कित्ता शेयर निष्काशन,बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले ६२ लाख ८ हजार कित्ता सम्म संस्थापक शेयरको थप सार्वजनीक निष्काशन गर्न लागेको छ । थप शेयर निष्काशन गर्ने सम्बन्धमा सो बैंक र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका छन् । बैंकको संस्थापक तथा सर्वसाधारण शेयरधनीको पुँजी संरचना ५१ र ४९ प्रतिशत कायम गर्नको लागि संस्थापक तर्फ थप सार्वजनिक निष्काशन गर्न लागेको बैंकका अध्यक्ष अजय श्रेष्ठले बताए । बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिए पश्चात २०७३ चैत्रमा सम्पन्न यस बैंकको साधारण सभाले संस्थापक शेयरधनीको शेयर स्वमित्व कम्तीमा ५१ प्रतिशत पुयाउन थप संस्थापक शेयरको थप सार्वजनीक निष्काशन गर्ने निणर्य गरेको थियो । हाल बैंकको संस्थापक शेयरधनीको शेयर स्वमित्व ४५.६४ प्रतिशत छ ।

भूकम्प कम प्रभावित १७ जिल्लामा करिब एक लाख लाभग्राही अनुदान पाउने सूचिमा, कून जिल्लामा कति जना प्रभावित ?

काठमाडौं । भूकम्प कम प्रभावित १७ जिल्लामा करिब एक लाख लाभग्राही निजी आवास पुनर्निर्माणको अनुदान पाउन योग्य देखिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको सर्वेक्षण अनुसार दुई जिल्लाको ४ गाविस बाहेक सर्वेक्षण सकिएका १७ जिल्लाका ९८ हजार २ सय १ घरधुरी लाभग्राही सूचिमा समावेश भएका हुन । हिम पहिरोका कारण सर्वेक्षण सकिन ढिलाई भएका सोलुखुम्बुका ३ गाविस र लमजुङको एक गाविस बाहेक अन्य १७ जिल्लाका ७ सय ५४ नगरपालिका र गाविसबाट प्राप्त लाभग्राहीको सुचीलाई प्राधिकरणको कार्यकारी समिति वैठकले अनुमोदन गरिसकेको प्राधिकरणले जनाएको छ । लाभग्राही सूचिमा परेकाहरुसँग आवास अनुदान सम्झौता सम्पन्न भए ती सवैले निजी आवास पुनर्निर्माणका लागी सरकारबाट दिने अनुदान वापतको ३ लाख रुपैया प्राप्त गर्नेछन् । प्राधिकरणले अनुदान सम्झौता सम्पन्न भइसकेका लाभग्राहीलाई विभिन्न जिल्लामा पहिलो किस्ता वापतको ५० हजार रुपैया धमाधम बितरण गरिरहेको छ । सर्वेक्षण अनुसार लाभग्राही सूचिमा अर्घाखाँचीबाट एक हजार ३६, बागलुङबाट २ हजार ३ सय ७५, भोजपुरबाट ५ हजार ७ सय ४९, धनकुटाबाट २ हजार ७ सय ९६, गुल्मीबाट ४ हजार १ सय ४४, कास्कीबाट ६ हजार २६, खोटाङबाट ८ हजार ४ सय ४३ घरधुरी लाभग्राही सूचिमा समावेश भएका छन् । यस्तै लमजुङबाट १३ हजार ५ सय १९, म्याग्दीबाट ८ सय ६८, नवलपरासीबाट ८ सय ७२, पाल्पाबाट ४ हजार ६ सय ५२ , पर्वतबाट ५ हजार २ सय ६९, संखुवासभाबाट १ हजार ९ सय ९३, स्याङजाबाट ८ हजार ५ सय ४९, चितवनबाट ७ हजार ३ सय ३५, सोलुखुम्बुबाट १० हजार ७ सय ९४ र तनहुँबाट १३ हजार ८ सय २१ घरधुरी लाभग्राही सूचिमा परेको प्राधिकरणको सूचना व्यवस्थापन तथा संचार शाखाका प्रमुख मनोहर घिमिरेले जानकारी दिनुभयो । सर्वेक्षण हुन नसकेका बाँकी ४ गाविसमा पनि छिट्टै काम शुरु गर्ने प्राधिकरणको तयारी छ । भूकम्प अति प्रभावित १४ जिल्लालाई पहिलो चरणमा प्राथमिकतामा राखेर अनुदान बितरण काम तिव्र पारेको प्राधिकरणले अहिले भूकम्प कम प्रभावित १७ जिल्लामा अनुदान बितरणलाई तिव्रता दिएको छ ।

