विकासन्युज

ललितपुर महानगरपालिको नतिजा सार्वजनिक, ३६५ मत अन्तरले कांग्रेसका जिरिवाबुले जिते

ललितपुर । ललितपुर महानगरपालिकामा अत्यन्तै झिनो मतअन्तरका साथ अग्रता लिइरहेका नेपाली कांग्रेसका चिरीबाबु महर्जन ३६५ मत अन्तरले मेयर निर्वाचित भएका छन्। मंगलबार राति साढे १ बजे घोषित अन्तिम नतिजाअनुसार महर्जनले २४६६६ मत पाएको ललितपुरका छन। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २४३०१ मत पाएका छन। उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल १९२३६ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाएकी छन्। पहिलो चरणमा निर्वाचन भएका चार महानगरमध्ये प्रतिस्पर्धाका हिसाबले ललितपुर रोमाञ्चक रह्यो। काठमाडौं, पोखरा र भरतपुर महानगरमा पहिलो र दोस्रो प्रतिस्पर्धीबीच फराकिलो मतअन्तर रहँदै आएकोमा ललितपुरमा भने दुवै उम्मेदवारबीच यस्तरी ‘नेक टु नेक’ प्रतिस्पर्धा भयो, जुनसुकै बेला पासा पल्टिन सक्थ्यो। त्यसमाथि झिनो अन्तरले भए पनि नेपाली कांग्रेसले अग्रता लिइरहेको थियाे ।

बजेटमा सबै कार्यक्रम पुरानै, राजस्वको दरसमेत हेरफेर नहुने

काठमाडौं । नयाँ कार्यक्रमबिना र राजस्वका दर हेरफेर नगरी आगामी आर्थिक वर्षको बजेट पेस हुने भएको छ । प्रधानमन्त्री निवासमा मंगलबार शीर्षस्थ नेतासहितको सर्वदलीय बैठकमा यसरी पूर्ण बजेट पेस गर्ने सहमति भएको हो । बैठकमा एमालेका अध्यक्ष केपी ओली, नेता माधवकुमार नेपाललगायत सहभागी थिए । सहमतिसँगै बजेटका बारे सबै अन्योल सकिएको छ । यसअघि नयाँ कार्यक्रम नल्याउने भनिए पनि बजेटको आकार बढाएर एकमुष्ठ पैसा राख्ने, दोस्रो चरणको चुनाव सकिएपछि यो रकमबाट नयाँ कार्यक्रम घोषणा गर्ने बारेमा पनि छलफल चलिरहेको थियो । प्रधानमन्त्री निवासमा भएको छलफलमा पनि योजना आयोग उपाध्यक्ष डा।मीनबहादुर श्रेष्ठले कार्यक्रम घोषणा नगर्दा दोस्रो चरणको चुनाव प्रभावित नहुने भन्दै रकमचाहिँ विनियोजन गर्नपर्ने सुझाव राखेका थिए । पूर्ण आकारको बजेट भएकाले सरकारले खाली पुरानो कार्यक्रम निरन्तरता दिएर नपुग्ने उनको तर्क थियो । उनको प्रस्तावमा कोही पनि सहमत भएनन् । पूर्वअर्थमन्त्री डा।रामशरण महतले चालू अवस्थामै यत्रतत्र कार्यक्रम रहेको भन्दै तिनको कार्यान्वयनमा जोड दिनुपर्ने समय आएको बताएका थिए । ‘कार्यक्रम चाहिनेभन्दा बढी भइसकाे उनलाई उधृत गर्दै स्रोतले भन्यो । ‘कम्तीमा यसपालि साइत पनि यस्तै परेको छ, तिनलाई पर्याप्त बजेट विनियोजन गरौं, चुस्त कार्यान्वयनमा जोड गरौं । लोकप्रियताका लागि नयाँ कार्यक्रम आवश्यक नभएको, कार्यान्वयनमा सफल भए सरकार यसै लोकप्रिय हुने तर्क गरेका थिए । उनले सहायता दिने विदेशीसँग भएका प्रतिबद्धता कार्यान्वयनमा आउने वर्ष जोड दिनुपर्ने बताएका थिए । आउने आर्थिक वर्षको बजेटको लागि स्रोत समितिले १२ खर्ब ६ अर्ब रुपैयाँको बजेटको बनाउन सकिने भने पनि अर्थलाई ११ खर्ब ५६ अर्ब रुपैयाँको सिमा वितरण गर्न दिइएको थियो । योजना आयोगले त्यो ५० अर्ब अब हुने प्रदेश र संसद्को चुनाव आदिका लागि भनेर वितरण नगरी राखेको हो । आजको सहमतिपछि १२ खर्ब ६ अर्बको आधारमा बजेट बन्नेछ । अन्नपूर्ण पोस्टबाट ।

