एक खर्ब ३० अर्ब ७४ को लागतमा परियोजना ‘आलु जोन’ शुरु
भक्तपुर, २८ पुस । कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन) शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बिहीबार आयोजित कार्यक्रममा आलु जोन क्षेत्रको घोषणा गरेका हुन्। परियोजनाअन्तर्गत यस आवमा जिल्लाका लागि दुई करोड ९५ लाख रुपैयाँको बजेट विनियोजन भएको कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढु्ङ्गानाले जानकारी दिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना यसै आवदेखि शुरु भई आगामी २०८२ असारसम्म सञ्चालन हुनेछ । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले देशभर लागू भएको १० वर्षे परियोजनाका लागि कुल एक खर्ब ३० अर्ब ७४ करोड २० लाख रुपैयाँखर्च हुने परियोजना प्रमुख अच्युत ढकालले जानकारी दिएका छन् । चालु आवमा देशभर पाँच अर्ब ७८ करोड ६२ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । “हालसम्म सामूहिक कृषि उत्पादन र बजारीकरण संस्थागत रुपमा नभएकाले आलु जोन कार्यक्रम लागू गरिएको हो,” ढकालले भने । सबै जिल्लामा स्वेच्छिक कृषियोग्य जमिनको एकीकरणमार्फत सामूहिक उत्पादन र बजारीकरणको अवधारणालाई अवलम्बन गरिएको उनको भनाइ छ । कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवम् मुलुकको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने परियोजनाको उद्देश्य रहेको मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्रीय निर्देशक मीनप्रसाद बुढाथोकीले बताए । रासस
आरम्भ माईक्रोफाईनान्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, २८ पुस । आरम्भ माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारण सभा काभ्रेपलाञ्चोकको बनेपामा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आर्थिक वर्ष ०७३/०७४ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गरेको छ । उक्त सभाले संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ । माइक्रोफाइनान्सले विभिन्न ११ वटा जिल्लाहरुमा १६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याई करिब ६ हजार भन्दा बढि घर परिवारलाई लघुवित्तीय सेवाहरु प्रदान गरेको छ । संस्थाले हालसम्म १ करोड ५१ लाख भन्दा बढि रकम बचत संकलन गरी हालसम्म २७ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ ।
लाप्राक बासीको घर सपनाः यसरी हुँदैछ साकार
काठमाडौं, २८ पुस । २०७२ बैशाख १२ को भूकम्पले घरबार बिहिन बनेका गोरखाको लाप्राकका भूकम्प पीडितहरुको घर सपना साकार हुने बाटोमा अघि बढेको छ । गैर आवासिय नेपाली संघ(एनआरएन)ले लाप्राक बासीको घर सपना साकार पार्ने अभियानलाई तिब्रता दिएको हो । संघले आगामी २ बर्षभित्रै नमुना बस्ती निर्माण सम्पन्न गर्ने योजनासहित निर्माण कार्यलाई अघि बढाएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र एनआरएनले गत बैशाख १२ गते लाप्राकलाई नमुना बस्ती बनाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । र यहि मंसिरमा नेपाल सरकारले गुप्सी पाखामा घर बनाउने अनुमति दिएपछि एनआरएनले