काउन्सिलबाट चार जनालाई छात्रवृत्ति प्रदान
काठमाडौं, १८ पुस । प्रेस काउन्सिल नेपालमा आयोजित एक कार्यक्रममा चार जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । सो कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले ४ जना शोधार्थीहरुलाई जनही २५ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरेका छन् । छात्रवृत्ति पाउनेहरुमा क्रमशः सलोजा दाहाल, डिल्लीप्रसाद निरौला, मन्दिरा दुलाल र जितेन्द्रकुमार झा रहेका छन् । काउन्सिलका अनुसार उनीहरुले अनलाइन मिडियामा आचार संहिताको पालना, दक्षिण एशियाली पत्रकारितामा नीतिशास्त्रको तुलनात्मक अध्ययन, प्रकोप रिपोर्टिङमा आचार संहिताका मुद्धाहरु र धनुषा जिल्लामा ग्रामीण पत्रकारिताको विकास सम्बन्धी शोध गरेका छन् । सो अवसरमा काउन्सिल अध्यक्ष कार्कीले पत्रकारितामा अध्ययन अनुसन्धान गरेका, बिशेषज्ञमूखि पत्रकारहरुको आवश्यकता रहेको बताउँदै जान्ने र योग्य व्यक्तिले पत्रकारिता गर्नुपर्ने बताएका छन् ।
सिप्रदी ट्रेडिङ्को नयाँ च्यासिस बस नेपाली बजारमा, ३ लाख किलोमिटर सम्मको वारेन्टी
काठमाडौं, १८ पुस । टाटा मोर्टसको लागि नेपालको एक मात्र आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ् प्रा.लि. ले नयाँ बस च्यासिस एयर सस्पेन्सन युक्त एल.पी.ओ. १५१२/५५ बजारमा ल्याएको छ । कम्पनीका अनुसार १०.७ मिटर लामो यस च्यासिस टाटा कुमिइस् टुरबोचार्जड इन्टरकुलड डिजेल इन्जिनको शक्तिले सम्पन्न रहेको छ । १३३ हर्ष पावरको इन्जिन भएको यस वाईड बडी च्यासिस, एयर सस्पेन्सन अनि ४० रिक्लाइनिङ सिटहरु जडित छ । उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यस च्यासिस सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट रहेको कम्पनीको दावी छ । एयर सस्पेन्सन युक्त एल.पि.ओ. च्यासिस, १०ः००–२०ः०० साईजको रेडियल टायर जस्ता विशेषताको कारण शहर भित्र र शहर बाहिरको सुरक्षित यात्राको लागि यस च्यासिस अति उपयोगी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १३३ हर्ष पावरको ईन्जिन, ४९० न्युटन मिटरको टर्क, २५३ मिलिमिटरको क्लच प्लेट र जि-६०० गियर बक्स जस्ता विशेषता रहेको यसले अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि सहज रुपले गाडीले भार बहन गर्ने क्षमता राख्दछ । यसैगरी यस बसमा जि-६०० गियर बक्समा पनि ओभरड्राइभ विशेषता र ४१/७ अनुपातको क्राउन भएको कारण यस च्यासिसले कम इन्धनमा नै उच्च गति प्रदान गर्दछ । २४ वटा भन्दा बढी सेवा केन्द्र भएको सिप्रदी नेपालकै सबैभन्दा व्यापक बस र ट्रकको बिक्री पछिको सेवा संजाल भएको कम्पनी हो । उत्कृष्ट सेवा र सर्वसुलभ मर्मत सम्भारका दृष्टिकोणले एल.पी.ओ. १५१२/५५ एयर सस्पेन्सन बसले ग्राहक वर्गहरुलाई विश्वस्त पार्ने क्षमता राख्दछ । साथै यस गाडीमा ३ वर्ष वा ३ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
मिर्मिरे माईक्रोफाइनान्सले २५ प्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं, १८ पुस । मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकले आर्थिक बर्ष ०७२/०७३ मा कायम चुक्ता पूँजीको २५ प्रतिशत (अर्थात १ बराबर ०.५० को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शेयरधनीलाई जारी गर्न लागेको प्रति सेयर सय रुपैयाँका दरले हुने १ लाख ५० हजार कित्ता सेयरको सार्वजनिक गर्न लागेको हो । सो मात्राको हकप्रद निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता सोमबार सम्पन्न भयो । सम्झौतामा मिर्मिरे माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी तथा निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका तर्फबाट महा–प्रबन्धक शंकरप्रसाद कालीकोटाले हस्ताक्षर गरेका छन् । मिर्मिरे माईक्रोफाईनान्सको छैठौं वार्षिक साधारण सभाले कम्पनीको अधिकृत पूँजी १० दश करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।
हिमालयन बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत बाल अस्पताललाई सहयोग
काठमाडौं, १८ पुस । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको “सिद्धि स्मृति प्रतिष्ठान — “सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ । बैंकले सहयोग स्वरुप उक्त अस्पताल तथा बृद्धाश्रमलाई दश हजार थान ओ. पि. डि. टिकट बुक, दुई थान ३२ इन्चको टेलिभिजन र दुइ थान कम्प्युटर सेट प्रदान गरेको छ । बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेलले एक समारोहका बीच हस्तान्तरण गरेका छन् । उक्त अस्पताल भक्तपुर क्षेत्रकै प्रतिष्ठित अस्पताल हो । अस्पतालले विशेषत बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ ।
प्रभु मनि ट्रानस्फर र आरम्भ माइक्रोफाईनान्स बीच रेमिट्यान्स सम्झौता