जम्मा एक भोटको हारजित, तनहुँको दवघाट गाँपालिकका उपाध्यध्यले १ मतले जिते

पोखरा । तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत पोखरामा मुद्धा दायर गर्नु भएको छ । एमाले उम्मेदवार दवाडीेले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई गुहार्दा सुनुवाई नभएपछि अदालतमा आउनुपरेको सोमबार दायर मुद्धामा उल्लेख गर्नुभएको छ । दवाडीलाई १ मतले पाराजित गर्दै कांग्रेसकी विमला थापा उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । दवाडीले २ हजार ८ सय ५९ मत र थापाले २ हजार ८ सय ६० मत पाएका छन् । अन्नपूर्ण पोस्टबाट ।

एनआईसी एशिया बैंकको सहायक कार्यकारी प्रमुखमा न्यौपाने र पाण्डे नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा रोशन कुमार न्यौपाने तथा सुधिर पाण्डेलाई नियुक्त गरेको छ । सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुुन् । उनी करिब १० वर्ष अगाडी आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका छन् । न्यौपाने बैंकिङ क्षेत्रमा नवीनतम प्रणालीको प्रयोग गर्दै यस क्षेत्रलाई नयाँ उचाईसम्म पुर्याउनु पर्छ भन्ने मान्यता राख्दछन् । त्यसै गरी २०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर पाण्डेले विभिन्न बैंकहरु तथा यस बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् । लामो बैंकिङ अनुभव सम्हालेका एवं कुशल व्यवस्थापक सुधिर पाण्डे तथा बैंकिङ क्षेत्रको सर्वाङ्गिण विकासको लागि अन्तराष्ट्रिय मान्यताहरु र नविनतम सोचहरु नेपालको बैंकिङ क्षेत्रमा भित्र्याउन दक्ष एवं कुशल रणनीतिक योजनाकार रोशन कुमार न्यौपानेको कार्य संयोजनले बैंकले उल्लेखनीय प्रगति हासिल गर्ने अपेक्षा गरिएको छ ।

सरकारले बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा ग्रुप कम्पनीलाई दियो

काठमाडौं । सरकारले चर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णय गरेको हो । प्रधानमन्त्रीले संसद्मा विशेष सम्बोधन गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री र मन्त्रीहरू बालुवाटारमा सामूहिक तस्बिर खिंचाउँदै बूढीगण्डकी आयोजनालाई  इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले बताए । ‘नेपालका लागि अति नै आवश्यक बुढीगण्डकी आयोजना इपीसीएफ मोडलमा बनाउन दिने मन्त्रिपरिषदले निर्णय गरेको छ’ मन्त्री काकीले भने । इपीसीएफ मोडल भन्नाले इन्जिनियरिङ, खरिद, निर्माण र लगानीको जिम्मा दिनु हो । यो मोडेलमा निर्माणकर्ता आफैंले लगानी जुटाउँछ । आयोजना निर्माणपछि यसको आयबाट नै थ्री गर्जेजलाई नेपाल सरकारले ऋण तिर्ने छ । यो आयोजनाको स्वीकृतिपछि उर्जा मन्त्रालयले चिनियाँ कम्पनीसँग यो विषयमा थप छलफल गर्ने भएको छ । त्यसै गरी आजैको बैठकले राष्ट्रिय समाचार समिति राससमा रिक्त महाप्रबन्धकमा पत्रकार ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ । गत माघ ६ गतेदेखि सो पद रिक्त थियो । त्यस्तै निर्यात तथा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशकमा शरद्विक्रम राणालाई नियुक्त गरिएको छ । बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्रीहरुले सामूहिक फोटो खिचेका छन् । सामूहिक फोटो खिच्नुको अर्थ दाहाल सरकारको यो अन्तिम बैठक हो ।