काम अघि बढाइरहेको छ । एनआरएनले लाप्राककै गुप्सी पाखामा ५७३ वटा भूकम्प प्रतिरोधी घर बनाउँदैछ । सो नमुना बस्तीमा ढल, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, खेल मैदान, खुल्ला चौर, मनोरञ्जनस्थल लगायतका पुर्वाधार पनि निर्माण हुनेछन् । हाल भूकम्प पीडितको घर सपना पुरा गराउने अभियानका लागि गुप्सी पाखामा परियोजना कार्यालय निर्माण भैसकेको छ । एनआरएनले संसारभरका एनआरएनहरुलाई स्वंयम सेवाका लागि आव्हान पनि गरिसकेको छ । स्वंय सेवक बस्नका लागि आवश्यक संरचनाको निर्माण भैसकेको एनआरएनकी प्रवक्ता रञ्जु थापाले बताइन् । सन २०१७ फेबुअरी देखी अक्टोवरसम्म संसारभर छरिएर रहेका गैर आवासिय नेपालीलाई स्वंय सेवकका रुपमा परिचालन गराउने योजना बनेको अध्यक्ष शेष घले बताउँछन् । एनआरएनले सो अवधीमा नेपाल भ्रमणमा निस्कन पनि आव्हान गरेको छ । परियोजना कार्यालय स्थापनाका लागि अध्यक्ष घले स्वयं दुई पटक लाप्राक पुगिसकेका छन् । उनले २३ डिसेम्बर देखी ३१ डिसेम्बर र ६ जनवरी २०१७ देखी ९ सम्म लाप्राकमै बिताएका थिए । हाल गुप्सी पाखामा निर्माण कार्यलाई चाहिने आवासगृह, पानी ट्यांकी, चीनबाट ल्याईएको ईटा छाप्ने मेशिन, डोजर, सोलार र अन्य परियोजनालाई चाहिने आवश्यक सामग्रीहरु काठमाडौंबाट ढुवानी भई पुगिसकेको छ । यसैगरी स्वंयम सेवकहरुको खाना तथा बस्ने व्यवस्थाको लागि आवासगृह र किचेनको लागि चाहिने सामग्रीहरुको प्रबन्ध मिलाउने कार्य जारी छ । भूकम्प पीडितका लागि भवन बनाउने ठाउँको माटोे सम्याउने काम धमाधम भईरहेको छ । सरकारले सो स्थानका लागि विद्युत उपलब्ध गराइसकेको छ । संघका अध्यक्ष शेष घलेसँगै एनआरएनहरु सोनाम लामा, जमुना गुरुङ, एसि शेर्पा, सल्लाहकार टिबी कार्की, श्याम तामाङ लगायत लाप्राक पुगेका थिए । उनीहरुले आगामी २ बर्षभित्रै लाप्राक बासीलाई भूकम्प प्रतिरोधी भवनको सहितको नुमना बस्ती उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सिन्धु विकास बैंकका सिइओ सञ्जीव प्रधानको कार्यकाल थपियो
काठमाडौं, २८ पुस । सिन्धु विकास बैंकका सिइओ सञ्जीव प्रधानको कार्यकाल चार वर्ष थपिएको छ । पुस २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा प्रधानको समय थप्ने निर्णय गरेको हो । प्रधानले प्रमुख कार्यकारी अधिकृत भएर बैंकमा एक कार्यकाल पुरा गरिसकेका छन् । बिहीबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले अझै चार वर्ष सो बैंकको सिइओ भएर काम गर्नेछन् ।
तीन वर्षदेखि रोकिएको सवारी साधनको ‘लाइसेन्स’ खुल्यो, मोटरसाइकल र स्कुटरको लाइसेन्सका लागि आवेदन माग
बागलुङ, २८ पुस । धवलागिरि अञ्चलमा तीन वर्षदेखि रोकिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया पुनः शुरु भएको छ । यातायात व्यवस्था कार्यालयले पहिलो चरणमा मोटरसाइकल र स्कुटरको लाइसेन्सका लागि आवेदन माग गरेको छ । यसअघि, सवारी साधन अनुमति पत्र परीक्षा समितिको बैठकले आवेदन खुलाउने निर्णय गरेको थियो । मङ्गलबारदेखि बिहीबारसम्म मोटरसाइकल र शुक्रबार स्कुटर चालकका लागि आवेदन दिने व्यवस्था गरिएको छ । पूर्वाधार अभावले