रेडियो, अनलाइन, टेलिभिजन होसियार ! प्रेस काउन्सिलले चौविसै घण्टा निर्वाचन आचारसंहिता अनुगमन गर्दै

काठमाडौं । प्रेस काउन्सिल नेपालको आयोजनामा मंगलबार राजधानीमा स्थानीय तहको निर्वाचन आचारसंहिताको अनुगमन गर्ने सम्वन्धमा वृहत छलफल भयो । कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सार्वजनिक सम्पत्ति तथा स्रोतसाधनको दुरुपयोग गर्ने प्रबृत्तिलाई निरुत्साहित पार्दै निर्वाचनलाई स्वच्छ, निश्पक्षरुपमा सम्पन्न गर्न प्रभावकारी अनुगमन र निगरानी गर्नुपर्ने धारणा राखेका छन् । पूर्व प्र.नि.आ.उप्रेतीले देशभरका मिडिया खासगरी एफएम रेडियो तथा अनलाइनतर्फ काउन्सिल केन्द्रीत भई अनुगमन गरी गल्ती गर्ने र पीडित पक्ष दुवैलाई ठीक लाग्नेगरी कारवाही थाल्नुपर्ने, महिला, दलित र पिछडिएका वर्गको प्रतिनिधित्व हुनैपर्ने संविधानिक सुनिश्चिताले उम्मेदवारको ब्यक्तिगत चरित्र हत्या, लाञ्छना, भेदभाव हुनेगरी प्रकाशन÷प्रसारण हुन सक्नेतर्फ सचेत गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले मिडिया कोही कसैप्रति पूर्वाग्रही नहुन र सन्तुलन कायम राख्न मिडियाले जोड दिनुभएको थियो । सो अवसरमा प्राध्यापक तथा पत्रकार चिरिञ्जीवी खनाल, डा. कुन्दन अर्यालले विगतका निर्वाचनमा भएका आचारसंहिता उल्लघंनका प्रवृति र हुनसक्ने सम्भावित घटनाबारे धारणा राखेका छन् । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सञ्चालन गरेको सो कार्यक्रममा उप प्रशासकीय अधिकृत रामशरण बोहराले अनुगमनको पद्धतिबारे स्पष्ट पार्दै निर्वाचन आचारसंहिता अनुगमन योजनाबारे प्रस्तुति गरेको प्रेस काउन्सिलले जनाएको छ । कार्यक्रममा यसअघिका निर्वाचनमा सञ्चार माध्यमले खेलेको भूमिकाबारे छलफल भएको छ ।

प्रभु इन्स्योरेन्समा भट्टचन र पौडेलकाे राजीनामा

देविप्रकाश भट्टचन दक्ष पौडेल काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष देविप्रकाश भट्टचन र सञ्चालक दक्ष पौडेलले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष भट्टचनले सञ्चालक पदमा समेत नरहने गरी राजीनामा दिएका छन् । कम्पनी स्रोतका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ (वाफिया) मा एउटै व्यक्ति बैंक र इन्स्यारेन्स दुबैमा सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था भएकोले दुबै जनाले राजीनामा दिएका हुन् । भट्टचन प्रभु बैंकमा अध्यक्ष छन् भने पौडेल प्रभु बैंकमा सञ्चालक छन् । केही दिनअघि प्रभु इन्स्योरेन्सका सञ्चालक कुशुम लामाले प्रभु बैंकको सञ्चालक पदबाट राजीनामा दिएका थिए । बैशाख २० गते तय भएको प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले दुई जना सञ्चालक नियुक्त गर्नुको साथै अध्यक्ष पनि चयन गर्ने योजना रहेको स्रोतले बतायो ।

ललितपुर महानगरपालिकामा कँग्रेसका उम्मेदवार चिरीबाबु

काठमाडौं । नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई उम्मेदवार बनाएको छ । पार्टी पदाधिकारीको बैठकले महर्जनलाई मेयर र गीता सत्याललाई उप मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । महर्जन र सत्यालले ललितपुर जिल्ला निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिसकेका छन् । यस अघि नै एमालेका हरिकृष्ण व्यन्जनकार र माओवादी केन्द्रका  दिनेश महर्जन दिपेशले मेयरको उम्मेदवारी दर्ता गराईसकेका छन् ।

ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यञ्जनकारको उम्मेदवारी

काठमाडौं । ललितपुर महानगरपालिकामा एमालेले हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाएको छ । ब्यञ्जनकार ललितपुर एमालेका अध्यक्ष समेत हुन् । उप मेयरमा भने राप्रपाकी  सुकमाया लामालाई उम्मेदवार बनाउने निर्णय भएको हो ।काठमाडौं र ललितपुर उपमहानगरपालिकामा एमाले र राप्रपाले तालमेल गरेका छन् । दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर लिने सहमति भएको हो । व्यञ्जनकारले मेयरको उम्मेदवारी दर्ता गरिसकेका छन् । एमाले नेता रघुजी पन्तसहितको टोलीले बाजागाजासहित जिल्ला निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

साना घरायसी समान अब सिजी डिजिटल र एलजी सपमा

काठमाडौं । अब सिजी डिजिटल र एलजीका सोरुमहरुमा पनि घरायसी समा पाइने भएको छ । उपभोक्ताहरुको मागलाई ध्यानमा राखेर बिभिन्न कम्पनीका साना घरायसी समान उपलब्ध गराउन लागेको हो । उपभोक्ताहरुले देशैभर रहेका सिजी डिजिटल र एलजी सपहरुबाट साना घरायसी समानहरु खरिद गर्न सक्नेछन् । सिजी, पिजिओन लगायतका अन्तराष्ट्रिय ब्राण्डका समान ती शोरुमहरुमा उपलब्ध हुनेछन् । बिशेषगरि भान्छामा प्रयोग हुने ग्यास चुल्यो, प्रेसर कुकर, राइस कुकर, चप बोर्ड, चक्कु, लगायतका साना घरेलु समान खरिद गर्न सकिने दुबै कम्पनीले जनाएका छन् ।

१० बाणिज्य बैंकको नाफा साढे ४५ प्रतिशतले बढ्यो, कसको कति ?

काठमाडौं । १० वटा बाणिज्य बैंकहरुको कुल नाफा ४५ दशमलब ६८ प्रतिशतले वृद्धि भएको छ । तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका १० वटा बाणिज्य बैंकले आफ्नो कुल नाफा ३ अर्ब ६५ करोडले वृद्धि गरेर ११ अर्ब ६४ करोड पुर्याएका हुन् । गत आर्थिक बर्षको नौ महिनामा तीनै १० वटा बैंकहरुले जम्मा ७ अर्ब ९९ करोड मात्रै नाफा कमाउन सफल भएका थिए । १० मध्ये  सबै भन्दा धेरै  नाफा कमाउने बैंकका रुपमा एभरेष्ट बैंकले एक अर्ब ५२ करोड पुर्याएको छ । एभरेष्टले गत आवको नौ महिनामा १ अर्ब २० करोड नाफा कमाएको थियो । ग्लोबल आइएमई बैंकले १ अर्ब ४८ करोड नाफा कमाउँदै दोश्रो  स्थान सुरक्षित गरेको छ । यो बैंकले गत आवको सोही अवधीमा जम्मा १ अर्ब ३ करोड कमाएको थियो । प्रभु बैंकले १ अर्ब ४४ करोड नाफा कमाउन सफल भएको छ । यसले गत आवको नौ महिनामा ६२ करोड नाफा कमाएको थियो । एनएमबी बैंकले पनि एक अर्ब २३ करोड नाफा कमाएको छ । यसले गत आवको सोही अवधीमा जम्मा ७७ करोड नाफा कमाएको थियो । एनआइसी एसिया बैंकले पनि १ अर्ब १३ करोड नाफा कमाउन सफल भएको छ । जबकी यो बैंकले गत आवको नौ महिनासम्मा जम्मा ७५ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । सिद्धार्थ बैंकले पनि एक अर्ब १३ करोड नाफा आर्जन गरेको छ । यो बैंकले गत आवको नौ महिनामा भने जम्मा ७८ करोड मात्रै नाफा आर्जन गरेको थियो ।माछापुच्छ्रे बैंकले पनि एक अर्ब ५ करोड नाफा कमाएको छ । यो बैंकले गत आवको सोही अवधीमा जम्मा ६२ करोड नाफा कमाएको थियो । सानिमा बैंक, नेपाल बंगलादेश बैंक र सिटिजन्स बैंकले मात्रै एक अर्ब नाफा पुर्याउन सकेका छैनन् । नौ महिनामा सानिमा बैंकले ९७ करोड नाफा कमाएको छ । गत आवको नौ महिनमा यसले ६७ करोड नाफा कमाएको थियो । त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलले ८७ करोड नाफा कमाएको छ । यसले अघिल्लो आवको सोही अवधीमा ७२ करोड नाफा कमाएको थियो । नेपाल बंगलादेश बैंकको नाफा पनि ८२ करोड पुगेको छ । यसले गत आवको नौ महिनामा ७० करोड नाफा कमाउन सफल भएको थियो ।