रातो मत्स्येन्द्रनाथको भोटो देखाउन बिहीबार काठमाडौंमा सार्वजनिक बिदा
काठमाडौं । सरकारले भोलि बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । जेठ ११ गते बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले गृह मन्त्रालयले सो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बिहीबारको बिदा घोषणा गरेको हो ।
ग्लोबल आईएमई क्यापिटलले १२० करोडको इकाई निष्कासन गर्न माग्यो बोर्डको अनुमति
काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को एक अर्ब २० करोड रुपैयाँकोे इकाई निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले गत जेठ ७ गते नै १२ करोड ईकाई निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको फण्ड म्यानेजरमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
अलैची खेतीबाट वार्षिक ५० लाखसम्म आम्दानी
रामेछाप । अलैचीबाट गत वर्ष राम्रो आम्दानी लिएर हर्षित भएका रामेछाप कुबुकास्थलीका कृषक यस वर्ष अलैचीको भाउ नआउँदा अलैचीनबेची भएका छन् । अलैँचीबाट विशेष मसला बनाउने काम गरिन्छ । यो विशेष गरि नेपाल र भारतका विभिन्न भागमा पाइने बिरुवा हो । अलैँचीले विश्व व्यापारमा नेपालको तर्फबाट राम्रो स्थानसम्म पाएको छ । अलैची नेपालका पहाडी र तराई भेगका चिसाइलो भएको जग्गामा लगाईन्छ । रामेछापका अलैँची खेती गर्ने कृषक शिवहरी कार्की भन्छन् “अलैँचीबाट गत वर्ष राम्रो आम्दानी लिएको हो किलोको २४ सयमा बेचेको अलैँची यस वर्ष किलोको १२ सयमा झर्दा समस्या भएको छ ।” उनका अनुसार अलैँचीलाई पाखो जग्गा केही काम नलाग्ने जग्गामा लगाउन सक्ने भएकाले गर्दा अहिले कुबुकास्थली गा.वि.स.मा जताततै अलैँची मात्र छ । गत वर्ष यस अलैँचीबाट राम्रो आम्दानी लिँदा वैदेशिक रोजगारमा गएका युवाले समेत गाँउ घरमानै जग्गा किनेर अलैँची खेती पनि गर्दै आएका छन् । वैदेशिक रोजगारबाट आफ्नै गाँउमा आएर अलैँची खेती गर्दै आएका चन्द्र सुनुवार भन्छन् “मैले विदेशमा महिना भरि काम गर्दा ३० हजार कमाउँथे । अहिले म मेरै गाउँमा नै अलैँची खेती गरेर यस वर्षकै भाउ अर्थात किलोको १२ सयमा बेच्दा पनि १ लाख जति कमाउछु ।’ अलैचीबाट मात्रै १ लाख कमाई हुने, बोका, खसीबाट पनि राम्रो कमाई हुने उनले बताए । अलैँची खेती गरेर रामेछाप कुबुकास्थलीका कृषकको जीवनस्तर सुधार आएको छ । छोराछोरी पढाउनुको साथै सहरका जग्गा समेत किनेर राख्न थालिसकेका छन् । । कसैले काठमाडौंमा घर पनि बनाएका छन् । यसरी रामेछाप कुबुकास्थलीका कृषकले आर्थिक स्थितीमा धेरै विकास आएको छ । उनीहरुलाई दैनिकी चलाउन समेत सजिलोे भएको छ । अलैची खेती गर्दै आएका कुमार शर्मा भन्छन् “मैले आफ्नो सम्पूर्ण जग्गामा अलैँची लगाएर विगत ५ वर्षदेखि हरेक वर्ष ३५ देखि ५० लाख रुपैयाँ फाइदा निकालेको छु । अब यो गाँउमा मलाई सबैले ठूलो मान्छेको रुपमा लिएका छन् किनकी मैले मेरा ७ वटा छोराछोरी काठमाडौँको बोर्डिङ स्कुलमा पढाएको छु र मेरो नयाँ बानेश्वरमा ४ तलाको घर पनि छ ।” केशर के.सी./प्रशिक्षार्थी
आगामी आवदेखि एक्जिम कोर्ड अनिवार्य, धरौटी रकम ७ लाख घटाइयो
