१४ वटा बैंकका १८ जना सञ्चालकले पद त्याग गर्नुपर्ने, यथाशीघ्र विशेष साधारणसभा बोलाउन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । १४ वटा वाणिज्य बैंकका १८ जना सञ्चालकले पद त्याग गर्नु पर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा ५ देखि ७ जनाको सञ्चालक समिति हुने व्यवस्था भएको उल्लेख गर्दै राष्ट्र बैंकले कानुनमा उल्लेख भन्दा बढी सञ्चालकहरुलाई पद त्याग गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै ‘प्रचलित कानूनमा भएको व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा कम्तिमा ५ जना र बढीमा ७ जना सञ्चालक हुने गरी संस्थापक सेयर समूह र सर्वसाधारण सेयर समूहबाट सेयर स्वामित्व अनुपातका आधारमा प्रतिनिधित्व हुनुपर्ने भएकोले बैंक तथा वित्तीय संस्थाले यथाशीघ्र साधारण वा विशेष साधारणसभा बोलाई आ–आफ्नो प्रबन्ध पत्र तथा नियमावली संशोधन/समायोजन/परिमार्जन गरी प्रचलित कानुन अनुरुप सञ्चालक समिति गठन’ गर्न निर्देशन दिएको छ । सोही व्यवस्था अनुसार २६ वाणिज्य बैंक मध्ये १४ वटा सञ्चालक समिति पुर्नगठन हुने भएका छन् । हाल कृषि विकास बैंकमा ९ जना, नेपाल इन्भेष्टमेन्ट बैंकमा ९ जना र मेगा बैंकमा ९ जना सञ्चालक रहेका छन् । यी तीन बैंकबाट ६ जनाले पद त्याग गर्नुपर्ने भएको छ । एनएमबी बैंकमा एक जना बैकल्पिक सहित १० जना सञ्चालक छन् । हिमालय बैंकमा ७ जना सञ्चालक र ६ जना बैकल्पिक सञ्चालक छन् । नयाँ ऐनले पनि बैकल्पिक सञ्चालकको व्यवस्था गरेको छ । एनएमबी बैंकका कम्तिमा २ जना सञ्चालकले छोड्नु पर्ने भएको छ । नविल बैंक, नेपाल एसवीआई बैंक, एभरेष्ट बैंक, सिटिजन्स इन्टरनेशलन बैंक, प्राइम कमर्सियल बैंक, सनराईज बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डूमा मा ८/८ जनाको सञ्चालक रहेका छन् । त्यस्तै हालै मात्र राष्ट्र बैंकले गठन गरिदिएको एनसीसी बैंक सञ्चालक समिति पनि ८ जनाको छ । यी ९ वटा बैंकहरुबाट ९ जना सञ्चालकहरुले पद छोड्नु पर्ने भएको छ । नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया, ग्लोबल आईएमई, प्रभु बैंक, सिभिल बैंक र जनता बैंकमा भने ५ देखि ७ जनाको सञ्चालक समिति रहेको छ । उनीहरुले तत्काल विशेष साधारणसभा गर्नु नपर्ने भएको छ । ७ जना भन्दा बढी सञ्चालक रहेका विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तहरुले पनि यथाशीग्र साधारणसभा गरी सञ्चालक समिति पुर्नगठन गर्नु पर्ने नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले बताए । हाल ५४ वटा विकास बैंक, ३३ वटा फाइनान्स र ५० वटा लघुवित्त कम्पनीहरू सञ्चालनमा छन्र । ती संस्थाहरूबाट पनि १०० भन्दा बढी सञ्चालकले छाेड्नु पर्ने अनुमान गरिएकाे छ ।
कुमारी बैंकको सेयर ३०८ रुपैयाँ हाल्नेले पाए, ३०७ कबोल गर्नेलाई बराबर