रोकिएको अनुमति पत्र परीक्षा खुलेपछि सर्वसाधारण उत्साहित बनेका छन् । कार्यालयमा आवेदन दिनेको भीड लागेको अनुमति पत्र वितरण शाखाका नायब सुब्बा रामप्रसाद उपाध्यायले बताए । मोटरसाइकल र स्कुटरपछि अन्य सवारी साधनका लागि अनुमति पत्र खुलाउने तयारी कार्यालयको छ । यातायात व्यवस्था विभागले नयाँ नीति अख्तियार गरेसँगै पूर्वाधारको कमीका कारण धवलागिरि अञ्चलबाट सबैखाले सवारी साधनको अनुमति पत्र वितरण कार्य रोकिएको थियो । परीक्षा रोकिएपछि कार्यालयबाट सेवा लिने बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राही समस्यामा पर्दै आएका थिए । धवलागिरिवासी अनुमति पत्रका लागि पोखरा, काठमाडौंलगायत ठाउँ जानुपर्ने बाध्यता छ । कार्यालयले बागलुङ नगरपालिका-१ खनियाबासमा अभ्यास परीक्षाका लागि आवश्यक पूर्वाधारसमेत निर्माण गरेको छ । यसअघि कार्यालयले मासिक ८०० सवारी साधन अनुमति पत्र वितरण गर्दै आएको थियो । कार्यालयले साना, मझौला र ठूला गरी सबै सवारी साधनको क्रमशः अनुमति पत्रको परीक्षा सञ्चालन गर्ने जनाएको छ । रासस
माघ १९ देखि ४० मेगावाट विद्युत् काठमाडौं भित्रदै, प्रसारण लाईन निर्माण कार्य अन्तिम चरणमा
काठमाडौं, २८ पुस । आगामी माघ १९ गतेदेखि भारतबाट आयात गरिएको ४० मेगावाट विद्युत काठमाडौं आउने भएको छ । मुजफ्फरपुर-ढल्केवर-खिम्ती प्रसारण लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेकाले आयातित विद्युत् काठमाडौं ल्याउन सम्भव हुन लागेको हो । उक्त लाइन माघ १ गतेदेखि काठमाडौंसँग जोडिने भएको छ । पछिल्लो समयमा द्रुत गतिमा निर्माण कार्य अघि बढेसँगै तोकिएको समयभित्रै प्रसारण लाइन बन्ने भएको ऊर्जा मन्त्रालयले बताएको छ । आयातित विद्युत काठमाडौं ल्याउन समय निर्धारण गरेरै प्रसारण लाइन निर्माण कार्य थालनी गरिएको थियो । अब प्रसारण लाइन निर्माण कार्य बेलैमा परीक्षण गरेर सिष्टमलाई तयारी अवस्थामा राख्न सकिने अवस्थामा पुगेको उनले बताए । उक्त मुजफ्फरपुर-ढल्केवर-खिम्ती प्रसारण लाइन भारतको बिजुली काठमाडौंमा ल्याउन हाल उपलब्ध दुई प्रसारण लाइनमध्ये छोटो हो । यसबाहेक भारतको विद्युत् काठमाडौं ल्याउन सकिनेमा ढल्केवर-हेटौंडा-कुलेखानी-मातातीर्थ-स्युचाटार अर्को प्रसारण लाइन छ । ‘उक्त प्रसारण लाइनबाट बिजुली काठमाडौं ल्याउँदा लामो बाटोका कारण भोल्टेजको समस्या पर्ने प्राविधिकले औल्याएपछि खिम्ती-ढल्केवरकै प्रसारण लाइन प्रयोग गर्न लागिएको हो । तर, प्राधिकरणले भने आयातित विद्युत हेटौंडा आउने वित्तिकै त्यसक्षेत्रका साथै हेटौडादेखि पूर्व र दक्षिण क्षेत्रमै वितरण गर्ने योजना बनाएको छ ।’ ढल्केवर-हेटौंडा प्रसारण लाइनको विद्युत् ढल्केवर, पथलैया, परवानीपुर, सिमरा, वीरगञ्ज, चन्द्रनिगाहपुर, कमाने (हेटौंडा) र चौकीटोल (हेटौंडा) सबस्टेशनमा जोडिने क्रममा सोही क्षेत्रहरूमा वितरण हुने प्राधिकरणको भनाइ छ । ऊर्जामन्त्री जनार्दन शर्माले यी स्थानहरुको स्थलगत भ्रमण गर्दै छिटो काम सम्पन्न गर्न निर्देशन दिएका थिए । ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट हाल १ सय २० मेगावाट विद्युत् आयात भइरहेको छ । हालको १ सय २० र थप ४० मेगावाट विद्युत् प्रसारका लागि साविकको प्रसारण क्षमताले नधान्ने भएपछि भारतको मुजफ्फरपुर सबस्टेशनमा थप ट्रान्सफर्मर जडान गरिएको छ । यो प्रसारण लाइनलाई ४ सय केभी पूर्ण क्षमतामा स्तरोन्नति गर्न लागिएको छ । ढल्केवरसम्म आइपुग्ने भारतीय बिजुली ढल्केवर-खिम्ती २२० केभीको प्रसारण लाइन भएर आउनेछ । यसका लागि बिजुलीले मुजफ्फरपुर-ढल्केवर-खिम्ती-लामोसाँघु-भक्तपुर-काठमाडौंको बाटो तय गर्नेछ । यो बाटो भएर यस वर्षमा अधिकतम ९० मेगावाट विद्युत् काठमाडौं ल्याउने प्राधिकरणको योजना रहेको छ । शर्मा मन्त्री भएपछि काठमाडौं उपत्यकका लोडसेडिङ प्राय अन्त्यनै भएको अवस्था छ । अब भारतबाट आयातित विद्युत पनि प्रसारण लाइनमा जोडिएपछि लोडसेडिङ नहुने प्राधिकरणको भनाइ छ । यसै द्रुर्त गतिमा निर्माणाधिन आयोजनाहरुको काम अघि बढ्दै गएमा १० वर्षमा उत्पादन गर्ने भनिएको १० हजार मेगावाट विद्युत् सहजै उत्पादन गर्न सकिने बताइएको छ ।
कसमस डेभलपमेन्ट बैंकको २३ प्रतिशत बोनस र ६ लाख रुपैयाँ नगद लाभांश पारित
काठमाडौं, २८ पुस । कसमस डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २३ दशमलब ६० प्रतिशत बोनस सेयर दिने निर्णयलाई पारित गरेको छ । साथै, बैंकले सेयरधनीलाई ६ लाख २४ हजार ९३४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त प्रस्तावलाई बुधबार बसेको बैंकको छैठौं बार्षिक साधारण सभाले पारित गरेको हो । आर्थिक वर्ष २०७२/०७३ मा बैकले १ करोड ५१ लाख रुपैयाँ कमाउन सफल भएको छ । संस्थापक शेयरधनीहरुको समुहमा ५१ प्रतिशत शेयर कायम राखि सो समुहको वाँकी ९ प्रतिशत शेयर सर्वसाधारण समुहमा परिणत गर्ने बैंकले जनाएको छ । बैंकले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडसँग मर्जर सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको बैंकका अध्यक्ष प्रा. डा. टेकनाथ ढकालले जनाएका छन् । हाल बैंकले गोरखा जिल्लाको सदरमुकाम गोर खा बजार हरमटारीमा प्रधान कार्यालय, आरुघाट, घ्याम्पेसाल र पालुङटारमा गरी ३ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको जानकारी दिएको छ ।
सेयर बजारमा सामान्य सुधार, खानीखोलाको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं, २८ पुस । साताको अन्तिम दिन कारोबार हुने सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बजारमा ३ दशमलब ३५ अंकले परिसूचक बढेर १४७९ दशमलब ८६ अंकमा पुगेको छ । सो दिन ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबारको तुलनामा कारोबार रकममा भने ४ करोड रुपैयाँ कमी हो । बिहीबार १२० कम्पनीको २६ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य करिब ३५३ रुपैयाँ रहेको छ । सबैभन्दा बढी कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले झन्डै १० प्रतिशत गुमाएका छन् । बजारमा कारोबार भएका होटल समूह र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । सबैभन्दा बढी जलविद्युत समूहको परिसूचक करिब १० अंकले उकालो लागेको छ । होटल र अन्य समूहको परिसूचक क्रमशः ३० र २ अंकले ओरालो लागेका छन् ।