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (साउन)देखि एक्जिम कोर्ड अनिवार्य रूपमा लागू गर्ने भएको छ । सरकारले भन्सार ऐन २०६४ को दायरामा रहेर साउनदेखि सबै प्रकारका वस्तु आयात निर्यात गर्ने व्यवसायीले अनिवार्य एक्जिम कोड लिनुपर्ने व्यवस्था सरकारले गरेको हो । निकासी पैठारी गर्ने संकेत नै एक्जिम कोर्ड हो । एक्जिम कोर्डले व्यापारमा सहजता आउने र कागजी झन्झटबाट मुक्त गराउने विभागका महानिर्देशक रामशरण चिमोरियाले बताए । आगामी दुई वर्षभित्र वैदेशिक व्यापारलाई स्वचालित बनाउने उद्देश्य सहित व्यवसायीलाई एक्जिम कोर्ड अनिवार्य गर्न लागिएको हो,’ उनले भने । व्यापार सहजीकरण र समयको व्यवस्थापनले भन्सार नाकामा लोड अनलोड लगायतको खर्च घटाउन र सरकारी निकायसँगको समन्वय कायम गर्न एक्जिम कोड फलदायी हुने विभागले बताएको छ । सरकारले व्यवसायीहरूको सुविधाको लागि एक्जिम कोर्ड लिँदा लाग्ने धरौटी समेत घटाएको छ । दुई वर्षभित्र सम्पूर्ण वैदेशिक व्यापारलाई स्वचालित बनाउने लक्ष्य हासिल गर्न र व्यवसायीको मागसमेत सम्बोधन गर्न धरौटी रकम घटाइएको चिमोरियाले बताए । सरकारले यसअघि नै साउनदेखि एक्जिम कोड लागू गर्ने निर्णय गरेपनि व्यवसायीहरूले त्यति चासो देखाएका छैनन् । सरकारले भन्सार विभागमार्फत व्यवसायीहरूलाई उक्त कोड लिन आग्रह गर्दै पटक पटक सूचना निकालेको थियो । व्यवसायीले धरौटी रकम बढी भएको भन्दै एक्जिम कोर्ड लिन नगएपछि विभागले यसअघि तय तय गरिएको धरौटी रकम १० लाख रुपैयाँबाट घटाएर ३ लाख बनाइएको छ । सरकारले एक्जिम कोर्डका लागि धरौटी रकम घटाएपनि व्यवसायीले भने अझै पनि एक्जिम कोड लिँदा लाग्ने खर्च र बैंक ग्यारेन्टीको भने पुनर्विचार गर्ने माग विभाग समक्ष राखेका छन् । साना ठूला सबै आयात निर्यातकर्तालाई सहज रूपमा एक्जिम कोड प्रदान गर्ने उद्देश्यले धरौटी रकम घटाएको विभागको भनाइ छ । करचुक्ता प्रमाणपत्रमात्रकै आधारमा कोर्ड दिने व्यवस्था मिलाउन पनि व्यवसायीले माग राखेको विभागले बताएको छ । अन्य अनावश्यक कागजात माग गरेर व्यवसायीलाई दुःख दिन नहुने उनको भनाइ छ । एक्जिम कोड नै आयात निर्यातमा संलग्न व्यवसायीको पहिचानपत्र भएकाले विभागले सहज रूपमा जिल्ला जिल्लामा गएर एक्जिम कोर्ड वितरण गर्ने बताएको छ । व्यवसायीहरूले आवश्यक कागजपत्र र धरौटी रकम बुझाइ सकेपछि अनलाइनमार्फत एक्जिम कोर्डको प्रमाणपत्र प्राप्त गर्न सक्ने छन् । विभागले एक्जिम कोडको धरौटीका लागि व्यवसायीलाई ३ ओटा विकल्प दिएको छ । व्यवसायीले ३ लाख रुपैयाँ धरौटी वा शुल्क जरीवाना उल्लेख नभएको करचुक्ताको प्रमाणपत्र वा सम्बन्धित व्यक्तिको खातामा भएको रकम रोक्कामध्ये कुनै एकको प्रमाण भए बुझाए पुग्ने छ । नयाँ व्यवस्थाले ५० हजार रुपैयाँसम्मको आयात र ५ लाख रुपैयाँभन्दा कमको निर्यात गर्दा एक्जिम कोड आवश्यक नपर्ने व्यवस्था गरेको छ । साथै सरकारी निकाय, सार्वजनिक संस्थान, कुटनीतिक नियोगले गर्ने आयात र दान तथा उपहारका लागि हुने आयात निर्यातमा पनि सो नम्बर आवश्यक नपर्ने व्यवस्था गरेको छ ।
सेयर बजारको दुस्मन कम्युनिष्ट पार्टी र प्रचण्डलाई पत्याउने नेपाली पुँजीपति
काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा गर्दैछन् । उनले राजीनामा गर्छन भन्ने पक्कापक्की हुँदा सेयर बजार रातो भएको छ । सेयरको मूल्य घटिरहेको छ । नेकपा (माओवादी केन्द्र) नेपालभित्रका कम्यूनिष्ट पार्टीहरु मध्ये खरो पार्टीको रुपमा चिनिन्छ । यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पनि आफूलाई खाँटी कम्यूनिष्ट पार्टीको नेता भन्न रुचाउँछन् । तिनै कम्यूनिष्ट पार्टीका नेताले प्रधानमन्त्री पदबाट राजीनामा गर्दैछन् र आफूलाई लोकतन्त्र र पुँजीबादको पर्यायवाची भन्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन् । अर्थमन्त्री पनि नेपाली काँग्रेसले नै पाउँदैछ । तर सेयर बजार किन रोइरहेको छ ? संसारभर कम्युनिष्टहरु खुल्ला बजार अर्थतन्त्रका बिरोधी मानिन्छन् । अझ उनीहरुले सेयर बजारलाई त पुँजीपतिको जुवाघर भन्दै आएका छन् । नेपालमै पनि सेयर बजार प्रति कम्युनिष्ट पार्टीका नेताहरुको दृष्टिकोण नकारात्मक छ । तत्कालिन अर्थमन्त्री डा बाबुराम भट्टराईले पनि नेपालको सेयर बजार जुवा घर जस्तै देखिएको टिप्पणी गरेका थिए । यस्तो सोच र धरातलमा रहेको सेयर बजार नेकपा माओवादी केन्द्रका अध्यक्षले पद त्याग गर्दा किन हरियो भएन ? किन रातो भयो ? वास्तवमा तर्क र तथ्यबीच गज्जबको बेमेल छ । १० वर्ष युद्ध गरेर राजनीतिक मुलधारमा आएका प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा सेयर बजारले नयाँ र सकारात्मक रेकर्ड कायम गरेको छ । उनी प्रधानमन्त्री भएकै बेलामा नेप्से परिसूचक उच्चतम विन्दुमा पुगेको छ । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा २०६५ साल भदौमा नेप्सेले इतिहासकै सर्वाधिक उच्चतम विन्दु ११७५ छोएको थियो । उनी दोस्रो पटक २०७३ साउनमा प्रधानमन्त्री चुनिए । सोही महिना सेयर बजारले अर्को इतिहास रच्यो, नेप्सेले १८८१ अंकमा टेक्यो । २०६५ देखि २०७३ को बीचमा नेप्से परिसूचक झरेर २९२ अंकमा पनि पुगेको थियो । २०६४ सालमा सम्पन्न संविधान सभाको निर्वाचनबाट नेकपा(माओवादी) सबैभन्दा ठूलो पार्टीका रुपमा उदायो । तत्काल सेयर बजार डरायो र घट्न थाल्यो । ठिक त्यति नै बेला प्रचण्डले पत्रकार सम्मेलन गरेर आफूहरु खुल्ला बजार अर्थतन्त्रको पक्षपाती भएको बताए र सेयर बजारलाई उचाल्न सहयोग गरे । नेपालका कम्यूनिष्ट पार्टीहरुले अझै पनि खुल्ला बजार अर्थतन्त्रलाई भित्रैदेखि स्वीकार नगरेको भन्ने आरोप लाग्दै आएको छ । तर कम्यूनिष्ट दलले सत्ता समालेकै बेलामा पुँजीपतिहरुले सेयर बजारमा पैसा खन्याएको पनि देखिन्छ । अर्को तथ्य के पनि छ भने २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा छोटो अवधिमा दुई दर्जन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएका थिए । दोस्रो पटक उनी प्रधानमन्त्री भएको बेलामा एक दर्जन बीमा कम्पनीहरुलाई लाईसेन्स दिने निर्णय गराए । यी दुई तथ्यले पनि प्रचण्ड प्रधानमन्त्री भएको बेलामा नेपाली पुँजीपतिहरुले लगानी विस्तार गर्ने निर्णय लिएको देखिन्छ ।
सौर्य ऊर्जामार्फत सिँचाइ, पानी निकाल्न १४० वाटको २४ वटा प्यानल जडान