काठमाडौं । कुमारी बैंकले बोलकबोलमा बिक्री आह्वान गरेको सेयरमा प्रतिकित्ता ३०८ रुपैयाँसम्म कबोल गर्नेले पाउने भएका छन् । प्रतिकित्ता ३०७ रुपैयाँ कबोल गर्नेहरुले माग अनुसार बराबर पाउने गरी कटअफ भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमल्सिनाले जानकारी दिए । बैंकले दुई महिनाअघि हकप्रद सेयर निष्काशन गरेकोमा माग नभएको २ लाख ८० हजार कित्ता सेयर बोलकबोलका माध्यमबाट बिक्री आह्वान गरेको थियो । अधिकांश आवेदकले प्रतिकित्ता ३०९/३१० मूल्यमा किन्न आवेदन गरेका छन् । बोलकबोल आवेदन बुझाउने अन्तिम दिन बजारमा प्रतिकित्ता ३२२ रुपैयाँमा कारोबार भएको थियो । टेण्डर खुलेको दिन प्रतिकित्ता ८ रुपैयाँले वृद्धि भई ३३० रुपैयाँमा कारोबार भएको छ । उक्त सेयरको लागि केही आवेदकले प्रतिकित्ता ४०० रुपैयाँ हालेका छन् भने घटीमा २६५ रुपैयाँको कबोल भएको उनले जानकारी दिए । प्रमोटरतर्फ लिलाममा राखिएको ८६ हजार कित्ता सेयर पनि सबै बिक्री भएको छ । प्रमोटरतर्फ प्रतिकित्ता १०७ रुपैयाँ कबोल गर्नेले पाएका छन् । प्रमोटरतर्फको अधिकांश सेयरका लागि प्रतिकित्ता १४०/१४१ रुपैयाँ बिक्री भएको उनले बताए । पछिल्लो समय बोलकबोलका माध्यमबाट बिक्री आह्वान भएको सेयरको माग उच्च रहेको र बजार मूल्यको हाराहारी मूल्यमा माग आवेदन पर्न थालेको उनले बताए ।
ताइवानी प्रतिनिधि मण्डलले काठमाडौंमा व्यापारिक अन्तरक्रिया गर्ने
काठमाडौ । ताइवानिज एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा ११ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । सो प्रतिनिधि मण्डलले यही जेठ २८ गते आइतबारका दिन काठमाडौंको दरबारमार्ग स्थित अन्नपूर्ण होटेलमा नेपाली व्यवसायीहरुसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने बताइएको छ । उक्त प्रतिनिधि मण्डलमा विद्युतीय तथा सञ्चार प्रविधिका सामान, सौर्य उर्जा सामग्री, गाडीका पार्टपुर्जा, मशीनरी, कृषि सामग्री, गार्मेन्ट, टेक्स्टाइल, ब्यागेज, वाटरफिल्टर आदि सामानका उत्पादक तथा वितरकहरु रहने जनाइएको छ । नेपाली व्यवसायीहरुले आफ्नो रुचिको व्यवसाय अनुसार सम्वन्धित ताइवानी व्यवसायीहरुसँग भेटघाट तथा व्यापारिक समझदारी गर्न सक्नेछन् । यस भेटघाट तथा अन्तरक्रिया कार्यक्रमबाट नेपाली व्यापार व्यवसायीहरु ताइवानी उत्पादक तथा वितरकहरुको प्रत्यक्ष सम्पर्कमा आउनुका साथै आफ्नो व्यापार विस्तार गर्न सक्षम हुने विश्वास आयोजकको छ ।
मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा नेपाल सरकारबाट अनुमोदन
काठमाडौं । क्यान महासंघको अगुवाईमा नेपाल सरकारका विभिन्न निकाय तथा निजी क्षेत्रका संघ-संस्थाहरुसँगको सहकार्यमा विगत ७ वर्षदेखि मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आईरहेको छ । क्यान महासंघको प्रस्ताव अनुरुप हालैको मन्त्रीपरिषद बैठकले यो दिनलाई औपचारिक रुपमै ‘सूचना तथा सञ्चार प्रविधि दिवस’का रुपमा मनाउने निर्णय गरेको छ । यो निर्णय सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा संघर्षरत ब्यक्ति तथा संस्थाहरुका लागि गौरवपूर्ण र ऐतिहासिक पनि हो । नेपाल सरकारको यो निर्णयले हामीलाई थप हौसला र उत्प्रेरणा प्राप्त भएको छ । यो निर्णय समग्र सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारका लागि कोसेढुंगासावित बन्ने छ । सूचना तथा