राजश्व संकलन ५.३३ प्रतिशतले बढ्यो, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा करले लक्ष्य भेटेन

काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा राजश्व संकलन ५ दशमलब ३३ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक राजश्व विभागले १० महिनामा १ खर्व ७९ अर्व २८ करोड ४७ लाख ८७ हजार राजश्व संकलन लक्ष्य पाएको थियो । विभागले सो अवधीमा जम्मा १ खर्व ८८ अर्व ८५ करोड ७६ लाख ८४ हजार रुपैंयाँ राजश्व संकलन गरेको हो । सो रकम लक्ष्य भन्दा ९ अर्ब ५७ करोड २८ लाख ९७ हजार बढि हो । विभागले आर्थिक वर्ष २०७३/०७४ वैशाख मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा भने २० प्रतिशतले वृद्धि गरेको छ । विभागले आयकर तर्फ १ खर्व १ अर्व ८१ करोड ७० लाख ३६ हजार, मूल्य अभिवृद्धि कर ४८ अर्व ३२ करोड २४ लाख ११ हजार र अन्तःशुल्क तर्फ ३७ अर्व २८ करोड ५७ लाख १६ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ आयकर, वहालकर, व्याजकर गरी १०७ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०१ प्रतिशत र अन्तशुल्क तर्फ १०८ प्रतिशत हो । शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा करले लक्ष्य भेटेन त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ६४ करोड २८ लाख ४० हजार र ७८ करोड ९६ लाख ८१ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९९ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर १५ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २५ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३२ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २४ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३२ प्रतिशत रहेको छ । विभागले आर्थिक वर्ष २०७३÷७४ को वार्षिक लक्ष्य २ खर्व ३३ अर्व ६० करोड १५ लाख १७ हजार पाएको छ ।

रासस महाप्रबन्धकमा ओपेन्द्र शर्मा नियुक्त

काठमाडौँ, । सरकारले राष्ट्रिय समाचार समिति राससमा रिक्त महाप्रबन्धकमा पत्रकार ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शर्मालाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत माघ ६ गतेदेखि सो पद रिक्त थियो । त्यस्तै निर्यात तथा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशकमा शरद्विक्रम राणालाई नियुक्त गरिएको छ । बैठकले बूढीगण्डकी इन्जिनियरिङ प्रोक्यरमेन्ट कन्स्ट्रक्सन ढाँचामा अघि बढाउने सम्झौतापत्र तयार गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ । प्रधानमन्त्रीले संसद्मा विशेष सम्बोधन गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री र मन्त्रीहरूले बालुवाटारमा सामूहिक तस्बिर खिंचाएका थिए । रासस

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा कालीकोटमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कालीकोट जिल्लामा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालीका वडा नं २ मा सेवा शुरु गरिएको हो । ग्लोबल आईएमई बैंकका सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले व्यवसायीक प्रतिनिधिलाई मसिन हस्तान्तरण गरेर उक्त सेवाको उद्घाटन गरेका छन् । बैंकले खाँडाचक्र नगरपालीका वडा नं २ शुरु गरेको सेवा सञ्चालनका लागि स्थानिय कर्ण वहादुर खत्रिलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । कालीकोटमा शुरु गरिएको सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ४६ पुगेको छ । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लगायतका सुबिधा रहेका छन् । ग्लोवल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा हालसम्म ३ वटा एक्सटेन्सन काउण्टर तथा १३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।