काठमाडौं, १८ पुस । प्रभु मनि ट्रानस्फर र आरम्भ माइक्रो फाईनान्स वित्तीय संस्था बीच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता कार्यक्रममा प्रभु मनिका तर्फ बाट कम्पनीका महाप्रबन्धक रामेश्वर सापकोटाले र आरम्भ माइक्रोफाईनान्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले हस्ताक्षर गरेका छन् । केन्द्रिय कार्यालय मेलम्चीमा रहेको माइक्रोफाईनान्सको नुवाकोट, धादिङ, तनहु, काभ्रेपलन्चोक लागायत विभिन्न ११ जिल्लामा १६ वटा शाखा कार्यालयवाट सेवा प्रदान गरिने माइक्रोफाईनान्सका प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले जानकारी गराएका छन् ।
काठमाडौं-बिरगञ्ज रेल वेः ग्लोबल टेण्डरको समय एक हप्ता थपियो
काठमाडौं, १८ पुस । काठमाडौं-बिरगञ्ज विद्युतिय रेल मार्गको सम्भाव्यता अध्ययन गर्न इच्छुक कम्पनीका लागि जारी गरिएको ग्लोबल टेण्डरको म्याद एक हप्ता थपिएको छ । रेल विभागले गत मंसिर १९ गते सम्भाव्यता अध्ययनका लागि उपयुक्त कम्पनी छान्न भन्दै ग्लोबल टेण्डर आव्हान गरेको थियो । ‘काठमाडौं–बिरगञ्ज रेल मार्गको सम्भाव्यता अध्ययनका लागि आव्हान गरिएको ग्लोबल टेण्डरको समय एक हप्ता थपेका छौं’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले विकासन्युजसँग भने । सरकारले आर्थिक बर्ष २०७३/७४ कोे बजेटमा काठमाडौं–बिरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना अघि सारेको थियो । सम्भाव्यता अध्ययनका लागि रेल विभागले करिब ७ करोड बजेट छुट्याएको छ ।विभागले यात्रु बोक्ने तथा कार्गाे समान बोक्ने रेल वे लाइन निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउन लागेको बताएको छ । समय सिमा भित्र आवेदन दिने कम्पनीमध्येबाट विभागले पहिलो चरणमा ६ वटा कम्पनीलाई छनौट गर्नेछ । ती कम्पनीसँग ३० देखि ४५ दिनको समय भित्र वित्तिय तथा प्राबिधिक रिपोर्ट मागिनेछ । त्यसरी वित्तिय तथा प्राबिधिक रिपोर्ट बुझाउने कम्पनीमध्येबाट एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिईने उपाध्यायले बताए । यसरी अधिकतम ४ महिना भित्र काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनीको छनौट हुनेछ । सो कम्पनीले ६ महिना भित्र सम्भाव्यता अध्ययनको रिपोर्ट विभालाई बुझाउने छ र त्यसकै आधारमा विभागले नयाँ प्रक्रिया मार्फत डिपिआर निर्माणको काम अघि बढाउनेछ । यद्यपी सन २०१७ को अप्रिल महिना भित्र रिपोर्ट बुझाउनुपर्ने विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।
सोमबारको सेयर बजारमा उतारचढाव, नेप्से १७ अंकले वृद्धि, ५१ करोडको सेयर कारोबार
काठमाडौ, १८ पुस । सोमबार सेयर बजारमा उतारचढाव देखिएको छ । सेयर कारोबार सुरु भएको आधा घन्टामै नेप्से परिसूचक बढेर १४८४ अंकमा पुगेको थियो । त्यसपछिको एक घण्टामा फेरि घटेर १४६६ अंकमा पुगेको थियो । त्यसपछिको सेयर कारोबार भने केही टेवा पुगेको देखिन्छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक १७ दशमलब १३ अंकले बढेर १४८२ अंकमा अडेको छ । सोमबार बजारमा ५१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोही दिन १३० कम्पनीको १० लाख १७ हजार कित्ता सेयर किनबेच भएको हो । सोमबार जस्तै आइतबार पनि सेयर बजार उकालो लागेको थियो । सो दिन होटल समूह बाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २८ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः २३ र १३ अंकले बढेका छन् । होटल समूहको परिसूचक ६ दशमलब ३७ अंकले ओरालो लागेको छ । बजारमा तीन कम्पनीका सेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् । सप्तकोसी डेभलपमेन्ट बैंक, अरुण फाइनान्स र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले क्रमशः ९.७५, ९.६४ र ९.२९ प्रतिशत कमाएका छन् । मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । सो दिन सबैभन्दा बढी एभरेष्ट बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सिटिजन बैंक इन्टरनेशनल, बैंक अफ काठमाण्डू लुम्बिनी र सिद्धार्थ बैंकको २ करोड बढीको सेयर कारोबार भएको छ ।
सोमबार मात्रै ३ करोड कित्ता बोनस र एक लाख बढीको हकप्रद सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, १८ पुस । सोमबार मात्रै २ करोड ९९ लाख ४४ हजार ६८१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन मिथिला लघुवित्त विकास बैंकको एक लाख ६९ हजार ७४० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सोमबार ४ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । नविल बैंकको एक करोड ४२ लाख ८९ हजार ३७४ कित्ता र अपी पावर कम्पनीको ५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ४९ लाख १४ हजार ०२७ कित्ता र कन्ट्रि डेभलपमेन्ट बैंकको २ लाख ४१ हजार २८० कित्ता गरि सो मात्राको बोनस सेयर नेप्सेमा सूचिकृति भएको छ ।