सञ्चार प्रविधिलाई देश विकासको प्रमुख औजारको रुपमा प्रयोग गर्न प्रोत्साहन गर्ने किसिमले सरकारले जुन निर्णय गरेको छ त्यसले यो क्षेत्रलाई अझ तिव्र गतिमा अघि बढ्न ऊर्जा मिलेको छ । यस्तो गौरवपूर्ण र ऐतिहासिक निर्णयका लागि विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री प्रेम बहादुर सिंह, नेपाल सरकार र सम्वन्धित सबै निकायहरुलाई क्यान महासंघको तर्फबाट क्यान महासंघका अध्यक्ष ई.विनोद ढकालले हार्दिक आभार एंव धन्यवाद ब्यक्त गरेका छन् । साथै विगत ७ वर्षदेखि यो दिनलाई सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आएका निजी क्षेत्रलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा अझ राम्रो ढंगले दिवसलाई सार्थक बनाउन सहकार्य गर्ने बाचा गरेका छन् ।
रिभर फल्स पावरले ३४ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धक एनआईसी एसिया
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले ९.५ मेगावाट क्षमताको डाउन पिलुवा खोला साना जलविद्युत आयोजनाको निर्माणार्थ प्रति शेयर १०० रुपैयाँ अंकित दरको ३४ लाख ३० हजार कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । कम्पनीले सो मात्राको सेयर निष्काशन गर्न आफ्नो बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेलाई नियुक्त गरेको छ । उक्त नियुक्त सम्बन्धी सम्झौतामा सोमबार रिभर फल्स पावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र एनआईसी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् । यस रिभर फल्स पावर लिमिटेडको जारी पूँजी मध्ये ४९ प्रतिशत अर्थात ३४,३०,००० कित्ता साधारण शेयर उद्योग प्रभावित संखुवासभा जिल्लाका स्थानीय बासिन्दा लगायत सर्वसाधारणहरु र कर्मचारीमा एनआईसी एसिया क्यापिटल मार्फत निष्काशन गरिने छ । ९.५ मे.वा. क्षमताको डाउन पिलुवाखोला साना जलविद्युत आयोजनामा सेञ्चुरी बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक र भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडको सहवित्तीयकरण कर्जा लगानी हुने सम्झौता सम्पन्न भइसकेकोे कम्पनीले जनाएको छ । निष्काशन तथा विक्री प्रबन्धक संगै एन आई सी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । हालै एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ ।
एनआईसी एशिया बैंकले गर्यो विभिन्न स्थानहरुमा वृक्षारोपण कार्यक्रम
काठमाडौं । एनआईसी एशिया बैंकले विश्व वातावरण दिवसको अवसरमा जेठ २२ गतेका दिन बैंकको कुस्मा शाखाद्वारा जिल्ला प्रहरी कार्यालय,पर्वत, बैकंको अत्तरीया शाखाद्वारा कैलाली जिल्लास्थित सैनिक आवासीय महाविद्यालयको एव बैकंको ईलाम शाखाद्वारा ईलाम नगरपालिकाको स्वामित्वमा रहेको नगर बाल उद्यानमा वृक्षारोपण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुर्याउन उक्त कार्यक्रमको आयोजना गरेको बताएको छ । बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं सो को यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था तथा निकायहरुको सहकार्यमा वृक्षारोपण गर्दै आइरहेको छ । यसै क्रममा बैंकले यहि आर्थिक वर्ष २०७३/७४ भित्र मुलुकभर ७००० विरुवाहरुको वृक्षरोपण गर्ने अठोट लिएर अघि बढीरहेको छ । यस्तो वृक्षारोपणबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन तथा हरियाली कायम गर्न योगदान पुग्ने विश्वास लिएको छ ।