भद्रपुर। झापामा पहिलो पटक सौर्य ऊर्जा प्रविधि प्रयोग गरी पथरियाका किसान खेतमा सिँचाइ गर्न थालेका छन् । वर्षात्को पानी तथा बोरिङमा निर्भर किसानको खेतमा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले सौर्य ऊर्जा प्रविधि प्रयोग गरेर बोरिङबाट पानी निकालेको छ । १५ लाख रुपैयाँको लागतमा डिभिजन कार्यालयले सिँचाइको व्यवस्था गरेको डिभिजन प्रमुख ईश्वरीप्रसाद तिवारीले बताए। सौर्य ऊर्जा प्रयोग गरी बोरिङबाट पानी निकाल्न १४० वाटको २४ वटा प्यानल जडान गरेको छ । एक हर्ष पावरको पम्प जडान गरी बनाएको सौर्य ऊर्जा सिँचाइको सिँचाइ विभागका उपनिर्देशक वासुदेव लोहनीले आज उद्घाटन गरेका छन् । बोरिङबाट प्रतिसेकेन्ड तीनदेखि पाँच लिटर अर्थात् एक दिनमा ५० घनमिटर पानी आउने र यसबाट लगभग २५ बिगाहा खेत सजिलै सिँचाइ गर्न सकिने तिवारीले बताए । रासस
कोबेल्कोको एसके२२० एक्सडीएलसी एक्स्क्याभेटर नेपालमा, प्रतिघण्टा १२ लिटर तेल खपत हुने
काठमाडौं । नेपालका लागि विश्वप्रसिद्ध कोबेल्को ब्राण्ड एक्स्क्याभेटरका अधिकृत आयातकर्ता पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि ले नेपालमा २१ टन क्षमताको कोबेल्को एसके २२० एक्सडी मोडेलको एक्स्क्याभेटर उपलब्ध गराएको छ । यो मशीन आफ्नो श्रेणीमा शक्तिशाली तथा उच्च उत्पादकत्वयुक्त हुनुका साथै प्रतिस्पर्धीहरुमध्ये नविनतम पुस्ताको मानिएको छ । एसके २२० एक्सडी एक्स्क्याभेटर जापानी प्रविधि अन्तर्गत भारतको श्री सहरमा उत्पादन गरिन्छ । नेपालमा एक्स्क्याभेटरको प्रयोग सडक काट्ने कार्यमा तथा चुनढुंगा खानीमा हुने गर्छ जसका लागि ब्रेकर अपरेशन प्रक्रिया आवश्यक हुन्छ । विगतमा बिक्री गरिएकोमध्य ७० प्रतिशत मशीन ब्रेकर अपरेशनमा प्रयोग भएको तथ्यलाई मनन गर्दा कोबेल्को एक्स्क्याभेटर मशीन शक्तिशाली तथा उच्च उत्पादकत्वयुक्त मानिएको पूजा कन्स्ट्रक्सन नेपाल प्रालिका सीइओ बिबेक बिजक्छेले बताए । एसके २२० एक्सडी एक्स्क्याभेटरको मूल्य ९७ लाख रुपैयाँ कायम गरिएको छ । मशीनलाई सुचारु रुपमा पार्टपूर्जा तथा खरीदपछिको सेवा २४ घन्टा भित्र उपलब्ध गराइने प्रत्याभूति कम्पनीले दिएको छ । मशीनको मूल्य ९७ लाख रुपैयाँ परेता पनि दीर्घकालीन प्रयोगमा यसले इन्धनको खपतमा मितव्ययीता गरी वार्षिक १२ लाख रुपैयाँ बचत हुने कम्पनीको दावी छ । अन्य ब्रान्डका मशीनले प्रति घन्टा १७-१८ लिटर डीजल खपत गर्ने गरेको सन्दर्भमा एसके २२० एक्सडीले प्रति घन्टा ११-१२ लिटर मात्र डीजल खपत गर्ने हुँदा यसलाई आफ्नो वर्गमा इन्धनको बचतमा सर्वश्रेष्ठ मानिएको बिजुक्छेले बताए । नेपालमा तीन वर्षमा कोबेल्कोको ३०० भन्दा बढी एक्स्क्याभेटर बिक्री भएका छन् । कोबेल्को कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डिया प्रा. लि.का एमडी तथा सीइओ यातुका गोतोका अनुसार १०औँ पुस्ताको एसके २२० एक्सडीको नेपाल आगमले ग्राहकलाई थप मूल्य प्रदान गर्ने छ । उनका अनुसार नेपाल र भारतमा ७००० कोबेल्को एस्काभेटर कार्यक्षेत्रमा परिचालित छन् । अधिकांश मेसिनहरु २० हजार घन्टाभन्दा बढी समयसम्म चलेका छन् र यस क्षेत्रका कठिनतम कार्यमा पनि निरन्तर काम गरिरहेका छन् ।