स्वीडेनको १०० र ५०० दरका नोट हटाउन निर्देशन
काठमाडौं । स्वीडेनको केन्द्रीय बैंक रिक्स बैंकले १०० र ५०० दरका नोटहरु चलन चल्तीबाट हटाउन निर्देशन दिएको छ । बैंकले ३ अक्टुवर २०१६ भन्दा अघि जारी गरेका २००१ सिरिजका स्विडिस क्रोनर १०० र ५०० दरका नोटहरु हटाउन निर्देशन दिएको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले जेठ २८ गतेसम्म त्यस्ता नोटहरु साट्न आग्रह गरेको छ । आफूसँग भएका त्यस्ता नोटहरु यस बैंकको बैकिङ् कार्यालय थापाथली, काठमाडौंबाट साट्न सकिने बैंकले जानकारी गराएको छ । तोकिएको समयभन्दा ढिला भएमा त्यस्ता नोटहरु यस बैंकले नसाट्ने राष्ट्र बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
१०.७ मेगावाटको अपरसानीगाड हाइड्रो निर्माण गरिँदै, चार बैंकले लगानी गर्ने
काठमाडौं । बझाङ जिल्लामा निर्माण गरिन लागेको १०.७ मेगावाट क्षमताको अपर सानीगाड हाइड्रो इलेक्ट्रिक प्रोजेक्टको फाइनान्सिल क्लोजर सम्पन्न भएको छ । बुङ्गल हाइड्रो प्रालिले निर्माण गर्न लागेको परियोजनाको आइतबार फाइनान्सियल क्लोजर सम्पन्न भएको हो । परियोजनामा सिभिल बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र लक्ष्मी बैंकले ऋण लगानी गर्दैछन् । लिड बैंक सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारि अधिकृत गोबिन्द गुरुङ र बुङगल हाईडो प्रा लि को तर्फबाट उमेश श्रेष्ठले ऋण समझदारि पत्रमा हस्ताक्षर गरेका छन् । परियोजनाको कुल लगानी एक अर्ब ८१ करोड ५० लाख रुपैयाँ रहेको छ । यसमध्ये बैंकको ७५ प्रतिशत (एक अर्ब ३६ करोड) र निर्माण कम्पनीको २५ प्रतिशत (४५ करोड) लगानी हुनेछ । सन् २०१९ सेप्टेम्बर १५ सम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । परियोजनाको ट्रान्समिसन लाइन कम्पनीले आफै निर्माण गरेर चमेलियामा लगेर जोड्ने भएकोले ट्रन्समिसन लाइनको कुनै समस्या नरहने कम्पनीले जनाएको छ । परियोजनामा उमेश श्रेष्ठ, शिवप्रसाद घिमिरे, खगेश्वर बोहोरा, तीर्थ चटौत, राजेश श्रेष्ठ र बिरेन्द्र मल्ल मुख्य लगानीकर्ता रहेका छन् । परियोजनाको साइडको काम सुरु भइसकेको र कन्स्ट्रक्सनको काम पनि छिट्टै सुरु हुने कम्पनीले जानकारी गराएको छ । परियोजनाको डिजाइन एञ्जल इञ्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो । यो समूहले बझाङमै कालङ्गा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट (१५.३३ मेगावाट) र अपर कालङ्गा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट (३८.४६ मेगावाट) निर्माण गरिरहेको छ । तीनवटा परियोजनामा कुल लगानी करीव ११ अर्ब रुपैयाँ हुने कम्पनीले जनाएको छ । यसमा आठ अर्ब बैंक र बाँकी निर्माण कम्पनीको लगानी हुनेछ । तीनवटा परियोजनामा १५ बैंक आवद्ध रहेका छन् ।